Thursday, November 7, 2013

रोशन शेरचनको निबन्धकृति 'धोबीघाट एक्सप्रेस'माथि टिप्पणी

यात्रा, धोबीघाट एक्सप्रेसमा ।

सुवास खनाल

रोशन शेरचन सचेतताका साथ निबन्धलेखनका क्षेत्रमा लागेका लेखक हुन् ।  उनलाई गुणको दृष्टिले  समकालीन निबन्ध लेखकहरुमध्ये केही सिमित निबन्धकारहरुको सूचिमा समावेश गर्न सकिने टिप्पणीकारहरुले उल्लेख गरेका छन् । वस्तुत : निबन्धलाई सामाजिक परिदृश्यसँग गाँस्न उच्चतम ध्येय केन्द्रमा उनी लागिरहेको पछिल्ला निबन्धकृतिहरु ‘चम्पारन ब्लुज’ र ‘धोबीघाट एक्सप्रेस’ को अध्ययनबाट पुष्टि हुन्छ । सङ्ख्यात्मक हिसाबले उनको तीनओटा निबन्धकृतिहरु प्रकाशित छन् – मष्तिष्कहरुको मृत्यु (२०५८), चम्पारन ब्लुज ( २०६७ ) र धोबीघाट एक्सप्रेस ( २०७० ) ।

उल्लिखित पहिलो कृति दार्शनिक चेतनाको हिसाबले उच्चतम मूल्य बोक्ने पुस्तकका रुपमा नेपाली साहित्यमा रहेको केही समालोचकहरुको विश्लेषण छ र शेरचनलाई उक्त कृतिमा नै बढी सन्तोषका साथ अध्ययन गरेका पाठकहरु पनि छन् तर लेखक भने उक्त कृतिबाट उति सन्तोष लिने अवस्थामा छैनन् । आफैँलाई पनि समीक्षात्मक विश्लेषण गर्ने शेरचन उक्त कृति समाजसँगको कनेक्सनमा त्यति धेरै सफल नरहेको र पाठकसँग उतिसारो संवाद गर्न नसकेको कृतिको रुपमा विश्लेषण गर्दछन् ।

समय क्रमले पछिल्ला दुई कृतिमा भने शेरचन पाठकसँग संवाद गर्न सफल अनुभव गर्दछन् । यी कृतिहरुको अध्ययन गर्दा शेरचनको आफूमाथिको टिप्पणी सही रहेको पुष्टि अधिकप्राय ः हुन्छ । चम्पारन ब्लुजको तेइस निबन्धहरु मध्ये ‘हजार मुजा, एउटै आकाश’ मनको पर्खाल भत्काइदिने र प्लवित बनाउने निबन्धका रुपमा चर्चित छ । धोबीघाट एक्सप्रेसमा चौबीस निबन्धहरु छन् । यसमा रहेको ‘मृत्युको समाचार लुकाउन सकिन कुमार ’ त्यही भाव सघनता बोक्ने निबन्ध हो भन्ने यस पङ्क्तिकारको ठम्याइ हो ।

‘विचारको ब्राकेटबाट चिहाउँदा’ ,‘म कविता किन लेख्छु ?’, ‘शैलीको खोजीमा’, ‘ईश्वर हत्याको सन्दर्भ र आस्थाको परिसर’ ,‘साहित्यमा विचार चिन्तन’  निबन्धहरु बढी वैचारिक लाग्छन् । धोबीघाट एक्सप्रेसका बाँकी अन्य निबन्ध संस्मरणात्मक बढी बोध हुन्छन् ।

लेखक अध्ययन रुपको नदीमा पौडिन रुचाउँछन् । यिनमा पौडिएर निस्किने एडेप्टेसनल विशेषता पैदा भइसकेको छ । उनले गर्ने जुन चेतना स्थानान्तरण हो ,त्यो मूल्यवान अनभूत हुन्छ । विदेशी पुस्तकका र उनीहरुको स्थान दृश्यका पात्रहरुलाई टिपेर हाम्रो स्थान सादृश्य र हाम्रा पात्रहरु समरुप प्रस्तुत गर्ने उनको क्षमता बढी महत्वपूर्ण हो ।

सामान्य विषयलाई असामान्यिकरण गर्नु लेखकको सबैभन्दा मूख्य खूबी हो । असामान्यिकरणबाट जुन ताप पैदा हुन्छ ,त्यो लेखकको असाधारण शक्ति बन्न जान्छ । यहाँ जुन ताप भनियो त्यो जलाउने भैदियो भने अर्थ कम रहला तर न्यानो दिने हिसाबमा महत्तम ठहर्छ । यो असामान्यिकरणका हिसाबमा पनि रोशन शेरचन सफल छन् ।

आजको पल्सर पुस्ता र फेसबुक जेनेरेसनको भविष्यलाई औँल्याउँदै शेरचनले एक निबन्ध लेखेका छन् ‘फेसबुक संसार र विसङ्गतिका काराभान’ । २००४ मा मार्क जुकरवर्गद्धारा आविष्किृत फेसबुकले जुन ढङ्गले हाम्रो समाजमा विकृतिको  विरुवा रोपिरहेको छ , त्यसको दुरगामी असर हाम्रो आँकलनभन्दा भयावह हुन सक्ने चिन्ता प्रकट गरेका छन् । त्यस्तै आजको स्वतन्त्रताको अधिक उपयोग गर्न चाहने ,पल्सरमा पछाडी युवती राखेर डुल्ने र ठेकेदारी संस्कारसँग बढी गाँसिएको युवाले बोक्दै गरेको आजको समयको गति कस्तो हुने ? उनको चिन्ता बढी यहीँ प्रकट भएको छ । साहित्यमा पनि सरलताको नारा दिएर कृतिको कलात्मक मूल्य बिर्सिनु कत्तिको जाहेज छ ?, भनी औँला तेर्साएका छन् ।

यसो भन्दै गर्दा फेसबुकको उपयोगले विश्व समाजसँगको भइरहेको सहज भेटघाट र संवादलाई उनले भुल्न खोजेका हुन् कि ? भन्ने अनुभूति हुन्छ । पल्सर पुस्ता पनि  औसतमा त्यस्तो देखिएकाले विश्लेषण भएको हुनसक्छ , सम्पूर्णमा होइन ।

लेखक रोबर्ट एम पिरसिगको ‘झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स’ एक सय एक्काइस पटक पाण्डुलिपी अस्विकृत भएको पुस्तक र त्यही तार्किक पुस्तक अतर्कवादी जीवन दृष्टिकोण (झेन दृष्टिकोण )  र तर्कवादी जीवन दृष्टिकोण (विज्ञानसम्मत दृष्टिकोण) को सम्मीलनबाट नै जीवनले उच्चता हाँसिल गर्नसक्ने विषयले उनलाई सन्तोषको अनुभव गराइदिएको छ । जति पनि सिद्धान्तहरु छन् ती अपुग नै छन् । वैज्ञानिक धारणा र अध्यात्मिक धारणा यी दुबै पूर्ण लाग्दैनन् , यसैले यी दुबैको कहीँ न कतै सम्मीलनको अनिवार्यता अनुभव हुन्छ । उनी पनि यही दृष्टिकेन्द्रमा उभिनुलाई सही सम्झिँदैछन् ।

शेरचन गिन्सवर्ग मोहमा फसेका छन् । उनले चम्पारन ब्लुजमा ‘गिन्सवर्ग चेतना र कविताको लोकतान्त्रिकरण’ र धोबीघाट एक्सप्रेसमा ‘गिन्सबर्ग बिम्ब’ नामको निबन्ध राखेका छन् । यो मात्र नभई गिन्सबर्गलाई सम्झिने नेपाली थुप्रै कवि लेखक छन् । नारायण ढकाल, श्यामल, भूपिन, मनु मञ्जिल, युयुत्सु आर.डी. आदिको काव्य चिन्तनमा गिन्सवर्ग पनि एक आइकनझैँ आइरहेका छन् । एलेन गिन्सवर्ग एउटा सचेत बौलाहा भएको उनका कृति र व्यवहारप्रसङ्गले बताउँछ । यिनले अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई समेत गालीमा उडाएका छन्,जुन अमेरिकाका निम्ति त्यति सस्तो परेको छैन । हाउल एन्ड अदर पोएम्सको ‘अमेरिका’ कवितामा लेखेका छन् –
 
अमेरिका तिम्रा पुस्तकालयहरु
किन आँसुले भरिएका छन् ?

यो सत्य हो भियतनाम माथि अमेरिकाले गरेको आक्रमणदेखि असह्य भएर हिप्पि बनेका व्यक्तिहरु मध्ये गिन्सवर्ग पनि थिए । तर त्यो संस्कार कति परिणामजनक बन्यो भन्ने  प्रश्न रहला ? अमेरिकालाई गाली गरेकै नाममा हाम्रा कवि लेखकहरुले बढी मन पराएको बोध हुन्छ तर उनको काव्यशैली र जीवनशैलीको सघन रुपमा समीक्षात्मक टिप्पणी भएको त्यत्ति पाइन्न । गिन्सवर्ग अर्थमा कवितात्मक शक्तिले थिचेर रोशन शेरचन कम समीक्षात्मक भए् कि भन्ने बोध हुन्छ ।

ब्राजिलिएन शिक्षाविद् पाउलो फ्रेरेको शिक्षा र समाज चिन्तनबाट बढी नै अभिप्रेरित शेरचनले आफूलाई सीपमूलक र जीवनमूलक शिक्षाको आग्रही अनुभूत गरेका छन् । कक्षाकोठामा भोमिटिङ विधिलाई त्यागेर शिक्षक र विद्यार्थीको  सम्बन्धलाई सहभागी र सहजकर्ताको सम्बन्धले विस्थापित गर्दै सहभागीको समस्यामाथि आलोचनात्मक संवादको शैलीमा लिइने फ्रेरेरियन शिक्षा बढी उपयोगी हुनसक्ने अनभूति साट्दछन् ।

शेरचन नेपाली कवितामा बितेको पुस्तामा ईश्वर बल्लभलाई एउटा शक्तिका साथ सम्झिन्छन् । बल्लभकेन्द्रित दुई निबन्धहरु धोबीघाट एक्सप्रेसमा छन् –दुइटा फूल देउरालीमा र धूमिल स्केचमा इश्वर वल्लभ । समकालीन निबन्धका क्षेत्रमा नारायण ढकाल र गाविन्द वर्तमानलाई सशक्त मानेको बढी अभिभूत हुन्छ ।

रोशन शेरचनको सबैभन्दा बलशाली पक्ष भनेको आफैँ र आफ्नै लेखनलार्ई पनि विविध कोणबाट समीक्षात्मक ढङ्गले हेर्ने । यो जो कोही लेखकले गरिरहेको पाइँदैन , अरुले दिएको कृतिसम्बद्ध नकारात्मक देखिने टिप्पणीलाई पनि सहज ग्रहण गर्र्ने। यही सङ्ग्रहमा पनि हरि अधिकारीले ‘चम्पारन ब्लुज’माथि गरेको टिप्पणीलाई हुबहु राखिदिएका छन् ।

रोशन शेरचन कहिलेकाहीँ लेखकहरुको लेखन प्रभावमा बढी फस्न पुगेको अनुभूति हुन्छ । सरुभक्त , नारायण ढकाल ,खगेन्द्र सङ्ग्रौला वा गोविन्द वर्तमान लगायत स्वदेशी लेखकहरुको विचार र लेखनअभिव्यक्तिको प्रभावमा अत्यधिक मोह राखेको जस्तो शेरचनको लेखनीले प्रष्टोक्ति दिइरहेको हुन्छ । तर शैलीगत हिसाबले यिनी आपूm आफ्नै शैलीमा स्थापित भइसकेका छन् ।


‘पहाडको साँघुरो घुम्तीमा तल भीर तेर्सिएको थियो । मेरो सातो गयो । झर्न पनि मिलेन ,ठाउँ पर्याप्त थिएन । म घोडामाथि नै अड्किएँ । घोडा सिरिङसिरिङ गर्दा जगरमा हल्का लहर सर्सती फैलिएर अनकन्टारमा कतै हरायो । छाती ढुक्क फुल्यो । यतै सकिन्छ कि क्या हो भन्ने सोचाइ आयो । घोडाले अप्ठ्यारो पर्दा पनि फ्याँक्दैन र सकुन्जेल कुल्चँदैन भनेको सम्झेँ । घोडा रोकिएर नाकको पोराबाट तातो बाफ फ्याँकिरहेको थियो । सायद् घोडाले पनि महशूश गरेको थियो ,यो कठिन बाटो हो । मलाई घोडाको अत्यन्त माया लाग्यो ।’  

                                                                  पृष्ठ ८७, धोबीघाट एक्सप्रेस

घोडा एक पाल्तु जीव हो । योसँग विगतमा यातायातको सुविधा नभएको ठाउँमा र हाल पनि त्यस्ता ठाउँमा मानिसको सुखदुख साटिएका छन् । शेरचनले पनि यहाँ आफ्नो विगतको घोडासँगको आत्मिक पक्षको प्रकटीकरण गरेका छन् ।

वैचारिक र समाजसापेक्ष लेखनीमा उनको भावप्रवाह उही प्रगाढ रुपमा चलिरहन सक्नेछ । यही कामना गरुँ ।









सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog