Wednesday, March 9, 2011

ESSAY

सुवास खनाल


निबन्ध

लेखन परिकेन्द्रमा मान्छे

हेनिङ मेनकलले जुन कुरा भने त्यसले मेरो साह्रै चित्त बुझाइदिएको छ । यी व्यक्ति हुन् –स्विडिस उपन्यासकार । यिनले भनिदिए –“तिनओटा किताब पढ ,तीसजना मानिससँग सङ्गत गर किनभने मानिसजस्तो गहिरो किताब अरू केही हुँदैन ” । यही प्रमुख आवश्यकता छ कि समाज र साहित्यबीच जुन स्पेस छ ,त्यो मेटाउनु । साहित्य यस्तो हुनुपर्छ ,त्यस्तो हुनुपर्छ ;त्यो पनि होइन । तर यो कहीँ न कहीँ र कसो न कसो गरी मान्छेहरूले हिँड्ने बाटो भएरै अघि बढ्ने गर्छ । अहिलेको साहित्यको मुल र अजस्र स्रोत मान्छेभन्दा बाहिर पक्कै छैन ।

मान्छेहरू सँगको सङ्गत –यो निकै कठिनसिद्ध कुरा हो । लाग्नसक्छ यो निकै झिनो र सामान्य विषय हो । तर कवि ,लेखकहरू सबभन्दा बढी यहीँ चुक्ने गरेका छन् । यिनीहरू मान्छेसँगको सङ्गतलाई भन्दा लेखकीय ढर्रालाई बढी महत्व दिन्छन् । नेपालका सुप्रसिद्ध कवि भूपि शेरचनलाई “तपाईँलाई कवि लेखकहरूसँगको संसर्ग कस्तो लाग्छ ?” भनी सोद्धा उनले समेत एउटा इन्टरभ्यूमा भनेका छन् –“घिनलाग्दो”। हुन त नेपालको समग्र परिवेश ,यहाँका कवि लेखकहरूको ढोङी मानसिकताबाट प्रताडित उनले त्यसो बोल्नु उनको अर्थमा ठीक थियो होला । तर त्यसो भन्दैमा उनी त्यो घेराभन्दा बाहिर उम्किन सम्भव पनि त थिएन ।

विस्तारै लेखन मान्छेतिर हुँदै स्वकेन्द्रित छ । यसो भनूँ स्वको परिकेन्द्रबाट नै यो संरचित हुँदै यही मान्छेकै परिवृत्तमा प्रमुखत ः घुमिरहेको छ । यसैले यो मान्छेको भीडहरूबाट आफूसम्म आइपुग्न मान्छेसँगको हेलमेल अपरिहार्य छ । जब मान्छेले अरूलार्इृ चिन्दैन ,उसले आफूलाई चिन्न पनि असम्भव छ । साहित्य अन्तर्चेतनासँग सम्बद्ध छ । यो अन्तर्चेतना प्राप्ति त्यसै सम्भव छैन । बाह्य संरचनाहरूको विस्तृत र खोजपूर्ण अध्ययनले अन्तर्चेतना प्राप्य हुन सम्भव होला सायद् । नेपाली साहित्य खोजदेखि निकै पर असङ्गत बाँचिरहेछ । मूलत ः स्तुतिगान र स्वगानले यसलाई थला बसाएको छ ।

मान्छेभित्रको रहस्य अलिक अनौठो नै छ । यही रहस्यको वरिपरि साहित्यले फन्का मारिरहँदो रहेछ । यही फन्का मारिरहने कुरामा पुनरावृत्ति अनिवार्य शर्तजस्तो बनेर आउँदो रहेछ । यसैले भावहरूको पुनरावृत्ति सामान्य जस्तो ठहर्छ । तर लेखन शैलीले लेखकको पहिचान गराउँछ । इलियटले सायद् यही कुरा बुझेको हुनुपर्छ । यसको मतलब जहिलेदेखि लेख्न थालियो, त्यहीबेलादेखि मान्छेमन्त्रमा लेखन बाँधिदै गयो र जहिलेसम्म लेखिनेछ त्यसबेलासम्म मान्छे साहित्यमा रहिरहनेछ । साँच्चै मान्छेमाथिको खोज अन्वेषणविनाको लेखन बेअर्थी छ । त्यसैले कवि लेखकहरूको मान्छेसँगको सङ्गत सबभन्दा बलियो हुनुपर्छ ।

दुनियाँ एकातिर दगुर्दै गर्छ ,साहित्य अर्कोतिर । अहिलेको विश्व विश्लेषणको तरिकाबाट संश्लेषणतिर लागिरहेछ । कम्प्याक्ट भन्छ नि ,हो त्यस्तै । तर यसको अर्थ यो पनि होइन कि विस्तृति आवश्यक छैन । तर मूल रुपेण हामी कम्प्याक्ट रुपमा जानैपर्छ । हामी पछाडि फर्केर उभियौँ भने हाम्रो अगाडि भन्नु नै पछाडि हुन्छ । त्यसैले अहिलेको साहित्य केही न केही रुपमा फरक हुनैपर्छ । यो लेखनक्रममा मान्छेको सघन चिन्तन आवश्यकीय छ । त्यसको निम्ति अबको साहित्य पाँच चेतनातत्वबाट मात्र निर्मित भइरहनेछैन । सिक्स्थ सेन्सको अपरिहार्यतालाई सहज स्विकार्नु पर्छ । र यो जुन अन्तिम सेन्सको कुरा हुँदैछ ,यो पक्कै एब्स्ट्रयाक्टजस्तो भने हुने गर्छ ।

हामी पचासौँ किताबहरू अध्ययन गर्छौँ । सयौँ किताबहरूको व्याख्या गर्न तम्तयार हुन्छौँ तर ती किताबका कुनै पानामा लेखिएको कुनै एक हार विषयलाई जीवनको कुनै मोडमा प्रयोगपरक र व्यवहारपरक ढङ्गबाट लैजान सक्दैनौँ । अनि यसरी साहित्यले कुन दिन जीवन पाउँछ ? साहित्यभन्दा निकैमाथि मान्छे छ । जब मान्छे सप्रिन्छ तब साहित्य त्यसै सप्रिँदै आउँछ । मान्छे र साहित्यलाई जब फरक ढङ्गबाट हेर्ने गरिन्छ र जबसम्म यिनीहरूलाई विपरीत ध्रुवजस्तो बनाइन्छ ,ओहो त्यहीँ त लेखिन्छ नकाम साहित्य । त्यहाँ पुरस्कारहरू हुन्छन् ,त्यहाँ साहित्यिक सङ्घ र सङ्गठनहरू हुन्छन् ,त्यहाँ साहित्य लेखिने विषयहरू प्रशस्तै हुन्छन् तर साहित्य हुँदैन ।

साहित्य अन्तर्चक्षुसँग विशेषत ः सम्बद्ध रहने गर्दोरहेछ । जुन कुरा बाहिर देखिन्छ त्यो साहित्यमा जस्ताको त्यस्तै नआउन पनि सक्दोरहेछ । यो सहज र अनुमानसङ्गत मात्र नहुन पनि सक्दोरहेछ । तर साहित्य मानवेतर भएर जान्छ भने त्यो साहित्य रहिरहँदैन । मान्छेको कल्पना र परिकल्पनामा जति कुराहरू आउँछन् ,ती सायदै पुरा हुँदैनन् । कुनै समयका दार्शनिकहरूले प्राचीन धर्मग्रन्थमा उल्लेख गरेका देवताहरू आकाशमा उड्ने प्रसङ्गलाई हवाइजहाज र प्यारासुटका धारणाहरूसँग जोड्न सकिँदोरहेछ । भगवानले आफूबाट शक्ति निकालेर प्रयोगमा ल्याएको विषयलाई आज आइन्स्टाइनको पिण्ड–शक्ति सम्बन्धसँग गाँसेर हेर्न सकिँदोरहेछ । भौतिक विज्ञानले यही त भन्छ– यो ब्रह्माण्डको आदिसत्य नै गतिशील अवस्थाको पदार्थ हो । पदार्थ हराएपछि शक्ति बन्छ र शक्तिको एकत्रीकरण पदार्थ हो । ऊबेला सायद् ती कुराहरू परिकल्पना नै थिए होलान् तर ती आज सत्यता भएका छन् । यसैले मानवीय परिकल्पनाहरू निकै शक्तिशाली छन् । यही परिकल्पनाको साकार स्वरूप साहित्य हो र साहित्य पनि शक्तिशाली रहनुपर्छ ।

मान्छे ,यो सृष्टिको नयाँ परिष्कार हो । योसँग अनेक चाहना छ । नयाँ खालका जीवन तरिकाहरू छ । प्रत्येक मान्छे अर्काेसँग फरक छ र पनि यिनीहरू जीवनसङ्गती एकअर्काको अनुकूल बनाउँछन् र बाँच्छन् । यस जगतमा विभिन्न प्राणीहरूको अस्तित्व रहेपनि किन मान्छेमात्र विशेष प्रभावी छ र अरूमाथि प्रभाव राख्नसक्छ ? यसैले मान्छेभित्रको रहस्यको उत्खननका निम्ति साहित्यकारहरूलाई मान्छेसँगको सम्बन्ध बढी जरूरी छ । मान्छे बुझ्न मान्छेभन्दा गहिरो पुस्तक अर्को कुनै पनि हुनैसक्दैन ।
देशमा एकजना राजनेता र एकजना साहित्यकारको सँगै निधन भयो । दुबै आफ्नो समयको चर्चित नै हुन् । राजनेताको तस्वीर जतापनि छापियो । पत्रिकाको कुनाकाप्चा उनैको नाम जप्दैे भरिएको थियो तर साहित्यकारको मृत्युको खबर पत्रिकाको कुनै एक कुनामा कुनै सानो कोलम्नमा छापिएको थियो । साहित्यकारहरूको भेलामा वार्तालाप हुँदैथियो – यो देशमा साहित्यकारहरूको कुनै अर्थ छैन । यो देशमा साहित्यकारहरूको कुनै मानसम्मान छैन । साहित्य बुझ्ने हैसियतका मानिस सत्तामा छैनन् । भोलिपल्ट त झन् देशमा राजनेताको नाममा शोकविदा दिइयो ,त्यहाँ ती साहित्यकारको नाम कहीँ कतै जोडिएन । यस दिन त साहित्यकारहरूको भीड –साहित्यकारहरूलाई देशले सम्झिँदो रहेनछ; भन्दै थिए । तर उनीहरूले यो सोच्दै थिएनन् कि त्यो देशमा राजनीतिबाहेक अरू कुनै क्षेत्रको उन्नति भएको नै छैन । र त्यो राजनीतिको प्रकार पनि कुनै अन्य ठाउँको राजनीतिसँग पटक्कै मेल नराख्ने खालको छ । यसको मतलब अब यी साहित्यकारहरूमा पनि लेखनमा भन्दा बढी विश्वास सम्मान र अभिनन्दनमा लाग्न थालिसकेको छ र विस्तारै राजनीतिमा लाग्न थालिसकेको छ । हो यहीँदेखि अब भूल सुरु हुन्छ र साहित्यको कुरुप र विकृत रुपको नग्न आकृति देखा पर्न सुरु हुन्छ ।
जब सुरु गर्छ मान्छेले मान्छेलाई सम्मान गर्न आफ्नो स्व र अन्तरदेखि; तब त हराएर जान्छ – जहाँतहीँ देखिने विकृतिका कलेवरहरू । जब सुरु गर्छ मान्छेले मान्छेलाई मान्छे देख्न तब भत्किन्छ मान्छेहरूको बीचमा बनेका अजङ्गका पर्खालहरू र मेटिन थाल्छ मान्छेहरूका बीचमा कोरिँदै गएका वारपारका सिमानाहरू । अनि त पस्न सक्छन् सबै मानिसहरू पूजा गर्न एउटै मन्दिरमा र त्यसबेला नित्सेले बनाएर गएको भगवान सबभन्दा बढी शक्तिशाली भएर आउनेछ , जुन मान्छेकै अवतार हो र मान्छेभन्दा निकै माथि पुगिसकेको हुनेछ । कविहरू जराथुस्त्रजस्तै मान्छेको गाथा गाउँदै हिँडिरहेका हुनेछन् । जब मान्छे हुनेछ मान्छेजस्तो ,यसको सग्लो अस्तित्वजस्तो तब त लेखिन सक्छ समयको असल गीत , सत्यताको गहिरो कथा , नैतिकताको शक्तिशाली कविता । हराइरहेको मान्छेको सबल पे्रम जब भेटिनेछ ,तब कहीँ डुल्नु आवश्यक छैन जीवनदेखि भाग्दै मान्छेहरू ।

आजको मान्छेले सबैभन्दा पहिले यो सोच्न सकोस् ,कि उसले जुन यथार्थ भोगिरहेको छ त्यो यथार्थ उसको मात्र हो वा सबैको ? यदी सबैको हो भने मान्छेमान्छेका बीचमा यत्ति धेरै सीमानाहरू किन जरुरत छ ? किन टुक्रिन चाहिरहेछ मान्छेहरूदेखि मान्छे ?हाम्रो एक रूप सबभन्दा राम्रो हाम्रो परिचय हैन र ? यसैले आजको साहित्य मान्छेहरूदेखि फुत्किएर कुनै टाढासम्म यात्रा गर्न सक्दैन । प्रिय मेनकल साँच्चै हो –मानिसजस्तो गहिरो किताब अरू केही हुँदैन ।
subaspoet@gmail.com





















सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog