Monday, March 23, 2015

विचारको उल्टो नदीबारे

विचारको उल्टो नदीबारे मसान उपासकको टिप्पणी, जुन कान्तिपुर अनलाइनमा प्रकाशित भएको थियो ।उनलाई धन्यवादसहित  ।

विसङ्गतिको विपक्षमा उल्टो नदी ।


मसान उपासक


अभाव
एउटा सर्वव्यापक घटना
जसको आँखामा
उदाइरहन्छ सम्भाव्य सपनाहरुको लस्कर ।
            अभाव –५९

जीवनको सौन्दर्यहरुका माझ अभावलाई जीवन उन्नयनको एउटा कारकझैँ मान्ने सुवास खनाल जीवनका सबै सुरुप र कुरुप पक्षहरु अभावको क्षतिपूर्तिहरु मात्र देख्दछन् । अभाव थिएन त सम्भवत : उनी हुने थिएनन् , हामी हुने थिएनौँ र जीवनका यी गोलचक्करहरु चल्ने थिएन । उनको भनाइ त्यही छ । यसरी भनिरहँदा अहिलेको सापेक्षिक विसङ्गतिहरु प्नि अभावका पूर्तिहरु हुन् ? उनलाई गजबको प्रश्न रहन्छ । र यी विसङ्गतिहरुको समाप्तिको बाटो फेरि अभावले खोजिदिन्छ ? अभावको परिपूर्तिको प्रथम माध्यम त मानवीय क्रियाकलाप रहला नि  ? उनी मानवीय क्रियाकलाप निरपक्ष अभावसँग सन्तुष्ट छन् ।

खनालले कविताभित्र कयौँ सवाल र पात्रहरु उठाएका छन् ती समाजसापेक्ष र समयसापेक्ष छन् । उनी जीवनका मूल धारहरुमा नै यात्रारत हुन चाहन्छन् । यस्तो हुँदा कविको भोगाइका सवालहरु पाठक समानान्तर भइदिन्छन् । त्यसकारण सुवासका भोगाइहरुमा पाठकहरुले समेत निजत्वको अनुभव गर्न सक्छन् । उनी कवितामा प्रेम पोख्छन्, घृणा पोख्छन् , सुखदुखका कुरा गर्छन् । साथमा कला र संस्कृतिको सुन्दर संसारको चित्रणबाट समाजलाई मीठो सपना देखाउन भुल्दैनन् । देशमा भइरहेको ढिलासुस्तीमाथि उस्तै प्रहार गरिरहेका भेटिन्छन् ।

युगयुगदेखि
यो वस्ती कुरिरहेछ
उसले खामबन्दी गरेर पठाएको
सपनाको जवाफ ।         आदिम हावाको कथा –३२

भावको वेग भेटिने सुवासका कवितामा भाषाको शक्ति, सौन्दर्यपूर्ण शैली र विचारको संयोजन आकर्षक लाग्दछ । थोरै शब्दमा धेरै भन्न सक्ने क्षमता थोरै कविमा हुन्छ । ती थोरै कविको कीत्तामा सुवास पनि उभिइरहेको अनुभव हुन्छ । कविता धेरै लेखिने र कम पढिने भनेर हाम्रोमा मात्र होइन पश्चिमा जगतमा पनि उत्तिकै  टिप्पणी भएको सुनिन्छ । कविता पढ्नु एउटा किसिमको विषय रहन्छ र यसको रहस्यको गर्तमा हराउनु वा यसको चुरो फेला पार्नु अर्को कुरा हो । तर कविताले पाठकलाई बाँध्यो भने कविताको शक्ति त्यहीँ प्रदर्शन हुन सुरु गर्दछ । यस अर्थमा सुवासका कविताहरु अर्थयुक्त अनुभव हुन पुगेका हुनसक्छन् ।

उनी कवितामा शिक्षामा जीवनवादी चेत प्रस्तुत हुन नसकेकामा आक्रोशको अवाज उराल्छन् –

मलाई
कलेजको भित्ताभरिभरि
यातनाशिविर लेख्नुको रहर छ ।
                कलेज एक यातना शिविर –६८

शिक्षा जीवनवादी हुनुपर्ने पाओलो फ्रेरेको आदर्शको नजिक उनलाई उभिइरहेको देखिन्छ –

मलाई पेशाप्रति प्रेम जगाइदेऊ
हामी जीवनसँग टाढिएर ज्ञान लिन सक्दैनौँ ।
                कलेज एक यातना शिविर –६८
विचारको जगलाई आर्थिक सामाजिक अवस्था, राजनैतिक परिदृश्यहरु, वैयक्तिक क्षमताका तरङ्गहरु आदिइत्यादीले असर गर्दछन् । यिनका केही कवितामा विचार सघनताको व्याप्ति पाइन्छ र त्यस्ता केही कवितामा विचार, चुनावपछि, बजारमा आत्मा, आग्रह, चुनाब आदि पर्दछन् । कविताका यसको ज्यामितिय पक्षहरुको उनलाई कुनै मतलब छैन । कतिपय उनका कविता आख्यानका सूक्ष्म रुप हो कि झैँ अनुभूत हुन्छ । राज्यको जनताप्रतिको उदासिन स्थितिमा अलिक भल्गरजस्तो बिम्ब लिएर प्रहार उनी गर्छन् । उनी सोझै भन्छन् पहिरो र भेलले घर बगाएका बेला दुई चार थान चप्पल लिएर राहत वितरण गर्न पुग्ने राज्यलाई ,त्यो राहतले भन्दा हस्तमैथुनले दिने राहत बरु प्रभावकारी छ भनी सुझाउँछन् ।

लेखक प्रेमिल तपस्वी हुनसक्छन् । तर उनी यो तपस्याको रुप परिवर्तन गर्छन् र समाज अध्ययनको अराजक शैली अपनाउछन् । उनी यसकै निम्ति शायद् आफै हराएको आफैँले सूचना लेख्छन् –


म हराएको पछिल्लो खबर
यो चोकको सूचना पाटीमा टाँसिएको छ
                    सूचना –२१

सुवास भन्दै गर्छन् –म सधैँ पाठकको पक्षमा मात्रचाहीँ छैन । उनले यस्तो भन्दै गर्दा अलिक बौद्धिकता प्रदर्शनीको आडम्बरमा लागेका हुन् कि ? भन्ने प्रश्न व्युँझाउँछ । खनालका सङ्ग्रहित ४३ कविता पढ्दा जीवनमा प्रगतिशीलता रुचाउने र उज्यालोको आकाङ्क्षी कवि हुन् जस्तो अनुभव हुन्छ तर केही ठाउँमा उनी गजबले चिप्लिएका छन् । प्रगतिशील मान्यता राख्ने कवि जन्म एक दुर्घटना कवितामा यस्तो बोल्छन् –
यो साँचो हो
यो देशमा
यो समय
बाँच्ने हरेक मान्छेले
सोच्नु स्वभाविक छ–
‘म गलत समय किन जन्मिएँ ?’
                जन्म– एक दुर्घटना –८६

समय आफैँमा गलत हुन्छ या हुँदैन ? यो समयको छातीमा अव्यवस्थाको कीला ठोक्ने मानवीय दोषहरु हुन् कि होइनन् ? यी मानवीय दोष हटाउन मान्छे आफैँ तत्पर हुनु पर्छ कि पर्दैन ? अनि कवि मानवइतर प्राणी हो ? कि यसको रसायन फरक छ ? कवि यो कवितामा आफ्नो दायित्वबाट पछाडि हट्ने चेष्टामा देखिन्छन् । यस्ता रोइलोले हामीलाई कुनै फाइदा पु¥याउँदैन । तर ‘नयाँ वषर्’ शीर्षकको कवितामा उनी यही समयमा एक युगपुरुषको जन्मको आग्रह गरिरहेका देखिन्छन् । यसले उनी चिप्लिएर लडेपनि सजग भएर उठ्ने हिम्मत राख्ने व्यक्ति हुन् भन्ने अनुभव गराउँछ ।

उनी भौतिक विज्ञानमा स्नातकोत्तर हासिल गरेका व्यक्ति हुन्, तर लेख्छन् कविता । उनका केही कवितामा विज्ञानसम्बद्ध बिम्बहरु पनि आएका देखिन्छन् । तर यी असहज देखिँदैनन् । विज्ञानका बिम्बहरु घुसाउने नाममा यसका सिद्धान्त नै लेख्न थाल्दा त कविताको अनुहार बिग्रिँदो हो तर उनी सजगताका साथ त्यस्तो दुष्चेष्टामा चाहीँ छैनन् ।

उनी भौतिकवादी हुन् तर प्रतिकात्मक रुपमा भगवानलाई भेट्नुले उनलाई कहीँ न कतै आस्तिक हुन् भन्ने अनुभव गराउँछ । केही जाहेजजस्ता नलाग्ने ठाउँमा पनि यौनिक बिम्बहरुसँग खेल्न चाहनु , विज्ञानका जटिल पक्षहरुलाई कविताका शब्दहरुमा उतारेर कवितालाई सामान्य पाठकको पहुँचबाट टाढा राख्न खोज्नु उनका कमजोरी हुन् ।

‘विचारको उल्टो नदी’ ले कुनै परिभाषा खोज्दैन । बरु अर्थ भत्काउन सघाउला । पुनरनिर्माणको कडीमा केही भत्किनु र बन्नु सँगसँगै हुनु आवश्यक छ । उनी त्यसमा सजग देखिन्छन् । समाज विकासको आग्रहले रन्थनिएर हामीलाई जस्तै जिम्मेवारीको ज्वरो देशका शासकलाई आएको छ वा छैन उनी प्रश्न गरिरहेछन् –

यो देशको सरकार प्रमुख
कि उसलाई कहिल्यै आउँदैन
१०४ डिग्रीको ज्वरो ?            ( १०४ ज्वरो –२९ )

सुवास मकवानपुरको मात्र नभएर समग्र नेपाली साहित्य आकाशमा एक आशालाग्दा कविका रुपमा उदाएका छन् । यसको पुष्टि यिनको प्रकाशित कविता सङ्ग्रह ‘विचारको उल्टो नदी’ले गरेको छ ।