Saturday, September 23, 2017

तर्कहरू

 तर्कहरू 

सुवास खनाल


जब जन्मिए तर्कहरू 
नाश भए शाश्वत सत्यहरू

तपाईलाई लागिरहेको सत्य 
मेरो सत्य नहुन सक्छ 
तपाईँले देखिरहेको सौन्दर्य 
म सर्वाधिक भ्रम मानिरहेको हुनसक्छु
तपाईं हाँसिरहेको क्षण 
अर्को कोही रोइरहेको हुनसक्छ 
तपाईँले स्वतन्त्रता खोजिरहँदा 
म सीमाहरूको परिकल्पनामा हुनसक्छु 

 सापेक्षिक हुन्छन् रहरहरू 
सापेक्षिक हुन्छन् तर्कहरू 

महाशय 
म शालिकहरूको आँखाबाट पनि आँसु खसिरहेको देख्न सक्छु 
महाशय 
म आँसु खरिदबिक्रीको वाचाल भाषा पनि बुझ्न सक्छु 

तर्कहरू तर्कहरूका लागि मात्र केही होइनन् 
तर्कहरू जीवनसँग गाँसिन्छन् र तर्क बन्छन् 

सोच्ने गर्छु 
तर्कैतर्कका लामहरूबीच 
उभिएर एकनाशले 
तर्कहरूकै कारण मैले बाँच्नु छ ।

Wednesday, September 6, 2017

राजनैतिक सहमति ।

राजनैतिक सहमति । (लघुकथा)
उनीहरूले 'हो ' भने । यिनीहरूले 'होइन 'भने । हो र होइनका बीच ठूला बहसहरू भए । पत्रिकामा बहसहरू छापिए । रेडियो र टेलिभिजनमा केही दिन गरमागरम अन्तरवार्ताहरू बजे । जनताहरू सकसमै थिए । उनीहरू निष्कर्ष आउँछ भन्नेमा विंवस्त थिए र रेडियोमा कान टाँसिरहेका , पत्रिका र टिभीमा आँखा टाँसिरहेका भेटिन्थे । चिया पसलमा दुई चार कप चिया बढी बिके । बेलुकी दारू पसलको बहस पनि यही विषयमा निष्कर्षविहीन टुङ्गिन्थे । केही दिनपछि'हो ' भन्ने र 'होइन ' भन्ने पक्षबीच राजनैतिक सहमति भो भन्ने सुनियो । जनताहरू 'हो' र 'होइन' मध्ये एक के हो भन्ने जान्न चाहन्थे ।सहमतिपश्चात् टेलिभिजन अन्तरवार्तामा दुबै पक्ष उपस्थित भएका कारण म पनि उत्सुक भएर सुन्दै ,हेर्दै थिएँ । दुबै भन्दै थिए । हामीबीच सहमति भयो । हामी निष्कर्षमा पुग्यौँ । निष्कर्ष यो रह्यो - यो विषय कहिले 'हो 'कहिले 'होइन' र फेरि कहिले 'होइन' कहिले 'हो' । यसैगरि बुझिदिनु होला ।

डा. केसीको दिमाग ठीक छैन

डा. केसीको दिमाग ठीक छैन

सुवास खनाल

डा. केसी सङ्लो हुनुपर्छ भन्छ सबैको मन
डा. केसी भन्छ बाँच्न पाउनुपर्छ सबैले
डा. केसी कात्रोमा गोजी सिउने हिसाब गर्दैन
डा. केसी उपल्लो र तल्लो निसाब गर्दैन
साँचोमा डा. केसीको दिमाग ठीक छैन

अरे ओ
यो संसारमा सत्य बोलेर साध्य लाग्छ र ?
अरे ओ
यो दुनियाँमा एक्लै हिँडेर कहीँ पुगिन्छ र ?
डा. केसी सत्य बोल्छु भन्छ
डा. केसी क‍ोही हिँड्न सकेनन् म एक्लै हिँड्छु भन्छ

डा. केसी सूर्य हो र एक्लै उदाउनु ?
डा. केसी पृथ्वी हो र एक्लै बिउँझिनु ?

साँचोमा डा. केसीक‍ो दिमाग ठीक छैन

डा. केसी ठूलो विरासतबाट आर्जेको कुर्सीलाई ख्यालख्याल ठान्छ
डा. केसी कुर्सीका नियतिहरू बुझ्दैन
अरे ओ
यो पुँजीबादी युगमा पैसो केही होइन भन्छ
इमान , इज्जत , स्वाभिमान र सेवाको कुरा गर्छ

साँचोमा डा. केसीको दिमाग ठीक छैन

डा. केसी गरिबलाई नि रोग लाग्छ भन्छ
डा. केसी गरिबले नि पढ्न पाउनुपर्छ भन्छ
अरे ओ
प्रधानमन्त्रीको फिलाको पिलोको उपचार देशमै सम्भव छ प‍ो भन्छ
अरे ओ
दुखीका दुखका दाग एक्सरेहरूमा देखिन्छ भन्छ
अरे ओ
यो डाक्टर अमूर्त अमूर्त कुरा गर्छ

साँचोमा
डा. केसीको दिमाग ठीक छैन

आजको समयमा नि
कमिसनजत्तिको मामुली कुरामा असन्तोष पोख्छ
बिचौलियाहरूको उछित्तो काढ्छ
माफियाले सत्ता चलाए भन्छ
अरे ओ
यो युगमा नि असल असल कुरा गर्छ
अरे ओ
लोकतन्त्रमा विभेद हुँदैन पो भन्छ

साँचोमा
डा. केसीको दिमाग ठीक छैन

डा.केसी गाउँ डुल्छ बिमारी खोज्छ
सहरमा जस्तै गाउँमा नि रोग हुन्छ भन्छ
यो डाक्टर अनेक अनेक सनकी कुरा गर्छ
साँचोमा डा. केसीको दिमाग ठीक छैन ।

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog