Tuesday, March 29, 2011

poem

आवाज र पहिलो प्रेम


सुवास खनाल

जब झुल्कियो
एउटा चहकिलो घाम
तिम्रो आवाजको क्षितिजनिर
हो, त्यहीँ म जन्मिएँ

यो आवाज मौनजस्तो नै छ
यो आवाज शून्यजस्तो नै छ

मैले नै यो बुझेँ कि
आवाजहीन अर्को आवाज
तिम्रो नै थियो
र आवाजहीन अर्को आवाज
मैले पनि फर्काएँ

सिमलको भुवाजस्तै
वा हावाले उडाउँदै ल्याएको
कागजको कुनै चिर्कट्टोझैँ
जब समयले उडाउँदै ल्याएर
खसालिदियो
तिमीलाई मेरोसामु
यो क्षण तिम्रो मेरो पहिलो प्रेम थियो

तिम्रो अबोध आँखाहरूमा
सम्मोहनको कुनै क्लेश थिएन
र प्रेमको पहिलो चुम्बन
यी आँखाहरू बीच भए
जसको हकदार
तिमि थियौ ,म थिएँ

यो पहिलो अर्थात् अन्तिम प्रेम
प्रेम अर्थात् प्रेमहरूको प्रेम
यो आवाज हृदयको
भित्री तहहरूदेखि प्रेमकै बाटो भएर
प्रेमसम्म पुग्न खोजिरहेछ

यो प्रेम
प्रेमदेखि छुट्टिएर फेरि प्रेममै पुगिरहन्छ
यो प्रेम
प्रेमदेखि शुरु भएर फेरि प्रेममै पुगिरहन्छ
यो प्रेम
प्रेमजस्तो लाग्दैन र फेरि प्रेम नै हो

मलाई तिमी मौन बसेको मनपर्छ
मलाई तिम्रो अर्धगोलार्ध ओठहरूको
समाधिस्थ समागम मन पर्छ

मेरो प्रेम
अर्थात् मौन आवाज
तिम्रो आत्ममृत्युमा मभन्दा शोकाकुल
अरू कोही हुने छैन

धेरैपय सपनाहरू
मेरो प्रेमको ब्युँझाइमा म देख्ने गर्छु
अधिकपय जीवनका कलेवरहरू
मेरो प्रेमको अवशेषमात्र हो

म प्रेमका काँडाहरूले
बिझेका प्रेमका काँडाहरू निकाल्छु
सम्झन्छु यसबेला
अनुपस्थित आवाजको कुनै अर्थ छ

तिमी अर्थात् मेरो आवाज
जोविना म शून्य छु
तिमी अर्थात् मेरो हृदय
जोविना म असम्भव छु
तिमी हरेकपल्ट प्रेमको पहिलो
पत्रहरू मात्र पठाइरहन्छौ
र यी पत्रहरू म पागलजस्तो पढिरहन्छु

हो,स्वस्थानीको कुनै एकभाग कथा पढिरहेझैँ
म पढ्दै छु यो रातरातभर
म पढ्दै छु यो दिनदिनभर
तिम्रो मेरो प्रेमको यो मौनमौन कथा
बिटल्स गायक जोन लेननको
कुनै सुमधुर सङ्गीतजस्तो
म सुन्दै छु यो रातरातभर
म सुन्दै छु यो दिनदिनभर
तिम्रो मेरो प्रेमको यो मौनमौन आवाज ।

छतिवन–८,पावस
abha_subas2000@yahoo.com
subaspoet@gmail.com