Saturday, January 18, 2014

सम्बृद्ध समाजलाई धन्यवादसहित ।

युवा साहित्यकार सुवास खनालसंग शनिबारीय साहित्य वार्ताः


सही ढङ्गले आएका सुझावलाई मनन गर्न यथासम्भव कोसिस गर्नेछु ।


एउटा उत्कृष्ट रचनाले नै साधारण व्यक्तिलाई साहित्यकारको परिचय दिलाउँछ । रचनाको उत्कृष्टता नै व्यक्तिको साहित्यिक परिचयको आधार पनि हो । रचना प्रकाशन भएपछि धेरै खाले टीकाटिप्पणी हुने गर्दछ । यस्तो टीकाटिप्पणीले साहित्यकारलाई उत्साहित र निरुत्साहित दुबै तुल्याउँछ । तर यस्तो आलोचना अग्रिम रुपमै पाउन सक्यो भने उसले आफूलाई पर्याप्त सुधार गर्न सक्छ । यस्तै अभ्यास पछिल्लो समय मकवानपुरमै सम्भवत : पहिलो पटक मकवानपुरका युवा साहित्यकार सुवास खनालले दुई साताअघि कवितासङ्ग्रहको तयारीस्वरुप आफ्नो विभिन्न समयमा प्रकाशित फुटकर साहित्यिक रचनालाई समीक्षात्मक टिप्पणी गराउनुभयो । उनै साहित्यकारसँग सम्बृद्ध समाजले गरेको साहित्य वार्ता ।

१) साहित्यमा प्रकाशनपूर्व अन्तरक्रियाको सोच कसरी आयो ? 
  •     हाम्रोतिर डिस्कसन कल्चर खासमा सम्वृद्ध भइसकेको छैन । पश्चिमा साहित्यमा यो चलन अलिक बढी छ । लेखनमात्र ठूलो कुरा होइन । त्यसको सामाजिक प्रभाव सबैभन्दा बलियो हुने गर्दछ । ‘लेख्यो सकियो’ भन्ने पक्षमा खडा हुने केही लेखकहरु पनि छन् । तर म त्यस पक्षको लेखक होइन । रचनाको बृहत्तर पक्षको जानकारीपश्चात मात्र प्रकाशनमा गयो भने त्यो बढी उत्पादक रहला भन्ने मेरो विश्वास हो । म हचुवालेखनको विपक्षी लेखक हुँ । हाम्रोमा आफूले लेखेको सबै राम्रो, संसारको सबैभन्दा सुन्दर ठान्ने र अरुको लेखनलाई स्विकार्न नसक्ने तथा अलिक आलोचनात्मक टिप्पणी सहन नसक्ने । त्यस्तै एउटा झुन्डमा बसेर एकले अर्कोको प्रशंशा गर्ने र सारा लेखन नै ध्वस्त पार्ने अभियानमा छन् । लेखक आफू नै एक किसिमको सचेत समीक्षक त हो नै तर ऊ पनि धेरै ठाउँमा लिकेजमा पर्न सक्छ । त्यसैले उसले आफूलाई पाठकको अदालतमा त उसले उभ्याउनु नै छ । म नार्सिससहरु भन्दा अलिक फरक बन्ने प्रयत्न भने गरेकै हो । मैले अन्तरक्रिया कार्यक्रमकै दिन फेसबुक सामाजिक संजालमा पनि स्विकारेको छु कि म लार्भा अवस्थामा छु ,लार्भाको विकासपछि बन्ने लामखुटटे हुनु मेरो रहर होइन, म पुतली वा रेशमकीरा हुन चाहन्छु । यसर्थ यो प्रयासमा होमिएको हुँ । यो मलाई थाहा छ कि फूलको अर्थ र महत्व बुझ्न सर्वप्रथम काँडाको सौन्दर्यशास्त्र बुझ्न जरुरी छ । यथार्थताका विभिन्न काँडाघारी छिचोलेपछि मात्रै जीवनका सुन्दर रहस्यहरुमाझ पुग्न सकिन्छ । यी सबै विचारहरुको समष्टिगत परणिाम नै यो कार्यक्रम थियो ।
२) यसले तपाईको साहित्य रचनालाई कस्तो प्रभाव पार्न सक्छ ?

  •     मानिसले स्विकार्ने त्यही पक्ष हो , जुन उसलाई मनन योग्य लाग्दछ । मनन नभएका कुरा उसले स्विकार गरिरहन्छ भन्ने होइन । इनफोर्स गरियो भने, विषय मानिसको छालाका रौँहरुमा टासिएर त्यो त्यत्तिकै टकटकिन सक्छ । यो व्यक्तिस्वभावमा फरक पर्न सक्दछ ।  मैले पनि त्यस कार्यक्रमबाट धेरै फिडब्याकहरु पाएको छु । करिब १० जना समीक्षकहरुले फरक फरक किसिमका सुझाब दिएका छन् । यस पक्षमा विचार विमर्श गर्ने नै छु । विचार विमर्शपश्चात् आफूलाई अनुभूत भएको सही पक्षलाई सुधार्न यथासम्भव कोसिस गर्नेछु । यो  विचार विमर्शपश्चात मैले धेरै सुझावहरु प्राप्त गरेको छु । कतिपय त समीक्षकहरुसँग बसेर गफ गर्न नै बाँकी छ । समग्रमा यो विमर्शको प्रभाव मेरो साहित्यिक लेखनीमा निकै सकारात्मक रहने अनुभूत गरेको छु । मानिस आफैलाई प्रतिक्रियात्मक दृष्टिकोणले हेर्न मनाही गर्छ । मेरो दृष्टिमा त्यो जत्ति भयानक र खतरनाक नकारात्मक पक्ष केही हुने छैन । विद्वान समीक्षकहरुले जुन सुझाव प्रदान गर्नुभएको छ मेरा निम्ति त्यो निकै  महत्वपूर्ण र अर्थयुक्त छ । समग्रमा ममा यसको प्रभाव उत्पादक नै छ ।
 ३) यो साहित्यमा नयाँ प्रयोग पनि हो नि ?

  •  म नयाँ भन्दैमा त्यसलाई अचम्म र जादुइ दृष्टिकोण चढाइहाल्नु पर्छ भन्ने पक्षमा रहेको व्यक्ति होइन । तर प्रभावमूलक नयाँ पक्ष आयो भने स्विकार्नु पर्छ भन्ने मान्छे हुँ । खासमा यो नयाँ कुरा होइन र हेटौँडा वा नेपालको सन्दर्भमा भने अलिक नयाँ हुन पुगेको अवस्था रहला । अनौपचारिक रुपमै भएपनि लेखकहरु प्रकाशनपूर्व अन्तरक्रियामा त हुन्छन् नै तर औपचारिक रुपमै यो प्रयास भने नौलो भएको हुन सक्दछ । म यहाँ पाठक तथा सचेत वर्गमा यो आग्रह गर्दछु कि नयाँ भन्दा महत्वका दृष्टिले बढी प्राथमिकतामा रहन सक्यो भने त्यो महत्तम र उपयुक्त ठहर्दछ ।
४) अन्तरक्रियाबाट तपाइलाई उत्साहित बनाउने र निरुत्साहित पनि पार्न सक्ने कस्ता प्रतिक्रियाहरु आए ?
  • मलाई त सबै दृष्टिकोणबाट उत्साहपूर्ण बनाउने प्रतिकृया नै आएको अनुभूति भयो । यदी समीक्षकहरुमा दुराग्रहको कुनै पारो रहेछ भने त्यो त असत्य रहने नै भयो । त्यसले मलाई त्यत्ति हानी पु¥याउँदैन । म त एकदमै उत्साहित छु । मैले अझै सुध्रिनु छ र आफैँलाई अझै धेरै समीक्षात्मक दृष्टिकोणले हेर्नु जरुरी छ भन्ने अनुभूति गराएको छ । रोबर्ट फ्रस्टले धेरै समय पहिले नै भनिसकेका छन् –‘एन्ड माइल्स टु गो बिफोर आइ स्लिप’। बास्तवमा हरेक लेखकको वर्तमानभन्दा भविष्य अत्यन्त अति सुन्दर हुन्छ किनकी यिनीहरु भविष्यको आकाङ्क्षी हुन् । म त कुनै पनि ढङ्गबाट निरुत्साहित तुल्याउने प्रतिक्रिया आएको नै देख्दिनँ । यो संसारका कुनै मानिस पूर्ण छैनन् । हरेकको गति पूर्णतातिर हुन्छ तर पूर्णताको प्रतिबिम्बन कुनै मानिसको अनुहारमा टाँसिन सम्भव हुँदैन ।
५) यस्तो अभ्यासले निरन्तरता पाउन सक्छ ?

  •    त्यो त मैले ग्यारेन्टी गर्ने कुरा रहेन । लेखकमा यस्तो प्रकृयामा जान थोर बहुत साहस त चाहिन्छ नै । जो कोही यसरी उभिएको त्यत्ति अनुभूत हुन्न तर चेतनशील र लेखनप्रति विश्वास भएका लेखकका निम्ति यो त्यत्ति चुनौतिपूर्ण छैन । लेखकीय इमान्दिारिता भएका सर्जकहरु यसरी उभिनु पर्छ भन्ने मेरो आग्रह हो ।  मकवानपुर जिल्ला साहित्यका निम्ति सचेत जिल्ला बन्दै गइरहेको सबैले अनुभूत गरिरहेका छन् । मकवानपुरको साहित्यिक परम्परा र संस्कृति त्यत्ति निरीह छैन । विरागजस्ता विराट प्रतिभाले साहित्यिक सिञ्चन गरेको जिल्ला हो यो । समकालीन पुस्ताका तुल्सी थापा, आर. आर. चौलागाईँ , आर. सी. रिजाल,साम्ब ढकाल, निमेष निखिल, लगायत सर्जकहरु सचेत लेखकहरु हुन् । हामी हाम्रो विगत र वर्तमानसँग गौरव गर्न लायक  छौँ । हामीमा हिनताको कुनै बिउ रोप्नु जरुरी छैन । यो अभ्यासले निरन्तरता पाउनु नै न्यायोचित हुन्छ । सचेतताको प्रयासलाई त निरन्तरता दिनु नै ठीक होला नि होइन ? निरन्तरता हुनु र नहुनुसँग मेरो आफ्नो व्यक्तिगत गुनासो रहेन तर हामी कतिपय कवि लेखकहरु पाठकीय सोचलाई गुमराहमा पार्ने र आफू स्वघोषित नायकमा रुपान्तर हुन खोज्ने प्रवृत्ति हावी छ , त्यो मेरो दृष्टिकोणमा खलनायकी मात्र हो । पर्याप्त विचार विमर्शलेनै तात्विक कुनै परिणाम प्राप्त हुनसक्छ ।


६) यस्तो अभ्यासले निरन्तरता पाउनुपर्छ भन्ने आधारहरु के के छन् ?
  •  लेखन र व्यवहारबीचको ग्यापलाई मेन्टेन गर्न पनि यस्तो अभ्यास गर्नु जरुरी छ । यो अभ्यासले सधैँ उत्पादनमूलक परिणाम प्राप्त हुन्छ भन्ने होइन । तर विमर्शसमूह कस्तो रह्यो भन्ने कुराले यसमा पक्कै भूमिका खेल्दछ । विमर्शसमूह सही र चेतनशील रह्यो भने त्यसले केही परिणाम त अवश्य दिन्छ । कवि वा लेखक वक्तामात्र होइन । उसमा चेतनायुक्त मष्तिष्क र संवेदना बोकेको मन हुन जरुरी छ । रुढ कविको आवश्यकता कुनै पनि समय र परिस्थितिले अपेक्षा गर्दैन । डबल स्टान्डर्ड बोक्ने कवि लेखकहरुले हाम्रो साहित्य ध्वस्त पारेका छन् । हाम्रा कवि लेखकहरु धेरै खोक्छन् तर व्यवहारमा सर्वाधिक कमजोर छन् । संस्कृतमा एउटा भनाइ छ –‘वादेवादे जाएते तत्वबोध’ क्रिया प्रतिक्रियाबाट नै निष्कर्ष निस्किन्छ । यो सत्य हो कि यहाँ दूधले नहाएका हामी कोही छैनौँ ।
७) मकवानपुरको साहित्यले अहिलेको समाजको कुन पक्षलाई बढी ध्यान पुयाउन सकेको जस्तो लाग्छ ?
  •    मकवानपुरको साहित्यमा पुस्ता हस्तान्तरण पनि एक किसिमको आवश्यकता हो । नयाँ पुस्ताले आफूभन्दा अग्रज पुस्तालाई सम्मानको दृष्टिले हेर्नु जरुरी छ र अग्रज पुस्ताले नयाँ पुस्तालाई मायाँ र प्रेमको दृष्टिले हेर्नु जरुरी छ । यहाँ अन्य सबै पक्ष सबल रहे पनि एक अर्काप्रति सम्मानभाव कम देख्दछु । साहित्यले गर्ने समाजका विविध पक्षहरुको कनेक्सन हो त्यसमा मकवानपुरको साहित्य सफल छ । यहाँ उस्तो भेलबाढीजस्तो जमात छैन । जसजसले लेख्छन् ती सचेत प्रयासका साथ छन् । अलिक समन्वयको भाव विकास गर्ने हो भने मकवानपुरको साहित्य कल्चरल्ली बढी सशक्त हुनेछ ।






सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog