Friday, September 23, 2011

Poem

१०४ ज्वरो

सुवास खनाल

र उसैगरी किन आउँदैन
उनीहरुलाई १०४ को ज्वरो ?


जब हेर्छु बाबाको अनुहार
चिम्सा आँखाहरुले लुकाउन
सकेका छैनन्
आँशुका भुल्काहरु
हजुरआमा
उनको प्याओ दम
खोकिलामा उसैगरी च्याप्दै बसेकी छिन्
आमाको पटुकीमा
जहिल्यै बेरिएर बसेको छ
अभावको विशालु गोमन
हजुरबाबा
हुक्काको ट्वारट्वारले
कहीँ सन्तोष दिन्छ कि
अनौठो खोजमा छन्

थाहा छैन
जीवन भत्किएर
उडेको यो धूलो
हावाले कुन सहर बोक्दै लैजान्छ ?
थाहा छैन
जीवन मक्किँदै झर्न लागेपछि
यसको जीर्णोद्धार हुन्छ कि हुन्न

म छोरो
कुनै एक कुनामा बसेर
हस्तमैथुन गरिरहेछु
र यसैले दिएको छ
अजीवको राहत
जुन कुनै सरकारले मेरो
घरको आँगनमा ल्याएको
राहतको प्याकेजभन्दा
निकै शक्तिशाली छ

सधैँ किन यही गाउँको बाटो
ओहोरदोहोर गर्छ
कालले जिस्काउँदै

कहिले ज्वरो बोकेर ल्याउँछ
र फ्याँकी हिँड्छ

कहिले पखाला थाहै नदिई पानीको
मुहानहरुमा छरी हिँड्छ ?
कहिले खोकी
कहिले खडेरी

वा उसलाई थाहा छ
यहाँ मान्छेहरु बाँच्न हरेकक्षण
प्रयत्नशील छन्



यो देशको
सरकार प्रमुख
कि उसलाई आउँदैन कहिल्यै
१०४ को ज्वरो ।


+9779755000088