Wednesday, July 31, 2013

Scientific Story published in Yuba Manch

विज्ञान कथा

पुनरसंरचित  प्रेम

सुवास खनाल

इमिलीले जब जैक्सनलाई देखिन् तब उनमा एक अद्भूत शान्ति मिलेझैँ अनुभव गर्दै थिइन् । कार्यकक्षमा बस्ने बेला इमिलीले जैक्सनकै छेउ ठाउँ पाएकी थिइन् । उनी लगभग २८ वर्ष पुग्न लागिसक्दा पनि त्यत्ति आकर्षण उनले कहिल्यै अनुभव गरेकी थिइनन् । उनले अध्ययन क्रममा धेरै सेक्स पार्टनरहरु र अनुभव साझेदारीका निम्ति त साथीहरु पाइन् तर यसरी कुनै सुपरनेचुरल आकर्षण भइदिने व्यक्ति फेला पारिनन् । शोध प्रस्तुतीका निम्ति आएकी उनको ध्यान  आफ्नो शोधलाई कसरी विशिष्टता प्रदान गर्ने, कसरी सबैका सामू प्रभावजनीन बनाउने भन्दा पनि धेरै जैक्सनलाई ध्यान दिनेतर्फ बिताइन् । जैक्सनको ध्यान उनीतर्फ केन्द्रित भइसकेको थिएन । कारण कि जैक्सनले इमिलीबारे जानकारी पाइसकेको थिएन ।

इमिलीले पहिलोपटक देखिकी हुन् –लन्डनको एक वैज्ञानिक समारोहमा, हेनरी जैक्सनलाई । ऊ वैज्ञानिक पार्टेब चाबेजको पछि लागेर त्यहाँ आइपुगेको थियो । पार्टेब चाबेज एक संसारप्रसिद्ध विशिष्ट वैज्ञानिक हुन् ।
इमिलीलाई जैक्सनको नजिक हुन मन लागिरहेथ्यो । ऊसँग केही गफ गर्ने चाहनाको स्वरुप बढ्दै गइरहेथ्यो । जैक्सनको अनुहारप्रारुप यस्तो थियो कि मिस्टर हैन्डसम भन्नेहरु जो हुन्छन् र अक्सर युवतीले चाहना राख्ने कुनै स्वप्नील राजकुमारझैँ । उसको हाइट– ठीक हुनुपर्ने जत्ति (यो हुनुपर्ने जत्तिलाई निर्धारण गर्ने मानक भने इमिलीको सोच हुनुपर्छ ) । जैक्सन हाँस्दा उसको गालामा बस्ने डिम्पलमा इमिली आफूलाई पाउन सुरु गर्दछे । ज्याक्सन निहुँरिँदा उसको सभ्यपनाको अथाह बोध गर्न पुग्दछे । इमिली ,जैक्सनको आँखामा प्रेमको अथाह सागर उर्लिएको प्रतीतमा हुन्छे । ज्याक्सनको ह्याट लगाएको टाउकोमा इमिलीमा बौद्धिकता र व्यवहारिकता बाहेक अरु केही नभरिएको सोच निर्मित हुन्छ ।

कार्यक्रम अवधिमा बीचतिर सामान्य ब्रेक हुन्छ । त्यसैबेला जैक्सनको नजिक भएर परिचय लिने सुअवसर प्राप्त हुन्छ ,इमिलीलाई ।

–    हेलो, जैक्सन, मि इमिली ब्राउन फ्रम एमेरिका ।
–    हाई , मि हेनेरी जैक्सन, माई होम प्लेस इज लन्डन ।
 
सामान्य भेटघाट र चिनजानको यो श्रृङ्खला पनि इमिलीको निम्ति विशिष्ट र दूर्लभझैँ अनुभूत गर्न पुग्दछे । जैक्सनको हँसिलो मुहारबाट आइरहेको चमक ऊ सूर्यको अथाह शक्ति बोक्ने प्रकाशका किरणहरु भन्दा शक्तिशाली अनुभव गर्न पुग्दछे ।

इमली ब्राउन पिएचडी थेसिसको अन्तिम प्रस्तुतीका निम्ति उक्त लन्डनको ओपेरा युनिभर्सिटीमा भइरहेको अन्तर्राष्ट्रिय वैज्ञानिक भेलामा पुगेकी थिइन् । उनको ओरिजिन क्यानडा हो तर अहिले अमेरिकाको न्यूयोर्क बस्छिन् । अध्ययनकै सिलसिलामा पिएचडी शोधको तयारीमा तिनी त्यहाँ पुगिन् । शोधको फाइनल भइसकेपछि उनको आन्तरिक सुपरिवेक्षक प्रोफेसर डक्टर रोबर्टो लोरेन्सले उनलाई लन्डन पठाएका थिए ।

अब इमिलीको पेपर प्रेजेन्टेसनको समय आइपुगेको थियो । उनलाई पेपरको भन्दा चिन्ता हेनरी जैक्सनको थियो । उनको आकर्षण आफूतर्फ पैदा गर्नु थियो । इमिली जब मञ्च उक्लिइन् , तालीको गड्गडाहटले उनलाई स्वागत भयो । आफ्नो आनुवंशिक पदार्थसम्बन्धीको सोध, पावरप्वाइन्टमा बनेको फाइललाई प्रोजेक्टर बोर्डमा प्रस्तुत गरिन् । जीवनको आनुवंशिक रहस्य , ती रहस्यहरुमाथि यसभन्दा अघि भएका सम्पूर्ण अध्ययन प्रतिवेदन र पछिल्लो समय भएका नयाँ काम र आफ्नो पेपरको भित्री पक्ष । केही प्रश्नहरु भए , उनले  सहज जवाफ फर्काइन् । उनी सोधमा उत्तीर्ण ठहरिइन् ।

उनलाई पेपरको अब चिन्ता रहेन , अब पछिल्लो समय लन्डन प्रवेश पछिको उनको आविष्कार जैक्सनको चिन्ता रह्यो । जैक्सन कसरी उनको मनको ढोकाबाट प्रवेश ग¥यो र मनमा राज गरेर बस्न सुरु ग¥यो यो उनीमा आश्चर्यजनक छ । अब उनलाई आफ्नो शोधको आनुवंशिक रहस्य छाडेर यो रहस्यमाथि पो अनुसन्धान सुरु गर्नु पर्ने आवश्यकता बनिसकेको थियो ।

जब इमिलीको प्रस्तुती सकियो । अब यो युगका प्रखर वैज्ञानिक पार्टेब चाबेजको एक अनुसन्धानमूलक लेक्चरका निम्ति सिक्वेल समय विभाजित थियो । पार्टेब मञ्च उक्लिए ।  अब हलमा हल्ला र ध्वनीको मात्रा शून्य भयो । पार्टेबले बिस्तारै माइक समाए । बिस्तारै आफ्नो ल्याबटपमा तयार गरिएको एक परिपत्रको वाचनलाई जोडे । उनको स्वर मसिनो र जादूयी पनि लाग्दथ्यो , सुस्तरी लहराउँदै बग्ने हावाको सुमधुर गतिझैँ ।
–    ‘ यो समय सङ्कटको समय हो । सङ्कटहरुसँग चुनौती र साथमा सम्भावनाहरु पनि रहने गर्दछन् । सङ्कट यस अर्थमा कि मानिस बिस्तारै जड हुँदै गइरहेछ । उसको नशामा रगत बग्छ या पानी छुट्याउन मुस्किल छ । उसको मष्तिष्कमा सिर्जना उम्रिन्छ कि विष्फोटका सूत्रहरु ? मानवीय संवेदनाहरु दुःख , पीडा, खुसी ,क्षमा, माया ,प्रेम ,दया ,घृणा, करुणा आदिको स्वरुप कुनै मान्छेमा देखिन किन मुस्किल भइरहेछ ? एकाएक मानव  कुनै ईश्वरझैँ संवेदनाहीन हुँदै जानुको अन्तर्य के हो ? अबको समयमा वैकल्पिक मानवहरुको व्यवस्था हुनुपर्दछ । जसमा भर्खरै संरचित फिलिङ्ग्सको सफ्टवेयरलाई इन्स्टल गर्न सकियोस् । जब मैले यो काम हेनरी जैक्सनमा गर्न सकेँ , म संसारको सबैभन्दा खुसी र सुखी मानिस भएको अनुभूति गर्दैछु । मैले आफ्नो जीवनकोे गतिमयतालाई एक अर्थसम्म पक्रिन सकेँ भन्ने अनुभव भएको छ । यतिखेर म हेनरी जैक्सनलाई सबैका अगाडि उठेर आफ्नो परिचय प्रदान गरिदिन अनुरोध गर्दछु । ’

जैक्सन रोबोट नै थिए तर चाबेजले यसरी बनाएका थिए कि उनीमा मान्छेको धेरै गुणहरु विकसित थिए । जैक्सन सामान्य मान्छेझैँ धेरैभन्दा धेरै कार्यसम्पादन गर्न सक्थे । बोल्ने , हिँड्ने , खेल्ने ,काम गर्ने लगायत सम्पूर्ण बेला यिनी मान्छेझैँ दुरुस्त देखिन्थे  । बाहिरबाट हेर्दा फरक यत्ति थियो, यिनलाई खानु पर्दैनथ्यो – चार्ज लिनुपथ्र्यो ,विश्राम गर्ने र सुत्ने गर्नु पर्दैनथ्यो तर ओभरहिटिङको बेला थोरै रोकिनुपथ्र्यो । कुरा रह्यो यो रोबोट र विश्वका सारा रोबोटबीच के भिन्नता थियो र चाबेज किन बिस्तारै विश्व चर्चित हुँदै थिए भन्ने ।  यो फरक थियो कि विश्वका सारा अन्य रोबोटमा संवेदना ( फिलिङ्ग्स ) को तह शून्य थियो तर चाबेजले यो क्रमलाई भङ्ग गरिदिए र अनुभवसमेत गर्न सक्ने जैक्सनको निर्माण गरिदिए । चाबेज र जैक्सन त्यही अर्थमा विशिष्ट थिए ।

जब पार्टेबको अभिव्यक्ति आयो तब इमिलीमा पैदा भएको आकर्षण एकाएक विकर्षण स्वरुपमा फैलियो । उनलाई थाहा भयो हेनरी जैक्सन रोबोट थियो । वास्तवमा इमिलीको आकर्षण मानवजनीन थियो । मानवेत्तर थिएन । एक सामान्यभन्दा सामान्य महिलामा पनि आमा बन्ने ठूलो सपना हुने गर्दछ । यो जैक्सनबाट प्राप्त हुनु सम्भव थिएन । टेष्टट्युब बेबीको अवधारणागत मान्यताका साथ पनि उनले सोचेकी हुन् , त्यो पनि दीर्घकालीन र भरपर्दोको मानकमा रहेन । हेनरीमा संवेदना थियो तर शरीर थिएन । उसमा आकर्षणको समग्र स्वरुप थियो तर जैविकता थिएन । उसमा बाहिरी संसार थियो तर भित्री थिएन । मानवीय संवेदनाहरु दुःख , पीडा, खुसी ,क्षमा, माया ,प्रेम ,दया ,घृणा, करुणा जुन जड अवस्थामा छन् ,ती पनि नभए बराबर हुन् , यस्तै सोच्दै थिइन् इमिली ।

इमिली यही निष्कर्षमा पुगिन् कि ,मानवबाट लोप हुँदै गइरहेको  मानवीय संवेदना पुन : मानवीय स्वरुपमै जागृतिको चरणमा पुग्यो भने मात्र ठीक हुन्छ नत्र यन्त्रबाट यो जति नै अपेक्षा गरे पनि त्यो अफापसिद्ध हुनेछ । त्यो कृत्रिम र जडप्राय : नै रहनेछ । उनले यो पनि स्विकारिन् कि, मानवप्रेम सर्वोच्च र सर्वग्राह्य छ ।
 
उनी खुसी भइन् पार्टेब चाबेजको आविष्कारसँग , जसले उनलाई लोभ्यायो । उनी धेरै दुखी पनि भइन् कि हेनरी जैक्सन रोबोट थियो , मानिस थिएन ।


subaspoet@gmail.com

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog