Sunday, January 9, 2011

POEM

क्यानभासमा दुःखको रङ भर्दै म

सुवास खनाल

आँखामा पदचिन्ह छाडेर हिँडेका सपनाहरू
सुदूर कतै अल्झिरहेका होलान्

मेरो बेचैनले बिथोलिएका
मेरो छट्पटाइले आत्तिएका
मेरो अनिद्राले सताइएका
उनीहरू,
बाध्य भएर
ओझलिएको हुनुपर्छ–मेरा आँखाहरूदेखि
म भने
मौन कुरिरहेछु
म निदाउने यो सडक,यो पेटीमा, यो चौरमा,
यी आँगनहरूमा

“यदि मृत्युपछि पनि जीवन सम्भव छ भने
म सपनाको जीवन माग्न चाहान्छु”

हिँडेर नसकिएको यो इतिहासको बाटो
खै ! परिवर्तन नै भएन
भोगेर नसकिएका विगतका दूर्दिनहरू
खै ! फेरिँदै फेरिएनन्
भविष्य अँध्यारो सुरूङतिर डोरिइरहेछ
तैपनि, बाध्य भएर
त्यतैतिर निर्देशित छु म

खडेरिग्रस्त यी आँखाहरू सपनाका
हरसमय,
एम्बुसहरू देखिरहेछन्–बाटाहरूमा

यसबखत म,
मलाई एकातिर र संसार अर्कोतिर
राखेर  हेर्छु
एकातिर,क्यानभासमा दुःखको रङ
भर्दै छु म
अर्कोतिर,
उल्काहरू खसिरहेछन्–प्रत्येक पल
र क्षतविक्षत छन्–सारा मान्छेका आस्थाहरू ।


छतिवन–८,पावस
मकवानपुर
abha_subas2000@yahoo.com
subaspoet@gmail.com
January 2009

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog