Showing posts with label अन्तरवार्ता. Show all posts
Showing posts with label अन्तरवार्ता. Show all posts

Thursday, October 21, 2021

नेतृ अष्टलक्ष्मी शाक्यसँग श्यामप्रसादबारे भएको वार्ता

नेतृ अष्टलक्ष्मी शाक्यसँग श्यामप्रसाद स्मृति प्रतिष्ठानका सचिव सुवास खनालले फोनसंवाद मार्फत गर्नुभएको वार्ताको संपादित अंश


तपाईँहरू श्यामप्रसाद समूहबाट राजनीतिमा प्रवेश गर्नुभएको रहेछ , कसरी आउनु भयो राजनीतिमा ?

–हो हामी उहाँको विचार समूहमा नजानिँदै प्रवेश गरेका रहेछौँ । खासमा त्यतिखेर हामी  चिनियाँ भाषा सिक्थ्यौँ । चिनियाँ भाषा सिक्नका लागि महेशमान श्रेष्ठकहाँ जाने गर्दथ्यौँ । चिनियाँ भाषा सिक्ने कुरा पनि क्रान्तिसँग नै जोडिन्थ्यो । वसन्तपुरमा रहेको चिनियाँ लाइब्रेरीमा चिनियाँ भाषाको पढाइ हुन्थ्यो ,महेशमानले नै चिनियाँ भाषा पढाउनु हुन्थ्यो ,त्यही क्रममा राजनैतिक प्रशिक्षण पनि हुन्थ्यो । शकुन्तला मानन्धर र म चिनियाँ भाषा सिक्नुका साथै राजनैतिक सङ्गठन निर्माण र जनवादी क्रान्तिका कुराहरू बाट प्रशिक्षित हुन्थ्यौँ । त्यसबेला सुलोचना र म एसएलसी दिएर बसेका थियौँ र एउटै टोलबासी पनि । खाली समय भएकाले सो समय सदुपयोग गर्न  चिनियाँ भाषा सिक्न जाने क्रममा नै हामी राजनैतिक चेतना ग्रहण गर्ने तहमा पुग्यौँ । कलेज समय सुरु हुँदा सम्म यो क्रम चल्यो । महेशमान बाहेक अर्का एकजना हुनुहुन्थ्यो ( नाम बिर्सेँ –देवराज तुलाधर हुनुपर्छ ) ,उहाँहरूले चिनियाँ भाषा सिकाउनु हुन्थ्यो र साथमा राजनैतिक प्रशिक्षण पनि दिनुहुन्थ्यो । उहाँहरू श्यामप्रसाद समूहका हुनुहुँदो रहेछ  ।

श्यामप्रसादसँग चाहीँ कसरी भेट हुन पुग्यो ? 

–त्यतिबेला सबैका गोप्य नामहरू हुन्थे । देखभेट नै भएपनि वास्तविक नाम नहुने हुनाले मैले श्यामप्रसादलाई त्यो समयमा चिन्न पाइनँ । सहज भेटाउने र चिनाउने वातावरण थिएन । हामीलाई चिनको विकासका कुराहरू सुनेर चिनबारे बताइ दिन आग्रह गथ्र्यौँ ,भाषा सिकाउने गुरुहरूलाई । यसबाट उहाँहरूले राजनैतिक चेतना दिनु ठीक सम्झिनुभएछ हामीहरूलाई अनि राजनैतिक चेतना बाँड्न थाल्नु भयो । त्यसो हुँदा पनि नेता तथा व्यक्तिहरू उत्ति चिनाइ हाल्नु हुन्थेन । शकुन्तला र म मध्ये म अलिक सबल आर्थिक अवस्था भएको परिवारको थिएँ र शकुन्तला अलिक कमजोर आर्थिक अवस्थाको परिवारकी थिइन् । यस अर्थमा पनि मप्रति उहाँहरूको राम्रो विश्वास बनिसकेको थिएन । यो टिक्न सक्दिनँ भन्ने खालको मानसिकता थियो जस्तो लाग्छ । त्यसकारण शकुन्तला बढी विस्वासिलो भएकाले भेट्ने अवसर पाइन् तर मलाई भेट्ने अवसर दिइएन । भेट्न नपाएपनि उहाँका कृतिहरू भने मैले सो समय पढ्न पाएको थिएँ । उहाँका कृतिहरूले निकै प्रभाव पारेका थिए । उहाँको ‘साथि बनाउने काइदा’ भन्ने पुस्तकले मलाई कस्ता साथि बनाउने र कस्ता नबनाउने भन्ने मार्ग दर्शन गरेको थियो । क्रान्तिकारीका क्रान्तिकारी नै साथि हुनुपर्छ भन्ने मैले त्यहीँबाट सिकेकी थिएँ । ‘बहिनीलाई चिठीका भाग १,२ र ३ ’ पनि मलाई सो समय निकै प्रभाव पारेका पुस्तक थिए । सरल भाषा शैलीका साना आयतनका ती पुस्तकका गुदी भने गतिला हुने गर्दथे । उहाँकै समूहमा रहेर पनि उहाँलाई त पछि मात्रै मैले भेट्न पाएको हुँ र उहाँको समूहको हुँ भन्ने  पनि निकै पछि बुझेकी हुँ । हामीलाई हाम्रो अधिकार चाहिन्छ , पञ्चायती व्यवस्थाले देश विकास गर्न सक्दैन , देश विकासका लागि कम्युनिस्ट व्यवस्था चाहिन्छ भन्ने खालका कुरा हामीलाई प्रशिक्षणहरूमा सिकाइन्थ्यो तर नेतृत्वकर्ता को हुन् भन्ने जानकारी गराइन्नथ्यो । 

कहिलेसम्म श्यामप्रसाद समूहमा रहनुभयो र कसरी मालेमा प्रवेश गर्नुभयो ?

–हामीलाई प्रशिक्षित गर्ने व्यक्ति महेशमान थिए । उहाँ उपचारको लागि चिन जाने हुनुभयो । भन्नलाई त्यो भनिएपनि उहाँ पिएचडी गर्न जानुभएको रहेछ । जब उहाँ जानुभयो ,हामी त रानीविनाको घार जस्तो भयौँ । उहाँले हामीलाई जसको जिम्मा लगाउनु भयो , वा हामीलाई हाम्रो नेता भनेर एकजना व्यक्ति चिनाइदिनु भयो ,त्यो मान्छे गतिलो परेन । उसको दृष्टिकोण सही थिएन । उसको आचार गलत थियो । यो हाम्रा समूहका साथिहरूले पत्तो पाइसकेका थिए । हामीलाई साह्रै समस्या प¥यो । हामीसँग समूह थियो तर नेतृत्व थिएन । श्यामप्रसाद सँग प्रत्यक्ष सम्पर्क नभएको र हामीले बनाएको सर्कलको नेतृत्व गर्ने मानिस नभएपछि र जो नेता पाएका थियौँ । ऊ गलत परेपछि हामीले सही दिशा प्राप्त गर्न सकेनौँ । हामी त्यत्तिकै अलपत्र प¥यौँ । बीचको नेताले माथिल्लो नेतृत्वसँग सहज सम्बन्ध बन्न दिएन । हामी घरको घेराबाट बाहिरीसकेका थियौँ तर बाहिर हामीलाई सहज वातावरण बनिरहेको थिएन । हामी बुर्जुवा सर्टिफिकेट केही काम छैन भन्दै पढाइलाई ध्यान नदिने र राम्रो पढियो भने पार्टिको विश्वास गुम्छ भन्ने तहमा पुगिसकेका थियौँ । अनि जाँचलाई पनि उत्ति वास्ता गरिएन । जब महेशमान चिन गए अब हामीले बुझेको थियौँ ,हामी श्यामप्रसाद समूहका हौँ , हाम्रो विश्वास चिनिया क्रान्ति र माओत्सेतुङ विचारधाराको हुनुपर्छ । तर यो समूह अति गोप्यतावादी भएकाले कसैले कसैलाई चिनाउँदैनथे । बहुतै मुस्किल प¥यो । यस बीचमा प्रगतिशील स्कुल – बाल सेवा निकेतनमा पढाउन थालेको थिएँ । त्यहाँ शान्तदाश मानन्धर, माधुरी दीक्षित लगायत हुनुहुन्थ्यो । थोरै पैसा आउँथ्यो त्यो पनि लेवीको रुपमा बुझाउँथ्यौँ । नेतृत्व विहीनताको अवस्थामा पुगेपछि अध्ययन समुह निर्माण गरियो । सो समूहमा  ६० जना साथिहरू थियौँ , जसले ‘मितेरी’ हाते पत्रिका पनि निकालेका थियौँ र गाउँ जाने अभियान सुरु गरेका थियौँ ।

यसै बेला झापा विद्रोह चर्चित थियो , कोअर्डिनेसन केन्द्र र नेकपा माले स्थापना भएको बेला थियो । हामीलाई पनि नेतृत्व विहीनताका कारण एउटा पार्टि आवश्यक परेको थियो ।  एउटा पार्टीमा त लाग्नै प¥यो भन्ने हाम्रो सल्लाह भयो र तत्कालीन नेकपा मालेमा रहनु भएका मञ्जुल , रायन , रघुजी पन्त लगायतसँग छलफल गरी त्यता प्रवेश गरी राजनैतिक यात्रा सुचारु गरियो । घरमा विवाहका कुरा पनि चर्कै आउन थालेपछि अब मेरो राजनीति सकिन्छ भन्ने अनुभव गरी २०३६ साल पुस ४ गते मैले मालेको होलटाइमर भएर राजनीतिक यात्रामा अघि बढेको हुँ । त्यसरी त्यो बेला जो जो नेकपा मालेमा हाम्रो समूहबाट प्रवेश भए उनीहरूलाई श्यामप्रसाद समूहबाट आएको भनी परिचय भएको पाइन्छ ।

बीचमा त भेट भएको बुझिएन तपाईँको श्यामप्रसादसँग ,तर पछि श्यामप्रसादलाई सम्मान गर्ने सन्दर्भमा भेट हुँदा उहाँको प्रतिक्रिया के रह्यो ?

उहाँ र हाम्रो भेट बहुदल आएपछि मात्रै भयो । त्यतिबेला हामी नेता भइसकेका थियौं । मैले उहाँसँग भेट्दा असाध्यै खुसी हुनुभयो । उहाँले भन्नुभयो,– ‘हामीले रोपेको बिरुवाले निरन्तरता पाएको रहेछ, मलाई सारै खुसी लाग्यो ।’ पछि म महिला तथा बालबालिका मन्त्री थिएँ । त्यहीबेला उहाँलाई सम्मान गर्ने मौका समेत पाएँ । उहाँलाई सम्मान गर्न पाउँदा असाध्यै खुसी लाग्यो । म फरक लाइनमा स्थापित भएपनि उहाँको शील स्वभाव र लेखनीबाट म सधैँ प्रभावित थिएँ । मेरो मष्तिष्कमा बसेको उहाँको ओजस्वी छाप कायमै थियो ।  आफ्नो गुरुलाई सम्मान गर्न पाएकोमा म मनदेखि उत्साहित भएकी थिएँ । उहाँले पनि मेरो अनेक हन्डर र अप्ठ्याराका बाबजुद तय भएको राजनैतिक यात्राको खुलेर प्रशंसा गर्नुभयो । मन्त्रीसम्म भएकोमा बधाइ पनि ज्ञापन गर्नु भयो । मैले पनि हामीसम्म नेतृत्व तहले ध्यान नपु¥याएकाले एक समयमा अप्ठेरोबाट गुज्रिनु परेको जानकारी गराएँ । अति गोप्यतावादी हुनुको समस्या पनि रहेको बताएँ । तर आफूमा राजनैतिक चेतना जागरणको श्रेय श्यामप्रसाद समूहलाई जाने स्विकारोक्ती राखेँ ।

महेशमानसँग तपाईँको विमत्ति अझै पनि कायम छ भन्ने लाग्यो , थप स्पष्ट पारिदिनु न ।

हो महेशमानबाट हामीलाई धोका भएको पक्कै हो । उहाँको नाकबाट रगत आउने समस्या देखिएर चिन जानुभयो , हामीले उपचार यहीँ गर्दा हुन्छ भन्दा सुनुवाइ भएन । तर उहाँ त पढ्न जानुभएको रहेछ । जसले हामीलाई बुर्जुवा शिक्षा काम छैन भनेर प्रशिक्षित गर्नुभयो । उहाँकै प्रशिक्षणका कारण आइएमा हामीले खाली उत्तरपुस्तिका बुझायौँ, पढाइ छाड्यौँ तर उहाँ आफूभने चिन गएर डक्टर पढ्नुभयो । व्यवहारिकतामा उल्टो देखिनु भयो । त्यस हिसाबले उहाँप्रति विमत्ति छँदैछ । यदी हामीले सही ढङ्गले बाटो तय गर्न नसकेको भए हामी विचल्लीमा पर्ने रहेछौँ । हाम्रो जीवनै बर्बाद हुने स्थितिमा पुग्ने रहेछ । तर यसो भने हुन पाएन । हाम्रो समूहले एउटा निर्णय गरेर अघि बढ्न सफल भयौँ । 

(   'स्मृति बिम्बमा श्यामप्रसाद' कृतिमा प्रकाशित  )




Tuesday, December 29, 2020

जीवनलाई साहित्यले सम्बोधन गर्नुपर्छ

 

जीवनलाई साहित्यले सम्बोधन गर्नुपर्छः सुवास खनाल

गद्य कविता लेखनमा सुपरिचित र स्थापित नाम हो सुवास खनाल । विभिन्न साहित्यिक संघ संस्थाहरुमा नेतृत्वदायी भूूमिकामा रहनुभएका खनालको हालै मात्र सपनाका अवयव नामक कविता संग्रह बजारमा आएको छ । शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको उक्त कविता संग्रहमा ३३ ओटा कविताहरु संग्रहित छन् ।

कथा, कविता, निबन्धलगायतका विषयहरुमा कलम चलाउने खनालको २०७१ सालमा विचारको उल्टो नदी कवितासंग्रह बजारमा आएको थियो । प्रस्तुत छ, कवि खनालसँग साहित्यपोस्टका लागि शान्ति प्रियवन्दनाले गरेको कुराकानीको सम्पादित अंशः

साहित्य कस्तो हुनु पर्छ ? कसको पक्षमा लेखिनु पर्छ भन्ने लाग्छ ?

सान्दर्भिक पोस्ट

साहित्य यस्तै लेखिनु पर्छ भन्ने त छैन, तर लेखनप्रति हरेक लेखकको आफ्नै विश्वास भने हुने गर्दछ । मेरो पनि आफ्नो विश्वास छ । आफू उभिएको जमिन र यसको धरातलीय यथार्थसँग नजिक भएको लेखनी नै मलाई मन पर्छ ।

नेपाल विकासोन्मुख मुलुकको कोटीमा पर्छ । यहाँका बहुसङ्ख्यक मानिस गरिबीको रेखामुनि छन् । हाम्रो शिक्षाको इतिहास हेर्ने हो भने धेरै टाढा पुग्नु पर्दैन । प्रजातन्त्र प्राप्तिपश्चात् शैक्षिक गतिविधिले देशमा दिशा प्राप्त गरेको हो । हाम्रा बहुसङ्ख्यक मानिसका अन्तर्यका कथा करिब एकै किसिमका छन् । साहित्य त्योभन्दा पर भाग्न सक्दैन । साहित्य किनारीकृत र सामाजिक वहिष्करणमा परेका वर्गको उत्थानका लागि मार्ग निर्देशक बन्नुपर्छ र आम मानिसको जीवनलार्ई साहित्यले सम्बोधन गर्नुपर्छ भन्ने सम्झिन्छु ।

लेखनमा कविता नै किन रोज्नु भयो ?

मैले कविता यात्रा २०५७ सालदेखि सुरु गरेको हुँ । कविताको मर्म नबुझ्दैमा यो यात्रामा रहेछु । पछि बुझ्दै गएपछि लाग्न थाल्यो, यो गम्भीर यात्रा हो । विस्तारै यसमै क्रमिकता बढ्दै गयो । लेखनी निरन्तर गरिरहेको छु । कविताबाहेक केही कथा र निबन्धहरू पनि लेखेको छु । तर वेभ म्याचिङ कवितासँग भइरहेको अनुभूति हुन्छ । पहिलो प्रेम भन्छन् नि, लेखनमा पहिलो प्रेम कवितासँग नै भयो । कविता लेखनमा आफूलाई सहजता महसुस गरेकै कारण यो विधामा क्रियाशील छु । अध्ययनको रुचि साहित्यका सबै विधातर्फ हुँदाहुँदै पनि लेखन र प्रकाशनमा सङ्ख्यात्मक रुपमा कविताहरू नै बढी छन् ।

‘विचारको उल्टो नदी’ सार्वजनिक भएको धेरै समयपछि मात्र ‘सपनाका अवयव’ लिएर आउनु भयो । कृतिहरूबीच यति लामो समयको अन्तराल किन बन्न पुग्यो ?

कविता र सङ्ग्रहको सङ्ख्या नबढाऊँ भन्ने त लाग्दैन । कवितामाथि न्याय भयो भन्ने लागेपछि मात्र प्रकाशन गर्ने इच्छा राख्छु । लेखक तथा मोटिभेटर रोगर हस्डेन भन्छन्, ‘ कविता खतरनाक साथै आवश्यक हुन्छ । यसले हामीलाई मष्तिष्कले तय गरेको भाषाको सीधा बाटो तोड्न मद्दत गर्दछ । कविताका शब्दहरूले जे गर्न सक्दछ त्यो पक्कै पनि मानव जीवनको पूर्णताको लागि आवश्यक छ ।’ म हस्डेनसँग सहमत छु । तर कविता लेखनमा हतारो गर्दिनँ । नियतवश यसो गरिएको हुँदैन । स्वाभाविक रुपमा कविता लेखन अघिको अब्जर्भेसनलाई बढाउँदा लेखन सुस्त हुन पुग्दो रहेछ । २०७१ मा ‘विचारको उल्टो नदी’ प्रकाशन गरिसकेपछि २०७७ सम्म आइपुग्दा प्रकाशन योग्य जम्मा तेत्तीस कविताहरू सञ्चय हुन पुगेछन् । तिनै कविताहरूलाई समेटेर दोस्रो कविता कृति ‘सपनाका अवयव’ प्रकाशन भएको छ ।

नेपाली साहित्यको यो समयमा कविताको अवस्था कस्तो छ ?

नेपाली साहित्यमा ६० को दशक जुन उर्जाका साथ गतिवान भयो, त्यो अवस्थामा ७० को दशक छैन भन्ने समीक्षकहरू तर्क छ । केही ढङ्गले म आफू पनि यो कुरामा सहमत छु । यो दशकमा समग्र साहित्यको गतिजस्तै कविता लेखनमा सामयिक चेतको तीव्रता अलिक कमजोर बनेको हो कि भन्ने लाग्छ, तर सङ्ख्यात्मक रुपमा हेर्दा त्यो पक्ष सही हो । गुणात्मक रुपमा भने त्यो अनुभव हुँदैन । हरेक युगमा उक्त समयलाई सम्बोधन गर्ने कवि लेखकहरू बाँचिरहेकै हुन्छन् र तिनले युगबोधी आवाजलाई कविताको विषय बनाइरहेकै हुन्छन् । अहिले पनि त्यो भइरहेको छ ।

साहित्य सिर्जना र कृति प्रकाशनका आगामी योजनाहरु के छन् ?

तत्कालै त कुनै कृति प्रकाशनको योजना छैन । तर कथाहरू केही लेखेको छु । केही समयको अन्तरालमा सङ्ख्यात्मक रुपमा वृद्धि गरेर प्रकाशन गर्ने सोच छ । अरु व्यवस्थित योजनाहरू बनिसकेका छैनन् । समयक्रममा सिर्जना र कृति प्रकाशनको कडी त जोडिरहने नै छन् ।

कम्युनिस्ट कस्तो हुनुपर्छ भनेर कविले नबोले कसले बोल्ने ?

कम्युनिस्ट कस्तो हुनुपर्छ भनेर कविले नबोले कसले बोल्ने ?

२०७७ मंसिर १९ गते १२:१३ मा प्रकाशित

हेटौंडाका कवि सुवास खनालको दोस्रो कविता संग्रह ‘सपनाको अवयव’ बजारमा आएको छ । यसअघि ‘विचारको उल्टो नदी’ कविता संग्रह प्रकाशित गरेका खनाल प्रगतिशील लेखनसँग आवद्ध छन् ।

‘राजनीतिक इस्यु’ उनको कविता मुख्य विषय हो । आफूले आस्था राख्ने विचारकै सरकार हुँदा पनि त्यो जनपक्षीय नभएकोमा उनी तीव्र कटाक्ष गर्छन् । कवितामार्फत् कम्युनिस्ट ढोंगमाथि व्यंग्य गर्छन् ।

हेटौंडा बसेर अध्यापन र साहित्य लेखनमा रमाएका खनाल राजधानी बाहिर बसेर कविता लेख्ने युवापुस्ताका प्रतिनिधि कवि हुन् । नयाँ कविता संग्रहमाथि केन्द्रित रहेर सोधिएका पाँच प्रश्न–



संग्रहका अधिकांश कविता तीखो र नाराप्रधान बनेको देखिन्छ, किन ?

कवितामा कलाचेत हुनुपर्छ भन्ने मान्यता राख्छु म । तर कलाले कविता छोप्दै गर्दा भाषा सम्प्रेष्य भएन भने त्यो कविताको भाव र चुरो हराउँछ । यसैले सहज, सरल र जनपक्षीय भाषाको प्रयोग गर्न रुचाएको हुँ । जुन भाषा आम मानिससम्म पुगोस् ।

पहिलो कविता संग्रह ‘विचारको उल्टो नदी’मा दुर्बोध्य भाषा र शिल्प बनाएको थिएँ । अहिले भने सरल र जनजीब्रोकै भाषा रुचाएँ । यसैले कविता तीखो देखियो कि !

कस्तो कविताचाहिँ जनपक्षीय हुन्छ ?

जनताले आफूले भोगेका कुरा कविता वा लेखनमा आयो भने आफ्नोपन महसुस गर्छन् । हाम्रो देश विकशील र आर्थिक रुपमा कमजोर छ । हाम्रो लेखनमा पनि यही आर्थिक असमानता, वर्गीय विभेदका कुरा कविताको भाषामा लेख्यो भने त्यो जनपक्षीय हुन्छ । त्यस्तो लेखनमा सामाजिक न्यायको पक्षमा आवाज उठाउने बुलन्द अभिव्यक्ति र विचार भयो भने कविता झनै युगसापेक्ष र जनपक्षीय हुन्छ ।

अहिले प्रगतिशील भनिएकै कम्युनिस्टहरूको सरकार छ । यही विचारका मानिसविरुद्ध कटाक्ष गर्नुपर्ने कारण किन ?

सैद्धान्तिक रुपमा अहिलेको सरकार हामीले भन्ने गरेको कम्युनिष्ट नै हो तर व्यवहारत हेर्ने हो भने उनीहरू उही सामन्ती सत्ताका अंश हुन् । नाममात्र परिवर्तन भएको हो, व्यवहार र संस्कारमा आजका कम्युनिस्ट नेता निरकुंश सत्ताजस्तै छन् । उनीहरूको कर्म निन्दनीय छ ।

यसैले उनीहरू सच्चिनुपर्छ, उनीहरूले अन्याय गर्न हुँदैन भनेर एउटा कविले नबोले कसले बोल्ने ? कम्युनिस्टको शासन यस्तो हुनुहन्न, अन्याय हुनुहुन्न भन्ने आवाज कवि र कविताले बोल्नैपर्छ । लेखेर, बोलेर अनि आन्दोलनकै तहमा गएर भएपनि कुप्रथासँग जुध्नुपर्छ ।

‘सपनाको अवयव’ कविता संग्रहको मूल स्वर के हो ?

यो संग्रहको शीर्षकीकरण एउटा ‘एन्टी थिम’बाट अगाडि बढेको छ । त्यो के हो भने हामीलाई ठूलाठूला सपना देखाउन सिकाइएको छ । ठूलो उद्देश्य लिनुपर्छ भनेर ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ पढाइएको छ । राजनीतिले पनि रेलका, पानीजहाजका ठूला–ठूला सपना बेचिरहेको छ ।

तर हामी त स–साना सपना जोगाएर पो ठूला सपना बनाउन सफल हुन्छौ । एकैचोटी ठूला सपना देखेर हुँदैन । सपना त्यस्तो पनि नबाँचौ जसको पहिरोले हामीलाई पुरोस् । यसैले साना–साना कुरा सुधारेर मात्र ठूला कुरा सुध्रिन सक्छ भन्ने नै मेरो कविताको आवाज हो । आशावादी, जीवनवादी सपनाहरूको संगालो नै यो कवितासंग्रहको मूल स्वर हो ।

तपाईंको ‘म कविता लेखिरहेका छैन’ भन्ने एक कविता छ । यसबाट कल्पनामा भन्दा बढी यर्थाथमा विश्वास गर्नुपर्छ भन्न खोज्नुभएको हो ?

हामी सैद्धान्तिक रुपमा सफल भयौं तर व्यवहारको तहमा भएनौं । विकशील देशका मान्छेहरू र दार्शनिकझैं हामी चिन्तन गर्छौं तर व्यवहारमा विभेदलाई अंगाल्ने गर्छौं । भष्ट्राचार गर्छौं । यसैले कोरा कल्पनाको कविताभन्दा मैले गर्ने श्रम र आमा–बुबाको ओठको हाँसो ठूलो हो । पसिनाको मूल्य ठूलो हो । निष्ठा ठूलो हो भन्ने भावमा यो कविता लेखेको हुँ । सपना त हुनुपर्छ, आफ्नो कर्मले भ्याउनेसम्मको । सपनाका अवयव जोगाएर नै हाम्रो जीवन सुन्दर हुन्छ ।

सुवास खनालको एउटा कविता :

हजार दरबार भेटिएको सूचना

 

बजारमा

हजार दरबार भेटिएको सूचना टाँस भएको छ

 

जब ढल्यो एक दरबार

जग मुस्कुरायो एक पटक

जसमा टेकेर दर्बिलो बन्यो दरबार

उसलाई बिर्सेर मुस्कुराइरह्यो छानो

एक ज्यामीको आँखामा बौरियो सपना

जसको श्रम लिलामीमा थियो

एक सज्जनले देखे सीधा बाटो

नत्र थुप्रै बांगा बाटाहरूमा बिसौनी थियो दरबार

एक तन्नमका आँखामा पनि उघ्रियो

नयाँ क्षितिज

उसले पनि देख्यो जीवनको सार

 

तर, एकाएक

हजार दरबार भेटिएको सूचना टाँस भएको छ बजारमा

यति धेरै दरबारका चेपहरूमा

सजिलै हराउन सक्छ सूर्य

हुन सक्छ दिनदहाडै अँध्यारो

दरबारै दरबार, दरबारै दरबार

दरबारै दरबारका उतापट्टि, यतापट्टि

हुन सक्छ छाया नै छाया, छाया नै छाया

वा अँध्यारै अँध्यारो

 

दरबारको विकल्प दरबारहरू थिएनन्

राजाको विकल्प राजाहरू थिएनन्

 

टाउकाहरू–श्रीपेचहरू, श्रीपेचहरू–टाउकाहरू

फेरि टाउकाहरू–श्रीपेचहरू

हजार टाउकाहरू–श्रीपेचहरू

हजार श्रीपेचहरू–टाउकाहरू

सिलसिला बढिरहेछन्

 

सामान्यहरूले

सामान्यहरूका लागि

सामान्य तरिकाले

किन चलाउँदैनन् व्यवस्था ?

Tuesday, April 7, 2020

मोफसलको साहित्य बेवास्ता गर्दा मिडिया कमजोर हुन्छ ( nepallive.com मा प्रकाशित )


 64x64

शनिबार, कात्तिक २३, २०७६, १३:५५

कवि सुवास खनाल पेसाले शिक्षक हुन्। करिब डेढ दशकयता हेटौंडामै बसेर साहित्यमा साधानारत छन् उनी। कवि बन्न काठमाडौं आउने होडबाजी भइरहेको समयमा सुवास भने गृहजिल्लामै बसेर लेखनमा सक्रिय रहे। मकवानपुरका विभिन्न साहित्यिक ‘एक्टिभिज्म’मा सुवासको पनि भूमिका रहने गर्छ।  ‘विचारको उल्टो नदी’ कवितासंग्रह प्रकाशित गरेका कवि सुवासको ‘कलेज एक यातना शिविर’ धेरैले रुचाइएको कविता मध्येमा पर्छ। कवि सुवास खनालसँग नेपाल लाइभका समर्पण श्रीले कुराकानी गरेका छन्ः

कवि बन्नका लागि काठमाडौं नै धाउनुपर्छ भन्ने कतिपयको धारणा छ। यो एउटा ‘ट्रेन’नै छ जस्तो पनि लाग्छ। तपाईंलाई चाहिँ राजधानी मोहले तान्यो कि तानेन ?

सुरु सुरुमा मलाई पनि काठमाडौं आऊँ जस्तो लाग्थ्यो। राष्ट्रिय पत्रपत्रिका हेर्दा काठमाडौं मोह जाग्थ्यो।  किनकि, ठूलो मिडियामा आफ्नो रचना छापिए देशभरि जान्छ र म पनि पढिन्छु भन्ने हुन्थ्यो। त्यो खालको मोह एक समयमा थियो। तर, पछिल्लो समय लाग्न थाल्यो कि हामी केन्द्रमा गएर सम्बन्ध राख्ने भन्दा पनि आफ्नै भूगोलमा केही कामहरू गरेर चिनाउनुपर्छ। हामीले यहीँ बसेर हाम्रा कवितारआवाज परावर्तन गराउँदै गर्दा केन्द्रले सुनेर त्यो अनुसारको क्याप्चरिङ भयो भने त्यो बढी बलशाली हुन्छ भन्ने लाग्न थाल्यो। शक्ति आफूमा सिर्जना गर्ने हो। अरुमा भएको शक्तिको पूजा गरेर हामीले शक्ति प्राप्त गर्ने होइन भन्ने अहिले अनुभूत हुन्छ।


काठमाडौं बाहिर बसेर नै कतिपय कविरलेखकहरू स्थापित छन्। स्थापित हुन केन्द्रनै आवश्यक रहेनछ भनेर पछिल्ला समय ‘मोफसल’मा नै त्यस्ता एक्टिभिजमहरू केन्द्रित छन्। हेटौंडाको सबालमा के–कस्ता ‘एक्टिभिजम’ भइरहेको छ ?

हेटौंडामा पहिला पहिला गरिने कार्यक्रमहरू पुराना शैलीका थिए। पछिल्लो समय हामीले कार्यक्रमलाई फरक ढंगले सञ्चालन गर्यौं। कुनै व्यक्ति केन्द्रित कार्यक्रम गर्दैछौं भने उही व्यक्तिकै कविता वा रचनामाथि केन्द्रित हुनुपर्छ भन्ने हाम्रो पुस्तालाई लाग्यो। अहिले अन्तर्क्रियात्मक र विश्लेषणात्मक कार्यक्रमहरू बढी हुन थालेका छन्। कतिपय सन्दर्भमा म आफैं पनि ती कार्यक्रमहरूको संयोजन गर्ने गर्छु। त्यसैले अहिले हामीलाई अन्तर्यहरू पहिचान गर्न स्वभाविक र सहज हुँदै गइरहेको हो कि जस्तो लाग्छ।


मकवानपुरमा बसेर काठमाडौं नियाल्दा के लाग्छ– मेन स्ट्रिमका मिडियाहरूमा प्रकाशित हुने साहित्यिक लेख तथा रचनाहरूमा भौगोलिक समावेशिता पाउनुहुन्छ ?

यो त पाएको छैन। मिडियामा एक किसिमको सिण्डिकेट छ जस्तो लाग्छ। निश्चित पात्रहरू उभ्याएर हामीले भूगोल समेटेका छौं भन्ने गरिएको छ। तर, स्वरहरू एकै किसिमको मात्र पुनरावृत गरिरहेको छ।पछिल्लो समय मिडियाको साहित्यमा पनि त्यही किसिमको ‘एक्टिभिजम’ छ। तर, के भन्दा मिडियाले जुन खालको हस्ताक्षर चिन्नुपर्ने, साहित्यको पनि बहुआयामिक पक्ष जस्तै देशभरिका सांस्कृतिक विविधताका कुराहरू छन्। त्यसलाई समेट्न नसक्दा मिडिया नै कमजोर हुँदै जाने जस्तो समस्या आउने जस्तो देख्छु म। लेखकहरू त प्रयत्न गरिरहुनु भएको छ। एउटा उदाहरण, नोबल प्राइजले पनि कतिपय साइन्टिस्ट तथा लेखकहरूलाई अवार्ड गर्न नसक्दा आजसम्म पनि नोबल प्राइजको दुर्भाग्य भनिन्छ। केही समयअघि बित्नुभयो स्टेफन हकिङ्स। उहाँ त ठूलो साइटिस्ट। ब्ल्याक होलमाथि उहाँको काम ठूलो मानियो। तर, उहाँलाई नोबल प्राइज अवार्ड भएन नि त। नोबल प्राइजको लागि भोलिसम्म पनि हकिङ्सलाई अवार्ड नगरेकोे दुर्भाग्य चाहिँ बाँचिरहन्छ। मिडियामा पनि त्यस्तो नहोस् भन्ने हो। निश्चित खालका विचारमात्र सम्प्रेषण गरिरहँदा त्यसले देश तथा समग्र भूगोलले अपनत्व गर्नेगरी साहित्यिक कुरा आउँदैनन्।


राजधानीमा बसेर कविता लेख्ने र ‘मोफसल’मै बसेर साधना गरिरहने बीच के फरक पाउनुहुन्छ ?

प्रकाशनको हिसाबले केन्द्रमै बसेर लेख्नेले बढी अवसर पाएका त छन् नै। तर, त्यो चिरिँदै पनि गएको छ। मोफसलमा बसेर साहित्य साधना गर्ने लेखकहरूको संगत र भेटघाट त्यहीँको परिधिमा सीमित हुन्छ। काठमाडौंमा सबैसँग भेट हुन्छ। केन्द्रमै रहने मानिसहरूसँग उठबस हुन्छ। र उनीहरूले बोलेको कुरा सजिलै सबैतिर जान्छ। मोफसलमा बोल्दा त्यो त्यहीँ लोकलमा मात्र सीमित हुन्छ। यद्यपि, प्रविधिको विकाससँगै यी कुराहरू चिरिँदै गएका छन्।


हामी बौद्धिक वर्गहरू भन्छौं। ती वर्ग काठमाडौंमा मात्र छन् भन्ने धेरैको मानसिकता छ। विभिन्न साहित्यिक सम्मेलन तथा समारोहमा पनि काठमाडौंका  उही र एउटै अनुहार रिपिटेसन भइरहेको हुन्छ। के बौद्धिक वर्गहरू सबै काठमाडौंमा मात्र छन् तरु केन्द्रभन्दा बाहिर पहिचान गर्न नसकिएको हो ?

जब कुनै ठाउँमा संरचना बलियो बन्दै जान्छ नि, त्यसमा इन्डेक्सहरू बलियो हुँदै जान्छन् ,त्यसप्रति स्वभाविक आकर्षण हुन्छ। म आफैं अवसरहरू खोज्छु भने मेरो लागि अनुकूल ठाउँ खोज्छु नि। त्यो हिसाबले थुप्रै बाहिरका व्यक्तित्वहरू अवसरकै खोजीमा काठमाडौं पुगेका हुन्। त्यहाँनिर बस्ने  संख्यात्मक रुपले बौद्धिक बढी छन्। किनकि, क्षेत्रफल र सुविधाको हिसाबले त्यहाँ उपयुक्त पनि छ। सबै चिज बलियो बनेर बसेको छ। त्यहाँ प्रायः व्यक्ति अवसरको हिसाबले जानुहुन्छ। त्यसकारण संख्यात्मक रुपमा बढी देखिने हो। संख्यामा कम भए पनि बाहिर त्यस्ता व्यक्तिहरू हुनुहुन्न भन्ने होइन। हुनुहुन्छ। खासमा केन्द्रीयताको मान्यता भंग भइसकेको छैन। मानसिक रुपमा केन्द्र भन्ने कुरा भंग नभइसकेको अवस्था हो। पछिल्लो समय प्रदेश बन्यो। राज्यले भने भएको एकेडेमीलाई पनि एउटै बनाउनुपर्छ भन्ने कुरा ल्यायो। फरक क्षेत्रमा काम गरेका व्यक्तित्वहरू समेटेर प्रदेशमै एकेडेमी खोज्नुपर्ने अवस्था हो नि अब त। अनि बल्ल पो यहाँका बौद्धिक वा अन्वेषक को छन्, ती कुराहरू प्रस्ट हुन्छ। बौद्धिक बनेर चिनिनका लागि मान्छे काठमाडौं गइरहनु पर्दैन। जसको तपाईं बौद्धिक भनेर नाम लिइराख्नुभएको छ नि , स्मरण होस् कि त्यसमा धेरैजसो बाहिरबाटै काठमाडौं अवसर खोज्दै आएकाहरु हुनुहुन्छ।

कवि सुवास खनाल

राजधानीबाहिर बसेर साहित्य साधनामा लाग्ने थुप्रै व्यक्तित्वहरू छन्। धेरै स्थापित पनि छन्। तर, अधिकांश लेखक पुस्तक प्रकाशन गर्न भने राजधानी केन्द्रित हुन्छन्। यसरी पुस्तक प्रकाशनको लागि काठमाडौं आउनु चाहिँ काठमाडौं मोह होइन ?

काठमाडौं मोह भन्ने भन्दा पनि पुस्तक निस्किसकेपछि देशभरि पुगोस् भन्ने हाम्रो अपेक्षा हुन्छ। मैले हेटौंडामा बसेर प्रकाशन गरेँ भने मेरो किताबको नेटवर्किङ देशभरि नभइदिँदा मैले गर्न खोजेको सम्प्रषेण देशभरि जाँदैन। दोहोरो प्रयोगको रणनीति पनि हो। एक त केन्द्रको प्रकाशन गृहको लालचाले हो भने अर्को चाहिँ लेखकहरू पनि आफ्नो पुस्तकलाई देशभर फैलाउन चाहन्छन्। त्यो जहाँबाट सम्भव छ त्यहीँ जाने त हो नि। काठमाडौं मोहकै कारणले भइरहेको जस्तो चाहिँ मलाई लाग्दैन।


हेटौंडाको सन्दर्भमा साहित्यिक प्रकाशन गृहहरू व्यावसायिक बन्दै गइरहेका छन् ?

प्रकाशन गृह व्यावसायिक चाहिँ अझै बन्न सकिरहेको छैन। काठमाडौंका प्रकाशन गृहहरूको देशभरि नेटवर्क छ। तर, त्यो नेटवर्क राष्ट्रिय रुपमा यहाँका प्रकाशन गृहहरूले बनाउन सकिरहेका छैनन्। हामीले अझै पनि पुस्तक प्रकाशन गर्दा प्रकाशन यहाँ गरे पनि वितरक काठमाडौंको संस्था राख्ने चलन छ। मेरो पनि अघिको पुस्तकमा सांग्रिलालाई वितरक राखिएको थियो।

हेटौंडामा साहित्यको बजार कस्तो छ र पाठकहरू कत्तिको छन् ?

संघीयतामा गइसकेपछि हेटौंडा अस्थाइ रुपमा प्रदेश राजधानी भयो। तर, त्यसको प्रभाव त अहिलेसम्म देखिइसकेको छैन। यद्यपि, हिजोको हेटौंडा र आजको हेटौंडाको कुरा गरौं। हिजो जतिखेर कविता लेख्न र वाचन गर्न सिक्दै थिएँ म। त्यतिबेलाको हेटौंडामा पुस्तकहरू प्रकाशन हुँदै गर्दा मञ्चमा वा प्रकाशन भएको दिन निःशुल्क पुस्तकहरू बाँडिने हुन्थे। अनि पुस्तकहरूमाथि पनि गहन छलफल नहुने अवस्था थियो। आजचाहिँ पुस्तक निस्किँदै गर्दा पुस्तक किनेरै पढ्ने संख्याहरू बढ्दैछन्। यसरी बढ्नु भनेको हेटौंडामा विस्तारै साहित्य मन पराउने वा साहित्यलाई ‘भ्यालु’ दिने बढ्दै गइरहेको जस्तो लागेको छ।

अब सन्दर्भ मोडौं। तपाईं पेसाले शिक्षक, विज्ञानको विद्यार्थी। साहित्यमा निरन्तर लागिरहनुहुन्छ। पेसाले लेखकको लेखनमा कस्तो प्रभाव पार्दो रहेछ ?

नेपाली कविता र लेखनको इतिहास हेर्दा धेरै कविहरूले विज्ञान विषय मूल विषयका रुपमा आइएस्सी सम्म मात्र भएपनि पढेको देखिन्छ। अथवा विज्ञानको पृष्ठभूमिबाट जानुभएको पनि देखिन्छ। यद्यपि, पेसागत कुरा गर्दा धेरै लेखकहरू यहाँनिर चुकेजस्तो लाग्छ। पेसागत दायित्व र लेखकीय उत्तरदायित्वको सन्दर्भमा। दुईटा डुंगामा खुट्टा राखिएको जस्तो गर्दा कहिलेकाहीँ लेखकीय उत्तरदायित्व पूरा गर्न खोज्दा पेसागत उत्तरदायित्व पूरा नहुने भइदिन्छ। पेसागत उत्तरदायित्वप्रति बढी सोच्दा लेखनमा प्रभावी हुन नसक्ने समस्या आउँदो रहेछ। पेसालाई दोस्रो कुरा ठान्नुहुन्न भन्ने हिसाबले सोच्छु। पेसाप्रति बढी उत्तरदायी हुँदा कहिलेकाहीँ‘ जति साहित्यिक अध्ययन हुनुपर्ने त्यो नसकेको  र जति लेखनमा क्वालिटी आउन सक्ने हुन्थ्यो त्योचाहिँ सुवासको आउन नसकेको हो कि’ भनेर साथीहरूले गरेको प्रतिकृया सुन्ने गर्छु। यस्तो बेलामा भने प्रभाव पार्दो रहेछ भन्ने महसुस हुन्छ।

तपाईंको एउटा कविता ‘कलेज एक यातना शिविर’ धेरैले रुचाएको कविता मध्येमा पर्छ। ‘विचारको उल्टो नदी’मा संग्रहित मध्येकै सशक्त लाग्छ यो कविता। यसको पृष्ठभूमिबारे जान्न मन लाग्यो।

यो कविता मैले फिजिक्समा स्नातकोत्तर गर्दै गर्दा लेखेको हुँ। कक्षामै यो कविताले मलाई क्लिक गरेको हो। हामी साइन्स पर्छौं। म्याथ पढ्छैँ। यो पढ्दै गर्दा हाम्रो साइन्स मानसिकता र दर्शनको लेभलमा युरोपसँग सादृश्यता राख्न त सक्छौं। तर, त्यो साइन्स हाम्रो दैनिक जीवनसँग कतिको गाँसियो रुआज बाँचिरहेको समाजसँग त्यो साइन्स कतिको मिल्छ रु हामी भ्यान्डिग्राफ जेनेरेटर भनेर पढ्छौं। क्वान्टम फिजिक्सका कुराहरू गर्छौं। इलेक्ट्रोनको मोसनका कुराहरू गर्छौं। त्यो कुरा फिलोसोफिकल लेभलमा गएर सोच्दा गज्जब लाग्छ। तर, हामी हाम्रो दैनिक जीवनसँग गाँसिन्छौं नि, मेरो जीवनमा मैले कहिल्यै भ्याण्डिग्राफ जेनेरेटर देखेको छैन। सम्भवतः देख्ने छैन। युट्युवमा बाहेक। यस्तो कुरामात्र कति पढिरहने। आज मेरो देशलाई, समाजलाई आवश्यकता के हो रु मेरो साइन्स त्योसँग गाँसिनु पर्छ कि पर्दैन भन्ने हिसाबले मलाई क्लिक गरेपछि यो कविता लेखेँ। मैले मलाई हलो जोत्न सिकाइदेऊ भनेको छु। आजको हलो भनेको हिजोजस्तो हैन। प्रविधिमैत्री हो। त्यो खालको कुरा हाम्रो साइन्समा आउनु पर्छ भन्ने लागेर मैले कविता लेखेको हुँ।

तपाईंले कविता लेख्दाका सुरुवाती दिन कस्ता थिए ?

सानोमा बुबाले कविता लेख्नुहुन्थ्यो। छतिवनमा साहित्यिक कार्यक्रम हुन्थ्यो। म पनि जान्थेँ। मासिक गोष्ठी हुन्थ्यो।  सुन्दा सुन्दै कविता लेख्न थालियो। पहिलो २ वटा कविता बुबाको डायरीबाट सारेर सुनाएको थिएँ। पछि विस्तारै आफ्नो कविता सुनाउनुपर्छ भनेर थाहा भएपछि कविता लेख्न थालेँ। कक्षा ८ पढ्दा मैले एउटा कविता लेखेको थिएँ। तत्कालीन माओवादीहरूले जुन गतिविधि गरेका थिए त्यसको विरुद्धमा लेखेको थिएँ। त्यो बेलामा वैचारिक तहमा पुगेको पनि थिइनँ। एक जना रुद्र पाख्रिन भन्ने नेता मेरो घरमा आउनुभयो। बुबा घरमा हुनुहुन्थेन। ममी हुनुहुन्थ्यो। ‘बेलुका बाबु आउँछ होला। बाबुको बुवा त पुरानो कम्युनिष्ट मान्छे। बाबुले लेखेको कविता  हाम्रो विरुद्धमा रैछ। हामी लाग्नुको पनि पीडाहरू (कथाहरु) छन्। राज्यसत्ताले लामो समयदेखि दपेटेका छन्। कसको संगतले लेखेछन् त्यस्तो कविता’ भनेर उहाँले ममीलाई सम्झाउनुभएछ। सुरु सुरुमा मेरो नाम छापियो भनेर खुसी हुँदै लेखिन्थ्यो। तर, त्यसको प्रभाव पर्छ भन्ने थाहा भएपछि कविता साधना बढ्दै गयो। कविताको शक्ति विस्तारै महसुस हुँदै गयो।

दोस्रो कविता संग्रह निकाल्ने तयारी गर्दै हुनुहुन्छ ?

२०७६ भित्रै आउने गरी दोस्रो सङ्ग्रहको तयारी गर्दैछु। पहिलो कविता संग्रहलाई समग्रमा समीक्षकहरूले सुवासको कवितामा एउटा विचारले अर्को कविताको विचारलाई काट्यो भनेर पनि भन्नुभयो। पछिल्लो समयका कवितामा वैचारिक विरोधाभाष चैं नहोला।  वैचारिकताको दृष्टिकोणले नयाँ संग्रहमा अलि बढी स्पष्ट हुन्छु भन्ने लाग्छ।


मोफसल बजारतन्त्रले खडा गरेको मान्यता हो ।

मोफसल बजारतन्त्रले खडा गरेको मान्यता हो ।


सुवास खनाल मकवानपुरमा बसेर साहित्यिक क्रियाशीलता देखाइरहेका कवि हुन् । ‘विचारको उल्टो नदी’ नामक कविताकृतिका सर्जक खनाल मकवानपुरमा क्रियाशील साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरका अध्यक्ष पनि हुन् । उनै कवि सुवास खनालसँग हेटौँडाकै अर्का कवि निमेष निखिलले गर्नुभएको वार्ता शुक्रवारको यस अङ्कमा प्रस्तुत गरिएको छ ।
प्रकाशन मिति : २४ वैशाख २०७३, ( 6 May ,2016 )

१. साहित्यतिर लाग्न केले प्रेरित गर्‍यो अनि किन लेख्नुहुन्छ ?
  • मैले सुरुवाती लेखन नै सामाजिक दायित्वबोधले  सुरु गरेको हुँ भन्छु भने त्यो मेरो ढाँट र अक्षम्य छली हुनेछ । म छतिवन मकवानपुरमा जन्मेको मान्छे हुँ । विद्यालय पढ्दाताका त्यहाँ एकजना शिक्षक रहनु भयोे –रमेश मोहन अधिकारी । होचा कदका ,घोप्टे जुँघा भएका र निर्देशन क्षमता राख्ने मान्छे । उहाँको अभिप्रेरणाको प्रभाव हो सुरुवाती लेखन । जब साहित्यलाई सचेत ढङ्गले बुझ्ने प्रयत्न गर्न थालेँ तब साहित्यको सामाजिक उत्तरदायित्व हुन्छ भन्ने लाग्न थाल्यो । आजको समाज त्यति असचेत छैन बरु चेतनामा लाग्ने धमिराको निर्मम आक्रमण समाजमा छ ,त्यस विरुद्ध केही आवाज दिन सक्छु कि भन्ने हो ।
२. हेटौँडामा बसेर लेख्नुहुन्छ । काठमाडौँमा बसेर लेखेको भए आफ्नो परिचय बेग्लै हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?
  • प्रकाशन ,प्रसारण र सहज सम्पर्क लगायत विषयलाई ख्याल गर्ने हो भने काठमान्डौ बसेर लेख्दा तपाईँले भनेजस्तै केही सहज पक्ष अवश्य छन् । यसकारण नै हो केन्द्र र मोफसलको बहस चलिरहेको । तर साहित्य त्यत्ति मात्रको चिजचाहीँ होइन । मूल रुपमा तपाईँले के लेख्नुभयो ,त्यो महत्वपूर्ण हुन्छ । अहिलेको डरलाग्दो बजारतन्त्रले स्थापित गरेको मान्यता हो केन्द्र र मोफसल । मोफसलमा रहँदा रिकग्निसनमा समय लाग्ला तर साहित्यमा हेरिनु पर्ने कुरा भनेको लेखनी नै हो । अरु सबै लेप पखालिएर जान्छन् ।
३. एकथरीका लेखक कवि त मोफसलमा भएर पछि परियो । केन्द्रमा भएको भए मैले जान्या थेँ । त्यो फलानो फलानो त मभन्दा कत्ति जुनियर हुन् नि पनि भन्छन् त ? 
  • यो एक किसिमको झुर कुरा नै हो । यस ग्लोबल युगमा केन्द्र के हो भन्ने नै पनि प्रश्न बन्न सक्छ । हामी के को लागि लेख्छौँ भन्ने कुरामा सचेत हुने हो भने यी कुरामा रुवाबासी गर्नुको कुनै तुक रहने छैन । केन्द्रमोहले सबैभन्दा धेरै ग्रसित मानिस नै सबैभन्दा बढी केन्द्रियताको विरोध  गरिरहेको देखिन्छ । केन्द्रसँग गुरुत्व छ , यसले सघन आकर्षण गर्छ तर केन्द्रमा रहेर सङ्घर्ष गर्नु र अस्तित्वको सङ्कटमा फस्नु कम चुनौतिपूर्ण छैन । यसको मतलब म केन्द्रियताको पक्षपोषक चाहीँ होइन । 
४. तपाईँ कविता लेख्नुहुन्छ । यस समय लेखिइरहेका कवितालाई कसरी बुझ्नुहुन्छ ?
  • यो चुनौतिपूर्ण प्रश्न हो भन्ने लाग्छ । एउटा कार्यक्रमका सन्दर्भमा साहित्यका सचेत पाठक उदय अधिकारी सरले फ्याट्ट भन्दिनु भयो –समकालीन कवितामा अनुभूतिको तीव्रता कमजोर छ । कविहरु आफ्नो टाइमफ्रेम भन्दा पुरानो चस्माले समाजलाई हेर्छन् । यो कुरामा केही सत्यता अवश्य छ तर समकालीन लेखनमा विमल निभा ,श्यामल ,श्रवण मुकारुङ,आहुती हुँदै रेशम विरही, मनु मञ्जिल, भूपिन, निमेष निखिल, उपेन्द्र सुब्बा, सरिता तिवारी, केशव सिलवाल ,विनोद विक्रम केसी , सीमा आभास, सुमनराज श्रेष्ठ ,जेनन नेपालहरुलाई पढ्दै गर्दा समय चिन्तन प्रभावशाली नै अनुभूति हुन्छ ।
५. अलिक अनौपचारिक र व्यक्तिगत कुरा गरौँ । तपाईँले साहित्यिक विवाह गर्नुभयो । म सम्झन्छु– त्यो विवाह । तपाईँ र भावना सापकोटा, जो कवि पनि हुन् बीच एक साहित्यिक कार्यक्रमका बीच कविता साटेर विवाह भयो । जनवादी विवाह त सुनिएको थियो, यस्तो साहित्यिक विवाह गर्ने सोच र प्रेरणा कहाँबाट आयो ।
  • मसँग यो प्रश्नको कुनै यान्त्रिक जवाफ त छैन । नढाँटी भन्ने हो भने त्यस समय सांस्कृतिक विवाहलाई धान्न सक्ने हैसियत मसँग थिएन । पछिल्लो समय विवाह त्यत्तिकै रवाफिलो हुँदै गइरहेको छ । भावना र म दुबै जना अध्ययन क्रममै थियौँ । विवाहमा हुने खर्चलाई अध्ययनमा प्रयोग गरौँ भन्ने मनशायले दुबैको सल्लाहमा त्यस किसिमको बाटो तय गरियो । र यसले हाम्रो जिन्दगीलाई असहज पनि बनाएन । अब त दुई सन्तानको आमाबाबु नै पो भइसक्यौँ ।
६. तपाईँ हाल साहित्य सङ्गम मकवानपुर जस्तो एउटा पुरानो र इतिहास बोकेको संस्थाको अध्यक्ष हुनुहुन्छ । र, पछिल्लो समयमा साहित्यिक संस्थाहरू घुमाइफिराई पुरस्कार आदानप्रदान, भनौँ साटासाट गर्ने अभियानमै लागेका छन् भन्ने जस्ता समाचारहरू सुन्नमा आउँछन् । तपार्इँलाई पनि त यस्ता अफर आए होलान् नि । यो प्रवृत्तिले हाम्रो साहित्यलाई कहाँ पु¥याउला  ?
  • साहित्य सङ्गम मकवानपुर, मकवानपुरमा रहेको पुरानो र इतिहास बोकेको संस्था पक्का हो । २०४६ को जनआन्दोलन पूर्व तत्कालीन राज्यव्यवस्थाले जनतामाथि गरेको व्यवहारप्रति असन्तुष्ट मकवानपुरका बौद्धिक र समयसचेत व्यक्तिहरुको एक किसिमको मुभमेन्टस्वरुप जन्मेको संस्था हो यो । संयोगले तपाईँसँग कुरा गर्दैछु र तपाईँ पनि दुई कार्यकाल सङ्गमको अध्यक्ष हुनुभयो । यो संस्थाले विगतदेखि नै मकवानपुरमा साहित्यिक श्रृवृद्धिका निम्ति अनेकन गतिविधिहरु गर्दै आइरहेको छ । आफ्नै जग्गा र भवन रहेको र साथमा निरन्तर क्रियाशील संस्थाको अध्यक्ष हुन पाउनु आफैँमा स्वभाविक खुसीको महशूस गर्छु । तपाईँले भनेजस्तो पुरस्कार साटासाट गर्ने बाटोमा सङ्गम हिँडेको छझैँ लाग्दैन । र व्यक्तिगत रुपमा मलाई त्यस किसिमका अफर पनि आएका छैनन् । म यसलाई साहित्यिक माफियातन्त्र भन्छु र यसको पछि लागेर हामीले हाम्रो साहित्यलाई  सही बाटोमा लगिरहेका हुने छैनौँ भन्ने लाग्छ । 
७. तपाईँको  ‘विचारको उल्टो नदी’ कविताकृति बजारमा आयो । अब छिट्टै केही आउँदैछ कि वा के छ ?
  • ‘विचारको उल्टो नदी’ २०७१ असार मा आएपछि कहीँबाट फुत्केजस्तो वा स्वतन्त्र भएजस्तो अनुभव रह्यो । कुरैकुरामा फरक विधामा दोस्रो कृति आउनसक्छ भनेर साथीहरुसँग गफ साझेदारी गरेथेँ । तर दोस्रो पनि कविताकैै कृति हुन्छ जस्तो लाग्दै छ । तर  गति भने सुस्त नै छ । 



Tuesday, March 31, 2020

समृद्ध समाजका सुरेश श्रेष्ठले समृद्ध समाजको अनलाइनको लागि लिनुभएको अन्तवार्ता



                                                              साहित्यकार सुवास खनाल
विज्ञानका विद्यार्थीले साहित्यमा कलम चलाइरहनु उत्सुकता र रोचक विषय हो । बकैया गाउँपालिकाको छतिवनमा जन्मे, हुर्केका सुवास खनाल पेशाले विज्ञान विषयको शिक्षक हुनुहुन्छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमण नभएको भए चैत २१ गते शुक्रबार खनालको दोस्रो कृति ‘सपनाका अवयव’ सार्वजनिक हुने कार्यक्रम थियो । देश लक डाउनमा रहेका बेला कृतिको विमोचन हुने स्थिति देखिँदैन । लक डाउनमा कविता कृति विमोचन गर्न नपाउनुभएका साहित्यकार सुवास खनालसँग समृद्ध समाज डटकमका सम्पादक सुरेश श्रेष्ठले लिनुभएको अन्तरवार्ताः

समाज : दोस्रो कृति ‘सपनाका अवयव’ विमोचन प्रभावित भएको छ । साहित्यकारको रुपमा रचना सार्वजनिक हुन नसक्ने स्थितिमा कस्तो महसुस गरिरहनुभएको छ ?
खनाल : चीनको बुहानबाट सुरु भएको कोरोना अहिले सम्पूर्ण विश्वलाई प्रभावित गरिरहेछ । किताबको तयारी हुँदै गर्दा चैत २१ लाई ध्यान पुर्याइएको हो । त्यही अनुसार योजना बनेको थियो । परिस्थिति त्यस अनुकूल विकास भएन । कोरोना आतङ्कबाट हाम्रो देश पनि प्रभावित छ । मानिसका लागि पहिलो कुरा आफ्नो जीवन हो । जीवनको सन्त्रास बोकेर कोही कसैले अन्य क्रियाकलापमा संलग्न हुन सक्छन् भन्ने लाग्दैन । देश पूर्ण लक डाउन छ । त्यस हिसाबले पनि यो पुस्तक पूर्व निर्धारित योजना अनुरुप सार्वजनिक हुन नसक्नु स्वभाविक रह्यो । उत्साहका साथ लागि राखिएको काममा बीचमा व्यवधान आउँदा केही असहज जस्तो त अनुभव हुन्छ नै । तर त्यो भन्दा ठूलो कुरा हामी मानवहितका लागि कलम चलाउँछौं भन्नेले पहिलो आवश्यकता जीवन सञ्चालन हो भन्ने बुझ्नु र मनन् गर्नु जरुरी छ र सार्वजानिक हुन नसकेको परिस्थितिलाई पनि त्यही अनुसार नै लिएको छु ।

समाज : ‘सपनाका अवयव’ ले कस्ता सपनालाई समेटेको छ ?
खनाल : ‘विचारको उल्टो नदी’ २०७१ मा प्रकाशन भइसकेपछि लेखिएका ३३ वटा कविताहरू आउँदै गरेको कविता सङ्ग्रह ‘सपनाका अवयव’ मा रहने छन् । सामयिक सन्दर्भलाई नै प्राथमिकताका साथ कविताको विषय बनाउन मन लाग्ने रुचिअनुसार बढीजसो कविताहरूमा यस समयको चित्र नै आउँछ भन्ने सोच्छु । मूल व्याख्या त पाठक तथा समीक्षकबाट नै आउला । यस कविता सङ्ग्रहमार्फत मेरो मूल सङ्केत भनेको हामी ठूला सपनाका पहिरोले नथिचिऊँ, बरु स–साना सपनाका अवयवहरू जोडेर युग निर्माणको सिङ्गो सपना निर्माण गरौं भन्ने हो । म भारतका पूर्व राष्ट्रपति एपिजे आब्दुल कालमको ‘सपना त्यो हो जुन निदाउँदा देखिँदैन बरु सपना त्यो हो जसले हामीलाई निदाउन दिँदैन ।’ भन्ने भनाइसँग सधंै द्रवित हुने गर्दछु र आफूलाई जहिल्यै व्यवहारवादी सपनाको सम्मोहनमा जिवित एक प्राणी हुँ भन्ने अनुभूति गर्छु । यस कविता सङ्ग्रहमा पनि सपनाका यस्तै सोचहरू प्रतिबिम्बित भएको देखिएँ भने आफूलाई सही सम्झिनेछु ।

साहित्यकार सुवास खनालको प्रकाशोन्मुख कृतिको कभर ।

समाज : साहित्यकारको आँखाले कस्ता सपना देख्दछ ?
खनाल : हुन त कविहरू देश निकाला गर्न योग्य पात्र हुन् भनेर बेलाबेला शासकीय आँखा प्रदर्शन गरिएको र त्यसअनुसार व्याख्या विश्लेषण हुने गरिएको पाइन्छ । यसो हुनुमा कवि तथा लेखकहरूको प्रतिपक्षी चेतले भूमिका निर्वाह गरेको हो । एउटा समाजलाई सही बाटोमा हिँडाउन सही समयमा सही ढङ्गले खबरदारी गर्नु जरुरी छ । त्यो जिम्मेवारी सचेतताका साथ कवि लेखकहरूले लिनुपर्दछ । कविहरूले समाजमा सबैले देखेको जत्तिमात्र नदेख्न पनि सक्छन्, त्यो भन्दा टाढाका सपनाहरू देशलाई देखाउनु पनि उनको दायित्व हुन आउँछ । आजको समाजमा देखिएका विद्रुपताहरूको अन्त्य गरी वैज्ञानिक र चेतनशील समाज निर्माणका सपना नै साहित्यकारका सपना वा मेनिफेस्टो बन्नुपर्छ भन्ने सोच्छु । अथवा उनीहरूले देख्ने सपना त्यसैअनुरुप हुनुपर्छ भन्ने लाग्छ ।

समाजः यो विपद्मा साहित्यकारको रुपमा तपाइँले के कल्पना गरिरहनुभएको छ ?
खनालः विश्वको मानव समूदाय र सभ्यता एकाएक र एकैदिनमा निर्माण भएको होइन । यसको हजारौं वर्षको इतिहास छ । यसबीच थुप्रै सङ्कटहरू मानव सम्प्रदायले भोगेको छ । यस्ता सङ्कटहरू मूलतः दुई किसिमका देखिन्छन् । प्राकृतिक र मानवनिर्मित । अहिले पछिल्लो समयका केही घटनाहरू हेर्दै गर्दाचाहीँ प्राकृतिक सङ्कटको स्वरुपमा देखिए पनि त्यसको इन्डक्सन फ्याक्टर (उत्प्रेरक) चाहीँ मानवीय क्रियाकलाप बन्न पुगेको छ । कोरोना पनि (केही आक्षेप र शङ्का गरिएबाहेक) मानव क्रियाकलापले इन्डक्सन गरेको प्राकृतिक सङ्कट हो । त्यसमा हामीले नै हामीलाई सुरक्षा दिन सक्छौं । कतिपय सङ्कटहरू मिलेर सामना गर्ने हुन्छन् भने यसमा चाहीँ नीतिगत रुपमा एक ठाउँमा उभिए पनि व्यक्तिगत रुपमा आइसोलेसनबाट सामना गर्नुपर्छ । यसरी सामना गरेर बस्ने क्रममा यो सङ्कट क्षणिक हो । लामो सङ्घर्षबाट यहाँ आइपुगेको मानव समाजको अस्तित्वमा यसको प्राविधिक क्षति देखिएको छ र यो दुखलाग्दो कुरा पनि हो तर पनि मानव सभ्यताको गुणात्मक क्षति हुँदैन भन्ने लाग्छ ।

समाज : पहिलो कृति र दोस्रो कृतिमा पाठकले साहित्यकार सुवास खनालका रचनामा के फरक पाउनेछन् ?
खनाल : टाइम फ्रेम फरक भएकाले लेखनका सन्दर्भहरू फरक पर्ने त छँदै छन् । वैचारिक लेखन नै मेरो रुचि हो । पुरानो कविता सङ्ग्रह र यसमा भएका कविताको आधार तत्व त विचार वा तर्क नै हो । तर्कका सन्दर्भहरू फरक छन् । कविताले आजको समयको परावर्तन गर्नैपर्छ तर त्यो दीर्घायु कति हुन्छ भन्ने हुन्छ । कविताको आयुलाई पनि ख्याल गर्दै समयसँग जोडिने प्रयत्नमा सधैं हुने गर्छु । यो कविता सङ्ग्रहमा पनि त्यही प्रयास भएको छ । भाषाका हिसाबले पनि पहिलेको भन्दा अपेक्षित सरल नै छ भन्ने अनुभूति गरेको छु ।

समाज : पहिलो कृतिको व्यावसायिक सफलता कस्तो रह्यो र दोस्रो कृतिको व्यावसायिक अपेक्षा कस्तो रहेको छ ?
खनाल : नेपालमा पुस्तक व्यवसायी र प्रकाशकहरू नै व्यावसायिक हुन नसकेको परिस्थिति देखिन्छ । त्यस सन्दर्भमा लेखकसम्म त्यसको परावर्तन आइपुग्न अलिक समय त लाग्छ नै । तर पनि पहिलो पुस्तकमै जे जति माया गर्नु भयो त्यो प्रति सन्तोष लागेको छ । कवितालाई सबैभन्दा बढी लेखिने र कम पढिने विधाको रुपमा लिने गरिन्छ । त्यो नेपालको सन्दर्भमा मात्र होइन । विश्वव्यापी रुपमै यो अवधारणा छ । व्यावसायिक हुँदै जानुपर्छ त्यो एउटा पाटो हो तर त्यो भन्दा महत्वपूर्ण पाटो कविताको प्रभाव हो । मेरा केही कविताले पाठकको मनमा तरङ्ग उत्पन्न गराउन सकेभने त्यो ध्वनि वा प्रभाव नै महत्वपूर्ण मान्छु । सापेक्षिक रुपमा पहिलो पुस्तक प्रकाशनका क्रममा पनि साथिहरूले माया गर्नु भएको छ र यो पुस्तकलाई पनि माया गर्नु हुनेछ भन्ने अपेक्षा राख्छु ।

समाज : एउटा कृतिले साहित्यकारलाई के के लाभ हुन्छ ?
खनाल : साहित्यिक लेखनमा क्रियाशील भएका नाताले अन्य व्यवसायमा जस्तो सोझो आर्थिक लाभ हानीको हिसाब त गरिँदैन । तपाईं केही कुरा व्यक्त गर्नुहुन्छ भने त्यसमा तपाईँको उकुसमुकुस बाहिर आउँछ । व्यक्तिगत रुपमा तपाईँको उकुसमुकुस, दिक्दारी, आक्रोश, उत्साह, खुसी लगायत बाहिर आउँछ । यसो हुँदा व्यक्तिगत रुपमा सन्तोष मिल्छ । हो त्यस्तै कविहरूमा पनि हुन्छ तर कविहरूले त्यतिमात्र गरेर पुग्दैन । त्यसमा जिम्मेवारी र सचेतता चाहिन्छ । लेखकका कुरा समाजले पढ्दै गर्दा त्यसबाट पर्ने प्रभावबारे एउटा जिम्मेवार लेखकले ध्यान दिनै पर्छ । माथि उल्लिखित कुराहरू कृतिमार्फत बाहिर ल्याउँदा पनि त्यसको प्रभावबारे सचेतता राख्नु पर्छ । त्यसभन्दा बाहेक सामाजिक प्राणीको सामाजिक जिम्मेवारी हुन्छ । साहित्यकारको पनि त्यो जिम्मेवारी हुन्छ र समाजको गुणात्मक परिवर्तनका लागि केही आवाज बुलन्द गर्दैगर्दा समाजले त्यो महशुस गरेमा त्यसलाई पनि लाभका रुपमा बुझ्नुपर्छ । उदाहरणका रुपमा लिने हो भने साहित्यिक कृतिकै कारण यो अन्तर्वार्तामार्फत जसरी विचार व्यक्त गर्ने अवसर मिलेको छ, यो पनि एक किसिमको लाभ नै हो । यसो भन्नुको मतलब विचार सम्प्रेषणको लाभ पनि हुने रहेछ ।

समाज : एउटा कृति तयार पार्न साहित्यकारले कस्ता तयारी गर्नु जरुरी देख्नुहुन्छ ?
खनाल : यो कुरालाई कसरी लिने भन्ने हुन्छ । यदि गम्भीरताका साथ लिने हो भनेचाहीँ कृति तयार पार्नु गाग्रीबाट अम्खोरामा पानी सार्नुजस्तो सजिलो काम होइन । यसो भन्दै गर्दा भोलि आफ्नो कृति आउँदै गर्दा कसैले सजिलै ट्यागिङ गर्न पनि सक्छ । तर ती ट्यागिङहरू सामान्य हुन् । गम्भीर भएर गरिएका कतिपय परिणाम सामान्य आइदिन पनि सक्छ र दुर्घटनावश कहिलेकाहीँ हल्काफुल्का रिसर्चको राम्रो परिणाम निस्किन पनि सक्छ । मूल कुरा के हो भने आफू इमान्दार भएर लेखनमा सचेत प्रयत्न गर्ने हो । म पनि आफ्नो कविता यात्रामा आपूmसँग यही अपेक्षा राख्ने गर्छु ।

Thursday, November 26, 2015

Interview with Udaya Adhikari


(साहित्यका सचेत पाठक उदय अधिकारीसँग २०६५ सालमा लिएको अन्तरवार्ता । )

पाठकको स्वास्थ्यको लागि मात्र पनि लेखकमा अध्ययन आवश्यक छ ।
                                                        – उदय अधिकारी


जब लेखनले आफ्नो उद्देश्य अनुरुपको पाठक पाउँछ ,त्यतिबेला मात्र यसले आफ्नो जीवन प्राप्त गर्दछ । लेखन र पठनबीचको दूरी नमिलेकै बेला साहित्यको सबैभन्दा कुरुप र भद्दा आकृति देखा पर्दछ । लेखनको सही मूल्याङ्कन हुन मात्रै पनि सही पाठकको जरुरत पर्दछ । लेखनको गुणवत्ताको तस्वीर असल पाठकको आँखामा निर्माण भइरहेको हुन्छ । अहिलेको समयका लेखक र समीक्षकहरु विविध आग्रह र दुराग्रहदेखि मुक्त हुन सकेका छैनन् । सहि र सबल लेखक पहिचानका निम्ति असल पाठकहरुको सङ्ख्या निर्माण हुनु आवश्यक छ । यति व्यस्त र नाफामुखी विश्वमा असल पाठक मात्रको उपस्थिति साहित्यिक परिवृत्तको निम्ति अहोभाग्य सिद्ध छ । उदय अधिकारी त्यस्तै एउटा सचेत साहित्यिक पाठक हुन् ,जसलाई हामीले भेट्दा उनको हातमा वा झोलामा विश्व साहित्यका कम से कम एक दुई पुस्तक देख्न पाइन्छ । उनी पठनकै चिन्तामा रहेका हुन्छन् । लेखनको निम्ति अध्ययनको दोस्रो विकल्प नभएको उनी बताउँदै रहन्छन् । उनै उदय अधिकारीसँग लेखन र पठनसम्बद्ध विषयमा अक्षरहरु मार्फत वार्ता भयो । यही वार्तालाई मातृभूमिको चितवन विशेषाङ्कमा समेट्ने प्रचेष्टा गरिएको छ ।                                                                                   
                                                                              –सुवास खनाल                            

तपार्इँ एक सरल व्यक्ति हुनुहुन्छ । यो मेरो र सामान्यतया :तपार्इँसँग सङ्गत गर्ने प्रायशः सबैको अनुभव हो । स्वभावैले यस्तो हुनुहुन्थ्यो वा अध्ययन प्रभाव हो ?

तपार्इँहरुको अनुभवलाई मेरो सलाम छ । तपाईँहरुको मप्रतिको सद्भावलाई गर्वको रुपमा लिन्छु र यसलाई म अमूल्य पुँजीको रुपमा जोगाएर राख्ने छु । म सानै छँदा देखि धेरै राजनैतिक र सामाजिक उथलपुथलको साक्षी बनेको छु र मैले व्यक्तिगत यात्राको दौरानमा सरलता पराजित भएको देखेको छैन ।‘तपाईँसँग सामान्यभन्दा सामान्य मानिसले हार्दिकतापूर्वक कुरा गर्न सकोस्’ भन्ने विचारले मलाई सँधै simplicity तिर जान प्रेरित गरिरहन्छ । अब त म चाहेर पनि जटील हुन सक्दिनँ । तपाईँले गजबको प्रश्न उठाउनु भयो । मैले कतै गुलजार साबले भनेको सुनेको थिएँ –यदी उनी भाग्यवश लेखक नभएका भए मुन्सीको काम गरेर खातापाता राखिरहेका हुने थिए ।कति ठूला लेखक अनि कति ठूलो स्विकारोक्ती ?मेरो स्वभावमा अध्ययनले प्रभाव पारेको पनि हुनसक्छ । मेरो आदर्श गान्धी हुन् । ती जनताका मान्छे थिए । एउटा सादा जीवन बाँचेर ती बूढाले भारतबाट अङग्रेजलाई लखेटिदिए । तिनले सबै दबिएका मानिसहरुको भावनालाई बोलिदिए ।उनको The Story My Experiment With Truth सरलताको एउटा महागाथा हो । नेल्सन मन्डेला सरल मान्छेहरुको पक्षमा लडाईँ लड्दा २७ वर्ष Roben Island मा कैद भए ।उनको A Long Walk To Freedom  सरलताकै शक्तिको उद्गार हो ।म अलिक बहकिएँ ।हामी किताबी मान्छेहरुको चाला नै यस्तै हो ।मेरो आÇनै सीमा छ । म चाहेर पनि गान्धी र मन्डेलाको एकछेउ पनि हुन सक्दिनँ र मेरो इच्छा छ –एउटा सानो घेरामा भएपनि सरल मानिसको रुपमा मेरो परिचय बनोस् । तपाईँको प्रश्नले मलाई सही गन्तव्यतर्फ गइरहेको अनुभूति दिलाएको छ ।

सम्भवत : उदय अधिकारी साहित्यसँगको प्रेममा फस्न पुग्यो । के रहेछ र साहित्यमा विशेष जुन अरु क्षेत्रमा नपाइने ?

शायद् मसँग धेरै विकल्पहरु थिएनन् त्यतिबेला । मेरो बुवा सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । मानिसहरु जम्मा हुन्थे र परिवर्तनका ठूलाठूला कुराहरु माथि बहस हुन्थ्यो र म केटाकेटीकै रुपमा भएपनि एउटा श्रोतासम्म भइसकेको थिएँ ।बुवालाई त्यसैबेला दशैँभन्दा केही अगाडि पुलिसले आएर लग्यो । सारा गाउँलेहरु जम्मा भए ।बुवा पनि हात हल्लाउँदै जानु भयो ।दशैँ आयो तर रौनक आउन बिस्र्यो ।बुवाको जेल चलान एउटा विषाद् बनेर मेरो मनमा रहिरह्यो ।मेरो हजुरबुवा पण्डित हुनुहुन्थ्यो ।पाठ पढ्न जानुहुन्थ्यो ।जेठो नाती भएको नाताले म सिदा बोक्न जान्थेँ । बेलुका हजुरबासँगै सुत्दथेँ । म ननिदाउञ्जेलसम्म हजुरबा कथा भन्नुहुन्थ्यो ।वीरबल र अकबरका कथादेखि लिएर याज्ञवल्लभ ,नचिकेता सम्मका कथाहरु मैले त्यसैवखत सुनेको हो ।कतिपय कथाहरु त अधुरै रहे ,मेरो निन्द्राको कारण ।हलो लिएर जोत्न जाऊँ भने घरमा गोरु थिएनन् नत्र वर्खामासमा हिलोमा साहा लगाएर गोरु कुदाउने मेरो एकमात्र प्रष्ट इच्छा पूरा नहुने कुरै हुँदैनथ्यो । आमा रामायण भाका हालेर पढ्नुहुन्थ्यो । उहाँलाई कति धेरै श्लोकहरु कण्ठै थिए । पछि थाहा पाएँ –ती श्लोकहरु गौरीका रहेछन् ।राजनीतिक माहौल ,घरमा हलो नहुनु ,हजुरबुवाका धार्मिक कथाहरु ,आमाको श्लोक र आÇनो पाठ्यपुस्तक प्रतिको लगभग शून्य ज्ञानले जाँचै दिनु नपर्ने साहित्यतिर मलाई धकेलिदियो ।

लगभग जनमत सङ्ग्रह पछि म बिस्तारै फिल्म र गीतहरु तिर तानिएँ ।कुनै पनि फिल्म नछाड्ने बानीले गर्दा मेरो हिन्दी राम्रो हुन गयो र स्तरीयहरुको पछाडि लाग्दै गर्दा बिस्तारै मेरो साहित्यिक पठन पनि स्तरीय भएको हुनुपर्छ ।त्यसैताका हिन्दीका खुब जासुसी उपन्यास पढियो । जसले मेरो हिन्दी लगभग हिन्दी भाषीको जस्तै बनाइदियो । त्यसैताका रामकृष्ण घिमिरे (भिनाजु) म पढ्ने स्कुलमा हेडमास्टर हुनुहुन्थ्यो । उहाँ नवभारत टाइम्सको रेगुलर ग्राहक हुनुहुन्थ्यो । मासिक रुपमा ‘सारिका’ भन्ने साहित्यिक पत्रिका मगाउनु हुन्थ्यो । मैले पहिलो पटक स्तरीय हिन्दी साहित्य पढेको त्यसैताका हो ।  मलाई अहिले पनि संझना छ –त्यसबेला सारिकाका सम्पादक कन्हैयालाल नन्दन हुनुहुन्थ्यो ।रामकृष्ण जी अमृता पृतम ,निर्मल बर्मा र मोहन राकेशहरुको नाम लिइरहनु हुन्थ्यो ।सारिका म भिनाजुको बाट  छड्क्याएर ल्याउँथँ। खुमनारायण पौडेल (कवि) ,युवराज भुषाल र म बाँडेर पढ्थ्यौँ ।

त्यसैताका हामी नेपाली पनि कस्सिएर पढ्न थालिसकेका थियौँ । सायद् २०४१ सालतिर मैले ‘माधवी’ पढेँ र साँच्चै नै आनन्द लिएँ । अहिले आएर माधवीको आतङ्क सुन्दा मैले त्यति सानै उमेरमा कसरी माधवी पढ्न सकेँ भन्ने लाग्छ । नारायण ढकालको ‘माधवी राम्रो किताब हो तर यसलाई नेपालीमा अनुवाद गर्नुपर्छ ’ भन्ने ठट्टा खपिसकेको यस उपन्यासलाई सायद् हजुरबुवाले भन्नुभएको विश्वामित्र,जन्मेनजेय ,गौताम आदि ऋषिका रमाइला कथाहरुले मलाई माधवीभित्र प्रवेश गर्न र यसमा विचरण गर्न सघाए कि ? त्यसपछि नेपाली र हिन्दी साहित्यसँगै अङ्ग्रेजी पनि जोडिन आइपुग्यो ।त्यसैताका हामीले नेपाली र हिन्दीमा त्यसबेला खुब चलेका रसियन महान लेखकहरु दोस्तोव्यस्की ,लियो टाल्सटाय, इवान तुर्गेनेभ ,आन्तोन चेखभ ,मेक्सिम गोकीँ ,मिखाइल शोलोेखोभहरु पढियो । त्यतिबेलासम्म मेरो क्याम्पस यात्रा धिकिरधिकिर अगाडि बढ्दै गयो ।कलेज जान नपर्ने अधिकार ममा हुन्थ्यो भने म जाँदैनथेँ । मलाई नेपाली र हिन्दीमा किताब पढ्दै जाँदा अङ्ग्रेजी पढ्न नसक्ने हो भने विश्वको उत्कृष्ट साहित्यबाट म बञ्चित हुने भएँ भन्ने भावनाले अङ्ग्रेजी पढ्नैपर्ने बाध्यता बनायो । साहित्य पढ्नका लागि मैले अङ्ग्रेजी पढेँ र अहिले त्यही अङ्ग्रेजीकै कारण मेरो आनो र परिवारको जीवनप्रक्रिया सञ्चालन हुन सम्भव भएको छ । साहित्य मेरो लागि यस्तो प्रेमिका भएको छ ,जो कहिल्यै कुरुप र उमेर गएको देखिन्न । यदी साहित्य साँच्चै नै प्रेमिका भएको भए ,मजस्तो आÇना सबै काम भ्याएर फुर्सदमा साहित्य पढ्ने पाठकलाई डिभोर्स दिइसकेको हुने थिई ।

म बाँचिरहेको परिवेशभन्दा बाहिर गएर एउटा फराकिलो विश्वसँग संवाद गर्ने चाहनाले मैले साहित्यमा सेल्टर खोजेँ हुँला ।

मैले उदय सरलाई विश्व साहित्यको असल अध्येताको रुपमा पाएको छु ।यहाँको विचारमा नेपाली साहित्य विश्व साहित्यमा कहाँनिर छ ?

तपाईँले मेरो हातमा प्रायजसो विश्वबजारमा चलेका साहित्यकारहरुको पुस्तक देख्नुभएको र कहिलेकाहीँ चियाको चुस्की लिँदै मार्खेज,भि.एस.नायपाल,कामु र रुस्दीमाथि बोलेको सुनेर मेरो बारेमा धारणा बनाउनु भएको जस्तो लाग्छ । तर सुवासजी म अहिले विश्व साहित्य बजारको छाल आउने ठाउँमा त छु तर समुन्द्रमा हाम् फाल्ने आँट गर्न सकेको छैन ।युरोपियन राष्ट्रहरुसँग साहित्यको एउटा लामो परम्परा छ । शिक्षाको इतिहासले साहित्यलाई फैलिन मद्दत गरेको छ । नेपालमा यति छोटो समयमा भानुभक्तद्धारा परिष्किृत भाषा विश्वका हजारौँ वर्षको इतिहास बोकेका भाषाहरुसँग कुममा कुम मिलाएर हिँड्न सक्षम भएको छ ।भाषा जिवन्त बनाउने लेखकहरु हुन् । प्रयोगशीलताले भाषाको लचकता बढ्छ । नेपाली साहित्यमा देवकोटाको आगमनले नेपाली भाषालाई जडताबाट मुक्त गरिदियो ।

नेपाली भाषाले थोरै वर्षको इतिहासमा नै यस्ता लेखकहरु पायो जो विश्वमा चलिरहेका रचना प्रक्रियालाई नजिकबाट नियाल्न सक्षम थिए ।उनीहरुको समकालीन चेतनाले केही राम्रा पुस्तकहरु जन्मायो ,जसलाई  सगौरव सबैका अगाडि प्रस्तुत गर्न सकिन्छ ।

अहिले आएर निबन्ध विधा अलिक सुस्ताएजस्तो देखिएको छ । देवकोटाको बहाब र शङ्कर लामिछानेको चिन्तनशैलीबाट प्रभावित मजस्तो पाठकहरुको प्रासङ्गिकता नै खत्तम भएर हो कि ? कविता र आख्यान ,विशेष गरेर उपन्यासको क्षेत्रमा हामी विश्व साहित्यको एक भाग बन्न सक्षम छौँ ।

हामीले स्विकार्नै पर्छ हामी अध्ययनमा निकै पछाडि छौँ । अध्ययन लेखनको उर्जा हो । कुनै पनि लेखक विश्वका आफ्ना समकालीन प्रतिभाशाली लेखकहरु नपढिकन साहित्यलाई ऐतिहासिक मोड दिने किताब लेख्न सक्दैन ।

नेपालका प्रायजसो लेखकहरुले उदय सरलाई राम्रो पाठकको रुपमा औँल्याउने गर्छन् र त्यही रुपमा चिनेका छन् ।यहाँको निबन्ध पढेर पछिल्लो समय निस्केको मनु मञ्जिलको ‘ल्याम्पपोष्टबाट खसेको जून ’कविता सङ्ग्रहको लेखकीयमा उनले यहाँलाई कोमल निबन्धकार पनि भनेका छन् ।यहाँ साँच्चै लेखनमा कम र अध्ययनमा बढी सक्रिय किन हुनुभयो ?

मेरो क्षमताले भ्याएसम्म मैले नेपालका सबैजसो राम्रा लेखकहरुलाई अत्यन्त सम्मान र सचेतताका साथ पढेको छु । तिनै लेखकहरुको रचनात्मक यात्राबाट गुज्रेर मैले आफूलाई सकेसम्म एउटा असल पाठकका रुपमा उभ्याउने कोसिस गरिरहेको छु र मलाई खुसीका साथै गर्व पनि लाग्छ ,जब नारायण ढकालजस्ता अध्ययनशील लेखकले मस“ग समसामयिक पढ्नै पर्ने विश्व साहित्यका पुस्तकहरुका बारेमा जिज्ञासा राख्नुहुन्छ । 

मनु मञ्जिल समकालीन कविताको क्षेत्रमा टाढाबाट नै प्रष्ट देखिने एउटा अध्ययनशील र प्रतिभाशाली कविको नाम हो ।केही वर्ष अघि चितवनमा प्रकाश सायमीको सक्रियतामा कालिका एफ एमको परिसरमा नेपालका केही प्रसिद्ध कवि लेखकहरुको जमघट भएको थियो ।त्यहाँ श्रवण मुकारुङ्ग र मनु मञ्जिल पनि हुनुहुन्थ्यो । त्यसबेला देशमा सङ्घियताको बहस चलिरहेको थियो । जनजातीको मुद्दाहरु उठिरहेको थियो । हाम्रो अहिलेको पुस्ताको सर्वाधिक चर्चित कवि श्रवण मुकारुङ्गको मन चञ्चल भइरहेको थियो । सबैमा श्रवणले साम्प्रदायिक भाषा खेलाउन थालेको चिन्ता थियो ।‘बिसे नगर्चीको बयान’ लेख्ने कविले एउटा सानो घेराभित्र पस्न खोजेको दृष्य सुखद् समाचार थिएन ।श्रवणसँग धेरैपटक जम्काभेटमा परेर उसको Sense of humor  र फराकिलो बिचार प्रभावित भएको म सारा राष्ट्रको कवि एउटा सानो घेरामा कसरी अट्ला भन्ने चिन्ता लागेर बाध्यतामा लेखेको एउटा आत्मपरक संस्मरणात्मक निबन्ध मन पराएर मनुले त्यति उल्लेख गर्दिनु भएकोमा उहाँप्रति आभारी छु । तर मेरो केही इज्जत छ भने पाठक हुनुमै छ । तपाईँले यसको हिसाब बुझाउन कहीँ जानुपर्दैन र मूल्याङ्कनको कुनै ठूलो डर पनि हुन्न । त्यसैले पो मैले सजिलो पेशा रोजेँ कि ?

अरुलाई लेखनमा उक्साइरहने र किताब निकाल्न जोड गरिरहने उदय सरको भविष्यमा साहित्यको कुनै विधामा लेखिएको किताब आउने अपेक्षा हामी गर्न सक्छौँ कि सक्दैनौँ ?


म एउटा सामान्य पाठक बन्नमै रमाउने मान्छे । पढ्दै जाँदा भाग्यवश लेखकहरुको सर्कलमा छिर्न पुगेँ ।कुन पाठक चाहँदैन आफ्नो मन परेको लेखकले किताब लेखेको हेर्न ?मैले पनि त्यस्तै चाहना राखेको मात्र हो । पुस्तक लेख्न एक प्रकारको सिर्जनात्मक पागलपनको आवश्यकता छ ।आफ्ना धेरै सुविधाहरुलाई दाउमा राख्नुपर्दछ ।त्यस किसिमको पागलपन युग पाठकमा छ ,ममा छैन ।यसो बसिबियाँलो गर्दाको केही लेखकहरुसँगको संवादको सानोतिनो सङ्कलन त पुगिसकेको हो ।तर त्यो निक्लिँदा पनि मेरो नाममा एउटा किताब झुन्डिने मात्र हो ,नेपाली साहित्यमा खासै उपलब्धीचाहीँ हुने छैन ।

नेपाली साहित्यका समकालीन चर्चित लेखकहरुको पृष्ठभूमिमा उदय सर कहीँ न कहीँ गाँसिइरहनुभएको हुन्छ । लेखकहरु पनि यहाँबाट प्रेरणा पाइरहेको प्रसङ्ग कोट्याउने गर्छन् ।तपाईँले लेखकहरुलाई उत्प्रेरित गर्नुपर्छ भन्ने विषयलाई आवश्यकता वा अनिवार्यता कुन रुपमा लिनुभएको छ ?

हामी सबैले रुचिअनुसार क्षेत्र छान्ने गर्छौँ । मेरो लागि ज्ञान र मनोरञ्जनको साधन साहित्य बन्न पुग्यो । लेफ्टहरुको भाषामा भन्ने हो भने ,म बुर्जुवा प्रकृतिको मानिस हो ।कलासँग खेल्न चाहने । नेपाल सानो छ र त्यसै अनुरुप नेपालमा लेखकहरुको जमात पनि सानो छ । एउटा पिँढीमा एक दर्जन सिर्जनात्मक आवेगले भरिएका लेखकहरु भेटिनु भनेको नेपालको सन्दर्भमा एउटा उपलब्धी नै हो ।प्रत्येक प्रतिभाशाली सर्जक चाहन्छ आफ्ना सिर्जनाको उचित मूल्याङ्कन । नेपालको सन्दर्भमा त्यो आफ्ना समकालीन लेखकहरुबाट भन्दा पाठकहरुबाट प्राप्त हुने सम्भावना बढी जिउँदो रहेको म अनुभव गर्दछु । राम्रा किताबहरु पढ्दै गर्दा आफू पाठक भएको कुरा बिर्सिन्छु र आफूलाई लेखकको रुपमा कल्पना गरेर लेखकहरुसँगको संवादमा संलग्न हुन्छु ।कतिपय कुराहरु अवचेतनमै गरिएका हुन्छन् ।म कहिलेकाहीँ किताबको बारेमा टिप्पणी गर्दा झगडाको हदसम्म नै पुग्दछु । शायद् मेरो यही जिद्दीपनले केही चर्चित लेखकहरुको मायाँ मेरो भागमा परेको हो कि ? मैले देखेको संसार पुस्तकहरुको संसार हो ।हेटौँडा आउँदा ध्रुवचन्द्र गौतम सँगको संवादमा उहाँले काफ्का र कामुका पुस्तकहरुको चर्चा गर्दै गर्दा मलाई लाग्यो उहाँले मार्खेजको आत्मकथा  Living To Tell a Tale  लाई मन पराउनु हुनेछ ।मैले किताब उहाँलाई दिएँ । उहाँले केही समय पछि ‘नेपाल’मा साह्रै प्रेरणादायी पुस्तकका रुपमा यसको उल्लेख गर्नुभयो । नारायण ढकाललाई मैले Ha Jin  को Waiting भन्ने किताब दिएँ । उहाँले त्यसबाट नयाँ कुरा सिकेको बताउनुभयो ।श्यामलले Orhan Pamuk   को The Snow पढेपछि उत्तेजित बनेको साक्षी म छु । किताब उपलब्ध गराउनु खास उल्लेखयोग्य काम होइन तर पाठकहरुको स्वास्थ्यको लागि सर्जकहरुले पढिरहनु पर्दछ ।सर्जकहरुले आफ्ना सीमानाहरु फराकिलो बनाइरहनु पर्दछ । पुस्तकहरु लेखक र पाठकहरुलाई लामो यात्राको लागि उत्प्रेरित गरिरहन्छन् । मेरो सन्दर्भमा भन्नुहुन्छ भने म काँतर प्रकारको मानिस हो । म एक्लोपन देखि डराउँछु । त्यसैले म आफ्नोजस्तै रुचि भएका साथीहरुको बीचमा सुरक्षित महसुस गर्दछु । मैले केही पढ्नेहरुको सङ्गठन बलियो बनाउन आत्मिय व्यक्तिहरुलाई पुस्तक पढ्न प्रेरित गरेँ । बस् त्यति नै हो ।

‘उदयले लेखकहरुलाई लेखनमा फसाउँछ ’ केही लेखकहरुको यस्तो पनि आरोप छ । यसलाई कसरी लिनुहुन्छ ?

युग पाठकले आफ्नो उपन्यास ‘उर्गेनको घोडा’को रचना गर्भमा भनिदिनु भयो –‘मित्र उदयले मलाई फसाइदिए ।’शायद् त्यहीबेलादेखि म फसाउनेमा चर्चित भएँ ।फसाउनको लागि कोही फस्न पनि त तयार हुनुप¥यो नि ।सिर्जनाको आगो बोकेको मानिसहरुको चालढाल नै बेग्लै हुन्छ । प्रतिभाले ीबलमष्लन खोजेको हुन्छ ।तपाईँ यदि प्रतिभाशाली व्यक्तिलाई सम्मान गर्नुहुन्छ भने उसको प्रतिभाको निकासमा तपार्इँको योगदान हुनु पर्दछ । युग सक्षम हुनुहुन्थ्यो । मैले उहाँलाई You Can  भनेको मात्र हुँ । प्रत्यक व्यक्तिभित्र भएको त्बभिलत लाई महशुश गर्नको लागि Smelling Power तीक्ष्ण हुनुपर्छ । सुवास जी Be Careful,कतै तपाईँ पनि ढल्किँदै ढल्किँदै फस्न आइरहनु भएको त छैन ?

तपाईँ लेखक र लेखनमा राजनैतिक सचेतता आवश्यक छ भन्ने पक्षमा हुनुहुन्छ । त्यसको केही कारण ?


लेखकहरु सचेत वर्गमा पर्दछन् ।उनीहरु समसामयिक चेतनाका संवाहक पनि हुन् ।समाजमा भइरहेका परिवर्तनलाई साक्षीको रुपमा लेखनमा व्यक्त गरिदिने पनि उनीहरु नै हुन् ।सामाजिक परिवर्तनमा ,सामाजिक उथलपुथलहरुमा लेखकको संलग्नता प्राकृतिक देखिएकाले राजनैतिक रुपले सचेत प्राणी हो भन्ने मान्यतामा कसैको विमति हुन्छजस्तो मलाई लाग्दैन । समसामयिक चेतना नबोकेको मानिस त लेखक हुनै सक्दैन । आज पनि हामीले देवकोटा ,रिमाल ,भूपि,विपी र पारिजातहरुलाई बारम्बार उल्लेख गरिरहनुको एउटै मात्र कारण हो –उहाँहरुको लेखनमा भएको समसामयिक चेतना ।अझ म त के मान्दछु भने लेखकमा हुनुपर्ने एउटा अनिवार्य तत्व विद्रोह हो ।सामान्य मानिसहरु संझौता गरेर रमाइरहेको परिवेशमा पनि सच्चा लेखकले एकप्रकारको उकुसमुकुस-Suffocation_ अनुभव गर्दछ र उसले कुनै पर्वाह नगरी विद्रोहको घोषणा गर्दछ ।

तपाईँ विश्व साहित्य को एक राम्रो पाठक हो । यहाँको अध्ययनको क्रममा केही त्यस्ता पुस्तकहरु पनि आए होलान् ,जसले तपाईँको जीवनलाई नै टर्न दियो । पढ्ने क्रममा तपाइँलाई मन परेका केही लेखक र तिनका पुस्तकहरु साथै अहिलेका केही Promising लेखकहरु जसलाई हेरेर नेपाली साहित्यको भविष्यबारे ढुक्क हुन सकियोस् । यसबारे पनि केही बताइदिनुहोस् न ।

मेक्सिम गोर्कीको ‘आमा ’ पढेपछि मेरो जीवन र समाज हेर्ने दृष्टिकोण नै बदलियो वा काफ्काको The Trial पढेपछि मेरो सोचाइले नयाँ टर्न लियो भन्नेजस्ता घटना मेरो जीवनमा घटेन ।शायद् मेरो साहित्यप्रतिको धारणा अलिक जड थियो कि ?शायद् मैले साहित्यलाई पनि रफी र लताको गीतजस्तै गरेर श्रवण गरेँ कि ?मेरो सबै कुरालाई हलुका लिने बानीले शायद् यस मामिलामा धोका दियो ।साहित्यले मलाई पुस्तकहरुप्रति क्रेजी चाहीँ बनाइदियो ।मेरो साहित्यिक पठनको सुरुवाती दिनहरुमा नेपालीमा निक्लिएको महाभारत पढेपछि मलाई त्यसले यति प्रभावित पा¥यो कि म पछि गोरखपुर जाँदा गीता पे्रसबाट सम्पूर्ण हिन्दी अनुवादसहितको ६ भाग महाभारत ल्याएर पढेँ । लियो टाल्सटायको सानो उपन्यास  The Cossacks  पढेपछि मैले Anna Karenina, War and Peace /  Resurrection  नपढेसम्म एक प्रकारको उकुसमुकुस महशुस गरिराखेँ । टाल्सटायको आन्नाकारेनिना मेरो जीवनप्रतिको सोचाइलाई एउटा टर्न दिन सफल किताब हो । त्यसै समयमा मैले दोस्तोव्यस्कीको Crime and Punishment र The Idiot पढेँ र अद्भुत मानसिक यात्राबाट गुज्रिएँ ।किताबहरुले मलाई समाजसित जोड्दै गए । यसै समयमा हार्वर्ड फास्टको अमृत रोयद्वारा अनुदित ‘आदि विद्रोही ’भन्ने उपन्यास पढेँ र थाहा पाएँ विद्रोहको जड के रहेछ । पढ्दै जाँदा मेरो रुची फेरियो तर समाजको अध्ययन झन् गहिरो रुपमा मेरो सरोकारको विषय बन्यो । विश्व युद्ध पछिको युरोपियन समाजलाई कामुको Outsider र  The Fall र  बुझ्न सहयोग पु¥यायो ।नजिकैको भारतीय समाजको चित्र कोर्न मलाई रेणुको ‘मैला आँचल’ले सहायता ग¥यो ।केरेवियन द्विपमा भएको भारतीय समाजको चित्र मेरा लागि V.S.Naipaul को एउटा अद्भूत उपन्यास A House For Mr. Biswas  ले कोरेको हो ।कुनै पुस्तकको बारेमा धेरै चर्चा सुनेपछि पाठकको पुस्तकप्रतिको Expectation ह्वात्तै बढ्छ । चर्चा सुन्दै आएको तर पढ्न नपाएको पुस्तक मार्खेजको One Hundred Years Of Solitude  थियो । नपढ्दा फेरि जातिच्युत नै होइएलाझैँ पो अनुभव हुँदै गयो । एक दिन छातिमा मुड्कीले हानेर (कारण किताब महङ्गो थियो ) किनेर ल्याएँ ।त्यतिबेलासम्म मेरो अङ्ग्रेजी ठीकठीकै भइसकेको थियो ।शायद् यो २००१ तिरको कुरा होला ।किताब पढ्न थालेपछि मलाई ऐँठन भयो ।त्यस किताबको भाषा, शैली र विषयवस्तु मैले पढिरहेको पुस्तकभन्दा नितान्त फरक थियो ।मार्खेज (वुन्दिया) परिवारको कथा भन्दाभन्दै समाज र राष्ट्रकै कथा भन्दथे ।किताब सपना देखिरहेको जस्तो छ ।कतै केही उडिरहेको छ ।कतै लडाईँ चलिरहेको छ र कतै खाटहरु भाँच्चिने तरखरमा छन् । अर्थात् घटना सपनाजसरी घट्दछन् ।कतिपय कुरा त पहिलो पटकको पढाइमा खुल्दै खुलेनन् ।दोस्रो पटक पढ्दा नयाँ कुराहरु अगाडि आए र लगत्तै तेस्रो पटक मैले त्यो किताबलाई सपना देखेजस्तै गरेर पढेँ र मलाई लाग्यो किताब चर्चा गरेको भन्दा पनि महान रहेछ ।सुवासजी ,पुस्तकको मामलामा तपाईँको Rapport पुस्तकसँग मिल्नुपर्छ ।क्लासिक किताबहरु त धेरैलाई मन पर्छ नै ।म पनि तिनै धेरैमध्ये एक हो ।पढेपछि यो पुस्तक क्लासिक बन्छ है भनेर भन्न सक्नु एउटा राम्रो पाठक बन्नु हो कि ? बुकर पाएको केही समयपछि एकदिन थानानाथ दवाडी अरुन्धती रोयको उपन्यास Gods Of Small Things लिएर देखा पर्नुभयो। थानानाथ दवाडी Awesome Reader हुनुहुन्थ्यो ।राम्रो किताब त उहाँ सुँघेर पत्ता लगाउनु हुन्थ्यो ।मैले किताब पढ्न थालेँ । केही बुझेजस्तो र केही नबुझजस्तो मा नै सकेँ ।भाषा मेरो स्तरले धान्ने खालको थिएन तर मैले अद्भूतताको महशुस गरिसकेको थिएँ । दोस्रो र तेस्रो पटकको धक्काले उपन्यासका पात्रहरु मेरै परिवारका सदस्यजस्ता भइसकेका थिए ।राहेल ,आस्था ,चाकु अंकल ,भेलुदा ती सबैका सरल रेखामा व्यक्त गर्न नसकिने जीवनहरु ममा सरिसकेका थिए । सानासाना घटनाहरुलाई रोयले गजबसँग बुनेका छन् ।उनको भाषाले रसायनलाई अदृष्य बनाइदिएको छ ।उनले Architecture पढेको कुरा सुनेको थिएँ ।उनका भवनका नमुनाहरुसँग म बेखबर छु तर यो किताबको Architectural Design  चाहीँ बेजोड छ र मलाई लाग्छ केही समयभित्रै यसलाई क्लासिकका रुपमा पढिनेछ ।त्यसै समयतिर बिक्रम सेठको एउटा ठूलो उपन्यास ब् क्गष्तबदभि द्ययथ पढेँ ।इन्डिया स्वतन्त्र भएपछिको दशकको सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशलाई केन्द्रमा राखेर बुनिएको राजनैतिक समयभित्रको पारिवारिक कथाले ममा एउटा –‘अब साउथ एसियालाई अङ्ग्रेजी साहित्यको दह्रो खम्बाको रुपमा व्याख्या गर्नुपर्नेछ ’ भन्ने भावनाको विकास ग¥यो । यो लगभग १४०० पेजको किताबलाई मैले कहिल्यै नसिद्धिने लामो सेरियल जस्तै मानेर पढेँ ।थुप्रै किताब पढिए र धेरै किताबहरुले बिर्सनै नसक्ने स्मृति छाडेर गएका छन् ।मन पर्ने पुस्तकको मात्र पनि नाम लेख्न थालियो भने मलाई पाठकहरुले पुस्तक बिक्रेताको पगरी गुथाइदिनेछन् ।त्यसैले अब केही वर्ष यता पढेका राम्रा किताबहरु मध्येको एउटा राम्रो किताब ओर्हान पामुकको The Snow को नाम लिँदै टुङ्ग्याउँदछु ।

नेपाली र हिन्दीमा त हामी सबैका मन परेका पुस्तकहरु उस्तैउस्तै हुन्छन् । थुप्रै राम्रा पुस्तकहरु मध्ये निर्मल बर्माको ‘वे दीन’ र ‘चिडो पर चाँदनी’ ,श्रीलाल शुक्लको ‘राग दरबारी’ धर्मभीर भारतीको ‘अन्धा युद्ध’ र पछिल्लो समयतिर आएको अलका शरागावीको ‘कलिकथा वाया वाईपास’ लिँदा धेरै ठाउँ लिँदैन कि ? नेपालीमा त हामी सबैका मानक तिनै हुन् –देवकोटा,वि.पी.,पारिजात,भुपी,शङ्कर लामिछाने ।अहिले आएर आख्यानमा नारायण ढकाल र नयनराज पाण्डे ।पछि आएका Promising  युग पाठक ,र बुद्धिसागर। पछिल्लो समय श्यामलको पुस्तापछि मैले रुचिपूर्वक पढिरहेको कविताका दुईवटा प्रष्ट नाम हुन् –श्रवण मुकारुङ र मनु मञ्जिल ।

 यहाँले चितवन र मकवानपुरको साहित्यलाई नजिकबाट हेरिरहनुभएको छ । यहाँको साहित्यको सापेक्षिक तुलना र यहाँको साहित्यको भविष्य कस्तो अनुभूत गर्नुहुन्छ ?


यी दुबै जिल्लाहरुको नियति उस्तैउस्तै छ । यिनीहरु दुबै मोफसलबाट केन्द्र बन्ने तरखरमा छन् । चितवन शिक्षाको क्ष्त्रमा निकै अगाडि भएपनि साहित्यको क्षेत्रमा Commoner नै भएको साँचो हो । हरिहर खनालका केही कथाहरुले उहाँलाई एउटा भरपर्दो लेखकको रुपमा उभ्यायो । अहिलेको पुस्तामा हरिहर पौडेल एउटा प्रतिभाशाली कथाकारको नाम हो । निबन्धको क्षेत्रमा रामबाबु घिमिरे प्रष्टसँग चिनिने नाम हो र अहिलेको पुस्ताका राष्ट्रिय पहिचान भएका निबन्धकार सङ्गीत आयाम हुन् ।साहित्यमा  पछि प्रवेश गरेर पनि लघुकथामा एउटा छाप छोड्ने व्यक्तित्व एल.बी.क्षत्री हुन् । पानीको घामबाट एउटा विष्फोटक प्रतिभाको पहिचान बनाएका अमर न्यौपानेलाई देशका केही राम्रा आख्यानकारहरु मध्ये एक भन्ने दिन नजिकिँदै छ भन्ने मलाई लागेको छ । भर्खरै ‘अनन्त पाइला’ नामक उपन्यास निकालेर गजल गाउँदै हिँड्ने धनराज गिरी चितवनको साहित्यमा हास्यरस भर्दै साहित्यकारहरुलाई राम्रो लेख्न प्रेरित गर्ने चौतारी हुन् ।यात्रा संस्मरणमा केदारनाथ खनाल एउटा भरपर्दो नाम हो । मैले भर्खरै मात्र पढ्न सुरु गरेको एउटा नाम छ –रेशम विरही । कविताको क्षेत्रमा भूपिन व्याकुलको नाम छुटाएँ भने अन्याय हुन्छ तर अहिले छुटाउँछु । सरिता उर्जा भएकी कवि हुन् ।उनलाई भाषाले पनि साथ दिएको छ तर उनी हाँकका साथ अगाडि आउन अप्ठेरो मानिरहेकी छिन् । मैले चितवनको कविता एकदमै कम पढेको छु । पत्याउनै नसकिने तर कहिलेकाहीँ साह्रै राम्रो कविता लेख्ने सृजन अविरल हुन् ।  अहिलेको युवा पुस्ताको Promising  कवि सुमनराज श्रेष्ठ पनि हुन् ।

कुनै पनि ठाउँको साहित्यलाई आडभरोसा दिनका लागि केही व्यक्तिहरुको आवश्यकता पर्दछ र हेटौँडाको सन्दर्भमा आर.सी.रिजाल त्यस्तै नाम हो । युग पाठकका कारणले आख्यानमा हेटौँडाले चितवनलाई धेरै पछाडि छाडिदियो ।युगलाई आफ्नै उपन्यासले चुनौती दिइरहेको छ । आर.आर.चौँलागाईँका लघुकथाले एउटा पहिचान बनाएका छन् ।साम्ब ढकालमा एउटा गम्भीर र भावुक कवि सधैँ कविताको बारेमा चिन्तन गरिरहन्छ ।उहाँको कवितामाथि बहस सुरु हुनुपर्दछ ।तुलसी थापा गुरु गम्भीर लेखक हुन् ।उनको ‘अम्बरसिंहको खोजीमा अमरसिंह’ नाटक एउटा गजबको नाटक हो ।उनको दाना कविताको त सबै कायल छन् र सुवास तपाई एउटा Promising Writer हो । तपार्इँको कवितामा आइरहेका विज्ञानका तर्कहरुलाई झिकिदिने हो भने तपाईँका कविताहरुले उचाइको एउटा उडान भर्नेवाला छन् । मकवानपुरको साहित्यिक माहौल निर्माणमा अक्षर,मातृभूमि र झरनाजस्ता पत्रिकाहरुले योगदान पु¥याएका छन् । मैले चितवनमा भूपिनलाई हटाएजस्तै हेटौँडामा निमेषलाई छुटाएको छु किनकी यी दुबै एउटा छुट्टै प्याराग्राफका हकदार छन् ।

भूपिन व्याकुल र निमेष निखिल राष्ट्रिय पहिचान बोकेका नाम हुन् र त्यो पहिचान नै उहाँहरुको लागि गह्रुँगो भारी हुन पुगेको छ ।उहाँहरुबाट बढी आशा राखिएको छ र उहाँहरु आक्रामक तरिकाले सृजनामा नलागेर पाठकहरुलाई निराश पारिरहनु भएको छ ।भूपिनको कवितामात्र नभइकन गद्य पनि राम्रो छ । निमेष निखिलको सुन्दर गद्यले विचारको प्रष्टता पायो भने केही नयाँ चिज आउने छ साहित्यमा । अहिले यी दुबै मित्रहरु एउटा यस्तो जहाज भएका छन् ,जसले च्गलधबथ त छाडिसकेका छ तर हाइट लिन सकेको छैन ।   


                        

  कवि सुवास खनाल : जीवन, व्यक्तित्व, साहित्यिक यात्रा र कृतित्व १. परिचय नेपाली समकालीन साहित्यको पछिल्लो पुस्तामा सुवास खनाल कविता, कथा,...

Search This Blog