Sunday, January 13, 2019

‘१९ नम्बर’ का नौ च्याम्बर

१९ नम्बर’ का नौ च्याम्बर

सुवास खनाल

अनमोलमणिको हालै प्रकाशित कथा सङ्ग्रह ‘१९ नम्बर’ आत्मगत शैलीमा समसामयिक विषय र परिवेशमाथि लेखिएका ९ वटा कथाहरुको सङ्कलन हो । पत्रकारितासँगै कथा, निबन्ध, कविता र गजलमा परिचित उनको यो किताब पहिलो कथा सङ्ग्रह ‘नीलिमा र गाढा अँध्यारो’ भन्दा फरक स्वादको छ । अनमोलमणिका कथा प्राय साइबर कल्चर, प्रेम र विज्ञानका प्रगतिले मानव जीवनमा निम्त्याएका समस्याबारे हुन्छन् भन्ने धारणा विकास भन्दा फरक यस कथा सङ्ग्रहमा उनले भाषिक औपनिवेशको प्रभावदेखि माओवादी द्वन्द्वले सिर्जना गरेका सामाजिक, आर्थिक र मनोवैज्ञानिक असरसम्मलाई उठाएका छन् । आम मान्छेको विदेश मोह, विदेश रहनेका पीडा लगायतका विषयलाई पनि कथाले कुशलतापूर्वक समेटेको छ ।

सङ्ग्रहको पहिलो तथा शीर्ष कथा ‘१९ नम्बर’ नेपालको शैक्षिक परिवेशले कसरी सिर्जनात्मक क्षमतालाई बहिष्किृत गरिरहेको छ र रटन्ते शिक्षालाई ज्ञानका रुपमा व्याख्या गरेको छ भन्ने विषयलाई पात्र रोहितकुमार ठकुरीमार्फत व्याख्या गरेको छ । विद्यालय र विश्वविद्यालयमा अहिले पनि धेरै रोहितकुमारहरू छन् जो अंग्रेजी मोह पनि राख्छन् र त्यही अङ्ग्रेजीमा बल्ड्याङ खाएर विश्वविद्यालयको एउटै तहमा वर्षाैं झुन्डिन वा पढाइ नै छाड्न बाध्य छन् । 

कथामा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको सिकाइको एकसरो तस्वीर देखिन्छ । कथामा सामुदायिक विद्यालय र विश्वविद्यालयको कक्षा कोठा,  शिक्षकको शैली देखिन्छ । पश्चिमाहरूले शिक्षालाई पाओलो फ्रेरेले भनेझैँ जीवन र समाजसँग गाँस्दै अघि बढिरहेका बेला दक्षिण एसियाको  शिक्षाको मूल चरित्र प्रयोगात्मक कम र सैद्धान्तिक बढी छ । यसले बेरोजगारहरूको उत्पादन गरिरहेको छ । जीवनको दैनन्दिनमा प्रयोगमा आउने  शिक्षालाई पाठ्यक्रम प्रारुपमा समावेश गएिको छैन । अङ्ग्रेजीलाई अन्तरराष्ट्रिय भाषाको नाममा विश्वविद्यालय तहसम्म अनिवार्य गरिएको छ । अंग्रेजी नजान्ने तर अरु विषयमा अब्बल विद्यार्थीले आफूलाई कसरी आत्मग्लानी अनुभव गर्छ भन्ने कथाको पात्र रोहित कुमारलाई हेरे पुग्छ । जो हाम्रै वरिपरी छन् । यही अनिवार्यताले आत्महत्याको चरणमा पुगेको पात्र चित्रण यस कथामा रहेको छ । शिक्षाले मानिसलाई थप बाँच्न प्रेरित गर्नु पर्नेमा जीवनको इहलीला समाप्त गरिदिने मोडमा पु¥याउनु निकै दुखद देखिन्छ ।

‘जूनमा आमा’ ग्रामीण परिवेशमा जन्मेर सानैमा अभिभावक विहीन एउटा बालकको कथा हो । कथामा एउटा छोराले आमाको संघर्षपूर्ण जिन्दगीको एउटा पाटोलाई हेरेको छ । आमाहरू जतिनै अशिक्षित भए पनि उनीहरू आफ्ना सन्तानले धेरै पढेको र अब्बल भएको हेर्न चाहन्छन् । त्यसका लागि गाउँमा आर्थिक स्रोतको जोहो गर्न उनीहरू कुखुरा पाल्छन् र अन्डा बेचेर छोराछोरीको कापी कलम किनिदिन्छन् । यसमा त्यस्ती आमाको कथा छ जो लोग्नेबाट घर निकाला गरिएकी छ, छोराको मोहले ऊ माइतमा छ र ऊ छोरालाई ठूलो मान्छे बनाउन चाहन्छे । झाडापखालाजस्तो सामान्य रोगले मरेकी ती आमा त्यसअघि गोठालो जाँदा खोला दहको भूमरी देखाएर छोरालाई भन्छिन् –‘तँ पढिनस् भने म यहीँ दहमा हेलिएर मर्छु’ । संसारमा सबैभन्दा फराकिलो हृदय भएका कोही छन् भने ती आमामात्रै हुन् भन्ने सन्देश कथामा छ । 

नेपाली समाजमा बढ्दो विदेश मोहलाई चित्रण गर्ने कथा हो, ‘नूरप्रताप किन अमेरिका गए ?’ व्यक्ति पारिवारिक र सामाजिक जंजालबाट कसरी प्रभावित हुन्छ, समाजले व्यक्तिलाई कसरी हेर्छ भन्ने कुरा कथाको पात्र नुरप्रतापलाई उनले अमेरिका ‘नजाने’ भन्दा गरिएको व्यवहारले देखाउँछ । अमेरिका युरोपप्रति नेपालीको उच्च आकर्षण छ । त्यहाँ गएपछि सबै दुख छुमन्तर हुन्छन् भन्ने सोचले ग्रस्त समाजिक मनोविज्ञानलाई कथाले राम्ररी उधिन्न सकेको छ । अर्थवेत्ताहरू रेमिट्यान्ससित राष्ट्रिय अर्थतन्त्रलाई जोडेर मात्र नेपालीको विदेश मोहलाई विश्लेषण गर्छन् । यसको सांस्कृतिक, आर्थिक , नैतिक र मनोवैज्ञानिक प्रभावबारे नेपालमा खासै अध्ययन भएको छैन । कथाले समाजिक अवस्थाप्रति सोच्न बाध्य बनाउँछ । 

जब बिजुली आयो , टिभी सहज आयो । इन्टरनेट आयो । यिनले मान्छेका दैनिकीहरू तोडमोड गरिदिए । भर्चुअल वल्र्डले मानिसका सम्बन्धहरूमा मिठास घटायो । सत्यभन्दा भ्रमहरू सही ठानिँदै गए । पतिहरूले फेसबुक, भाइबर र ट्विटरमा आफ्ना श्रीमतीभन्दा राम्रा फोटाहरू देख्न थाले र सम्मोहित भए साथै श्रीमतीहरूले हिन्दी सिरिएलका हिरोहरूलाई आफ्ना श्रीमानभन्दा बढी आकर्षक ठान्न थाले । पारिवारिक दरार र कम्पन सुरु भयो । अर्काको लागि समय  नदेख्ने हुन थाले । योभन्दा प्रिय त अँध्यारो वा अलिक प्राकृतिक लाग्ने ढिब्रीको उज्यालो हो कि भन्ने तर्क ‘अँध्यारो’ कथाले गर्दछ । कथा सपाट छ तर लोडसेडिङप्रतिको व्यङ्ग्य र बिजुलीले दिने हैरानी कथामा एकसाथ छ ।

इल्युजिभ कथा लाग्छ ‘एउटा अर्को गुलाब’ । यो कथा प्रेम कथा हो भन्न सकिन्छ । कसैले गुलाब हानेर बेहोस भई ब्युँझिँदा प्रेमिकाहरूको भ्रमात्मक रङ धेरै पात्रमा देख्ने युवा पुरुष चरित्र चित्रण छ यो कथामा । कथा प्रयोगपरक लाग्छ । पढ्दा फरक पात्रहरू सजीव भएर आउँछन् । एउटै नाम भएका पात्रसितको उठबस, प्रेम प्रसङ्ग र सामाजिक द्वन्द्वलाई कथाले एकसाथ उठाएको छ ।  

‘कन्टेनरमा रातो डायरी’ बुर्जुवा शिक्षाको विरोधमा अध्ययन छाडी धनी र गरिब एकै बनाउन भनी बन्दुक बोकेर माओवादीको पछि लागेको युवाको मनोदशा उतारिएको कथा हो । प्रतिकात्मक रुपमा रातो डायरी क्रान्तिको रुपमा र त्यसलाई कन्टनेरमा फाल्नुलाई क्रान्तिकारी विचारको घिनलाग्दो पटाक्षेपका रुपमा कथाले व्याख्या गरेको छ । माओवादीले छाडेको सिद्धान्त र विचारले कसरी सामाजिक, आर्थिक, मनोवैज्ञानिक र राजनीतिक प्रभाव नेपाली समाजमा परेको छ भन्ने सग्लो चित्र कथाले दिन्छ । नेतृत्व शासन सत्ताको बागडोर सम्हाल्ने हैसियतसम्म पुग्यो, युद्धमैदानमा बाँचेका लडाकु कार्यकर्ता कसरी बहिष्किृत भएका छन् र उनीहरू बाँच्नका लागि सस्तो श्रमबजारको विदेश यात्रामा बाध्य भएर जानु परेको छ, कथाले भन्छ । हिजोको हत्या हिंसाप्रति ग्लानी छ र हिंसाको बाध्यकारी अवस्थाको व्याख्या कथामा छ । कसरी सेनाले निर्दोषलाई मार्यो र बाध्य भएर निर्दोषहरू बन्दुक बोक्न तयार भए भन्ने एकसरो व्याख्या कथामा छ ।

नेपालमा क्रान्ति नामका विविध समयमा विविध आयामका घटनाहरू भएका छन् । ती घटनाहरूले समाजको सामयिक स्वर त सङ्कलन गरेका छन् तर स्थायी संरचना सिर्जना गर्न सकेका छैनन् । अरु मुलुकमा सरकार परिवर्तन हुने समयमा हाम्रोमा प्रणाली परिवर्तन गरिरहेका छौँ । यो किसिमको परिवर्तनशीलता आवश्यक छैन भन्ने हिसाबले यी क्रान्तीका सन्दर्भहरू समयको एउटा स्खलन जस्तो मात्र भएको बयान छ –‘स्खलन ’ कथामा ।

इल्युजन कथा ‘अस्थायी मात्र स्थायी सत्य हो’ भन्ने भाव बोक्ने कथा हो । यसमा कथ्य भन्दा बढी तर्कहरू रहेका छन् । र संग्रहको अन्तिम कथा ‘अस्तु’मा विदेशमा रहने नेपालीको जीवन त कष्टकर छ नै मृत्यु पछि अन्त्यष्टि पनि सहज छैन भन्ने भाव बोकेको छ । 

‘१९ नम्बरका कथाले पाठकलाई तान्ने क्षमता राख्छन् । पढ्दा पट्यार लाग्ने तर अनावश्यक चर्चा पाएका पुस्तक भन्दा अनमोलमणिको कथा संग्रह भाषा, शैली र विषयवस्तुका हिसाबले धेरै माथि छ । केही वास्तविक घटनाक्रम कथाको प्लट बनेको छ । ती कथा पढ्दा उनलाई निकै नजिकबाट चिन्नेले कथामा उनको निजत्वसँगको सादृश्यता महशूश गर्न पुग्छन् । ‘जूनमा आमा’ शीर्षकको कथामा लावण्य देशको राजाका हिसावले चयन गरिएको पात्र ‘मदन’ लेखिएको छ । ‘मदन’ नभएर ‘नवराज’  हुनुपर्ने हो । सन्दर्भमा लिइएको नामै गलत हुनु शोभनीय देखिँदैन । वर्णविन्यासगत त्रुटीहरु संग्रहमा छन् । २०५२ बाट सुरु भएको सशस्त्र द्वन्द्वप्रति उनका पात्रहरु अलिक बढीनै आलोचक देखिनुमा उनको व्यक्तिगत आग्रह बढी देखिन्छ । रातो डायरी कन्टेनरसम्म पु¥याउनु, इल्युजन र स्खलन कथामा प्रयुक्त वैचारिक पक्ष हेर्दा लेखक माओवादी युद्धको औचित्यमाथि प्रश्न गरिरहेको लाग्छ ।    

सङ्ग्रहले अनमोलमणी समयसित सचेत लेखक हुन् भने देखाउँछ । विदेश बस्ने र हरेक कुरामा असन्तुष्टि जनाउने प्रवृत्तिभन्दा फरक उनी समयका सुल्टो कथा लेख्ने व्यक्ति हुन् । उनका कथाले आडम्बरको खेती गर्दैन । उनी आम मानिसका पीडा अभिव्यक्त गर्न सिपालु कथाकार हुन् र उनको यो सीप १९ नम्बरमा देखिन्छ । 

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog