Wednesday, September 24, 2014

Short review on Vicharko Ulto Nadi.

कविता कृति' विचारको उल्टो नदी'माथि कविहरुको धारणा ।



सुवास खनाल नयाँ नेपाली कविताको अनुहार खोज्न तल्लीन छन् । कविताको नयाँ भाषा गढ्ने क्रममा उनी मानिसको अन्तरलाई सुक्ष्मतर ढंगले चियाउने र पाठकको मस्तिष्कमा स्थायी प्रभाव उत्पन्न गर्ने अहं ध्येयमा छन् । दृष्टान्तका लागि ‘मेरो जीवनबोध’ शीर्षकको कवितालाई लिन सकिन्छ । मृत्युलाई उनी जीवनबोधी दृष्टिले हेर्छन् । यो मानवीय अहंबोध  कविताको अनिवार्य तत्व हो र कवि सुवासको कविताको आत्मा यसैमा निवास गर्दछ । इमान बेचेर कविको ताज किन्नमा उनी गम्भीर अरुचि प्रकट गर्छन् । सुवास खनाल कविहरूको त्यस छोटो पंक्तिमा उभिएका छन् जहाँ सामान्यतया औसत ‘कवि’हरू अर्थात् पूँजी, मानसम्मान र सत्ताका कमाराहरू उभिन सक्तैनन् । उनको कविताको सत्ता  यसर्थ सुन्दर र आकर्षक छ ।                                                                                                                                –श्यामल
 

सुवास भन्छन् –‘ शान्ति थियो र पो बुद्ध भए ।’ यस्ता अप्ठ्यारा कवि पनि बुद्धकै देशमा छन् । जसको टाउको वरिपरि जोन लेननको गीत गाउँदै कविताको गाइनेकीरो घुम्दछ । त्यसले एकसाथ ईश्वरको कुरुपता र बुद्धिमान माझीको लिङ्गको सुन्दरताको वर्णन गर्छ । यस्ता अराजक कविले हामीलाई सधैँ मीठो यातना दिन्छन् र झार हुनबाट जोगाउँछन् ।                                                                       –श्रवण मुकारुङ



  • म तिम्रो सुनको थालसँग
           कविता साट्ने छैन !

  •  बरू नलेखूँ एउटै कविता
         मलाई प्राणहीन कविता लेख्नु छैन !

कवि सुवासले आफ्ना कवितामा व्यक्त गरेका यी विचारहरू नै इमानदारी र आत्मसम्मानका प्रमाण हुन् । उनी आफू यान्त्रिक कविताको विपक्षमा छन् र कवितामा नयाँ अनुहार स्थापनार्थ  लागिरहेको जनाउ दिएका छन् । कवितामा आफूले आविष्कार गरेका पात्रहरूसँग सूक्ष्म विमर्श गर्दै ताजा सपनाका निर्माण गरिरहेका छन् । यी सपना नै उनका विचार हुन् ।
                    
                र उनी विचारको जरामा उभिएका कवि हुन् त्यसैले विचार नै उनका कविताहरूको –सबैभन्दा ठूलो सौन्दर्य र शक्ति हो ।                                                                                            –विप्लव ढकाल
                                           
 



सुवास खनाल समकालीन पुस्तामा कविताको ‘अफ् द बिट’ यात्रा मन पराउने प्रयोगसचेत कवि हुन् । उनी जाउलो कविता र मसलेदार कविताको मध्यमा कविताको स्थान तोकेर कविता यात्रामा सतत : हिँडिरहेछन् । विचारमा उनी बागी छन् , लोककल्याणकारी छन् र छन् –शैलीमा मौलिक । उनले कवितालाई ‘बिम्बहरूको उट्पट्याङ् चमत्कार’ को अतिमोहबाट पनि जोगाएका छन् । उनको काव्यिक गाम्भिर्यताले मलाई सदैव आकर्षित गर्दछ ।
                                                                                                                                  –भूपिन