Friday, July 15, 2016

प्रश्नहरुको कारखाना छिर्दै गर्दा ।

श्रष्टा पत्रिकामा प्रकाशित सरिता तिवारीको कविता सङ्ग्रह प्रश्नहरुको कारखानाबारे केही धारणा :


प्रश्नहरुको कारखाना छिर्दै गर्दा ।

सुवास खनाल

म सरिता तिवारीलाई किन पढ्छु ?


मसँग स्पष्ट कारणहरु छन् ।


  • समकालीन नारीलेखनमा उनी वैचारिक स्पष्टतासहित उपस्थित एक स्रष्टा हुन् ।
  • कवितामा उनका आफ्ना नीजि मान्यताहरु छन् । त्यसबाट अरु कति कन्भिन्स होलान् वा नहोलान् तर उनका नीजि  मान्यताहरुसँग सादृश्यमा रहन पनि म उनलाई कुरेर वा खोजेर पढ्छु । 
  • समाज बहुत डिप्लोम्याटिक छ, उनी स्पष्ट वक्ता हुन् । उनलाई यो सामाजिक डिप्लोम्यासी जो धेरै आडम्बरी छ त्यसप्रति ठूलो विरोध छ । उनको गम्भीर आपत्ति बुझ्न पनि म उनलाई पछ्याउँछु । 

बुद्ध र लाभाहरु –२०५७ र अस्तित्वको घोषणा–२०६७ पश्चात् प्रश्नहरुको कारखाना २०७२ का साथ नेपाली काव्यिक यात्रामा निरन्तर रहेकी सरिता तिवारीका अस्तित्वको घोषणापत्र र प्रश्नहरुको कारखानाको समष्टिगत अध्ययन गर्ने अवसर म आफूलाई प्राप्त भएको छ । अब्जेक्टिभ भइबस्नु मलाई उत्ति रुचिकर छैन । सब्जेक्टिभ हुँदै जाँदोरहेछु । यो लेखन आत्मगत हुन गएमा त्यो स्विकार्य नै छ भन्ने सोच्छु । 

आइन्स्टाइनलाई सपनामा प्रश्न आयो – यदी मानिसले प्रकाशको गतिलाई पछ्याउन सकेमा के होला । यसको परिणति हो , थिअरी अफ रिलेटिभिटी, जसले संसारमा एक किसिमको हङ्गामा दियो ।  बुद्धलाई प्रश्न आयो –दुखको कारण केहो ? माक्र्समा प्रश्न उब्जियो –सोसियो कन्फ्लिक्ट किन छ ? न्युटनले रुखबाट फल झर्दा यसको रहस्यबारे प्रश्न गरे ? समाजको यो विकासको पछाडि प्रश्नहरुको महत्वपूर्ण भूमिका छ । प्रश्नहरु कत्तिको सिर्जनात्मक बन्न सक्छन् भन्ने कुराले सम्बन्धित विषयको विकासस्तर कहाँ पुग्ने भन्ने निर्धारण हुन्छ । प्रश्नहरु सही हुन सकेनन् भने भविष्यले हामीमाथि पनि प्रश्न गर्नेछ । यस कारण प्रश्नहरुको कारखाना खोल्नु उत्ति सहज काम होइन । यो चुनौती बहन गर्ने प्रयत्नमा रहने तिवारीलाई काव्यिक साहस भएको व्यक्ति सम्झिनु पर्छ । 

अस्तित्वको घोषणापत्रको धङधङी
प्रश्नहरुको कारखाना पढ्न सुरु गर्दा ममा अस्तित्वको घोषणापत्रको धङधङी थियो । उल्लिखित कृतिको अध्ययनले ममा छोडेको काव्यिक छाप बोकेरै प्रश्नहरुको कारखाना प्रवेश गरेँ । अध्ययन गर्दै जाँदा कविताको सिक्वेल नैझैँ अनुभूत भयो । तर एङ्गल अफ पर्सेप्सन झन् गाढा बन्दै गएको महशूश गरेँ । हेटौँडाको स्थानीय टेलिभिजन – टिम को कार्यक्रम सिर्जनाका सुसेलीमा प्रश्न गरेँ –तपाईँ प्रश्नहरुकोे कठघरासम्म आइपुग्दा वैचारिक डाइमेन्सनका हिसाबले खुम्चिएझैँ लाग्दैन ?उनले भनिन् –खुम्चिएको भन्दा नि धारणाहरु निर्माण गर्ने चरणमा रहेको र समाजको सोलोडोलो व्याख्या भन्दा माइनुट स्टडीमा लागेको हुँ । 

प्रश्नहरुको कारखानाका केही फरक विशेषता छन् । यसमा थारुहरुको स्थानिक परिवेशको सन्दर्भ आउँछ । आदिवासी सिरिजका कविताहरुमा थारु समूदाय, त्यसप्रतिको कविको सान्निध्यता र त्यहाँ स्थानिक व्यक्तिहरुको पीडा कविताहरुमा प्रस्तुत छ । अङ्गुछिया, ओरी दाओ कविताहरु फरकपनाका हिसाबले र स्थानिक कथा बुझ्न पढ्नुपर्ने कविता हो । स्पिभाकले सबाल्टर्न आफैँ बोल्छन् वा उनका कथा अरुले लेखिदिनु पर्छ भन्ने विषयमा ठूलै व्याख्या गरेकी छिन् । सरिता तिवारीले सवाल्टर्नीय आवाज आदिवासी खन्डमा दिएकी छिन् । उनी उही समाज सादृश्य हुर्किएकी हुनाले यो आवाज ओरिजिनल आवाज हो । 

के तिमीले मलाई आविष्कार गर्‍यौ ? नारीमूखर स्वरको केन्द्रियता यस खन्डका कविताहरुमा छन् । ‘हे देवी कवितामा विद्रोही आवाज दिँदै गर्दा मानवीय शक्तिभन्दा माथि दैवी र अदृश्य शक्तिको पक्षपोषण भएको अनुभूत हुन्छ । नारीस्वरलाई गाढा बनाउनकै निम्ति यो आवश्यक छैन भन्ने ठम्याइ पङ्क्तिकारको रहेको छ ।
समाज असल खराब दुबैको समग्र स्वरुप हो । समाज र राज्यको मूल चरित्र नै दोषी हुँदा त्यसमाथि प्रश्न उठ्नु पर्छ र सर्जकहरुको दायित्व निर्वाहको सबल चित्र त्यहीँ देखा पर्दछ । तर एकाध घटनालाई सामान्यीकरण गर्दा भने प्रभाव सही बन्दैन भन्ने हो । बा कविता एउटा विशिष्टिकृत घटनासम्बद्ध रहँदा त्यसको उपादेयता बढी रहने अनुभूति हुन्छ तर सामान्यीकरण भएमा त्यसले दिने सन्देश सही नजाने हो कि भन्ने डर देखिन्छ । 

वैचारिक खन्डको कविताले उद्वेलित गराउँछ । जागरणको उर्जा भर्छ । सुन्दरताका पक्षपोषक कविहरु कवितामा दुखका ,संवेदनाका र विद्रोहका अररा शब्दहरु नआउनु भन्ठान्छन् । श्रमजीवी वर्गको आवाजलाई प्रगतिशील कविहरु सुन्दर महशूश गर्छन् । सुन्दरता सापेक्षित छ । सापेक्षिक अर्थमा तिवारीका यो सिरिजका कविताहरु सुन्दर लाग्छन् ।

वैचारिक खन्ड, जसले धेरैलाई सङ्ग्रहप्रति पुर्वाग्रही बनायो 

तिवारीको कविताप्रतिको अनुरागको व्याख्या अन्तिम ३४ पेजले सबैलाई चाहीँ खुसी बनाउँदैन । कवि होइन कविता बोल्ने हो भन्नेहरु छन् । कविले होइन कविताले राजनीति गर्ने हो भन्नेहरु छन् । यसको भाइस भर्सा स्वर पनि छ । कवि कर्ता हो ,कविता कर्म । मूलत हेरिने कर्म नै हो । कवितात्मक अभिव्यक्ति के हो भन्ने नै हो तर त्यो कवि सापेक्ष निर्धारित हुन्छ । कविको चेतनासापेक्ष र नियोजनसापेक्ष हुन्छ । त्यसकारण कविको निजात्मक अभिव्यक्तिलाई बायस गर्दै जाने हो भने त कविता पढ्न नै छाड्दा निको हुन्छ ।

उनले यस खन्डमा लेखनको पृष्ठभूमिदेखि साहित्यिक मिसनका डेभिएसनहरु बताएकी छिन् । उनी पनि संरक्षण कविता आन्दोलनकी एक सक्रिय सदस्य हुन् । उनलाई संरक्षण कविता आन्दोलनले लिन नसकेको वैचारिक र सामाजिक गतिप्रति गम्भिर अरुचिपश्चात त्यसप्रति विमोह सिर्जना भएको विषय उल्लेख छ । यो पनि एक किसिमको जोखिम नै हो । जुन बाटो कुनै निश्चित टाइमफ्रेममा सही लागेको थियो त्यही बाटो अर्को टाइमफ्रेममा सही नलाग्न सक्छ तर प्रश्न गर्ने साहस सबैले गर्नं सक्दैनन् ,त्यो तिवारीले गरेकी छिन् ।

वैचारिक लेखन जोखिमको यात्रा 


लेखकको कित्ताकाट हुनुपर्छ भन्नेमा एकजना उदय अधिकारी सर पनि आवाज उचाल्नुहुन्छ । कवि अब्जर्भर मात्रै हो कि सोसल इन्डक्टर पनि हो । इन्डक्टरभन्दा पनि माथि उठेर एक्टिभिस्ट हुने कि नहुने भन्ने विषय उहाँको रहने गर्दछ । वैचारिक लेखनप्रति सबैभन्दा ठूलो प्रहार हुन्छ र त्यो प्रहार खप्ने जब आदत पर्छ त्यसपछि प्रतिरोधी सशक्त कविताको जन्म हुन्छ । वैचारिक कविताले नै हो विपक्षीको वा लक्षित वर्गको अहम्मा प्रहार गर्ने । नत्र कविता पनि लैबरी गाउने कुनै क्रृत्रिम स्वरयन्त्र बन्ने पक्का छ । 

यी अन्तिम कविताहरु होइनन् 

सरिता तिवारी यो समयको सक्रिय कवि हुन् । लेखनीको यो मोडमा समकालीन कविहरुमाझ स्पष्ट चिनिने क्षमता राख्छिन् । यो टाइमफ्रेममा उनका वैचारिक आग्रहसहितका कविता हुन् –यी तर यिनै अन्तिम कविताहरु होइनन् र उनको कविताप्रति कुनै स्टेटिक धारणा तयार गर्नु ठीक हुन्न भन्ने लाग्छ । यो उनीमात्र नभएर , यो समय लेख्दै रहने हर कविप्रतिको दृष्टिकोण हो ।

अन्त्यमा :

प्रभावशाली प्रगतिवादी कवि सरिता तिवारी तेस्रो कविता सङ्ग्रहसम्म आइपुग्दा उनको निजात्मक तथा सामाजिक सम्बन्धका निबन्धात्मक लेखनहरुमा पनि सक्रिय छिन् । उनको त्यससम्बन्धीको कलेक्सन पनि आउनु जरुरी छ । अन्त्यमा शुभकामना ।

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog