Sunday, July 9, 2023

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर ।




सुवास खनाल


साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण सञ्चार सेवा समाजले तत्कालीन समयमा कार्यक्रमहरू सञ्चालन गर्दथ्यो । यो २०५६ या ५७ सालतिरको कुरा थियो । उहाँ स्वास्थ्यको कुनै शिविरमा छतिवनमा हुनुहुँदो रहेछ र ग्रामीण सञ्चारको कार्यक्रममा कविता सुनाउनु भएको थियो । उही समयमा मैले पहिलो पटक गणेश सरलाई भेटेँ । उसैबेला उहाँका केही कृतिहरू प्रकाशित भइसकेको र भर्खरै मात्र ‘बङ्गलादेशको सफर’ नामक कृति प्रकाशन भएको जानकारी पाएको थिएँ । 

पछि म अध्ययनको सिलसिलामा हेटौँडा बस्न थालेपछि र साहित्य सङ्गमका कार्यक्रममा निरन्तर उपस्थित हुन थालेपछि उहाँसँगको भेटको सिलसिला बढ्यो । विशेषत ः व्यङ्ग्य सिर्जनामा कलम चलाउनु हुने उहाँ लेखनमा अलिक तीव्र लाग्नुहुन्थ्यो । विषयवस्तुलाई धेरै कलात्मक रुपमा प्रस्तुत नगरी आक्रामक लेखन गर्ने उहाँको शैली थियो । व्यङ्ग्यात्मक कविता , निबन्ध , लघुकथा लगायतमा उहाँको कलम चल्दथ्यो । मकवानपुरमा जनमतका धेरै ग्राहक बनाएर साहित्यिक अध्ययनमा धेरै सर्जकलाई जोड्नुमा उहाँको भूमिका रहेको छ । हेटौँडाबाट निस्किने पत्रिकाका शनिवारीय पृष्ठमा एकै दिन धेरै पत्रिकामा रचना छपाउनु हुन्थ्यो । हामीले एउटामा मात्र प्रेषण गर्दा उपयुक्त हुने सुझाउँदा उहाँको तर्क थियो –धेरैमा छाप्दा धेरै पाठकमाझ आफ्नो रचना पुग्छ र साहित्यको सन्देश जान्छ भन्ने । उहाँ लेखनका अतिरिक्त गायनमा पनि रुची राख्नुहुन्थ्यो । 

उहाँलाई चित्त नबुझेका कतिपय कुरा कार्यक्रममा उहाँ प्रष्टसँग राख्नुहुन्थ्यो । नयाँ पुस्ताका कवि लेखकहरूलाई हौस्याउनु हुन्थ्यो । सङ्गमको अध्यक्ष म आफू रहँदा उहाँ छोराहरूसँग भेटका लागि अमेरिका जानु पर्ने थियो । उहाँले सङ्गमसँगको आबद्धता रहेको चिठी अङ्ग्रेजीमा बनाएर लानु भएको थियो र त्यस निम्ति सहयोग गर्न पाएको थिएँ । बनस्खण्डीमा गोपाल प्रसाद रिमालको प्रतिमा स्थापना ताका त्यो ( उहाँको बसोबास ) भेगमा गर्न पाउँदा निकै हर्षित भएको अनुभव सुनाउनु हुन्थ्यो । उहाँ बाहिर रहेर नेपाल आउँदा पनि त्यहाँका अनुभवहरू सुनाई विश्वमा सुन्दर देश नेपाल रहेको र यहाँ व्यवस्थापन गर्ने नेताहरू गतिलो नहुनाले नेपालले दुख भोगिरहेको तर्क गर्नुहुन्थ्यो । 

नेपालबाहिर हुँदा पनि उहाँ हामीसँग फोन सम्पर्कमा रहीरहनु हुन्थ्यो । विदेश हुँदा पनि हेटौँडाको साहित्यिक गतिविधिबारे उहाँलाई विशेष चासो रहन्थ्यो । समय–समयमा फोन गरेर कुन–कुन संस्थाले कस्ता गतिविधि गरिरहेका छन् भन्ने जानकारी लिनु हुन्थ्यो । उहाँ नेपाल फर्केपछि सङ्गमकै कार्यक्रममा उहाँका अनुभव सुनाउन आग्रह गरेको विषय सम्झनामा ताजै रहेको छ । 

लेखिएका रचनाहरूमध्ये म उहाँका लघुकथाहरूबाट बढी प्रभावित छु । सम्पे्रष्य र तीख्खर लघुकथाका झङ्कार मानसपटलमा अझै झङ्क्रित छन् ।

उहाँको एक लघुकथा –

वास्तविकता 

स्वर्गको राजा इन्द्र निरीक्षणको क्रममा यमलोक पुग्दा त्यहाँ भव्य स्वागत गरियो । राजा इन्द्रलाई त्यहाँको वस्तुस्थितिबारे यमराजले जानकारी गराउँदै सबै देशको आआफ्नो नाम लेखेको कन्टेनर देखाए । 

जुन देशको मान्छे मरेर आउँथे ,त्यो मान्छे नभागोस् भनेर त्यही देशको कन्टेनरमा हाली बिर्को बन्द गरिन्थ्यो ।

राजाले एकएक गरी कन्टेनर हेर्दै जाँदा एउटा कन्टेनरको बिर्को खुला देखेकाले बिर्को नलागाइनुका बारे यमराजलाई सोधे । यमराजले जवाफ दिए –‘सरकार यो त नेपालको कन्टेनर हो । यसको बिर्को लगाउनु पर्दैन । नेपालीहरूमा एकले अर्काको खुट्टा तान्ने परम्परा भएको हुँदा भाग्ने त कुरै छैन कन्टेनरबाट माथि उक्लिन समेत सक्दैनन् । ’

उहाँलाई क्यान्सरको शङ्का भएर इन्डियाको हस्पिटलमा उपचाररत रहनु हुँदा हामीलाई उहाँबारे चिन्ता भइरहन्थ्यो । कार्यक्रमहरूमा उहाँबारे चर्चा हुन्थ्यो । इन्डियाबाट फर्किँदा खानपानलाई सुधारेका कारण अब स्वस्थ रहेको बताउनु हुन्थ्यो । रोगलाई जितेको चर्चा पनि गर्नुहुन्थ्यो । सम्भवत ः उहाँसँगको अन्तिम इन्टरभ्यु ‘बुढ्यौली साहित्य’ कार्यक्रममा मैले गर्ने सन्दर्भ बनेको थियो र सो इन्टरभ्यूमा उहाँले शुद्ध खानपानले क्यान्सरजस्तो रोगसँग लडेर आफू स्वस्थ भई हिँडडुल गर्न सकिरहेको बताउनु भएको थियो । 

रोगपश्चात् पनि हेटौँडाका साहित्यिक कार्यक्रमहरूमा उहाँ आफै स्कुटर ड्राइभ गरेर आउने र फर्किने गर्नुहुन्थ्यो । २०७९ वैशाख –जेठतिरसम्म सामान्य शैलीमा हिँडडुल गरिरहनु भएका उहाँ चुरेहिल हस्पिटल भर्ना हुनुभएको जानकारी म आफूलाई असार ४ गते  भएको थियो । ५ गते भेट्न जाँदा उहाँलाई गारो रहेको जानकारी भयो तर मलाई ‘सुवासजी’ भनेर सहजै चिन्नुभएको थियो । असार ७ गते त उहाँ हामी सबैबाट बिदा हुनुभयो । 

गणेश सर भौतिक रुपमा हामी सबैमाझ नरहे पनि उहाँका कृति र सम्झनाहरू चीर काल पर्यन्त रही रहनेछन् । मानिसले आफ्नो इतिहास आफै निर्माण गरेर जाने गर्दछन् । जसको कुनै इतिहास निर्माण हुँदैन तिनलाई कृतिम बलले पनि उभ्याउन सकिँदैन । जसले आफ्नो इतिहास बनाएर जान्छन् , त्यो कसैले मेट्न चाहेर पनि मेटिँदैन । गणेश सर पनि मकवानपुरको साहित्यमा नमेटिने आफ्नै आकारको इतिहास हो । उहाँप्रति मेरो सदैव सम्मान छ । 


Friday, January 6, 2023

मेरी आमा

 

मेरी आमा



                                -सुवास खनाल

मेरी आमा  बिहान ब्युँझाउनु हुन्छ प्रत्येक दिन

उहाँको मुस्कानसँगै  उघ्रिन्छ सूर्य बोकी आउने क्षितिज

चराले चारा  टिपीसक्छन्  घाम आइपुग्नुअघि

वस्तुभाउ अघाउछन् उहाँ अघाउनुअघि


बाँच्नु भएर मेरो आफ्नो समेत भविष्य

पत्ता लगाउनु हुन्छ समयको उबडखाबड


लाग्छ समयको जाँचकी पो हुनुहुन्छ कि ?

लाग्छ समयको ऐना पो हुनुहुन्छ कि ?


 आमा

 मैले पढ्नुपर्ने जिन्दगी तपाईंको

 मैले सिक्नुपर्ने जिन्दगी तपाईंको 


म अघाई  दिँदा भोकै समेत अघाउनु हुने तपाईँ

म  निदाई दिँदा मसँगै निद्रा पाउनुहुने तपाईं

म हाँसी दिदा  पीडाको पहाड थिचेर मनमा 

हाँस्न सक्नु हुने तपाईं


तपाईं किताबी ज्ञान नलिएरै पनि अज्ञानी हुनुहुन्न

म  किताबी ज्ञान लिएरै पनि ज्ञानी बन्न सकेको छैन


 आमा

 तपाईंजस्तै जिन्दगी बाँच्न सकूँ म पनि

 तपाईं जस्तै ज्ञानी बन्न सकूँ म पनि


My mother

-        Subash Khanal


My mother wakes the morning every day

The horizon with the sun rises with her smile

The birds get forage before the sun comes up

All domesticated get fed before she eats

 

By being my own future

She finds my waste of time



I believe her as examiner of time

I think her as a mirror of time



My mother,

The life I have to read is yours

The life I have to learn is yours



You who feel full when I feel full of my stomach

You who get your dream when I relax on my sleeping

When I laugh

You can laugh by hiding your mountain of pain

You are not ignorant without book knowledge

I am ignorant even with bookish knowledge

 

My mother,

I wish to live life like you

I wish to become as wise as you

                                

                                               subaspoet@gmail.com

 


सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog