Thursday, November 26, 2015

Interview with Udaya Adhikari


(साहित्यका सचेत पाठक उदय अधिकारीसँग २०६५ सालमा लिएको अन्तरवार्ता । )

पाठकको स्वास्थ्यको लागि मात्र पनि लेखकमा अध्ययन आवश्यक छ ।
                                                        – उदय अधिकारी


जब लेखनले आफ्नो उद्देश्य अनुरुपको पाठक पाउँछ ,त्यतिबेला मात्र यसले आफ्नो जीवन प्राप्त गर्दछ । लेखन र पठनबीचको दूरी नमिलेकै बेला साहित्यको सबैभन्दा कुरुप र भद्दा आकृति देखा पर्दछ । लेखनको सही मूल्याङ्कन हुन मात्रै पनि सही पाठकको जरुरत पर्दछ । लेखनको गुणवत्ताको तस्वीर असल पाठकको आँखामा निर्माण भइरहेको हुन्छ । अहिलेको समयका लेखक र समीक्षकहरु विविध आग्रह र दुराग्रहदेखि मुक्त हुन सकेका छैनन् । सहि र सबल लेखक पहिचानका निम्ति असल पाठकहरुको सङ्ख्या निर्माण हुनु आवश्यक छ । यति व्यस्त र नाफामुखी विश्वमा असल पाठक मात्रको उपस्थिति साहित्यिक परिवृत्तको निम्ति अहोभाग्य सिद्ध छ । उदय अधिकारी त्यस्तै एउटा सचेत साहित्यिक पाठक हुन् ,जसलाई हामीले भेट्दा उनको हातमा वा झोलामा विश्व साहित्यका कम से कम एक दुई पुस्तक देख्न पाइन्छ । उनी पठनकै चिन्तामा रहेका हुन्छन् । लेखनको निम्ति अध्ययनको दोस्रो विकल्प नभएको उनी बताउँदै रहन्छन् । उनै उदय अधिकारीसँग लेखन र पठनसम्बद्ध विषयमा अक्षरहरु मार्फत वार्ता भयो । यही वार्तालाई मातृभूमिको चितवन विशेषाङ्कमा समेट्ने प्रचेष्टा गरिएको छ ।                                                                                   
                                                                              –सुवास खनाल                            

तपार्इँ एक सरल व्यक्ति हुनुहुन्छ । यो मेरो र सामान्यतया :तपार्इँसँग सङ्गत गर्ने प्रायशः सबैको अनुभव हो । स्वभावैले यस्तो हुनुहुन्थ्यो वा अध्ययन प्रभाव हो ?

तपार्इँहरुको अनुभवलाई मेरो सलाम छ । तपाईँहरुको मप्रतिको सद्भावलाई गर्वको रुपमा लिन्छु र यसलाई म अमूल्य पुँजीको रुपमा जोगाएर राख्ने छु । म सानै छँदा देखि धेरै राजनैतिक र सामाजिक उथलपुथलको साक्षी बनेको छु र मैले व्यक्तिगत यात्राको दौरानमा सरलता पराजित भएको देखेको छैन ।‘तपाईँसँग सामान्यभन्दा सामान्य मानिसले हार्दिकतापूर्वक कुरा गर्न सकोस्’ भन्ने विचारले मलाई सँधै simplicity तिर जान प्रेरित गरिरहन्छ । अब त म चाहेर पनि जटील हुन सक्दिनँ । तपाईँले गजबको प्रश्न उठाउनु भयो । मैले कतै गुलजार साबले भनेको सुनेको थिएँ –यदी उनी भाग्यवश लेखक नभएका भए मुन्सीको काम गरेर खातापाता राखिरहेका हुने थिए ।कति ठूला लेखक अनि कति ठूलो स्विकारोक्ती ?मेरो स्वभावमा अध्ययनले प्रभाव पारेको पनि हुनसक्छ । मेरो आदर्श गान्धी हुन् । ती जनताका मान्छे थिए । एउटा सादा जीवन बाँचेर ती बूढाले भारतबाट अङग्रेजलाई लखेटिदिए । तिनले सबै दबिएका मानिसहरुको भावनालाई बोलिदिए ।उनको The Story My Experiment With Truth सरलताको एउटा महागाथा हो । नेल्सन मन्डेला सरल मान्छेहरुको पक्षमा लडाईँ लड्दा २७ वर्ष Roben Island मा कैद भए ।उनको A Long Walk To Freedom  सरलताकै शक्तिको उद्गार हो ।म अलिक बहकिएँ ।हामी किताबी मान्छेहरुको चाला नै यस्तै हो ।मेरो आÇनै सीमा छ । म चाहेर पनि गान्धी र मन्डेलाको एकछेउ पनि हुन सक्दिनँ र मेरो इच्छा छ –एउटा सानो घेरामा भएपनि सरल मानिसको रुपमा मेरो परिचय बनोस् । तपाईँको प्रश्नले मलाई सही गन्तव्यतर्फ गइरहेको अनुभूति दिलाएको छ ।

सम्भवत : उदय अधिकारी साहित्यसँगको प्रेममा फस्न पुग्यो । के रहेछ र साहित्यमा विशेष जुन अरु क्षेत्रमा नपाइने ?

शायद् मसँग धेरै विकल्पहरु थिएनन् त्यतिबेला । मेरो बुवा सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । मानिसहरु जम्मा हुन्थे र परिवर्तनका ठूलाठूला कुराहरु माथि बहस हुन्थ्यो र म केटाकेटीकै रुपमा भएपनि एउटा श्रोतासम्म भइसकेको थिएँ ।बुवालाई त्यसैबेला दशैँभन्दा केही अगाडि पुलिसले आएर लग्यो । सारा गाउँलेहरु जम्मा भए ।बुवा पनि हात हल्लाउँदै जानु भयो ।दशैँ आयो तर रौनक आउन बिस्र्यो ।बुवाको जेल चलान एउटा विषाद् बनेर मेरो मनमा रहिरह्यो ।मेरो हजुरबुवा पण्डित हुनुहुन्थ्यो ।पाठ पढ्न जानुहुन्थ्यो ।जेठो नाती भएको नाताले म सिदा बोक्न जान्थेँ । बेलुका हजुरबासँगै सुत्दथेँ । म ननिदाउञ्जेलसम्म हजुरबा कथा भन्नुहुन्थ्यो ।वीरबल र अकबरका कथादेखि लिएर याज्ञवल्लभ ,नचिकेता सम्मका कथाहरु मैले त्यसैवखत सुनेको हो ।कतिपय कथाहरु त अधुरै रहे ,मेरो निन्द्राको कारण ।हलो लिएर जोत्न जाऊँ भने घरमा गोरु थिएनन् नत्र वर्खामासमा हिलोमा साहा लगाएर गोरु कुदाउने मेरो एकमात्र प्रष्ट इच्छा पूरा नहुने कुरै हुँदैनथ्यो । आमा रामायण भाका हालेर पढ्नुहुन्थ्यो । उहाँलाई कति धेरै श्लोकहरु कण्ठै थिए । पछि थाहा पाएँ –ती श्लोकहरु गौरीका रहेछन् ।राजनीतिक माहौल ,घरमा हलो नहुनु ,हजुरबुवाका धार्मिक कथाहरु ,आमाको श्लोक र आÇनो पाठ्यपुस्तक प्रतिको लगभग शून्य ज्ञानले जाँचै दिनु नपर्ने साहित्यतिर मलाई धकेलिदियो ।

लगभग जनमत सङ्ग्रह पछि म बिस्तारै फिल्म र गीतहरु तिर तानिएँ ।कुनै पनि फिल्म नछाड्ने बानीले गर्दा मेरो हिन्दी राम्रो हुन गयो र स्तरीयहरुको पछाडि लाग्दै गर्दा बिस्तारै मेरो साहित्यिक पठन पनि स्तरीय भएको हुनुपर्छ ।त्यसैताका हिन्दीका खुब जासुसी उपन्यास पढियो । जसले मेरो हिन्दी लगभग हिन्दी भाषीको जस्तै बनाइदियो । त्यसैताका रामकृष्ण घिमिरे (भिनाजु) म पढ्ने स्कुलमा हेडमास्टर हुनुहुन्थ्यो । उहाँ नवभारत टाइम्सको रेगुलर ग्राहक हुनुहुन्थ्यो । मासिक रुपमा ‘सारिका’ भन्ने साहित्यिक पत्रिका मगाउनु हुन्थ्यो । मैले पहिलो पटक स्तरीय हिन्दी साहित्य पढेको त्यसैताका हो ।  मलाई अहिले पनि संझना छ –त्यसबेला सारिकाका सम्पादक कन्हैयालाल नन्दन हुनुहुन्थ्यो ।रामकृष्ण जी अमृता पृतम ,निर्मल बर्मा र मोहन राकेशहरुको नाम लिइरहनु हुन्थ्यो ।सारिका म भिनाजुको बाट  छड्क्याएर ल्याउँथँ। खुमनारायण पौडेल (कवि) ,युवराज भुषाल र म बाँडेर पढ्थ्यौँ ।

त्यसैताका हामी नेपाली पनि कस्सिएर पढ्न थालिसकेका थियौँ । सायद् २०४१ सालतिर मैले ‘माधवी’ पढेँ र साँच्चै नै आनन्द लिएँ । अहिले आएर माधवीको आतङ्क सुन्दा मैले त्यति सानै उमेरमा कसरी माधवी पढ्न सकेँ भन्ने लाग्छ । नारायण ढकालको ‘माधवी राम्रो किताब हो तर यसलाई नेपालीमा अनुवाद गर्नुपर्छ ’ भन्ने ठट्टा खपिसकेको यस उपन्यासलाई सायद् हजुरबुवाले भन्नुभएको विश्वामित्र,जन्मेनजेय ,गौताम आदि ऋषिका रमाइला कथाहरुले मलाई माधवीभित्र प्रवेश गर्न र यसमा विचरण गर्न सघाए कि ? त्यसपछि नेपाली र हिन्दी साहित्यसँगै अङ्ग्रेजी पनि जोडिन आइपुग्यो ।त्यसैताका हामीले नेपाली र हिन्दीमा त्यसबेला खुब चलेका रसियन महान लेखकहरु दोस्तोव्यस्की ,लियो टाल्सटाय, इवान तुर्गेनेभ ,आन्तोन चेखभ ,मेक्सिम गोकीँ ,मिखाइल शोलोेखोभहरु पढियो । त्यतिबेलासम्म मेरो क्याम्पस यात्रा धिकिरधिकिर अगाडि बढ्दै गयो ।कलेज जान नपर्ने अधिकार ममा हुन्थ्यो भने म जाँदैनथेँ । मलाई नेपाली र हिन्दीमा किताब पढ्दै जाँदा अङ्ग्रेजी पढ्न नसक्ने हो भने विश्वको उत्कृष्ट साहित्यबाट म बञ्चित हुने भएँ भन्ने भावनाले अङ्ग्रेजी पढ्नैपर्ने बाध्यता बनायो । साहित्य पढ्नका लागि मैले अङ्ग्रेजी पढेँ र अहिले त्यही अङ्ग्रेजीकै कारण मेरो आनो र परिवारको जीवनप्रक्रिया सञ्चालन हुन सम्भव भएको छ । साहित्य मेरो लागि यस्तो प्रेमिका भएको छ ,जो कहिल्यै कुरुप र उमेर गएको देखिन्न । यदी साहित्य साँच्चै नै प्रेमिका भएको भए ,मजस्तो आÇना सबै काम भ्याएर फुर्सदमा साहित्य पढ्ने पाठकलाई डिभोर्स दिइसकेको हुने थिई ।

म बाँचिरहेको परिवेशभन्दा बाहिर गएर एउटा फराकिलो विश्वसँग संवाद गर्ने चाहनाले मैले साहित्यमा सेल्टर खोजेँ हुँला ।

मैले उदय सरलाई विश्व साहित्यको असल अध्येताको रुपमा पाएको छु ।यहाँको विचारमा नेपाली साहित्य विश्व साहित्यमा कहाँनिर छ ?

तपाईँले मेरो हातमा प्रायजसो विश्वबजारमा चलेका साहित्यकारहरुको पुस्तक देख्नुभएको र कहिलेकाहीँ चियाको चुस्की लिँदै मार्खेज,भि.एस.नायपाल,कामु र रुस्दीमाथि बोलेको सुनेर मेरो बारेमा धारणा बनाउनु भएको जस्तो लाग्छ । तर सुवासजी म अहिले विश्व साहित्य बजारको छाल आउने ठाउँमा त छु तर समुन्द्रमा हाम् फाल्ने आँट गर्न सकेको छैन ।युरोपियन राष्ट्रहरुसँग साहित्यको एउटा लामो परम्परा छ । शिक्षाको इतिहासले साहित्यलाई फैलिन मद्दत गरेको छ । नेपालमा यति छोटो समयमा भानुभक्तद्धारा परिष्किृत भाषा विश्वका हजारौँ वर्षको इतिहास बोकेका भाषाहरुसँग कुममा कुम मिलाएर हिँड्न सक्षम भएको छ ।भाषा जिवन्त बनाउने लेखकहरु हुन् । प्रयोगशीलताले भाषाको लचकता बढ्छ । नेपाली साहित्यमा देवकोटाको आगमनले नेपाली भाषालाई जडताबाट मुक्त गरिदियो ।

नेपाली भाषाले थोरै वर्षको इतिहासमा नै यस्ता लेखकहरु पायो जो विश्वमा चलिरहेका रचना प्रक्रियालाई नजिकबाट नियाल्न सक्षम थिए ।उनीहरुको समकालीन चेतनाले केही राम्रा पुस्तकहरु जन्मायो ,जसलाई  सगौरव सबैका अगाडि प्रस्तुत गर्न सकिन्छ ।

अहिले आएर निबन्ध विधा अलिक सुस्ताएजस्तो देखिएको छ । देवकोटाको बहाब र शङ्कर लामिछानेको चिन्तनशैलीबाट प्रभावित मजस्तो पाठकहरुको प्रासङ्गिकता नै खत्तम भएर हो कि ? कविता र आख्यान ,विशेष गरेर उपन्यासको क्षेत्रमा हामी विश्व साहित्यको एक भाग बन्न सक्षम छौँ ।

हामीले स्विकार्नै पर्छ हामी अध्ययनमा निकै पछाडि छौँ । अध्ययन लेखनको उर्जा हो । कुनै पनि लेखक विश्वका आफ्ना समकालीन प्रतिभाशाली लेखकहरु नपढिकन साहित्यलाई ऐतिहासिक मोड दिने किताब लेख्न सक्दैन ।

नेपालका प्रायजसो लेखकहरुले उदय सरलाई राम्रो पाठकको रुपमा औँल्याउने गर्छन् र त्यही रुपमा चिनेका छन् ।यहाँको निबन्ध पढेर पछिल्लो समय निस्केको मनु मञ्जिलको ‘ल्याम्पपोष्टबाट खसेको जून ’कविता सङ्ग्रहको लेखकीयमा उनले यहाँलाई कोमल निबन्धकार पनि भनेका छन् ।यहाँ साँच्चै लेखनमा कम र अध्ययनमा बढी सक्रिय किन हुनुभयो ?

मेरो क्षमताले भ्याएसम्म मैले नेपालका सबैजसो राम्रा लेखकहरुलाई अत्यन्त सम्मान र सचेतताका साथ पढेको छु । तिनै लेखकहरुको रचनात्मक यात्राबाट गुज्रेर मैले आफूलाई सकेसम्म एउटा असल पाठकका रुपमा उभ्याउने कोसिस गरिरहेको छु र मलाई खुसीका साथै गर्व पनि लाग्छ ,जब नारायण ढकालजस्ता अध्ययनशील लेखकले मस“ग समसामयिक पढ्नै पर्ने विश्व साहित्यका पुस्तकहरुका बारेमा जिज्ञासा राख्नुहुन्छ । 

मनु मञ्जिल समकालीन कविताको क्षेत्रमा टाढाबाट नै प्रष्ट देखिने एउटा अध्ययनशील र प्रतिभाशाली कविको नाम हो ।केही वर्ष अघि चितवनमा प्रकाश सायमीको सक्रियतामा कालिका एफ एमको परिसरमा नेपालका केही प्रसिद्ध कवि लेखकहरुको जमघट भएको थियो ।त्यहाँ श्रवण मुकारुङ्ग र मनु मञ्जिल पनि हुनुहुन्थ्यो । त्यसबेला देशमा सङ्घियताको बहस चलिरहेको थियो । जनजातीको मुद्दाहरु उठिरहेको थियो । हाम्रो अहिलेको पुस्ताको सर्वाधिक चर्चित कवि श्रवण मुकारुङ्गको मन चञ्चल भइरहेको थियो । सबैमा श्रवणले साम्प्रदायिक भाषा खेलाउन थालेको चिन्ता थियो ।‘बिसे नगर्चीको बयान’ लेख्ने कविले एउटा सानो घेराभित्र पस्न खोजेको दृष्य सुखद् समाचार थिएन ।श्रवणसँग धेरैपटक जम्काभेटमा परेर उसको Sense of humor  र फराकिलो बिचार प्रभावित भएको म सारा राष्ट्रको कवि एउटा सानो घेरामा कसरी अट्ला भन्ने चिन्ता लागेर बाध्यतामा लेखेको एउटा आत्मपरक संस्मरणात्मक निबन्ध मन पराएर मनुले त्यति उल्लेख गर्दिनु भएकोमा उहाँप्रति आभारी छु । तर मेरो केही इज्जत छ भने पाठक हुनुमै छ । तपाईँले यसको हिसाब बुझाउन कहीँ जानुपर्दैन र मूल्याङ्कनको कुनै ठूलो डर पनि हुन्न । त्यसैले पो मैले सजिलो पेशा रोजेँ कि ?

अरुलाई लेखनमा उक्साइरहने र किताब निकाल्न जोड गरिरहने उदय सरको भविष्यमा साहित्यको कुनै विधामा लेखिएको किताब आउने अपेक्षा हामी गर्न सक्छौँ कि सक्दैनौँ ?


म एउटा सामान्य पाठक बन्नमै रमाउने मान्छे । पढ्दै जाँदा भाग्यवश लेखकहरुको सर्कलमा छिर्न पुगेँ ।कुन पाठक चाहँदैन आफ्नो मन परेको लेखकले किताब लेखेको हेर्न ?मैले पनि त्यस्तै चाहना राखेको मात्र हो । पुस्तक लेख्न एक प्रकारको सिर्जनात्मक पागलपनको आवश्यकता छ ।आफ्ना धेरै सुविधाहरुलाई दाउमा राख्नुपर्दछ ।त्यस किसिमको पागलपन युग पाठकमा छ ,ममा छैन ।यसो बसिबियाँलो गर्दाको केही लेखकहरुसँगको संवादको सानोतिनो सङ्कलन त पुगिसकेको हो ।तर त्यो निक्लिँदा पनि मेरो नाममा एउटा किताब झुन्डिने मात्र हो ,नेपाली साहित्यमा खासै उपलब्धीचाहीँ हुने छैन ।

नेपाली साहित्यका समकालीन चर्चित लेखकहरुको पृष्ठभूमिमा उदय सर कहीँ न कहीँ गाँसिइरहनुभएको हुन्छ । लेखकहरु पनि यहाँबाट प्रेरणा पाइरहेको प्रसङ्ग कोट्याउने गर्छन् ।तपाईँले लेखकहरुलाई उत्प्रेरित गर्नुपर्छ भन्ने विषयलाई आवश्यकता वा अनिवार्यता कुन रुपमा लिनुभएको छ ?

हामी सबैले रुचिअनुसार क्षेत्र छान्ने गर्छौँ । मेरो लागि ज्ञान र मनोरञ्जनको साधन साहित्य बन्न पुग्यो । लेफ्टहरुको भाषामा भन्ने हो भने ,म बुर्जुवा प्रकृतिको मानिस हो ।कलासँग खेल्न चाहने । नेपाल सानो छ र त्यसै अनुरुप नेपालमा लेखकहरुको जमात पनि सानो छ । एउटा पिँढीमा एक दर्जन सिर्जनात्मक आवेगले भरिएका लेखकहरु भेटिनु भनेको नेपालको सन्दर्भमा एउटा उपलब्धी नै हो ।प्रत्येक प्रतिभाशाली सर्जक चाहन्छ आफ्ना सिर्जनाको उचित मूल्याङ्कन । नेपालको सन्दर्भमा त्यो आफ्ना समकालीन लेखकहरुबाट भन्दा पाठकहरुबाट प्राप्त हुने सम्भावना बढी जिउँदो रहेको म अनुभव गर्दछु । राम्रा किताबहरु पढ्दै गर्दा आफू पाठक भएको कुरा बिर्सिन्छु र आफूलाई लेखकको रुपमा कल्पना गरेर लेखकहरुसँगको संवादमा संलग्न हुन्छु ।कतिपय कुराहरु अवचेतनमै गरिएका हुन्छन् ।म कहिलेकाहीँ किताबको बारेमा टिप्पणी गर्दा झगडाको हदसम्म नै पुग्दछु । शायद् मेरो यही जिद्दीपनले केही चर्चित लेखकहरुको मायाँ मेरो भागमा परेको हो कि ? मैले देखेको संसार पुस्तकहरुको संसार हो ।हेटौँडा आउँदा ध्रुवचन्द्र गौतम सँगको संवादमा उहाँले काफ्का र कामुका पुस्तकहरुको चर्चा गर्दै गर्दा मलाई लाग्यो उहाँले मार्खेजको आत्मकथा  Living To Tell a Tale  लाई मन पराउनु हुनेछ ।मैले किताब उहाँलाई दिएँ । उहाँले केही समय पछि ‘नेपाल’मा साह्रै प्रेरणादायी पुस्तकका रुपमा यसको उल्लेख गर्नुभयो । नारायण ढकाललाई मैले Ha Jin  को Waiting भन्ने किताब दिएँ । उहाँले त्यसबाट नयाँ कुरा सिकेको बताउनुभयो ।श्यामलले Orhan Pamuk   को The Snow पढेपछि उत्तेजित बनेको साक्षी म छु । किताब उपलब्ध गराउनु खास उल्लेखयोग्य काम होइन तर पाठकहरुको स्वास्थ्यको लागि सर्जकहरुले पढिरहनु पर्दछ ।सर्जकहरुले आफ्ना सीमानाहरु फराकिलो बनाइरहनु पर्दछ । पुस्तकहरु लेखक र पाठकहरुलाई लामो यात्राको लागि उत्प्रेरित गरिरहन्छन् । मेरो सन्दर्भमा भन्नुहुन्छ भने म काँतर प्रकारको मानिस हो । म एक्लोपन देखि डराउँछु । त्यसैले म आफ्नोजस्तै रुचि भएका साथीहरुको बीचमा सुरक्षित महसुस गर्दछु । मैले केही पढ्नेहरुको सङ्गठन बलियो बनाउन आत्मिय व्यक्तिहरुलाई पुस्तक पढ्न प्रेरित गरेँ । बस् त्यति नै हो ।

‘उदयले लेखकहरुलाई लेखनमा फसाउँछ ’ केही लेखकहरुको यस्तो पनि आरोप छ । यसलाई कसरी लिनुहुन्छ ?

युग पाठकले आफ्नो उपन्यास ‘उर्गेनको घोडा’को रचना गर्भमा भनिदिनु भयो –‘मित्र उदयले मलाई फसाइदिए ।’शायद् त्यहीबेलादेखि म फसाउनेमा चर्चित भएँ ।फसाउनको लागि कोही फस्न पनि त तयार हुनुप¥यो नि ।सिर्जनाको आगो बोकेको मानिसहरुको चालढाल नै बेग्लै हुन्छ । प्रतिभाले ीबलमष्लन खोजेको हुन्छ ।तपाईँ यदि प्रतिभाशाली व्यक्तिलाई सम्मान गर्नुहुन्छ भने उसको प्रतिभाको निकासमा तपार्इँको योगदान हुनु पर्दछ । युग सक्षम हुनुहुन्थ्यो । मैले उहाँलाई You Can  भनेको मात्र हुँ । प्रत्यक व्यक्तिभित्र भएको त्बभिलत लाई महशुश गर्नको लागि Smelling Power तीक्ष्ण हुनुपर्छ । सुवास जी Be Careful,कतै तपाईँ पनि ढल्किँदै ढल्किँदै फस्न आइरहनु भएको त छैन ?

तपाईँ लेखक र लेखनमा राजनैतिक सचेतता आवश्यक छ भन्ने पक्षमा हुनुहुन्छ । त्यसको केही कारण ?


लेखकहरु सचेत वर्गमा पर्दछन् ।उनीहरु समसामयिक चेतनाका संवाहक पनि हुन् ।समाजमा भइरहेका परिवर्तनलाई साक्षीको रुपमा लेखनमा व्यक्त गरिदिने पनि उनीहरु नै हुन् ।सामाजिक परिवर्तनमा ,सामाजिक उथलपुथलहरुमा लेखकको संलग्नता प्राकृतिक देखिएकाले राजनैतिक रुपले सचेत प्राणी हो भन्ने मान्यतामा कसैको विमति हुन्छजस्तो मलाई लाग्दैन । समसामयिक चेतना नबोकेको मानिस त लेखक हुनै सक्दैन । आज पनि हामीले देवकोटा ,रिमाल ,भूपि,विपी र पारिजातहरुलाई बारम्बार उल्लेख गरिरहनुको एउटै मात्र कारण हो –उहाँहरुको लेखनमा भएको समसामयिक चेतना ।अझ म त के मान्दछु भने लेखकमा हुनुपर्ने एउटा अनिवार्य तत्व विद्रोह हो ।सामान्य मानिसहरु संझौता गरेर रमाइरहेको परिवेशमा पनि सच्चा लेखकले एकप्रकारको उकुसमुकुस-Suffocation_ अनुभव गर्दछ र उसले कुनै पर्वाह नगरी विद्रोहको घोषणा गर्दछ ।

तपाईँ विश्व साहित्य को एक राम्रो पाठक हो । यहाँको अध्ययनको क्रममा केही त्यस्ता पुस्तकहरु पनि आए होलान् ,जसले तपाईँको जीवनलाई नै टर्न दियो । पढ्ने क्रममा तपाइँलाई मन परेका केही लेखक र तिनका पुस्तकहरु साथै अहिलेका केही Promising लेखकहरु जसलाई हेरेर नेपाली साहित्यको भविष्यबारे ढुक्क हुन सकियोस् । यसबारे पनि केही बताइदिनुहोस् न ।

मेक्सिम गोर्कीको ‘आमा ’ पढेपछि मेरो जीवन र समाज हेर्ने दृष्टिकोण नै बदलियो वा काफ्काको The Trial पढेपछि मेरो सोचाइले नयाँ टर्न लियो भन्नेजस्ता घटना मेरो जीवनमा घटेन ।शायद् मेरो साहित्यप्रतिको धारणा अलिक जड थियो कि ?शायद् मैले साहित्यलाई पनि रफी र लताको गीतजस्तै गरेर श्रवण गरेँ कि ?मेरो सबै कुरालाई हलुका लिने बानीले शायद् यस मामिलामा धोका दियो ।साहित्यले मलाई पुस्तकहरुप्रति क्रेजी चाहीँ बनाइदियो ।मेरो साहित्यिक पठनको सुरुवाती दिनहरुमा नेपालीमा निक्लिएको महाभारत पढेपछि मलाई त्यसले यति प्रभावित पा¥यो कि म पछि गोरखपुर जाँदा गीता पे्रसबाट सम्पूर्ण हिन्दी अनुवादसहितको ६ भाग महाभारत ल्याएर पढेँ । लियो टाल्सटायको सानो उपन्यास  The Cossacks  पढेपछि मैले Anna Karenina, War and Peace /  Resurrection  नपढेसम्म एक प्रकारको उकुसमुकुस महशुस गरिराखेँ । टाल्सटायको आन्नाकारेनिना मेरो जीवनप्रतिको सोचाइलाई एउटा टर्न दिन सफल किताब हो । त्यसै समयमा मैले दोस्तोव्यस्कीको Crime and Punishment  The Idiot पढेँ र अद्भुत मानसिक यात्राबाट गुज्रिएँ ।किताबहरुले मलाई समाजसित जोड्दै गए । यसै समयमा हार्वर्ड फास्टको अमृत रोयद्वारा अनुदित ‘आदि विद्रोही ’भन्ने उपन्यास पढेँ र थाहा पाएँ विद्रोहको जड के रहेछ । पढ्दै जाँदा मेरो रुची फेरियो तर समाजको अध्ययन झन् गहिरो रुपमा मेरो सरोकारको विषय बन्यो । विश्व युद्ध पछिको युरोपियन समाजलाई कामुको Outsider र  The Fall र  बुझ्न सहयोग पु¥यायो ।नजिकैको भारतीय समाजको चित्र कोर्न मलाई रेणुको ‘मैला आँचल’ले सहायता ग¥यो ।केरेवियन द्विपमा भएको भारतीय समाजको चित्र मेरा लागि V.S.Naipaul को एउटा अद्भूत उपन्यास A House For Mr. Biswas  ले कोरेको हो ।कुनै पुस्तकको बारेमा धेरै चर्चा सुनेपछि पाठकको पुस्तकप्रतिको Expectation ह्वात्तै बढ्छ । चर्चा सुन्दै आएको तर पढ्न नपाएको पुस्तक मार्खेजको One Hundred Years Of Solitude  थियो । नपढ्दा फेरि जातिच्युत नै होइएलाझैँ पो अनुभव हुँदै गयो । एक दिन छातिमा मुड्कीले हानेर (कारण किताब महङ्गो थियो ) किनेर ल्याएँ ।त्यतिबेलासम्म मेरो अङ्ग्रेजी ठीकठीकै भइसकेको थियो ।शायद् यो २००१ तिरको कुरा होला ।किताब पढ्न थालेपछि मलाई ऐँठन भयो ।त्यस किताबको भाषा, शैली र विषयवस्तु मैले पढिरहेको पुस्तकभन्दा नितान्त फरक थियो ।मार्खेज (वुन्दिया) परिवारको कथा भन्दाभन्दै समाज र राष्ट्रकै कथा भन्दथे ।किताब सपना देखिरहेको जस्तो छ ।कतै केही उडिरहेको छ ।कतै लडाईँ चलिरहेको छ र कतै खाटहरु भाँच्चिने तरखरमा छन् । अर्थात् घटना सपनाजसरी घट्दछन् ।कतिपय कुरा त पहिलो पटकको पढाइमा खुल्दै खुलेनन् ।दोस्रो पटक पढ्दा नयाँ कुराहरु अगाडि आए र लगत्तै तेस्रो पटक मैले त्यो किताबलाई सपना देखेजस्तै गरेर पढेँ र मलाई लाग्यो किताब चर्चा गरेको भन्दा पनि महान रहेछ ।सुवासजी ,पुस्तकको मामलामा तपाईँको Rapport पुस्तकसँग मिल्नुपर्छ ।क्लासिक किताबहरु त धेरैलाई मन पर्छ नै ।म पनि तिनै धेरैमध्ये एक हो ।पढेपछि यो पुस्तक क्लासिक बन्छ है भनेर भन्न सक्नु एउटा राम्रो पाठक बन्नु हो कि ? बुकर पाएको केही समयपछि एकदिन थानानाथ दवाडी अरुन्धती रोयको उपन्यास Gods Of Small Things लिएर देखा पर्नुभयो। थानानाथ दवाडी Awesome Reader हुनुहुन्थ्यो ।राम्रो किताब त उहाँ सुँघेर पत्ता लगाउनु हुन्थ्यो ।मैले किताब पढ्न थालेँ । केही बुझेजस्तो र केही नबुझजस्तो मा नै सकेँ ।भाषा मेरो स्तरले धान्ने खालको थिएन तर मैले अद्भूतताको महशुस गरिसकेको थिएँ । दोस्रो र तेस्रो पटकको धक्काले उपन्यासका पात्रहरु मेरै परिवारका सदस्यजस्ता भइसकेका थिए ।राहेल ,आस्था ,चाकु अंकल ,भेलुदा ती सबैका सरल रेखामा व्यक्त गर्न नसकिने जीवनहरु ममा सरिसकेका थिए । सानासाना घटनाहरुलाई रोयले गजबसँग बुनेका छन् ।उनको भाषाले रसायनलाई अदृष्य बनाइदिएको छ ।उनले Architecture पढेको कुरा सुनेको थिएँ ।उनका भवनका नमुनाहरुसँग म बेखबर छु तर यो किताबको Architectural Design  चाहीँ बेजोड छ र मलाई लाग्छ केही समयभित्रै यसलाई क्लासिकका रुपमा पढिनेछ ।त्यसै समयतिर बिक्रम सेठको एउटा ठूलो उपन्यास ब् क्गष्तबदभि द्ययथ पढेँ ।इन्डिया स्वतन्त्र भएपछिको दशकको सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशलाई केन्द्रमा राखेर बुनिएको राजनैतिक समयभित्रको पारिवारिक कथाले ममा एउटा –‘अब साउथ एसियालाई अङ्ग्रेजी साहित्यको दह्रो खम्बाको रुपमा व्याख्या गर्नुपर्नेछ ’ भन्ने भावनाको विकास ग¥यो । यो लगभग १४०० पेजको किताबलाई मैले कहिल्यै नसिद्धिने लामो सेरियल जस्तै मानेर पढेँ ।थुप्रै किताब पढिए र धेरै किताबहरुले बिर्सनै नसक्ने स्मृति छाडेर गएका छन् ।मन पर्ने पुस्तकको मात्र पनि नाम लेख्न थालियो भने मलाई पाठकहरुले पुस्तक बिक्रेताको पगरी गुथाइदिनेछन् ।त्यसैले अब केही वर्ष यता पढेका राम्रा किताबहरु मध्येको एउटा राम्रो किताब ओर्हान पामुकको The Snow को नाम लिँदै टुङ्ग्याउँदछु ।

नेपाली र हिन्दीमा त हामी सबैका मन परेका पुस्तकहरु उस्तैउस्तै हुन्छन् । थुप्रै राम्रा पुस्तकहरु मध्ये निर्मल बर्माको ‘वे दीन’ र ‘चिडो पर चाँदनी’ ,श्रीलाल शुक्लको ‘राग दरबारी’ धर्मभीर भारतीको ‘अन्धा युद्ध’ र पछिल्लो समयतिर आएको अलका शरागावीको ‘कलिकथा वाया वाईपास’ लिँदा धेरै ठाउँ लिँदैन कि ? नेपालीमा त हामी सबैका मानक तिनै हुन् –देवकोटा,वि.पी.,पारिजात,भुपी,शङ्कर लामिछाने ।अहिले आएर आख्यानमा नारायण ढकाल र नयनराज पाण्डे ।पछि आएका Promising  युग पाठक ,र बुद्धिसागर। पछिल्लो समय श्यामलको पुस्तापछि मैले रुचिपूर्वक पढिरहेको कविताका दुईवटा प्रष्ट नाम हुन् –श्रवण मुकारुङ र मनु मञ्जिल ।

 यहाँले चितवन र मकवानपुरको साहित्यलाई नजिकबाट हेरिरहनुभएको छ । यहाँको साहित्यको सापेक्षिक तुलना र यहाँको साहित्यको भविष्य कस्तो अनुभूत गर्नुहुन्छ ?


यी दुबै जिल्लाहरुको नियति उस्तैउस्तै छ । यिनीहरु दुबै मोफसलबाट केन्द्र बन्ने तरखरमा छन् । चितवन शिक्षाको क्ष्त्रमा निकै अगाडि भएपनि साहित्यको क्षेत्रमा Commoner नै भएको साँचो हो । हरिहर खनालका केही कथाहरुले उहाँलाई एउटा भरपर्दो लेखकको रुपमा उभ्यायो । अहिलेको पुस्तामा हरिहर पौडेल एउटा प्रतिभाशाली कथाकारको नाम हो । निबन्धको क्षेत्रमा रामबाबु घिमिरे प्रष्टसँग चिनिने नाम हो र अहिलेको पुस्ताका राष्ट्रिय पहिचान भएका निबन्धकार सङ्गीत आयाम हुन् ।साहित्यमा  पछि प्रवेश गरेर पनि लघुकथामा एउटा छाप छोड्ने व्यक्तित्व एल.बी.क्षत्री हुन् । पानीको घामबाट एउटा विष्फोटक प्रतिभाको पहिचान बनाएका अमर न्यौपानेलाई देशका केही राम्रा आख्यानकारहरु मध्ये एक भन्ने दिन नजिकिँदै छ भन्ने मलाई लागेको छ । भर्खरै ‘अनन्त पाइला’ नामक उपन्यास निकालेर गजल गाउँदै हिँड्ने धनराज गिरी चितवनको साहित्यमा हास्यरस भर्दै साहित्यकारहरुलाई राम्रो लेख्न प्रेरित गर्ने चौतारी हुन् ।यात्रा संस्मरणमा केदारनाथ खनाल एउटा भरपर्दो नाम हो । मैले भर्खरै मात्र पढ्न सुरु गरेको एउटा नाम छ –रेशम विरही । कविताको क्षेत्रमा भूपिन व्याकुलको नाम छुटाएँ भने अन्याय हुन्छ तर अहिले छुटाउँछु । सरिता उर्जा भएकी कवि हुन् ।उनलाई भाषाले पनि साथ दिएको छ तर उनी हाँकका साथ अगाडि आउन अप्ठेरो मानिरहेकी छिन् । मैले चितवनको कविता एकदमै कम पढेको छु । पत्याउनै नसकिने तर कहिलेकाहीँ साह्रै राम्रो कविता लेख्ने सृजन अविरल हुन् ।  अहिलेको युवा पुस्ताको Promising  कवि सुमनराज श्रेष्ठ पनि हुन् ।

कुनै पनि ठाउँको साहित्यलाई आडभरोसा दिनका लागि केही व्यक्तिहरुको आवश्यकता पर्दछ र हेटौँडाको सन्दर्भमा आर.सी.रिजाल त्यस्तै नाम हो । युग पाठकका कारणले आख्यानमा हेटौँडाले चितवनलाई धेरै पछाडि छाडिदियो ।युगलाई आफ्नै उपन्यासले चुनौती दिइरहेको छ । आर.आर.चौँलागाईँका लघुकथाले एउटा पहिचान बनाएका छन् ।साम्ब ढकालमा एउटा गम्भीर र भावुक कवि सधैँ कविताको बारेमा चिन्तन गरिरहन्छ ।उहाँको कवितामाथि बहस सुरु हुनुपर्दछ ।तुलसी थापा गुरु गम्भीर लेखक हुन् ।उनको ‘अम्बरसिंहको खोजीमा अमरसिंह’ नाटक एउटा गजबको नाटक हो ।उनको दाना कविताको त सबै कायल छन् र सुवास तपाई एउटा Promising Writer हो । तपार्इँको कवितामा आइरहेका विज्ञानका तर्कहरुलाई झिकिदिने हो भने तपाईँका कविताहरुले उचाइको एउटा उडान भर्नेवाला छन् । मकवानपुरको साहित्यिक माहौल निर्माणमा अक्षर,मातृभूमि र झरनाजस्ता पत्रिकाहरुले योगदान पु¥याएका छन् । मैले चितवनमा भूपिनलाई हटाएजस्तै हेटौँडामा निमेषलाई छुटाएको छु किनकी यी दुबै एउटा छुट्टै प्याराग्राफका हकदार छन् ।

भूपिन व्याकुल र निमेष निखिल राष्ट्रिय पहिचान बोकेका नाम हुन् र त्यो पहिचान नै उहाँहरुको लागि गह्रुँगो भारी हुन पुगेको छ ।उहाँहरुबाट बढी आशा राखिएको छ र उहाँहरु आक्रामक तरिकाले सृजनामा नलागेर पाठकहरुलाई निराश पारिरहनु भएको छ ।भूपिनको कवितामात्र नभइकन गद्य पनि राम्रो छ । निमेष निखिलको सुन्दर गद्यले विचारको प्रष्टता पायो भने केही नयाँ चिज आउने छ साहित्यमा । अहिले यी दुबै मित्रहरु एउटा यस्तो जहाज भएका छन् ,जसले च्गलधबथ त छाडिसकेका छ तर हाइट लिन सकेको छैन ।   


                        

Monday, November 16, 2015

Poem

सौजन्य

सुवास खनाल 

सौजन्यमा प्राप्त खुसी टाँसेका रहेछौँ अनुहारमा

तिम्रो नशामा कसैले मन्द विष बगाइ दिए जस्तो लाग्दै छ
रगतको तापमान घट्दै गएको छ
सौजन्यमा प्राप्त मुखुन्डो टाँसेर मष्तिष्क अनुहारमा
तिमी सोचलाई रेडिमेड हुर्काइरहेछौ

सम्भव छ आयातित बिचौलियाहरुले देश चलाइरहेछन्
यसैले चढ्ने छैनौ तिमी
प्राप्तिको कुनै शिखर
र विवश हुनेछौ इतिहासहरुमा मात्र गर्व गर्न

जस्तो कि
आयोजित छ कार्यक्रम
सौजन्यमा प्राप्त हल छ
सौजन्यमा उपलब्ध छ ब्यानर
सौजन्यमै प्राप्त छन् माइकिङ सिस्टम
यही यथार्थको तस्वीर खिच्दै बसेको देशको नाम जोडेर बाँचिरहेछ हाम्रो नागरिकता

जबसम्म झर्ने छैन
विचारमा टाँसिएको युगीन धूलो
जबसम्म हट्ने छैन
आँखामा लागेको पराधिन जालो
तिमी आफ्नो यथार्थलाई उपहास गर्दै बाँच्नेछौ
र तिमी आफ्नो आडम्बरलाई यथार्थ सम्झिँदै बाँच्नेछौ

जस्तो कि
सौजन्यमा प्राप्त खुसीसँग घमन्ड साट्नुको
परिणति हो यो समय ।

(भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको परिवेशमा लेखिएको कविता )



सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog