Friday, December 31, 2010

POEM ON 2067 PAUSH 10

कविता

सम्बोधन

सुवास खनाल

यो सम्बोधन
तिम्रै निम्ति हो
ए मान्छेहरू
जो बोल्नै निम्ति
ओठ खोलेर ठीक परिरहेका छन्
यो सम्बोधन
तिम्रै निम्ति हो
ए रहरहरू
जो हावाको मसिनो झोक्काजस्तो
मनको कुनाहरूमा बयेली खेल्छ
यो सम्बोधन हिसाबकिताब नभएका
अथाह सपनाहरूलाई पनि
जुन क्षितिजमा उदाउँछ
एउटा हैसियतवाल सूर्य

सम्बोधनै सम्बोधन
यो मौनजस्तो समयलाई
जसमाथि उफ्रिरहेछ
एउटा लठैत वर्तमान

पैह्रो खसिरहेको पहाड
बहिरहेको आँधिको एक लप्को
फक्रिँदै गरेको फूलको सुगन्ध
पँखेटा फडफडाउँदै उडिरहेको पुतलीको लयमग्न नृत्य
हजार गुणा सम्बोधन
साराका सारा प्रकृतिवत चञ्चलतालाई

यो मान्छेहरूको सहरमा
म दोभासे कविता पढ्न आएको होइन

म मल्हमजस्तो
घाउहरूमा लेपिन चाहन्छु
म सुख वा दुखजस्तो
मान्छेहरूसँगै डुल्न चाहन्छु
बोली नहुनेहरूलाई
मौनताको अन्तिम अर्थहरू बुझाउन चाहन्छु
दृष्टि नहुनेहरूलाई
मनको दियालो बालिरहन भन्छु
मेरो सम्बोधन
युगयुग हिँडिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
युगयुग कुरिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
काँडाहरूलाई पनि हो
मेरो सम्बोधन
फूलहरूलाई पनि हो
मेरो सम्बोधन
जीवन गीतका गाउन बाँकी
हजारौँ हजार लय र धुनहरूलाई नै हो
मेरो सम्बोधन
सम्बोधित हुन योग्य
साराका सारा सम्बोधनहरूलाई नै हो

हे सम्बोधित सम्बोधनहरू
लेखिदिऊँ न एउटा समयको शाश्वत कथा
जसले कोरेको बाटैबाटो
हिँडिरहोस् अनन्तसम्म यो युग
र यो युगका सारथीहरू ।



छतिवन –८,पावस
मकवानपुर ।
subaspoet@gmail.com
abha_subas2000@yahoo.com

Monday, November 22, 2010

MY GAZAL

गजल


सुवास खनाल

झन्डा फेर्ने कुरा गर्छन् देशमा अचेल
नयाँ युग हेर्ने कुरा गर्छन् देशमा अचेल

विचार उही हो सबैको र परिवर्तनकै लागि
देशको नाम केर्ने कुरा गर्छन् देशमा अचेल

यो देश उनीहरूको ठेक्कामा नै भएजस्तो
कसैलाई नटेर्ने कुरा गर्छन् देशमा अचेल

कर्तव्यको कुरा छाडूँ ,अधिकारका निम्ति
चोकचोक घेर्ने कुरा गर्छन् देशमा अचेल

subaspoet@gmail.com

Friday, November 19, 2010

MY MUKTAK

सुवास खनाल


मुक्तक

खै ! कहाँ छ झन्डा मेरो मायाँको यो सहरमा
सबैलाई मनमा डर छ आफ्नै छायाँको यो सहरमा
सज्जनहरू बेचिन्छन् ,किन्नेहरू देखिँदैनन्
खुब चलनचल्ती दायाँबायाँको यो सहरमा

हरेक भीमसेनसँग एकएक धरहरा छन्
कोहीसँग बिगाहौँ जमिनका गह्रागह्रा छन्
देश सुकोस् तर उनीहरू हराभरा छन्
कोही मर्छन् एक गेडो अन्न नपाएर

Friday, November 12, 2010

MY POEM

शून्य समय ,मान्छेहरू र बस्ती

सुवास खनाल

भयले चड्कन हानेको अनुहार बोकेर
जब ओरालो झर्न लागे मान्छेहरू
सपनातिरको बस्तीहरूबाट
र हिँडिरहे चुपचाप
अँध्यारो फैलिरहेको
निर्जन जङ्गलको मुख ताकेर
त्यसपछि
किनकिन मेरो बोली नै रोक्किएजस्तो भैरहेछ
किनकिन मेरो सास तलको तल हुन खोजेजस्तो लाग्दैछ

सोचका किरणहरू
जब फैलिएथे मष्तिष्कको झञ्झावात् चिर्दै
त्यसबेला म भन्थेँ
“सूर्य माथि नआइपुग्दासम्म
मान्छेहरू उक्लिनेछन् डाँडामाथि
र टिप्नेछन् झुप्पाझुप्पा घामका आभाहरू
र पोको पारेर
बर्कोमा,ओढ्नेमा ,रूमालमा,पटुकीमा
वा कमिज फुकालेर त्यसमै
र बोक्दै आउनेछन् बस्तीतिर ”

तर उनीहरू त
साहस हराएर फर्किएजस्तो देखिँदैछन्–निर्बल
मन लुटिएर आएजस्तो देँmखँदैछन् –शून्य
आवाज नभएजस्तो लाग्दैछन् –मूक

यो समय शून्य समयजस्तो पनि हो
यो समय परिभाषाहीन समयजस्तो पनि हो
वा कतै हराएका अर्थहरू
नभेटिइसकेको यथार्थजस्तो पनि हो

यसैले
ए बाँकी मान्छेहरू बस्तीका
हामीले फर्काऊँ ओरालो झरिरहेका मान्छेहरूलाई सपनादेखि
साहस भरौँ उनीहरूमा घडा भरिएजस्तो
मन बाडौँ सबैसँग जस्तो कि यो सबैसँग राख्नैपर्छे
बोलौँ सबै एउटै आवाजले
हामीले उज्यालो टिपेर ल्याउनु छ यो बस्तीसम्म
हामीले चेतना बाकेर डुल्नु छ युगयुगसम्म ।



छतिवन–८,पावस
मकवानपुर

subaspoet@gmail.com

Saturday, October 30, 2010

NON STORY

अकथा


जिउनु कथा हैन ।

सुवास खनाल

जस्तो कि नलेख्नु पनि कथा होस् ,त्यसपछि कहिल्यै म कथा लेख्ने छैन ।

‘म’ ,यो सबभन्दा सजिलो ओढ्ने रहेछ जुन् ओढेर सबै बाँचेका छन् । वा यो नै त्यस्तो मन्त्र रहेछ जसलाई जप्नुमात्र पनि जीवनप्राप्ति बोधजस्तो हुँदोरहेछ । नत्र यो संसार कम बडो त छैन नि । यहाँ अनगिन्ति मानिसहरू बसोबास गर्छन् । मानौँ मान्छेहरूमा अहम् थिएन भने यिनीहरू कसरी बाँच्ने थिए ,जबकी संसारबासीहरू एक से एक छन् । यो पनि कथा नहोस् ,मैले यही चाहँदै लेखिरहेको छु ।

‘जीवन’, यो सोचमा पनि जिइनुजस्तो सजिलो भइदिए मान्छेहरूको आयु शायद् अहिलेको भन्दो दोब्बर हुने थियो । यो कुनै हिसाबबाट तयार गरिएको परिणाम हैन । यसैले तेब्बर पनि हुनसक्थ्यो ,चौबर,वा पच्बर पनि हुन सक्ने भन्नुलाई नकार्न सकिन्न । यहाँ भन्न खोजिएको कुरा अर्कै हो । मान्छे भोलिदेखि खुब तर्सिन्छ । भोलि म बिरामी परेँभने वा भोलि मेरो बा बित्नुभयो भने ,वा भोलि मेरो श्रीमतीको प्रिग्नेन्सीमा समस्या आयो भने वा ...भयो भने वा...भयो भने । हो यसै खालको विषयमा दिमाग खेलाएर उसले आफ्नो आयु घटाउँछ । तर त्यसै खालको भोलिको दिनपनि उसको बित्छ नै आखिर । त्यस्ता भोलिहरू नभई र नआई पनि छाड्दैन । र ती भोलिहरू नाघेर नै ऊ जिउँदै जान्छ । त्यसैले यो अगाडिका पिरहरू किन थिए ?जसले उसलाई सताउँदै आयो । वास्तवमा जीवन जिइनु जीवनसोचभन्दा सरल अनुभव हुन्छ । यसको मतलव यो पनि होइन कि जीवनसोचविना जीवन जिइनु सम्भव छ । तर यो दुईबीचको तारतम्य मिलाउनु अनौठोसिद्ध छ । फेरी जे चल्दैछ त्यसलाई सही भन्नु नै सही हो कि होइन भन्ने कुरालाई मुख्य सवालका रूपमा लिन सकिन्छ । प्रिय पाठकहरू ! अझैपनि यो पढ्दा कथा भन्ठान्दै हुनुहुन्छ भने तपाईँहरू गलत हुनुहुन्छ ।
देशमा एउटा पार्टी थियो ,हुन त अरू पनि थिए तर यहाँ सर्बैको चर्चा गर्न खोजिएको हैन । तर जसको चर्चा गर्न खोजिएको छ, त्यो स्थापनाकालमा कम्युनिष्ट थियो । यसका नेता कार्यकर्ता थुप्रैले परिवर्तनका निम्ति जेलनेल भोगेका थिए । देशमा यसरी कम्युनिष्ट पार्टीहरूको स्थापना चलिरहँदोरहेछ र तिनीहरू स्थापनाकालमा मात्र कम्युनिष्ट हुँदा रहेछन् । र अर्काथरी डेमोक्रेट्सहरू हुँदा रहेछन् जो कुनै कसरत नचाहँदा रहेछन् र आफ्नो राजनीतिक विस्तृतिलाई फ्याँकिएको दुबो सर्दै जाने कथासँग जोड्दारहेछन् । एउटा पार्टी जसको चर्चा गर्न खोजिँदैछ ,उसको एउटा पुरानो कार्यकर्ता जो यसका ठूला नेताहरूसँगै जेलनेल भोग्यो,उनीहरूले भन्ने गरेको जनताको लडाईँ लड्यो र पार्टी निकै सहज मोडमा हुँदा पार्टी मुख्यालय अगाडि आत्महत्या ग¥यो र फेरी पछि उसको छोराले । यहाँभने शायद् जीवनसोचभन्दा जीवनभोगाई कठीनसिद्ध अनुभव हुन्छ । तर पनि उसको जीवनसोचले नै त्यहाँसम्म घँचेटेको हुनुपर्छ । यो सत्यताले अर्को सत्यता खोतल्ने बाटो बनाउँदै छ । एउटा उद्योगकर्मीले बैङ्कबाट ऋण निकाल्यो र उद्योग खोल्यो । कार्तिक पछाडिको दिनहरूदेखि वैशाख,जेठसम्म लोडसेडिङको समस्या । उसको आयलाई व्ययले लात मार्न थाल्यो । अनि कुनैदिन झुन्डिएर आत्महत्या गरिदियो । यही घटनालाई पछ्याइरह्यो कर्णालीमा भोकमरीकै कारणले एक युवकले गरेको आत्महत्याले । यसलाई कथा मानेर पढ्नेहरूले सत्यता भुल्दै जानेछन् ।

बाँच्नु कहाँ सजिलो छ र ? तर मर्नेहरूले पनि बाँच्नै सिकाएर गए ,जस्तो कि ओइलाएको पातले हरियो पातको र फूलको सुन्दरता बताएर जान्छ ।

सपनाहरूको एबोर्सन,यो हाम्रोजस्तो देशबासीको सामान्य समस्या हो । सपनाहरूको भ्रुणमै जब हत्या हुन्छ तब पनि पो कसरी जिउन सके मान्छेहरू ,यो अचम्मजस्तो पनि छ । सपनाविहीन मान्छेहरू बगे्रल्ती बाँचिरहेछन् । या भनौँ मकैको बोटमा मकै नफलेर जब खोया र खोस्टामात्रै फल्छ तब केका निम्ति गर्ने हो खेती ?

देशमा सङ्कटकाल थियो ,बल्ल बाँचे मान्छेहरू । किलोसेरा टु अपरेशन ,सुराकीहरूको सफाया यी सामान्य तरिका थिए मान्छे हत्याका । मान्छे मारिनु कीराफट्याङ्ग्रा मारिनुजस्तो सस्तो थियो । माछा मार्न गएका माझी दाई फर्किएनन् ,सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमती छोडेर भाले खोज्न हिँडेको बज्यू दाई आतङ्ककारी हो भन्ने नाममा मारिए । आफ्नो सोझो हुलाकी पेशा गरेर खाने कार्की दाई सुराकी मानिए र उनको घाँटी सेरियो । र अहिले पनि देश सङ्क्रमण कालमा छ । यस्तै दुर्घटित समयको नाम बोकेर मान्छेको संवेदनाहरू किनबेच गर्ने ठाउँ खडा गरेका छन् ,एकझुन्ड छोटेराजाहरूले । र त्यहीँबाट सहिदका टाउका गन्नेदेखि देशको नाम फेर्ने सबै खालका निर्णय गर्न तल्लिन देखिन्छन् । यसलाई समयको प्रतिलिपी भनौँ, कथा नभनौँ ।

घडिको सुई घुम्नुमात्रले वा ऋतुहरूको फेरबदलमात्रले परिवर्तनलाई बुझाउन सक्छभने यो देशमा ठुलो परिवर्तन भइसकेकोे छ । नत्रभने यो देशको परिवर्तनसूचक बिग्रिएर अड्किएको घडीको सुईझैँ छ । यसो भनिदियो भने यसलाई पुष्टि गर्न कुनै आधारको जरुरत पर्दैन । जस्तो कि पहिरो गएको ठाउँमा गएर , पहिरो यो नै हो भनेर चिनाउनुको कुनै जरुरत छैन किनकी आँखासामुन्ने पहिरो खडा भएको हुन्छ ।

यो दिउँसोको समय हो । भित्तामा पात्रो झुन्डिएको छ । यो पनि गत सालकै हो । झ्यालबाट छिरेको हावा भित्तेपात्रोका पानाहरूसँग खुब लडाईँ गर्छ । जस्तो कि यो पात्रोका पानाहरूले उसको केही बिगारिदिएको होस् । अर्कोपट्टिको भित्तामा एउटा आकारमा ठुलै घडी झुन्डिएको छ । यसले पनि दिनको दुईपटक एकदम राम्रोसँग समय मिलाउँछ । कोठाको भित्तामा निकै पुरानाजस्ता लाग्ने पोस्टरहरू पनि टाँसिएका छन् । चिनिएसम्म यिनीहरूमा भगवानकै आकृति छन् । हुन त भगवानहरू कस्ता थिए ,यो देख्ने को थिए ? यी प्रश्नहरूका जवाफ पनि हुनैपर्छ भन्ने छैन । अनि एउटा अति नै सामान्यजस्तो ओछ्यान । र आवश्यकीयजस्ता नै लाग्ने केही अन्य सामानहरू । यो कोठाको वर्णन सुन्दा यो कोठामा कोही नबस्नेझैँ लाग्न सक्छ । तर यही कोठामा म बसिरहेको छु र बाँचिरहेको छु । कथाकारले यसरी कथा लेख्योभने अब कसैले पत्याउने छैन । अब कथाकारहरूलाई मान्छेहरूले चिनिसकेका छन् । उनीहरूको जीवनस्तर औसत मान्छेको भन्दा माथि हुने गर्छ । उनीहरूको खानपिन सामान्य हुनेछैन । कम्तिमा एकरातको रसपानको व्यवस्था छैनभने उनीहरू कार्यक्रममा जान मनाही गर्छन् । यदी यत्रो व्यवहार देखाउन सक्दैनभने आजभोलि कथाकार मानिदैन र यस खालको कथाकार, हुनुपर्ने नामावलीबाट बाहिरिन्छ । र राम्रो कथाकार हुन आफूले कहिल्यै नभोगेको खालको दुर्दान्त कथाहरूलाई आफूले नै भोगेको बनाएर कथालेखनभन्दा बढि कथा अभिनय गर्नुपर्छ । यो पनि कथाको कुनै प्लट होइन ।

अर्काथरी विदेश जानेहरू छन् । एक तरिकाले बाध्यता ,अर्को तरिकाले रहर ,त्यसपछि देखावटी र अन्य । यसरी नै मान्छे विदेश छन् । यहाँ काम गर्न भनेपछि आङ् बटार्नेहरू बाहिर गएपछि अर्काको जुठेल्नाको थालभाँडा मस्काउने ,हस्पिटलमा शव घिस्याउने ,कोठा पुछ्ने ,गोठालो लाग्ने ,घाँस काट्ने ,सडक र कुलोकुलेसा मर्मत गर्ने ,यौन प्रशाधक साधन बन्ने ,होटलमा नाच्ने या अनेक तरिकाले बाँच्ने अभियानका प्रवर्तकहरू बन्दारहेछन् र तिनैका यहाँ आएपछि शान र रवाफ बढी । देश छाडेर विदेश घिस्सिने कुराले नै देखाउँछ हामीलाई कत्तिको दासत्व स्विकार्य छ भन्ने । र यो फेरि जानेहरूको भन्दा जान बाध्य बनाउने देश चलाउँछु भन्ने महामहिमहरूको असफलताको पराकाष्ठा हो । यहाँ भैँसी चराउँदाचराउँदै छोडेर आन्दोलनमा हिँडेको मान्छे प्रधानमन्त्री भएर फर्किन्छ । अनि उसले कहिले बुझ्नु देश जबकी आफैँलाई विश्वास भएको हुन्न आफ्नो ओहदाको । जोगी कहिल्यै धनी हुन्न भनेर उखान गाउँदै हिँड्ने बुढाहरू अझै मरेका छैनन् । बरू यिनीहरूले भन्ने कथामा हुन्थ्यो— कुनै सुन्दर सहर । अनि त्यहीँ बस्थे सुनले बनेका मान्छेहरू ...। आदिआदि ।

यो मात्र त्यस्तो देश हो ,जहाँ सबै खालका स्रोत र साधनहरू राम्रोसँग परिचालन भएको छ । यहाँका मानिसहरू कोही विदेसिनु पर्दैन । सबै मानिस स्वरोजगार छन् । राजनीतिक स्थिरता सधैँ छ । देशका योजनाहरू सय बर्ष अगाडिको समयलाई मध्यनजर गर्दै बन्छ । विदेशबाट मानिसहरू रोजगारीका निम्ति यहाँ आउँछन् । सरकारले स्वास्थ्य, शिक्षा,बिजुली ,खानेपानी र यातायातलाई निशुल्क गरिदिएको छ । उर्जासङ्कटलाई ध्यानमा राख्दै सय बर्षको इन्धनयोजना तय भइसकेको छ । अन्तरीक्षमा एउटा आफ्नै देशको निजी प्रयोगशाला बनाउने कुरा भइरहेको छ । सय वर्षका निम्ति कुनै अन्न उव्जनी नभएपनि त्यसबराबर अन्न भन्डारन गरिसकिएको छ । चारओटा ठुला सुनखानीमध्ये देशको पछिल्लो भविष्यलाई मध्यनजर गर्दै एउटालाई मात्र अहिले इजाजत दिइएको छ । यसैवर्ष देशको पैसाको मूल्यपनि विश्वको सबभन्दा महङ्गोमा रुपान्तर भएको छ र पछिल्लो सर्वेक्षणअनुसार विश्वका साठ्ठी प्रतिशतभन्दा बढी विद्धान मान्छेहरू यही देशका ठहरिएका छन् र विश्वका नोबल पुरस्कार विजेतामध्ये पनि अधिकाशं यही देशबाट पर्ने गरेका छन् । ओहो ! यो सपना भन्नेपनि कहिलेकाहीँ निकै नै प्रिय पो देखिने रहेछ । औसत नेपालीको कल्पनामा बन्दै र भत्किँदै गरेको पोर्टे«ट यही हो ।

कुनैदिन लेखिदिएँ –ओ मान्छे , चिन्यौ तिमीले मृत्युलाई ? यो कुन बाटो आउँछ र कतातिर जान्छ ? यसको बास र ठेगाना कुन हो ? र यो मौनजस्तो पनि किन छ ? र यो कठोरजस्तो पनि किन छ ?

सायद् मृत्यु थिएन भने जिउनुको सुन्दरता कहाँ थियो र ? र यो लेखिरहेको मृत्युबोध हुँदै होइन र कथा पनि हैन । यो जिउनुको सुन्दरताको सफेद् बयान हो । र यो पनि सत्य हो जिउनु कुनै कथा हैन ,जुन सुनाउँदै हिँड्न मिल्छ र जसको नाममा इनाम पाइन्छ । जसलाई सजिलैले अरूले पढ्न सक्छन् बरू यो त मौनताजस्तो सुन्दर चित्र पो रहेछ कि ? थाहा छैन ।

जस्तो कि कथा लेख्न पनि इजाजत पत्र चाहियोस् ,र लेखिएको पूर्णतया वैधानिक होस् ,नत्र किन लेखिरहनु अवैधानिक र बेअर्थजस्तो लाग्ने कथाका नयाँ संस्करणहरू । यसैले कथा सुरू भएकै छैन.....।

छतिवन–८पावस,
मकवानपुर

Friday, October 22, 2010

MY POEM

सुचना

म हराएको
पछिल्लो खबर
यो चोकको सुचना पाटीमा टाँसिएको छ

यो चोकको अलि अघिल्तिर
साइबर क्याफेको ठीक पछाडि
त्यो चियापसलको नजिकै
म उभिएर गफ गर्दै थिएँ
हराउनुअघि

सुचनामा एउटा फोटोपनि टाँसिएको छ
मलाई चिन्नेहरूले फोटोपनि चिन्नेछन्
हराउनुअघि
म हराएकै थिइन
र मलाई थाहै थिएन हराउनुको अनुभव

म ठान्थेँ बुद्ध हरायो आपैmबाट र चिन्दै आयो सारा जगतले

आइन्स्टाइन पढाइरहेछ पसिना पुछ्दै यहीँ कतै
आदिम पर्खालले घेरिएको
कुनै जीर्ण सरकारी  विद्यालयमा
र उसको उही पुरानो चस्मा मिलाउँदै
भनिरहेछ ः पदार्थ हराएपछि  शक्ति बन्छ
हो ,मलाई पनि चाहिएको छ त्यही शक्ति
र बाँड्न सकियोस् यसको एकएक क्याप्सुल
खान नपाएका अथाह मान्छेहरूलाई

जब हुक्का तान्दा निस्किने
आवाजजस्तो बेअर्थ लाग्न थाल्छ देशको संविधान
वा कतै एक्लै कराइरहेको कागको आवाजजस्तो
भजन गाउन थाल्छन् मन्दिरका पुजारीहरू
अनि त फुटाइदिँदोरहेछ हावाको प्रत्येक झोक्काले
झ्यालका सिसाहरू

यो चोकमा
आजभोलि म भेटिने छैन
कुनै पनि अवस्थामा
पसलमा तरकारी किन्दै
बजारमा आएको नयाँ उपन्यासको मूल्य सोध्दै
र भर्खरै रिलिज भएको फिल्मका सिडिहरू किन्दै
वा पत्रिकाका पुनरावृत खबरहरूसहित ताता पृष्ठहरू पल्टाउँदै

र यो अचम्म पनि भएको छैन म हराउनुु
र यो सामान्य छ ,जस्तो कि छायाँ हराउँछ उज्यालो निभेपछि
र यो खालको अभ्यस्तता यहाँको नियमितताजस्तो छ

पर क्षितिजबाट
उड्दै आउने एउटा अजङ्गको पहाड
जव थामिनेछ यहीँ कतै
यिनै मान्छेका टाउकाहरूमाथि
उफ् यो गह्रौँ र भयावह हुनेछ
अनि कसरी थाम्नेछन् यिनीहरूले ?

म निकै चिन्तित छु  ।














Tuesday, September 28, 2010

commentry

विषय एक,प्रसङ्ग अनेक

सुवास खनाल

मलाई केही लेखूँजस्तो पनि लागिरहेको छ । लेख्नु भनेको एकखालको चिन्तनबाट छुटकारा पाउनु पनि हो । मानिसले छुटकारा पाउन अनेक गर्दारहेछन् । महान वैज्ञानिक मानिएका र फादर अफ फिजिक्स भनिने आइन्सटाइनले पनि आफ्नो जीवनकालभरि झन्डै ईश्वरको अस्तित्वलाई नकारे तर अन्तिमतिर आएर भने –‘दिस युनिभर्स इज गाइडेड बाइ सम सुपरनेचुरल पावर’ ,उनले अझै भने –‘दिस युनिभर्स इज लाइक अ डाइस ह्विच इज प्लेड बाइ द गड ’ । नेपालका महाकविले पनि कुनै समय लेखे –‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो?’ र जीवनको उत्तरार्धमा लेखे –‘आखिर श्रीकृष्ण रहेछन् एक, न ज्ञान भो न भो विवेक ’। यो सब छुटकाराको निम्ति लेखिएका हुन्जस्तो लाग्छ मलाई । जीवनको प्राय ः कालमा जे कुरालाई अन्तरमा थिचेर वा लुकाएर राख्यो त्यो अन्तकालतिर स्वस्फूर्त रूपमा निस्किँदारहेछन् । छुटकारा पाउनु वा मुक्त हुनु जीवनको साह्रै आनन्दको क्षण रहेछ । अहिले हकिन्स ब्ल्याक होलको विषयमा खुब लागिपरेका छन् । उनले आइन्स्टाइनको विचारलाई व्यङ्ग्यपूर्ण ढङ्गले भनेका छन्–‘आइ कन्सिडर दिस युनिभर्स इज लाइक अ डाइस प्लेड बाइ द गड् बट गड अल्सो डजन्ट नो ह्वेर ह्याज हि थ्रोन द्याट डाइस’ ,तर पछि यिनी पनि अरूकै लाइनमा जान सक्छन् । नित्सेले पनि ईश्वरको मृत्यु भएको घोषणा गर्न जराथुस्त्र पात्र जन्माए । यो चल्दै जाने प्रक्रिया नै रहेछ । किनकी यो संसारमा मान्छेले ठान्ने सत्य निरपेक्ष छैन । यो बदलिइरहन सक्दोरहेछ । सायद यो ब्रह्माण्ड सम्भव पनि त्यसैले छ ।

म विषयवस्तुबाट टाढिइरहन खोजेको छैन । मैले उठाउन खोजेको खास ठुलो विषय पनि होइन । मैले त मकवानपुर र चितवनको सहित्यको विषयप्रसङ्गलाई जोड्न खोजेको हुँ ।  त्यो पनि गद्य कविता र यसको लेखनको । केही लेखकबारे , क्रियाशील विशेष रहिराख्नुभएका र अतिसामान्य ढङ्गमा । यो अन्तिम होइन । यो कोठेलेखन पनि हो । मलाई कविताको विषयमा भन्नु केही छैन । कविता कविता हो ,कविता कविताजस्तो हुनुपर्छ । मात्र यत्ति हो कविताले कहिँँ कतै पिन्च गर्न सकेन ,छोएन भनेचाहीँ मेरो कविताको मापदण्डमा पर्दैन । कविता सुन्नु ,पढ्नु र फिल गर्नु । अनि कविता सहन गर्नु वा भनूँ टोलरेट गर्नु वा अझ सजिलो शव्दमा कविता खप्नु । कविता खप्नुको पीडाले कहिलेकाहीँ म रन्थनिने गर्छु । आफैँलाई सुनाउन जाँगर नलागेका अनि मञ्चमा बोलाइएका कारणले मात्र पढिएका कविताहरू खपेर सुनिदिनु मेरालागि कष्टकर विषय हो र यो मेरालागि मात्र होइन सामान्य जो कोहीलाई अनुभव हुने विषय हो भन्ने मलाई लाग्छ । यही कविता परम्पराले सायद मानिसको कविताप्रतिको वितृष्णा बढेको हुनसक्छ भन्ने मेरो अनुमान हो ।

चितवन र मकवानपुर दुबै गद्य कवितामा सशक्त अनुभव हुने गर्छ मलाई । सङ्ख्यात्मक रूपमा लेखनको मात्रा चितवनमा बढि छ । गजलको क्षेत्रमा आकर्षित युवाहरूको जमात त झन् ्निकै  रहेको छ । यो मात्र पनि उत्कृष्टताको आधार भने होइन । तर फेरि मेहनत र अध्ययनले लेख्नेहरूको सङ्ख्या पनि राम्रो छ चितवनमा । त्यस्तै मकवानपुरमा लेख्नेहरूको सङ्ख्या अलि कमै छ तर लेखन उत्कृष्टता भने कमजोर लाग्दैन । एकाध इन्टरभ्यूहरूमा प्रश्न हुने गर्छ चितवन र मकवानपुरको साहित्यिक स्तरमा के अन्तर छ वा क्रियाशीलतामा के अन्तर छ र मलाई लाग्छ कुनै पनि साहित्य कमजोर हुँदैन । मात्र यत्ति हो कि कसले बजार पायो वा कसले पाएन । कसमा निरन्तरता भयो वा कसमा भएन । वा अझ कसले आफूलाई माझ्यो र कसले माझेन । आफूलाई माझ्नेहरू चम्किँदै जान्छन् ,त्यो समयले देखाउँदै लैजान्छ । नमाझ्नेहरूलाई झन् समयले फोहर बनाउँदै लैजाँदो रहेछ । माझ्न छाडेर कृतिम लेप लगाउनेहरूको जति बिजोग त कसैको पनि हुँदोरहेनछ । पछि वास्तविकता खुलेपछि त्यो जत्तिको कुरूप त कुनैपनि देखिँदोरहेनछ । म भन्ने गर्छु साहित्यको मापन हुनै सक्दैन । मात्र यत्ति हो कुन समयमा कुन महत्वपूर्ण ठहर्छ । निश्चित सीमाहरूमा बाँधेर हेरियोभने बल्ल केही अर्थमा तुलनासम्म हुन सक्दोरहेछ । अलिकति केचाहीँ अनुभव हुन्छभने साहित्य सहज लाग्यो वा लागेन । साँच्चै त्यसरी दाँजेर हेर्न थाल्ने हो भने त मकवानपुरमा अर्को प्रेमविनोद नन्दन् वा गोविन्दराज विनोदी वा केशवराज आमोदीहरू नभेटिन सक्छन् त्यस्तै चितवनमा –‘फूलैफूल मात्र पनि होइन रहेछ जीवन’ लेख्ने भीम विराग नपाइन सक्छ । यसैले एब्सोल्युट कुराको खोजीतर्फ लाग्नु हँदोरहेनछ । फूलमा बाहिरी स्वरूप हेर्दा जुन आनन्द आउँछ तर त्यसलाई खोतल्दै जाने हो भने नआउँदो रहेछ । रङ पछि के छ ?सुगन्धपछि के छ?पत्र ,पत्र,फेरी पत्रपछि के छ ? अब यसरी सुन्दरता कहाँ प्राप्त हुँदोरहेछ र ?  समग्रमा आनन्द लिने बानीजत्ति सर्वोच्च शायद् केही रहेनछ ।

मकवानपुरमा नभएका कति कुरा चितवनको लेखनीमा पाइन्छ र चितवनको लेखनीमा नभएका कति कुराको मीठास मकवानपुरको लेखनीमा पाइन्छ ।  म चितवनको साहित्यलाई पुरै रूपमा चिन्न सफल छैन । तर मकवानपुरको साहित्यबारे धेरै प्रष्ट छु । चितवनमा गद्य कविता लेख्ने केही मैले चिनेकाहरूमा भूपिन व्याकुल ,सङ्गीत आयाम ,धनराज गिरी ,सरीता तिवारी ,प्रसन्न, रमेश प्रभात, पुष्प अधिकारी अञ्जली, ,सिर्जन अविरल,एल .बी.क्षेत्री ,सुरेन्द्र अस्तफल ,बालकृष्ण थपलिया ,सुमनराज श्रेष्ठ,जी.शर्मा ,प्रभाकर पण्डितलगायत पर्नुहुन्छ । उहाँहरू हालमा नियमितजसो गद्यकविताहरू लेखिराख्नुभएको पाइन्छ । मलाई चितवनको विगतबारे जानकारी छैन । हालमा समग्रमा लेखनको उचाइ राम्रो छ र सफल सम्भाव्य परिणामको नै अवस्था रहेको छ । यसलाई लिड गर्ने  युवापुस्ता नै रहेको देखिन्छ र नवसर्जकहरू भने बढि गजलकेन्द्रित रहनुले भविष्यको गद्यकविता लेखनको  निरन्तरतालाई सहज आँकलन गर्न गाह्रो नै छ । यहाँ मैले प्रेमविनोद नन्दन र गोन्दिराज विनोदीलाई छुटाउनुको कारण उहाँहरूलाई मैले गद्यकवितामा पढेको छैन र मैले विशेषत ः जसलाई पढिरहेको छु ती नामहरू पर्न आएका छन् । यहाँ गद्यकवितामा नै कृति प्रकाशित स्रष्टाहरू समेत छुटेका  हुनसक्छन् । यो एक विहङ्गावलोकन मात्र हो । समग्रमा कवितालेखनको बहाब पनि राम्रो छ । कपिल अज्ञातले एक कार्यक्रममा भन्नुभयो –‘राम्रो भनेपछि कारण खुलाउनुपर्छ’ । उहाँ एकजना समालोचक पनि हुनुहुन्छ । भौतिकवादीहरू,जो पदार्थमा विश्वास गर्छन् ,उनीहरू पनि कारण नभए विषयवस्तु बेअर्थ ठान्छन् । त्यस अर्थमा उहाँको कुरा पनि सही छ तर मलाई त लाग्छ विनाकारण पनि राम्रो लाग्नसक्छ । यो त  मनको जवाफ हो । विनाकारण राम्रो लाग्नु पनि एक सौन्दर्य नै हो । राम्रो लाग्यो ,सकियो ।  तर लेखनको माहौल चितवनमा कारणसहित राम्रो छ । अध्ययन संस्कार ,किताब किनेर पढ्ने पद्धती विकास हुँदै जानु साथै साहित्यिक समीक्षाका कार्यक्रमहरू भइरहनुले साहित्यिक विकासको निरन्तरतालाई औल्याउँछ । यहाँ अक्ष्।र समूह चितवन ,चितवन साहित्य परिषद्,साहित्य सङ्गम चितवन ,हाम्रो मझेरी साहित्य प्रतिष्ठान,अग्रगामी साहित्य समाज,पल्लव साहित्य प्रतिष्ठानलगायत थुप्रै साहित्यिक सङ्घ ,संस्थाहरू क्रियाशील देखिन्छन् । चितवनमा साहित्यिक कार्यक्रम धेरै हुने भएपनि चितवन पोस्टबाहेकका पत्रिकाले साहित्यिक विषयवस्तु कम समेटेको र साहित्यिक समाचार सम्प्रेषणमा त सबैप्राय ःपत्रिका अग्रसर नभएको नै पाइन्छ । यसले मलाई लाग्छ साहित्य र पत्रकारिता दुबै क्षेत्रलाई असर पु¥याउन सक्छ भविष्यमा । र लेखनमा व्यक्तिकेन्द्रियता बढि देख्छु म । साथै कविता सुनाउनका निम्ति सहज र नियमित खालको मञ्च अभाव छ । यो दुखद पक्ष हो र यसले लेखक पहिचानमा अप्ठेरो पर्छ ।

मकवानपुरमा गद्य कविता निरन्तर लेख्नेहरूमा भीम विराग ( अहिले त काठमान्डौ हुनुहुन्छ ), तुल्सी थापा, साम्ब ढकाल, निमेष निखिल, आर.आर. चौलागाई ,तुलसी घिमिरे,सुवास खनाल, देवराज खरेल,गणेशकुमार पौडेल,बबी थापा ,अर्जुन क्षितिज,रामशरण पुडाशैनी,पद्मराज लामिछाने ‘गगन’ ,ओमप्रकाश खुलाल,एस.के निधन ,भावना सापकोटा लगायत छन् । यहाँ पनि लिडभने युवापुस्ताले नै गरिरहेको छ । मकवानपुरमा साहित्यिक कार्यक्रमभने निश्चित समयमा हुने गर्छ । गजल मञ्च मकवानपुरले महिनाको पहिलो शनिवार नियमित गजल यात्रा गर्छ । साहित्य सङ्गम मकवानपुरले महिनाको दोस्रो शनिवार नियमित साहित्य सन्ध्या गर्छ । झरना हेटौँडा सेतुले चौमासिक रूपमा सशुल्क मुक्तक वाचन कार्यक्रम गर्छ । त्यस्तै भीम विराग साहित्य,संस्कृति तथा कला प्रतिष्ठान ,मातृभूमि साहित्य समाज,झरना साहित्यिक परिवारलगायतले पनि कार्यक्रमहरू गरिरहने गर्छन् । यसरी नियमित कार्यक्रमले पनि सर्जकहरूलाई हौस्याएको छ । गद्यकविता लेखनमा नव पुस्ता पनि निकै सक्रिय रूपमा लागेकाले यसको भविष्य उज्वल छ भन्न सकिन्छ, मकवानपुरमा । नवसर्जकहरू उमेश तिमल्सिना ,विश्व राई ,अनिता न्यौपाने ,पुर्षोत्तम आचार्य ,वसन्त खरेलीलगायतकाहरूको भविष्य पनि उज्ज्वल देखिन्छ । यसका साथ ‘हेटौँडा सन्देश’ र ‘हेटौँडा टुडे ’लगाएतका पत्रिकाले साहित्यिक समाचार साथै साहित्यिक विषयवस्तुलाई राम्रोसँग उठाएको पाइन्छ । तर यहाँपनि नियमित कार्यक्रम मोनोटोनसजस्तो लाग्ने गर्दछ । साहित्यिक किताबहरू किनेर पढ्ने खालको जाँगर कम देखिन्छ सर्जकहरूमा  । अध्ययनशील र मेहनत गरेर लेख्नेको सङ्ख्या साँघुरो भएपनि यो बढ्दै गएको देखिन्छ । र लेख्नेहरूले कवितालाई न्याय गरिरहेकै पाइन्छ । भविष्य सुखद् बनाउनभने मनको साँघुरो गल्लीहरूमामात्र कवि लेखकहरू हिँड्न छोड्नुपर्छ ।

साहित्यमा जति विकेन्द्रिकरण र समाजपरक हुनुपर्ने कुरा गरिएपनि यो व्यक्तिपरक र केन्द्रिकृत अवस्थालाई नकार्न सकिन्न । चितवन भनेपछि भरतपुर र यसको वरपर बसोबास गर्नेलाई मात्र त नबुझिनुपर्ने हो । मकवानपुर भनेपछि हेटौँडा र यसको वरपर बस्नेलाई मात्र नबुझिनुपर्ने हो र नेपाल भनेपछि काठमान्डौ भ्यालीमात्र पनि हैन । तर यो कुराको व्याप्ति सांस्कारिक रूपमा रही आएको छ, साहित्यिकलगायत सबै क्षेत्रमा । यसलाई हटाउनुको आवश्यकता  रहेको छ । यसपालि मदन पुरस्कार गुठीले मदन पुरस्कारका निम्ति जुन तरिका रोज्यो त्यसलाई सलाम गर्नैपर्छ तर विषयान्तर भएको भने महसुस भयो । यहाँ लेखमा उल्लिखित सर्जकहरूको नाम पनि त्यही पेरिफेरिमा पर्न आउँछन् तर यसबाहेकका व्यक्तिहरूको चिनारी नबन्नु पनि समस्या हो ।

लेखन, यो पनि दर्शनसम्बद्य समस्या हो । कसलाई लेखन मान्ने ?वा कसलाई नमान्ने ? के भएपछि लेखेको सही हुने वा के भएपछि नहुने । यी यावत प्रश्नहरू छन् र लेखन सस्तो विषयवस्तु पनि होइन वा हुन पनि सक्छ । यो विश्वास गर्नेमा नै भर पर्ने गर्छ ,सायद यही नै त सत्य होला या नहुन पनि त सक्छ । तर जे होस्  निरन्तरता र अध्ययन लेखन सशक्ततताका  साधनहरू रहेछन् । आइन्सटाइनले भनेका छन् –‘वैज्ञानिकहरूको आविष्कार र कविहरूको कृति सृजनात्मक दृष्टिले उनीहरू समकक्षीय हुन्छन् । आविष्कार वेज्ञानिकहरूको सिर्जना होभने ,सिर्जना कवि लेखकहरूको आविष्कार ।’सही समयमा सही खालका सिर्जना गर्न सकियो भने समयले कविलेखकहरूलाई बचाइदिँदो रहेछ । र सधैँको ढुलमुलले उनीहरूको प्रतिभालाई समेत खाइदिन सक्दोरहेछ । अनि लेखनमा सचेतता निकै अनिवार्य नै हँुदोरहेछ । असचेत लेखकहरूको लेखनले इतिहासमा खास ठुलो प्रभाव राख्न  सक्दोरहेनछ । यसर्थ लेखकहरू समयसचेत बन्न सकेभने पाठकअभाव व्यहार्नुपर्ने छैन साहित्यमा । समयका लेखकहरूले अझै उत्कृष्ट लेख्दै जानेछन् ,यही कामना गरौँ ।


छतिवन ः८,पावस ,मकवानपुर
हाल ः भरतपुर

Monday, September 27, 2010

POEM

डेथ नोट्स र आशाहरू

सुवास खनाल


ए ! क्याप्सनमा ‘डेथ नोट्स’ लेखिएको
लुगा लगाउने मान्छे
चिन्यौ तिमीले मृत्युलाई ?

यो कुन बाटो आउँछ र कतातिर जान्छ ?
यसको बास र ठेगाना कुन हो ?
यसलाई किन मन पर्दैन सपनाहरूको घर ?
वा रहरहरूको हिमाल ?

निभाइदिन्छ बलिरहेको चम्किलो तारा
कुनै छद्मभेषी बादललेझैँ

हामीलाई  सिर्जनाहरू प्रिय छन्
हामीलाई  कल्पनाहरूले मात्र पनि बाँच्न सिकाएका छन्
तर  यो आउँछ हूरीझैँ मनहरूमा
वा रातहरूभैmँ अँध्यारो पोत्दै
सूर्यकै गालामा ,आँखामा ,ओठमा र जताततै

र फेरि यो मौनजस्तो पनि किन छ ?
र फेरि यो कठोरजस्तो पनि किन छ ?
र पनि आशाहरू
हुर्काएर बस्नेछौँ हामी निर्धक्क मनको खेत र बारीभरि

दियो जीवनको जब बल्छ
तब त सुन्दर रहेछ संसार
हर्कुलस, सायद त्यसै बचाइरहेको छैन प्रमिथस

ए मान्छे तिमीले भनेजस्तो
कहीँ पुग्नु होइन रहेछ जीवन
यो त शुरुवात मात्र रहेछ
हिँडिरहनु ,हिँडिरहनु र हिँडिरहनु
वाह ! जिन्दगी तेरो खातामा पुरानो हिसाबकिताब मेटिएकै छैन
तर नयाँ हावाका लहरहरू थुुुनिसकिएका रहेछन् तेरा दराजभरिभरि

‘डेथ नोट्स’
उफ् ! मलाई यो इस्पातले हिर्काएर
शरीरमा बसेको डामजस्तो लागिरहेछ

‘मेरो एउटै सपना जीवन हो’
म सपनाहरूमा कराएँ भने
वा म निद्रामा नै बोलेँ भने
मलाई नब्यँुझाउनु प्रिय
मेरो त्योभन्दा सुन्दर सपना केही हुने छैन ।

( धेरै मानिसहरूले डेथ नोट्स लेखिएको भेस्ट लगाएको देखेर प्रेरित )

२०६७।०६।०९















     

Thursday, September 23, 2010

POEM :CITY OF STAR

ताराहरूको सहर

सुवास खनाल

बर्खास्त
बादशाहको भग्नावशेष दरबार
त्यो नजिक आकाश छोेऊ“झै“
उभिरहेको क्रान्तिकारी नेताको आवासगृह
आवासगृहअघि आ“सुको मोलमलाई
र पसिनाको किनबेचभmेलिरहेका
सर्वसाधारण
सहरको एक कुनोमा
साम्यवादको वकालत गर्ने
कम्युनिष्ट पार्टीको
भर्खरै खरिद भएको कार्यालय–रातो ब¨ला
नारा जुलुस गरिरहेका
एकझुण्ड नागरिक अगुवाहरू
सहरमा तानाशाह
चाहिरहेका
डेमोक्रेट्हरू
मैले कसको पक्ष लिऊ“?
म कसको कविता लेखू“?

मस“ग तिमीस“ग
अभ्यस्त
बाह्रमासे सपनाहरू
बाहेक अरु केही छैनन्


रिग“टा लाग्दा
अखबारका हेडलाइनहरू
पढेपछि
म कतिपटक
तिम्रो नाम नलिएसम्म
अचेत बर्बराउने गरेको छु

टेलिभिजन स्क्रिनमा
मिस वल्र्डहरूको
छ्याकटे अनुहार
र नग्न रूप देखेपछि

तिम्रो
सौम्य अनुहार र
सभ्य आचरण
माथि
बादल ढाकिएको ठान्छु


एस्ट्रेमा निभाउन बा“की
चुरोटको ठुटोस“ग
जीवन अनुवाद भएपछि
धैरैपटक
निराश पनि भए“ हु“ला
र पनि जोसैजोसमा
रहरहरूको पहाड चढेको छु


आकाशबाट खस्दै गरेको
एउटा तारा टिपेर
तिम्रै चुल्ठोमा सिउरिदिन पाए
यस धर्तीमै ताराहरूको सहर पस्थे“ म

यही सहरलाई
ताराहरुको आकाश बनाउ“थे

आज मस“ग
एउटा कुरूप सहर
ज्यानमारा समयको
का“ध चढेर हि“डिरहेछ

त्यहीसहरमा
अभिशप्त
बा“चिरहेछुु म ।

छतिवन ः८

Wednesday, September 22, 2010

POEM BAGAR.

झ्याल,बगर र कथाहरू

सुवास खनाल

जबजब झ्यालमा पर्दाहरू हट्छन्
तब त देखिन्छ
डाइनिङ्ग टेबलमा खान तयार गरेर राखिएको
मासुका टुक्राहरूजस्तो
एकटुक्रा आकाश
एकटुक्रा जमिन
एकटुक्रा सडक
एकटुक्रा बगर

सडकमा लापर्वाह सुतिरहेको रक्सीले मातेको मान्छे

यो आकाश कहाँसम्म फैलिँदै गएको छ ?
यो धरतीको किनारा कहाँ छ ?
यो सडक आकाशतिर उक्लिन्छ कि उक्लिँदैन ?

बगरका ढुङ्गाहरूमा
फूल उम्रिन्छ कि उम्रिँदैन ?
सपनाजस्तो थुप्रै रहस्यहरू
म खोतल्न सक्दिन

म मान्छे मन नपराउने मान्छेहरूले
पढिरहेको कथा चुपचाप सुनिरहेछु

कुनैदिन मेरो पालो आयो भने
म पागलजस्तै बर्बराइरहेको हुन सक्नेछु
मान्छेकै पक्षमा लेखिएका
मेरा सयौँ कथाहरू पढ्दै

‘ म मान्छे चाहन्न ’
उफ् को कराइरहेछ अँध्यारोमा ?
म भने मान्छेकै प्रेमले
बाँचिरहेछु प्रत्येक क्षण

सपनाहरू बेफिक्री चपाउन सक्दारहेछन् भगवानहरूले
मन्दिरमै बसेर
तर कोही गाइरहेछ कतै टाढा
सायद् मान्छेकै आवाज हुनुपर्छ
यो कति मीठो र सुमधुर छ

तिमीले मान्छेलाई सपनाहरू पढाएनौ

मान्छेहरू भट्टीमा बसेर पिइरहेछन्
शराबजस्तो जिन्दगी
तिमीले सिकाएनौ मान्छेलाई
बहिरहेको हावालाई समातेर राख्न अञ्जुलीभरि
र मान्छे बगरहरूमा डुलिरहेछ आफ्नै जिन्दगीको
र त्यतैबाट बगाएर फर्किँदैछ
स्वत्व
साँच्चै सिकाउँदै सिकाएनौ मान्छेहरूलाई
झ्यालका खापाहरूमा घामको आभाले लेखेर गएको
प्रेमपत्र पढ्न
र हेर
मान्छेले सुन्न  छोडिसक्यो संवेदनाका कथाहरू

ए ! सुन त अलि परका मान्छेहरू
उनिउँ फुल्छन् कि फुल्दैनन् तिम्रो बस्तीमा
तर उनिउँ फुलेर हैरान छौँ
हामी हाम्रोतिर ।


छतिवन ः८,पावस
मकवानपुर

Saturday, August 28, 2010

DEATH WORD

कविता

प्राणहीन कविता
                                                सुवास खनाल
प्राणहीन कविताहरूको
सस्तो बजारमा
मलाई नबिकाऊ मेरो प्रिय कवि

समय हराइसकेपछि समयको महत्व फुक्दै हिँड्ने
नकाम शव्दहरूको मेला
वाक् थु.....डेट एक्सपायर्ड कविता
जबजब कविताले कार्वनमोनोअक्साइड फ्याँक्न थाल्छ
थोत्रो ट्याक्टरले उडाउने धुवाँजस्तो
जबजब कवितामा पलाउँछ
पाउरोटीमा लाग्ने सेतो ,कालो वा खैरो यिस्टजस्तो
भो मलाई लेख्नु छैन यस्तो कविता
जहाँ शव्दहरू छन्,अर्थहरू प्राणहीन छन्

त्यही घाम ,त्यही जून ,त्यही हावा ,त्यही माटो
त्यही बाटो ,त्यही सपना ,त्यही बिपना, त्यही गुनासो
उफ् !
कवितामा यही लेउ कति  जमेर बसेको छ

घामको कवितामा अँध्यारोको सत्तोसराप
जूनको कवितामा प्रेमिकाको शव्दातीत वर्णन
हावाको कवितामा नचाहँदै आएको हूरीको प्रसङ्ग
माटोको कवितामा संसारको सबभन्दा बढी राष्ट्रपे्रमी आपूm घोषित हुनु
हिँड्दाहिँड्दै बाटो हराउँछ बाटोको कवितामा
सपनाहरू हूरीले उडाउँछन् वा पूरा हुँदैनन्
बिपनाहरू साँचो लाग्दैनन्
गुनासो यथावत् छ
हो यही हो सपना,विपना र गुनासोको कविता

कविताको शक्ति !
बालुवाको महल वा धूलोमा लेखिएको अक्षर ???

अहँ होइन,यो म मान्दिन
लेखिने कविताहरू यस्ता हुनेछैनन्
अनुहार हराएर अज्ञात प्रदेशतिरबाट फर्केका मान्छेजस्तो
आफ्नै बस्ती नचिनेर परदेश भासिएकाहरूजस्तो
वा बत्तिमुनीको अँध्यारोजस्तो

बरू नलेखूँ एउटै कविता
मलाई प्राणहीन कविता लेख्नु छैन।

Saturday, August 21, 2010

COLLEGE POEM

कलेज : एक यातना शिविर       
                           
सुवास खनाल                                       

मलाई
कलेजको भित्ताभरिभरि
यातना शिविर लेख्नुको रहर छ


कलेज अध्ययन खप्न गइरहेछु

हरेक प्रोफेसर
पोडियम अघि उभिन्छ
र बाँड्छ स्लिपिङ्ग ट्याबलेट

यो कस्तो  दुर्दशा
पेशाप्रति घृणा सिक्न
म कलेज जाने गर्छु

“नपढेर हली बन्छौ ?"
प्रोफेसर : एक
“पढ्दैनौ भने गोठालो बन्छौ ?"
प्रोफेसर : दुई
“सिपाही बन्नु हो तिम्रो उद्देश्य ?"
प्रोफेसर : तीन
“राजनीति, यो वेश्याको खेल हो"
प्रोफेसर : चार
“खेलाडी बन्ने हो भने किन आउनु कलेज ?"
प्रोफेसर : पाँच
“यो पढाउने काम झन् ठीक छैन ?"
प्रोफेसर : छ
प्रोफेसर : सात
प्रोफेसर : आठ
.................
आदि आदि
                           
प्यारा गुरुहरू
मलाई हली बन्न सिकाइदेऊ
मलाई गोठालो बन्न सिकाइदेऊ
मलाई सिपाही बन्न सिकाइदेऊ
मलाई राजनीति गर्न सिकाइदेऊ
वा तिमीलेझैँ पढाउन सिकाइदेऊ


मलाई पेशाप्रति
प्रेम जगाइदेऊ

हामी जीवनसँग टाढिएर
ज्ञान लिन सक्दैनौँ  ।

Monday, May 31, 2010

GAZAL

गजल


सुवास खनाल

खै के के बताएर गयो ऊ अनि झस्केँ म
एकछिन सताएर गयो ऊ अनि झस्केँ म

हो रङहरू थिए तिमी थियौ रङ्गीन र म
मेहेफिल तताएर गयो ऊ अनि झस्केँ म

बुद्धका आँखाहरूझैँ निर्दोष किन देखेँ उसलाई
पर्दा लाजको हटाएर गयो ऊ अनि झस्केँ म

भ्रम हा कि यथार्थ बाँचिरहेको मलाई
स्वप्नप्रदेश कटाएर गयो ऊ अनि झस्केँ म ।

My gazal

गजल


सुवास खनाल

मलाई यो अयोध्यामा रामहरू छैनन् जस्तो लाग्यो
जून बेचैन छ,यो धरती बेचैन छ घामहरू छैनन् जस्तो लाग्यो

सपनामा भव्य ताजमहल बनाएर कहाँ हुन्छ र ?
बदनामहरू प्रशस्तै छन् नामहरू छैनन् जस्तो लाग्यो

मान्छे पछि मान्छे र मान्छेहरू खोजिरहेछु म
मन्दिरहरू छन् ,देवता र धामहरू छैनन् जस्तो लाग्यो

बालुवामा लेखिएजस्तो हराउँदो अस्तित्व हाम्रो
नयाँ युगका चिठी बोक्ने खामहरू छैनन् जस्तो लाग्यो

नदेखिएरै दुख्ने असङ्ख्य घाउहरूले पोल्छन् सँधै
तिमीले हेरेर मात्र भन्यौ डामहरू छैनन् जस्तो लाग्यो

Thursday, May 20, 2010

POEM

कविता

खुसीको एउटा संसार

सुवास खनाल


मेरी आमाको आँखामा 

खुसीको संसार अटाउँदो रहेछ
म उनकै अनुहार हेरी हेरी हर्षले पागलझैँ छु

मैले सोचेको पनि थिइन

आँशु बगिरहने उनको गालामा
सीमाहीन छल्किरहेको उमङ्ग
यसरी सुहाउँछ भनेर

मलाई एकनासले 

उनकै अनुहार 
हेरिरहूँजस्तो लागिरहेछ

निभेको जून बास बस्ने

उनको मुहार
पूर्णिमाझैँ खुल्दा 
म हर्षले पागलझैँ छु

मलाई पनि मेरी आमाको आँखासँगै

खुसी बनेर
खुल्न मन लागिरहेछ ।

Thursday, May 6, 2010

My poem

मेरो गाउँ  


सुवास खनाल  


कुनै छटपटिजस्तो साँझ उदाउँछ 
मेरो गाउँमा आजकाल  


लाहुर गएको छोराले 
पठाएको चिठीजस्तो  
घाम दिनदिनै फक्रिन्छ  
पर त्रिशुल डाँडोबाट 
र 
आमा नयाँ मकैको ढिँडो ओडाल्छिन् 
कुनै भग्नावशेष इच्छाहरूमा  
नौलो आशा उमार्दै  
समयले हिर्काएको  
चाहुरी सुम्सुम्याउँदै  
साहिँला दाई हलो जोत्दै होलान् 
टार बारीहरूमा, 
सम्याउँदै होलान् –कान्ला र पाखाहरू 
कुन्नि ! सम्याउन सकेनन् 
शायद् जीवनका कुनाकाप्चा  
र  
बाबा डोरी बाट्दै होलान् 
पिँढीमा आशाका लहराहरू जस्तो  
उत्साहका हाँगाहरू जस्तो 


विद्रोहको अस्तित्वजस्तो 
रातो माटोले पोत्दै होलिन् बहिनी 
घरका भित्ताहरू 
र 
भतिज लेख्दोहोला  
कमेरो माटोले 
सेता परेवाजस्ता अक्षरहरू 
मझेरीमा 
सथीहरू बोक्दै होलान् 
– खोला पारिबाट 
मकैको डोको  
जसमा त छ 
युगीन साहसको एउटा सफेद चित्र  
अभावको कोसेलीझैँ दम बोकेर हजुरआमा  
सास दोहोरै फेर्न सक्छिन् कि सक्दिनन् ? 
सिउँदोमा प्रेमको गुराँस सिउरेर 
जिउनुको सार्थकताजस्तो बाँच्ने  
मेरी उनको  
कल्पनाहरूको संसार उस्तै होला कि ,नाइँ ?  


यो मरुभूमिजस्तो बस्ती  
कसले पठाइदियो मेरो नाममा  
भोगचलनका निम्ति 
र 
त्यो स्वर्गजस्तो मेरो गाउँ  
उस्तै निदाउँछ कि नाइँ ?  
म यो कङ्क्रिटको जङ्गलमा 
ओइलाएको अस्तित्वजस्तो फूल 
र 
रूखबाट झरिरहेको  
तर भुइँ नछोइसकेको पात 
अनि मेरो गाउँ 
पश्चिमी क्षितिजमा निभ्दै गरेको सूर्य 
जसको आभा 
मैले समाउनै नसक्ने गरी फुत्किरहेको छ ।

Saturday, May 1, 2010

Narayan Wagleko Mayur Times mathiko tippani.

मयुर टाइम्स :  भयहरूको एउटा कोल्याज

सुवास खनाल

मान्छेहरूसँग अनगिन्ति आशाभावहरू हुन्छन् नै । यो अपरिमेयजस्तै हो । स्वतन्त्रताका गुलाबहरूजस्तो सुन्दर र प्रिय कुन त्यस्ता वस्तु छन् , यता कतै ? सिङ्गो आकाश अँगालेर उड्ने  चराका बथानहरू र बगैँचामा निर्बाध डुल्दै गरेका पुतलीहरू जस्तो कथाहरू बोकेर आउने समय पाउँदा हुन् त मान्छेहरू कुनै स्वर्गीय परिकल्पनाहरू भुलेर नृत्यमग्न रहने थिए होलान् , सुगन्धित हावामा डुलेर आफ्नो घार फर्किँदै गरेको मौरीको कुनै उत्साहजस्तो । जूनको शीतल प्रकाश पिउँदै मख्ख परेको पृथ्वी ,त्यसको आश्वादनले कुनै अमृत पिएको अनुभव गर्दाे होला । तर यही पृथ्वीमा काकाकुलजस्ता मान्छेहरू छन् ,समयको चोटले आहत छट्पटाइरहेका । बाध्यताका कठघराहरूमा उभ्याइएका । बाँच्नु कुनै एउटा बाध्यताजस्तो बन्नुले छट्पटी नै जिन्दगी सोचिरहेका । टोलाइरहेका जस्ता देखिने । अनुहारहरूको  प्राकृतिक रङ हराएर फिक्काफिक्का र मलिनजस्ता ।

“मयुर सुन्दर पक्षी हो । रौदापानी रौदापानीमा खुब मच्चेर नाच्छे । नाच्दानाच्दै आफ्ना कुरूप खुट्टा देखेर रुन्छे । मयुरका प्वाँख र खुट्टा दुबै यथार्थ हुन् ,जसरी हाम्रो जीवनमा सुख र दुख ।” –मयुर टाइम्समा बाबाले छोरीलाई लेखेको पत्राशं हो यो । एन्तोन चेखोबले दुखको परिकल्पनामा लेखेर्को ग्रिफ’ कथाको शुरुवात (पहिलो लाइनमै ) मै लेखेका छन् –“टु हुम स्याल आइ टेल माइ ग्रिफ ?” अर्थात् मैले मेरो व्यथा कसलाई भनूँ /पोखूँ ?सुखका कथाहरूमा भुल्न आउनेहरू अधिकाधिक हुनसक्छन् तर दुखमा एक्लै रहिनेछ । चेखोबको त्यो कथा त्यस्तै बताउँछ । कथामा एउटा गरिब पात्रको छोरो मरेको घटनाबारे ऊ बताउन चाहन्छ अनेकानेक मान्छेहरूलाई ,तर कसैले सुन्न चाहदैनन् सो कथा र अन्तमा ऊ आफ्नै घोडालाई सुनाउँछ । बरू घोडाले टाउको हल्लाउँछ र ऊ सोच्छ यो दुनियाँमा पशुमा जत्तिको पनि संवेदना रहेनछ मान्छेहरूसँग । हो, यही संवेदनाहीन मान्छेहरूले सिर्जना गरेको भयग्रस्त समयको सग्लो कथा हो –यो उपन्यास । र संयोग यो उपन्यास पनि “अब त मारिन सक्छु ”भन्ने वाक्यबाट भएको छ ।
र्
पल्पसा क्याफे’ उपन्यास कृतिका लागि मदन पुरस्कार विजेता नारायण वाग्लेर्को मयुर टाइम्स’ दोस्रो उपन्यास कृति बन्न पुगेको छ । आफू पत्रकारिताका क्षेत्रमा सम्बद्ध रहनु र  उपन्यासको कथावस्तु पनि सोही अनुरुप उनिनुले यसमा केही निजात्मक अनुभूतिहरूको निश्चिततालाई प्रबलीकरण गर्दछ । यो एउटा निकै सशक्त पक्ष पनि हो । कुनै पनि व्यक्तिलाई सबैभन्दा बढी ज्ञान आफू संलग्न रहेको क्षेत्रको नै हुने गर्दछ । उसले आफ्नो बारेमा जस्तो खोज रअनुसन्धान चाहेर पनि अर्को क्षेत्रमा गर्न सक्दैन । यसैले पनि पत्रकारिताको पछिल्लो समयको
यथार्थगत पक्षको जानकारीजस्तो पनि हो । अझ भनूँ एउटा बक्पत्र –जहाँ नै छ  पत्रकारिताका सबै खालका कथाहरूको अनुशीलन ।

नेपालको राजनीतिमा विगतको द्वन्दले सिर्जना गरेका विविध सकारात्मक र नकारात्मक पक्षहरूको विशेषत ः यिनले विश्लेषण गरेका छन् र देशमा जर्जर बन्दै गएको प्रशासन तन्त्रको बारे बढी केन्द्रित छन् । नेपालमा प्रणाली ( सिस्टम) को अभाव रहेको र त्यही कारण सबै क्षेत्र सुषुप्तप्राय ः र कमजोर बन्दै गइरहेको प्रति औँल्याएका छन् । परिचालक विनाको पानीजहाज,जुन समुन्द्रमा बहने हावाको  र छालको दिशातिर बग्दछ ,त्यस्तै भएको छ देश । सरकार परिवर्तन हुनु भनेको डोरीको बलमा एकछिन घुर्रा÷लट्टु घुमेर ढल्नुजस्तै हो ,भनूँ न एक सेकेन्डमा साठ्ठी पटक परिवर्तन हुने एसी करेन्टको फ्रिक्वेन्सीजस्तै । यस्तै भएको छ यहाँको यथार्थ ।

सपनाहरू वैशाखी टेक्दै हिँडिरहेछन् । माकुराको जालोजस्तो लागेको छ– आँखाहरूमा । दिमाग शुष्कप्राय ः छ । फूलहरू नफुल्दै झर्छन् बोटबाट ,कोपिलामै । समयहीन समय भोग्नुको यथार्थजस्तो वर्तमान छ । र मान्छे खङ्ग्रङ्ग सुकेको बुढो रूखजस्तो, वा कुनै भत्केको बाटोजस्तो , वा कुनै आदिम मान्छे रामापिथेकसको प्रागैतिहासिक चिनाजस्तो वा एउटा भोल्कानोले हिर्काएको पहाडजस्तो । मान्छे होइनन्जस्तो लाग्ने मान्छेहरूले सिर्जना गरेका भयहरूको एउटा कोल्याज हो –मयुर टाइम्स । संवेदनाहरूको किनबेचमा मस्त समाजको गालामा हिर्काइएको एउटा दरिलो झापड हो –यो उपन्यास । कथाहरूले सिर्जना गरेको अर्को कथा, बादलले बोकी हिँड्ने पानीजस्तो कथाहरूको वास्तविकता हो यो उपन्यास । थथार्थमा उपन्यासकार सफल छन् । पल्पसा क्याफे देखिको यो सफलताको उपक्रमका निम्ति यिनी प्रशंशाका पात्र छन् नै, अर्को कुरा समयको सुल्टो कथा बताउन सक्ने एउटा युधिष्ठिरजस्तो बनेका छन् ,जसका निम्ति साधुवाद ।

भय –यो आफैँमा डरलाग्दो त पक्कै छैन ,तर यसले जुन स्वरुप ग्रहण गर्दोरहेछ ऊ डरलाग्दो सिद्ध छ । यस्तै पीडा अनुभूत स्वर उपन्यासमा कहीँ न कहीँबाट निरन्तर आइरहन्छ –
“जो दिनभरि राजनीतिक रूप धारण गर्थे र राति बन्दुक लिएर डुल्थे । भूमिगत सङ्गठनको नाममा । त्यस्ता सङ्गठनको नाम पनि कति सुनिए भने मानौ शव्दकोशमा अब डरलाग्दो शब्द बाँकी छैनन् । व्यक्तिको उपनाम त झन् कस्ता सुन्न थालिए भने फलानोले फोन गरेको छ भन्दा पनि झस्किनुपर्ने । ” यो यथार्थताको ऐतिह्य हो । आफ्नै छायाँसँग डराउनुजस्तो वर्तमान टेकेर हामी कुन र कस्तो भविष्य छिर्ने हो ? यसको प्राक्कल्पना पनि एउटा अपूरो सपनाजस्तो बन्दोरहेछ ।
र्
पराग’ र्र  लिसरा’ दुई महिला पत्रकारहरू मुख्य पात्र रहेको उपन्यास पढ्दै अघि बढ्दा हामीले कुनै न कुनै दिन समाचारहरूमा सुनिसकेका पात्रहरू हुन् जस्तो लाग्छ । यी दुई पात्र मध्र्ये पराग’ तराई मूलको मान्छे हुन्छे र्र लिसरा’ पहाडी मूलको । कथामा उनीहरू बीचको गम्भिर मिलनले नेपालमा झाङ्गिँदै गएको जातीय तथा क्षेत्रीय विभाजनको मानसिकता माथि चोटिलो प्रहार पनि गरेको छ । कथाहरू बाहिरबाट निकै सहजजस्ता र समान्यप्राय ः देखिन्छ ,कारण यी सबै हामीले भोगिसकेका जस्ता लाग्छन् तर यसको गहिराइमा पुग्ने हो भने जटिलताका अन्तिम पङ्क्तिहरूले निकै जरा गाड्नेछन् ।

परागलाई उसको बाबुले निकै मेहनत गरेर पत्रकारिता पढाएको हुन्छ । पछि ऊ बैङ्कको जागिरे बन्छे र लिसरा कमर्स पढेकी हुन्छे तर ऊ पत्रकार बनेकी हुन्छे । यहाँनिर नेपालको शैक्षिक अवस्था र प्रयोजनको मनोदशाको नक्सा बहुत् राम्रोसँग उतारिदिएका छन् –यिनले । सुरूतिर परागले लिसरालाई सहयोग गर्दछे , दुबै सानो भएको बेलामा तर पछि लिसराको भूमिका निकै महत्वपूर्ण देखिएको छ उसको जीवनमा । अर्नेष्ट हेमिङ्गवेर्को  द वल्र्ड म्यान एन्ड द सी ’ मा पहिला स्यान्टियागो बुढोले बालकलाई माछा समाउन र पक्डिन सिकाउँछ तर पछि बाबुआमाले सो केटोलाई छुट्याइदिन्छन् बुढोबाट । अनि बुढो धेरै दिन भोको पर्छ र पछि सोही केटोले उसको बाबुआमाले थाहा नपाउने गरी सहयोग गर्न थाल्छ स्यान्टियागो बुढोलाई । हो यस्तै दोहोरो सहयोगमा आधारित छ कथावस्तु । तर छोटा र सम्प्रेष्य सम्वादहरूले कथालाई नयाँ उचाइ दिएको छ ।
र्
पापाले मलाई फकाउँदै भन्नुभयो , “तिम्री मा संसारकी सबभन्दा असल आमा हुन् ।”बस चलिरहेको थियो ।उहाँले भन्दै जानुभयो ,“तिम्री मा तिमीलाई खुब मायाँ गर्छिन् ,मभन्दा पनि बढी । मलाई पनि माया गर्छिन्,संसारकी असल गृहिणी हुन् ।उनले घरगृहस्थी सम्हालेरै त मैले नोकरी गर्न पाएको छु ,तिमीले पढ्न पाएकी छ्यौ । बेटा ,तिम्री मा यो संसारकी सबभन्दा मायालु मा हुन् । ” यो आमासँग पराग छुट्टिएर बाबासँग बस्न पहाड जान लागेको बेला उनको पापाले उनलाई भनेका हुन् । यी पङ्क्तिहरूले यो पङ्क्तिकारको पनि मन धेरै खाएको हो अनि आमासँग छुट्टिएर पहाड जाने बेलाको वर्णन पनि निकै मनछुने र कोमलजस्तो प्रतीत हुन्छ । हुनसक्छ त्यहाँ कुनै सन्देशहरू वा चेतनाका विषयहरू छैनन् होला तर कोमल मनका भावावेगहरू पक्कै असिमित छन् ।

“सारीमा बुट्टा कसरी बस्छ ?”
“आँप होइन मिस आम् ”
“पापालाई संसारमा अचम्म लाग्ने के हो ?”
“पहाडको आकाश बादल हो, बादलमाथि के हुन्छ ?”
“पहाडमा मान्छे कसरी हिँड्छन् ?बस कसरी उकालो चढ्छ ?”
“के पहाडबाट दुधको धाराझँै पानी बग्छ ?”
“तपाईँलाई थाहा छ पुतलीको आयु कति हुन्छ ?”

यी बालसुलभ प्रश्न तथा जिज्ञासाहरूको सिलसिला जुन यिनले उनेका छन् त्यो साह्रै मोहक र प्रियसिद्ध छ । यो परागले सानो हुँदाको बेलामा अरूसँग राख्ने प्रश्न तथा जिज्ञासाहरू हुन् । बङ्गालीभारतीय लेखक रवीन्द्रनाथ टैगोरर्को  कावलीवाला’ कथार्को म’ पात्रलाई उनको छोरीले सताउने प्रश्नहरू उस्तै  छन् –

“बाबा ,हाम्रो घरको नोकरले कागलाई कौवा भन्छ ,त्यसलाई केही पनि आउँदैन हगि ?”
“बाबा, तपाईँ र आमाबीचको साइनो के हो ?” आदिआदि ।

बालसुलभताले दिने एउटा छुट्टै तर बोधगम्य आनन्दको अनुभूतिलाई निकै मजासँग पक्डेका छन् यिनले । त्यस्तै मधेसबासीहरूलाई हेपेर्र  धोती’ र्,मधेसी ’ आदि भनिने गरेको कुराको उठान पनि यिनले गरेका छन् र जुन अप्रियजस्तो देखाइदिएका छन् । यस उपन्यासमा तराईमा अध्यापनरत पहाडिया महिला महिमा खनाल  ,मयुरनगरमा पसल थापेर बस्ने एक असहाय वृद्धा ,कृष्णपुरकी पूmलकुमारी महतो आदिको उपकथाहरूले उपन्यासलाई थप गति दिएको छ ।

उपकथा ः महिमा खनालको कथा

महिमा खनाल एक शिक्षिका हुन् । उनले परागलाई पनि पढाएकी हुन्छिन् । पहाडिया मुलकी उनी तराईमा रहेर पढाइरहेकी हुन्छिन् । उनको पति पनि शिक्षक हुन्छन् । पतिको हत्या षडयन्त्रमुलक ढङ्गबाट मधेसी सशस्त्र समूहबाट भएपछि उनी विस्थापित हुनुपर्ने अवस्था आउँछ । आफू निकटकै वा आफ्नो संस्था निकटकै मान्छेले उनको पतिको हत्या गरिदिएपछि जबर्जस्ती उनलाई घरजग्गा बिक्री गर्न लगाएर विस्थापित गराइएको हुन्छ । यो खालका घटनाहरू व्यहोरेका मानिसहरू वास्तविकतामा  निकै छन् । महिमा मिसलाई कथाको मूल पात्र परागले आदर्श पात्र मानेकी छे ।

उपकथा ः मयुरनगरकी असहाय वृद्धाको कथा
र्
आएको थियो,गयो भन्दिनू ’ । यो उनको छोराले भित्तामा कोरेर गएको उसको आगमनसुचक अक्षरहरू थिए । यसैको खानतलासीबाट परागले चिया पसले ती वृद्धाको जीवनकहानी पत्ता लगाउँछे । उनीहरू पहाडको दुखसँग आत्तिएर सुख खोज्दै तराई झरेका हुन्छन् । तर दुखले कहाँ जाँदा पो छोड्छ र ?यहाँ यिनको बूढा बित्छन् । त्यस्तै छोराले रात्री बस चलाउने गरेको हुन्छ र एकदिन सशस्त्र फौजको आक्रमणमा यिनको छोरो पनि बित्छ र उनको दुख बिर्साउने सहज माध्यम भनेको बारम्बार चुरोट पिउनु बनेको छ । जुन दिन छोरो बित्यो त्यो दिन भने यिनले छोरोलाई भेट्न पाइनन् । उसले लेखेर गयोर्– आएको थियो,गयो भन्दिनू ’ ।

उपकथा ः फूलकुमारी महतोको कथा

यिनी तराईबासी व्यापारी हुन् । यिनको बुढा पनि व्यापार गर्छन् । उनको घरनजिकै अर्को व्यापारीको पसल छ । आफ्नो व्यापार राम्रो बनाउन सोही व्यापारीले आफ्नो सालो लगाएर यिनको पतिको हत्या गराउँछ । यिनी पराग र लिसराले चलाउने मयुर टाइम्स पत्रिकामा न्युज नछाप्नको लागि अनुरोध गर्न पुगेपछिको अवस्थाबाट यिनको फेहरिस्त खुलेको छ उपन्यासमा । यिनको पतिको हत्याराको नामसहित प्रशासनलाई जानकारी गराउँदा सोही नामको धेरै व्यक्ति पक्राउ पर्नु तर हत्यारा पक्राउ नपर्नुले प्रशासनको हदसम्मको दयनियताको खुलासा भएको देखाएका छन् । अझ हत्यारा पक्रिसकेपछि र परागलाई अपहरणमुक्त गरेपछि डिएस्पीको सरुवा भएको देखाइएको छ । यसबाट के प्रष्ट पार्न खोजिएको छ भने,राम्रा काम गर्नेहरू टिक्दैनन् र वास्तविकताहरू पनि त्यस्तै नै छन् ।

सहायक मूलकथा ः प्रहरी प्रशासनको र सशस्त्र समूहको कथा

यो त उपन्यासको मूलकथाजस्तो नै छ । प्रहरी प्रशासनले कुनै काममा हात हाल्नु र अध्ययन अनुसन्धान गर्नु भन्दा त्यो कसरी पन्छा लाग्छ  त्यो उपाय अबलम्वन गर्ने गरेको र यसो हुनुमा प्रशासनमाथि सोझै राजनीतिको दबाब रहनुलाई उनले औँल्याएका छन् । हरेक घटनामा पक्रेर ल्याएका व्यक्ति छुटाउन नेतादेखि मन्त्रीसम्मको फोन आउनाले प्रहरी प्रशासनले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न नसकेको विषयको उठान विशेषत ः भएको छ । साथै सशस्त्र समूह पनि राजनीतिक समूहकै आडमा चल्ने खुलासा गरेका छन् ।

मूलकथा ः पराग र लिसराको कथा

कथा यी दुई पात्रमा विशेष अल्झेकाले यिनीहरूकै कथा मूलजस्तो देखिन्छ । पराग अपहरण भएको विषयबाट कथा आरम्भ भएको छ । पत्रकार भएकाले निडर र साहसीपन अपहरणकै बेलासमेत देखाउन खोजिएको छ । त्यो यथार्थमा कति सम्भव छ ,सोचको विषय हो । पराग पहिले त बैङ्कको जागिरे हुन्छे त्यसपछि लिसराको करले र आफ्नो विषय अनुकूलताका कारण र्ऊ मयुर टाइम्स’ पत्रिकामा सम्पादक हुनपुग्छे । यता लिसराको कथा छुट्टै छ । सानामा यी दुबै साथी भएपनि पछि लिसरा र पराग छुट्टिन पुगेका हुन्छन् । उसको परिवारले गर्ने खुद्रा व्यापारको सिलसिलालाई प्रशासनले तोडिदिन पुग्छ –ड्राइफुड बेच्न नदिने नाममा । आपूmले गरिरहेको व्यवसाय छाड्न पुगेपछि उसका बाबु विदेश पलायन हुन्छन् । खाडी मुलुकमा कडा परिश्रम र प्रतिकूल समयको सिकार भएर बाबुको मृत्यु हुन्छ र बाध्यताले आफ्ना अरू आत्मविकासलाई छाडेर ऊ पत्रकारिता अँगाल्न पुग्छे । उसकी आमा भने खेतीपातीतिर लाग्छिन् ।आदिआदि ।

“हाम्रो प्रशासन ठूलाबडाले गँगटो निकाल्नू भन्छन् कि बिरुवामा पानी हाल्नू भन्छन् ,त्यही गर्नुपर्ने अवस्थाबाट अझै फेरिएको छैन ”
“पत्रकारिताको कुनै विशेषण हुँदैन”
“अपहरणकारीहरू पनि गीत सुन्दा रहेछन् । अर्काको स्वतन्त्रता हरण गर्नेहरूलाई पनि गीतको भावनामा डुब्न किन मन लागेको होला ।”
“मेरो अपराध के हो ? ,पेपर चलाउनु ।”
“ओ धोतीकी छोरी”
“ए नानी तिमी नेता बनेर आऊ है । नेता राम्रो प¥यो भने गाउँभरिका बालबच्ची पढ्न पाएर डाक्टर इन्जिनियर बन्छन् ।”
“पर्चामा के छ पढ्नलाई त ल्याउनु प¥यो होइन ?”
“पढ्न नपाउने नियम आयो र ?”
“समूह भएपछि जुलुस बन्न कसले रोक्छ ?”
“राजा घटीको त कुनै नारा थिएन ।”
“निर्माताका सोचाइ सुन्दर हुन्छन् ध्वसंकारीको कुरुप ।”
“हामीले अरूलाई हेरेर आफ्नो दृष्टिकोण बनाउने होइन ।”
“पत्रकारिता आवाजविहीनहरूको आवाज भनिन्थ्यो तर बन्दुक पड्काएपछि समाचार आउँछ भन्ने पर्दै गयो ।”
“पहिले कोही अपहरित भयो भने माओवादीले लग्यो होला भन्न सजिलो थियो । अहिले छैन । कसले लग्यो ,कसले लग्यो हुन्छ ।”
“हरेक आवाजसँग तर्सिँदै निदाउन सम्भव हुन्छ ?”

उपन्यासका यी संवादात्मक अभिव्यक्तिले बोकेका व्यथाहरू निकै गहिरा र मननयोग्य छन् ।

यो उपन्यास पल्पसा क्याफे जत्तिको कलात्मक त देखिँदैन तर सरल र सम्प्रेष्य भने अनुभूत हुन्छ । टि एस इलियटले भनेका छन् – लेखन भनेको उत्साह र अनुभूतिको प्रकाशन हो र यसमा दिमागले उत्प्रेरकको भूमिका निर्वाह गर्दछ । यो उपन्यास अनुभूतिगम्य भने पक्कै छ । यसर्थ सफल मान्न सकिन्छ । वाग्लेको लेखनले सामयिकतालाई  निकै राम्रोसँग क्याच गर्न सकेको छ ।

आगामी दिनमा पनि उनको निरन्तर र उत्कृष्ट लेखनको  कामना । अस्तु ।

Friday, April 30, 2010

poet khanalka sirjana: Rainy days(Prakash Sayami )mathi tippani

वर्षादी दिनहरूमा रुझ्दा भिज्दा

सुवास खनाल

प्रकाश सायमी के होइनन् ? भनेर मैले यो लेख शुरु गरेँ भने मलाई सजिलो होला ।

एक सफल नाटककार,फिल्मकार,कवि,कथाकार,निबन्धकार,गीतकार,समीक्षक आदि । एक शव्द अलराउन्डर । म उनको ईष्र्यालाग्दो स्मरण क्षमतासँग एकदमै प्रभावित छु । उनी एउटा लोभलाग्दो बौद्धिक व्यक्तित्व हुन् । उनको बारेमा बढि नलेखौँ ,प्रकाश प्रकाश हुन् ,यत्ति ।

वर्षादी दिनहरू झन्डै उनको अटोबायोग्राफी हो । उनले यसलाई निबन्धसङ्ग्रह भनेका छन् । भावहरूको स्वच्छन्दता र निर्बन्धताका हिसाबमा यो निबन्धसङ्ग्रह हो र यसको अध्ययनपश्चात उनको आफ्नै बारेमा पनि धेरै विषयवस्तु थाहा हुने भएकाले यो एउटा अटोबायोग्राफी पनि हो ।
उनको यो कृतिमा उनी आफूमा भएको वास्तविक बौद्धिक ओजको खुलासा भएको छ । यसर्थ यो कृति एक महत्तम र उत्कृष्ट सावित छ ।

सोह्र निबन्धहरू छन् यस कृतिमा र सोह्रै आना राम्रा पनि । सायमीको जीवनका समग्र उहापोहहरू छताछुल्ल पोखिएका छन् हरेक निबन्धहरूमा । हरेक निबन्धसँग फरक फरक टेस्ट छ , फूलको पत्रपत्रमा सुगन्ध भएजस्तो, मानौँ । शङ्कर लामिछानेका निबन्धहरूबाट प्रभावित उनले निबन्धमा शङ्कर लामिछानेको अनुपस्थितिलाई मेटाइदिन सफल छन् । शङ्करले एब्स्ट्रयाक्ट चिन्तन प्याजमा जसरी प्याजका पत्रपत्रझैँ मानेर जीवनको पत्रपत्रको  नयाँ उत्खनन् गरेका छन् ,हो यिनको रचनामा पनि जीवनका भित्री तहहरूको स्वरागपूर्ण विश्लेषण पाइन्छ ।

बम्बई,गुरू र बर्षादी दिनहरू

यो उनको स्वकथा जस्तो छ । आफ्नो भाग्य खोज्दै हिँडेको एउटा पात्रको सपाट विश्लेषण हो –यो निबन्ध । “एउटी आमाले सातवटा बच्चा जन्माउन सक्छिन् तर कसैलाई उनको कर्म र भाग्य दिन सक्दिनन् ”। भाग्य र कर्म आफैँले बनाउनु पर्ने र यो उपहारसिद्ध कसैबाट प्राप्त नहुने तर्फ सङ्केत यसमा उदृत छ । बम्बईमा फिल्ममा खेल्ने अभिलाषा बोकेर पुग्नेहरूको एउटा दुखलाग्दो कथाको अनुशीलन हो –यस निबन्ध । रोबर्ट फ्रस्टको यो कविता उनको जीवनको प्रेरणा भएको स्विकारेका छन् –
द उड्स आर लभ्ली ,डार्क एन्ड डिप
बट आइ ह्याभ प्रमिसेस टु किप
एन्ड माइल्स टु गो बिफोर आइ स्लिप,
एन्ड माइल्स टु गो बिफोर आइ स्लिप !

अज्ञात प्रदेशतिर

यो संस्मरणात्मक निबन्ध हो । इन्डियामा पलाएन भएका नेपालीहरूको गह्रुङ्गो व्यथा समेटिएको यो निबन्धले नेपालले गुमाएका कतिपय भूमीहरूसँगको नेपाली नाता र हिसाबकिताबरू सम्झाउँछ र त्यहाँकाहरूले पोखेको नेपालप्रतिको मायालाई इङ्गित गर्ने विषय त्यहाँ लक्ष्मीप्रसाद देवकोटाका र महेन्द्रका विचारहरू राखिनुले जीवित गराएको छ भन्ने पुष्टि गर्छ । यो दैनिकीपरक निबन्धले जटिल संवेगहरूको एउटा बहाव समातेको छ ।

चैत्र तीनको सम्झना

नेपालमा विभिन्न जनआन्दोलनहरू विविध नाममा भएका छन् । ती सबै जनआन्दोलनका  उद्देश्य पूरा भए वा भएनन् । यसमा कसको सबलता रह्यो र कसको दुर्बलता । यी आआफ्नै ठाउँका विषयहरू हुन् । तर ती जनआन्दोलनमा स्रष्टाहरूको योगदान अमूल्य रह्यो भन्नेमा सम्पूर्णत ः सत्यता छ । गोपालप्रसाद रिमालको “आमा त्यो आउँछ ...”,“एक युगमा एक दिन एक चोटी आउँछ...” देखि श्रवण मुकारुङको “मालिक म बौलाएँ... ” र विप्लव ढकालको “यही झन्डाबाट निकाल्छु घन र फुटाउँछु...” सम्म जताततै विद्रोहको झन्डा उचालेर सही समय आगमनको कामना गर्ने पङ्क्तिमा सर्जकहरू अग्रसर भइरहे तर सर्जकहरूको भूमिकाको कदर कहीँबाट हुन नसकेको मनोवेगहरूको उद्वेलनको अभिव्यक्ति हो चैत्र तीनको सम्झना । यिनीहरूले कहिल्यै टायर बालेनन् ,यिनीहरूले कहिल्यै कसैको घर  फुटालेनन् र कहिल्यै नेपाल बन्द गरेनन् र यिनीहरूले कहिल्यै न्याय पाएनन् । हो तर शक्तिको आडमा होइन विचारको आडमा न्याय खोज्छन् सर्जकहरू भन्ने विषयको उठान यो रचनाले नजानिदो ढङ्गबाटै गरेको छ ।
यहाँ उल्लिखित एक वाक्य यस्तो छ –“तपाईँहरू कवि लेखक हो कि कुकुर ?”यो सरकारी प्रहरीहरूले बोलेको वाक्य हो । त्यस्तै अर्को प्रसङ्ग छ –“हिमाली शान्ति राज्यमा कवि–लेखकको क्रन्दन ”। यो बीबीसीसँग नेपाली राज्य पक्षधर कविले दिएको इन्टरभ्यू ।

मेरा नजरमा रमण प्यारा छन्

यो उनको आत्मकथनात्मक निबन्ध हो । दक्षिण भारतीय मूलका एक ख्यातनामा रमण महर्षिलाई उनले यस निबन्धमा गुरु मानेका छन् । धेरै महर्षिहरू (रजनीश ओशो,परमहंस योगानन्द, जे कृष्णमूर्ति, यूजी कृष्णमूर्ति,विवेकानन्द,रामकृष्ण परमहंस,साईबाबा ,दलाई लामा,शिवपुरी बाबा आदि ) को खोज र अध्ययन पछि उनले रमणलाई गुरु मानेको बताएका छन् ।
प्रकाश सायमीको यो निबन्ध मूलत ः उनका रहर इच्छाहरूलाई पाठकसामु प्रस्तुत गर्ने एउटा कलात्मक निबन्ध हो । यसमा प्रकाशका तरङ्गहरू आरोह–अवरोह भएर हिँडेका छन् । उनी लेख्छन् –
ऊ कवि भयो छत्तिस सालको आन्दोलनपछि ।
ऊ अभिनेता भयो अस्कलमा बायोलोजी पढ्न नसकेपछि ।
ऊ फिल्मकार भयो रङ्गकर्म त्यागेपछि ।
.....................................
उनी बोर्डमा नउत्रेका कारण उनका पिताश्री रिसाएको विषयलाई पनि थोरै उठाएर विश्राम दिएका छन् ।

भैरवी थाटको सन्ध्यास्वर

–दाई यो देश सधैँ यस्तै हो त ?
–के हामीले भावीपुस्तालाई हस्तान्तरण गर्न लायक नयाँ नेपाल छ त दाई ?
–सर ! दुख किन घरीघरी हामीलाई नै परिरहन्छ ?
–तपाईँले राम्रो कुरा सोध्नुभो । दुख सधैँ चञ्चल हुन्छ । त्यो स्थाई हुन्न । त्यो कहिले तपाईँसित,कहिले मसित आएर बसिरहन्छ । यसले कहिले एकै ठाउँमा बस्न मन गर्दैन । योसँग त्यो क्षमता छैन ।
यी भलाकुसारीहरूमा दर्शनको व्यापकता प्रशस्त छ । यस निबन्धमा गायनका विषयप्रसङ्गहरू उठेका छन् ।

विविध भारती भर्सेज क्याप्टन राणा

यस लेखनमा उनले प्रशंशा गर्ने र उनको प्रशंशा गर्ने यो समाजले अलि कम चिनेको वा यसको एउटा अनरिकग्नाइज्ड पात्र विशेषको चर्चा छ । जनकबहादुर राणा ,एक भारतीय भूमीबाट नेपाल छिरेका र बन्दुक छाडेपछि कलम समाएका एक पूर्व क्याप्टेन र जीवनको उत्तरार्धमा साहित्य लेखनीमा लागेका व्यक्ति हुन् र उनले प्रकाशलाई सुरेन्द्र पाल र विविध भारती नाम प्रदान गरेकाप्रतिको चर्चा छ –यस निबन्धमा ।

बाँकी समय र सम्झना

हरिभक्त कटुवालसँगको सामिप्यताले लेखाएको यो निबन्धमा उनले हरिभक्तले अटोग्राफ दिन नमानेको प्रसङ्गलाई अवतरण गराएका छन् ,कारण थियो हरिभक्तका विचारमा अटोग्राफ लेख्नु भनेको बिर्सन सहयोग पु¥याउनु हो । यहाँ एउटा प्रसङ्ग उल्लेख छ–रक्सी खान्थे कटुवाल ,मात्थे देवदत्त ठटाल,लड्थे पछारिन्थे कटुवाल,दुख्थ्यो हिमालय लोहनी र सुरेन्द्रनाथ लोहनीलाई ,गीत लेख्थे कटुवाल,गाएर जम्थे नारायणगोपाल । यानेकी यहाँ कटुवाल अलराउन्डर थिए । कटुवालका मर्मस्पर्शी गीत र कविता पछाडिको उनको अप्ठ्यारो जीवनगत परिचय र केही त्रुटीगत स्वभावको आँकलन यस निबन्धमा  उल्लेख गरिएको छ ।

धुस्वाँ ःकहिल्यै नझर्ने पूmल

धुस्वाँ सायमीको जीवनीगत् यथार्थमा घुमेको यो लेखन धुस्वाँलाई चिरपरिचित राख्न सहयोगीसिद्ध छ । उनले लेखेका छन्– धुस्वाँ नेपाली साहित्यका अन्तर्राष्ट्रिय दूत हुन् । धुस्वाँ कविता लेख्थे । उपन्यास लेख्थे । उनका सिर्जनाहरू नेपाली ,नेवारी,हिन्दी लगाएतका भाषामा पढ्न पाइन्छ । उनले बोलेका थिए –संसारका सबै भाषाहरू बराबर छन् ,शायद् यसैले उनलाई धुस्वाँ सायमी बनायो । धुस्वाँलाई प्रकाश सायमीले लेखनको कोशौँ टाढासम्म पनि मान्छे नै खोजिरहने एउटा सर्जकका रुपमा चिनाएका छन् । डा.तारानाथ शर्माका अनुसार धुस्वाँर्का गङ्की’ एउटा पाथफाइन्डर किताब हो  र हाम्रो पनि धुस्वाँ एउटा पाथफाइन्डर नै हुन् कुनै द्विविधा छैन ,प्रकाश यस्तै बताउँछन् ।


ध्रुवचन्द्र गौतम ःएउटा अलिखित कथा

ध्रुवचन्द्रको पियक्कड स्वभाव र पुरस्कारमोहप्रति शालीन व्यङ्ग्य गरेका यिनले यो निबन्धमा उनको अध्ययनशील गुण ,स्मरण क्षमता र आख्यानलेखनको खुबीलाई हार्दिकताका साथ स्विकारेका छन् । यो निबन्धमा केही रुपमा कलाको कमी देखिएपनि प्रभावजनक भने अनुभूत हुन्छ ।

देवकोटा ः स्मृति प्रदेशमा

लक्ष्मीप्रसाद देवकोटा उनको समकालीन समयदेखि हालसम्म एकोहोरो नेपाली साहित्यमा छाइरहने कालजयी सर्जक हुन् । यस निबन्धमा सायमीले देवकोटा र गालीब ,देवकोटा र हरिवंश राय बच्चन ,देवकोटासँग पन्त ,निराला र प्रसाद आदिसँगको दाँजोहरूलाई प्रस्तुत गरेका छन् । देवकोटा र गालीबको तुलना यसरी भएको छ –
–गालीब आपूmले कमाएको तलब लिएर कहिल्यै घर आउँदैनथे भने देवकोटाका हातमा पनि सङ्क्रान्तिको दिनसमेत तलब हातमा हुन्नथ्यो ।
–गालीब पनि राजशाहीका बेला पीडित कवि थिए ,जस्तो देवकोटा पनि त्यस्तै समयका प्रतीक बने ।
– गालीबका बेला तत्कालीन शासक बहादुर शाह जफर पनि कवि थिए ,देवकोटा समयमा तत्कालीन शासक महेन्द्र पनि कवि थिए ।
–गालीबले ढल्दै गरेको मुगल साम्राज्य र उठ्दै गरेको ब्रिटिस शासन दुबै देखे त्यस्तै देवकोटाले पनि ढल्न लागेको राणाशासन  र त्यसपछिको राजशाही शासन दुबै देखे ।

देवकोटा एक चमत्कारिक व्यक्ति थिए व्यवहारमा र साहित्य दुबैमा । या भनौँ साहित्यलाई नै व्यवहार बनाएका थिए । ओशो भन्छन् –“ह्वाट् यु डु द्याट् सुड बी योर स्टेट अफ माइन्ड” । हो देवकोटा त्यस्तै थिए । देवकोटाको सम्झनालाई डम मोरेले आफ्नो प्रिय आमासँग तुलना गरेर  उठाएका प्रसङ्गलाई सायमीले यसरी जोडेका छन् –“सी वाज पेनफुल्ली थिन् ,थिनर  द्यान देभकोटा ह्याड् बिन ,एन्ड हर ग्रे हेयर स्ट्र्यागल्ड फ्रम हर बर्ड फ्रेल स्कुल”। सायमीको यो लेखन पनि सशक्त छ ।

कैयन् कमलेश्वर ःकैयन् पाकिस्तान

यो निबन्ध सायमीले आफ्नो वाक्कलाबाट आफैँ प्रभावित भएर लेखेको निबन्ध हो । आपत् परेपछि कहिल्यै दगुर्न नसक्ने मानिसपनि म्याराथुन धावकजस्तो दौडिन सक्दोरहेछ ,यस्तै साविति दिने यो लेखनमा आफ्नो मनपर्ने लेखकप्रतिको सम्मोहन् ,श्रद्धा र आस्थाको पनि प्रकटिकरण भएको छ र्। कित्ने पाकिस्तान’ कृतिका लेखक कमलेश्वरको विशेषत ःयसमा चर्चा छ ।

गुलजार ः फुर्सतका रात र दिनमा

गालीबको तेस्रो नोकर हुँ भन्ने गुल्जारसँग गासिँदै प्रकाश लेख्छन् –म पनि शायद् शङ्करको कुनै नोकर हुनसक्छु ,जो आजसम्म बाँचिरहेको छ । उनी गुल्जार लेख्छन् ,पढ्छन् ,बोल्छन् । गुल्जार लेख्दै उनी भन्छन् – गुल्जार सम्झिन मलाई कुनै फुर्सद्का रात र दिन चाहिँदैन । उनी गुल्जार यसरी पढ्छन् –

नाम सोचेकै थिएन ,छ कि छैन र्
अमा’ भनेर बोलाए एकजनालेर्
ए जी’ भनेर बोलाए अर्कोलेर्
अबे ओ’ यार भन्दछन्
जो पनि जे जस्तो आउँछ
उसले त्यसरी नै पुकारे
तिमीले एउटा घुम्तीमा अचानक जब
मलाई गुलजार भनेर दियौ आवाज
एउटा सिपीजस्तै खुल्यो मोती
मलाई एउटा माने मिलेजस्तै भयो
आहा !यो नाम राम्रो छ
फेरि मलाई नामले बोलाऊ त ।

बोर्खेसको जीवनमा कविताको असर

बोर्खेस अराजक कवि थिए । उनले लेखे –

यदी म जीवन फेरी बाँच्न पाउँछु भने
अर्को क्रममा म कोशिश गर्नेछु
म अझै धेरै गल्ति गर्नेछु ।

प्रकाश  बोर्खेस मन पराउँछन् । उनको चक्कु मन पराउँछन् । चक्कुजस्तै चक्कु कविता । बोर्खेसहरूसँगै भुलिरहन चाहन्छन् अधिकाधिक ।
“समय यो पदार्थ हो,जसमा म बनेको छु ।समय एउटा छाल हो ,जो मलाई बगाउँदै लैजान्छ तर म छाल हुँ । त्यो चितुवा हो जो मलाई चिरफार गर्दछ तर म चिता हुँ । त्यो आगो हो जो मलाई निल्न खोज्छ तर म पनि आगो हुँ । दुनियाँ दुर्भाग्यवश असली हो–दुर्भाग्यवश म बोर्खेस हुँ ”।यसले सायमीलाई चित्त बुझाइदिएको छ।
“चमत्कार गर्ने सुविधाबाट देवता भलै विचलित भएको होस्,लेखक होइन । लेखक हमेसा अतीतलाई बदल्न सक्दछ ...। काफ्कालेजस्तै । ऊ स्वयम् आफूभन्दा पहिल्यै आउने कुराको रचना गर्न सक्दछ” । सायमी यी पङ्क्तिहरूमा अल्झिरहेका छन् । बत्तिको सम्मोहनले ग्रसित पुतलीजस्तो । ती पुतलीहरू नबाँचेका रेकर्डहरू प्रायश ः हुन्छ तर यिनी झन् उफ्रिउफ्रि जीवनतिर फर्किन्छन् ।

मीराबेलाको सङ्गीतमा एकालाप

अष्ट्रियाका अभिव्यक्तिवादी कवि यार्क त्राक्लको जीवन परिमितिहरूमा घुमेको यो निबन्ध एकालापमा आधारित छ । कवि ,लेखक ,सङ्गीतकार ,गायक ,गीतकार आदि (समग्रमा सर्जक) हरूको जीवन अलि बढी अव्यवहारिक भेटिने विषयवस्तुको बयान छ यसमा ।“ आत्मा   यो धरतीको एउटा अपरिचित जस्तै हो ”,यो यार्क त्राक्लले आफ्नो किताबमा उतारेको एक दार्शनिक एवम् आत्मिक कथन हो । यी र यस्तै विषयप्रसङ्गहरू विशेषत ः उठान यस निबन्धमा गरिएको छ ।

शङ्कर लामिछाने ः व्यक्ति र अतीत

शङ्रकर लामिछाने नेपाली निबन्धलेखनको एउटा नयाँ आयाम र छुट्टै इतिहास हुन् । यिनको नवीनतम शैली र पठनबोधले नेपाली निबन्धलाई नयाँ तर सशक्त मार्गतिर डो¥याएको छ । प्रकाश सायमीको निबन्धलेखन पनि लामिछानेको लेखनसापेक्ष देखापर्दछ । तर उत्तिकै शक्तिका साथ । यिनी शङ्करको जीवन उत्खननमा पनि त्यत्तिकै सक्रिय भएर लागेका छन् । विषय वा प्रसङ्गले अर्को अर्थ नलाएमा यिनी शङ्करले थाहा नपाएका तर शङ्करका धर्मपुत्र सिद्ध छन् । उनी लेख्छन्–
–भूमिकाको आतङ्क मच्चाउने शङ्कर
–प्रयोगलाई परम्परा मान्ने शङ्कर
–सङ्गीत र चित्रकला अँगाल्ने शङ्कर
–कृतिश्वको सदैव दावा गर्ने शङ्कर
–पढ्न र पढाउन रुचाउने शङ्कर
–चोरीको आरोप बिनाढोङ स्वीकार्ने शङ्कर
–आपूmलाई लेखक हैन इन्टरप्रिटेटर मान्ने शङ्कर
शङ्कर ! शङ्कर !! शङ्कर !!! यानेकी रमण महर्षि भन्दा धेरै प्रकाशले शङ्करलाई गुरुझैँ मान्छन्जस्तो लाग्छ मलाई ।

एउटा लेखकको खोजीमा

प्रकाश सायमीमा किताबप्रति कति मोह छ भन्ने कुरालाई प्रष्ट्याउने यो सर्वोच्च लेखनी हो । यस निबन्धमा उनले आपूm साहित्यकार इन्द्रबहादुर राईले कुनै कार्यक्रमका सन्दर्भमा धेरै अगाडि नाम लिएको एउटा किताब र तिनको लेखक पत्ता लगाउनुको ध्येयले गाँजिएको तर सो उपन्याससापेक्षको उपन्यासका लेखक धेरै खोजपछि फेला पारेको तर सो उपन्यास आजपर्यन्त फेला नपरेको नमीठो पीडा पोखेका छन् । यो उपन्यास थियो रोब ग्रियरर्को इरेजर’ जुन उनले आजसम्म खोजिरहे ।सायमी पुस्तकका अध्ययनका निम्ति काकाकुलजस्तो भएर लागिरहन्छन् । खै ! कुन त्यस्तो इन्टरनल पावरले गाइड गर्छ उनलाई ?,थाहा छैन ।

प्रकाश सायमी विशत् प्रतिभा भएको एउटा जल्दोबल्दो व्यक्ति हुन् । उनमा भएको अध्ययन खुबी ,त्यसपछिको स्मरण खुबी ,अझ त्यसपछिको त्यसलाई वाक् क्षमताका साथ अभिव्यक्ति दिनसक्ने खुबीको जति प्रशंशा गरेपनि कम हुन्छ । उनी चर्चामुखी मान्छे हुन् कि ? भन्ने द्विविधाले कहिलेकाहीँ म सताइएको पनि छु । तर म डार्विनर्को स्ट्रगल फर एक्जिस्ट््यान्स’ सम्झिन्छु । ऊ भन्छ र्–डु अर डाइ’ । प्रकाशले आफूलाई देखाउन चाहेनन् वा लुके  भने त प्रकाश, प्रकाश हुने छैनन्,यसकै निम्ति त सङ्घर्ष छ यो संसारमा । डार्विन भन्दै जान्छ –सङ्घर्षमा सफल हुनेहरूको अस्तित्व रहन्छ र विफल हुनेहरू विलुप हँदै जान्छन् । यही सम्झिन्छु म,हुन पनि यही नै त हो सत्य । प्रकाश विलुप भइदिएका थिए भने हामी रेइनिङ् डेज् पढ्दै हुने थिएनौँ,शायद् ।

‘वर्षादी दिनहरू’ उनको दैनन्दिक कृयाकलापहरूलाई सहज चिनाउने एउटा परिचायक किताब पनि हो । उनको नयाँ पुस्तक पढ्नुको रुची ,राम्रो पुस्तक पहिचान गर्ने सामथ्र्य र लाइब्रेरी मोहको एउटा सत्यता बोध गराउने किताब हो यो । उनी भन्छन् —कुनै नयाँ किताब पढेर सिरानीमा राख्न पाएको दिन उनलाई राम्रो निद्रा पर्छ ,यदी उनी कहीँ भेटिएनन् भने लाइब्रेरीमा भेटिनेछन् ,यस्तै ।

दर्शनको विपुलता ,अध्ययनप्रभाव,जीवनप्रतिको अस्तित्वबोध,सामयिकता,कलात्मकता,बिम्ब र प्रतीकको उचित संयोजन ,यो यस पुस्तकका मोहक पक्षहरू हुन् ।

झरना गाउँछ,बादल उठ्छ
स्पष्ट नीलोमा सेतो र क्लिष्ट
मौन मान्छे विचार्दै हिँड्छन्
सन्ध्याकालमा पुरानो बगैँचाको बाटो भएर
पुर्खाका चिहानको चिप्टो खैरोमा परिणत हुन्छ
परेवाका लहरहरू दूरीमा फरक देखिन्छन्
एउटा टँुडाल मृत आँखाहरूले हेर्छ
प््रााचीन रुखबाट पातहरू रातै झर्छन्
र ती खुल्ला झ्यालभित्र फन्फन्ति घुम्छन्
अग्निज्वाला कोठेरीभित्र बल्छ
अनि रङ्ग कठ्याङ्ग्रिएर धमिलो देखिन्छ
एउटा श्वेत अजनवी घरभित्र पस्छ
एउटा कुकुर खिइएको गल्लीमा चाट्छ
नोकर्नी बत्ती देखिने गरी बाल्छिन्
मध्यराततिर कानहरू एकालापका ध्वनीहरू सुन्छन्

यही एकालापहरू सँग निद्र्वन्द रम्ने यिनी सांसारिक पुरस्कारहरू लिन चाहँदैननन् ,शायद् जीवनलाई पहिलो र अन्तिम पुरस्कार सम्झेका छन् ,शायद् सबैभन्दा ठुलो पुरस्कार यो जिन्दगीको अर्थ घटाउन चाहँदैनन्,अर्को पुरस्कार थापेर,तर मलाई थाहा छैन यसबारे ।

यिनको अर्काे महत्वपूर्ण काम भनेको लेखनमा केही नयाँ शव्दहरूको बुनोट  आफ्नै ढङ्गले निर्माण गर्नु हो । केही निश्चित शव्दहरूको सम्मिलन लेखमा आयो भने त्यसले प्रकाश सायमी सम्झाउँछ । ‘भावक’, यो शव्दले प्रकाश सायमीको उपस्थिति बोध गराउँछ ,लेखनीमा किनकी यो शव्द अत्यधिक प्रयोग गर्नेमा यिनी पर्दछन् । सायमी धेरै विधाहरूमा सम्मिलित रहेपनि सबैमा उत्तिकै सशक्तता रहनु जादुमयी लाग्छ । यो जो कोही सामान्य मानिसमा असम्भवप्राय ः कुरा हो ।

सायमीको कलमले सदैव उत्खनन् गरिरहोस् –जीवनका हर पत्रपत्रको । शुभकामना । अस्तु ।                          

Sunday, April 25, 2010

yug pathakko upanyas urgenko ghodamathi tippani.

उर्गेनको घोडा,एउटा विषम समयको अनुवाद

सुवास खनाल

सेतासेता घोडाहरूका हजारौँ आकृतिहरू हिउँ फुस्फुसाएझैँ कोठाभरि रङमङिएका थिए ,सम्पूर्ण कोठा त्रिआयामिक क्यान्भासझैँ लाग्थ्यो , र यो घोडा हो उर्गेनको घोडा । एउटा अमुर्त पोटे«टजस्तो घोडाको बयान छ यहाँ ,कथाको शुरुवाततिर ।

यो कथा होइन वास्तविकता हो । तपाईँ ,म वा जो कोही थोरै वा धेरै  यहाँ अभिव्यक्त पीडाहरू भोग्नेमा पर्छौँ नै । मात्र यत्ति हो कसैले एकथरीबाट पीडा पाए होलान् कसैले अर्काथरीबाट । यो नेपालको एउटा समयको आशिंक झझल्कोजस्तो पनि हो । किताबहरू सँग डराउनुको पीडा । आफ्नै घरका कोठाहरू ,खेत र खलियानहरू सँग डराउनुको पीडा । आफ्नै घरगाउँलेहरू र छिमेकीहरूसँग  आशङ्कित हुनुपर्ने अवस्था ,यो जत्तिको विषमताहरू अझै पनि सम्झनामा कुनै डरलाग्दो भूतको कथाजस्तो भई दिमागहरूमा घुमिरहन्छन् । समयले हिर्काएको एउटा दरिलो झापड आजसम्म उत्तिकै दुखिरहन्छ । कथाहरू छन् ,सहज÷असहज ,सामान्य÷जर्जर,राम्रा÷नराम्रा तर प्रत्येक कथाहरू  सत्य हुन् ।

म्हेन्दो , पल्लवी ,दिग्विजय,विद्रोह आदि उपन्यासमा प्रमुख पात्रहरू जस्तो देखा पर्दछन् । तर उपन्यासकारको मुख्य चलाखी यहीँ छ ,हामी म्हेन्दो र पल्लवीका कथाहरू पढ्न खोजिरहेका हुन्छौँ तर उनीहरूको माध्यमबाट हामी पढिरहेका हुन्छौँ, नेपालको बाह्र वर्षे द्वन्द ,थाहा अभियानका प्रणेता÷अभियन्ता रुपचन्द विष्ट ,द्वन्दको समयमा रहेको प्रहरी र छापामारहरूको मानसिकता आदिआदि । यो उपन्यास कथाहरूको एउटा शृङ्खला बोकेर आउँछ । फेरि त्यो त्यहीँ रोकिन्छ र अर्को क्रम भर्न थाल्छ,गाग्रोमा पानी भरेजस्तै । बटुकोले वा सानो मगले वा सानो अम्खोराले गाग्रोमा पानी खन्याउनु ,खन्याउनु र फेरी खन्याउनजस्तै । तृप्तताकोृ एउटा सग्लो अनुभूति हुन्छ, उपन्यास सकिएपछि । कथा बुनाई कलात्मक छ – कुनै रुमालमा भरिएको प्रकृतिको एउटा सर्वोत्कृष्ट कोल्याजजस्तो ।

उर्गेनको घोडाको लगाम बहुत राम्रोसँग समात्न सफल छन् –युग पाठक । यसमा ‘उर्गेनको घोडा’ नामक एउटा उपन्यास शृङ्खला ‘लाल पाइलो’ पत्रिकामा विभिन्न व्यक्तिहरूले पढिरहेको कथनात्मक अभिव्यक्ति दिँदादिँदै यसको सम्पूर्णत ः कथा बताइसक्छन् उनी । कहिले ‘उर्गेनको घोडा’ सुमेरु सहरको एउटा व्यक्ती मौसम र उसकी पत्नी (सचेतजस्तो,मानौँ) पढ्छन् त कहिले प्रहरी जवान दलसिङ तामाङ र उसकी श्रीमती म्हेन्दो त कहिले जेलभित्रकी महिला छापामार राधिका ,फूलमाया त्यस्तै सेनाका कर्नेल र जर्नेलहरू ,अनि पढ्न बजारमा बसेको सुबोध आदिआदि । सहरमा यो पत्रिका वर्जित गरिएको हुन्छ र यही पढ्नुको कौतुहलता सबैसँग व्याप्त हुन्छ । मौसमले घरमा पुलिस आएको शङ्कामा ‘लाल पाइलो’ पत्रिकाको खोल च्यातेर फ्याँक्दाको हताश अवस्था भोग्नुको पर्याय हामीहरू पनि बाँचिरहेका छौँ र थियौँ,शायद् विविध अर्थमा । यो उपन्यास विशृङ्खलित शृङ्खलाहरूको एउटा परिपूरक सिङ्गो कथा पनि हो । यसमा सवाल्टर्नीय यथार्थता पाइन्छ । एउटा गर्भिणी छापामारको युद्धप्रतिको मोह र उनको शारीरिक अशक्तताले युद्ध छोड्नुपर्ने बाध्यात्मक परिस्थितिलाई निकै महत्वपूर्ण र प्रभावकारी ढङ्गबाट बयान तथा विश्लेषण गरिएको छ –उपन्यासमा । समयको चक्काहरूले पेल्दै र थिच्दै लगेको मान्छेहरूको सजीव कथा जसरी उठेको छ ,त्यो मोहकजस्तो र प्रिय छ ।

विशेषत ः तामाङ् जातिको इतिहासको उत्खनन् गर्न खोजेर यिनले अन्य जातजाति र समुदाय सबैसँग उस्तै कथा र व्यथाहरू लुकेकोप्रति औँल्याएका छन् ।

उर्गेन राजाको नजिकको मान्छे हो । ऊ घोडचढी र शैन्य विधामा पारङ्गत र निकै कुशल छ । युद्धमा राजाको हत्या भइसकेपछि पनि ऊ जीवित रहेर उसले पुनः आफ्नो शैन्यबल शुदृढ गरेर खस शेनामाथि आक्रमण गरी विजय प्राप्त गर्दछ । अनि आफ्ना साथी र सम्प्रदायको सुरक्षामा तल्लिन रहन्छ तर एकदिन उर्गेन र उसका राजाहरू लाई खस सेनाले कुनै विषयमा विशेष छलफलका निम्ति बोलाउँछन् र षडयन्त्रपूर्ण तरिकाले उनीहरूको हत्या हुन्छ । उर्गेनको र उसको सेतो घोडाको टाउको काटिन्छ ।उनीहरूको शरीरको टाउको र गिँडलाई याबेङ् खोलामा बगाइन्छ । एउटा पाशविक र नृशंश हत्या गरिन्छ उर्गेन र उसको घोडाको ।

‘याबेङ खोला’ यो एउटा इतिहासको डरलाग्दो सत्यता बोक्ने खोला हो । तामाङहरूमा यो खोला काटेर जानुहुँदैन र यदी यो खोला काटेर  कुनै तामाङहरू गएभने उनीहरू फर्कदैनन् (मर्छन् या मारिन्छन् ) भन्ने  विश्वास अद्यापी जिउँदै छ । यही याबेङ खोलाको किनारमा तामाङ्गी राजा र उनका मान्छेहरूलाई वार्ताको लागि बोलाएर षडयन्त्रमूलक र बद्नियतपूर्ण ढङ्गबाट मारिएको कथा उल्लेख गरिएको यस उपन्यासमा उपन्यासकारले त्यसबेलादेखि नै तामाङ्हरू हार्ने वर्गमा परेकाले  यिनीहरू माथि दमन र शोषण रहँदै आएको उल्लेख गरेका छन् । तामाङहरूलाई हेपेर ‘भोटे’ र ‘छोटो बुद्धी भएको’ भनी भन्न थालिएको कुराको पनि जानकारी गराएका छन् । त्यस्तै ‘भोटेको बुद्धी पछि आउँछ’ ,‘यिनीहरू हारेर भागेर पहाडका टुप्पाहरूमा बस्न पुगेका हुन्’,‘यिनीहरू जाँड र रक्सीका पोकाहरू हुन्’ ,‘यिनीहरू ढोके,हुक्के,छाते,रिक्साचालक आदिभन्दा माथिका हैसियतका होइनन् ’ भन्नेजस्ता कथनहरू समाजमा पर्याप्त सुनिने विषयप्रसङ्गहरू पनि उनले उठान गरेका छन् ।

यिनको सर्वोच्च सशक्तता भनेको उपन्यासमा राजनीतिक विषयवस्तुको उठान भएता पनि त्यसमा कटुता ,आक्रोश,द्वेश,क्लेश,रुष्टताको अभिव्यक्ती छैन । सौन्दर्यपूर्ण ढङ्गबाट क्रन्तिचेतनाको उजागर गर्न सक्नु उनको ठुलो खुबी मान्नुपर्छ । उपन्यास पढ्नमा कठिन छैन ,बिम्ब र प्रतीकहरूको अत्यधिक प्रयोग हुनुले उपन्यासको सुन्दरता वृद्धि भएको छ ।

यिनले जुन जीवनको पारडक्सेस र कन्ट्राडिक्सनहरू छन् तिनीहरूको गतिलो फ्युजन गर्न खोजेका छन् र सफल छन् । एउटा गर्भिणी आइमाईमान्छे (म्हेन्दो) युद्धमा हिँड्छे वा हिँड्न चाहन्छे भने त्यहाँ विध्वशं र सिर्जना सँगसँगै उपस्थित गराउन खोजेका छन् । हुनसक्छ वास्तविकतामा यो कति सहज छ , आआफ्नो विश्लेषण र अनुभवहरू सँगको तादात्म्यता खोज्नु ठीक हुन्छ । तर सहज, असहज जेभएपनि युद्धको वास्तविकता भने यही हो । अर्को एउटा अद्भूत् कुरा के भइदिन्छ भने म्हेन्दोको जीवनसाथी जो हो (विद्रोह), ऊ पूर्व सरकारी सेना हो र यिनीहरूको सम्मिलन पनि अनौठो सिद्ध छ । यहाँ पनि एउटा पाराडक्स नै छ ,मानौँ ।

म्हेन्दो कुनै एउटा सैनिक ब्यारेक आक्रमणमा सरिक रहेकी हुन्छे ,त्यहाँ सरकारी सेनाले हार्ने परिस्थिति बन्छ । त्यहाँ खटिएको एउटा लप्टन हुन्छ धर्मवीर क्षेत्री । लगभग धर्मवीर र अन्य एकाध सेनामात्र बाँकी रहेको स्थिति बन्छ शैन्य टुकडी । उनीहरू एउटा ट्रेन्चमा हुन्छन् र त्यहाँबाट निकालेर आफ्नो कब्जामा लिने काम म्हेन्दोको रहेको हुन्छ । यही बीचमा म्हेन्दोको आकर्षणमा सम्मोहित हुन पुग्छ धर्मवीर । म्हेन्दोको हातमा बन्दुक हुन्छ । उनीहरू म्हेन्दो र उसका साथीहरूको कब्जामा पर्छन् । यस्तो क्रिटिकल सिचुयसनमा समेत धर्मवीर म्हेन्दोको लामो कपाल, उसका बन्दुक बोकेका सुहाएका हातपाखुराहरू , सँगैको आत्मीय हिँडाइ आदिले गाँजिन पुग्छ म्हेन्दोको आकर्षणमा । पछि यही पात्र धर्मवीर थापा सेनाबाट विद्रोह गरेर आई जनसेना ‘विद्रोह’ बन्छ यानेकी म्हेन्दो र ऊ पे्रमीप्रेमिका हुँदै श्रीमान्श्रीमतीको सम्बन्धमा गाँसिन पुग्छन् । यसरी प्रेमलाई युद्धसँग फ्युजन गर्न सक्नु यिनको निकै ठुलो खुृबी बनेको छ यस उपन्यासमा ।

मृत्यु,मृत्यु अनि मृत्यु ।

यो जनयुद्ध हो कि मृत्युउत्सव ?

मोर्चामा मर्नु छँदै छ ,दुर्घटना उत्तिकै छन् ।कोही साथीहरू बम बनाउँदा बनाउँदै पड्केर मरेका छन्,कोही हिउँले पुरिएर मरेका छन् ,गाउँघर ,सहरबजार अब त मृत्युको खबर भन्दा केही छैन । संवेदना भन्ने चीज नै अब बाँकी रहेन ,मृत्युको खबर पनि अब सामान्य भैसक्यो कसैलाई घोच्नै छोडिसक्यो ।

आफू अघिल्तिरको संसारै कालो रङले पोतिएको क्यान्भासजस्तो लाग्न थाल्यो ,रगतको छिर्का यत्रतत्र रगतको फूल भएर फुलिरहेझैँ ,रगतको शीत भएर टप्किएझैँ ,रगतको पालुवा भएर पलाएझैँ ,रगतको धरहरा भएर उभिएझैँ प्रतीत भयो ।

जनता खचाखच चढेको बसलाई एम्बुसमा पार्नु ? कस्तो उदेकलाग्दो कुरा ।

म अपराधको जिम्मा लिन्न ! म मृत्युउत्सवको जिम्मा लिन सक्दिन ।

देशभर अनेक भिडन्तहरू भैरहेका छन् । ठुल्ठुला लडाइँ, सहरहरू ध्वस्त भएको ,लासहरू यत्रतत्र छरिएका ,ब्यारेकको छेउछाउमा सामूहिक हत्या गरिएको इत्यादीइत्यादी । हिंस्रक बनेका थिए रेडियो फ्रिक्वेन्सीहरू पनि ।
संवेदनहीनताको कत्रो जुलुुस ! यो भयावह इतिहासको च्याप्टरबाटै भाग्छु ।

–एउटा छापामारमा पलाएको एउटा सफेद सोच हो यो ।

साँच्चिकै कुनै समयले हिर्काएको चोट सहँदासहँदै अति विचलित भएपछि मान्छेलाई सबै कुराहरू अप्रिय लाग्न थाल्छ । एउटा घटनाक्रमले बिथोलिएर छापामार बनेको व्यक्तिलाई त्यहाँ अर्को घटनाक्रमहरूले हिर्काउन थालेपछि ऊ पलायनको ठुलो भड्खारोतिर जाँदोरहेछ । त्यही खालको अवस्थाचित्रण पनि उनले यस उपन्यासमा गरेका छन् । युग पाठकको उपन्यास उर्गेनको घोडा एउटा विषम समयको जटिल अनुवाद हो । उनले यसमा एक तरिकाले इतिहाँसको एउटा पाटोलाई गम्भिर विश्लेषण तथा उत्खनन् गरेका छन् । जुन सह्रानीय सिद्ध छ ।

उर्गेन र उसको घोडाको पुनरागमनको प्रतीक्षा यो समयले गरिरहेको छ – उनले यस्तै बुझेका छन् । हरेक क्षण र पात्रहरू उर्गेनको घोडाको नमीठो आकारले पिरोलिइरहेका छन् । याबेङ खोलाहरू अझैपनि उर्गेन र उर्गेनका टाउकाहरू बोकेर बगिरहेको छ । उसको घोडा र घोडाका टाउकाहरू लिएर बगिरहेको छ र उसकै रगतको छालहरू उठिरहेका छन् –याबेङ् खोलाहरूमा । उर्गेनहरू इतिहासमा विजयको अन्तिम सङ्घार टेक्नुअघि काटिने टाउकाहरू हुन् । युग पाठक यस्तै बताउँछन् ,शायद् ।

हरेक अपरिचितजस्ता ,हेपिएका ,थिचोमिचोेमा परेका ,दबाइएका ,सामान्यतया ः माथि उठ्न नसकेकाहरू लाई सम्बोधन गरेर लेख्नु उनको सह्रानीय र प्रशंशायोग्य पक्ष हो तर यिनको लेखक वन डाइमेन्सनालिटीबाट भने बच्न सकेको छैन । जबसम्म समाजको चित्रण थ्री डायमेन्सनल फिगरबाट हुँदैन तबसम्म त्यो कम्प्लिट भने हुँदैन । पूर्णताको फिगरहरूको स्केच यिनीबाट पछिल्ला दिनहरूमा हुनेछ ,यही कामना गरौँ । उनको लेखनीको दमभने यथावत कायम भइरहोस् ।

युग पाठकको निरन्तर सुदृढ लेखनीको कामना । अस्तु ।

Monday, April 12, 2010

my essay

म रोबोट

म मान्छे भएर बाँच्ने अभिप्शा कुनै समय पूरा हुनेछ । शायद यही सोच्नु नै समस्याको शुरुवात् रहेछ । समस्या, यो कुनै मेरो प्रिय साथीको नामझैँ बारम्बार मेरो मानस्पटलमा निर्धक्क हिँडडुल गर्ने कुनै विकिरणीय तरङ्गजस्तो एब्स्ट्रयाक्ट आकृति हो । रुसो भन्दै हुन्छ–मानिस स्वतन्त्र जन्मिन्छ र समाजले उसलाई परतन्त्र बनाउँदै लैजान्छ । यो अलिक पुरानो मोडलको विचार(कोटेसन ) हो । अब मान्छे क्रोमोजोमल अवस्थादेखि नै सुरक्षित छैन । ऊ उहीँदेखि परतन्त्र छ । एउटा सत्य कुरा गरूँ म आफू नै पुरुषसूचक क्रोमाजोम थिइन भने शायद् मेरो हालको अस्तित्व सम्भव थिएन । मेरो क्रोमोजोमल अवस्थामा नै घाँटी निमोठिने थियो ।

मसँग विचार छ । मसँग चेतना छ । मुटु छ । मसँग बोल्नका लागि ओठ र जिब्रो छ । अन्य सबै अङ्गप्रत्यङ्ग छन् । मान्छेकै जस्ता सबै भावभङ्गिमाहरू भएरै पनि म मान्छेजस्तो किन छैन ? सपनाहरूले नै ब्रह्माण्ड सिर्जना हुने भए मसँग अनन्त ब्रह्माण्ड सिर्जना गर्नसक्ने अनन्त सपनाहरू छन् । कल्पनाहरूको सहर हुँदो हो त मसँग अनन्त सहरहरू हुने थिए र म अनन्त देशको बासिन्दा हुने थिएँ । आशाहरूले मात्र घर बन्ने भए मेरा असङ्ख्य घरहरू बन्ने थिए र रहरहरूको प्रान्तमा अगणित सङ्ख्यामा मानिसहरू खुसीको होली खेलिरहेका हुने थिए । तर के गर्ने ? मेरा खुट्टाहरू हिउँले खाएका यति (हिममानव) का खुट्टाहरू जस्तो खिइरहेछन् । जुन अङ्ग कम प्रयोग भयो त्यो अङ्ग हराउँदै जान्छ भन्ने लेमार्किज्मको हाइपोथेसिस तर्कसङ्गत मेल भइरहेछ । प्रयोगमा नआएको फलाममा खिया लाग्दै गएझैँ मेरो मष्तिष्क शायद् काम नलाग्ने हुँदै गइरहेछ । मेरो सानो र प्यारो चेतनाको भाँडो मक्किँदै गइरहेछ ,अनि यो शुष्क शरीर झन्झन् कमजोर भइरहेछ ।

आखिर एउटा भ्रम मान्छे हुनुको परिकल्पना बाँचिरहेछु । म मान्छे होइन । यो तर्क पुष्टि गर्न मसँग पर्याप्त आधारहरू छन् । मेरा आँखाहरू देख्नका लागि ,मेरा कानहरू सुन्नका लागि ,मेरो मष्तिष्क सोच्नका लागि ,मेरो मुटु संवेदित हुनका लागि वर्जित छन् । हो यी सब कुराहरू मबाट सम्भव छैनभने म कसरी मानव ? म त पूर्ण रोबर्टमा परिणत छु । हो मैले केही मान्छे हौँ भन्नेहरूकै हालत देखिसकेको छु । उनीहरू आदिमानवहरू झैँ मान्छेलाई नै शत्रु मानेर झगडा गर्छन् र विजयपश्चात् मान्छेकै मासु कुनै पोस्टमोडर्न हस्पिटलको मुदार्घरमा बसेर भव्य समारोहबीच खाने गर्दछन् ।

यहाँ सही देख्ने ,बोल्ने र सुन्नेहरू गलत हुन्छन् ,अनि गलत देख्ने ,बोल्ने र सुन्नेहरू सही हुन्छन् । अझ यसलाई यसो भनौँ न समय उल्टो हिँडिरहेछ । त्यो पनि होइन,त्यसो भन्नलाई समय पुरानो दिशातिर फर्केको पनि छैन । के त उसो भए पृथ्वी घोप्टियो भनूँ ? त्यो पनि होइन होला गोलो पृथ्वी कसरी घोप्टिने ? बरु यो उल्टो भन्ने कुरा नै उल्टो पो भयो कि ? त्यो हुन पनि सम्भव छैन किनकि उल्टो उल्टिएपछि सुल्टो हुनुपर्ने, त्यस्तो पनि भएको छैन । बरु यी सबै कुरा र विषयहरूलाई समेटेर अर्काे निर्णय गरौँ ःयो पृथ्वी नै अनियमित छ । हालका परिस्थितिहरू लाई विहङ्गावलोकन मात्र गर्ने हो भने पनि यो शव्द नरमझैँ अनुभूत हुन्छ । यति सफ्ट शव्द प्रयोग भयो भने शव्दकै मानहानी हुने देखिन्छ । त्यसैले यहाँ पृथ्वीलाई अनियमितताको परकाष्ठा भनिदिँदा सही ठहर्ने देखिन्छ । यहाँ पृथ्वीको आकारको अनियमितताका विषयहरू उठेका हैनन् । पृथ्वीमा भइरहेका मानवाधिकृत क्रियाकलापसँग सम्वद्घ भएर यी विषयप्रसङ्गहरू उठिरहेका छन् । धर्ती आमा हुन् म भन्न सक्दिन । जसले जन्मायो उसले हुर्काउने चेष्टासम्म कम्तिमा गर्नुपर्छ । जन्माएर बेवारिस छोडिदिँदा आमा भइने भए सबै पुरुषहरू आमा नै हुन् ।

रोबोटसँग आत्मा हुँदैन । म पनि रोबोट अर्थात् यो युगको पछिल्लो सभ्यताको मान्छे । मसँग पनि आत्मा छैन । आत्मा भएका केही मान्छेकै प्रजातिहरू हातमा आत्मा बोकेर मन्दिरअघि माग्न बसेको देखेपछि मैले मेरो आत्माको मेडिकल चेक गरेको थिएँ र मेडिकल रिपोर्टले मेरो आत्मा नभएको सहर्ष पुष्टि ग¥यो र त्यहाँबाट के पनि पुष्टि भएको पाएँ भने पछिल्ला चरणका अत्याधुनिक मानिसहरूमा अक्सर गरेर आत्मा नहुँदोरहेछ । यी नयाँ खालका जीवहरूलाई अब मान्छे भन्न नहुने र यिनीहरूको छुट्टै नाम दिनुपर्नेमा मेडिकल विभागको मान्छेको नयाँ अवतारसँगै नयाँ माग थपिएको रहेछ । यो मागअनुसार मान्छे रोबर्टजत्तिकै हैसियतको हुन पुग्ने देखिन्छ । मेडिकल विभागले यो विषयको छानविनका लागि मानव विकास तथा संशोधन शाखा ,पृथ्वी र उडनस्तरी केन्द्रिय विभाग ,अन्तरीक्षमा पठाउने निर्णय गरेको अन्तत ः पुष्टि हुन आएको छ । हो यस्तो समाचार अब हामीले पढ्यौँ भने कुनै अचम्म हुने छैन ।

म ठूलो भएपछि कुनै दिन हावाको गतिमा दौडिन सक्नेछु । हावाको वेगवान प्रवाह देख्दा सानोमा कुनै दिन मैले सोचेथेँ । म ठूलो भएपछि कुनै दिन चराको गतिमा उड्न सक्नेछु । चराहरूले आकाशमा कावा खाँदै उडेको देख्दा कल्पना गरेथेँ । हो आज म हावाको गतिसँग डराउन थालेको छु । पखेटा काटेर पिँजडामा राखिएको चराझैँ भएको छु । अनुभवशून्य ,भयभीत र शुष्कप्राय ः ।

म किन नियन्त्रित छु ? मेरो यो खुल्ला प्रश्न हो । जो कसैका निम्ति सम्प्रेषित । तिमीलाई ,तपाईँलाई ,यहाँलाई ,हजुरलाई वा जो कसैलाई वा हुनसक्छ म आफूलाई नै । हो यसको सही उत्तर पाउनुको लालसा नै मेरो अन्तिम आशा हो । जिन्दगीको कुनै कुनामा यो प्रश्नको जवाफ फेला प¥योभने यो जिन्दगीसँग मैले अनुग्रहीत हुने कुनै आशाको त्यान्द्रो फेला पर्नेछ शायद् ।

एउटा बुख्याँचा शायद् मान्छे हुनुको भ्रम बाँच्छ । भ्रम बाँड्छ पनि । बारीमा अन्न चोर्न आएका स्यालहरू समेत यस्ता बुख्याँचाहरू सँग डराउँदा रहेछन् । सुगा, परेवा र ढुकुरहरूको कुरा छाडूँ , तिनीहरू त नडराउने कुरै भएन । बुख्याँचाहरू पनि आदिम रोबर्टहरू हुन् । यसो भनूँ यिनीहरू रोबर्ट प्राक्कल्पनाका आधारहरू हुन् । यी आधारहरू खडा गर्ने पनि मान्छेहरू नै हुन् । मान्छेहरूले नै यी बुख्याँचाहरू किन बनाए ? र आफूजस्तो नै किन बनाए ? बाघ ,भालु ,चितुवा, सिंह वा अन्य डरलाग्दा जीवहरू अरू थिएनन् र ? यसको मतलब सबभन्दा भयानक र डरलाग्दा भनेका मान्छेहरू नै रहेछन् र ऊ सबैलाई आफूसँग डराउन् सोच्छ । सबैमाथि आफ्नो नियन्त्रण चाहन्छ । यो कुन सुपरनेचुरल पावरले उसलाई उत्प्रेरित गरिरह्यो ? मान्छे किन प्रेमिल सभ्यता रुचाउँदैन ? ऊ किन गाइरहन चाहँदैन प्रेमको मधुर धुन ? कुनै सन्नाटामा हुच्चिलहरू कराएझैँ ऊ किन निकालिरहन्छ कर्कश ध्वनी ? एकोहोरो ।

मलाई कृतिम मान्छे भएर बाँच्नुको रहर हराइसकेको छ । आडम्बरहरूको थुप्रो लगाएर त्यसकै सम्मोहनमा खिचिइरहनुले मलाई पुगिसकेको छ । मलाई अनेक आवरणीय परिचयहरू देखाएर आफ्नो यथार्थ भुल्नु छैन । आफ्नो पभिाषा मेटाउनु छैन । मलाई बन्नु छैन कुनै कथित बुद्ध अनि क्राइष्ट । मेरो यो रोबर्ट अस्तित्व (सकेँ भने ) मेटाउनु छ । मेरो यो बुख्याँचा जीवनशैली (सकेँ भने ) पन्छा लगाउनु छ । मलाई मेरो स्वतन्त्रतामा दौडिनु छ हावाको गतिजस्तै । मलाई मेरो आफ्नै गतिमा बग्नु छ ( धिमा नै किन नहोस )नदीको प्रवाहजस्तै । बग्नु छैन खहरेजस्तो क्षणभर उर्लिएर । म ठीक हुनु छ मसँगै । मैले लगाउनु छैन कुनै रङहरूको चस्मा र रङ्गिनु छैन आफू पनि कुनै रङहरूले । पानीको कुनै रङ हुँदैन । मलाई पनि बन्नु छ सङ्लो पानीजस्तै । बादलहरूको कुनै आकार हुँदैन म पनि बन्न चाहन्छु बादलजस्तै कुनै ठोस आकारहीन । जूनको जुन शीतलता छ ,हो त्यही शीतलता चाहन्छु जीवनभर आश्वादन गरिरहन । मलाई जम्नु छैन बरफजस्तो तर स्विकार्नु छ बरफको पग्लाइ । मलाई उठ्नु र उड्नु छैन वाफजस्तो तर अनुभव गर्नु छ वाफको क्षमता ।

हो मलाई हुनु छ मान्छेजस्तो । सजीव । कुनै परिभाषाविहीन (वा सबै परिभाषायुक्त ) मान्छेको (मात्र मान्छेको ) आकार चाहन्छु मभित्र । शायद् पाउँछु या पाउँदिन । जय मान्छे ।

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog