Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, June 18, 2020

गजल


सुवास खनाल

घाउ मनको चलाएर गयौ
आगो मनमा बलाएर गयौ

थाकेर मौन बाँचिरहेथेँ
दिल यो मेरो गलाएर गयौ

तिमीसँग टाढा बाँचिरहेँ म
प्रित मसँग नलाएर गयौ

नबोल्दा तिमी म हुन्छु खरानी
नबोली फेरी जलाएर गयौ

पुजेर मनमा तिमी नै राखेथेँ
मूर्ति मनको ढलाएर गयौँ


गजल


सुवास खनाल

सारा भुलेर मेरो छेउ आयौ
यस्तो खुलेर मेरो छेउ आयौ

शून्य शून्य यो बगर जिन्दगीमा
रमाई डुलेर मेरो छेउ आयौ

छायाँ राम्रो लाग्छ तिमी मात्र होइन
गाढा घुलेर मेरो छेऊ आयौ

म भागी हिँडेथेँ दुखाएर स्वप्न
सँगै झुलेर मेरो छेउ आयौ

तिमी फूलजस्ती ,फूल तिमीजस्तै
क्या क्या फुलेर मेरो छेउ आयौ

Wednesday, May 20, 2020

गजल




किनारको कुरा छाड मझधारको कुरा गर
चोटहरू होइन अब उपचारको कुरा गर

यथार्थलाई कुल्चिएर भ्रममा बाँचिरहेछौँ
भविष्य पथमा लाग्ने अनुहारको कुरा गर

तिमी हेपिइरह्यौ र त हेपिरहेछन्
सारा बन्धन छाडी अधिकारको कुरा गर

भन्दाभन्दै थाक्यौ कि वा दिक्दार छौ ?
नबिर्स यथार्थ बारम्बारको कुरा गर

भविष्य त्यो बोकेर चढ्नु छ उचाइ
तिमी हामी बाँचेको संसारको कुरा गर ।

२०६२ /०७ /०६

गजल



































सुवास खनाल

उज्यालो देख्छु म अँध्यारो भन्छ ऊ
राम्रो मान्दिन जुन त्यो प्यारो भन्छ ऊ

सजिलो मान्छु म काँडाकै बाटोमा
गरेर खिसी नै त्यो गाह्रो भन्छ ऊ

पसिनासँग जो जीवन साट्दछन्
मित्र मान्दछु म ती तारो भन्छ ऊ

पैसामा किनबेच गर्छ ऊ सपना
जिन्दगी मेरो यो उधारो भन्छ ऊ

मलाई मनपर्छ मेरै जिन्दगी
तर बेअर्थको हो छारो भन्छ ऊ

रचना मिति : २०६२/८/५

Wednesday, April 8, 2020

गजल

गजल












सुवास खनाल

रुप रङ्ग उही हो नाम फेर्छन् मान्छेहरू
पुज्ने ईश्वर फरक छैन धाम फेर्छन् मान्छेहरू

छलछाम सबैको दिनचर्या बनेको छ
हुने आखिर उही हो काम फेर्छन् मान्छेहरू

झुक्याउन सिपालु छन् हर समय झुक्याउँछन्
लेखिन्छ उही कुरा खाम फेर्छन् मान्छेहरू

अविश्वासी दुनियाँ यो विश्वास रत्तिभर छैन
बेचिन्छ  एउटै वस्तु दाम फेर्छन् मान्छेहरू

तन बेच्छन्, मन बेच्छन् ,बेच्छन् आफन्तजन सारा
बेची आफ्नै गाउँघर ,गाम फेर्छन् मान्छेहरू


गजल

गजल















सुवास खनाल

मान्छेभित्र मान्छेको आकार भेटिँदैन
सपना कसैको नि साकार भेटिँदैन

मञ्च खालि नै छ दर्शक बेचैन छन्
सशक्त एउटै कलाकार भेटिँदैन

छायाँसित डराउँछन् आजभोलि सबै
नडराउने स्वयम् छायाँकार भेटिँदैन

अन्दाजी दुनियाँ यो आकारहीन छ
कसरी भन्नु  खै निराकार भेटिँदैन

मान्छे भयभित छन् देख्दै छौँ हामी तर
भन्छन् सजिलैले हाहाकार भेटिँदैन

subaspoet@gmail.com

गजल

गजल




















सुवास खनाल

उस्तै उस्तै समुन्द्रका छाल उस्तै उस्तै
सबैसबै मान्छेका सबाल उस्तै उस्तै

खुसी पर्व मनाउन रोज्यौँ नयाँ युग
सम्झना छ बाँच्नुको बेहाल उस्तै उस्तै

शुभ कार्य गर्नलाई खोजौँ सुसमय
किन यो सधैँझैँ आलटाल उस्तै उस्तै

आफैँलाई नसपारे भन्छन् जोसुकैले
खाने कुरा फरक न हो थाल उस्तै उस्तै

केही गर्न सकेमात्र नाम कहलिन्छ
सबैका निम्ति आखिर काल उस्तै उस्तै

subaspoet@gmail.com

गजल


गजल


सुवास खनाल

उनीहरूलाई के मतलब  र , सानाहरूको
व्यापार खुब चलेको छ बहानाहरूको 

कोही बगरझैँ बाँचेका छन् ,कोही हराभरा
कुनै सीमा हुँदो रहेनछ चाहनाहरूको 

झुपडीहरूका कथा बेचेर आएका हुन्
अहिले त सञ्जालमा छन् घरानाहरूको 

सुदूर सपनाका रहरहरु सुनाउछन्
अभाव उही छ खाना र नानाहरूको 

उही गीत , उही शैली पुगिसक्यो अब
सुर बदलौँ न हो यी गानाहरूको

Friday, October 9, 2015

Gazal

गजल

सुवास खनाल

विकासको अन्तरीक्ष टेक्छु भन्थ्यौ मोदी दाजु
अन्तर्मनले टाढाटाढा देख्छु भन्थ्यौ मोदी दाजु

सबै भन्छन् बगलीमा छुरा राख्दा रै’छौ तिमी
सपनामा समेत रामराम लेख्छु भन्थ्यौ मोदी दाजु

ऋषि मन हुनु पर्छ अघि बढ्न सक्छौँ भन्थ्यौ
साथ दिन आँधीहूरी छेक्छु भन्थ्यौ मोदी दाजु

तर तिम्रो छाति रै’छ अमिवाको मुटु चल्ने
झुठ रै’छ घाउ लागे सेक्छु भन्थ्यौ मोदी दाजु ।

Monday, November 22, 2010

MY GAZAL

गजल


सुवास खनाल

झन्डा फेर्ने कुरा गर्छन् देशमा अचेल
नयाँ युग हेर्ने कुरा गर्छन् देशमा अचेल

विचार उही हो सबैको र परिवर्तनकै लागि
देशको नाम केर्ने कुरा गर्छन् देशमा अचेल

यो देश उनीहरूको ठेक्कामा नै भएजस्तो
कसैलाई नटेर्ने कुरा गर्छन् देशमा अचेल

कर्तव्यको कुरा छाडूँ ,अधिकारका निम्ति
चोकचोक घेर्ने कुरा गर्छन् देशमा अचेल

subaspoet@gmail.com

Monday, May 31, 2010

GAZAL

गजल


सुवास खनाल

खै के के बताएर गयो ऊ अनि झस्केँ म
एकछिन सताएर गयो ऊ अनि झस्केँ म

हो रङहरू थिए तिमी थियौ रङ्गीन र म
मेहेफिल तताएर गयो ऊ अनि झस्केँ म

बुद्धका आँखाहरूझैँ निर्दोष किन देखेँ उसलाई
पर्दा लाजको हटाएर गयो ऊ अनि झस्केँ म

भ्रम हा कि यथार्थ बाँचिरहेको मलाई
स्वप्नप्रदेश कटाएर गयो ऊ अनि झस्केँ म ।

My gazal

गजल


सुवास खनाल

मलाई यो अयोध्यामा रामहरू छैनन् जस्तो लाग्यो
जून बेचैन छ,यो धरती बेचैन छ घामहरू छैनन् जस्तो लाग्यो

सपनामा भव्य ताजमहल बनाएर कहाँ हुन्छ र ?
बदनामहरू प्रशस्तै छन् नामहरू छैनन् जस्तो लाग्यो

मान्छे पछि मान्छे र मान्छेहरू खोजिरहेछु म
मन्दिरहरू छन् ,देवता र धामहरू छैनन् जस्तो लाग्यो

बालुवामा लेखिएजस्तो हराउँदो अस्तित्व हाम्रो
नयाँ युगका चिठी बोक्ने खामहरू छैनन् जस्तो लाग्यो

नदेखिएरै दुख्ने असङ्ख्य घाउहरूले पोल्छन् सँधै
तिमीले हेरेर मात्र भन्यौ डामहरू छैनन् जस्तो लाग्यो

लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog