Tuesday, June 30, 2015

After accident

दूर्घटनापछि सुवास खनाल वा हिँडोस् समयले बजाउँदै खतराको अलार्म .......... नसकिउञ्जेल शरीरमा एक थोपा मात्र पनि रगत रहेसम्म ओठमा एक धर्को मात्र पनि मुस्कान वा च्यापुन्जेल फोक्सोले एक मुठ्ठी श्वास हामी खरानीबाट समेत उठ्नेछौँ हामी सजिलै यहाँ आइपुगेका होइनौँ र हामी सजिलै सजिलो कहीँ पुग्ने पनि छैनौँ जबसम्म फक्रिनेछन् रहरका गुराँस जबसम्म फुल्नेछन् सद्भावका सयपत्री उचालेर साहसको पाइताला हिँड्नु छ ,हिँडिरहनु छ कारणवश पसे होलान् आँखाहरुमा ओस् गाइए होलान् केही विरह गीत देखिए होलान् केही भयावह सपना एक रिल मात्र हुन् –यी जीवनगीतका जब सकिनेछन् यी सारा सुनिनेछ जीवनको आकर्षक धून फैलाएर हात नमागूँ जीवनको भिख गुमाएर साहस नहिँडूँ अधैर्यको बगरैबगर बरु हुर्काएर एक बीज सपना हिँडिरहूँ भविष्य बाटाहरुमा बरु ननिदाएरै एक रात कुरिबसूँ सुनौलो आगत ।

Saturday, June 27, 2015

Commentry

संसारलाई साढे पाँच फन्कोमा एक फन्को । सुवास खनाल पुष्कर शाह मास्टर बन्ने सपना बोकेको एउटा पात्र थियो तर कसरी यस्तो यायावर बनेर निस्किए ?
ायो । उनले आफ्ना भ्रमणका दैनिकीहरुलाई पुस्तकाकार रुप दिने प्रयत्न गरे र त्यसमा साथ लागे भुपेन्द्र खड्का र बुकहिल ,यी सम्पूर्ण पाठकीय हिसाबमा धन्यवादका पात्र हुन् ।
जब उनी यात्रामा निस्किन चाहन्थे , उनीसँग अगाडि सहज बाटो थिएन । आमाले पत्याइनन् । साथीहरुले गफ दियो सोचे । कतिले पुष्कर ठिक दिमागमा रहेन सम्म

उनी त्यस्तो यात्रामा निस्किए जसले उनलाई संसार मात्र घुमाएन यो पृथ्वी नामको कुनाहरुमा भएका भव्यता र साँघुरोपनाका यथार्थहरुलाई चिन्न सहयोग पु¥
या भन्न भ्याए । उनमा आमालाई मनाउने प्रकृया पुरा भएका बखत् पूर्ण साहस भरियो ,अब यो संसारलाई साइकलको भरमा पनि जिती दिन सक्छु ।

मैले टिम टेलिभिजनको इन्टरभ्युमा सोधे –‘साइकल नै किन रोज्नुभयो ?’


उनले उत्तर दिए –‘ मसँग साइकल बाहेक अर्को विकल्प नै थिएन । मसँग कहाँ त्यत्ति पैसा हुनसक्थ्यो र संसार घुम्न ? सबभन्दा कम खर्चिलो यही हुन सक्थ्यो , त्यसैले यो रोजेँ । ’त्यतिखेर मैले उक्त पुस्तक पढेको थिइनँ । पछि पढेँ , पुस्तकमा पनि उही स्विकारोक्ती देखेँ । उनले पैसाले संसार घुमेका होइनन् , आत्मसाहसले घुमेका हुन् ।

उनले विश्वका १५० देशहरु घुमे । यो बीचमा उनले धेरै सुखद् अनुभूतिहरु सँगाले । साथमा दुखद् पनि । चाइनाको कुनै होटलबाट त्यहाँका सुरक्षाकर्मीका कारण राति नै होटल छाडी भाग्नुपरेको प्रसङ्ग । मेक्सिको , बार्बाडोज, न्युयोर्क लगायतका ठाउँमा लुटिँदाको प्रसङ्ग दर्दनाक छन् । यो विश्वको सबैभन्दा बढी धनाढ्य भनिने देश अमेरिकाको न्युयोर्कमा उनलाई कसैले दश डलरको लागि कन्चटमा पेस्तोल तेस्र्याउँछ । यो अपत्यरिलो घटनाजस्तो पनि लाग्छ तर यो साँचो हो भन्ने पुष्टि मलाई अर्को अमेरिका नै बस्ने एक साथिले पनि पुष्टि गरिदिएका छन् । उनी पनि त्यहाँ लुटिएको प्रसङ्ग सुनेको छु त्यो पनि यस्तै सानो रकमकै लागि । यहाँ त पेस्तोलको कुरा आयो तर छुरी देखाएर बढी लुट्ने गरेको अनुभव सुन्न पाइन्छ र त्यस्तोमा बढी गाँजाको नशा लिने व्यक्तिहरु सक्रिय हुने गरेको बताइन्छ । 


शाहसँगको संवादमा उनी भन्छन् – यो संसारमा यत्ति धेरै राम्रा मान्छेहरु छन् । यत्ति धेरै सिर्जनात्मक मान्छेहरु छन् । त्यसको तुलनामा खराबहरु नगन्य छन् । यो संसारलाई यति राम्रो र भव्य ती संसारका असल मान्छेहरुले नै बनाएका हुन् तर घटनाहरुको स्मरण गरिँदा खराब विषयहरु बढी सम्झना हुँदा रहेछन् । मेक्सिकोमा लुटिँदाको घटना उनी बढी भयानक अनुभव गर्छन् र आफ्नो पुराना यात्राहरुलाई रिवाइन्ड गराउँदा त्यो घटना चित्र मष्तिष्कमा आउने बताउँछन् । उनको विचारमा त्यो दिन उनको हत्या हुँदै थियो तर उनी ती लुटेराहरुको कमजोर संयन्त्रलाई भत्काएर भाग्न सफल हुन्छन् । गुण्डा ,लुटेराहरुबाट बच्नु एक पक्ष रहन्थ्यो भने देशको सामान्य नियमकानुन नजानेर परिपालन गर्न नसक्दा हत्कडी तोडेर भाग्नु अर्को पक्ष रहन्थ्यो । उनी यो दुबै परिस्थितिहरुलाई चिर्दै अघि बढ्नुको नियतिका साथ थिए ।

यो जीवनीपरक पुस्तक पुष्करका डायरीहरुकै सम्पादित प्रकाशन हो । चार हजार पन्ध्र दिनमा उनीसँग त्यति नै सङ्ख्यामा दैनिकीहरु थिए । यो पुस्तक सम्पूर्ण अंशको प्रकाशन होइन र सम्पादित अंशको प्रकाशन हो । यसर्थ उनका कतिपय दैनिकीहरु यसमा नआएका हुन सक्छन् र कतिपय त प्रकाशन जरुरी नदेखिएको पनि हुन सक्छ । पुस्तकलाई सिलसिलेबारमात्र तर उपशीर्षकहरुमा विभाजन नगरेका भए , अध्ययनका निम्ति उति रुचिकर र सहज नलाग्न सक्थ्यो तर उपशीर्षकहरुका साथ छोटा छोटा प्रसङ्ग जोड्नुले पुस्तक अध्ययनका निम्ति सहज र सुबोध्य बनेको छ ।


अङग्रेजी भाषालाई अन्तर्राष्ट्रिय भाषा भनिन्छ किनकी यो भाषा बढीले बुझ्छन् । तर त्यो भन्दा महत्वपूर्ण भाषा इसाराको रहेको पुष्कर बताउँछन् । अङ्ग्रेजी नबुझ्ने अवस्थामा पनि यो सहज हुने उनी बताउँछन् । त्यसमै पनि फरक ठाउँका फरक रहनसहन ,चालचलन र जीवनपद्धतिले समस्या ल्याउने उनको अनुभव छ । चिनमा खाना खाने तरिका देखाउँदा चोरी औला र माझी औँलाको प्रयोग गरी मुखतिर लगेर देखाइने तर कहीँ त्यसैलाई धुमपानको सङ्केतका ंरुपमा बुझिदिने , त्यस्तै सुत्नको लागि सङ्केत गर्दा टेलिफोन गर्न खोजेको सङ्केतका रुपमा बुझ्ने समस्याहरु देखिने उनको अनुभव छ ।


पुस्तकका धेरै सकारात्मक पक्षहरु छन् । अध्ययनमा एक रसमात्र प्राप्त हुँदैन । छोटा छोटा उपशीर्षकमा रहेका र हास्यात्मक तथा कहीँ अलिक रहस्यात्मक शैलीले प्रस्तुत गरिएकाले पुस्तकले तानिरहन्छ । साथमा विश्वलाई यस पुस्तकका माध्यमले चिन्न सहज बनाउँछ । विश्व परिदृश्यका धेरै पक्षहरुको जानकारी मिल्छ । त्यहाँको विकास अवस्थिति , प्राकृतिक सौन्दर्य , खानपान र संस्कृतिका झिल्काहरु देखा पर्दछन् । 


यति धेरै सकारात्मक पक्षहरु हुँदाहुँदै पनि यस पुस्तकले केही जोखिमहरु पनि सँगसँगै बोकेको छ । पुष्कर शाह साना साना बालबालिकादेखि ठुला सबैका लगि एक किसिमको आइकन हुन् । तर यो पुस्तकले उनलाई विश्व साइकल यात्रीका साथसाथै एक रक्स्याहाको परिचय पनि दिएको छ । किताबमा बढी यौनिक प्रसङ्गलाई जोड दिनाले उनको नियतमाथि पनि प्रश्न उठ्न सक्छ । यी प्रसङ्ग आउनै नहुने भन्ने यस पङ्क्तिकारको पनि मान्यता होइन तर त्यसलाई एउटा पाटो मान्न सकिन्छ तर बढी जसो यौन प्रसङ्ग र रक्सीका प्रसङ्ग जोड्नुले पुस्तकलाई बिकाउ त बनायो होला तर यसलाई सँगसँगै आलोचनाको भागी पनि बनाएको छ ।


उनले यत्तिका देशको भ्रमण गरेका छन् । उनले वैयक्तिकीलाई बढी प्रकाशन गरेका छन् । त्यहाँका समस्या , त्यहाँका मानिसले गरिरहेका सङ्घर्ष ,त्यहाँ आएका सामाजिक विचलन आदिको उत्नि साह्रो वर्णन देखिन्न । यसैले कुनै पनि पक्षको उत्ति साह्रो सूक्ष्म विश्लेषण देखिन्न । यसमा सम्पादक वा लेखन सहयोगीको पनि कमजोरी देखिन्छ । पुस्तक बजारमा आउनु त्यसमाथि पनि अलिक विशिष्ट मान्छेको त्यसमा पाठकीय अपेक्षाहरु पनि उस्तैसँग गाँसिएका हुन्छन् । त्यो अपेक्षा पुस्तकले पुरा गर्न नसक्दा पुस्तक प्रकाशक, प्रकाशन सहयोगी र प्रकाशन पूर्व विषयवस्तुका अध्येता र विश्लेषकहरुको कमजोरी ठहर्न पुग्छ । पुष्कर शाहको विषयमा पनि त्यो कुरा लागू हुन्छ । भविष्यमा अर्को कुनै जीवनीपरक पुस्तक प्रकाशन हुँदा यी कुरामा ध्यान पुग्नु जरुरी छ ।


पुष्कर शाहले बताएका छन् –यो बीचमा उनको आमाको परिचय फेरिएको छ । अहिले उनकी आमा पुष्कर शाहकी आमा भनेर सबैले चिन्छन् जुन परिचय पुष्करको प्रशिद्दि अगाडि थिएन । उनले कमाएको मूल सम्पत्ति यही हो भनी उनी सम्झिन्छन् । अनि अर्को पक्ष उनले संसारका थुप्रै सुन्दर र विकसित देशहरु घुमे । तर उनी भन्छन् –‘नेपाल जति सुन्दर देश कुनै छैन । हामीले हामीलाई चिन्न सकिरहेका छैनौँ । हामी सँग व्यवस्थापन कमजोर भयो । सही नेतृत्वको विकास हुन सकेन । हामी हीरामाथि बसेर हीरा खोजिरहेका छौँ । ’


पुष्कर शाहका पुस्तकका केही शक्ति र सीमा अवस्य छन् । उनी व्यक्तिगत हिसाबमा भने निकै सरल र मिजासिलो छन् । उनको भविष्यको जीवन सुखमय बितोस् । उनको प्रसिद्दिको प्रकाशले देशलाई आलोकित तुल्याओस् शुभकामना ।