Thursday, May 6, 2010

My poem

मेरो गाउँ  


सुवास खनाल  


कुनै छटपटिजस्तो साँझ उदाउँछ 
मेरो गाउँमा आजकाल  


लाहुर गएको छोराले 
पठाएको चिठीजस्तो  
घाम दिनदिनै फक्रिन्छ  
पर त्रिशुल डाँडोबाट 
र 
आमा नयाँ मकैको ढिँडो ओडाल्छिन् 
कुनै भग्नावशेष इच्छाहरूमा  
नौलो आशा उमार्दै  
समयले हिर्काएको  
चाहुरी सुम्सुम्याउँदै  
साहिँला दाई हलो जोत्दै होलान् 
टार बारीहरूमा, 
सम्याउँदै होलान् –कान्ला र पाखाहरू 
कुन्नि ! सम्याउन सकेनन् 
शायद् जीवनका कुनाकाप्चा  
र  
बाबा डोरी बाट्दै होलान् 
पिँढीमा आशाका लहराहरू जस्तो  
उत्साहका हाँगाहरू जस्तो 


विद्रोहको अस्तित्वजस्तो 
रातो माटोले पोत्दै होलिन् बहिनी 
घरका भित्ताहरू 
र 
भतिज लेख्दोहोला  
कमेरो माटोले 
सेता परेवाजस्ता अक्षरहरू 
मझेरीमा 
सथीहरू बोक्दै होलान् 
– खोला पारिबाट 
मकैको डोको  
जसमा त छ 
युगीन साहसको एउटा सफेद चित्र  
अभावको कोसेलीझैँ दम बोकेर हजुरआमा  
सास दोहोरै फेर्न सक्छिन् कि सक्दिनन् ? 
सिउँदोमा प्रेमको गुराँस सिउरेर 
जिउनुको सार्थकताजस्तो बाँच्ने  
मेरी उनको  
कल्पनाहरूको संसार उस्तै होला कि ,नाइँ ?  


यो मरुभूमिजस्तो बस्ती  
कसले पठाइदियो मेरो नाममा  
भोगचलनका निम्ति 
र 
त्यो स्वर्गजस्तो मेरो गाउँ  
उस्तै निदाउँछ कि नाइँ ?  
म यो कङ्क्रिटको जङ्गलमा 
ओइलाएको अस्तित्वजस्तो फूल 
र 
रूखबाट झरिरहेको  
तर भुइँ नछोइसकेको पात 
अनि मेरो गाउँ 
पश्चिमी क्षितिजमा निभ्दै गरेको सूर्य 
जसको आभा 
मैले समाउनै नसक्ने गरी फुत्किरहेको छ ।

3 comments:

  1. आफ्नो गाउँ, ठाउँ र यथार्थ धरातल सम्झेर लेखिएको कविता सुन्दर छ । एक ठाउँमा 'त' अनावश्यक रूपमा आए जस्तो लाग्छ ।

    ReplyDelete
  2. sir ma sachyaune kosis gar6u.

    ReplyDelete
  3. Ramesh sirlai hardik dahanyabad comment garnubhayakoma.

    ReplyDelete

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog