Friday, December 26, 2014

विचारको उल्टो नदीमा पौडिँदा ।

कवि पुरुषोत्तम आचार्यले विचारको उल्टो नदीमाथि गर्नुभएको टिप्पणी ।

विचारको उल्टो नदीमा पौडिँदा ।
 
  • पुरुषोत्तम आचार्य

  • कविता बुद्धि विलास र आत्मिक प्रलापको माध्यम होइन । यो त जीवनको अन्तरघुलित लय हो भन्ने मान्यताका साथ पछिल्लो समय समकालीन नेपाली कविता यात्रामा हस्तक्षेपकारी उपस्थिति जनाइरहेका कवि सुवास खनालको भर्खरै बजारमा आएको कविताकृति ‘विचारको उल्टो नदी’ एक विचारोत्तेजक पठनीय कविता सङ्ग्रह हो । कुल त्रिचालिस वटा अलग अलग बान्की र वैचारिक वैशिष्ट्ययुक्त कविताले प्रवेश पाएको यस सङ्ग्रहका सम्पूर्ण कविताहरू गद्य लयमा संरचित छन् । एकाध कविता लघुत्तम आकारका मुक्तकीय संरचनामा ( नारा कविता : सहिदआत्मा ) रहेको भएपनि यस सङ्ग्रहका प्रायः सम्पूर्णत : कविता फुटकर वा लघु आकारका नै देखिन्छन् । विषय प्रकृतिका दृष्टिले आर्थिक, सामाजिक , राजनीतिक, दार्शनिक आदि विषयलाई यस सङ्ग्रहका कविताहरूले आधारसामग्री बनाएका छन् भने वैचारिक ओज र गहन भावले गर्दा सङ्ग्रहका प्राण पक्ष स्वस्थ बन्न पुगेका छन् ।
  • मूलत : श्रमजीवी वर्गपक्षधरतालाई मष्तिष्कको केन्द्रमा राखेर आफ्नो काव्यिक लेखनी अघि बढाउने कवि खनाल वर्तमान नेपाली समाजमा व्याप्त विकृति , विसङ्गति ,अन्याय , अत्याचार, अभाव, शोषण, दमन, उत्पीडन, आदिप्रति सचेत देखिन्छन् र त्यसको विरुद्धको सांस्कृतिक मोर्चामा सहभागी हुन चाहन्छन् । उनी आजको समयमा जीवनदायी खोजमा हराइरहेको मानिसको यथार्थ खोतल्न चाहन्छन् । विचारलाई बन्धनमा कैद गर्न खोज्ने प्रवृत्तिप्रति विद्रोही चेतनाको स्वर ओकेल्छन् । विकृत राजनीतिले निम्त्याएको निराशा र आक्रोशको चित्रण तथा राजनीतिकर्मीहरूको चरम उपभोक्तावादी चिन्तनप्रति व्यङ्ग्य गर्दै जनताको लागि कहिल्यै चुनाब आउन नसकेको यथार्थ उद्घाटन उनी गर्दछन् । ज्ञान गर्न सक्ने ज्ञानेन्द्रीय , कर्म गर्न सक्ने कर्मेन्द्रीय, दिशाबोध गर्न सक्ने मष्तिष्क भएर पनि ज्ञानहीन, कर्महीन र दिशाहीन भइरहेको अनुहारहीन मान्छेका अनुहारप्रति असन्तुष्टि र दिशाचेतको आग्रह गर्दै अवसरको तराजुमा चढिरहेको ह्रासोन्मुख मानवीय मूल्यप्रतिको चिन्ता उनका कवितामा प्रकट भएको देखिन्छ । उनी आफ्नो कवितामा वर्गीय रेखाले विभक्त गरेको चाडपर्वको फरक अनुभूति दर्शाउँदै गरिब र कमजोर वर्गप्रति सहानुभूति प्रकट गर्दछन् भने इमान , स्वअस्तित्व र स्वचेतनालाई कुनै अवसर र प्रतिष्ठासँग साट्न तयार नरहेको अहमबोधी स्वरसमेत सुनाउँछन् । सांस्कृतिक अश्लीलताभन्दा राजनीतिक विकृतिजन्य अश्लीलता ज्यादा भद्दा देखिँदै गइरहेको सन्दर्भ उल्लेख गर्दै युग परिवर्तन गर्न सबै आफैँ उठ्नुपर्ने जीवनदायी विचार उनका कविताका माध्यमबाट व्यक्त भएको छ ।
  • कुत्सित विचार र विद्रुपतालाई ढोँग र कृतिमताको छालाले छोपी हिँडेको वर्तमान युगको मान्छेप्रति व्यङ्ग्य गर्दै कवि आफैँले पनि जीवन छाम्न नसकिरहेको र भ्रमग्रन्थीमा कविता लेखिरहेकाप्रति पश्चात्ताप गर्दछन् । मानिसमा निराशा, शून्यता ,अभाव भएपनि अभावलाई गतिशीलताको जननीको रुपमा लिने आशावादी स्वरले कविको प्रगतिशीलतालाई उजागर गरेको छ । प्रेमलाई सर्वप्रिय जीवनकै अशं मान्ने कवि कहिले स्मृतिको अनेक दृश्यमा सम्मोहित हुन्छन् त कहिले सन्ततिमोहमा नतमस्तक बन्न पुग्छन् । उनी चेतनहीन, विचारहीन र मूल्यहीन जीवन बाँचिरहेका मान्छेलाई झारसँग तुलना गर्दै त्यस्ता झारहरू उखेल्नु पर्ने र अनिश्चयमा रुमल्लिरहेका देश र युग सपना तुहिरहेको समयलाई आशा र उज्यालोको मल्हम लगाउनु पर्ने आशावादी स्वर व्यक्त गर्दछन् । कवि खनाल पालिस लगाइएका रङ्गीन विचारभन्दा पसिना टल्किने सङ्घर्ष र व्यवहारमा देखिने विचार धेरै गाढा हुने धारणा राख्दछन् र जीवनसँग साक्षात्कार नहुने कुनै कर्मको अर्थ नहुने विचार समेत व्यक्त गर्दछन् । जसबाट कविको प्रगतिवादी स्वर प्रष्ट सुन्न सकिन्छ । कवि आदिम समयदेखि सभ्यता संस्कृति र आविष्कारको महायात्रामा यात्रारत मानिसको महत्ता गाउँदै निर्माणमानिसका लागि हुनुपर्ने र निर्माण विनाको ध्वंशको निरन्तरता अर्थहीन र अस्तित्वहीन हुने धारणा राख्दछन् ।
  • कवि खनालका कवितामा विभेदकारी राज्यव्यवस्थाले जन्माएको असमानता , अन्याय , अत्याचार, शोषण आदिको विरुद्धमा भुसको आगो झैँ  विद्रोहको आगो सल्किरहने क्रान्तिकारी स्वर प्रकट भएको देखिन्छ ।
जब रोकिन्छ रोटीको अभावमा
कुनै मजदुरको अनुहारको बत्ती
जब निभ्छ रोटी चामल नपाएरै
त्यहीँ सल्किन्छ
विद्रोहको दियो र समय थपिरहन्छ तेल
अनन्त अनन्तका लागि
                                पृ. ११२, रोटी
  • रोटी कविताको सन्दर्भ चित्रण अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध कोटेसन'An Empty stomach is not a good poetical adviser' अर्थात् ‘खाली पेटले कहिल्यै राम्रो राजनैतिक विषयको सल्लाह दिन सक्दैन’ भन्ने विषय सापेक्ष छ भन्ने अनुभूति हुन्छ ।

  • कवि देशभक्ति आत्मा र संस्कारमा हुनुपर्छ न कि ढोँग र अवसरका निम्ति भन्ने सन्देश ‘राष्ट्रप्रेम’ मार्फत दिन चाहन्छन् । त्यसैगरी जनमुक्ति र राष्ट्रमुक्तिमा लागेका महान योद्धाका हत्याराहरू नै सहिदको खेतीमा अग्रसर भइरहेको वर्तमान ढोँगी र विकृत परम्पराप्रति उनको कलमले व्यङ्ग्य प्रहार गरेको छ ।

  • कवि खनालको यस सङ्ग्रहका कवितामा देखिने वर्गीय प्रेम, विचारको दृढता, भाव सघनता, समय सचेतता, युग आकाङ्क्षा,बिम्ब र प्रतीकहरूको सार्थक र कलात्मक चयन तथा प्रयोग काव्यात्मक माधुर्य अन्तर्लय , सम्प्रेषणीयताजस्ता पक्षहरूले यस सङ्ग्रहलाई ओजपूर्ण बनाएका छन् भने ‘आदिम हावाको कथा’ जस्ता कविता अपेक्षाकृत जटील बन्न पुगेको देखिन्छ , जसले सम्प्रेषणीयतामा त्यत्ति सहजता आउन नसकेको जस्तो लाग्छ ।

  • गरिबी अभाव र समस्याले जीवन भत्किँदै गर्दा र पारिवारिक जीर्णताले जिन्दगी भत्किरहँदा छोरो हस्तमैथुनमा रहेको देखाउनुले कवितामा मामको भोक भन्दा कामको भोक माथि रहेकोजस्तो देखिन्छ । जुन त्यत्ति सङ्गतियुक्तजस्तो लाग्दैन । यस्तै कवि ‘जन्म एक दुर्घटना’ कवितामा वर्तमान समयमा यो देशमा जन्मनुलाई दुर्घटना मान्न पुग्छन् भने ‘नयाँ वर्ष’ कवितामा अभाव , निराशा , विकृति ,विसङ्गतिजस्ता समस्याले थला पारेको यो समयमा युग बदल्न सक्ने युग पुरुषको  जन्मको कामना गर्दछन् । यी दुई कविताको विचार पक्ष विरोधाभाष जस्तो देखिएको हुँदा यो कविता सङ्ग्रहको सुधारात्मक पक्ष बन्न पुगेको देखिन्छ ।

  • समगैमा भन्नु पर्दा कवि सुवास खनाल युगसचेत र समाजसचेत कवि हुन् । गरिबी र अभावको मुक्का प्रहारले तल धस्सिइरहेको समाजको पीडामा  उनी आफैँ चिमोटिएको महसुस गर्दछन् । कस्मेटिक कविताको बजारमा उनी त्यत्ति दृष्टि दिँदैनन् । उनी कमजोर र निमुखाहरूको शरीरबाट बग्ने रगत, पसिना, मयल र पीपहरूमा काव्यात्मक सौन्दर्य खोतल्न चाहन्छन् ।  यस कविता सङ्ग्रहका केही कविताहरूमा प्रगतिवादी स्वर पाइए ता पनि प्राय कविताहरू आलोचनात्मक यथार्थवादका नजिक देखिएकाले आलोचनात्मक यथार्थवाद नै यस सङ्ग्रहको मूल स्वर हो भन्न सकिन्छ । सरल, सहज जनबोलीको् भाषाप्रयोग , विशिष्ट अर्थगाम्भिर्ययुक्त भाव , बिम्ब ,प्रतीकहरूको सार्थक र कलात्मक प्रयोग आदिले कवितासङ्ग्रहका कविताहरू उत्कृष्ट बन्न पुगेका छन् ।

  • क्ुनै पनि लेखन कहिल्यै निरपेक्ष मानक बन्न नसक्ने हुँदा परिष्कार र परिमार्जनको आवश्यक प्रयोग हुँदै गएमा कवि खनालको काव्यिक भविष्य समुज्ज्वल बन्नेछ भन्नेमा यस कृति नै यथेष्ट प्रमाणको ठोस आधार बनेको छ भन्न सकिन्छ ।

                   

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog