Friday, December 26, 2014

विचारको उल्टो नदीमा पौडिँदा ।

कवि पुरुषोत्तम आचार्यले विचारको उल्टो नदीमाथि गर्नुभएको टिप्पणी ।

विचारको उल्टो नदीमा पौडिँदा ।
 
  • पुरुषोत्तम आचार्य

  • कविता बुद्धि विलास र आत्मिक प्रलापको माध्यम होइन । यो त जीवनको अन्तरघुलित लय हो भन्ने मान्यताका साथ पछिल्लो समय समकालीन नेपाली कविता यात्रामा हस्तक्षेपकारी उपस्थिति जनाइरहेका कवि सुवास खनालको भर्खरै बजारमा आएको कविताकृति ‘विचारको उल्टो नदी’ एक विचारोत्तेजक पठनीय कविता सङ्ग्रह हो । कुल त्रिचालिस वटा अलग अलग बान्की र वैचारिक वैशिष्ट्ययुक्त कविताले प्रवेश पाएको यस सङ्ग्रहका सम्पूर्ण कविताहरू गद्य लयमा संरचित छन् । एकाध कविता लघुत्तम आकारका मुक्तकीय संरचनामा ( नारा कविता : सहिदआत्मा ) रहेको भएपनि यस सङ्ग्रहका प्रायः सम्पूर्णत : कविता फुटकर वा लघु आकारका नै देखिन्छन् । विषय प्रकृतिका दृष्टिले आर्थिक, सामाजिक , राजनीतिक, दार्शनिक आदि विषयलाई यस सङ्ग्रहका कविताहरूले आधारसामग्री बनाएका छन् भने वैचारिक ओज र गहन भावले गर्दा सङ्ग्रहका प्राण पक्ष स्वस्थ बन्न पुगेका छन् ।
  • मूलत : श्रमजीवी वर्गपक्षधरतालाई मष्तिष्कको केन्द्रमा राखेर आफ्नो काव्यिक लेखनी अघि बढाउने कवि खनाल वर्तमान नेपाली समाजमा व्याप्त विकृति , विसङ्गति ,अन्याय , अत्याचार, अभाव, शोषण, दमन, उत्पीडन, आदिप्रति सचेत देखिन्छन् र त्यसको विरुद्धको सांस्कृतिक मोर्चामा सहभागी हुन चाहन्छन् । उनी आजको समयमा जीवनदायी खोजमा हराइरहेको मानिसको यथार्थ खोतल्न चाहन्छन् । विचारलाई बन्धनमा कैद गर्न खोज्ने प्रवृत्तिप्रति विद्रोही चेतनाको स्वर ओकेल्छन् । विकृत राजनीतिले निम्त्याएको निराशा र आक्रोशको चित्रण तथा राजनीतिकर्मीहरूको चरम उपभोक्तावादी चिन्तनप्रति व्यङ्ग्य गर्दै जनताको लागि कहिल्यै चुनाब आउन नसकेको यथार्थ उद्घाटन उनी गर्दछन् । ज्ञान गर्न सक्ने ज्ञानेन्द्रीय , कर्म गर्न सक्ने कर्मेन्द्रीय, दिशाबोध गर्न सक्ने मष्तिष्क भएर पनि ज्ञानहीन, कर्महीन र दिशाहीन भइरहेको अनुहारहीन मान्छेका अनुहारप्रति असन्तुष्टि र दिशाचेतको आग्रह गर्दै अवसरको तराजुमा चढिरहेको ह्रासोन्मुख मानवीय मूल्यप्रतिको चिन्ता उनका कवितामा प्रकट भएको देखिन्छ । उनी आफ्नो कवितामा वर्गीय रेखाले विभक्त गरेको चाडपर्वको फरक अनुभूति दर्शाउँदै गरिब र कमजोर वर्गप्रति सहानुभूति प्रकट गर्दछन् भने इमान , स्वअस्तित्व र स्वचेतनालाई कुनै अवसर र प्रतिष्ठासँग साट्न तयार नरहेको अहमबोधी स्वरसमेत सुनाउँछन् । सांस्कृतिक अश्लीलताभन्दा राजनीतिक विकृतिजन्य अश्लीलता ज्यादा भद्दा देखिँदै गइरहेको सन्दर्भ उल्लेख गर्दै युग परिवर्तन गर्न सबै आफैँ उठ्नुपर्ने जीवनदायी विचार उनका कविताका माध्यमबाट व्यक्त भएको छ ।
  • कुत्सित विचार र विद्रुपतालाई ढोँग र कृतिमताको छालाले छोपी हिँडेको वर्तमान युगको मान्छेप्रति व्यङ्ग्य गर्दै कवि आफैँले पनि जीवन छाम्न नसकिरहेको र भ्रमग्रन्थीमा कविता लेखिरहेकाप्रति पश्चात्ताप गर्दछन् । मानिसमा निराशा, शून्यता ,अभाव भएपनि अभावलाई गतिशीलताको जननीको रुपमा लिने आशावादी स्वरले कविको प्रगतिशीलतालाई उजागर गरेको छ । प्रेमलाई सर्वप्रिय जीवनकै अशं मान्ने कवि कहिले स्मृतिको अनेक दृश्यमा सम्मोहित हुन्छन् त कहिले सन्ततिमोहमा नतमस्तक बन्न पुग्छन् । उनी चेतनहीन, विचारहीन र मूल्यहीन जीवन बाँचिरहेका मान्छेलाई झारसँग तुलना गर्दै त्यस्ता झारहरू उखेल्नु पर्ने र अनिश्चयमा रुमल्लिरहेका देश र युग सपना तुहिरहेको समयलाई आशा र उज्यालोको मल्हम लगाउनु पर्ने आशावादी स्वर व्यक्त गर्दछन् । कवि खनाल पालिस लगाइएका रङ्गीन विचारभन्दा पसिना टल्किने सङ्घर्ष र व्यवहारमा देखिने विचार धेरै गाढा हुने धारणा राख्दछन् र जीवनसँग साक्षात्कार नहुने कुनै कर्मको अर्थ नहुने विचार समेत व्यक्त गर्दछन् । जसबाट कविको प्रगतिवादी स्वर प्रष्ट सुन्न सकिन्छ । कवि आदिम समयदेखि सभ्यता संस्कृति र आविष्कारको महायात्रामा यात्रारत मानिसको महत्ता गाउँदै निर्माणमानिसका लागि हुनुपर्ने र निर्माण विनाको ध्वंशको निरन्तरता अर्थहीन र अस्तित्वहीन हुने धारणा राख्दछन् ।
  • कवि खनालका कवितामा विभेदकारी राज्यव्यवस्थाले जन्माएको असमानता , अन्याय , अत्याचार, शोषण आदिको विरुद्धमा भुसको आगो झैँ  विद्रोहको आगो सल्किरहने क्रान्तिकारी स्वर प्रकट भएको देखिन्छ ।
जब रोकिन्छ रोटीको अभावमा
कुनै मजदुरको अनुहारको बत्ती
जब निभ्छ रोटी चामल नपाएरै
त्यहीँ सल्किन्छ
विद्रोहको दियो र समय थपिरहन्छ तेल
अनन्त अनन्तका लागि
                                पृ. ११२, रोटी
  • रोटी कविताको सन्दर्भ चित्रण अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध कोटेसन'An Empty stomach is not a good poetical adviser' अर्थात् ‘खाली पेटले कहिल्यै राम्रो राजनैतिक विषयको सल्लाह दिन सक्दैन’ भन्ने विषय सापेक्ष छ भन्ने अनुभूति हुन्छ ।

  • कवि देशभक्ति आत्मा र संस्कारमा हुनुपर्छ न कि ढोँग र अवसरका निम्ति भन्ने सन्देश ‘राष्ट्रप्रेम’ मार्फत दिन चाहन्छन् । त्यसैगरी जनमुक्ति र राष्ट्रमुक्तिमा लागेका महान योद्धाका हत्याराहरू नै सहिदको खेतीमा अग्रसर भइरहेको वर्तमान ढोँगी र विकृत परम्पराप्रति उनको कलमले व्यङ्ग्य प्रहार गरेको छ ।

  • कवि खनालको यस सङ्ग्रहका कवितामा देखिने वर्गीय प्रेम, विचारको दृढता, भाव सघनता, समय सचेतता, युग आकाङ्क्षा,बिम्ब र प्रतीकहरूको सार्थक र कलात्मक चयन तथा प्रयोग काव्यात्मक माधुर्य अन्तर्लय , सम्प्रेषणीयताजस्ता पक्षहरूले यस सङ्ग्रहलाई ओजपूर्ण बनाएका छन् भने ‘आदिम हावाको कथा’ जस्ता कविता अपेक्षाकृत जटील बन्न पुगेको देखिन्छ , जसले सम्प्रेषणीयतामा त्यत्ति सहजता आउन नसकेको जस्तो लाग्छ ।

  • गरिबी अभाव र समस्याले जीवन भत्किँदै गर्दा र पारिवारिक जीर्णताले जिन्दगी भत्किरहँदा छोरो हस्तमैथुनमा रहेको देखाउनुले कवितामा मामको भोक भन्दा कामको भोक माथि रहेकोजस्तो देखिन्छ । जुन त्यत्ति सङ्गतियुक्तजस्तो लाग्दैन । यस्तै कवि ‘जन्म एक दुर्घटना’ कवितामा वर्तमान समयमा यो देशमा जन्मनुलाई दुर्घटना मान्न पुग्छन् भने ‘नयाँ वर्ष’ कवितामा अभाव , निराशा , विकृति ,विसङ्गतिजस्ता समस्याले थला पारेको यो समयमा युग बदल्न सक्ने युग पुरुषको  जन्मको कामना गर्दछन् । यी दुई कविताको विचार पक्ष विरोधाभाष जस्तो देखिएको हुँदा यो कविता सङ्ग्रहको सुधारात्मक पक्ष बन्न पुगेको देखिन्छ ।

  • समगैमा भन्नु पर्दा कवि सुवास खनाल युगसचेत र समाजसचेत कवि हुन् । गरिबी र अभावको मुक्का प्रहारले तल धस्सिइरहेको समाजको पीडामा  उनी आफैँ चिमोटिएको महसुस गर्दछन् । कस्मेटिक कविताको बजारमा उनी त्यत्ति दृष्टि दिँदैनन् । उनी कमजोर र निमुखाहरूको शरीरबाट बग्ने रगत, पसिना, मयल र पीपहरूमा काव्यात्मक सौन्दर्य खोतल्न चाहन्छन् ।  यस कविता सङ्ग्रहका केही कविताहरूमा प्रगतिवादी स्वर पाइए ता पनि प्राय कविताहरू आलोचनात्मक यथार्थवादका नजिक देखिएकाले आलोचनात्मक यथार्थवाद नै यस सङ्ग्रहको मूल स्वर हो भन्न सकिन्छ । सरल, सहज जनबोलीको् भाषाप्रयोग , विशिष्ट अर्थगाम्भिर्ययुक्त भाव , बिम्ब ,प्रतीकहरूको सार्थक र कलात्मक प्रयोग आदिले कवितासङ्ग्रहका कविताहरू उत्कृष्ट बन्न पुगेका छन् ।

  • क्ुनै पनि लेखन कहिल्यै निरपेक्ष मानक बन्न नसक्ने हुँदा परिष्कार र परिमार्जनको आवश्यक प्रयोग हुँदै गएमा कवि खनालको काव्यिक भविष्य समुज्ज्वल बन्नेछ भन्नेमा यस कृति नै यथेष्ट प्रमाणको ठोस आधार बनेको छ भन्न सकिन्छ ।

                   

Wednesday, September 24, 2014

Short review on Vicharko Ulto Nadi.

कविता कृति' विचारको उल्टो नदी'माथि कविहरुको धारणा ।



सुवास खनाल नयाँ नेपाली कविताको अनुहार खोज्न तल्लीन छन् । कविताको नयाँ भाषा गढ्ने क्रममा उनी मानिसको अन्तरलाई सुक्ष्मतर ढंगले चियाउने र पाठकको मस्तिष्कमा स्थायी प्रभाव उत्पन्न गर्ने अहं ध्येयमा छन् । दृष्टान्तका लागि ‘मेरो जीवनबोध’ शीर्षकको कवितालाई लिन सकिन्छ । मृत्युलाई उनी जीवनबोधी दृष्टिले हेर्छन् । यो मानवीय अहंबोध  कविताको अनिवार्य तत्व हो र कवि सुवासको कविताको आत्मा यसैमा निवास गर्दछ । इमान बेचेर कविको ताज किन्नमा उनी गम्भीर अरुचि प्रकट गर्छन् । सुवास खनाल कविहरूको त्यस छोटो पंक्तिमा उभिएका छन् जहाँ सामान्यतया औसत ‘कवि’हरू अर्थात् पूँजी, मानसम्मान र सत्ताका कमाराहरू उभिन सक्तैनन् । उनको कविताको सत्ता  यसर्थ सुन्दर र आकर्षक छ ।                                                                                                                                –श्यामल
 

सुवास भन्छन् –‘ शान्ति थियो र पो बुद्ध भए ।’ यस्ता अप्ठ्यारा कवि पनि बुद्धकै देशमा छन् । जसको टाउको वरिपरि जोन लेननको गीत गाउँदै कविताको गाइनेकीरो घुम्दछ । त्यसले एकसाथ ईश्वरको कुरुपता र बुद्धिमान माझीको लिङ्गको सुन्दरताको वर्णन गर्छ । यस्ता अराजक कविले हामीलाई सधैँ मीठो यातना दिन्छन् र झार हुनबाट जोगाउँछन् ।                                                                       –श्रवण मुकारुङ



  • म तिम्रो सुनको थालसँग
           कविता साट्ने छैन !

  •  बरू नलेखूँ एउटै कविता
         मलाई प्राणहीन कविता लेख्नु छैन !

कवि सुवासले आफ्ना कवितामा व्यक्त गरेका यी विचारहरू नै इमानदारी र आत्मसम्मानका प्रमाण हुन् । उनी आफू यान्त्रिक कविताको विपक्षमा छन् र कवितामा नयाँ अनुहार स्थापनार्थ  लागिरहेको जनाउ दिएका छन् । कवितामा आफूले आविष्कार गरेका पात्रहरूसँग सूक्ष्म विमर्श गर्दै ताजा सपनाका निर्माण गरिरहेका छन् । यी सपना नै उनका विचार हुन् ।
                    
                र उनी विचारको जरामा उभिएका कवि हुन् त्यसैले विचार नै उनका कविताहरूको –सबैभन्दा ठूलो सौन्दर्य र शक्ति हो ।                                                                                            –विप्लव ढकाल
                                           
 



सुवास खनाल समकालीन पुस्तामा कविताको ‘अफ् द बिट’ यात्रा मन पराउने प्रयोगसचेत कवि हुन् । उनी जाउलो कविता र मसलेदार कविताको मध्यमा कविताको स्थान तोकेर कविता यात्रामा सतत : हिँडिरहेछन् । विचारमा उनी बागी छन् , लोककल्याणकारी छन् र छन् –शैलीमा मौलिक । उनले कवितालाई ‘बिम्बहरूको उट्पट्याङ् चमत्कार’ को अतिमोहबाट पनि जोगाएका छन् । उनको काव्यिक गाम्भिर्यताले मलाई सदैव आकर्षित गर्दछ ।
                                                                                                                                  –भूपिन

                                           


Friday, August 8, 2014

साहित्यिक यात्रामा मकवानपुर


साहित्यिक यात्रामा मकवानपुर

subaspoet@gmail.com

 

(समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले एउटा आग्रह के गर्नुभो भने मकवानपुरको साहित्यिक सिनारियोको बारे करिब ७०० शब्दको एउटा आर्टिकलको आग्रह भो ।मलाई पनि केही खड्किरहेथ्यो । लेखेँ । मैले व्यक्तिका बारेभन्दा चरित्रकाबारे लेख्नु सही सम्झेँ ।

यी चरित्रहरु म आफूसँग पनि हुनसक्छन् सुधार्नु अपेक्षाकृत नै सम्झिन्छु । )


साउनको महिनाको दोस्रो शनिबार साहित्य सङ्गमको सभाहलमा कवितामाथिको  अन्तरक्रिया चल्दै गर्दा समीक्षक घनश्याम घिमिरे भन्दै थिए –‘ मकवानपुरमा पछिल्ला केही कविताका कार्यक्रमहरु हेर्दै गर्दा यस्तो भन्न सकिने भएको छ ,मकवानपुर लेखनका हिसाबले कमजोर छैन तर मानसिकताका हिसाबले कमजोर छ । लेखकहरु कहीँ हिनताबोध पालेजस्ता देखिन्छन् । ’ यो विषय सोचनीय छ ।

मकवानपुरमा हुने कार्यक्रमहरुका सन्दर्भमा हालसम्म एउटा संस्थाले कार्यक्रम गर्दै गर्दा अर्को संस्थाले जुधाएजस्तो देखिन्न तर मानसिकतामा जुधेको दृश्यहरु हेर्न सकिन्छ । यो मानसिकताको प्रतिश्पर्धी अवस्थाले केही काम त सही नै गर्ने देखिन्छ , जस्तो कि साहित्यिक मुभमेन्ट । जत्ति धेरै र गतिका साथ साहित्यिक मुभमेन्ट भयो त्यसले केही गुणात्मक परिणाम दिनसक्ने सम्भावना रहला नै । तर मेन्टल टसललाई मात्र आधार मानेर कार्यक्रम हुन गएभने त्यो रत्तिभर मूल्य नबोक्ने हुन्छ ।

केही सर्जकहरुको कार्यक्रममा पुग्दा आफ्नो कुनै सक्रिय भूमिका रहनु पर्ने नत्र ताली ठोक्नमात्र कार्यक्रममा किन जाने रु भन्ने शैलीका टिप्पणीहरु सुनिने गर्दछ । कार्यक्रममा जानु वा नजानु त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा रह्यो तर भूमिका अनिवार्य रहनुपर्छ भन्नुचाहीँ अलिक असुहाउँदो  हो जस्तो लाग्दछ । कार्यक्रममा २०० जना उपस्थित रहेभने सबैलाई भूमिका दिनसक्ने अवस्था कार्यक्रम आयोजकलाई हुँदैन वा दिएभने त्यो कार्यक्रमको रुप के होला रु फेरि प्रोटोकल मेन्टेन गर्ने कामचाहीँ आयोजकहरुको रहनु पर्ला । यो प्रोटोकल निर्धारण गर्ने पनि उस्तो कुनै स्केलहरु त हुन्नन् ।

साहित्यमा मात्र नभएर, सबै यी सेवामात्र ९ झन्डै ०का क्षेत्रबाट प्राप्ति मात्र खोज्नु र यसमा लाग्नेहरुलाई गर्न सकिने केही सहयोगमा नि तत्पर नहुनु साहित्य वा यस्ता क्षेत्रका विकासका बाधक हुँदा रहेछन् । यी चरित्रहरु तपाईँ हामी जोसुकैमा हुन सक्दछन् । अहम् हुनु त व्यक्तिको अनिवार्य शर्त हो तर यसको पराकाष्ठामा उत्रिएर अहम्कै पहाडनजिक उभिएर कसैलाई सिध्याइदिन्छु वा कसैलाई उचालेर कहीँ पु¥याउँछु भनेर त्यही मात्र बाटो देख्न थालियो भने सम्भवत : हामी कहीँ पुगिरहेका हुने छैनौँ ।

सही वा गलत के हो भन्ने भन्दा पनि विषयवस्तु कसबाट उठान भयो र त्यस व्यक्तिप्रति आफ्नो धारणा के हो ,त्यसकै पछि दगुरेर कतिपय सही र आवश्यक लाग्दा पक्षहरु पनि साहित्यमा हामी छुटाइरहेका हुँदा रहेछौँ । यस्तो पनि देखियो व्यक्तिगत उचाइ मेन्टेन गर्ने धूनमा साहित्यिक उचाइचाहीँ क्रमश : घटिरहेको ।

यहाँ मैले दुई ढङ्गले लेखकहरुले प्रश्न गरिरेको पाएँ । एकले मकवानपुरका साहित्यकार चुपचाप छन् । देश कहाँ पुगिरहेछ वा यहाँका साहित्यिक धूनहरु कस्ता विकास भइसके तर हामी किन चुपचाप छौँ रु अर्को ढङ्गले पनि प्रश्न उस्तै उब्जिरहेको देख्छु । यो होहल्ला किन रु हल्लाले हामीलाई कहाँ पु¥याउँछ रु यी दुबै अतिहरु पनि ठीक होइनन् कि रु यो स्वभाविक छ धेरै हल्ला पनि प्रदुषण हो । तर जाहेज आवाज निक्लेन भनेचाहीँ त्यसले कुनै उचित अर्थ ननिकाल्ला ।

मकवानपुरमा ट्रेडमार्क बनाइसकेका केही साहित्यकारहरु पक्कै छन् । निमेष निखिल, आर। सी। रिजाल, साम्ब ढकाल , आर।आर। चौलागाईँ ,तुल्सी थापा यी चिरपरिचित नाम हुन् । यसकै लहरमा पछ्याइरहेका नयाँ उर्जाशील नामहरु पनि छन् । महिला साहित्यकारहरुको बलशाली उपस्थितिको सहज बोध गराउने स्वायत्त नारी साहित्यिक संस्था पनि रहेको छ । रेडियो र टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने व्यक्तिहरु पनि यहाँका साहित्यिक मान्यता बुझ्ने खालका नै छन् ।

मकवानपुरमा पछिल्लो समय सचेत साहित्यिक सत्प्रयासहरु भएका छन् । यसलाई सबैले मिलेर चर्चा परिचर्चा गर्नु आवश्यक छ न कि विग्रहको बाटो समातेर कुनै अनाम गन्तव्य पक्रिनु आवश्यक छ ।
साहित्य सङ्गमसँग गाँसिएर हालसालै एउटा अलिक विशेष विवादको स्थिति सिर्जना भयो । यी पनि केही मिस्अन्डरस्ट्यान्डिङ्हरु बढ्दै गएर सिर्जित थिए । अलिक क्लोज्ड मिटिङमा यसलाई सौहार्दपूर्ण हल गर्न सकिने विषय सतहमा नै अलिक उग्र रुप लिन सफल भयो ।

आँखामा चस्मा भिरेपछि संसार चस्माकै रङको देखिन्छ भन्ने त धेरै पूरानो भनाइ नै हो । यी चस्माहरुले जुन रङ्को देखेपनि चस्मा फुकालेर पनि दृश्यलाई वास्तविक रङमा हेर्न सक्ने हैसियत लेखकमा आवश्यक पर्छ र त्यस्तो गुण हामीले विकास गर्नु आवश्यक छ ।

मकवानपुरमा सक्रिय केही साहित्यिक संस्थाहरु छन् । त्यसमध्ये साहित्य सङ्गम एउटा अग्रणी संस्था हो । यसले केही विशेष कामहरु गरिरहेकै छ । नगरपालिकाको सहयोगमा साहित्य सङ्गमकै मातहतमा पुष्पलाल स्मृति पुस्तकालय सञ्चालन भइरहेको छ । महिनाको दोस्रो शनिबार आफ्नो नियमित साहित्यिक कार्यक्रम गर्छ र सर्जकहरुको कृतिहरुलाई प्रकाशनको अवसर पैदा गर्छ ।

अब साहित्य सङ्गम मकवानपुरले मकवानपुरका सबै साहित्यिक संस्थाको सहयोग लिएर साहित्यिक परिदृश्यहरुसँग गाँसिएको देशमा नै  विशेष कम्पन पैदा गर्न सक्ने खालका केही कार्यक्रमहरु गर्नु जरुरी छ । यी सबैका निम्ति हामी दुराग्रहको भ¥याङ टेक्ने वा विग्रहको बाटो कुनै अनाम गन्तव्यतिर लम्किने गर्दा भने सम्भव छैन ।

कविता लेख्नु वा साहित्यिक रचना गर्नुमात्र ले साहित्यको समष्टिगत स्वरुपमा पूर्ण भूमिका निर्वाह नगर्दोरहेछ । साहित्यिक श्रृवृद्धिका निम्ति सही बोल्टहरु सही ठाउँमा कसिनु आवश्यक छ । हरेक कम्पोनेन्ट्समा उत्तिकै सशक्तता देखाउन सकेमात्र साहित्यको पूर्ण स्वरुप राम्रो देखिएला ।

Friday, March 7, 2014

थाहा एफ एम तथा रेडीयो नेपालको उद्गार कार्यक्रममा प्रसारित

कविता

सन्दर्भ : विचार /आत्मलाप

  • सुवास खनाल

प्रश्न : कविजी तिम्रो कवितामा विचारका हाँगाहरू कहाँ छन् ?
उत्तर : विचार के हो ?
प्रश्न : कविजी तिम्रो कविताको छेउ र टुप्पो कहाँ छ ?
उत्तर : छेउ र टुप्पो, के को कहाँ हुन्छ ?
प्रश्न : कविजी तिम्रो भविष्यआँकलन , भविष्यइच्छा खोई ?
उत्तर :  त्यो भविष्य रहरको गुच्चा हो ? वर्तमान सही बाँच ।

विचारमा प्रष्ट छु
गोहीका दाँतहरु गाडेर विचारमा
प्राप्तिको क्याक्टस फुल्नु छैन

यहाँ
विचारहरू विचारहरूमा मात्र बाँचे बिचरा विचारहरू

मलाई व्यवहारको रङ्गीन मौसम मनपर्छ
जहाँ गाडियोस् विचारको जरा
मलाई यथार्थको विपनामा ज्युनु छ
जहाँ उम्रियोस् चेतनाको सुनाखरी

प्रश्न : कविजी जिन्दगी के हो ?
उत्तर : जिन्दगी के होइन ?
प्रश्न : कविजी कविता के हो ?
उत्तर : कविता के होइन ?
प्रश्न : कविजी तपाइँ उभिनु भएको छ ?
उत्तर : म अभिएको छु । आफ्ना विचारका जराहरूमा टेकेर ।

म उभिन्छु ,सुत्दा, हिँड्दा, शौच गर्दा, खाँदा , नाच्दा ,संभोगमा, यावतमा
विचारका जराहरूमै टेकेर ।

खानु , विचारले विचार हो कि होइन ?
सुत्नु, विचारले विचार हो कि होइन ?
नाच्नु, संभोग गर्नु विचारले ,
अध्ययनरत हुनु विचारले,
यावत विचार हो कि होइन ?
सोच्छु–
यहीँ गाडिन्छ विचारको जरा र उठ्छ चेतनाको लहरा

ओढ्छु आफ्नो मनरङ्गी छाता
लाउँछु आफ्नो मनरङ्गी लुगा
बोक्छु आफ्नो मनरङ्गी झोला

छाता विचार हो कि होइन ?
पहिरन विचार हो कि होइन ?
झोला विचार हो कि होइन ?

हिँड्छु ईश्वरलाई ढाड फर्काएर
टक्टक्याउँछु मष्तिष्क र झार्छु धूलो

कहिलेकाहीँ
सम्झेर देशको क्रुर समय र त्यसको शासक
गर्छु आमचकारी गाली

यो विचार हो कि होइन ?

प्रश्न : कविजी तिमीसँग देशपे्रम कहाँ छ ?
उत्तर : देशप्रेम खल्तीमा बोक्ने रुमाल हो ? जुन देखाउँदै हिँड्न सकियोस् ।
प्रश्न : कविजी तिम्रो जिम्मेवारी कहाँ छ ?
उत्तर : जिम्मेवारी आवश्यकतामा निर्वाह हुन्छ ।
    यो होइन कि एफ.एम. मा विज्ञापन होस् ।

सडकमा देख्छु ब्युरोक्रेट्स बिम्ब
जब कुनै अव्यवस्थित सक्षम मानिस
बोकेर बिफरको अनुहार
केही माग्न खुट्टा ढोग्दै जोर्छ दुई हात

आहत हुन्छ मेरो विचार
कुनै नगरनायिकाको कोखमा
जब उम्रिन्छ दुस्वप्नझैँ नवपुस्ताको सभ्यता

जब देख्छु
नगदरामहरुले
हिर्काएको बचनको कटबाँसले श्रमिक सन्ते क. . . ख. . . ग. . .लाई
छोप्छ आवेगको आँधीले मन आकाश र धमिलिन्छ अनुहार

अनुहार धमिलिनू विचार हो कि होइन ?

लेख्छु कविता
कफीन बक्समा साटिएको अर्थराजनीतिको उल्टो धारमा
भन्छु / भनिरहन्छु –‘नालायक सरकार’
जबसम्म बिझ्छ देशको युवामा बेरोजगारीको खिल

महानायकको कोटको खल्तीमा
जबसम्म निदाउँछ कानून
बगिरहन सक्छ विचारको उल्टो नदी

जबसम्म सामथ्र्यको अनुहार थिचेर बनिरहन्छ
कुनै नायक नामको शालिक
तब त भत्किन्छ यसको शरीर

यहाँ
विचारहरू विचार हत्यामा मात्र संलग्न छन् विचरा विचारहरू

भो चाहिएन मलाई
दारुण मष्तिष्क खेतमा अर्थहीन फक्रिने
कुनै छद्मभेषी विचार

हुनुपर्ने
विचारका तहहरुमा उक्लेर
बाँचोस् मान्छेले विवेकी व्यवहार
उड्नुपर्ने
विचारको बगैँचादेखि अर्थयुक्त सुवास
डुल्नुपर्ने विचारको बोटमा फक्रिने फूलको सहरतिर रङ्गीचङ्गी पुतली
र विचारको आकाशमा
नहुनुपर्ने असिमित विभाजनका धर्काहरु

म त खोज्दैछु बिपना बिम्बका विचारहरु

प्रश्न : कविजी कविताको अन्त्य भयो ?
उत्तर : कविता सुरु मात्र हुने गर्दछ ।
 . . . . . . . . . . ।. . . . . . . . . . । . . . . . . . . . . । . . . . . . . ।

Sunday, March 2, 2014

सम्पादकीय

अक्षर साहित्यिक त्रैमासिक पत्रिका जुन व्यङ्ग्यकार आर. सी. रिजालको सम्पादन ,प्रकाशन , त्यस्तै कविहरु निमेष निखिल श्यामकुमार बानिँया सम्पादकका रुपमा रहेका छन् ,उक्त पत्रिकाको कार्तिक –पुष ,२०७० अङ्कमा  सम्पादकीय अक्षरश : मा मेरो आफ्नो प्रकाशोन्मुख कविताकृतिको पान्डुलिपि माथिको बहसबारे प्रकाशन भएको रहेछ ।यसका निम्ति पत्रिका परिवारलाई हार्दिक धन्यवादसहित यो सम्पादकीय ब्लगमा प्रकाशन गरेको छु ।

साहित्य सिर्जना सँगसँगै साहित्य सिर्जनामाथि बहसको सम्बृद्ध परम्परा विश्व साहित्यमा रही आएको छ । नेपाली साहित्यमा पनि त्यस्तो अभ्यास परम्परा रहँदै आएको छ । नेपाली साहित्यमा विशेषत : रचना प्रकाशनपश्चात् यस्ता अभ्यास हुने गरेको छ ।हिजोआज पुस्तकमाथि समीक्षा फेसनझैँ हुन थालेको छ । कतिपयले त पुस्तक प्रकाशनपछिको यस्तो अन्तरक्रिया वा भनौँ छलफल वा हल्लाखल्ला मच्चाउनु धेरै अर्थमा विज्ञापनबाजी र पुरस्कारको लालसा हो भन्ने पनि सुनिन थालेको छ ।

पश्चिमा जगतमा सम्पादक मण्डल तयार गरी वर्षौँसम्म पुस्तकमाथि समीक्षा गर्दै कमजोर पक्षलाई हटाउन पुनर्लेखन समेत गराउने जानकारी हुन्छ । महत्वका दृष्टिले पनि पुस्तक प्रकाशनपूर्व यस किसिमको अन्तरक्रिया हुनु ठीक ठहर्छ ।कारण कि पुस्तक प्रकाशन अगावै गरिएको यस्तो कार्यक्रमबाट आएको सुझावले लेखक कमजोर पक्ष हटाउन योग्य बन्दछ । यस्ता कार्यक्रमले पुस्तक प्रकाशन हुने सर्जकलाई मात्र नभई अन्य कवि लेखकहरुलाई पनि लेखनमा कस्ता कमजोरीहरु आउन सक्दा रहेछन् भन्ने जानकारी हुन्छ ।

हुन त लेखनमा लेखकले मनमा लागेको कुरा लेख्ने हो । यसले सबैको चित्त बुझाउन सक्छ भन्ने होइन ।तर पनि लेखक सामाजिक सदस्य हो र यही नाताले उसका सामाजिक उत्तरदायित्वहरु पनि हुने गर्दछन् ।लेखकीय मर्यादा र उत्तरदायित्व बोधमा भने यस किसिमको कार्यक्रम धेरै अर्थले उपर्युक्त ठहर्दछ ।धेरै समीक्षकले धेरै कोणबाट गरेको टिप्पणीले लेखकलाई फाइदा नै पु¥याउँछ ।

हाम्रोतिर समीक्षा पनि दुराग्रहको पारो चढेर आउने गरेको पाइन्छ । लेखकहरुमा यस्तो टिप्पणीलाई पत्तो पाउन सक्ने क्षमता विकास  हुनु जरुरी छ र त्यसबाट बच्दै लेखनको उत्कृष्टतालाई कायम गर्दै अघि बढ्नु जरुरी हुन्छ ।पाण्डुलिपिमाथि हुने यस्ता टिप्पणीका कार्यक्रमहरु धेरै अर्थबाट उपयुक्त टहरिन्छ ।

यस्तो कार्यक्रम मकवानपुरमा पहिलो नै हुनुपर्छ । सम्भवत : देशमै यसरी कार्यक्रम भएको हामीलाई ज्ञात छ्रैन ।झरना साहित्यिक परिवारले छतिवनमा जन्मिनुभएको युवा कवि सुवास खनालको निकट भविष्यमा प्रकाशन हुन लागेको कवितासङ्ग्रहको पाण्डुलिपिमा साहित्य सङ्गम मकवानपुरको सभाहलमा २७ पुस २०७० मा अन्तरक्रिया कार्यक्रम ग¥यो । उनको प्रकाशोन्मुख कविता सङ्ग्रहमाथि विभिन्न  साहित्यकारहरुले टिप्पणी गरे । मकवानपुरको यो कार्यक्रमले अन्य जिल्लाका लागि पनि उदाहरण हुन सक्तछ ।



Saturday, January 18, 2014

सम्बृद्ध समाजलाई धन्यवादसहित ।

युवा साहित्यकार सुवास खनालसंग शनिबारीय साहित्य वार्ताः


सही ढङ्गले आएका सुझावलाई मनन गर्न यथासम्भव कोसिस गर्नेछु ।


एउटा उत्कृष्ट रचनाले नै साधारण व्यक्तिलाई साहित्यकारको परिचय दिलाउँछ । रचनाको उत्कृष्टता नै व्यक्तिको साहित्यिक परिचयको आधार पनि हो । रचना प्रकाशन भएपछि धेरै खाले टीकाटिप्पणी हुने गर्दछ । यस्तो टीकाटिप्पणीले साहित्यकारलाई उत्साहित र निरुत्साहित दुबै तुल्याउँछ । तर यस्तो आलोचना अग्रिम रुपमै पाउन सक्यो भने उसले आफूलाई पर्याप्त सुधार गर्न सक्छ । यस्तै अभ्यास पछिल्लो समय मकवानपुरमै सम्भवत : पहिलो पटक मकवानपुरका युवा साहित्यकार सुवास खनालले दुई साताअघि कवितासङ्ग्रहको तयारीस्वरुप आफ्नो विभिन्न समयमा प्रकाशित फुटकर साहित्यिक रचनालाई समीक्षात्मक टिप्पणी गराउनुभयो । उनै साहित्यकारसँग सम्बृद्ध समाजले गरेको साहित्य वार्ता ।

१) साहित्यमा प्रकाशनपूर्व अन्तरक्रियाको सोच कसरी आयो ? 
  •     हाम्रोतिर डिस्कसन कल्चर खासमा सम्वृद्ध भइसकेको छैन । पश्चिमा साहित्यमा यो चलन अलिक बढी छ । लेखनमात्र ठूलो कुरा होइन । त्यसको सामाजिक प्रभाव सबैभन्दा बलियो हुने गर्दछ । ‘लेख्यो सकियो’ भन्ने पक्षमा खडा हुने केही लेखकहरु पनि छन् । तर म त्यस पक्षको लेखक होइन । रचनाको बृहत्तर पक्षको जानकारीपश्चात मात्र प्रकाशनमा गयो भने त्यो बढी उत्पादक रहला भन्ने मेरो विश्वास हो । म हचुवालेखनको विपक्षी लेखक हुँ । हाम्रोमा आफूले लेखेको सबै राम्रो, संसारको सबैभन्दा सुन्दर ठान्ने र अरुको लेखनलाई स्विकार्न नसक्ने तथा अलिक आलोचनात्मक टिप्पणी सहन नसक्ने । त्यस्तै एउटा झुन्डमा बसेर एकले अर्कोको प्रशंशा गर्ने र सारा लेखन नै ध्वस्त पार्ने अभियानमा छन् । लेखक आफू नै एक किसिमको सचेत समीक्षक त हो नै तर ऊ पनि धेरै ठाउँमा लिकेजमा पर्न सक्छ । त्यसैले उसले आफूलाई पाठकको अदालतमा त उसले उभ्याउनु नै छ । म नार्सिससहरु भन्दा अलिक फरक बन्ने प्रयत्न भने गरेकै हो । मैले अन्तरक्रिया कार्यक्रमकै दिन फेसबुक सामाजिक संजालमा पनि स्विकारेको छु कि म लार्भा अवस्थामा छु ,लार्भाको विकासपछि बन्ने लामखुटटे हुनु मेरो रहर होइन, म पुतली वा रेशमकीरा हुन चाहन्छु । यसर्थ यो प्रयासमा होमिएको हुँ । यो मलाई थाहा छ कि फूलको अर्थ र महत्व बुझ्न सर्वप्रथम काँडाको सौन्दर्यशास्त्र बुझ्न जरुरी छ । यथार्थताका विभिन्न काँडाघारी छिचोलेपछि मात्रै जीवनका सुन्दर रहस्यहरुमाझ पुग्न सकिन्छ । यी सबै विचारहरुको समष्टिगत परणिाम नै यो कार्यक्रम थियो ।
२) यसले तपाईको साहित्य रचनालाई कस्तो प्रभाव पार्न सक्छ ?

  •     मानिसले स्विकार्ने त्यही पक्ष हो , जुन उसलाई मनन योग्य लाग्दछ । मनन नभएका कुरा उसले स्विकार गरिरहन्छ भन्ने होइन । इनफोर्स गरियो भने, विषय मानिसको छालाका रौँहरुमा टासिएर त्यो त्यत्तिकै टकटकिन सक्छ । यो व्यक्तिस्वभावमा फरक पर्न सक्दछ ।  मैले पनि त्यस कार्यक्रमबाट धेरै फिडब्याकहरु पाएको छु । करिब १० जना समीक्षकहरुले फरक फरक किसिमका सुझाब दिएका छन् । यस पक्षमा विचार विमर्श गर्ने नै छु । विचार विमर्शपश्चात् आफूलाई अनुभूत भएको सही पक्षलाई सुधार्न यथासम्भव कोसिस गर्नेछु । यो  विचार विमर्शपश्चात मैले धेरै सुझावहरु प्राप्त गरेको छु । कतिपय त समीक्षकहरुसँग बसेर गफ गर्न नै बाँकी छ । समग्रमा यो विमर्शको प्रभाव मेरो साहित्यिक लेखनीमा निकै सकारात्मक रहने अनुभूत गरेको छु । मानिस आफैलाई प्रतिक्रियात्मक दृष्टिकोणले हेर्न मनाही गर्छ । मेरो दृष्टिमा त्यो जत्ति भयानक र खतरनाक नकारात्मक पक्ष केही हुने छैन । विद्वान समीक्षकहरुले जुन सुझाव प्रदान गर्नुभएको छ मेरा निम्ति त्यो निकै  महत्वपूर्ण र अर्थयुक्त छ । समग्रमा ममा यसको प्रभाव उत्पादक नै छ ।
 ३) यो साहित्यमा नयाँ प्रयोग पनि हो नि ?

  •  म नयाँ भन्दैमा त्यसलाई अचम्म र जादुइ दृष्टिकोण चढाइहाल्नु पर्छ भन्ने पक्षमा रहेको व्यक्ति होइन । तर प्रभावमूलक नयाँ पक्ष आयो भने स्विकार्नु पर्छ भन्ने मान्छे हुँ । खासमा यो नयाँ कुरा होइन र हेटौँडा वा नेपालको सन्दर्भमा भने अलिक नयाँ हुन पुगेको अवस्था रहला । अनौपचारिक रुपमै भएपनि लेखकहरु प्रकाशनपूर्व अन्तरक्रियामा त हुन्छन् नै तर औपचारिक रुपमै यो प्रयास भने नौलो भएको हुन सक्दछ । म यहाँ पाठक तथा सचेत वर्गमा यो आग्रह गर्दछु कि नयाँ भन्दा महत्वका दृष्टिले बढी प्राथमिकतामा रहन सक्यो भने त्यो महत्तम र उपयुक्त ठहर्दछ ।
४) अन्तरक्रियाबाट तपाइलाई उत्साहित बनाउने र निरुत्साहित पनि पार्न सक्ने कस्ता प्रतिक्रियाहरु आए ?
  • मलाई त सबै दृष्टिकोणबाट उत्साहपूर्ण बनाउने प्रतिकृया नै आएको अनुभूति भयो । यदी समीक्षकहरुमा दुराग्रहको कुनै पारो रहेछ भने त्यो त असत्य रहने नै भयो । त्यसले मलाई त्यत्ति हानी पु¥याउँदैन । म त एकदमै उत्साहित छु । मैले अझै सुध्रिनु छ र आफैँलाई अझै धेरै समीक्षात्मक दृष्टिकोणले हेर्नु जरुरी छ भन्ने अनुभूति गराएको छ । रोबर्ट फ्रस्टले धेरै समय पहिले नै भनिसकेका छन् –‘एन्ड माइल्स टु गो बिफोर आइ स्लिप’। बास्तवमा हरेक लेखकको वर्तमानभन्दा भविष्य अत्यन्त अति सुन्दर हुन्छ किनकी यिनीहरु भविष्यको आकाङ्क्षी हुन् । म त कुनै पनि ढङ्गबाट निरुत्साहित तुल्याउने प्रतिक्रिया आएको नै देख्दिनँ । यो संसारका कुनै मानिस पूर्ण छैनन् । हरेकको गति पूर्णतातिर हुन्छ तर पूर्णताको प्रतिबिम्बन कुनै मानिसको अनुहारमा टाँसिन सम्भव हुँदैन ।
५) यस्तो अभ्यासले निरन्तरता पाउन सक्छ ?

  •    त्यो त मैले ग्यारेन्टी गर्ने कुरा रहेन । लेखकमा यस्तो प्रकृयामा जान थोर बहुत साहस त चाहिन्छ नै । जो कोही यसरी उभिएको त्यत्ति अनुभूत हुन्न तर चेतनशील र लेखनप्रति विश्वास भएका लेखकका निम्ति यो त्यत्ति चुनौतिपूर्ण छैन । लेखकीय इमान्दिारिता भएका सर्जकहरु यसरी उभिनु पर्छ भन्ने मेरो आग्रह हो ।  मकवानपुर जिल्ला साहित्यका निम्ति सचेत जिल्ला बन्दै गइरहेको सबैले अनुभूत गरिरहेका छन् । मकवानपुरको साहित्यिक परम्परा र संस्कृति त्यत्ति निरीह छैन । विरागजस्ता विराट प्रतिभाले साहित्यिक सिञ्चन गरेको जिल्ला हो यो । समकालीन पुस्ताका तुल्सी थापा, आर. आर. चौलागाईँ , आर. सी. रिजाल,साम्ब ढकाल, निमेष निखिल, लगायत सर्जकहरु सचेत लेखकहरु हुन् । हामी हाम्रो विगत र वर्तमानसँग गौरव गर्न लायक  छौँ । हामीमा हिनताको कुनै बिउ रोप्नु जरुरी छैन । यो अभ्यासले निरन्तरता पाउनु नै न्यायोचित हुन्छ । सचेतताको प्रयासलाई त निरन्तरता दिनु नै ठीक होला नि होइन ? निरन्तरता हुनु र नहुनुसँग मेरो आफ्नो व्यक्तिगत गुनासो रहेन तर हामी कतिपय कवि लेखकहरु पाठकीय सोचलाई गुमराहमा पार्ने र आफू स्वघोषित नायकमा रुपान्तर हुन खोज्ने प्रवृत्ति हावी छ , त्यो मेरो दृष्टिकोणमा खलनायकी मात्र हो । पर्याप्त विचार विमर्शलेनै तात्विक कुनै परिणाम प्राप्त हुनसक्छ ।


६) यस्तो अभ्यासले निरन्तरता पाउनुपर्छ भन्ने आधारहरु के के छन् ?
  •  लेखन र व्यवहारबीचको ग्यापलाई मेन्टेन गर्न पनि यस्तो अभ्यास गर्नु जरुरी छ । यो अभ्यासले सधैँ उत्पादनमूलक परिणाम प्राप्त हुन्छ भन्ने होइन । तर विमर्शसमूह कस्तो रह्यो भन्ने कुराले यसमा पक्कै भूमिका खेल्दछ । विमर्शसमूह सही र चेतनशील रह्यो भने त्यसले केही परिणाम त अवश्य दिन्छ । कवि वा लेखक वक्तामात्र होइन । उसमा चेतनायुक्त मष्तिष्क र संवेदना बोकेको मन हुन जरुरी छ । रुढ कविको आवश्यकता कुनै पनि समय र परिस्थितिले अपेक्षा गर्दैन । डबल स्टान्डर्ड बोक्ने कवि लेखकहरुले हाम्रो साहित्य ध्वस्त पारेका छन् । हाम्रा कवि लेखकहरु धेरै खोक्छन् तर व्यवहारमा सर्वाधिक कमजोर छन् । संस्कृतमा एउटा भनाइ छ –‘वादेवादे जाएते तत्वबोध’ क्रिया प्रतिक्रियाबाट नै निष्कर्ष निस्किन्छ । यो सत्य हो कि यहाँ दूधले नहाएका हामी कोही छैनौँ ।
७) मकवानपुरको साहित्यले अहिलेको समाजको कुन पक्षलाई बढी ध्यान पुयाउन सकेको जस्तो लाग्छ ?
  •    मकवानपुरको साहित्यमा पुस्ता हस्तान्तरण पनि एक किसिमको आवश्यकता हो । नयाँ पुस्ताले आफूभन्दा अग्रज पुस्तालाई सम्मानको दृष्टिले हेर्नु जरुरी छ र अग्रज पुस्ताले नयाँ पुस्तालाई मायाँ र प्रेमको दृष्टिले हेर्नु जरुरी छ । यहाँ अन्य सबै पक्ष सबल रहे पनि एक अर्काप्रति सम्मानभाव कम देख्दछु । साहित्यले गर्ने समाजका विविध पक्षहरुको कनेक्सन हो त्यसमा मकवानपुरको साहित्य सफल छ । यहाँ उस्तो भेलबाढीजस्तो जमात छैन । जसजसले लेख्छन् ती सचेत प्रयासका साथ छन् । अलिक समन्वयको भाव विकास गर्ने हो भने मकवानपुरको साहित्य कल्चरल्ली बढी सशक्त हुनेछ ।






Friday, January 3, 2014

commentry on the poetry of Nimesh Nikhil

उमेरको नदीमा जीवनडुङ्गा खियाइरहेका निखिल ।

सुवास खनाल

निमेष निखिल समकालीन पुस्तामा आफ्नो उपस्थितिको सशक्तता प्रस्तुत गरिरहेका कवि हुन् । यिनको परिचय एकल आयाममा सिमित छैन । लेखनका विविध विधामा उपस्थित यिनको कवि ,समीक्षक र सम्पादकको परिचय बढी बलियो छ । हालसम्म निखिलका दुई काव्यकृतिहरु प्रकासित छन् । ‘मनहरुको परिसर ( २०६५ ) र ‘उमेरको नदी ( २०७० )’ । आयामका हिसाबले ‘उमेरको नदी’ लामा कविताहरुको सङ्कलन भनिएको छ ।

अहिलेको विश्व बजारीकरण र भूमण्डिलिकरणले निलिरहेको विश्व हो । मान्छेका चाहनाहरुले उसलाई डो¥याउँदै लगेर यान्त्रिकताको जञ्जालमा फसाइदिएको छ ।  आत्मकेन्द्रित र संवेदनाशून्य हुनु अहिलेको मान्छेको प्रथम विशेषता बन्न पुगेको छ । निखिल आशाको त्यस्तो विन्दुमा छन् – जहाँ मान्छेमा सहृदयता र संवेदनशीलता बिउँझिनेछ । 

कविताको आयतन र आकारका विषयमा बहस गर्न सकिने कुरा रह्यो । कविता परम्परामा लामो कविताको त्यस्तो मानक आधार खडा भइसकेको छैन । कविता आयतन र आकारमा विश्लेषण हुने भन्दा पनि यसको सशक्तता महत्वपूर्ण हुन्छ र भाव सघनता कविताको अत्यन्त अपेक्षित पक्ष हो । विश्वप्रसिद्ध कविहरु तिनीहरुको कविताले सिर्जना गर्ने प्रभाव र तापले संसारभर स्थापित भएका हुन् न कि कविताको आयतनले । निखिलका कविताहरु लामा भएकाले राम्रा भएका होइनन् , राम्रा भईभई लामा छन् ।

‘उमेरको नदी ’ जुन कवितासङ्ग्रहको शीर्षक कविता पनि हो , निखिललाई यही कविताका कारण पाठकले भुल्न सक्ने छैनन् । ग्राम्यपरिवेशको सफल स्केच छ यस कवितामा र ग्राम्य जीवन भोगेका पाठकलाई नोस्टाल्जिक बनाइरहन्छ अन्तिम पङ्क्तिहरुसम्म ।

बाँसझ्याङबाट मकैबारीमा धावा बोल्ने रङ्गीन सुगाहरु
र फड्केमा अड्किएर झोक्राएको एउटा बाँसकटेरो
कोइराला र टाँकीका रुखमा पिङ खेल्ने समयको झङ्कार
एउटा मोहक सपना , निदाएका नानी आँखामा हाँसिरहेको
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।
                                                    पृष्ठ २, उमेरको नदी
निखिलका कविता दुर्बोध्य र जटील छैनन् ,सरल तर बोधगम्य लाग्छन् । आशाको सबल प्रस्तुती उनको कविताको शक्तिशाली पक्ष हो । अहिलेको समय र हाम्रो परिवेश आशाको लागि उति योग्य बनिरहेको छैन । यस्तो विषम घडीमा उभेर पनि उनी निरन्तर सुसमयको आकाङ्क्षी छन् । निखिलका कविता त्यसकारण पनि सशक्त छन् ।

कवि निखिल मान्छे र मानवतापे्रमी लेखक हुन् । उनका कविताका मूल मर्महरुमा मान्छे र मान्छेभित्रको सौन्दर्य खोज बढी प्रतिबिम्बित हुन्छन् । कवितामा मन पक्ष र मष्तिष्क पक्षको उचित संयोजन गराउने निखिल कवितालाई मनोविलासमात्र मान्नेहरुको विपक्षमा उत्रिन्छन् र कविको सामाजिक दायित्वप्रति सजग रहेको देखिन्छन् ।

यस सङ्ग्रहभित्र पन्ध्र लामा कविताहरु छन् । त्यसअन्तर्गत तीन अकविता श्रेणी छन् । यी कविताहरु लामा हुनुले क्रमभङ्गता पनि हुँदो रहेछ । भत्किँदै ,जोडिँदै गर्दा बेलाका बिम्बस्वरुपहरु मोहक अनुभूत भइदिँदा रहेछन् ।

कवि श्यामल भन्छन् –निखिल लेखनमा प्रतिबद्ध कवि हुन् , शालीन, भावुक, स्वयम् परिश्रमी र अरुका परिश्रममा विश्वास गर्ने ,मानवीय दृष्टिसम्पन्न र त्यस्तै दृष्टिका आकाङ्क्षी  कवि हुन् । निखिलका व्यक्तिस्वभाव पनि कवितामा प्रतिबिम्बन हुने गरेको अनुभूति हुन्छ ।

मान्छे खोला भएर बग्न सक्छ आत्मियताको
मान्छे पर्वत भएर अग्लिन सक्छ मानवताको
आत्मियता र मानवताले कसैको कुभलो गर्खैन
त्यसो भए मान्छे खोला किन नबन्ने ? पर्वत किन नबन्ने ?

                                                पृष्ठ ४९, मान्छे कविता
समकालीन चेत र काव्य सचेतता भएका कवि निखिलका कवितामा इकोकल्चरल पक्ष पनि सुदृढ भएर आउँदछ । अकविता सिरिजका कवितामा संरचनागत रुपमै प्रयोगपरकता देखिन्छ । कविहरु अन्याय र अत्याचारको विपक्षमा सधैँ टड्कारो उभिन्छन् । निखिलका कवितामा सवाल्टर्नका आवाजहरु आएका छन् ।

सर्टिफिकेट छैन ऊसँग
तर जीवनको असङ्ख्य अक्करे भीर छिचोल्ने
अर्को अघोषित हिलारी पनि हो साइँलो
लेकबेसी चहारेर जीवन अन्वेषण गर्ने कोलम्बस हो साइँलो

                                                   पृष्ठ ९५, दु :खका सुसेली
निखिलका कवितामा धेरै सबल पक्षहरु हुँदाहुँदै पनि उनका कवितामा केही सिमितताहरु छन् । भावगत पुनरावृत्तिबाट उनका केही कविताहरु बच्न सकेका छैनन् । कवितामा भाव सघनता विशष्ट पक्ष बनेर आउँछ तर यस सङ्ग्रहका केही कविताहरु सघन बन्न सकेका छैनन् । कविताकृति हतारमा निकालिएजस्तो र कागज गुणस्तरमा ध्यान नपुगेको अवस्था देखिन्न ।

क्रमश :  कवितात्मक उचाइ लिइरहेका निमेष निखिललाई टपमोस्ट फिगरका निम्ति काव्यिक भविष्यको शुभकामना ।


सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog