Sunday, February 6, 2011

Commentry.

अनमोल संचेतनाको स्वरूप –अनमोल दृष्टान्त


सुवास खनाल
subaspoet@gmail.com
abha_subas2000@yahoo.com
लक्ष्मण भण्डारी एक सचेत रूपमा अध्यात्मिक सोच राख्ने व्यक्ति हुन् । उनले सङ्कलन र सम्पादन गरी नैतिक आचारगत विषयका केही सुरूचिपूर्ण कथाहरूको सङ्ग्रह बजारमा ल्याएका छन् । आजको नेपाली पुस्तक बजार पनि बिस्तारै जटिल र प्रतिस्पर्धात्मक बन्दै गएको छ । त्यो भिडमा यिनी पनि कसिलोसँग उभिने प्रयत्नमा छन् । उनको यो कदम प्रशंशनीय रहेको छ । उनी यी कथाहरूलाई नामकरण गर्छन् –अनमोल दृष्टान्त ।

कथाहरू छोटा र मीठा अनुभूत हुन्छन् । कथाका पछाडि आफ्ना भावनात्मक अनुभूतिहरू यिनले थपेका छन् । यसले सम्पूर्ण कथाको सार बोल्छ । आजको समय निकै दुर्बोध्य छ । यसलाई बुझ्नुको असमर्थताकै प्रतिरूप मात्रै हामी बाँचिरहेछौँ । यो समयलाई डो¥याउने आदर्शहरू कहीँकतै विलुप भैरहेछन् । यही आदर्शको खोजीमा छन् लक्ष्मण भण्डारी । यिनी लेखनमा जति सरल लाग्छन् ,व्यवहारमा उस्तै प्रतीत हुन्छ । मूलत :यिनको यो सङग्रह आफ्नो निजी कथाहरूको सङ्ग्रह हैन । तर पनि यिनले सङ्ग्रहमा कहीँ न कहीँ आपूmलाई र आफ्नो क्षमतालाई चिनाएका छन् । यो नै उनको सफलतम पक्ष हो ।

लक्ष्मण भण्डारीहरू किताब निकाल्छन् । यो पुस्तकाकार स्वरूपमा बजारमा आउँछ । तर यो बजार पुस्तकका आवरणहरूको चर्चा गर्छ । पुस्तकका पेजहरूको गुणस्तरीयताको चर्चा गर्छ । यसभित्रको गुदीको गुणवत्ताको कुरा गर्दैन । यद्यपी आवरण र पेजहरू कुरुप हुनुपर्छ भन्नेतर्फ यो पङ्क्तिकार लक्ष्यित हुन खोजिरहेको पक्कै होइन । लक्ष्मण भण्डारीको सम्पादनमा निस्किएको यो पुस्तकमा गुदीका कुराहरू त छन् नै ,साथै जीवनका मूल्य र मान्यताका प्रश्नहरूलाई पनि यिनले बहुत प्रासङ्गिक बनाएका छन् ।

विज्ञानमा सबै सिद्धान्तहरूको एकिकृत स्वरूप निर्माणको प्रयास थालनी निकै अघिदेखि हुँदै आएको छ । यसमा पछिल्लो समयमा लागि परिरहेकामध्ये महान वैज्ञानिक हकिन्स पनि छन् । यसले संसारमा रहेका शक्तिहरू केही न केही रूपमा एकअर्कासँग अन्तरसम्बन्धित छन् र शक्तिको मुलस्वरूप एक नै छ भन्ने तर्फ सङ्केत गर्छ । यसबाट कहीँ न कहीँ अन्तिम सत्य रूप भगवान मान्ने परिकल्पनासँग मेल खान खोज्दोरहेछ भन्ने यो पङ्क्तिकारलाई लाग्ने गर्छ । तर विज्ञानको अनुपस्थितिको अवस्थामा मानिसहरूलाई निश्चित सीमाहरूमा निर्देशित गर्न धार्मिक चिन्तनहरूले निकै महत्वपूर्ण योगदान खेलेको हुनुपर्छ । र अध्यात्म पनि एउटा निकै रहस्यमयी विज्ञानकै स्वरूप हो । अनमोल दृष्टान्तका कथाहरू पनि अध्यात्मिक र धार्मिक खालकै रहेका छन् ।

यो कथासङ्ग्रहका कथाहरू छोटो समयमा पढेर सकिने ,मुड फ्रेस गराउने खालका छन् । एक बसाइमा कथा सङ्ग्रह पढेर सकिने खालको छ । एक सय एक वटा कथाहरूको यो सङ्ग्रह कफी गफमा बस्दा ,पढाउन लाग्दा ,समाजिक नैतिकता र मूल्यमान्यताका प्रसङ्गहरू कोट्याउँदा कामलाग्ने नीतिगत उदाहरणहरूको अनुशीलन हो । आजका मान्छेहरू ( ब्ल्याक हार्ट विथ ह्वाइट कोट ) लाई नीतिका कुराहरू कति पच्छन्, त्यो आफ्नो ठाउँको कुरा छ तर यिनी यो भीडमा सचेत उभिने प्रयत्नमा छन् । लक्ष्मण भण्डारी अध्यापन क्षेत्रमा संलग्न छन् । सिनर्जी एफएममा धार्मिक कार्यक्रम चलाउँछन् । यसले मात्र उनलाई यो खालका कथाहरूको सम्पादन गर्न पक्कै प्रेरित गरेको छैन । यो उनमा रहेको धर्मबोध र नीतिबोधको प्रष्ट प्रमाण हो ।

यी कथाहरू कथाहरू मात्र पनि छैनन् । यसमा विश्वचर्चित व्यक्तित्वहरूको जीवनसम्बद्ध प्रेरक प्रसङ्गहरू पनि रहेका छन् । इन्दिरा गान्धि ,विवेकानन्द ,सिगमन्ड फ्रायड ,जवहरलाल नेहरू ,बुद्ध , विन्स्टन चर्चिल , जोन एफ केनेडी ,अब्राहम लिङ्कन लगायत धेरै व्यक्तिप्रसङ्ग साथै वीरबल र अकबरमा आधारित ज्ञानबर्धक र प्रेरणादायी रोचक प्रस्तुती पाइन्छ ।

चर्चिल र भीड
विन्स्टन चर्चिल एकपटक ठूलो सभामा विशेष व्याख्यान दिनका लागि तयारी गर्दै थिए । जम्मा भएको मान्छेको ठूलो भीडतिर इसारा गर्दै उनका एक प्रशंसक ले भने “चर्चिलज्यू ! तपार्इँ यति लोकप्रिय हुनुहुन्छ कि तपाईको व्याख्यान सुन्न यहाँ हजारौँ मान्छे भेला भएका छन् ।”चर्चिलले शान्त स्वरमा भने “प्रिय मित्र ! यी मान्छे भाषण सुन्न होइन तमासा हेर्न यहाँ भेला भएका हुन् । यदि भोलि मलाई फाँसीमा चढाउने घोषणा गरियो भने पनि यहाँ यो भन्दा धेरै हजार मान्छेको भीड जम्मा हुनसक्छ ।”
मान्छे भीडका पछिभन्दा आप्mनो विचार र लक्ष्यप्रति केन्द्रित हुनसके जीवनमा सफल हुनसकिन्छ ।

यही स्वरूपका विचारसहितका लेखनीहरू उनले सङ्ग्रहमा सङ्कलन तथा सम्पादन गरेका छन् । यो उनको सङ्ग्रह प्रकाशनका दृष्टिले प्रथम रहेपनि सफल सम्पादन तथा प्रकाशन रहेको छ । यस किताबको अध्ययन गर्नुले केही न केही मात्रामा सही जीवन सञ्चालनका निम्ति कच्चा पदार्थ प्राप्त गर्नुजस्तै ठहर्छ । केही मात्रामा भाषागत त्रुटी ,केही कथाहरू हल्काफुल्का अनुभव हुनु वा चुट्किलाजस्तो अनुभव हुनु र कतिपय प्रसङ्गहरू पूर्णतया निर्जीव कल्पना मात्र हुनु र प्रचुर आदर्शमा केन्द्रित रहनु यो किताबको कमजोरी हो भन्ने लाग्छ । संसारमा एब्सोल्युट भन्ने कुनै सत्य नै छैन र निरपेक्ष जीवन सम्भव पनि छैन ।

लक्ष्मण भण्डारी , सङ्कलक र सम्पादक मात्र होइनन्, एउटा लेखक पनि हुन् । उनी कविता र निबन्ध कर्ममा पनि लाग्ने गर्दछन् । यसभन्दा पछि पनि उनको सम्पादकीय र लेखकीय गुणलाई हामीले मन पराइरहन पाउनेछौँ ,यही आशा गरौँ ।

२०६७–१०–२२
भरतपुर ।

Wednesday, February 2, 2011

NEW POEM

..............वा अनिश्चय


सुवास खनाल

कहीँ त यस्तो पनि होस् न
मान्छेहरूले चिन्न सकून
रङहरूको प्रकार
कालो ,सेतो ,खैरो,पहेँलो

रतन्धोको कुनै बिमारीले गर्ने
साँझको यात्राजस्तो
खै कुन गन्तव्य हिँडिरहेछ यो देश ?
अखबारका पेजहरूको कापकापबाट फैलिरहेको
कुनै नमिठो अनिश्चयको गन्धले
हरदिन तर्सिँदै आँखा खोल्छ –बिहान
र मेरो सपना मरूभूमिकरण हँुदै गएको
कुनै बाँझो जमिनजस्तो लाग्दै जान्छ

यस युगको सचेत बुद्धिजीवी
फुटपाथमा बसेर बेच्छ सहिदको तस्वीर
र आजकाल मासुपसलमा
सँगै बिक्री हुन्छ
बुद्धको स्ट्रयाचु

कुनै जीर्ण देवलको पछाडिपट्टि
चोर ढोकाबाट आवतजावत गर्ने
विना लाइसेन्सको ईश्वरलाई के मतलब
अरबौँ मान्छेहरूको
मान्छेहरू भने मस्ताराम भजन गाइरहेछ
न्दिनभर ,रातभर ,जीवनभर

जीवनगतिको उल्टो दिशामा
अकास्मात
कहिलेदेखि चल्न थाल्यो घण्टाघरको सुई
र कहिलेदेखि बग्दैछन् यी नदीहरू उल्टो
यो बहने हावाको किन कुनै दिशा छैन ?
र समयको अर्थ कसरी जस्तोपनि लाग्दैछ ?

यो भूगोलको अन्तिम सिमानाहरूमा
उदाइरहेका अनगिन्ति इन्द्रेणी
अस्ताउँदै गरेको सुर्यले
पश्चिमी क्षितिजमा छोडेर गएको उज्यालोका मसिना धर्काहरू
वा मन्दिरमा चढाइएका फूलहरूको सुन्दरता
यसबाट बन्दैन र कुनै मल्हम
जुन जस्तो कि सबै घाउहरूमा लाउन मिलोस्

भत्केको पहाडबाट
फुत्किँदै भागेको पानीको मुल
हो जीवनसँग यही अर्थहरू भेटिरहेछु म

कहीँ त यस्तो पनि होस् न
मान्छेहरूको अनुहारमा सधैँ बसाइँ आउन्
खुसीहरू
र फैलिरहोस् सुवास जिन्दगीको

छतिवन –८ ,पावस ,मकवानपुर

subaspoet@gmail.com
abha_subas2000@yahoo.com




सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog