Wednesday, April 13, 2016

२०७२ का रिलहरुमा मकवानपुरको साहित्य

२०७२ का रिलहरुमा मकवानपुरको साहित्य 
सुवास खनाल

विक्रम संवत २०७२ नेपालीहरुका निम्ति सम्झनाको पाटो बनेर रहिरहनेछ । बहत्तरको सुरुवातीमै शुभकामनाको साटासाट भइरहँदै ताका समयले ठूलो धक्का हान्यो । वैशाख १२ गते गएको महाभूकम्पले भर्खरै राजनैतिक सुषुप्तताबाट उठ्दै गरेको नेपाललाई नराम्रो चोट लाग्यो । कति मानिसले यसलाई श्रापको रुपमा विश्लेषण गर्न चाहे । जे जे गरी बुझे पनि आर्थिक रुपमा पिछडिँदै गरेको मुलुकले एकाएक प्रकृतिको नराम्रो चोट बेहो¥यो ।समयले जस्तो मुक्का हानेपनि समयक्रमले प्रमुख राजनैतिक दलहरुलाई एकै ठाउँमा उभ्यायो र देशमा संविधान जारी भयो । यो नेपालीहरुका लागि खुसीको खबर थियो तर यसको प्रक्रियागत यत्ति कमजोर देखियो कि तत्कालै देशले नाकाबन्दी बेहो¥यो । देशमा दलहरु ध्रुविकृत हुन पुगे । समय थप जटील बन्यो । यी पक्षको सोझो वा अप्रत्यक्ष असर नेपाली साहित्यमा र मकवानपुरको साहित्यमा देखिएको छ र देखिनु स्वभाविक रहन्छ । 

हुन त समय सोझो बाटोमा हिँड्ने चिज होइन र कसैद्वारा निर्दिष्ट हुँदैन । समयको नन लिनियर रुपरेखामा मकवानपुरको साहित्य पनि बाङ्गोटिङ्गो नै हिँड्यो होला भन्ने हुन्छ । २०७२ कै सेरोफेरोमा मकवानपुरका चारवटा साहित्यिक संस्थाहरु पुनर्गठित हुन पुगे । साहित्य सङ्गम मकवानपुर, झरना साहित्यिक परिवार, आँचल साहित्य कला पुञ्ज र प्रलेस मकवानपुर पुनर्गठित भए र सबै संस्थामा युवा नेतृत्व देखा प¥यो । सङ्गमको नेतृत्व परिवर्तन मकवानपुरमा विगत देखि नै गरमागरम बन्ने गरेको परिस्थिति छ । यसपाली पनि यो परिस्थिति कायम रह्यो ।मकवानपुरको अग्रणी संस्था हुनुले नि यसको यो परिस्थिति स्वभाविक अनुभव हुन्छ । यसमा थप केही ध्रुवीकरणका कुराहरु बजारमा आए । मकवानपुरमा सक्रिय साहित्यिक योगदान पु¥याइरहेको सङ्गम यस वर्ष पनि क्रियाशील नै देखियो । झरना साहित्यिक परिवार जसको उद्गमस्थाल छतिवन हो यसले पनि नेतृत्व परिवर्तन ग¥यो र नयाँ तथा युवापुस्ता यसमा नेतृत्वमा आइपुगेका छन् । झरनाले सिर्जनाको मूल्याङ्कन हुन जरुरी छ भन्ने कुरालाई बोध गराउन विगतमा गर्ने गरेझैँ टिकटमा मुक्तक कार्यक्रमलाई यस वर्षदेखि फेरि जोड्यो । मकवानपुरे नारी साहित्यकारहरुको संस्था आँचल साहित्य कलापुञ्ज मकवानपुर पनि नयाँ नेतृत्वका साथ सशक्त देखा प¥यो । यसले मकवानपुरमा चलिरहेका अनेक ट्रेन्डका कार्यक्रमभन्दा भिन्न रहेर समकालीन साहित्य र लेखनमा नारी चेत विषयक अन्तरक्रिया कार्यक्रम ग¥यो । यो डिस्कोर्सले लेखनमा नारी चेतको सन्दर्भलाई सघनताका साथ प्रस्तुत ग¥यो । त्यस्तै प्रलेस मकवानपुर पनि युवा साहित्यकारको नेतृत्वमा पुगेको छ । प्रलेसको सुस्त रुपलाई अब यसले परिवर्तन गर्नेछ भन्ने आँकलन लेखकहरु ग्रिरहेका देखिन्छन् । 

मकवानपुरको साहित्यिक ओज विस्तारीकरणमा प्रयत्नरत भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान, मातृभूमि साहित्य समाज ,सिस्नुपानी मकवानपुर , गजल मञ्च मकवानपुर ,पालुङ् साहित्य समाज लगायतले आफ्ना कार्यक्रमहरुको शृङ्खला अगाडि बढाई रहेका छन् । 

व्यङ्ग्यकार आर. सी. रिजालको संयोजकत्वमा भुकम्पपश्चात् यसले दिएको चोटलाई बहन गर्न सबैको साझेदारी रहोस् भन्ने उद्देश्यले मकवानपुरका सम्पूर्ण साहित्यिक सङ्घ संस्थाहरु एकै ठाउँमा उभिए र २०७२ सालमा प्रदान गरिने धेरैजसो पुरस्कारहरुलाई एकै ठाउँमा मिसाई रु १७,५०० का दरले भूकम्पपीडित साहित्यकार , कलाकार, वाद्यवादक आदिलाई प्रदान गरियो । यसले मकवानपुरका साहित्यिक सङघसंस्थाहरु विपद् व्यवस्थापनका निम्ति एकै ठाउँमा उभिएको ऐतिहासिक सन्देश दिन पुगे । यो क्रम साउदी अरबको जेलमा रहेका कवि अश्रफ फयादको रिहाईका लागि गरिएको कार्यक्रममा पनि रह्यो । उक्त कार्यक्रममा पनि मकवानपुरका सम्पूर्ण साहित्यिक सङ्घ संस्थाहरुले एकसाथ आवाज दिए । 

मकवानपुरमा साहित्यिक पुरस्कार प्राप्तिका हिसाबले यो वर्ष उल्लेख्य रह्यो । राष्ट्रिय रुपमा प्रदान गरिने मोती पुरस्कार कवि निमेष निखिलले प्राप्त गरे । त्यस्तै हेटौँडा स्क्ुल अफ म्यानेजमेन्टका फाउन्डर प्रिन्सिपल पुरण बहादुर जोशीले आफ्नो आमाको नाममा स्थापना गरेको टीकादेवी स्मृति पुरस्कार साहित्य तर्फ साहित्य सङ्गम मकवानपुरलाई प्रदान भयो । यसै वर्षमा कवि आर. आर. चौलागाईको कविताहरुको एकल वाचन काठमान्डौमा सम्पन्न भयो त्यस्तै कथाकार तुल्सी थापाको कथासङ्ग्रह फरक आकाशको साहित्यिक विमर्श चितवनमा सम्पन्न भयो । यसै सालमा कवि निमेष निखिल प्रलेसको केन्द्रिय कमिटीका सदस्य विगतमाझैँ कायम रहे ।  

राजनैतिक परिदृश्यहरु बदलिँदै जाँदा नेपालमा नाकाबन्दीको समस्या रहन पुग्यो । यससँग सन्दर्भित भएर मकवानपुरमा राष्ट्रियताको सन्दर्भसँग गाँसिएर पनि कार्यक्रम भयो । साहित्य सङ्गम मकवानपुर, झरना साहित्यिक परिवार मकवानपुर, रेडियो आकाशगङ्गा तथा कविडाँडा साहित्य समाज , रेडियो मकवानपुर लगायतले यस सन्दर्भमा कार्यक्रमहरु गरे । यस क्रममा राष्ट्रियतालाई दुई कोणबाट हेरिएको पाइयो । एउटा मौसमी राष्ट्रियता काम नरहेको तर्क अर्को हाम्रो राष्ट्रियता कमजोर बन्दै गएको र यसलाई जोगाउनु पर्ने तर्क । 

पुस्तक प्रकाशनका दृष्टिले २०७२ सङ्ख्यात्मक हिसाबले उत्ति सन्तोषजनक रहेन । मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापाको विशिष्ट कृति फरक आकाश कथा सङ्ग्रह प्रकाशित रह्यो । त्यस्तै मकवानपुरमा लामो समयदेखि राजनैतिक र भौतिकशास्त्री व्यक्तित्व निर्माण गरेका डा. गणेश लामा आत्मपरक कृति जीवनका उकाली ओराली सार्वजानिक भयो । २०७२ कै अन्तिमतिर मातृभूमि साहित्य समाजको संयोजनमा राजन ढकालको रचनाकृति प्रकाशित भएको छ । 

हरेक विषय अपूर्ण हुन्छन् । पूर्णता तिरको यात्रा निरन्तर चलिरहन्छ । २०७२ को मकवानपुरको साहित्य यात्रा पनि उत्ति निराशाजनक छैन । वलशाली कविहरुको एकल वाचनदेखि लिएर साहित्यिक सङ्गोष्ठि, साहित्यिक डिस्कोर्स र कृति प्रकाशनसम्मको परिस्थितिलाई हेर्दा बहत्तरको मकवानपुरको साहित्यलाई उत्साहजनक नै बुझ्नु वेश देखिन्छ ।



सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog