Thursday, October 29, 2015

जिम्मेवार कविताहरूको कित्तामा उभिँदा ।

जिम्मेवार कविताहरूको कित्तामा उभिँदा ।

सुवास खनाल

हाम्रो स्थान सापेक्षतामा जब कुरा गछौँ ,आजको समय शोकगीतको सघन धुन सुन्नुको अभिशप्त अवस्था बाँचिरहेछ । यो शोकगीत अवशानको चाहना युग टेकेर उभिने समग्र चेतना सम्वाहकहरुले गररिहेझैँ अनुभव हुन्छ । कविता सत्तामा यो झन् अपेक्षित रहन्छ कारण कि कविता आदर्शवादी सत्ताको वकालत गर्ने विषय बढी बनेको अनुभव हुन्छ । पछिल्लो समय कवि निमेष निखिलको ‘शोकगीतको पोष्टमार्टम’ शीर्षकको कविता सङ्ग्रह बजारमा आएको छ । पोष्टमार्टम अङ्ग्रेजी शब्द हो र यसको सोझो अर्थ जीवको मृत्युपश्चात त्यसको कारणको रहस्योद्घाटनका निम्ति गरिने परीक्षण रहन्छ । शोकगीत निरन्तर चलिरहेको घडीमा शोकगीतको अन्त्य होस् र त्यसको पोष्टमार्टम हेर्न पाइयोस् भन्ने चाहनाका साथ शीर्षक निर्धारण गरेको अर्थमा यसलाई ग्रहण गर्दा सापेक्षिक देखिने बोध हुन्छ ।

यो समय जुन कविताहरू बजारमा बढी बिकिरहेछन् तिनका शब्दहरू बढी धारिला देखिन्छन् । भावमा लहडी र अदूरदर्शी लाग्छन् । उपद्रवहरूको पक्षपाती ती कविताको आयु कत्रो हुने सोचको विषय हुन् । त्यो हिसाबले हेर्दा निखिलका कविताहरू बिकाउका नलाग्न सक्छन् । तर समय असमञ्जस्ताहरू व्यवस्थापनको बाटो हुँदै जब अघि बढ्ला निखिलका कविताहरुको शक्ति तब गणना हुन सुरु हुनेछ । यसो भन्दैमा निखिलका कविताहरुले ग्राउन्ड छाडेका छन् भन्न खोजिएको होइन तर अहिलेको समय बढी अराजक भइरहँदा त्यसको पिछलग्गु हुन रुचाएका छैनन् भन्न खोजिएको हो । 

ढोङ्को पहाड् उक्लेर आफू र आफ्नाले गरेको सबै हर्कतहरु सही तर अरुले राम्रै गर्दा पनि नस्विकार्नेहरुलाई दरिलो झापड हो ‘ऐनाअगाडि’ कविता । निखिल आफैँ पनि कन्फेसनजस्तो गर्छन् यस कवितामा –

धेरै पछि ऐनाअघि उभिँदा
आफूलाई अत्यन्त कुरुप देखेँ मैले
खोपिल्टामात्र थिए आँखामा सपना थिएनन्
चाप्लुसी टाँसिएको थियो ओठको क्षितिजभरि –
मुस्कान थिएन
र त्यहाँझुन्डिएको थियो एउटा ठूलो ताल्चा
नाक त छँदै थिएन मकहाँ हुनु ?                                   पृष्ठ ९, ऐनाअगाडि


निखिलका कवितामा ऐना अगाडि, अनिद्रा ,केही कामहरु, भन राम लखन, लोदर लाग्यो काका, बन्द लगायतका कविताले सङ्ग्रहको ओजलाई बढाएको छ । केही कविताहरु उत्रो लोभ नगरेका भए हुनेझैँ लाग्ने छन् । कविले कवितालाई जसरी प्रेम गर्न सक्छ आवश्कतामा कवितामाथि उत्ति नै निर्मम हुन तयार पनि हुनु पर्छ । म हराएको सुचना ,समयको निबन्ध कविता, बिम्ब एउटा देशको लगायत कविताहरुमा भाव सघनता अपेक्षित नै देखिन्छ ।

निखिलका सद्य प्रकाशित कृतिहरुको अध्ययन अनुभवले बताउँछ ,पूर्व प्रकाशित कृतिहरुमा निराशाको पहाडले केही उचो स्थापत्य राख्थ्यो । उनको यो कृति आशाहरुको एउटा उचो पहाड नै हो । तर यो आशाको पहाडले पुरानो निराशाको पहाडलाई छेक्दै गएको छ । यो सुखद् संयोग हो । निखिललाई त्यस निम्ति धन्यवाद् भन्नु जायज देखिन्छ । पाठकका निम्ति यो सुखद् खबर पनि बन्न सक्छ ।

देशमा पछिल्लो बदलिँदो परिस्थितिले राजनैतिक, सामाजिक र र्सास्कृतिक जागरण पैदा गरेको छ । यो जागरण हुनु समाज विकासको निम्ति गुणात्मक पक्ष हो । समाजमा भएका पक्षहरुबीचको संवाद टुट्न गयो भने त्यसले कालान्तरमा ठूलो दुर्घटना निम्त्याउन सक्छ । तसर्थ यी संवाद सिर्जनाका निम्ति केही जागरुक अभियानहरु सञ्चालन हुनु जरुरी छ तर त्यसको नाममा सामाजिक विघटनहरु हुन पुग्दा पनि परिस्थिति असामान्य बन्दो रहेछ । तराईमा यो खालको समस्या देखिन्छ । यसका अवशेषहरु पहाडी र हिमाली समूदायमा पनि केहि परावर्तित हुन पुगेका हुन् । उनले तराई मधेसका यो समस्यालाई पनि कवितामा सम्बोधन गर्न सफल छन् –

मेरो कल्पनासम्ममा पनि छैन
मेरो अनुपस्थितिको तिम्रो होली र छठ
तिम्रो अनुपस्थितिको मेरो दशैँ र तिहार
तिमी नभएको मेरो छोराको बिहे
म नभएको तिम्रो छोरीको मगनी
पृष्ठ : २३, भन रामलखन !

देश सबैको सहभागिताबाट बन्ने हो । हेपिएका ,थिचोमिचोमा परेका ,सत्ताको आँखामा कहिल्यै नपरेकाहरुको आवाज बुलन्द हुँदै गएको छ । निखिलका कवितामा यो पक्षको आवाज पनि सशक्त देखिन्छ । निखिलका कविता शालीन छन् भन्ने टिप्पणी बढी सुनिन्छ र अध्ययनमा त्यो सावित पनि हुन्छ । उनी कवितामा धारे हात लगाएर कसैलाई उस्तो सत्तोसराप गरिरहेका देखिन्नन् । यसो भन्दै गर्दा साथमा यही पक्ष उनको कविता लेखनीको जोखिम पनि बनि दिन सक्छ । सबैप्रति लचिलो र नरम भएर प्रस्तुत हुँदा जसको लागि कविता लेख्दैछु भन्ने कवि सोचिरहेका हुन्छन् , उनीहरुको आवाज मलिन सुनिन बेर लाग्दैन । 

केही पुरानो समयसम्म मकवानपुर साहित्यिक हिसाबमा भीम विरागको जिल्ला भनेर परिचित रहेको अवस्थामा अब अन्य केही नामहरु थपिँदै जानु र त्यसको पङ्क्तिमा एक नाम निमेष निखिल सुहाउँदिलो देखिँदै जानुले निखिल र मकवानपुर दुबैको परिचयको आयाम बढेको प्रत्याभूति हुन्छ ।

निखिल त्यो काव्य यथार्थ भन्दा पर छैनन् कि आजको कविता सङ्कटको समयमै छ । जब देशको राजनीति सङ्क्रमणबाट गुज्रिन्छ तब राजनीति सापेक्ष चल्ने हर पक्ष उस्तै गुज्रिन पुग्छ । निखिल सफल भन्दा नि असल कविताको पक्षमा बढी हिँडिरहेको अनुभव हुन्छ । असल कविताले आफ्नो बजार आफैँ बनाउँछ भन्ने विचार सापेक्ष उनको यात्रा अविचलित रहिरहोस् । 

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog