Friday, March 7, 2014

थाहा एफ एम तथा रेडीयो नेपालको उद्गार कार्यक्रममा प्रसारित

कविता

सन्दर्भ : विचार /आत्मलाप

  • सुवास खनाल

प्रश्न : कविजी तिम्रो कवितामा विचारका हाँगाहरू कहाँ छन् ?
उत्तर : विचार के हो ?
प्रश्न : कविजी तिम्रो कविताको छेउ र टुप्पो कहाँ छ ?
उत्तर : छेउ र टुप्पो, के को कहाँ हुन्छ ?
प्रश्न : कविजी तिम्रो भविष्यआँकलन , भविष्यइच्छा खोई ?
उत्तर :  त्यो भविष्य रहरको गुच्चा हो ? वर्तमान सही बाँच ।

विचारमा प्रष्ट छु
गोहीका दाँतहरु गाडेर विचारमा
प्राप्तिको क्याक्टस फुल्नु छैन

यहाँ
विचारहरू विचारहरूमा मात्र बाँचे बिचरा विचारहरू

मलाई व्यवहारको रङ्गीन मौसम मनपर्छ
जहाँ गाडियोस् विचारको जरा
मलाई यथार्थको विपनामा ज्युनु छ
जहाँ उम्रियोस् चेतनाको सुनाखरी

प्रश्न : कविजी जिन्दगी के हो ?
उत्तर : जिन्दगी के होइन ?
प्रश्न : कविजी कविता के हो ?
उत्तर : कविता के होइन ?
प्रश्न : कविजी तपाइँ उभिनु भएको छ ?
उत्तर : म अभिएको छु । आफ्ना विचारका जराहरूमा टेकेर ।

म उभिन्छु ,सुत्दा, हिँड्दा, शौच गर्दा, खाँदा , नाच्दा ,संभोगमा, यावतमा
विचारका जराहरूमै टेकेर ।

खानु , विचारले विचार हो कि होइन ?
सुत्नु, विचारले विचार हो कि होइन ?
नाच्नु, संभोग गर्नु विचारले ,
अध्ययनरत हुनु विचारले,
यावत विचार हो कि होइन ?
सोच्छु–
यहीँ गाडिन्छ विचारको जरा र उठ्छ चेतनाको लहरा

ओढ्छु आफ्नो मनरङ्गी छाता
लाउँछु आफ्नो मनरङ्गी लुगा
बोक्छु आफ्नो मनरङ्गी झोला

छाता विचार हो कि होइन ?
पहिरन विचार हो कि होइन ?
झोला विचार हो कि होइन ?

हिँड्छु ईश्वरलाई ढाड फर्काएर
टक्टक्याउँछु मष्तिष्क र झार्छु धूलो

कहिलेकाहीँ
सम्झेर देशको क्रुर समय र त्यसको शासक
गर्छु आमचकारी गाली

यो विचार हो कि होइन ?

प्रश्न : कविजी तिमीसँग देशपे्रम कहाँ छ ?
उत्तर : देशप्रेम खल्तीमा बोक्ने रुमाल हो ? जुन देखाउँदै हिँड्न सकियोस् ।
प्रश्न : कविजी तिम्रो जिम्मेवारी कहाँ छ ?
उत्तर : जिम्मेवारी आवश्यकतामा निर्वाह हुन्छ ।
    यो होइन कि एफ.एम. मा विज्ञापन होस् ।

सडकमा देख्छु ब्युरोक्रेट्स बिम्ब
जब कुनै अव्यवस्थित सक्षम मानिस
बोकेर बिफरको अनुहार
केही माग्न खुट्टा ढोग्दै जोर्छ दुई हात

आहत हुन्छ मेरो विचार
कुनै नगरनायिकाको कोखमा
जब उम्रिन्छ दुस्वप्नझैँ नवपुस्ताको सभ्यता

जब देख्छु
नगदरामहरुले
हिर्काएको बचनको कटबाँसले श्रमिक सन्ते क. . . ख. . . ग. . .लाई
छोप्छ आवेगको आँधीले मन आकाश र धमिलिन्छ अनुहार

अनुहार धमिलिनू विचार हो कि होइन ?

लेख्छु कविता
कफीन बक्समा साटिएको अर्थराजनीतिको उल्टो धारमा
भन्छु / भनिरहन्छु –‘नालायक सरकार’
जबसम्म बिझ्छ देशको युवामा बेरोजगारीको खिल

महानायकको कोटको खल्तीमा
जबसम्म निदाउँछ कानून
बगिरहन सक्छ विचारको उल्टो नदी

जबसम्म सामथ्र्यको अनुहार थिचेर बनिरहन्छ
कुनै नायक नामको शालिक
तब त भत्किन्छ यसको शरीर

यहाँ
विचारहरू विचार हत्यामा मात्र संलग्न छन् विचरा विचारहरू

भो चाहिएन मलाई
दारुण मष्तिष्क खेतमा अर्थहीन फक्रिने
कुनै छद्मभेषी विचार

हुनुपर्ने
विचारका तहहरुमा उक्लेर
बाँचोस् मान्छेले विवेकी व्यवहार
उड्नुपर्ने
विचारको बगैँचादेखि अर्थयुक्त सुवास
डुल्नुपर्ने विचारको बोटमा फक्रिने फूलको सहरतिर रङ्गीचङ्गी पुतली
र विचारको आकाशमा
नहुनुपर्ने असिमित विभाजनका धर्काहरु

म त खोज्दैछु बिपना बिम्बका विचारहरु

प्रश्न : कविजी कविताको अन्त्य भयो ?
उत्तर : कविता सुरु मात्र हुने गर्दछ ।
 . . . . . . . . . . ।. . . . . . . . . . । . . . . . . . . . . । . . . . . . . ।

Sunday, March 2, 2014

सम्पादकीय

अक्षर साहित्यिक त्रैमासिक पत्रिका जुन व्यङ्ग्यकार आर. सी. रिजालको सम्पादन ,प्रकाशन , त्यस्तै कविहरु निमेष निखिल श्यामकुमार बानिँया सम्पादकका रुपमा रहेका छन् ,उक्त पत्रिकाको कार्तिक –पुष ,२०७० अङ्कमा  सम्पादकीय अक्षरश : मा मेरो आफ्नो प्रकाशोन्मुख कविताकृतिको पान्डुलिपि माथिको बहसबारे प्रकाशन भएको रहेछ ।यसका निम्ति पत्रिका परिवारलाई हार्दिक धन्यवादसहित यो सम्पादकीय ब्लगमा प्रकाशन गरेको छु ।

साहित्य सिर्जना सँगसँगै साहित्य सिर्जनामाथि बहसको सम्बृद्ध परम्परा विश्व साहित्यमा रही आएको छ । नेपाली साहित्यमा पनि त्यस्तो अभ्यास परम्परा रहँदै आएको छ । नेपाली साहित्यमा विशेषत : रचना प्रकाशनपश्चात् यस्ता अभ्यास हुने गरेको छ ।हिजोआज पुस्तकमाथि समीक्षा फेसनझैँ हुन थालेको छ । कतिपयले त पुस्तक प्रकाशनपछिको यस्तो अन्तरक्रिया वा भनौँ छलफल वा हल्लाखल्ला मच्चाउनु धेरै अर्थमा विज्ञापनबाजी र पुरस्कारको लालसा हो भन्ने पनि सुनिन थालेको छ ।

पश्चिमा जगतमा सम्पादक मण्डल तयार गरी वर्षौँसम्म पुस्तकमाथि समीक्षा गर्दै कमजोर पक्षलाई हटाउन पुनर्लेखन समेत गराउने जानकारी हुन्छ । महत्वका दृष्टिले पनि पुस्तक प्रकाशनपूर्व यस किसिमको अन्तरक्रिया हुनु ठीक ठहर्छ ।कारण कि पुस्तक प्रकाशन अगावै गरिएको यस्तो कार्यक्रमबाट आएको सुझावले लेखक कमजोर पक्ष हटाउन योग्य बन्दछ । यस्ता कार्यक्रमले पुस्तक प्रकाशन हुने सर्जकलाई मात्र नभई अन्य कवि लेखकहरुलाई पनि लेखनमा कस्ता कमजोरीहरु आउन सक्दा रहेछन् भन्ने जानकारी हुन्छ ।

हुन त लेखनमा लेखकले मनमा लागेको कुरा लेख्ने हो । यसले सबैको चित्त बुझाउन सक्छ भन्ने होइन ।तर पनि लेखक सामाजिक सदस्य हो र यही नाताले उसका सामाजिक उत्तरदायित्वहरु पनि हुने गर्दछन् ।लेखकीय मर्यादा र उत्तरदायित्व बोधमा भने यस किसिमको कार्यक्रम धेरै अर्थले उपर्युक्त ठहर्दछ ।धेरै समीक्षकले धेरै कोणबाट गरेको टिप्पणीले लेखकलाई फाइदा नै पु¥याउँछ ।

हाम्रोतिर समीक्षा पनि दुराग्रहको पारो चढेर आउने गरेको पाइन्छ । लेखकहरुमा यस्तो टिप्पणीलाई पत्तो पाउन सक्ने क्षमता विकास  हुनु जरुरी छ र त्यसबाट बच्दै लेखनको उत्कृष्टतालाई कायम गर्दै अघि बढ्नु जरुरी हुन्छ ।पाण्डुलिपिमाथि हुने यस्ता टिप्पणीका कार्यक्रमहरु धेरै अर्थबाट उपयुक्त टहरिन्छ ।

यस्तो कार्यक्रम मकवानपुरमा पहिलो नै हुनुपर्छ । सम्भवत : देशमै यसरी कार्यक्रम भएको हामीलाई ज्ञात छ्रैन ।झरना साहित्यिक परिवारले छतिवनमा जन्मिनुभएको युवा कवि सुवास खनालको निकट भविष्यमा प्रकाशन हुन लागेको कवितासङ्ग्रहको पाण्डुलिपिमा साहित्य सङ्गम मकवानपुरको सभाहलमा २७ पुस २०७० मा अन्तरक्रिया कार्यक्रम ग¥यो । उनको प्रकाशोन्मुख कविता सङ्ग्रहमाथि विभिन्न  साहित्यकारहरुले टिप्पणी गरे । मकवानपुरको यो कार्यक्रमले अन्य जिल्लाका लागि पनि उदाहरण हुन सक्तछ ।



सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog