Friday, January 3, 2014

commentry on the poetry of Nimesh Nikhil

उमेरको नदीमा जीवनडुङ्गा खियाइरहेका निखिल ।

सुवास खनाल

निमेष निखिल समकालीन पुस्तामा आफ्नो उपस्थितिको सशक्तता प्रस्तुत गरिरहेका कवि हुन् । यिनको परिचय एकल आयाममा सिमित छैन । लेखनका विविध विधामा उपस्थित यिनको कवि ,समीक्षक र सम्पादकको परिचय बढी बलियो छ । हालसम्म निखिलका दुई काव्यकृतिहरु प्रकासित छन् । ‘मनहरुको परिसर ( २०६५ ) र ‘उमेरको नदी ( २०७० )’ । आयामका हिसाबले ‘उमेरको नदी’ लामा कविताहरुको सङ्कलन भनिएको छ ।

अहिलेको विश्व बजारीकरण र भूमण्डिलिकरणले निलिरहेको विश्व हो । मान्छेका चाहनाहरुले उसलाई डो¥याउँदै लगेर यान्त्रिकताको जञ्जालमा फसाइदिएको छ ।  आत्मकेन्द्रित र संवेदनाशून्य हुनु अहिलेको मान्छेको प्रथम विशेषता बन्न पुगेको छ । निखिल आशाको त्यस्तो विन्दुमा छन् – जहाँ मान्छेमा सहृदयता र संवेदनशीलता बिउँझिनेछ । 

कविताको आयतन र आकारका विषयमा बहस गर्न सकिने कुरा रह्यो । कविता परम्परामा लामो कविताको त्यस्तो मानक आधार खडा भइसकेको छैन । कविता आयतन र आकारमा विश्लेषण हुने भन्दा पनि यसको सशक्तता महत्वपूर्ण हुन्छ र भाव सघनता कविताको अत्यन्त अपेक्षित पक्ष हो । विश्वप्रसिद्ध कविहरु तिनीहरुको कविताले सिर्जना गर्ने प्रभाव र तापले संसारभर स्थापित भएका हुन् न कि कविताको आयतनले । निखिलका कविताहरु लामा भएकाले राम्रा भएका होइनन् , राम्रा भईभई लामा छन् ।

‘उमेरको नदी ’ जुन कवितासङ्ग्रहको शीर्षक कविता पनि हो , निखिललाई यही कविताका कारण पाठकले भुल्न सक्ने छैनन् । ग्राम्यपरिवेशको सफल स्केच छ यस कवितामा र ग्राम्य जीवन भोगेका पाठकलाई नोस्टाल्जिक बनाइरहन्छ अन्तिम पङ्क्तिहरुसम्म ।

बाँसझ्याङबाट मकैबारीमा धावा बोल्ने रङ्गीन सुगाहरु
र फड्केमा अड्किएर झोक्राएको एउटा बाँसकटेरो
कोइराला र टाँकीका रुखमा पिङ खेल्ने समयको झङ्कार
एउटा मोहक सपना , निदाएका नानी आँखामा हाँसिरहेको
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।
                                                    पृष्ठ २, उमेरको नदी
निखिलका कविता दुर्बोध्य र जटील छैनन् ,सरल तर बोधगम्य लाग्छन् । आशाको सबल प्रस्तुती उनको कविताको शक्तिशाली पक्ष हो । अहिलेको समय र हाम्रो परिवेश आशाको लागि उति योग्य बनिरहेको छैन । यस्तो विषम घडीमा उभेर पनि उनी निरन्तर सुसमयको आकाङ्क्षी छन् । निखिलका कविता त्यसकारण पनि सशक्त छन् ।

कवि निखिल मान्छे र मानवतापे्रमी लेखक हुन् । उनका कविताका मूल मर्महरुमा मान्छे र मान्छेभित्रको सौन्दर्य खोज बढी प्रतिबिम्बित हुन्छन् । कवितामा मन पक्ष र मष्तिष्क पक्षको उचित संयोजन गराउने निखिल कवितालाई मनोविलासमात्र मान्नेहरुको विपक्षमा उत्रिन्छन् र कविको सामाजिक दायित्वप्रति सजग रहेको देखिन्छन् ।

यस सङ्ग्रहभित्र पन्ध्र लामा कविताहरु छन् । त्यसअन्तर्गत तीन अकविता श्रेणी छन् । यी कविताहरु लामा हुनुले क्रमभङ्गता पनि हुँदो रहेछ । भत्किँदै ,जोडिँदै गर्दा बेलाका बिम्बस्वरुपहरु मोहक अनुभूत भइदिँदा रहेछन् ।

कवि श्यामल भन्छन् –निखिल लेखनमा प्रतिबद्ध कवि हुन् , शालीन, भावुक, स्वयम् परिश्रमी र अरुका परिश्रममा विश्वास गर्ने ,मानवीय दृष्टिसम्पन्न र त्यस्तै दृष्टिका आकाङ्क्षी  कवि हुन् । निखिलका व्यक्तिस्वभाव पनि कवितामा प्रतिबिम्बन हुने गरेको अनुभूति हुन्छ ।

मान्छे खोला भएर बग्न सक्छ आत्मियताको
मान्छे पर्वत भएर अग्लिन सक्छ मानवताको
आत्मियता र मानवताले कसैको कुभलो गर्खैन
त्यसो भए मान्छे खोला किन नबन्ने ? पर्वत किन नबन्ने ?

                                                पृष्ठ ४९, मान्छे कविता
समकालीन चेत र काव्य सचेतता भएका कवि निखिलका कवितामा इकोकल्चरल पक्ष पनि सुदृढ भएर आउँदछ । अकविता सिरिजका कवितामा संरचनागत रुपमै प्रयोगपरकता देखिन्छ । कविहरु अन्याय र अत्याचारको विपक्षमा सधैँ टड्कारो उभिन्छन् । निखिलका कवितामा सवाल्टर्नका आवाजहरु आएका छन् ।

सर्टिफिकेट छैन ऊसँग
तर जीवनको असङ्ख्य अक्करे भीर छिचोल्ने
अर्को अघोषित हिलारी पनि हो साइँलो
लेकबेसी चहारेर जीवन अन्वेषण गर्ने कोलम्बस हो साइँलो

                                                   पृष्ठ ९५, दु :खका सुसेली
निखिलका कवितामा धेरै सबल पक्षहरु हुँदाहुँदै पनि उनका कवितामा केही सिमितताहरु छन् । भावगत पुनरावृत्तिबाट उनका केही कविताहरु बच्न सकेका छैनन् । कवितामा भाव सघनता विशष्ट पक्ष बनेर आउँछ तर यस सङ्ग्रहका केही कविताहरु सघन बन्न सकेका छैनन् । कविताकृति हतारमा निकालिएजस्तो र कागज गुणस्तरमा ध्यान नपुगेको अवस्था देखिन्न ।

क्रमश :  कवितात्मक उचाइ लिइरहेका निमेष निखिललाई टपमोस्ट फिगरका निम्ति काव्यिक भविष्यको शुभकामना ।


सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog