Sunday, February 6, 2011

Commentry.

अनमोल संचेतनाको स्वरूप –अनमोल दृष्टान्त


सुवास खनाल
subaspoet@gmail.com
abha_subas2000@yahoo.com
लक्ष्मण भण्डारी एक सचेत रूपमा अध्यात्मिक सोच राख्ने व्यक्ति हुन् । उनले सङ्कलन र सम्पादन गरी नैतिक आचारगत विषयका केही सुरूचिपूर्ण कथाहरूको सङ्ग्रह बजारमा ल्याएका छन् । आजको नेपाली पुस्तक बजार पनि बिस्तारै जटिल र प्रतिस्पर्धात्मक बन्दै गएको छ । त्यो भिडमा यिनी पनि कसिलोसँग उभिने प्रयत्नमा छन् । उनको यो कदम प्रशंशनीय रहेको छ । उनी यी कथाहरूलाई नामकरण गर्छन् –अनमोल दृष्टान्त ।

कथाहरू छोटा र मीठा अनुभूत हुन्छन् । कथाका पछाडि आफ्ना भावनात्मक अनुभूतिहरू यिनले थपेका छन् । यसले सम्पूर्ण कथाको सार बोल्छ । आजको समय निकै दुर्बोध्य छ । यसलाई बुझ्नुको असमर्थताकै प्रतिरूप मात्रै हामी बाँचिरहेछौँ । यो समयलाई डो¥याउने आदर्शहरू कहीँकतै विलुप भैरहेछन् । यही आदर्शको खोजीमा छन् लक्ष्मण भण्डारी । यिनी लेखनमा जति सरल लाग्छन् ,व्यवहारमा उस्तै प्रतीत हुन्छ । मूलत :यिनको यो सङग्रह आफ्नो निजी कथाहरूको सङ्ग्रह हैन । तर पनि यिनले सङ्ग्रहमा कहीँ न कहीँ आपूmलाई र आफ्नो क्षमतालाई चिनाएका छन् । यो नै उनको सफलतम पक्ष हो ।

लक्ष्मण भण्डारीहरू किताब निकाल्छन् । यो पुस्तकाकार स्वरूपमा बजारमा आउँछ । तर यो बजार पुस्तकका आवरणहरूको चर्चा गर्छ । पुस्तकका पेजहरूको गुणस्तरीयताको चर्चा गर्छ । यसभित्रको गुदीको गुणवत्ताको कुरा गर्दैन । यद्यपी आवरण र पेजहरू कुरुप हुनुपर्छ भन्नेतर्फ यो पङ्क्तिकार लक्ष्यित हुन खोजिरहेको पक्कै होइन । लक्ष्मण भण्डारीको सम्पादनमा निस्किएको यो पुस्तकमा गुदीका कुराहरू त छन् नै ,साथै जीवनका मूल्य र मान्यताका प्रश्नहरूलाई पनि यिनले बहुत प्रासङ्गिक बनाएका छन् ।

विज्ञानमा सबै सिद्धान्तहरूको एकिकृत स्वरूप निर्माणको प्रयास थालनी निकै अघिदेखि हुँदै आएको छ । यसमा पछिल्लो समयमा लागि परिरहेकामध्ये महान वैज्ञानिक हकिन्स पनि छन् । यसले संसारमा रहेका शक्तिहरू केही न केही रूपमा एकअर्कासँग अन्तरसम्बन्धित छन् र शक्तिको मुलस्वरूप एक नै छ भन्ने तर्फ सङ्केत गर्छ । यसबाट कहीँ न कहीँ अन्तिम सत्य रूप भगवान मान्ने परिकल्पनासँग मेल खान खोज्दोरहेछ भन्ने यो पङ्क्तिकारलाई लाग्ने गर्छ । तर विज्ञानको अनुपस्थितिको अवस्थामा मानिसहरूलाई निश्चित सीमाहरूमा निर्देशित गर्न धार्मिक चिन्तनहरूले निकै महत्वपूर्ण योगदान खेलेको हुनुपर्छ । र अध्यात्म पनि एउटा निकै रहस्यमयी विज्ञानकै स्वरूप हो । अनमोल दृष्टान्तका कथाहरू पनि अध्यात्मिक र धार्मिक खालकै रहेका छन् ।

यो कथासङ्ग्रहका कथाहरू छोटो समयमा पढेर सकिने ,मुड फ्रेस गराउने खालका छन् । एक बसाइमा कथा सङ्ग्रह पढेर सकिने खालको छ । एक सय एक वटा कथाहरूको यो सङ्ग्रह कफी गफमा बस्दा ,पढाउन लाग्दा ,समाजिक नैतिकता र मूल्यमान्यताका प्रसङ्गहरू कोट्याउँदा कामलाग्ने नीतिगत उदाहरणहरूको अनुशीलन हो । आजका मान्छेहरू ( ब्ल्याक हार्ट विथ ह्वाइट कोट ) लाई नीतिका कुराहरू कति पच्छन्, त्यो आफ्नो ठाउँको कुरा छ तर यिनी यो भीडमा सचेत उभिने प्रयत्नमा छन् । लक्ष्मण भण्डारी अध्यापन क्षेत्रमा संलग्न छन् । सिनर्जी एफएममा धार्मिक कार्यक्रम चलाउँछन् । यसले मात्र उनलाई यो खालका कथाहरूको सम्पादन गर्न पक्कै प्रेरित गरेको छैन । यो उनमा रहेको धर्मबोध र नीतिबोधको प्रष्ट प्रमाण हो ।

यी कथाहरू कथाहरू मात्र पनि छैनन् । यसमा विश्वचर्चित व्यक्तित्वहरूको जीवनसम्बद्ध प्रेरक प्रसङ्गहरू पनि रहेका छन् । इन्दिरा गान्धि ,विवेकानन्द ,सिगमन्ड फ्रायड ,जवहरलाल नेहरू ,बुद्ध , विन्स्टन चर्चिल , जोन एफ केनेडी ,अब्राहम लिङ्कन लगायत धेरै व्यक्तिप्रसङ्ग साथै वीरबल र अकबरमा आधारित ज्ञानबर्धक र प्रेरणादायी रोचक प्रस्तुती पाइन्छ ।

चर्चिल र भीड
विन्स्टन चर्चिल एकपटक ठूलो सभामा विशेष व्याख्यान दिनका लागि तयारी गर्दै थिए । जम्मा भएको मान्छेको ठूलो भीडतिर इसारा गर्दै उनका एक प्रशंसक ले भने “चर्चिलज्यू ! तपार्इँ यति लोकप्रिय हुनुहुन्छ कि तपाईको व्याख्यान सुन्न यहाँ हजारौँ मान्छे भेला भएका छन् ।”चर्चिलले शान्त स्वरमा भने “प्रिय मित्र ! यी मान्छे भाषण सुन्न होइन तमासा हेर्न यहाँ भेला भएका हुन् । यदि भोलि मलाई फाँसीमा चढाउने घोषणा गरियो भने पनि यहाँ यो भन्दा धेरै हजार मान्छेको भीड जम्मा हुनसक्छ ।”
मान्छे भीडका पछिभन्दा आप्mनो विचार र लक्ष्यप्रति केन्द्रित हुनसके जीवनमा सफल हुनसकिन्छ ।

यही स्वरूपका विचारसहितका लेखनीहरू उनले सङ्ग्रहमा सङ्कलन तथा सम्पादन गरेका छन् । यो उनको सङ्ग्रह प्रकाशनका दृष्टिले प्रथम रहेपनि सफल सम्पादन तथा प्रकाशन रहेको छ । यस किताबको अध्ययन गर्नुले केही न केही मात्रामा सही जीवन सञ्चालनका निम्ति कच्चा पदार्थ प्राप्त गर्नुजस्तै ठहर्छ । केही मात्रामा भाषागत त्रुटी ,केही कथाहरू हल्काफुल्का अनुभव हुनु वा चुट्किलाजस्तो अनुभव हुनु र कतिपय प्रसङ्गहरू पूर्णतया निर्जीव कल्पना मात्र हुनु र प्रचुर आदर्शमा केन्द्रित रहनु यो किताबको कमजोरी हो भन्ने लाग्छ । संसारमा एब्सोल्युट भन्ने कुनै सत्य नै छैन र निरपेक्ष जीवन सम्भव पनि छैन ।

लक्ष्मण भण्डारी , सङ्कलक र सम्पादक मात्र होइनन्, एउटा लेखक पनि हुन् । उनी कविता र निबन्ध कर्ममा पनि लाग्ने गर्दछन् । यसभन्दा पछि पनि उनको सम्पादकीय र लेखकीय गुणलाई हामीले मन पराइरहन पाउनेछौँ ,यही आशा गरौँ ।

२०६७–१०–२२
भरतपुर ।

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog