Wednesday, August 15, 2012

  कवितामा बौद्धिक अभ्यास –सृजन सौरभ ।
                                                                                   सुवास खनाल
विश्व साहित्यमा कविता आफैँमा एक सम्वृद्ध इतिहास बोकेको विधा हो । यसको आफ्नै सबल इतिहास र वर्तमान छ । कविता के ? कस्तो ? किन ?कसका लागि ? लगायत यावत विषयमा चर्चा र क्रियाप्रतिक्रिया चलिरहन्छ । यस्ता चर्चा र प्रतिक्रियाहरुले नै कविताको उच्च महिमा निर्माणका निम्ति असल भूमिका निर्वाह गर्दछन् । कविता सामान्य प्रक्रियाबाट सिर्जना हुने विषयबस्तु होइन । यसको सिर्जनामा एक विशिष्ट प्रक्रिया आवश्यक छ । कविता पाँचौ ज्ञानेन्द्रिय सम्मले अनुभव नगर्ने विषयवस्तु हुनसक्छ । यसको निम्ति कुनै अमूर्त छैठौँ सेन्सको आवश्यकताको महसूस हुन्छ । कविता एक बौद्धिक अभिव्यक्तिको परिचायक पनि हो । यसैले कवितामाथि बौद्धिक अभ्यासको आवश्यकता निकै रहेको बोध हुन्छ । मकवानपुरमा त्यस किसिमको आवश्यकतालाई पछिल्लो समय परिपूर्ति गर्ने प्रयासको सुरुवात भएको छ । राम अविकास,पद्मराज लामिछाने र रामकुमार एलनको संयुक्त प्रयासको एक अभिव्यक्ति रहेछ –यो कार्यक्रम । पछिल्लो समय रामकुमार एलन मकवानपुर बाहिर गएपछि एस.के. निधन थपिएका रहेछन् ।
मानौँ भीम विराग बूढा पनि आजको कार्यक्रममा उपस्थित छन् । यिनी भन्दै छन् –“कविता एक विशिष्ट र जटील प्रक्रिया हो । कविता सिर्जना शास्त्र पढेर मात्र सम्भव छैन । यो उच्चतम मानसिक अवस्था हो । लेख्दै रहनुस् ,लेख्दै रहनुस् तपाईँ कविता नजिक पुग्नुहुनेछ । कवितालाई अथाह प्रेम गरिरहनुस् ,कविताबाट अवश्य प्रेम प्राप्त गर्न सक्नुहुनेछ । ” उनी गुनगुनाइरहेछन् –
आजभोलि हरेक साँझ मातिन थालेछ
जिन्दगीदेखि जिन्दगी आतिन थालेछ

उनी अझै थपिरहेछन् –

पाउ कहाँ बिसाऊँ भरपर्दो छैन ठाउँ
इमान जमान छैन बेइमान सारा गाउँ
लाग्थ्यो यिनी आफ्नो कुप्रो ढाडले मकवानपुरको साहित्य आकाश बोक्दै हिँड्छन् । यिनको अनुहारमा चाहुरिएको मुजामा नेपालको गीत संगीतको अपूर्व क्षितिज,कविताको सपाट चित्र र मकवानपुरको कविता इतिहास पढ्न सकिन्छ । तर भीम विराग आजको कार्यक्रममा उपस्थित छैनन् । यिनी सांसारिक परिबन्धहरुदेखि टाढिई सके । उनको तस्वीरको स्केच अब हाम्रा सम्झनाहरुमा मात्र गाढा बाँकी छन् । मैले भीम विराग बितेको दिन झट्ट तुल्सी थापा र आर.सी.रिजाललाई सम्झिएँ । अबका बूढाहरु यी हुन् । र यिनै हुन्–मकवानपुरको साहित्य आकाश थाम्ने ।

आजको कार्यक्रममा आर.सी. रिजाल थिएनन् । तर थापा सरले गजबको आकर्षणयुक्त बूढ्यौली अभिव्यक्ति दिए । उनले भन्दै रहे –“बूढो उमेरमा के नै बाँकी रहँदो रहेछ र, विस्मृतिहरु बाहेक ? चाहुरिएका मुजाहरुमा जीवनको धीमा गतिमात्र बाँकी रहँदो रहेछ ।” उनले एक दार्शनिक अभिव्यक्ति भएको कविता सुनाए –जीवनका समग्र तीर्खाहरुको । मैले थापा सरका लामा कविताहरुमा प्रशस्त दर्शनको अनुभूति गर्छु । यी कविताहरुलाई सुन्दा जति आनन्दानुभूति हुन्छ त्यसको सयौँ गुणा सन्तोष मैले यी कविताहरुको पठनबाट प्राप्त गर्दछु । तुल्सी थापाको बूढ्यौली अभिव्यक्ति भित्र ठिटोपन अनुभव गरे –मकवानपुरका एक संभावना बोकेका युवा कवि छवि अनित्यले । उनले छिनभरमै कविता बुने । कवितामा उनले एक वाक्य यस्तो राखिदिए –‘मोनालिसा नयाँ क्यानभासमा तयार हुन सक्दैन’ । वाह ! छवि जी यु आर द स्पोन्टेनियस पोइट ।
यो कार्यक्रम सृजन सौरभको अङ्क तीन यात्रा थियो । उपस्थित थिए –मकवानपुरका साहित्यकार र साहित्यप्रेमीहरु । तुल्सी थापा,आनन्दराम पौडेल,देवराज खरेल,मुक्तिगोविन्द वैद्य,नवराज शर्मा,साम्ब ढकाल,निमेष निखिल,बाबुराम दहाल,घनश्याम घिमिरे,तुलसी घिमिरे,केशव तौजले,श्याम कुमार बानियाँ,अर्जुन क्षितिज,राम अविकास,एस. के. निधन,पद्मराज लामिछाने‘गगन’,पुरुषोत्तम आचार्य,एस.लामा,धर्मराज स्याङ्तान,छवि अनित्य,चन्द्र किरण श्रेष्ठ र पङ्क्तिकार स्वयम् लगायतका व्यक्तिहरु उपस्थित थिए –उक्त कार्यक्रममा । एकाध बाहेक सबैले रचना वाचन गरेको अवस्था थियो । समग्रमा काव्यिक मूल्याङ्कन समीक्षक घनश्याम घिमिरेले गरेका थिए । उनले मकवानपुरको साहित्यिक भविष्य सुन्दर बनाउनका निम्ति यहाँका कवि लेखकहरुमा रहेको साँघुरो सोचको उन्मुलन आवश्यक रहेको प्रति सङ्केत गरे । उनले अग्रज देखि अनुजसम्मका सबै रचनाहरुलाई उही दायराका आधारमा प्रतिक्रिया दिए । यो अत्यन्तै सुन्दर थियो । उनले छोटो अवधिमा नै र रचना श्रवणको आधारमा मात्र पनि यति चमकमय समीक्षा गरे –यो जो कोहीबाट सम्भव छैन ।
घिमिरे भन्दै थिए–‘रचना प्रक्रिया अलिक स्वभाविक हुन्छ तर समीक्षा अलिक प्राविधिक हुन्छ । समीक्षाबाट रचनाको सुन्दरता गुम्ने भय हुन्छ ।’ यो एकदम सही अभिव्यक्ति हो । मानि लिऊँ एक थुङ्गा फूल छ । त्यसको सुन्दरता समग्रतामा छ । त्यसको जब पत्रपत्र खोतलेर सुन्दरताको बयान गर्न खोजिन्छ भने क्षणभरमा नै फूलको कुरुपता प्रदर्शन हुन सुरु हुन्छ ।
यो कार्यक्रम परिवार नियोजनको हल थानाभ¥याङमा भयो । श्रावण १९ ,शुक्रवारको कार्यक्रमको लागि विशेष ताकेता गर्दै थिए–राम अविकास । त्यसै दिन तीन फोन आइसकेको थियो उनको । फेसबुकमा पनि स्पेशल आग्रह गरेका थिए । साम्ब ढकालका निम्ति उनले गरेको आग्रह त कार्यक्रममा नै गफको विषय बनेको थियो । उनले भनेछन् –“सर आउनुभएन भने हामी अपहरण गरेर कार्यक्रममा ल्याउने छौँ । यो हाम्रो अधिकारभित्र पर्दछ ।”परिवार नियोजनको हलमा कार्यक्रम भएकाले हामी ठीटाहरुलाई गफको विषय पनि भएको थियो । अघिल्लो पटक पनि यही हलमा कार्यक्रम भएको थियो । अर्जुन क्षितिज अफ यअरमा हामी केटाहरुसँग गफ गर्दै थिए –“पोहोर पनि यही हलमा कार्यक्रम हुँदा यहाँका केही सामान हराएका थिए रे । यसपालि पनि हराउला भन्ने लागेको छ ।”यो उनले सङ्केत गर्न खोजेको परिवार नियोजनको अस्थायी साधन कन्डोमप्रति लक्षित थियो । केटाहरु भने विवाहित र अविवाहित छुट्याएर ठट्टामूलक दोषारोपण गरिरहेका थिए ।
बाबुराम दहालले एक व्यङ्गात्मक कविता सुनाए । उनले मकवानपुरका कविहरुमाथि विशेष आशा राखेको तर त्यो आशा खासै पूरा हुन नसकेको अभिव्यक्तिका साथ उक्त कविता वाचन गरे । कविता पनि कविहरु केन्द्रित थिए । स्वभाविक यात्रामा आवश्यक अध्ययन र अनुसन्धानले खारिएर कविता सिर्जनामा लाग्नुपर्ने कविहरु कतै अहम्को टकरावतिर त केन्द्रित छैनन् भन्ने उनको अभिव्यक्ति थियो । घनश्याम घिमिरेले मकवानपुरको साहित्यमा देखेको समस्या पनि यस्तै यस्तै बताए ,उक्त कवितामाथि समीक्षा गर्ने बेला ।
साँध सीमाना मिचिए छ कि ?
छिमेकीसँगको व्यवहारमा
तलवितल परेछ कि ?
ज्यापुनी दिदी कराइन्
प्रोफेसर सरले व्याकरण पढाउन छाडेर
ध्यान दिएर सुने
ज्यापुनी दिदीले धारे हात लाएको
उफ्रीउफ्री चिच्याएको
प्रोफेसरले सुनिरहे
र अन्तमा भने
व्याकरण मिलेन
शब्दसंयोजन र शब्दविन्यास एउटै मिलेन ।

‘व्याकरण’ शीर्षकीय कवितामा आनन्दराम पौडेलले एक गजबको विषयवस्तु उठान गरे । अहिले चलिरहेको भाषिक विवादमाथि पनि एक किसिमको झापड हो यो कविता । मलाई पनि सधैँ लाग्ने गर्छ –भाषा बनिसकेपछि त्यसलाई व्याकरणमा उनेको हो कि ? व्याकरणको आविष्कार पछि भाषाको सुरु भयो ? पक्कै पनि भाषाको आविष्कार पछि व्याकरणको सुरुवात भएको हो ,यसैले व्याकरण भन्दा मूख्य भाषा नै हो । ‘सृजन सौरभ’ नामको अन्वेषक पनि यिनै आनन्दराम नै रहेछन् । कार्यक्रम परिकल्पनाकार भने मूख्य को हुन् ,यो चाहीँ मैले थाहा पाउन बाँकी छ ।

साम्ब ढकालले आशुँको लिपिबारे कविता पढे । उनले थाहा पाएर खासै नरोएको पनि कुरा गरे । यसबेला मैले बीएस्सी थर्ड एयर पढ्ने बेला अङ्ग्रेजीमा पढेको एउटा कविता याद गर्न पुगेँ । उतिबेला उदय अधिकारीले हामीलाई अङ्गे्रजी पढाए । कवितामा यस्तो विषय छ – कवि उसलाई आफ्नो पत्निले गर्ने प्रेमको बारे कविता लेख्न बसेको हुन्छ । उसले कोठाको ढोका बन्द गरेर मौनता आगमनका निम्ति आग्रह गरिरहेको हुन्छ । कारण– कविता लेख्नका लागि उसलाई शान्त वातावरण आवश्यक छ । अचानक उसकी श्रीमती ढोका खोल्न आइपुग्छे । ढोका बजेको आवाजले उसलाई डिस्टर्ब गर्छ । उसले मनमनै श्रीमतीलाई गाली गर्छ । श्रीमतीको प्रेमबारे कविता लेख्न बसेको कवि श्रीमतीलाई मनमनै गाली गर्न पुग्छ । यसको मतलब कविहरु बढी यथार्थिक भन्दा कल्पनात्मक र भावनात्मक  हुन्छन् भन्ने बुझिन्छ ।
निमेष निखिलले समयमाथि एक क्रुर कविता पढे । कविता प्रयोगपरक र आक्रामक अनुभव भयो । निखिलले एक भारतीय लेखकको प्रभावशाली कविताको अनुवाद र ओरिजनल भर्सन पनि वाचन गरे । निखिल कार्यक्रममा वाचित रचनाहरुमाथि सटिक टिप्पणी पनि गर्दै रहे । केही लेखकहरुलाई भाषिक सचेतता बोध गराउँदै पनि थिए । सुरुवातमा कसैप्रति रोषको कविता पो पढ्दै छन् कि भन्ने अनुभव गराएका उनले पछि गएर आक्रोसलाई समयप्रति लक्षित  गरे –जुन निकै चामत्कारिक अनुभूत भयो ।
 श्यामकुमार बानियाँले आफ्नो पुरानो कविताको एक टुक्रा गुनगुनाए । उनको त्यही स्वरको मीठासयुक्त रचनावाचन पछिल्लो समय अलिक खाँचो रहेको अनुभूति त्यहाँ रहेकाहरुले जनाए । बानियाँले राम्रो रचना सिर्जना नभएसम्म स्रोताको कानको बलात्कार गर्ने खालको रचना बाचन गर्नुको कुनै तुक नभएको बताए । देवराज खरेलले आफ्नो गाउँको ब्ल्याक एन्ड ह्वाइट सम्झनालाई प्रस्तुत गरे । जुन निकै कोमल र संवेदनशील अनुभव भयो । केशव तौजलेले यथार्थिक कविता पढे । तुलसी घिमिरेले मनोरञ्जक गीत प्रस्तुत गरे । अर्जुन क्ष्तििजले फरक स्वर्गको परिकल्पना प्रस्तुत गरे कवितामा । पुरुषोत्तम आचार्यले प्रतीकात्मक गजल पढे । कार्यक्रममा पुरुषोत्तमको आवाजको अभाव महशूश हुँदै थियो । धर्मराज स्याङ्तानले पनि गजल पढे । एस. लामाले बाल्यकालीन सम्झना कवितामा व्यक्त गरे । पछिल्लो समय एस्. पनि राम्रो कविता पढ्ने व्यक्ति देखिएका छन् । घनश्याम घिमिरेले अलिक अनुप्रासयुक्त कविता वाचन गरे । उनले कवितामा जीवनका केही जटील पक्षहरुको उठान गरे । एस.के. निधनको कवितामा प्रयुक्त ‘पिचित्त’ शब्द पनि कार्यक्रम अवधिभर हिट रह्यो । कार्यक्रमको संयोजनमा व्यस्त देखिन्थे पद्मराज लामिछाने र राम अविकास । कार्यक्रम सुरुवात र अन्त्य राम अविकासले गरे भने बीच कार्यक्रमको सञ्चालन एस.के. निधनले गरे । कार्यक्रमको औचित्यबारे प्रकाश पार्ने काम पद्मराज लामिछानेले गरे । खानपिनको कार्यक्रम पनि त्यहीँ तय भएको थियो र यही कारण कार्यक्रमको सुरुवात साँझ ५ ः३० तिर भएपनि अन्त्य लगभग राती १० ः३० तिर भयो । मापसेको चेक को डर पनि थियो केही साहित्यिक साथीहरुलाई । तर सम्भवत ः कसैले यो झेल्नुपरेन ।
कवितालाई सचेत ढङ्गले बुझ्नुको आवश्यकता नेपाली साहित्यमा छ भन्ने लाग्दछ । कवि र कविता लाई कसैले कस्मेटिक्स मात्र बनाए । कसैले नारा र भजनको पर्यायमात्र सोचे । कसैले कवितामा बेतुकका शब्दहरु जेलेर अनावश्यक झञ्झटिलो बनाए । कसैले कविता प्रेमपत्र मात्र हो भने । कविताको असिमित गुणहरु लाई छाडी एउटा सिमित घेरामा यसलाई बाँध्न खोज्ने दाउ केही लिलिपुट कविहरुको रहिरह्यो । यसबाट कविताको परिचय गुम हुने खतरा बढ्दै गयो ।
मकवानपुरमा युवा कविहरुको एउटा जमातले एक खालको सचेत र विशिष्ट प्रयासको थालनी गरेको छ । तर यसमा पनि केही चार्म थप्नुको आवश्यकता देखिन्छ । कार्यक्रमको संयोजन पक्ष हुनुपर्ने जति सबल देखिएको छैन । लोडसेडिङका कारण लाइन गइदिँदा लाइटरको टर्च र मोबाइलको बत्ती बालेर कविता पढ्नुको बाध्यता रह्यो । निकै समयपछि मात्र मैनबत्तीको व्यवस्था भयो । खानाको अवस्था पनि अलिक हाइजेनिक नरहेको प्रतिक्रिया सुन्नमा आए । भेज र ननभेज व्यवस्था नहुनुले केही असुविधा अनुभव भयो । तीन शृङ्खलासम्म एउटै स्वादको कविता वाचन कार्यक्रम मात्र आयोजित हुनुले पनि मोनोटोनस अवस्था सिर्जना भयो । यी खालका कुराहरुमा आयोजक पक्षको ध्यान पुग्नु आवश्यक छ ।
सिर्जन सौरभले जुन किसिमको यात्रारम्भ गरेको छ,यो प्रशंशनीय छ । यसमा थप सुधार गर्नुका साथै निरन्तरताको भने आवश्यकता छ ।
अनौपचारिक ः
– मैले बाइक लिएको धेरै समय भएको थिएन र बाइक चलाउन थालेको पनि तीन दिन जतिमात्र भएको थियो । लाइसेन्स पनि थिएन । कार्यक्रममा राम अविकासले बाइक लिएरै आउन भने । मैले आफ्नो अवस्थाको जानकारी दिएँ । उनले परेको हामी बेहोर्छौँ भने । म बाइक लिएरै हुत्तिएँ । जसोतसो पु¥याएँ र त्यो रात श्याम कुमार बानियाँकोमा बसेँ र भोलिपल्ट फर्किएँ ।
– नयाँ कविता लेख्न सकिएको थिएन । त्यसै दिन पनि छोरा हेरेर बस्नुपर्ने बाध्यता थियो । कार्यक्रममा त्यही कारण ढिला पुगेँ । साम्ब सरले नयाँ कविता वाचनका लागि गर्नुभएको आग्रहमा क्षमाशील हुँदै मैले आफ्नै जीवनको कटु अनुभवले सिर्जना गरेको एउटा पुरानो कविता ‘कलेज एक यातनाशिविर’ वाचन गरेँ । मलाई यो कविता पूरै याद पनि थियो । सम्झिँदै वाचन गरेँ । घनश्याम घिमिरे सरले मेरो कविता मन पराउने गरेको र यो कविता पनि मन परेको कुरा राख्नुभयो । मलाई यस विषयले निकै रोमाञ्चकता प्रदान ग¥यो र हौसला पनि मिल्यो ।
– कविताको सर्वकालीक महत्वमाथि चर्चा,परिचर्चा वा यो समानान्तर विषयहरुमा विशेष बहसको सुरुवात हुँदामात्र कविताको क्षेत्रले थप उचाइ हासिल गर्नेछ ।

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog