Sunday, August 18, 2013

A story

कथा

                      ..... अर्थात् स्वत्व
सुवास खनाल

यो साँझ फेरि उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । र यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद मलाई खास थाहा छैन र त्यत्रो मतलब पनि छैन । यो साँझ अलिक फरक घटना भयो ।

पश्चिमी क्षितिजबाट सूर्य फुत्किएर भागेको केही समय भइसकेको छ । रमरम अँध्यारो छ । वास्तविक अँध्यारो के हो ?,यो पनि मलाई थाहा छैन । मैले केही पुराना तर क्लासिक कविहरूको कवितामा अँध्यारोलाई नकारात्मक प्रतीक बनाइएको विषय भने पढेको छु । अँध्यारो कसरी आफैँमा नकारात्मक छ ? यो प्रश्नले बारम्बार मलाई हिर्काइरहेको पनि हो । तर उत्तर खोज्नुमा खास महत्व भने मैले दिइनँ ।

यो समय मलाई अत्यन्त मनपर्छ । प्रायजसो म पुस्तक अध्ययनको समय यही छान्ने गर्छु । घाम अस्ताइसकेको तर अँध्यारोको प्रारूप भने पूरै खडा नभइसकेको र यस क्षण पुस्तकका पानाहरूमा अक्षरका गहिराइहरू नाप्नु मेरो निम्ति सर्वप्रिय विषय बन्छ । मैले जीवनका केही रहस्यहरू सायद् यही समयको छेउछाउ पत्ता लगाएँ भन्ने मेरो अनुमान हो , र जीवन रहस्यमयी छैन भने यो कुरा झुठ पनि हो । अध्ययन र सोच मेरा निम्ति एकपछि अर्को हुनु आवश्यक छ । अध्ययनमा प्राप्त विचारहरू माथिको चिन्तन सर्वशक्तिशाली स्तरको चेतना प्राप्तिका निम्ति सहायक बन्छ भन्ने मेरो अनुमान हो । तर म आजभने अध्ययनको क्रममा रहेको थिइनँ । म कतै गइरहेको छु । र यो गइरहनु कुनै एउटा दिशा ताकेर हिँडिरहनु थियो । र यी दिशाहरूसँग भने मेरा उद्धेश्य ,सोच , परिकल्पना वा गन्तव्यहरू गाँसिएर आउँथे ।

गइरहनुकै बीचतिर एक प्रश्नले मेरा कानहरूको प्वाल हुँदै मष्तिष्क छिचोलेको अनुभव भएको कुरा सत्य हो । यो आवाज केही फरक नै थियो । बाङ्गोटिङ्गो हिँड्ने सर्पको अनिश्चित गतिजस्तो अथवा कुनै तेस्रो ग्रहको हामीले थाहा नपाएको मान्छेको आवाज हो कि ? ( झैँ) ।

“तपाईँको खबर के छ ?”
“ मैले तपाईँलाई चिनिन ।”
“ तपाईँले कसलाई  चिन्नुहुन्छ र ? वा मैले भन्न खोजेको कसले कसलाई चिन्न सक्ने क्षमता राख्छ र ? तपाईँले तपाईँ आफूलाई नै सायद चिन्नुभएको छैन ।”
“यो पनि हुनसक्छ कि म आफूलाई चिन्छु ।”
“ असम्भव ।”
“यो असम्भव पनि त असम्भव हुन सक्छ नि ? ”
“ असम्भव ,असम्भव छ भने त्यो पनि असम्भव हुनसक्छ ।”
“ हुनसक्छ मात्रै त हो नि , हो त भन्न सक्नु भएन नि ।”
“ यो हो पनि हुनसक्छ मात्रै हो ।”

म यो वार्तालापलाई लम्ब्याउन चाहन्थेँ । यो रहस्यमयी पनि अनुभव भइरहेथ्यो । तर यसको क्रम यहीँ टुङ्गियो । यतिखेर सम्म मैले वार्ता गरिरहेको व्यक्तिको स्वरूपसँग खास महत्व राख्दै थिइनँ । अब भने ममा त्यो उत्सुकता बढ्दै रह्यो । मैले पछाडि फर्केर हेरेँ । यहाँ कुनै शारिरीक बनावटको स्वरूप थिएन । अब भने मैले तीन छक्क खाएँ । केहीछिन प्रकृतिले वरदानस्वरूप दिएको हावा निस्तो निल्दै आँखा मिच्दै रहेँ । मेरो आँखामा समस्या पक्कै थिएन । अब मसँग सम्भाव्यताका केही अड्कलहरू बाँकी थिए ।

१.यो सब भ्रम थियो ।
२.कुनै अशान्त मृत आत्माको आवाज थियो ।
३.वा बाँकी अरू कुनै अज्ञात सम्भाव्य अवस्था थियो ।

मलाई जिन्दगी सोचेभन्दा अर्को कुनै अज्ञात सम्भाव्य अवस्था जस्तो मात्र लाग्ने गर्दछ । तर यो जीवन सोचको कुरा  छाडौँ , म अर्को समस्याबाट पीडित भएको पो अनुभव हुँदै थियो ।

मलाई यो साँझले  विस्मयका केही प्रश्नहरू छोडेर गयो । अब म त्यस्तै अर्को साँझ पर्खन थालेँ । म यो रहस्यको पटाक्षेपकै निम्ति बढी अग्रसर रहेँ । अर्को दिन उही समय उही दिशामा र उही तरिकाले मेरो यात्राको थालनी भयो ।

तरिका उही थियो । यो आवाज अब मेरो लागि परिचित छ । हावाको मसिनो झोक्का आयो र फेरि शान्त भयो । यही हावाकै बेगजस्तो मेरो कानका नशाहरूले आवाजको ज्ञान प्राप्त  ग¥यो ।

“तपाईँमा भोक जाग्यो कि के हो ?”
“हैन म त अघाएकै छु ।”
“फेरि तपाईँले कुरा बुझ्नुभएन ।”
“नबुझ्नुको मतलब तपाईँले कुरा बुझाउन नसक्नु भएको पनि हुनसक्छ । ”
“ हो हो, यो हुनसक्छ पनि हुनसक्छ ।”
“ तपाईले भन्नुभएको भोक अर्कै प्रकारको होला भन्ने मैले अनुभव गरेँ ,अर्थात् भोजनसम्बन्धी भोक हैन ।”
“ हो तपाईँ एकदमै सही अनुमान गर्दै हुनुहुन्छ ।  तपाईँले मलाई चिन्न वा भेट्न तपाईँमा भोक जाग्यो कि भन्ने मेरो जिज्ञासा हो ।”
“यस्तो भएको हो कि भन्ने ममा पनि अनुभूति भइरहेको छ ।”

यसरी केही साँझ बित्दै गए । यस्तो वार्तालाप पनि हुँदै गयो ।

“ मेरै कारणबाट तपाईँ बेचैन बन्नु ठीक होइन ।”
“ यो त स्वभाविक छ नि हैन र ? कुनै मुठ्ठी बन्द गरेर अर्को मानिसलाई देखाइयो भने उसमा त्यसभित्र के छ भन्ने जिज्ञासा जाग्न पाउँदैन र ?”
“जिज्ञासा जाग्न पाउनु शतप्रतिशत जाहेज हो । तर त्यसभित्रको कुरा कुनै पनि तरिकाले हेर्न पाउनुपर्छ वा हेर्नैपर्छ भन्ने चिन्ता पाल्नु वा हठ राख्नु गलत हुनपुग्छ ।”
“यसलाई यसरी नै बुझौँ न यो जिज्ञासामात्र हो ।”

आजको वार्तालाप पनि यहीँ टुङ्गिदियो । मैले जिज्ञासामात्र भनेपनि त्यो बेचैनीजस्तो वा चिन्ताजस्तो बनिसकेको थियो । म पुरानै प्रमाण भन्दा अघि बढ्न सकिन । वा यो वार्तालाप पुरानै शैलीमा भयो । जब मैले पहिलेजस्तै पछाडि फर्केर हेरेँ त्यहाँ त्यस्तो कुनै मैले हुनुपर्ने ठानेको आकृति थिएन । अब ममा यी बितेका साँझहरू जस्तो आउने साँझहरू भने फरक अनुभूति दिलाउने हुने छैनन् किनकी अब मेरो यो दैनन्दिन भइसक्यो । भनूँ न एक खालको अभ्यस्तता । अब म मान्छेका समूहहरूबाट अलिक टाढा हुँदै थिएँ । साथीहरू मलाई ,यो त साइको भयो भन्दै हुन्थे । अनि सोच्थेँ –एक खालको साइको त सबै हुन् ,तिनीहरू पनि । तर मौनता मेरो अन्तिम उत्तर बन्न थाल्यो ।

अर्को साँझ ।
“यो आवाज नै होइन कि भन्ने तपार्इँ अर्को भ्रममा पर्न सक्नुहुन्छ ।”
“हैन मैले आवाज त ठम्याइरहेको छु । तर यो आवाजको साकार स्वरूप फेला पार्न सकिरहेको छैन ।”
“आवाजको ज्यमितिय आकार र ठोस स्वरूप हुन्छ भन्ने म विश्वास गर्दिन । यद्यपी यो सर्वसत्य आवाज हो ।”
“सत्य हुन त प्रमाण हुनुपर्ला नि ।”
“ अब सबभन्दा धेरै समस्या यहीँनिर भइदियो । सत्यको कुनै प्रमाण हुँदैन । सत्य त सर्वथा सत्य मात्र हो ।”

आजको वार्तालाप पनि यहीँ टुङ्गियो ।

घरमा अब म एक्लै हुन्थेँ र रहन चाहन्थेँ । गाँजा तानेर एकोहारिएका पशुपतिका कुनै जोगीबाबाहरू जस्तो मेरो अवस्थिति रहन थाल्यो । यो क्रमले परिवारका सदस्यहरू दिक्क भइरहेथे । हुन त मपनि दिक्क थिएँ । तर ममा एकखालको उत्सुकताले गाँजेको थियो ,म उही आवाजको नजिक हुन चाहन्थेँ र जिज्ञासाका केही पोकाहरू फुकाउन चाहन्थेँ ।

फेरि अर्को साँझ ।
“ मलाई लाग्यो तपाईँ कुनै फकीर झैैैँ हुनुहुँदो रहेछ । नत्र तपाईँको मप्रतिको आकर्षण यति धेरै रहन्न थियो होला ।”
“ खै यो तपाईँको अनुमान हो । त्यसले तपाईँकै विश्वासलाई प्रकट गर्दछ । यसमा मैले भन्नु केही छैन ।”
“ यो पनि हुनसक्छ कि तपाईँमा आफूसङ्गत केही अनुमान त पक्कै छ ।”
“यो त पक्कै छ ,तर मैले यो अनुभव गर्दैछु कि मैले आफूसम्मत जे अनुमान गर्दैछु ,त्यत्तिमात्र म होइन कि ?”
“तपाईँ बल्ल लाइनमा आउँदै हुनुहुन्छ ।”
“ तर म यो लाइन भन्ने कुरा बुझ्दिन ।”
“ नबुझ्न पाउनु तपाईँको अधिकारको कुरा हो ।”

वार्ता लामो हुने गर्दैन । अलिक अनौठो र जटील किसिमको मात्र हुने गर्दछ । मलाई यो कुरा अरूलाई सुनाउन पनि मन छैन । साथीहरूलाई सुनाएमा हावा गफ भन्दै उडाउनेछन् । परिवारलाई सुनाएमा परिवारको मप्रतिको चिन्ता झन् बढ्नेछ । परिस्थिति खास जटील पनि होइन । त्यो आवाजले मलाई खोज्दै आएको पनि छैन । उल्टो म बरू त्यस आवाजलाई पछ्याउँदै हिँडिरहेछु । यदी म आफू नै उक्त आवाजदेखि टाढिने हो भने सबै समस्याको. समाधान त्यहीँ छ । हुन त यो  फेरि समस्या पनि होइन । म त्यस आवाजकै पछि लागेर हिँडेपनि त्यसलाई सामान्य सोचिदिने हो भने यहाँ कतै केही अप्ठेरो नै छैन । मलाई यो रहस्यको पछि लाग्न नै मन छ ।

उसैगरी ।
“ कतै तपाईँलाई , म को हुँ जानकारी पाउन मन छ होला ।”
“यो त तपाईँले मेरो मनकै कुरा भनिदिनुभयो । यही कुरा त मेरो मनमा बालहठ जस्तो बनेकाले म यो आवाजलाई पछ्याइरहेको छु ।”
“ तर मैले यो बताउन जरूरी नै ठान्दिन ,यो तपाईँले आफैँ निकै सहजसँग पत्ता लगाउनु हुनेछ ।”
“ सबभन्दा अप्ठेरो कुरा म कति सम्मलाई सहज भन्ने नै पत्ता लगाउन सक्दिन । मैले असहज जहाँदेखि सोचिदिए पनि त भयो नि हैन र ?”
“ अब यहीँ त भूल छ,यदी कुनै कुरा निकै कठिनताका साथ प्राप्त भयो भने पनि त्यसबेला प्राप्त नहुनु भन्दा सहज त हो नि, होइन र ? यसको मतलब मानिसले गर्नसक्ने अन्तिम प्रयास सम्मको अवस्था सहज हो भन्ने मलाई लाग्दछ । यसर्थ तपाईँ प्रयासमा नै रहिरहनुहुनेछ भन्ने मेरो अनुमान हो ।”
“तपाईँको अनुमानलाई मेरो सलाम छ ,तर ममा बेचैनी भने बढिरहेछ । तपाईँ कुन रहस्य हो मलाई छुट्याउन गाह्रो भइरहेछ ।”
“ म रहस्यमात्र भने पटक्कै होइन । तर तपाईँले मलाई रहस्यमयी मात्र फेला पार्नुभएको हुनसक्छ ।”

म यो साँझ अलिक धेरै आशावादी रहेँ । मैले यो प्रश्नको उत्तर पाउन भने सम्भव रहेछ भन्ने कुरा बुझेँ । यो बुझाइले मलाई अर्कै खालको राहत दियो । मैले परिवारमा त्यसदिन पछिल्ला साँझहरू मध्ये निकै धेरै कुराकानी गरेँ । यसले परिवारका सदस्यहरूको खुसीमा अनौठो वेभ पठाइदियो । मेरो बालखा छोरो पनि फर्कीफर्की आएर मेरो काखमा बस्दै रह्यो । अरू दिन ऊ पनि टाढाबाट कोही अपरिचितलाई हेरेझैँ मलाई हेथ्र्यो र गुर्रर्र कुदेर उसकै आमाको काखमा गएर बस्थ्यो । यो साँझ म निकै खुसी भएको पक्कै हो ।

“ म तपाईँभित्रै छु ।”
“ मेरो म आफूसँगै वार्ता !? मैले दङ्ग खाएँ । के मेरो आत्माले पखेटा हाल्यो ?,कि यो हावामा उड्दै छ र मसँग नै वार्ता गर्दै छ ।”
“ तपाईँको कल्पनाशीलता अलिक ठोस किसिमको रहेन ,यो तरल छ र जतासुकै जसोगरि पनि बग्न खोज्छ ।”
“ ठोस हुनुको आवश्यकता किन छ भन्ने नै मैले बुझ्न सकिन ।”
“ यो आवश्यकता भर्खरै खड्किएको भने पक्कै हो । तर यसमा तपाईँको कुरा नै मुख्य रहन्छ । कसैले यस्तो भइदिनुपर्छ भन्नु उसको आशासम्मको विषय मात्र हो ।”
“ तपाईँ सही हुनुहुन्छ । यसमा मैले टिप्पणी गर्नुपर्ने खास अवस्था महसुुस गरिनँ ।”
“ यो पनि हुनसक्छ ।”

फेरि अर्को साँझ र अर्को साँझ गरी केही साँझहरू बितेको कुरा गलत होइन । एक साँझ भने वार्तालापहरू मध्ये लामो वार्तालाप भएको हो ।

“मलाई एउटा चिन्ता भइरहेछ कि तपाईँ किन यति धेरै मप्रति सम्मोहित हुनुहुन्छ ?”
“ यो सम्मोहन भन्ने शब्द यहाँ गलत प्रयोग भयोझैँ मलाई लाग्छ ।”
“ तपाईँको दृष्टिमा गलत भएको मान्न सकिन्छ । तर सत्य त सत्य हो । हरेक गलतहरू पनि त आफैँमा  सत्य हुन् ।”
“ अब यहाँ केही समस्या छ कि भन्ने मेरो कुरा हो । उसोभए त हरेक सत्यहरू पनि आफैँमा गलत हुन् भन्न सकिएला नि ?”
“मैले भनिसकेँ सत्य सावित गर्न प्रमाण चाहिँदैन । तर गलत सावित गर्न प्रमाण चाहिन्छ । कुरा यत्ति मात्र फरक छ ।”
“अब यहीँनेर समस्या छ । प्रमाण के हो ? यो म बुझ्न सक्दिन ।”
“प्रमाण प्रमाणमात्र हो त्यो भन्दा पर वा वर केही पनि होइन । प्रमाण आफूले फेला पारेका मात्र सत्य हुन् झैँ लाग्छ । जस्तो कि तपाईँले मलाई फेला पार्नुभयो । यो तपाईँका निम्ति प्रमाण हो । अरूका निम्ति यसले प्रमाणको काम गर्न आवश्यक छ भन्ने मलाई लाग्दैन । तर फेरि यो पेश गर्न सकिने प्रमाण त होइन । यसैले म सत्य हुँ । यदी यो पेश गर्न सकिने प्रमाण भएका भए म सत्य नहुन पनि सक्थेँ । ”
“ भन्नुको मतलब हरेक सत्यको पेश गर्न वा देखाउन मिल्ने प्रमाण हुन्न भन्न खोजिएको होइन त ? ”
“कुरा त्यसरी बुझ्दा पनि खास फरक रहन्न । यत्ति हो कि –सत्य सत्य हो ।”
“ ( मतलब ) तपाईँ सत्यको अर्को नाम ?”
“ यो पनि होइन ,सत्य त विशाल छ । मेरो स्वरूपले त्यसको आकारअघि कुनै ठूलो प्रभाव राख्न सक्दैन । जे होस् तपाईँको मप्रतिको जिज्ञासाका निम्ति धन्यवाद ।”

अर्को साँझ ऊसँग  मेरो भेट भयो । ऊ को मतलब उही आवाजलाई बुझिदिँदा मात्र ठीक हुनेछ । यस साँझ पनि पूर्ववत ः वार्तालाप हुँदै गयो ।

“ तपाईँ समयको अर्को नाम ?”
( यसपटकको संवाद भने मैले सुरु गरेँ ।)
“ तपाईँको यो अनुमान हो भने  ,यसलाई स्वागत छ । तर म समयजत्तिको साहसी र बलवान छैन । अर्थात् म सबैलाई आफ्नो कठघरामा समयलेझैँ उसैगरि उभ्याउन सक्दिनँ । तर फेरि यो समयको कहीँ न कहीँ र कतै न कतै एक हिस्सा  मेरो भागमा पर्न आउँछ भन्नेचाहीँ मेरो विश्वास छ ।”
“ अब म तपाईँलाई चिन्न असमर्थ छु । मैले निकै कठिनतम प्रयासहरू भने गरेकै हुँ ।”
“मैले यो विश्वास गर्दै थिएँ कि तपाईँ हार्नुहुने छैन । सबैप्राय ः मानिस जिउनुको नाममा अनेक सम्झौताहरू गर्छन् र ती सम्झौताहरू मार्फत नै पराजित हुँदै जान्छन् । जे होस् यो मानवीय स्वभावको कुरा छोडिदिऊँ अब म तपाईँलाई जानकारी दिन्छु , म तपाईँले मान्ने गरेको जीवनको अस्तित्व हुँ । अर्थात् तपाईँको स्वत्व । अब तपाईँलाई आफूदेखि कुनै अचम्म लाग्नसक्छ । तर सामान्यकृत छ कि अस्तित्व मान्छेको अहम्को सबभन्दा पहिलो प्रश्न हो । यसको आविष्कार चराचर जगतको उत्पत्ति पछि लगत्तै भएको हुनुपर्छ । तपाईँको अस्तित्व सायद् तपार्इँको पहिचानको सीमाभन्दा बाहिर केही क्षण घुम्दै थियो । अब यो तपाईँ भित्र प्रवेश गर्ने अर्थमा छ । तपाईँ अब केही क्षण दुबै हात जोडेर अलिकति झुकावमा मौन बस्नु आवश्यक छ । यसभन्दा अघि अलिकति अङ्गार घोटेर निधारमा टीकाझैँ लगाउनु होला ।”

मैले यो समयलाई उसैगरि गुजारेँ ,जस्तो आवश्यक थियो÷आवश्यक मानिएको थियो वा भनूँ जस्तो निर्देशन प्राप्त भएको थियो ।

म झसङ्ग भएँ । मबाट हरेक कुरा विलुप हुँदा पनि मलाई पछ्याइरहने सायद् यही रहेछ मेरो अस्तित्व अर्थात् स्वत्व ।

अबका दिनहरूमा फेरि तपार्इँहरूले मलाई अरू मानिसजस्तै सामान्य अवस्थामा फेला पार्न सक्नुहुन्छ । चिया पसलमा चिया पिउँदै वा तरकारी पसलमा तरकारी किन्दै अथवा ..............वा त्यस्तै, जस्तो सबैको दिनचर्या छ ।

 subaspoet@gmail.com

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog