Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Friday, January 6, 2023

सृजनात्मक नयाँ पुस्ता निर्माणमा साहित्यिक सङ्घ संस्थाको भूमिका

 सृजनात्मक नयाँ पुस्ता निर्माणमा साहित्यिक सङ्घ संस्थाको भूमिका

-सुवास खनाल 



पृष्ठभूमि 

मानिस सृजनात्मक प्राणी हो । सृजनशील हुनु सुरुदेखि नै मानिसको परिभाषित विशेषता हो । रचनात्मकताप्रति हाम्रो प्राकृतिक प्रवृत्ति प्रागैतिहासिक गुफा रेखाचित्रहरू, पुरातन कथाहरू र मिथकहरूमार्फत पत्ता लगाउन सकिन्छ । मानव जाति सधैं सृष्टि गर्न प्रेरित रहेको छ । चाहे त्यो गीत, कला, कथा कथन वा अन्य नवीनता मार्फत होस् । सभ्यता सामान्यतया रचनात्मकता विना सम्भव छैन । भवनहरूको डिजाइन ,रङरोगन र संरचनादेखि इनडोर प्लम्बिङसम्म रचनात्मक समाधान निर्माण नगरी कुनै पनि अस्तित्वमा हुँदैन । मानिस बाँच्नुको परिप्रेक्ष्यबाट हेर्ने हो भने पनि रचनात्मकता अत्यन्तैै आवश्यक छ । धेरै जनावरहरू छन् जुन लामो समयसम्म बाँचेका छन् । तिनीहरू मिलियन वर्षदेखि पृथ्वीमा बसोबास गरेको विश्वास गरिन्छ र तिनीहरू सबैमा मानिसमा जत्तिको रचनात्मकता देखिँदैन । यहाँ जिज्ञासा आउँछ किन मानिस रचनात्मक हिसाबले पहिलो स्थानमा छन् ? यसको कारण पनि स्पष्ट छ मानिसको दिमागको क्रेनियल क्षमता बराबर अन्य कुनै जीवको रहेको छैन । 

मकवानपुरको साहित्य

मकवानपुरको कला साहित्य  आफैँमा आकर्षणयुक्त छ । यसको आफ्नै मौलिकता रहेको छ । काठमान्डौ नजिकका जिल्लाहरू मध्ये मकवानपुर यस्तो जिल्ला हो जहाँ धेरै साहित्यिक गोष्ठी, साहित्यिक छलफल र चर्चा भईरहन्छ । साहित्यप्रति बढी नै संवेदनशील छ मकवानपुर । मकवानपुरमा साहित्यिक संस्थाहरु पर्याप्त छन् । साहित्य सङ्गम मकवानपुर , श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मातृभूमि साहित्य समाज, गजल मञ्च मकवानपुर, पालुङ साहित्य परिषद् , गजल मञ्च मकवानपुर , झरना साहित्यिक परिवार , आँचल साहित्य कला पुञ्ज , भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान, मुक्तक मञ्च मकवानपुर , बुढ्यौली साहित्य समाज, प्रगतिशील लेखक सङ्घ , नेपाली लेखक सङ्घ, नवसर्जक साहित्य चौतारी लगायत साहित्यिक सङ्घ संस्थाहरू यो क्षेत्रको साहित्यिक उन्नयनका लागि लागिरहेका छन् । यी साहित्यिक संस्थाहरूबीच राम्रो समन्वय पनि छ । सबै साहित्यिक सङ्घ संस्थाहरूलाई एकै ठाउँमा समेट्ने गरी सर्जक सञ्जाल मकवानपुरको अवधारणा अघि सारिएको छ ।

लेखनमा नयाँ पुस्ताको आकर्षण 

सङ्घीय संरचनामा देश गएपछि बागमती प्रदेशको राजधानी बनेको हेटौंडामा यति धेरै साहित्यिक संस्थाहरू क्रियाशील रहेपनि लेखनमा जिम्मेवार ढङ्गले नयाँ पुस्ताको आकर्षण बढ्न सकेको छैन । पछिल्लो समय स्थापित नवसर्जक साहित्य चौतारीले भने यो तर्कलाई चिर्ने यथासम्भव प्रयत्न गरेको छ । त्यसबाहेक स्थापना कालदेखि नै झरना साहित्यिक परिवारको इफोर्टलाई पनि महत्वपूर्ण सम्झिनु पर्छ । यसैले प्रशिक्षित गरेर सिर्जना क्षेत्रमा प्रवेश गरेका लेखकहरू मकवानपुरमा मात्र नरहेर देश विदेशमा नै लेखनका हिसाबले सुपरिचित छन् । यी भन्दा बाहेक अरू साहित्यिक सङ्घ संस्थाहरू यो सन्दर्भमा उत्ती क्रियाशील देखिन्नन् । कोरोनाको प्रभावस्वरुप देश लकडाउनमा गएपछि अनलाइन मार्फत साहित्यकार दीपक गौतमको परिकल्पनामा सुरु भएको नव सर्जक साहित्यिक चौतारीले विद्यार्थीहरूलाई साहित्यिक प्रशिक्षण दिने र रचना कर्ममा डो¥याउने काम गरेको छ । यसै गरी झरना साहित्यिक परिवार मकवानपुर पनि यस सन्दर्भमा बढी क्रियाशील देखिन्छ । यसले सिर्जनात्मक नयाँ पुस्ता निर्माणको अभियानलाई लिएर गाउँगाउँमा कार्यक्रम गर्ने यत्नहरूलाई निरन्तरता दिइरहेको छ । 

अपेक्षित कार्य 

मानिस आफैँसँग क्षमता रहेको हुन्छ र त्यसलाई बाहिर ल्याइदिने कार्य भने अरूले गरिदिन सक्छन् । अहिलेको विश्वव्यापी शिक्षा नितिले पनि ज्ञानको हस्तान्तरणलाई मात्र शिक्षा मान्दैन । शिक्षकले सहजकर्ताको मात्र भूमिका निर्वाह गर्ने हो र विद्यार्थीमा रहेको क्षमता प्रस्फुरणमा सहयोग गर्ने हो भन्ने यसको अवधारणा रहेको छ । शिक्षा त्यो प्रक्रिया हो जसले व्यक्तिको सीपहरू बढाउँछ र व्यक्तिको सर्वाङ्गीण विकास गर्न मद्दत गर्दछ । हामीले विद्यालय तथा कलेजका कार्यक्रमहरू गर्दा वा त्यहाँ सहभागी हुँदा सङ्रख्यात्मक रुपमा धेरै सहभागी हुने गर्नुहुन्छ र नयाँ व्यक्तिका नयाँ किसिमका रचनाहरू पनि सुन्न पाइन्छ । त्यसो हुँदाहुँदै पनि रचनाको पाइरेसीमा भने शङ्का रहने गर्छ । तर साहित्यिक सङ्घ संस्थाका कार्यक्रमहरूमा भने एउटै किसिमका मानिसहरूको पुनरावृत्ति हुने र खासै नयाँपन नदेखिने हुन्छ । 

केही तल उल्लिखित कार्यहरू गरेर नयाँ पुस्तालाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने पङ्क्तिकारको धारणा रहेको छ । 

क) साहित्यिक सङ्घ संस्थाहरूले विद्यालय तथा कलेजहरूसँग सहकार्य गरी आफ्ना मासिक कार्यक्रमका केही शृङ्खलाहरूलाई सञ्चालन गर्ने र शिक्षालयहरूले पनि त्यसलाई सकारात्मक दृष्टिले लिने ।

ख) विद्यालय तथा कलेजहरूमा गई साहित्यिक प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्ने । 

ग) साहित्यिक सङ्घ संस्थाहरूले विद्यालयस्तरमा साहित्यिक एकाइहरू खडा गर्ने र त्यसलाई सक्रिय बनाउने ।

घ) साहित्यिक सङ्घ संस्थाले विद्यालयले निर्माण गरेका अतिरिक्त क्रियाकलाप विभागसँग समन्वय गरी साहित्यिक कार्यक्रहरू आयोजना गर्ने ।

ङ) नयाँ पुस्तामा साहित्य भनेको कविता, गजल, गीत लेखन र वाचन मात्र होइन ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात् हितले युक्त भाव नै साहित्य हो भन्ने कुरालाई मनन गर्दै जीवनका यावत पक्षमा यो सम्बन्धित छ भन्ने धारणा विकास गराउने । 

च) धेरैवटा साहित्यिक संस्था निर्माण गर्नुभन्दा साहित्यिक सङ्घ संस्थाले ‘नयाँ पुस्ता विभाग’ बनाएर त्यसमार्फत् कार्यक्रमहरू अघि बढाउने । 

माथि उल्लिखित लगायत अन्य आवश्यक पक्षमा ध्यान दिन सके नयाँ पुस्ता तथा विद्यार्थीहरूको अकर्षणको क्षेत्र साहित्य बन्न सक्छ । र साहित्यिक उन्नयनमा जोड पुग्न सक्छ । 

निष्कर्ष 

लिखित होस् वा अलिखित रुपमा साहित्य त हाम्रो जीवनमा टाँसिएकै छ । भ्रुणअवस्थादेखि (मनोवैज्ञानिक दृष्टिले ) मृत्युसम्म हामी भाषा साहित्यबाट अछुतो रहँदैनौँ । बाल साहित्य , युवा साहित्य, प्रौढ साहित्य मात्र नभएर पछिल्लो समय नेपाली साहित्यमा वृद्धवृद्धाकेन्द्रित साहित्य पनि अगाडि बढेको छ । विश्वमा एजिङ लिटरेचरको नाममा पहिलेदेखि नै अभ्यास भएपनि नेपालमा यसको उति साह्रो चर्चा भएको थिएन तर अहिले मकवानपुरमा ‘बुढ्यौली साहित्य समाज’ नामक संस्था स्थापना भएर यसले अरु जिल्लामा पनि शाखाहरू गठन गरिरहेको छ । व्यङ्ग्यकार चट्याङ मास्टरको उत्प्रेरणा र आर. सी. रिजालको संयोजकत्वमा स्थापना भएको यो संस्थाले वृद्धवृद्धाकेन्द्रित कार्यक्रमहरू गर्ने , रेडीयो थाहा सञ्चार हेटौँडा र काठमान्डौ मार्फत् ‘बुढ्यौली साहित्य’ नामक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । व्यङ्ग्यकार आर.सी.रिजालको संयोजनमा सुवास खनालले सञ्चालन गर्नु हुने यो कार्यक्रमको सञ्चालन समिति सदस्यका रुपमा कवि पुरुषोत्तम आचार्य पनि हुनुहुन्छ । साहित्यका अरू भाग सँगसँगै वृद्धवृद्धाकेन्द्रित साहित्यिक संस्था निर्माण हुनुले जीवनप्रतिको आस्था वृद्धि गर्न र मृत्युको अघिसम्म पनि सृजनात्मक रहिरहन साहित्यले भूमिका खेल्छ भन्ने कुराको परावर्तन यहाँबाट पुष्टि हुन्छ । 

समाज सृजनशील हुन सक्यो भने त्यसले विध्वंशका बाटाहरू त्याग्न सक्छ । समस्याको पहिचानसँगसँगै समाधानका बाटाहरू पहिल्याउन सक्छ । भोलिको उन्नत समाज सिर्जना हुनुमा आजको नवपुस्तालाई ध्यान दिन जरुरी छ र यो पुस्तालाई सिर्जनात्मक बनाउन सकेमा भोलिको भविष्य उज्ज्वल हुनसक्ने भएकाले मकवानपुरका साहित्यिक सङ्घ संस्थाहरूले यसप्रति ध्यान दिनु जरुरी छ ।


Saturday, December 3, 2022

लेखनका फरक आयामहरूमा– तुल्सी थापा

 लेखनका फरक आयामहरूमा– तुल्सी थापा /



- सुवास खनाल

    तुल्सी थापा– सामान्य तपाईँ हामी जस्तै मानिस हुनुहुन्छ । उहाँ अलौकिक होइन । तर उहाँसँग आफ्ना विशिष्टताहरू छन् । जोसुकै मानिस आआफ्ना विशिष्टतासहित प्रभावशाली हुने गर्दछन् । उहाँसँग भएको विशिष्टता लेखनको हो । लेखनमा पनि प्रयोगधर्मिता र गहन विषय प्रस्तुती तथा गहिरो विषयको उठान उहाँको सशक्तता हो भन्ने म महशूश गर्दछु । उहाँ मकवानपुरको मात्र नभएर समग्र नेपाली साहित्यमा प्रभावशाली उपस्थिति हो । उहाँ अन्तर्मुखी र शालीन व्यक्तित्व लाग्नुहुन्छ । लेखनमा यस पक्षको परावर्तन देखिन्छ । उहाँ लेखनमा उत्तिसाह्रो हतारो रुचाउनुहुन्न र झिना विषय वस्तुहरुलाई पनि अत्यन्तै गम्भीर ढङ्गले उठाउनुहुन्छ । शुरुमा उहाँलाई लेखनमा चिनेको ‘एक निमेष अनन्तको’ दाना कविता सङ्ग्रहबाट हो । यी कविताहरूमा उहाँले विषयवस्तुलाई अत्यन्तै मिहिन ढङ्गबाट खिप्नु भएको छ । कविताहरू आकारले साना लाग्छन् तर त्यसको वजन गह्रुँगो छ । तीन हारमा लेखिने यी कविताहरूमा पहिलो हारले विषयवस्तुको उठान गर्दछ , दोस्रोले त्यसको विस्तृतिकरण गर्दछ र अन्तिमले टुङ्ग्याउँछ र यो टुङ्ग्याइ सार्थक र प्रभावपूर्ण हुने गर्दछ ।

    गलत प्रश्न

तपाईँ मान्छे नै हुनुहुन्छ हैन र ?

शङ्का गर्‍यौ, ठिकै गर्‍यौ

म मान्छे भएको भ्रम मात्र हुँ ।

थापाकृत माथिको कविता यही संरचनामा रहेको छ । लेखक नवराज शर्माले उहाँका कविताहरूलाई दाना कविता नाम दिनुभयो । दाना भन्नाले पोगटा वा भूस नभएका ,अनावश्यक तत्व नभएका भन्ने अर्थमा उहाँले प्रयोग गर्नुभएको बारे थापा सर माथि भएको अन्तरक्रियामा शर्माले बताउनु भएको थियो । हामी यसलाई बोसोरहित कविता पनि भन्न सक्छौँ । हामीले बिउ भन्छौँ ,दाना भन्छौँ –ती आकारमा साना हुन्छन् । तर त्यसको विस्तृतिकरण भव्य हुन्छ । त्यही बीजभित्र सिङ्गो रुख अटेको हुन्छ । सिङ्गो अस्तित्व समेटिएको हुन्छ । जब बिउलाई अनुकूल वातावारणमा हुर्किन दिइन्छ , त्यसबाट हाँगा , पात ,जरा, काण्ड ,फल र फूल सहितको सिङ्गो रुख बनेर हुर्किने गर्दछ । यसको मतलब बिउभित्र नै रुख हुनका लागि आवश्यक सबै तत्वहरू अटेका हुन्छन् ।

साना र ठूला वा छोटा र लामा भन्ने कुरा आयामले वा आयतनले निर्धारण गर्छन् जस्तो लाग्दैन । आकारले निकै लामा लाग्ने कविताहरू कथनका दृष्टिले अर्थविहीन र छोटा हुन सक्छन् । आयामले छोटा देखिने कविताहरू पनि विषयका दृष्टिले भव्य लामा हुन सक्छन् । त्यसकारण थापा सरका कविताहरू आयामले मात्र मसिना हुन् , कथनले ती भीमकाय छन् । कथनले ती लामा र कतिपय व्याख्यातीत छन् ।

थापा सरको लेखनीमा दोस्रो कृतिका रुपमा ‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटक आयो । यो नाटक पनि आफैँमा प्रयोगपरक छ । जो मूल कलाकार हुन्छ –अमरसिंह , ऊ नाटक मञ्चनको पूरा समय अनुपस्थित हुन्छ । नाटकमा सबै तयारी पूरा हुन्छ तर अमरसिंह आइपुग्दैन । यो पर्खाइलाई नाटकभरी गजबसँग चित्रण गरिएको छ । जब अमरसिंह आइपुग्छ नाटकको अन्त्य हुन्छ । २० औँ शताब्दीमा चर्चित रहेको सामूयल बेकेटले लेखेको ‘वेटिङ फर द गोडोट’ नाटकको झल्को दिने यो नाटकमा मूल चरित्रको पर्खाइको सन्दर्भ प्रस्तुत गरिएको छ । वेकेटको नाटकमा भगवानको पर्खाइको सन्दर्भ छ । जसमा भगवान कहिल्यै आइपुग्दैन तर उसको पर्खाइलाई लिएर निकै प्रभावी संवादहरू बुनिएका छन् ।

‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटकले हामी सबैमा अमरसिंह रहेका छन् तर त्यो सुषुप्त अवस्थामा छ ,त्यसलाई जगाउनु पर्ने आवश्यकता छ भन्ने कुरालाई प्रस्तुत गर्दछ । यो प्रतीकात्मक शैलीको अनुभूत हुन्छ । अमरसिह थापा जो एक ऐतिहासिक पात्र हुन् । नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिमी किल्लाको सर्वोच्च कमाण्डरका रुपमा उनले युद्ध लडेका थिए । उनलाई पात्रका रुपमा उभ्याउनु भनेको देशभक्तिको भावलाई प्रकट गर्नु हो र हामी सबैमा देशभक्ति जिउँदो जाग्दो अवस्थामा रहनुपर्छ भन्ने कुरालाई बोध गराउनु हो ।

थापाकृत लेखनीको प्रकाशित पुस्तकहरुमध्ये ‘फरक आकाश’ तेस्रो कृति हो । सङ्ग्रहमा उहाँका एघार कथाहरू छन् । मूलत ः कथामा सामाजिक विषयवस्तुहरुलाई नवीन शैलीमा प्रस्तुत गरिएको देखिन्छ ।  कथाका कतिपय वाक्यहरू नै कवितात्मक अनुभूत हुन पुग्दछन् । सरल कथाका अपेक्षा राख्नेहरुले उहाँबाट त्यस्तो अपेक्षाअनुरुप स्वाद प्राप्त नगर्न पनि सक्छन् । समीक्षक घनश्याम घिमिरे भन्नुहुन्छ –‘थापाको लेखनी स्याउ खाएजस्तो सोझै स्वाद प्राप्त हुने किसिमको छैन बरु हाडे ओखर फोरेर खाएजस्तो वा नरिवलको जट्टा फुटाएर नरिवल र यसको पानी प्राप्त गरेझैँ छ ।’

उहाँको ‘एक बोझिल बिहान’ कथामा फोहोर सफा गर्ने फोहोरी नभई फोहोर गर्नेहरू फोहोरी हुन् भन्ने सन्देश पाइन्छ । त्यस  कथामा सडकमा फोहोर बढार्ने पात्रहरुलाई प्रयोग गरिएको छ । ती पात्रहरुको दैनन्दीन खोतल्दै देशको फोहर सफा गर्न सामान्य नागरिकहरुको जति योगदान छ त्यत्ति उच्च पदमा आशिनहरुको नभएको प्रतिकात्मक सन्देश प्राप्त हुन्छ । सामान्य लाग्छ तर असामान्य प्रश्न हो–‘ फोहोर के हो ?’ यसले सोचको तहमा प्रश्न निर्माण गर्छ –‘सडकको फोहरमात्र फोहर हो र ? मानिसका दिमागमा भएका कलुषित विचारहरू फोहर होइनन् र ?’

‘अधूरो कथाहरुको अन्त्य ’ मार्फत कथाकारले नेपालमा साहित्य लेखेर वा लेखक मात्र बनेर बाच्नुँ अपवाद सिद्ध छ र लेखक हुनु भनेको सामाजिक पात्रताको हिसाबले उत्ति साह्रो सहज छैन भन्ने परिवेश चित्रण गर्नु भएको छ ।

सङ्ग्रहमा प्रकाशित ‘अस्विकृत स्वरुप’ कथा निकै घनत्व भएको कथा हो । यस कथामार्फत वास्तविकता वा प्रकृति नै सर्वमान्य सत्य हो । अरु भ्रम हुन् वा तात्कालीक सत्य मात्र हुन् भन्ने सन्देश प्राप्त हुन्छ । केही अनौठा संवादहरु जो यस कथामा प्रयोग भएका छन् , दर्शन चेतले युक्त लाग्छन् ।

पाल –१ भित्र

‘आज दिनभरि के ग¥यौ ?’

‘ढुङ्गासँग कुरा गरिरहेँ’

‘ढुङ्गा बोल्यो ?’

‘बोलेको छैन बोल्छ होला ।’


 पाल –३ भित्र

‘कसको मूर्ति बनाउनेछौ’

‘बिन लादेनको ?’

‘जर्ज बुसको पनि बनाउने कि ?’

................

................

‘हो उसको पनि । एकअर्काका परिपूरक । सुझावका लागि धन्यवाद ।’

उहाँको ‘सम्बन्धका विकिरण’ सम्बन्धका विविध आयामलाई चिरफार गर्ने कथा हो । सम्बन्धहरु जीवन यापनका निम्ति सहायक चिज हुन् तर सम्बन्धहरु धेरै जटील हुँदै जान्छन् र त्यही सम्बन्धको अल्झोले मानिसलाई सताउँछ । सम्बन्धका पुलहरु तर्नै नसकिने भइदिन्छन् । कथाहरू कथाहरूको रुपमा मात्र छैनन् तिनले कुनै सन्देश सिर्जना गर्ने अथवा गहिरो छाप छोड्ने काम गरेका छन् ।

माथि उल्लेख गरिएका कथाहरू र अन्य गरी उहाँका ११ कथाहरू फरक आकाश सङ्ग्रहमा समेटिएका छन् । कथा सङ्ग्रहका हिसाबले पनि उहाँको छुट्टै वैशिष्ट्य स्थापित छ ।  । प्रयोगपरकता ,विद्रोहका कुरामा नि भद्र विद्रोहको प्रस्तुती ,दर्शनको प्राचुर्य उहाँको लेखनीका उल्लेख्य पक्ष हुन् । मूल रुपमा थापा सर लेखक नै हृदय भएका वास्तविक लेखक हुनुहुन्छ । लेखक रहेकोे ढोङ गर्ने तर लेखनलाई ख्यालख्याल प्रस्तुत गर्नेको भीडबाट उहाँ टाढा नै रहनुभएको छ ।

पत्रकार प्रताप विष्टले भन्ने गर्नु भएजस्तै थापा सर एकजना अर्गानिक लेखक हुनुहुन्छ । शुद्ध हृदय भएको व्यवहार र लेखनको तादात्म्यता रहेको एक अब्बल लेखकको रुपमा उहाँको स्केच मेरो मष्तिष्कमा नमेटिने रुपमा कुँदिएको छ । आगामी समयमा पनि पहिले प्रकाशन भएकाझैँ प्रभावपूर्ण कृतिहरू उहाँबाट आउन सकून् भन्ने शुभकामना व्यक्त गर्दछु । थापा सरको सुस्वास्थ्य र सुदीर्घ जीवनको लागि हार्दिक कामना गर्दछु ।

subaspoet@gmail.com

Thursday, October 21, 2021

सधैँ जागृत छन् शिक्षकहरू

 

शिक्षण सजिलो जस्तो देखिए पनि प्राविधिक र जटिल कार्य हो । राज्य र कर्मचारीका नजरमा यो  दोस्रो र तेस्रो दर्जाको पेसाको रुपमा चित्रण गर्ने प्रयत्न हुँदै आएको देखिन्छ । शिक्षणलाई गहिरिएर बुझ्न नसक्ने र केही प्रोजेक्टहरूले भिराइदिएको बिल्लालाई सही सम्झिएर आफूलाई विज्ञ नै हुँ सम्झेर बोल्ने स्वघोषित शिक्षाविद्हरूले शिक्षा र शिक्षणको हुर्मत लिने कुराको कुनै अंश बाँकी राखेका छैनन् । जुन बाटोबाट आफू गन्तव्यमा पुग्यो त्यही बाटोलाई पटकपटक थुक्ने प्रयत्न भइरहेको छ । चुनौतीपूर्ण र जटिल क्षेत्रमा क्रियाशील रहेकाहरूलाई राज्यका तर्फबाट झनै धेरै उत्प्रेरणा हुनुपर्ने अवस्थामा भ्रमित पार्ने र हतोत्साही गराउने कार्य हुँदै आएको छ ।





शिक्षकले के मात्रै गरेनन् ?
शिक्षक समाजको उज्यालोका रुपमा हिजोदेखि आजसम्म चम्किरहेका छन् । समाजका पढेलेखेका मानिसका हैसियतमा तिनले शिक्षणका अतिरिक्त घरझगडा मिलाउने, औषधिका नाम बताइदिन सक्ने, सरसल्लाह दिन सक्ने, सही विचारको सञ्चार गर्नेलगायतका समाजिक परामर्शदाताको काम गरिरहेका छन् । भनिन्छ नै–डाक्टर खराब पर्दा केही मान्छेको ज्यान जान सक्छ, इन्जिनियर खराब हुँदा केही भौतिक संरचना कमजोर बन्न सक्छ, तर एउटा शिक्षक खराब परिदियो भने त्यसका कारण सिंगो समाज गलत दिशामा हिँड्छ । 

हरेक क्षेत्रको विकास हुनुमा शिक्षा आधारस्तम्भको रुपमा रहन्छ र शिक्षक त्यसको कर्ताका रुपमा रहन्छन् । त्यसैले आजको समाज विकासमा पनि शिक्षक महत्वपूर्ण भूमिकामा छन् । देशका ठूला राजनीतिक परिवर्तन, सांस्कृतिक परिवर्तन र समाजको अग्रगमनको यात्रामा शिक्षकहरू अविचलित र निरन्तर सक्रिय छन् । त्यसकारण प्रसिद्ध चित्रकार कोलेन विलकक्सले भनेका छन्– ‘शिक्षण आशावादको सबैभन्दा ठूलो कार्य हो ।’

शिक्षक लाञ्छनाको विषय होइनन् 
माध्यमिक तह प्रथम श्रेणीको शिक्षकलाई साधारण तहको कर्मचारीले तल्लो वर्गको सम्झेर त्यहीअनुसार व्यवहार गरेको देखिन्छ । सामाजिक हिसाबले हेर्ने हो भने पनि शिक्षणलाई तल्लो र कमजोर पेसाको रुपमा चित्रण गरिन्छ । कसैको परिचयमा शिक्षक जोडिएर आएमा दोस्रोले दिने प्रतिक्रिया हुन्छ ‘ए शिक्षक पो– मैले त कर्मचारी भन्ने सम्झेको ।’ विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षक कमजोर मानिन्छ भने विद्यार्थीले राम्रो नम्बर प्राप्त गरे वा धेरै उत्तीर्ण भए भने विद्यार्थीले पढेको ठहरिन्छ । पछिल्लो समय तर्क गरेको सुनिन्छ– शिक्षकले राजनीति गरे । राजनीतिबाट अछुतो त सम्भवतः कुनै क्षेत्र छैन । आफ्नो काममा उत्तरदायी नभई राजनीतिक आडमा गलत काम गर्न लागेकाको विरोध गरिनु त स्वाभाविकै हो, तर सोलोडोलोमा शिक्षकले राजनीति गर्छन् र पढाउँदैनन् भनी लाञ्छित गर्नु कुनै तर्कको विषय नै होइन भन्ने लाग्छ । 
शिक्षकको प्रयत्नमा राम्रा बनेका विद्यार्थीको चर्चा हुँदा शिक्षकहरूलाई समेट्ने अभ्यास कम भएको देखिन्छ भने कहीँ शिक्षकका कमजोरी देखिएमा त्यसलाई तत्कालै प्रचार गर्न उद्दत् भइहाल्ने अवस्था छ ।






प्रणालीमा सुधार कि प्रयोगकर्तामा ?
कुनै पाइपलाइन छ र त्यहाँबाट पानी बगाउनु छ भने पाइपभित्रका फोहर र बाटो छेक्ने कुराहरू पहिले सफा गरिनुपर्छ, पाइपभरि लेदो र हिलो रहन दिने अनि पानी राम्रोसँग बग्नुपर्छ, सिँचाइ गर्नेले छिटै खेतबारीमा ढकाउन सक्नुपर्छ भन्ने विचार राख्नु सही हुन्न । हरेक पक्षलाई सबलीकृत गर्न सबैभन्दा पहिले प्रणाली सही विकास गर्ने प्रयत्न हुनुपर्छ अनि त्यसपछि प्रयोगकर्तामा ठोकिनु पर्छ । युग अति परिवर्तन भइरहेको सन्दर्भमा लामो समयसम्म शिक्षा नीति एकै किसिमको हुनु र यस क्षेत्रमा रहेका प्रशासकहरूको माइन्डसेट सधैं पुरातन रहनु आजको शिक्षाको सबैभन्दा चुनौतीको विषय हो । 

शिक्षकहरू निदाएकै हुन् त ?
कतिपय शिक्षाविद् भनिनेहरूले ‘शिक्षक निदाए, शिक्षक छैनन्, जागिरे मात्रै छन्, तिनले पढाउँदैनन्, तलब मात्र बुझ्छन्’ जस्ता तर्कहरू गरिरहेका पाइन्छन् । यस्ता तर्कले प्रतिक्रियात्मक समाजमा तिनको चर्चा त राम्रै चल्छ, तर ती व्यक्तिहरू आजको शिक्षालाई गम्भीरतापूर्वक हेरिरहेका छैनन् । यस्ता विद् भनिनेहरूले बाटो देखाउने र सही मार्ग निर्देशन गर्ने भन्दा अराजकताको खेती गरेर आफ्ना तर्कहरू सही हुन् भन्ने बनाउन लिँढेढिपी गर्नेे अवस्था मात्र बन्छ भन्ने बोध गर्न सकिन्छ । तिनलाई अबको शिक्षाको गति कस्तो र कता हुनु पर्ने ? जीवन परक शिक्षा विकासमा राज्यले कस्तो किसिमको ध्यान दिनुपर्ने भन्नेमा कुनै चासो देखिन्न बरु कुनै सेमिनारमा कतैबाट आयातीत पेपरलाई कसरी एडिट गरी प्रेजेन्ट गर्दा बढी रकम प्राप्त गर्न सकिन्छ भन्ने ध्यान रहन्छ ।  

राज्यले उति चासो र ध्यान नपुर्याए पनि र कम लगानी गरे पनि आज जे जति भइरहेको छ ,त्यो शिक्षककै कारण सम्भव भएको छ । यसर्थ शिक्षकहरू निदाएका छैनन् । 
पछिल्लो समयकै कुरा गरौं– राज्यले कोभिडको समयमा कसरी शिक्षा प्रदान गर्ने भन्ने कुनै स्पष्ट नीति तय गर्न नसकेको अवस्थामा समेत शिक्षकहरू आफैं लागेर विभिन्न तरिका अपनाएर शिक्षण गरिरहेका छन् । यसो गर्दा शिक्षकहरूले ज्यानको बाजी थापेका छन् । राज्यले कोभिडविरुद्धको भ्याक्सिन दिने कार्यमा शिक्षकहरूलाई प्राथमिकताको कुनै क्रममा राखेन बरू घर बसेर तलब खाएको आरोप लगाउने कार्य भयो । 

अनलाइन वा अफलाइन कसरी भन्दै अल्झिरहेको समय 
समयले यस्तो घटनालाई छाडेर जाँदैछ, जसले हाम्रो समग्र युगलाई प्रभाव पा¥यो । निकै सानो जीवाणुसँग सबैभन्दा विकसित मानिएको जीव– मानव समुदाय पूर्ण त्रस्त रह्यो । चीनको वुहान सहरबाट सुरु भएको कोरोना (कोभिड–१९ ) सँग विश्व नै प्रभावित रह्यो । विकसित र स्रोतसाधन सम्पन्न मुलुकका रुपमा परिचित देशहरूबाट निस्किएको संकटको ध्वनि विश्वभर फैलियो । अब साना र आर्थिक हिसाबले कमजोर मुलुकको कुरै नगरौं । उनीहरूका कथा त कारुणिक हुने नै भयो । 
यस किसिमको चुनौती त छँदै छ, तर पनि शिक्षण प्रक्रियालाई रोकेर बस्नु बुद्धिमतापूर्ण नहुने स्पष्ट छ । यसका लागि फेरि मैदानमा त शिक्षकहरू नै उत्रिनु पर्ने बाध्यता छ ।

बजार र नेटको सुविधा पुगेको क्षेत्रमा अनलाइन कक्षा पनि प्रभावकारी बनेको छ । तैपनि नेपालमा नेटको सुविधा सस्तो छैन र सबैको पहुँचमा पुग्ने अवस्था बनेको छैन । त्यसकारण निम्न वर्गको परिवार र गाउँमा अनलाइन शिक्षाको व्यवस्था गर्न कठिन छ । कतिपय सन्दर्भमा टिभी, रेडियोबाट नियमित प्रसारण हुन थालेका कक्षा र ‘एनसिइडी’ले युट्युबमा उपलब्ध गराएको भर्चुअल कक्षा, दूर शिक्षा केन्द्रलगायतले तयार गरेका सामग्रीहरू यतिखेर सफल भएका छन् । तर, नेट र मल्टिमिडियाको पहुँचभन्दा बाहिर रहेका बहुसंख्यक विद्यार्थीलाई सम्बोधन हुनु जरुरी छ । यो अनलाइन तथा अफलाइन दुवै पक्षलाई सम्बोधन हुने गरी अघि बढ्नु अहिलेको आवश्यकता बनेको छ । त्यस निम्ति विद्यालयहरूले सारांशकृत नोट तथा कार्यपत्र (वर्कसिट )हरू निर्माण गरी प्रयोगमा ल्याएको पाइएको छ, जसले सकारात्मक परिणाम दिइरहेको देखिन्छ ।

अबको यात्रा अनलाइन शिक्षा र यसमा रहेका खतरा
समय बदलिँदै गइरहेको छ । कोभिडअघिको समयसम्म हामीलाई ‘होइन’ भन्ने लागेका विषय अब ‘हो’ हुँदै गएका छन् । आफ्ना बाबुनानीलाई मोबाइल र  नेटबाट टाढा राख्न प्रयत्न गरिरहेका हामीहरूले अब उनीहरूकै निम्ति मोबाइल र नेटको सुविधा उपलब्ध गराउनु पर्ने भएको छ । जुम, गुगल मिट, गुगल क्लासरुम, मोडल क्लासरुमलगायतका कुरा अहिलेका प्रयोगकर्ताहरूमध्ये थोरैले मात्र नाम सुनेका थिए होलान्, तर अहिले सबैले प्रयोगमा ल्याइरहेका छन् । हिजो फरक ढंगले प्रयोग हुने शिक्षक तथा विद्यार्थीको फेसबुकमा अहिले कक्षागत ग्रुप र त्यसमा कक्षा सञ्चालनका निम्ति आउने लिंकको घण्टी बज्ने गर्छ । 

अहिले जसरी बिस्तारै प्रिन्ट मिडियालाई अनलाइन पत्रिकाहरूले ओभरल्याप गरिरहेका छन् अबको समयमा हामीले माने पनि नमाने पनि अनलाइन शिक्षा नै विकल्पको रुपमा अगाडि आउने छ र त्यसले फेस टु फेस चल्ने कक्षालाई विस्थापित गर्दै जाने परिस्थिति बन्ने छ । त्यसो हुँदै गर्दा यसको प्रयोगको असावधानीका कारण थुप्रै जोखिमहरू पनि सँगसँगै छन् । विद्यार्थीहरू गलत साइटको लतमा फस्ने, साइबर क्राइमका जोखिम बढ्ने, आर्टिफिसियल इन्टेलिजेन्समा अधिक भर पर्नेलगायत समस्या आउने देखिन्छ । यति हुँदाहुँदै पनि समयले तय गरिदिएको बाटोमा त हामी हिँड्नु नै छ र त्यसैअनुसार प्रयत्न गर्नु नै पर्छ ।

चिनियाँ भनाइ छ– ‘यदि तपाईं एक वर्षको लागि योजना बनाइरहनुभएको छ भने धान रोप्नुहोस्, यदि तपाईं एक दशकको लागि योजना बनाइरहनुभएको छ भने रूख रोप्नुहोस् र यदि तपाईं एक जीवनकालको लागि योजना बनाइरहनुभएको छ भने मानिसहरुलाई शिक्षित गर्नुहोस् ।’ राज्यले सबै नागरिकको जीवनकाल राम्रो पार्न शिक्षाप्रतिको लगाव बलियो र उत्तरदायी बनाउनु पर्छ । त्यस निम्ति हामी सबैको उत्तरदायी भूमिका हुनुपर्छ । 

(भौतिक शास्त्रमा स्नातकोत्तर गरेका खनाल मावि तहका विज्ञान शिक्षक हुन् ।)
 

Published in Farakdhar.com

Thursday, April 29, 2021

समवयी लेखकको सपनासँगै ब्युँझिँदा ।

 समवयी लेखकको सपनासँगै ब्युँझिँदा ।

सुवास खनाल

डिबी बर्तौला युवा जोशका साथ लेखनमा प्रविष्ट एक पात्र हुन् । यिनी लेखनमा मात्र सक्रिय होइनन् । समाजका विविध पक्ष ( शिक्षण, राजनीति, सहकारी लगायत ) सँग जोडिएर निरन्तर अघि बढिरहेका समाज सुधारमा सकारात्मक चिन्तन राख्ने एउटा सक्षम चरित्र हुन् । यिनको रचनाको मूल स्वर पनि देश निर्माणका लागि युवाहरूलाई आह्वान रहेको छ । यो देश बदल्ने तागत कसैमा छ भने –त्यो युवाहरूमा नै छ भन्ने उनको मत हो । 

जीवनमा सपना सजाएर बाँच्नुपर्छ 

हामीले सधैंँ आशा जगाएर बाँच्नुपर्छ 

थकित गलित भएर होइन हामीले

निराशाका पर्दाहरु हटाएर बाँच्नुपर्छ


आजको समय स्वप्नहत्यामा संलग्न छ । विद्यालय जीवनमा ठूलो महत्वकाङ्क्षा बोकेर अध्ययन गरी राम्रो श्रेणीमा उत्तीर्ण हुनेहरू जीवनको श्रम खाडीका विभिन्न मुलुकहरूमा पोख्न विवश छन् । रेमिट्यान्ससँग अर्थतन्त्रको उपलब्धि विश्लेषण गर्ने अर्थवेत्ताहरू छन् । तर डिबीका मुक्तकहरू सपनाका खेती गर्दछन् । सपना देख्नको लागि आग्रह गर्दछन् । एक किसिमका लेखकहरू सोच्ने मात्र होइन भन्ने पनि गर्दछन् –‘लेखकको त लेख्ने काम न हो गर्नु त पर्दैन । चेतना बढाउने मात्र हो ,कहाँ लेखकले साबेल उचाल्ने ?’ यो एलिटिएन सोचको उपज हो र आजको समाजमा बुर्जुवा साहित्य सिर्जनाको मूल स्रोत पनि यही हो । डिबीका मुक्तकहरूमा काव्यशिल्पी कमजोर होलान् तर यिनी वैयक्तिकीमा सबल छन् । उनी सपना देखाउने मात्र होइन त्यो सपनासम्म पुग्ने बाटो निर्देश गर्न सफल छन् ।


एक दिन अनौठो बिहानी आउने छ 

झुपडीमा निन्द्रा दिने सिरानी आउने छ 

आशा, उमङ्गका दियोहरू बाल्न पक्कैपनि

शान्ति, सम्वृद्धि झर्को नमानी आउने छ ।


 नेपाली कविता साहित्यमा गोपालप्रसाद रिमालले ‘ आमाको सपना ’ मार्फत एउटा सपना प्रस्तुत गरे । उक्त सपना आजअद्यापी नेपाली जनजनले आह्वान गरिरहेको समयकोे एउटा स्वरुप हो । उनैद्वारा सिर्जित ‘एक जुगमा एक दिन एक चोटी आउँछ’ क्रान्ति सचेत युवाहरूलाई ब्युँझाइरहने रचना हो । डिबीका रचनाहरूले पनि ब्युँझाइको आग्रह गर्दछन् । 


एउटा लेखक उसको समयको प्रतिनिधि हो । उसले आफ्नो समयलाई कति मजबुतसँग लेख्यो त्यसले नै उसको प्रभावलाई विस्तारित गर्दछ । आफ्नो समयलाई पटाक्षेप गर्ने डिबीको जुन प्रयत्न छ त्यो प्रयत्न सह्राहनीय लाग्दछ । प्रभावपरक लेखनीमा त प्रश्न गर्न सकिन्छ तर मुक्तक लेखनको नेपाली परम्परा हुर्किँदै जानेमा कुनै शङ्का छैन । लघु आयामको लेखनी भएका कारण आजको व्यस्त र भागदौडको समयमा यो बढी प्रभावी लाग्छ । मुक्तकका ज्ञाताहरू भन्दछन् –‘मुक्तक आकार र आयाममा मात्र सानो हुन्छ तर यसले ठूला आयामका अन्य रचनाले बोक्ने भन्दा बढी भाव प्रकट गर्न सक्नु पर्दछ ।’ डिबीका मुक्तकहरूले त्यो अभ्यास गर्ने तरखरमा छन् ।

 यिनको लेखनीमा उमेरले दिएको प्रणयपरकता स्वभाविक महशूश हुन्छ । केही मुक्तकहरू अनुरागयुक्त लाग्दछन् । त्यस्तै लेखनीमा स्वअस्तित्वको खोज  मुखरित भएको छ । सहिदहरूको त्याग तपस्या र बलिदानीको चर्चा , सामाजिक कुरीतिको विरोध, बालापनको नोस्टाल्जिक सम्झनाहरू मुक्तकका विषय बनेर आएका छन् । यिनको मुक्तकले सुभविष्यको कामना गर्दछन् । आजको समय कठीन भए पनि भोलिको भविष्य उज्ज्वल देख्ने इच्छा यिनमा रहेको छ । विदेश पुगेका पाखुरीहरूलाई स्वदेश आगमनको आह्वान गर्छन् । यही देशमा पौरख गरे त्यो कालान्तरसम्म फलदायी रहने तर्क गर्छन् । 


 एउटा समवयी लेखकलाई नजिकबाट हेरिरहँदा उनमा रहेको उर्जाको समग्र स्वर यो मुक्तकसङ्ग्रह हो भन्ने सोच्दछु । उनको उर्जा सही ढङ्गले प्रयोग हुँदा भोलीको दिनको एउटा प्रभावी लेखकको रुपमा उनको उपस्थितिको सम्भावना बलियो रहेको छ । डिबीलाई उनकै मुक्तकका साथमा आगामी उज्ज्वल भविष्यको हार्दिक कामना ।


जलेर सबैले एकदिन खरानी हुनु छ

त्यागेर इच्छा, लोभ ज्ञानी हुनु छ

के छ र लानु ए साथी जानु नै छ

सबैले सम्झने असल बानी हुनु छ ।


subaspoet@gmail.com

आइन्स्टाइन –एक महान वैज्ञानिक

 आइन्स्टाइन –एक महान वैज्ञानिक



सुवास खनाल

सन् १९८१ का भौतिक विज्ञान तर्फका नोबेल पुरस्कार विजेता अल्बर्ट आइन्स्टाइन चर्चित र महान् वैज्ञानिक हुन् । उनको जन्म जर्मनीको उटेमवर्ग स्थित उल्ममा १४ मार्च १८७९ मा भयो । उनको तीन वर्षको हुँदासम्म बोली फुटेको थिएन । उनी पछि पनि भन्थे –‘मैले कहिलेकाहीँ मात्र शब्दहरूमा सोच्ने गर्छु नत्र मलाई विचारहरू चित्र वा नक्साझैँ आउँछन् र तिनलाई व्यक्त गर्नमात्र म शब्दहरू खोज्न थाल्दछु । ’ उनले तेह्र वर्षको उमेरसम्म सधैँ घरमा भायोलिन सिक्ने र यहुदी धर्मसम्बन्धी प्रवचन सुन्ने गर्दथे । सन् १८९५ मा जुरिचको प्राविधिक विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियर पढ्न दिएको प्रवेश परीक्षामा उनी असफल भए । त्यस्तै आराउको विद्यालयमा पनि उनी असफल हुन पुगे । त्यसबेला उनले आफ्नो भविष्यको योजना बारे निबन्ध नै लेखे –यदी मेरो भाग्य छ भने म स्वीस सङ्घीय विद्यालयको परीक्षा पास गर्नेछु । त्यहाँ म चार वर्षसम्म गणित र भौतिकशास्त्र अध्ययन गर्नेछु र ती विषयको सैद्धान्तिक पक्षको शिक्षक हुनेछु भनी कल्पना गर्छु । ममा प्रयोगात्मक क्षमता र कल्पनाशीलताको कमीको कारणले नै मैले यस्तो सोचेको हुँ ।

अध्ययन क्रममा उनलाई शिक्षकहरूले –‘अल्बर्ट तिमी कहिल्यै सफल हुन सक्दैनौ’ भनी गाली गर्दथे । अध्ययनको क्रममा उनले मार्सेल ग्रोसमानजस्तो मेहनती साथि भेटे , जो लगनशील भएकाले सधैँ कक्षामा बस्ने, पाठ गर्ने ,अध्ययनमा ध्यान दिने गर्दथे भने आइन्स्टाइनले ग्रोसमानको कापी सार्ने , जाँचको दुई तीन महिना अघिसम्म नि घुम्ने गर्थे । अध्ययनपछि ग्रोसमानका पिताले ग्रोसमानलाई एउटा माध्यामिक विद्यालयमा अस्थायी शिक्षक पदमा मिलाई दिएभने ग्रोमानको सहायताले आइन्स्टाइनले एक अनुसन्धानशालामा तृतीय श्रेणीको अस्थायी प्राविधिक जागिर पाए । यसले नै उनको भाग्योदय भयो भन्न सकिन्छ । उनले अफिसको काम तीन चार घन्टामा नै भ्याएर बाँकी काम भौतिक विज्ञानको अध्ययनमा बिताउन लागे । उनले त्योजागिर सात वर्षसम्म गरे र पछि ज्युरिच विश्वद्यिालयबाट विद्यावारिधि गरे । त्यसबीचमा उनले तीनवटा महत्वपूर्ण शोधपत्रहरू तयार गरे जसले उनलाई अमर बनायो । पहिलो ब्राउनियन गतिसम्बन्धी थियो ,दोस्रो प्रकाशको क्वान्टम प्रवृत्तिबारे थियो भने तेस्रो सापेक्षतावादको सिद्यान्त थियो । उनलाई नोबेल पुरस्कार फोटोविद्युतीय असरसम्बन्धीको कामलाई लिएर दिइएको थियो भने मूल रुपमा उनी सापेक्षतावादको सिद्धान्तका कारण चर्चामा रहे । यो सिद्धान्तले उनलाई मानव इतिहासकै एउटा विशिष्ट चिन्तकका रुपमा अगाडि ल्यायो 

आइन्स्टाइनले स्पेस टाइमको अवधारणा जबसम्म ल्याएका थिएनन् तबसम्म टाइम लाई सापेक्षिक मान्ने अवस्था थिएन । उनले  प्रकाशको गति नै सबैभन्दा धेरै गति हो भन्ने कुरा सापेक्षतावादसम्बन्धी सिद्धान्तमा उल्लेख गरे । यसो भनिदिँदा विज्ञानको क्षेत्रमा प्रयोगमा आइरहेका पचास प्रतिशतभन्दा बढी सिद्धान्तहरू रक्षात्मक अवस्थामा पुगे । उनको सापेक्षतावादसम्बन्धी सिद्धान्तले तहल्का नै मच्चायो । त्यो सिद्धान्त आउने बेला एउटा कहावत प्रसिद्ध भयो –‘सापेक्षतावादको सिद्धान्त बुझ्ने विश्वमा एक दर्जन पनि मान्छे छैनन् ’ भन्ने । यो सिद्धान्तलाई कैयन मानिसले बौद्धिक आतङ्क ( इन्टेलेक्चुयल टेरोरिज्म) को सङ्ज्ञा दिए । नील्स बोर जत्तिको बुद्धिमान वैज्ञानिकले समेत उनलाई इन्कारे । तर जति समय बित्दै गयो त्यत्ति सापेक्षतावादको सिद्धान्त बढी प्रभावकारी देखिँदै आयो । उनको सापेक्षतावादको सिद्धान्त बढी चर्चित हुँदै गर्दा उनलाई भौतिक विज्ञानको नोबल पुरस्कार भने फोटो विद्युतीय असरको अध्ययनका लागि प्रदान गरिएकाले उनी त्यत्ति सन्तुष्ट थिएनन् । उनी सन् १९२२ मा स्विडेनबाट धेरै टाढा जापानमा भएकाले नोबल प्राइज अवार्ड गर्ने सेरेमनीमा भाग लिन पाएनन् ।

आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्तमा पिण्ड –शक्ति रुपान्तरणको विषय ल्याए । त्यस्तै स्पेस–टाइम भेरिएसनको कुरा ल्याए । समयको सापेक्षताको विषयमा उनीसँग सम्बद्ध विभिन्न घटनाहरूले रोमाञ्चकता थप्छ । 

उनी लवाइखवाइमा उत्ति साह्रो ख्याल राख्दैनथे । उनी कपाल नकोर्ने र जुत्तामा पालिस पनि धेरै गर्दैनथे । अनि एक पटक उनको धूलो टाँसिएको जुत्ता हेर्दै पत्रकारले सोधेछन् –‘तपाईँ फोहोर जुत्ता किन लगाउनु हुन्छ ?’ उनले भनेछन् –‘तपाईँ अरुको सँग दाँजेर यो जुत्तालाई हेर्दै हुनुहुन्छ र यो जुत्तालाई फोहोर भन्दै हुनुहुन्छ अरुसँग नदाँज्नुहोस् , यो संसारको सबैभन्दा राम्रो जुत्ता हो ।’ उनले यहाँ सापेक्षताको कुरा अघि सारे । उनले सापेक्षतावादलाई प्रष्ट्याउने क्रममा अर्को ठट्यौली पारा अपनाएका छन् । उनले भनेका छन् –‘ तपाईँ एउटी राम्री युवतीसँग तीन घन्टा गफ गर्नुहोस् र एउटा तातेको तावामा तीन मिनेट औँलाले छोइरहनुहोस् तपाईँलाई तातेको तावालाई छोएको समय लामो लाग्छ, यही हो सापेक्षतावाद । ’

एकपटक हास्य कलाकार चार्ली च्याप्लिन र आइन्स्टाइनलाई एकै पटक कार्यक्रममा बोलाइएछ । सुरुमा आइन्स्टाइन आइपुगेका थिएनन् सबै चार्ली च्याप्लिनलाई घेरेर बसिरहेका थिए र पछि आइन्स्टाइन आइ पुगेपछि सबैले च्याप्लिनलाई छाडी आइन्स्टाइनलाई घेर्न पुगेछन् । अनि आइन्स्टाइनले भनेछन् –‘यही हो सापेक्षतावाद ।’ एक पटक यस्तो अवस्था आयो कि आइन्स्टाइनले जे बोलेपनि न्युजको हेडलाइन बन्ने । उनले नै यो अवस्था रोक्नुपर्छ भन्ने आग्रह गर्नुपरेको थियो ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि आइन्स्टाइन विश्वकै राजनीतिक क्षेत्रमा महत्वपूर्ण व्यक्ति हुन पुगे । उनले अमेरिकाली राष्ट्रपतिलाई लेखेको एक पत्रले गर्दा परमाणविक बम बन्यो र विश्वयुद्धमा अमेरिका र यसका मित्रशक्तिको विजय भयो । सन् १९५२ मा इजरायलको प्रथम राष्ट्रपतिको निधन भएपछि त्यहाँको सरकारले निर्णय गरी आइन्स्टाइनलाई इजरायलको दोस्रो राष्ट्रपति हुन औपचारिक निम्तो गरे तर आइन्स्टाइनले त्यो स्विकारेनन् । बरु त्यहाँको जेरुसेलममा हिब्रु विश्वविद्यालय निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

आइन्स्टाइन बढी सोच्ने व्यक्ति थिए । उनले प्रयोगात्मक पाटोभन्दा सैद्धान्तिक पाटोमा बढी योगदान दिएका थिए । उनी भन्थे–‘मेरो मष्तिष्क नै मेरो प्रयोगशाला हो ।’ यसैगरी समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने अभिव्यक्तिहरु उनले दिएका छन् । एकपटक उनलाई सोधियो –‘तेस्रो विश्वयुद्धमा कस्ता हतियारहरू प्रयोग हुन्छन् ? ’उनले भने –‘तेस्रोमा त थाहा छैन चौथोमा भने ढुङ्गाकै हतियार प्रयोग हुन्छ ।’ यसै गरि उनलाई ७५ वर्षको उमेरमा एकजना पत्रकारले सोधेछन्–‘तपाईँ आजकाल के गर्दै हुनुहुन्छ ?’ उनले भनेछन् –‘म भौतिक विज्ञान अध्ययन गर्दैछु ।’ यसले अध्ययनको सीमा नहुने प्रष्ट पार्छ ।

मृत्युको एक हप्ता अगाडि उनले आफ्नै हस्ताक्षरमा बर्टेन रसेललाई अन्तर्राष्ट्रिय शान्तिका लागि नाभिकीय हतियारहरू नष्ट गर्नुपर्ने कुरामा आफ्नो राय रहेको पत्र लेखेका थिए । यही पत्र नै उनको अन्त्मि पत्र बन्न पुग्यो । उनको सम्मानमा एउटा तत्वको नाम आइन्स्टानियम  राखिएको छ ।त्यस्तै उनको मष्तिष्क प्रिन्स्टनको अस्पतालमा सुरक्षित राखिएको छ र यसमाथि अध्ययन पनि भइरहेको छ ।


 ( विभिन्न स्रोतहरूबाट सङ्कलित )


Wednesday, April 8, 2020

श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल

श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल



निर्माणाधीन श्यामप्रसाद स्मृति पार्क , गुम्बाडाँडा 
                                                 सुवास खनाल , सचिव ,श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान
कार्य प्रगति प्रतिवेदन
नेपालको प्रगतिवादी लेखनको आन्दोलनमा अगुवाको भूमिका निर्वाह गर्नुभएका श्यामप्रसाद शर्मा मकवानपुर जिल्लाको तत्कालीन मन्थली गाविस ( हालको बकैया गाउँपालिका ) मा जन्मिनुभएको थियो । उहाँ प्रगतिशील लेखक सङ्घ नेपालको पहिलो केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । साधारण जनजिविकाका प्रसङ्ग साहित्यको विषय हुनुपर्छ भन्ने मान्यता राख्ने उहाँ समाजलाई अग्रगमनको बाटोमा निर्देशित गर्न सधैँ प्रयत्नशील रहनुभयो ।
अहिलेको समाजलाई दृष्टिगत गर्दा राजनीतिक परिवर्तन भएतापनि समाजमा साँस्कृतिक परिवर्तन नहुँदा आम जनसमुदायले राजनीतिक परिवर्तनलाई आत्मसात गर्न अझै सकेका छैनन् । समाजमा विद्यमान अवैज्ञानिक चालचलन र रहनसहन,अन्धबिश्वास,कुरिति,पछौटेपन आदि नेपाली समाजका लागि ठुलो रोग सिद्ध भएको छ । नेपाली समाजलाई सामाजिक, सा“स्कृतिक परिवर्तन गर्दै न्यायपूर्ण समाज स्थापना गर्नु आजको युगबोधी आवश्यकता हो । नेपालको इतिहासको अनेक कालखण्डमा अग्रगामी सामाजिक रुपान्तरणका लागि धेरै चिन्तक -बिचारकहरुले आ-आफ्नो समयमा प्रशस्तै योगदान र मार्गदर्शन गरेका छन् । तिनै मध्ये आप्mनो ब्यक्तिगत हित र स्वार्थ भन्दा माथि उठेर समाज,देश र जनताको पक्षमा अग्रगामी सामाजिक रुपान्तरणका लागि  जीवनपर्यन्त क्रियाशील रहनु भएका युगद्रष्टा श्याम प्रसाद शर्मा साहित्यकार मात्र नभई राजनीतिक चिन्तक पनि हुनुहुन्छ । मुलुक राजनीतिक दृष्टिले युगान्तकारी परिवर्तनको ढोकाबाट नया“ युगको गर्भमा प्रवेश गरिसकेको अवस्थामा पनि श्यामप्रसाद र वर्हाँहरुले मार्गदर्शन गरेको सामाजिक न्याय सहितको समृद्ध र समतामूलक समाजको सपना अधुरो छ । उहा“का प्रगतिवादी साहित्य र वैचारिक दृष्टिकोण सहितको गहन चिन्तन, मार्गदर्शन, प्रेरणाप्रद काम देश र जनताका लागि अनुकरणीय छन् । उहा“ अहिले भौतिक रुपमा उपस्थित हुनुहुन्न तर उहा“ले जिवनका बिभिन्न कालखण्डमा निर्वाह गर्नुभएका भूमिका पछिल्ला पुस्ताहरुका लागि अध्येय,चिन्तेय र मार्गदर्शकीय रहेको छ । यिनै कुरालाई मनन गरीे “श्यामप्रसाद स्मृति प्रतिष्ठान – २०७४ ” गठन गरेर उहाँको विचारबाट समाजलाई चिरकालसम्म लाभान्वित गराउन आवश्यक महसुस गरी यो   संस्था गठन भएको हो ।

संस्थाका गतिविधिहरू

  • २०७४ साल फागुन ११ गते प्रारम्भिक भेला भई श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय भई प्रगतिवादी साहित्यकार तथा पत्रकार अग्रज कौशल पाण्डेको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको ।
  • प्रतिष्ठानका सदस्य अरुण खतिवडा संयोजक र उपाध्यक्ष इन्द्र नेपाल तथा सचिव सुवास खनाल सहितको तीन सदस्यीय विधान विधान मस्यौदा समितिले विधान तयार पारी प्रतिष्ठानको बैठकबाट पारित विधान २०७५/०४/०६ मा जिल्ला प्रशासन कार्यलयमा दर्ता भई संस्था विधवत रुपमा सञ्चालनमा आएको ।
  • २०७५ वैशाख २४ गते श्यामप्रसाद स्मृति दिवसको सन्दर्भमा स्मृति दिवस विशेष अन्तरक्रिया कार्यक्रम हेउनपा वडा नं. ४ अध्यक्ष तथा प्रतिष्ठानका सदस्य नवीन सिग्देलको विशेष सहयोगमा ४ नं. वडा कार्यालयमा रहेको हलमा मकवानपुर जिल्ला प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न ।
  • प्रतिष्ठानको कार्ययोजना कार्यन्वयन गर्नका लागि तीन नं. प्रदेश सरकार , संघीय सरकार ,हेटौँडा उपमहानगरपालिका लगायतका निकायमा रु ५०,००,००० /-(अक्षेरेपी पचास लाख ) रुपैयाँ बरावरको कार्ययोजना पेश गरिएको ।
  • २०७५ माघ ५ गते शनिबार हेउनपा वडा नं. १० अखण्ड मार्गमा व्यवस्थापन गरिएको कार्यलय उद्घाटन तथा श्यामप्रसाद शर्माको पाँच जरुरी कुरा पुस्तिकाको पुनः प्रकाशन गरी सार्वजानिक गरिएको र उक्त कार्यक्रममा प्रगतिवादी साहित्यकार शेषमणी आचार्यको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, पे्रम बहादुर पुलामी छिन्तु र ओम घलान लगायत मकवानपुरका साहित्यकारहरुको महत्वपूर्ण उपस्थिति ।
  • कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर तथा कार्पेटिङका लागि हेउनपा १० नं. तथा ४ नं. वडाबाट पनि सिफारिस भई सहयोग प्राप्त भएको ।
  • २०७५ चैत १६ गते बसेको बैठकले पदाधिकारीहरुको सचिवालय गठन गरी तात्कालिक रुपमा गर्नुपर्ने निर्णय सचिवालयको निर्णयानुसार गर्ने गरिएको ।
  • २०७६ असार ७ गते प्रतिष्ठानले प्रकाशन गरेका दुई पुस्तकहरु महिलाबारे (प्रतिष्ठानकी कोषध्यक्ष नानीमैयाँ विष्टको आर्थिक सहयोगमा ) र सबैका लागि घर ( प्रतिष्ठानका शुभेच्छुक मुकुन्द राज बानियाँको आर्थिक सहयोगमा प्रकाशन भएका उक्त पुस्तकहरु रुपचन्द्र विष्टको स्मृतिमा थाहा नगरपालिकामा भएको कार्यक्रममा बामपन्थी चिन्तक साथि सोनामको प्रमुख आतिथ्यतामा विमोचन ।
  • २०७६ जेठ ११ गते हेउनपा १८ गुम्बाडाँडामा वडा नं. १८ का वडा अध्यक्ष अनिल बानिँया , हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल ,ज्योती सामूदायिक वन उपभोक्त समितिका अध्यक्ष रामबाबु खतिवडा लगायत श्यामप्रसाद प्रतिष्ठानका अध्यक्ष तथा प्रतिनिधिहरुको संयुक्त भेलाले स्मृति पार्क तथा अध्ययन केन्द्र स्थापनाका लागि जग्गा प्राप्तिका निम्ति प्रारम्भिक छलफल गरिएको र त्यसअनुसार प्रक्रिया अगाडि बढेको साथै प्रतिष्ठानको उद्धेश्य अनुरुप स्मृति पार्क निर्माणार्थ ३ नं. प्रदेश उद्योग वन तथा पर्यटन मन्त्रालय मार्फत २०,००,०००/-( अक्षेरेपी बीस लाख ) छुट्याइएको र त्यसबाट पार्क निर्माका लागि उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरी प्रक्रिया अगाडि बढाइएको । निर्माण कार्य भइरहेको ।
  • प्रतिष्ठानकै पहलमा कार्य सुचारु गर्न हेटौँडा उपमहानगरपालिका बाट रु २,००,०००/-( अक्षेरेपी दुई लाख ) छुट्याइएको । सो रकमबाट श्यामप्रसाद शर्मा स्मृति ग्रन्थ प्रकाशनको तयारी ।
  • प्रतिष्ठानका सदस्य अरुण खतिवडाको राधेश्याम विजया फाउन्डेसनबाट प्रकाशित संस्मरणात्मक निबन्धसङ्ग्रह पदचापको विमोचन कार्यक्रम २०७६ कार्तिक २ गते प्रतिष्ठानको अयोजना तथा संघीय सांसद विरोध खतिवडाको प्रमुख आतिथ्यतामा न्युज क्लब नेपालको सभाहलमा सम्पन्न गरिएको ।
  • हालै प्रतिष्ठानद्वारा श्यामप्रसादको सुप्रशिद्ध कृति तँ ,तिमी, तपाईँ , हजुर र भित्र समाजवाद बाहिर नौलो जनवाद क्रमश : प्रतिष्ठानका आजीवन सदस्य सुशीलप्रसाद मुडभरी र मकवानपुर गढी गाउँपालिकाकोे सहयोगमा प्रकाशन भएको ।

संस्थाको स्थापना समयदेखि हालसम्मका कार्यहरुलाई हेर्दै गर्दा सङ्ख्यात्मक रुपमा केही कम कामहरु भएको देखिएता पनि गुणात्मक खालका कामहरु भएको अनुभूति हुने गर्दछ । हर्नामाडिमा निर्माण गर्न लागिएको स्मृति पार्क निर्माण सम्पन्न भएको  खण्डमा श्यामप्रसादलाई सम्भनामा राख्ने काम अझ दिगो हुने देखिन्छ । समग्रमा हेर्दा संस्थालाई अलिक गति प्रदान गर्न सकिएको खण्डमा यसको प्रभावकारिता अझै बढ्ने देखिन्छ ।

जोखिममा मौलिक नाच । ( कार्यपत्र )

जोखिममा मौलिक नाच ।
२०७६ जेठ ७ र८ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र युथ क्लब अफ निजगढको आयोजनामा
भएको नृत्य गोष्ठीमा पेश गरिएको कार्यपत्र ।

                                                                      सुवास खनाल, केन्द्रीय पार्षद्, प्रलेस नेपाल


१.विषय प्रवेश
लोकनाच कुनै शास्त्र अनुसार निर्माण भएको होइन । समाजमा आफ्नो मनोरञ्जनका निम्ति लोकनाच नाच्ने परिपाटी बस्यो । समूदायमा एउटा व्यक्तिले नाचेर अरूलाई मनोरञ्जन गरायो । नाच्ने व्यक्ति समाजमा चर्चित बन्यो र सबैको प्रिय पनि । त्यही देखेर अन्य व्यक्तिले पनि त्यस्तै ढङ्गले नाच्न थाले । त्यो नाच एउटा वस्तीबाट अर्को वस्तीमा विस्तार हुन पुग्यो । यसरी कुनै लिखित शास्त्र र विधिविधान विना नै जीवित रहेको नाच लोकनाच हो । यस्ता लोकनाच संसारका हरेक देशका आआफ्ना मौलिक किसिमका हुन्छन् । यस्तै हरेक जातिको पनि आफ्नो पहिचानयुक्त लोकनाच हुन्छन् । ती नाच लोप हुने अवस्थामा र जोखिममा छन् । ती लोकनाच केकस्ता छन् ? तिनको वर्तमान अवस्था केकस्तो छ ? तिनको संरक्षण गर्न के कस्ता उपाय अबलम्वन भएका छन् र गर्न सकिन्छ भनेर यहाँ नेपाली लोकनाचका बारेमा संक्षेपमा चर्चा गरिँदैछ ।

२. लोक नृत्यको परिभाषा

मानवसभ्यताको उत्पत्तिकालदेखि मानिसहरूले आफ्ना मनका भावहरूलाई विभिन्न तरिकाले व्यक्त गर्न थालेको पाइन्छ । यी भावहरू ध्वनी वा भाषाका माध्यमबाट व्यक्त हुँदा कविता, गीत, कथा, उपन्यास, लोककथा, संवाद आदि साहित्यिक विधाकोे विकास भयो भने यिनै भावलाई शरीरका विभिन्न अङ्गहरूको उपयुक्त चालप्रक्रियाबाट व्यक्त हुँदा अभिनय तथा नृत्यको उत्पत्ति भयो । परिभाषित रुपमा भन्दा शारीरिक हाउभाउको विशिष्ट प्रस्तुती जसले लोकलाई प्रशन्न गराउँछ ,त्यो नृत्य हो । शब्द निर्माणका दृष्टिले ‘नृत्’ धातुमा ‘क्त’ (क्यप्) प्रत्यय लागेर नृत्य शब्दको निर्माण हुन्छ । यसलाई लोक शब्दमा नाच र अङ्ग्रेजीमा डान्स ( म्बलअभ ) भनिन्छ । लोकनृत्यसँग सन्दर्भित हुँदा लोकलाई मनोरञ्जन प्रदान गर्ने र लोकवासीले स्वतस्फूर्त प्रस्तुत गर्ने साङ्गीतिक अभिनयलाई लोकनृत्य भनिन्छ । विभिन्न परिभाषाको कसीमा लोकनृत्यलाई अध्ययन गर्दा केही विशिष्ट अर्थहरू निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
“लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटी अनुसारको नाच नै लोक नृत्य हो ”– नेपाली बृहत् शब्दकोश्
“भावनामा गतिको नाम नै नृत्य हो ” –इन्साइक्लोपेडिया ब्रितानिका ।
“ शारीरिक चाल ,हाउभाउ , मौखिक मुृद्रा , र सङ्गीत सहितको कलात्मक अभिव्यक्ति नाच वा नृत्य हो ।” –चुडामणि बन्धु 
अत ः विभिन्न अवस्थाका मानवीय भावलाई अर्थपूर्ण शारीरिक लयमा कलात्मक प्रस्तुती ,सङ्गीत र वाद्यवादनको मनोरम सङ्गम नै नृत्य हो । नृत्यको मूल आधारभूमि लोकनृत्य हो ।

३. नेपालमा प्रचलित प्रमुख लोक नृत्यहरू 
लोक नृत्य जाति ,भूगोल , क्षेत्र तथा अवस्थिति आदिका आधारमा विविधतायुक्त छन् । खोजको परिघेरामा बहुसङ्ख्यामा लोक नृत्यहरू फेला पर्दछन् । यो अध्ययनलाई नेपालमा मूल रुपमा प्रचलित प्रमुख लोकनृत्यहरूबारे केन्द्रित गरिएको छ । 
३.१.कौडा नाच
यो नेपालमा मगर समुदायमा प्रचलित लोक नृत्य हो । मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ । यो नाच पश्चिमान्चल विकास क्षेत्रका पाल्पा, नवलपरासी, तनहुँ, स्याङ्जा, लम्जुङ र गोर्खा जिल्लाहरूमा विशेष प्रचलनमा भएको पाइन्छ । कौडा नाचमा पहिले श्री कृष्णचरित्र र रामायणका गीतहरू गाइन्थ्यो भने हाल ती श्रीकृष्ण र रामायणका कथा सम्बन्धी धार्मिक गीतहरू प्रायश ः लोपोन्मुख हुँदै गएको पाइन्छ । तापनी कौडा नाचको बन्धन लिदा आकाश पातलदेखीका सम्पूर्ण देवी देवताहरूको नाममा बन्धन गीत गाइन्छ । 
३.२.खुकुरी नाच
खुकुरी नाच हातमा खुकुरी लिएर नाच्ने गरिन्छ । प्रायजसो नेपाली सेना तथा नेपाल प्रहरीका जवानहरुले गोर्खालीको गौरब रुपमा यो नाच नाच्ने गर्छन ।
३.३.च्याब्रुङ नाच
लिम्बू समुदायमा प्रचलित नृत्य हो, च्याब्रुङ । कुनै चाडपर्व, विवाह, भोजभतेर, घरपैंचो (नयाँ घरमा सरेका बेला) जस्ता रमाइला अवसरमा लिम्बूहरू च्याब्रुङ बजाएर नाच्छन् । यो नाच वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । च्याब्रुङ बजाउँदा प्रायःजसो दाहिने ताल हातले एकपटक र देब्रे ताल लठ्ठीले दुई पटक हिर्काइन्छ । यसरी बजाइएको च्याब्रुङको धुन प्राकृतिक र कर्णप्रिय हुन्छ । यो नृत्यमा कुखुराको भाले, परेवा, मुजुर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिएको हुन्छ । च्याब्रुङ नाच विवाह, भोजभतेरमा तन्नेरीहरू नाच्छन् भने देवीदेवताको पूजाआजामा परिवारका सदस्यहरू एकै समूहमा नाच्छन् । यो नाचमा गाइने मुन्धुममा पृथ्वीको वर्णन गरिएको हुन्छ ।
३.४.चिलिङ नाच 
पूर्वाञ्चल क्षेत्रमा बसोबास गर्ने चिलिङ राई जातिका मानिसले देवीदेवताका पूजाभन्दा अगाडि र पितृपूजाको अवसरमा चिलिङ नृत्यको आयोजना गर्दछन् । यो समूहमा देखाइने नृत्य हो । यस नृत्यमा नर्तक समूहको बीचमा हरियो झुप्पा भएको वनस्पति हुनु जरुरी हुन्छ । दौरा सुरुवाल ,आस्कोट, टोपी वा फेटा लगाएका पुरुष र सारी चोलो, पछ्यौरा र पटुका लगाएका कानमा सुन र घाँटीमा कम्पनी माला लगाएको महिला गोल घेरामा रहेर हातमा हरियो स्याउला लिएर च्याब्रुङ र झ्याली बाजाको तालमा दुई हातलाई क्रमैसँग घुमाउँदै एकएक कदम अगाडि सर्दै यो नृत्य प्रस्तुत गर्दछन् ।
३.५.छलीया नृत्य
छलीया नृत्य नेपालको सुदूर पश्चिममा विवाह, ब्रतबन्ध, जात्रा तथा पर्व विशेषमा नाचिने नृत्य हो । यो नृत्य लडाकू वीरहरूको विरतालाई प्रदर्शन गर्दै प्रस्तुत गरिन्छ । यस नृत्यमा नर्तकीहरूले आफुमा भएको ढाल र तरवार चलाउने सिप तथा दक्षताको प्रदर्शन गर्ने गर्दछन् ।
३.६.टप्पा नाच 
टप्पा नाच  मगर समुदायको निकै लोकप्रिय नाच हो । यो नाच राप्ती अंचल तिर विशेष गरी नाच्ने गरिन्छ ।
३.७. धान नाच
विशेषगरी पुर्वी नेपालको धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र अन्य ठाँउमा बसोबास गर्ने लिम्बु जातिले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच (चासोक तङ्नाम) भनिन्छ । जस्मा न्वागी पुजा गरी च्याब्रुङ बजाउदै गोलाकार घेरामा धान नाच नाचेर भव्य पुर्वक मनाइन्छ । जनश्रुतीका आधारमा प्राचीन समयमा लिम्बुका आदिपूर्खाले खेतीबाली लगाउन जान्दैनथे । चराले उनीहरूलाई अन्नको बीउ प्रदान ग¥यो र अन्नबाली लगाइदिन पनि सिकायो तर पहिले बाली चराले खाँदा धपाउन नपाइने शर्त तयार भयो । बाली तयार भएपछि चराहरू आएर खान थाले । पूर्वशर्तका कारण चरालाई धपाउन मिलेन । त्यसैले उनीहरू सबै मिलेर अन्नबाली भएको ठाउँमा नाचगान गरी बस्न थाले । यसका कारण चराहरूबाट धानबाली सुरक्षित पनि भयो र पहिलेको शर्त पनि पुरा भयो । त्यही समयदेखि धान पाक्ने बेलामा धान नाच गर्ने प्रचलन बस्यो भन्ने विश्वास गरिन्छ । धान नाच लिम्बु जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बु भाषामा ‘यालक्मा’ भनिन्छ । यो खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा पनि लिम्बु जातिका युवा र युवतिले परस्परमा आधारित गीतको माध्यमबाट सवाल–जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दुख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन । लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछन् । 
३.८.मयुर नृत्य
मगर जातिमा प्रचलनमा रहेको विभिन्न नाचमध्ये मयुर नाच पनि एक हो । पर्व ,महोत्सव आदिमा पुरुषहरू यो नाच नाच्दछन् । यो एकल वा युगल हुने भए पनि मूल रुपमा एकल हुने गर्दछ । मयुरका भालेपोथीले वसन्त ऋतुको आगमनसँगै आपसमा प्रेम साटासाट गर्ने भावभङ्गिमा प्रदर्शन गर्न चोयाबाट मयुरको आकृति बनाएर मयुरको प्वाँख लगाइएको हुन्छ । त्यसमा पुरुष पसी नृत्य गर्दछन् । यसमा गीत प्रस्तुत नगरी बाँसुरी र मादलको तालमा नृत्य प्रस्तुत हुन्छ ।
३.९.मारुनी नाच
मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, गुरुङ, तामाङ, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ । परम्परागत रुपमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने नाच हो । धान काटेर थन्काइ सके पछि मारुनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारुनी नाच तीजको दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारुनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । मारुनी नाचको परम्परागत नियमहरूमा प्रायः एकरुपता पाइए पनि नाचमा प्रयोग हुने गीतहरूको लय र भाषामा स्थान र समुदाय अनुसार फरक फरक रहेको छ । गीतमा एक रुपता पाइए पनि गीतमा प्रयोग हुने लय र शब्दहरूमा कतै पनि एक रुपता पाईंदैन ।
३.१० साकेला नाच
योे नाच किराँत ,सुनुवार, राई र याक्खा जातिको अति नै प्रचलित नाच हो । उभौली अर्थात् अन्न लगाउने र उँधौली अर्थात् अन्न भित्राउने पर्वको रूपमा रहेको किराँतीहरूका यी महत्वपूर्ण चाड बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआऊन् भनि साकेला र सखेवा शिली गर्दै नाच्दै प्रकृतिलाई पुजा गरिन्छ । किराँतहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
३.११.सोरठी नाच
सोरठी नाच नेपालको एक परम्परागत नृत्य हो । यो नाच खास गरेर गण्डकी र कर्णालीमा बसोवास गर्ने गुरूङ र मगर समुदायमा निकै प्रख्यात रहेको परम्परागत नृत्य हो । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ । पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह्र स्त्रीहरूसगँ सम्बन्धीत भएकाले सोह्रवटी भन्दा भन्दै सोरठि भएको भन्ने भनाइ छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गरिन्छ । समाजमा सानो, ठुलो, जातजाति, धनि, गरिब नभनी सबै मिलेर गाइने तथा नाचिने सोरठी नाचले समाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुने बाध्यताले पनि यो लोकप्रिय नाच हराउँदै हराउँदै जान थालेको छ ।
३.१२ हुड्केली नाच
हुड्केली नाच अथवा हुड्के नाच नेपालको पश्चिमी भेगमा प्रचलित नाच हो । यो सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको लोकप्रिय नाच मध्ये पर्छ । हुड्केली नाच हुड्काको तालसँग नाचिन्छ । पश्चिम नेपालको चर्चीत देउडा भाकामा गाइने हुड्केली गितमा पौराणीक कथा, राजा महाराजाहरू गाथाको वर्णन र पुराना लडाइँका कथाहरू समावेश गरिन्छ । जसलाई स्थानिय भाषामा कर्खा अथवा भारत भनिन्छ । विवाह ब्रतबन्ध पास्नी तथा अन्य सुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ । हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । यो नाच नाच्नेले टाउकोमा सेतो फेटा पगडी बाँधेको हुन्छ भने सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छड्के पारेर कम्मरमा बधेको हुन्छ । प्राय वीरगाथा गाइने यस नाचमा ताण्डव नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन । यो नाचलाई भारतको उत्तराखण्डमा लोकप्रिय नाचको रुममा लिइन्छ । उत्तराखण्डमा हुड्के नाचलाई छलिया नाच भनिन्छ । हुड्केली पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा प्रचलित नाच्ने र गाउने लोकनृत्य एवं गीत हो । 
३.१३.सेलो नाच
‘से’ र ‘लो’ अक्षरबाट ‘सेलो’ शब्द बन्छ । सिक्नुपर्ने र रमाइलो गर्नुपर्ने कुरा भन्नु पर्ने अर्थमा सेलो शब्दको प्रयोग तामाङ भाषामा गरिन्छ । सेलो मूल रुपमा विवाह र पूजाआजामा नाचिन्छ । युवायुवतीबीच प्रेमप्रणय र व्यङ्ग्यभाव भरिएको गीत सेलोमा हुन्छ ।
माथि उल्लिखित बाहेक पनि विभिन्न नाचहरू प्रचलनमा छन् । आर्यतारा नाच, कुमारी नाच, कृष्णचरित्र नाच, केलाङ नाच (झापामा), ख्याली नाच, गोपीचन नाच, गौना नाच, घाटु नाच, चण्डी नाच, चरित्र नाच, चर्या नाच, , चुड्का नाच, चेपाङ नाच, चैत नाच, डन्डी नाच, डम्केन पार सेव नाच (मुस्ताङ), छलिया नाच, छोकरा नाच, जटजटिन नाच, जितिया नाच, झरा नाच (थारु जातिको),झ्याउरे नाच, झाँक्री नाच, झाँगर नाच, झिझिया नाच, झुमरा नाच, झुमैरा नाच, ,डमकज नाच(बिर्जा समुदायको), डम्फु नाच, तर्बारे नाच, तायमचा नाच, तेन्दोङ लोरम्फात नाच(लेप्चा समुदायको), थाली नाच, दसाइ सिरिङ नाच (सतार समुदायको), देउडा नाच, देवी नाच, धमारी नाच, धान नाच, धिमे नाच, धिमाल नाच, नवदुर्गा नाच, न्याउले खेल नाच, पञ्चबुद्ध नाच, पैया नाच, फागु नाच, बज्रयोगिनी नाच, बालन नाच, बाहा नाच (सतार समुदायको), बेठी नाच, भानदान नाच (सन्थाल जातिको), भैरव नाच, भैरवकाली नाच, मञ्जुश्री नाच, महाकाली नाच, मुन्धुम नाच, रत्यौली नाच, लमजुङे नाच, लाकछाम नाच, लाखे नाच, शिवताण्डव नाच, सँगिनी नाच, सखिया नाच, साकेन्वा नाच, साकेला नाच, सामाचकेवा नाच, सिँगारु नाच, सेग्रो नाच, सेर्गा नाच,  सेब्रु नाच, सोराइ नाच(सतार समुदायको), स्यादरपिदार नाच, हनुमान नाच, हुदुधुरा नाच (राजवंशी र सतार समुदायको), हुरा नाच, हुरका नाच (मुसहर जातिको), होप्चा नाच, होली नाच आदि ।
 ४.लोकनाचको वर्तमान अवस्था
लोक नाचले मौलिकता गुमाउने भयका बीच नेपालमा नेपाली लोकनाचको संरक्षण र विकासका निम्ति लागेका संस्था र व्यक्तिहरू स्मरणीय रहेका छन् । विश्वविद्यालयका कतिपय क्याम्पसहरूमा सङ्गीतको पढाइ गराउँदा नेपाली लोकनाचका बारेमा पनि ज्ञान दिने काम गरिएको छ । यस्तै सांस्कृतिक संस्थानले नेपालमा लोपोन्मुख लोकनाचको विकासमा योगदान पु¥याइराखेको छ । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानको निर्माण भएपछि नेपाली लोकनाचले जीवित हुने अवसर प्राप्त गरेको छ । ठाउँठाउँमा खोलिएका नृत्य पाठशाला तथा सङ्गीत पाठशालाले नेपाली लोकनाचको विकासमा ठुलो योगदान दिएका छन् । अझ केही जागरुक लोकनृत्यप्रेमीहरूको निस्वार्थ रुचिका कारण अहिले नेपाली लोकनाचले विकसित हुने अवसर प्राप्त गरेको छ । कतिपय विद्यालयहरूमा नृत्य शिक्षक राखेर बालबालिकालाई नेपाली लोकनृत्य सिकाउने काम गरिएको छ । ठूला मिडिया हाउसद्वारा सञ्चालन भएको टिभी नृत्य प्रतियोगिताले पनि यसको विकासमा सहयोग पु¥याएको छ । यसरी नेपाली लोकनाचको विकासमा नेपालका संस्थाहरू र व्यक्तिहरू सक्रीय भइराखेका छन् । यस्तो अवस्थामा नेपालमा केही लोकनाचहरू निकै फस्टाएका छन् । कौडा, टप्पा, लाखे, हुड्केली , देउडा , सोरठी आदि लोकनाच निकै नै चर्चित छन् । 
५. लोक नृत्य संरक्षणमा चुनौती र सम्भावना
मौलिकता हाम्रो सम्पत्ति हो । हाम्रो मौलिकतालाई जोगाएर मात्र हामीले हाम्रो परिचय बचाउन सम्भव छ । हाम्रा मौलिक लोकनृत्यहरूलाई संरक्षण गर्न सकेमा यसबाट संस्कृतिको पुस्ता हस्तान्तरणमा सहयोग पुग्छ । बढी प्रचलनमा रहेका केही लोकनाच बाहेक कतिपय लोकनाच त आफ्नो परम्परागत मौलिकता छाडेर विकृत बनेका छन् । नाचमा विकृति आयो भनेर कारवाही कहीँकतैबाट नहुने हुँदा केही लोकनाच विकृत बनेर देखापरेका छन् । प्रोत्साहनका अभावका कारण यस्तै कतिपय लोकनाच लोपोन्मुख अवस्थामा छन् । केन्द्रीय सरकारमा मात्र संरक्षण केन्द्रित भएकै कारण कतिपय लोकनाच लोप भइसकेका पनि छन् । लोकनाच हाम्रो संस्कृतिको उपज हो , लोक जीवनको प्रतिबिम्ब हो । नयाँ पुस्ताले आफ्ना मौलिक नाचहरूमा रुचि नदेखाउँदा नाचको मैलिकताको क्षय हुन सक्ने शङ्का रहन्छ । विभिन्न नाचहरूबारे समूदायमा सोधखोज गर्दा पहिले भएको तर अहिले नभएको बताउँछन् । यसकारण अभिलेखिकरण हुन नसक्नुले पनि लोकनृत्य संरक्षणमा समस्या पारेको छ । आधुनिकीकरणले पनि पुराना लोकनाचको स्वरुप बदलिदिएको छ ।
समय परिवर्तनशील छ , यो कुरा स्वभाविक छ तर हामीले हामीसँग भएका स्वअस्तित्व र स्वपहिचान रहँदा मात्र हाम्रो हैसियत कायम रहन्छ । यसकारण लोकनाचलाई हामीले जोगाउनु आवश्यक छ । 
६.नेपाली लोक नृत्य संरक्षणका लागि आवश्यक प्रयास 
भोलिको लागि जोगाउनु पर्ने सांस्कृतिक सम्पदाका लागि आधारभूमि आज तयार हुनुपर्छ । पुरानो पुस्ता र नयाँ पुस्ताको संयुक्त पहलमा लोप हुँदै गरेका सांस्कृतिक सम्पदाको संरक्षण हुनु जरुरी छ । नेपालमा लोक नृत्य संरक्षणका लागि तल उल्लिखित केही प्रयत्नहरू जरुरी देखिन्छ । 
नयाँ पुस्तामा लोक नाचका महत्व र जगेर्ना गर्नु पर्ने कारणहरूबारे सचेतना जगाउने ।
लोपोन्मुख मौलिक लोक नृत्यका पहिचान गरी तिनको संरक्षण तथा संवद्र्धनमा जोड दिने ।
राज्यले बहुलवादी सांस्कृतिक नीति अबलम्बन गर्ने ।
केन्द्रीय सरकारका साथै प्रदेश सरकार र स्थानीय सरकार सजग भई नेपाली लोकनाचको संरक्षणमा लाग्ने ।
संबन्धित समूदाय , विज्ञ र संबन्धित सरकारी निकायबीच आवश्यक समन्वयको विकासमा जोड दिने ।
राज्यले लोक नाचहरूलाई राष्ट्रिय सम्पत्तिको रुपमा वहन गरी जोगाउने दायित्व बहन गर्ने ।
लोपोन्मुख नाचहरूको अभिलेखिकरण गरी पाठ्यपुस्तकमा समावेश गर्ने ।
राज्यद्वारा मौलिक लोक नाचका विषयलाई अध्ययन अनुसन्धानको क्षेत्र तय गर्ने ।
सांस्कृतिक आदान प्रदान कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम राख्ने ,आदि ।

७. निष्कर्ष 

नेपाली लोकनाचले नेपालको गरिमा र पहिचानलाई जोगाइराखेका छन् । नेपालमा नेपालीत्व झल्काउन पनि लोकनाचको प्रदर्शन गरिन्छ । यस्तै विदेशमा बसेका नेपालीहरूले पनि आफ्नो देशको लोकनाच हेर्दा र अनुभव गर्दा छुट्टै किसिमको आनन्दको अनुभव गर्दछन् । विदेशीहरूले पनि नेपाल भ्रमण गर्दा यहाँका नाच देखेर रमाइलो अनुभव गर्दछन् । यसबाट नेपाली लोकसंस्कृतिको एउटा महत्वपूर्ण पाटो जीवित रहेको छ अनि अर्र्काितर पर्यटनको विकासमा पनि नेपाली लोकनाचले विशेष योगदान पुर्याइराखेका छन् । अहिलेसम्म राष्ट्रिय सरकारले केही ध्यान पुर्याएका कारण केही लोकनाचहरू जीवित रहेका थिए भने अहिले प्रदेश सरकार र स्थानीय सरकारका हातमा यी पक्षहरू जोगाउने अवसर आएको छ । आफ्नो प्रदेशको लोकनाच जोगाउने दायित्व तत्तत् स्थानका प्रदेश सरकारको हो । आफ्नो प्रदेश र स्थानको लोकनाचलाई जोगाएर आफ्नो पहिचान बनाउनु प्रदेश र स्थानीय सरकारको दायित्व हो । यो दायित्व बोध गरेर सम्बन्धित विज्ञ व्यक्तिहरूलाई सम्बन्धित प्रदेश र स्थानका लोकनाचको खोज गराई तिनको संरक्षण गराउने सके मात्र यस राष्ट्रका ती विविध लोकनाच जीवित र विकसित हुन पाउनेछन् । यसतर्फ सम्बन्धित निकायको निस्वार्थ ध्यान जानु आवश्यक छ । यस्तै अबका दिनमा अनुसन्धानमा तथा विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पढाइमा लोकनाचको पाठ्यक्रम अनिवार्य बनाई लोकनाचबारे पठनपाठन गराउन सके लोकनाचको विकासमा ठुलो टेवा पुग्ने देखिन्छ र जोखिममा रहेको लोक नाचको संरक्षण हुन्छ ।
सन्दर्भसूची 
१. उपाध्याय सुवेदी, राजाराम नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ५ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
२. निरौला कुलराज नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. १ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
३. न्यौपाने, कुसुमाकर ,नेपाली लोकनाचको वर्तमान अवस्था (२०७५),भब्मबचकजब।अयm
४. पराजुली ,मोतीलाल र अन्य ,नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ४ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
५. पराजुली मोतीलाल ,नेपालमा प्रचलित नृत्य र नृत्य नाटिकाहरू ( २०६३ ), साझा प्रकाशन
६. पुन डम्बरबहादुर, नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ६ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
७. पोखरेल, बालकृष्ण र अन्य ( सम्पा. ) (२०५८ ) नेपाली बृहद् शब्दकोश ःकाठमाडौँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
८. बन्धु, चुडामडी ( २०५८ ) ,नेपाली लोकसाहित्य ,काठमाडौँ ,एकता बुक्स
९. भट्ट ,पुष्करराज  नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ७ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान 
१०. योन्जन– तामाङ, अमृत नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ३ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

काव्यइतर विधामा मकवानपुर ।

       काव्यइतर  विधामा मकवानपुर । 
२९ भाद्र २०७१ मा हेटौँडा यसरी बोल्छ कार्यक्रममा प्रस्तुत 
सुवास खनाल 

मकवानपुरलाई काव्यइतर विधामा परिचय स्थापना गराउने केही नामहरु देशीय साहित्यिक क्षेत्रमा  सुस्पष्ट रेखाङ्कन हुन पुग्दछन् । उपन्यासमा युग पाठक चर्चित नाम हो । उनको ‘उर्गेनको घोडा’ युद्ध साहित्यमा बलशाली उपस्थिति हो । त्यस्तै तारालाल श्रेष्ठको सपनाको समाधिले नेपालले शरणार्थी समस्या भोग्दै गर्दाको यथार्थता बोकेको छ । तारालालकै वैचारिक चिन्तनको पाटो सबाल्टर्नीय चेतमाथि समालोचनात्मक टिप्पणी भएको कृति शक्ति ,श्रष्टा र सबाल्टर्न महत्वपूर्ण साबित छ । पछिल्लो समय प्रकाशित रामकुमार एलनको उपन्यास स्याउली सिम्फोनी द्वन्द्वको चित्रण गर्न पनि मकवानपुरको भावभूमिका सन्दर्भगत चित्रण गर्ने उपन्यास हो । हास्यव्यङ्ग्यमा टाढैबाट मकवानपुरलाई चिन्ने नाम आर. सी. रिजालको हो । तुल्सी थापालाई नवीन वैशिष्ठ्यका साथ कथा लेख्ने र दार्शनिक चेतका साथ नाटक लेख्ने व्यक्तिका रुपमा चिन्न सकिन्छ । उनको ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ लेख्यमा र साथमा मञ्चनमा पनि सबल रहेको अनुभूति गर्ने गरिन्छ । कथामा नवीन चिन्तन र शैलीका साथ उपस्थित कथाकार अनमोलमणी पत्रकार कवि , कथाकार र समीक्षकका रुपमा परिचित छन् ।
आमुख :
मकवानपुर मूलत : काव्यिक परिचयमा नै पहिचान स्थापत्य गरेको जिल्ला हो । मकवानपुरको साहित्यिक इतिहासलाई केलाउँदा विसं १९९३ तिरदेखि पर्चा तथा पम्प्लेटहरू छापिएका र यहाँबाट काठमान्डौ तथा तराईतिर पठाउने गरिएको देखिन्छ । त्यसताका साहित्यिक विकास भएको इतिहास नदेखिए पनि छापाको युग सुरु हुनुले लोक साहित्यिक पृष्ठभूमि निर्माणमा यसले भूमिका खेलेको देखिन्छ । वि.सं. १९९९ मा भीमफेदी निवासी गणेशलाल श्रेष्ठद्वारा प्रकाशित पहिलो कृति प्रमाणिक रुपमा फेला पर्दछ र यो पनि गीति कृति रहेकाले मकवानपुरको साहित्यमा काव्यिक प्रादुर्भाव नै पहिलो देखिन्छ र त्यसपछि वि.सं. २०११ मा प्रकाशित खड्गबहादुर सिंहको ‘विद्रोह’  उपन्यासले भने काव्य इतर विधामा पहिलो पटक मकवानपुरलाई उभ्याएको देखिन्छ । 
विधागत उपस्थिति :
१. उपन्यास
सामयिक चेतका दृष्टिले महत्वपूर्ण कालखन्ड भने मकवानपुरको लेखनीमा वि.सं. २०२५ पछिलाई लिन सकिन्छ । र यसक्रममा काव्यइतर विधाको पहिलो कृतिका रुपमा वि. सं. २०३६ सालमा आर.सी. रिजालको ‘खरानीभित्रको आगो’ उपन्यासकृति रहेको छ । त्यसपश्चात् एकैपटक वि.सं. २०४३ ,२०४५, २०४७  क्रमश ः दुईदुई वर्षको अन्तरालमा सामाजिक विषयवस्तुमा आधारित  एकै सर्जक केशव श्रेष्ठ ‘ज्योती’ का तीन उपन्यासकृतिहरू ‘मालती’, ‘जुनी बित्ला र ?’ र ‘विस्थापित रहरहरू’ प्रकाशित छन् । यस बीचमा २०४४ सालमा ‘यहाँ मिल्छन् कहाँ क्षितिज र धरा ’ उपन्यासमार्फत् ईश्वर ‘अज्ञात’ उदाएका छन् । र २०४७ मा उपन्यासकार विद्यासागरको ‘म फेरि फर्किन्छु’ उपन्यास प्रकाशित भएको देखिन्छ ।
अन्य उपन्यासहरू
रामलाल (२०४९) केदार न्यौपाने
नारी सङ्घर्ष (२०५०) पागल विश्वास
फुटेको भाग्यबाट बगेको रगत ( २०५५ ) रामहरि श्रेष्ठ
बेचिएकी सुन्तली – लघुउपन्यास ( २०५८ ) राजेश थापा गरिब
पर्खालवारि  – लघुउपन्यास ( २०६१ ) राजेश थापा गरिब
केवल सिर्जना अनि प्रेरणा कुमार थापा
मुलुकबाहिर श्याम श्रेष्ठ
घाम अस्ताइसकेछ मानसिंह बेगर
मोड हरि सिंखडा
विजया रामचन्द्र घिमिरे
उर्गेनको घोडा ( २०६७ ) युग पाठक
सपनाको समाधि ( २०६९) तारालाल श्रेष्ठ
स्याउली सिम्फोनी ( २०७० ) रामकुमार एलन

यी सम्पूर्ण उपन्यासहरू मध्ये देशव्यापी चर्चा बटुल्न र वैचारिक महत्वका साथ पढिने उपन्यास भने वि.सं. २०६७ मा प्रकाशित युग पाठकको उर्गेनको घोडा हुन पुग्यो । यसले देशमा बाह्र वर्ष चलेको द्वन्द्वको तस्वीर सुन्दर ढङ्गले गर्न सकेकै कारण यसलाई बढी महत्वका साथ हेरिएको विश्लेषण गर्न सकिन्छ । त्यस्तै २०७० मा प्रकाशित स्याउली सिम्फोनीले पनि राम्रो चर्चा पाइरहेको छ ।
२. कथा ,लघुकथा, सूत्रकथा 

मकवानपुरमा छिटफुट रुपमा कथा लेखिए पनि अलिक प्रभावपूर्ण लेखनीको प्रारम्भ २०को दशकमा मात्र भएको देखिन्छ । मकवानपुरको कथासङ्ग्रह प्रकाशनका दृष्टिले निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

आठटुक्रे बादल ( २०२९ )   भीम विराग
ऊ गाउँ फर्किन चाहन्छ   रामहरि श्रेष्ठ
सिमात बकैया ( २०५७ )   ऋषि केवी
निलीमा र गाढा अँध्यारो (२०५७ )   अनमोलमणी
यात्रा–आरम्भ (२०५९)            यमनदेव उत्प्रेरक
मान्छेको मोल ( २०६२ )   बैकुण्ठ ढकाल
बिघटनको तयारीमा – लघुकथा सङग्रह (२०६५ ) आर. आर. चौलागाईँ
म र काठमान्डौ ( २०६९ )    मनोज ढुङ्गाना
घाटघाटका कथा ( २०७० )   अनल गौतम
रित्तिएको गाउँ ( २०७० )   माधव पोख्रेल

अनमोलमणीका कथाहरुलाई नयाँ शैलीका कथाहरु भन्ने ढङ्गले मन पराइए । कृतिगत रुपमा अगाडि नआए पनि जिम्मेवार पक्षमा अडिएर कथा लेख्नेहरुमा नवराज शर्मा ,तुल्सी थापा, निमेष निखिल , साम्ब ढकाल, सुवास खनाल देखिएका छन् । खेम बानियाँले मकवानपुरमा यात्रारम्भ गरेका सूत्र कथाको ढाँचा लघुकथाझैँ देखिएको र आफ्नोे स्पष्ट स्वरुप नदेखिए पनि त्यसै क्षेत्रमा क्रियाशील देखिने एकमात्र साहित्यकार हुन् एस्. के. निधन ।

३. निबन्ध 

निबन्धलेखनमा मकवानपुरमा स्पष्ट नाम देखिने आर. सी. रिजाल र देवराज खरेल हुन् । आर. सी. का रचनामा हास्य र व्यङ्ग्यलाई सँगसँगै अनुभूत गर्न सकिन्छ भने खरेलका स्मृतिजन्य निबन्धहरु हुने गर्दछन् । निबन्ध लेखनमा युवापुस्तामा कोमल शैलीमा लेख्ने रामशरण पुडासैनी पनि हुन् । प्रकाशित सङ्ग्रह

फुर्सती फेरि पनि कुर्णेश ( २०३९) रामचन्द्र आचार्य ‘फुर्सती’
कुकुरको पुच्छर ( २०५७ ) आर. सी. रिजाल
स्वरसम्राटको सम्झना ( २०५७ )                   भीम विराग 
कण्ठलँगौटी ( २०५९ ) आर. सी. रिजाल
कहीँ नभएको जात्रा हाँडी गाउँमा ( २०५८ ) श्याम भारद्वाज
साम्देन बा र ज्योतिष बाजे ( २०६१ ) श्याम भारद्वाज
स्मृतिका टिपोट ( २०६८ ) देवराज खरेल

संस्मरण लेखनमा रमेशमोहन अधिकारीको नाम सुस्पष्ट देखिन्छ । उनको ‘सम्झनाको सेरोफेरो’ नामक संस्मरण सङ्ग्रह प्रकाशन भएको देखिन्छ ।

४. नाटक

मकवानपुरमा सचेतताका साथ नाटक लेख्ने नाटककारको नाम तुल्सी थापा हो । उनको ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ राष्ट्रिय रुपमै चर्चित नाटक हो । 

प्रकाशित नाटकसङग्रह

बुहारी ( २०३५ ) केदार न्यौपान ,छद्यनाम किरण उप्रेतीे
अमरसिंहको खोजीमा अमरसिंह तुल्सी थापा 
आकाङ्क्षाको चिता    माधव पोख्रेल

५. समीक्षा , समालोचना 
चलिसको दशकपछिमात्र मकवानपुरमा समीक्षा ,समालोचना लेख्यकर्मको सुरुवात भएको देखिन्छ । सुरुवाती चरणमा रामचन्द्र आचार्य ‘फुर्सती’ को यो क्षेत्रमा योगदान देखिन्छ । निमेष निखिल, घनश्याम घिमिरे ,रमेशमोहन अधिकारी, साम्ब ढकाल, श्याम कुमार बानिँया , सुवास खनाल ,बिर्खे अन्जान यस क्षेत्रमा सक्रिय देखिएका छन् । पछिल्लो चरण समीक्षात्मक पाटोलाई नै बढी केन्द्रमा राखेर तारालाल श्रेष्ठले लेखेको ‘शक्ति, श्रष्टा र सबाल्टर्न (२०६८)’ पुस्तकाकार कृतिमा  समग्र साहित्यिक पाटोलाई नै सबाल्टर्नीय चेतले हेर्ने प्रयास भएको छ । यस पुस्तकले पनि समीक्षात्मक क्षेत्रमा राष्ट्रिय रुपमै प्रभावशाली हस्तक्षेप गरेको छ ।


निश्कर्ष :

लेखन र साहित्यिक परिचयमा बढी पर्खालहरू सिर्जना हुनु कति सही वा कति गलत भन्ने प्रश्नहरु उठिरहन सक्छन् । लेखनलाई क्षेत्रीय भनिहिँड्नु उत्ति सान्दर्भिक नहोला । समग्र साहित्यिक लेखनमा मकवानपुर हिजोदेखि नै बोलिरहेको हो ,आज पनि बोल्दै छ र भोलि पनि बोलिरहने छ । यो कुरा महत्वपूर्ण हो । ‘हेटौँडाको साहित्य वा मकवानपुरको साहित्य’ यी सवालहरू अध्ययनका सीमाहरु मात्र हुन् सिर्जनाका सीमा होइनन् । साहित्य काठमान्डौको वा विराटनगरको हुने चीज होइन । जब प्रकाशन हुने गर्दछ त्यो युभिर्सल नै हो तर लेखनमाथिको अध्ययनचाहीँ निश्चित फ्रेमवर्कहरुमा हुन्छन् । त्यही फ्रेमवर्कभित्र बस्ने प्रयास यहाँ भएको छ । तसर्थ मकवानपुरको लेखनका सन्दर्भहरु आएका छन् ।
सङ्ख्यात्मक भन्दा गुणात्मक आधारलाई हेर्न खोज्ने हो भने मकवानपुरको काव्यइतर विधा प्रशंशायोग्य छन् । कथा , उपन्यास , निबन्ध तथा समीक्षा ÷समालोचना लेखनमा मकवानपुरको प्रभावजन्य र हस्तक्षेपकारी उपस्थिति दरिलो बन्दै गइरहेको छ । थप अपेक्षा त स्वभाविकै हो ।  

सन्दर्भ स्रोत

१. निखिल निमेष( २०७०), मकवानपुर जिल्लाको साहित्यिक इतिहास , सौरभ ,साहित्य सङ्गम मकवानपुर
२. पोख्रेल मोदनाथ, मकवानपुरका कथाकार र कथाहरु , शोधपत्र ।
३. श्रेष्ठ तारालाल ( २०६८ ) शक्ति, श्रष्टा र सवाल्टर्न ,काठमान्डौ : डिस्कोर्स पब्लिकेसन ।
४. थापा तुल्सी (२०६१) ,अमरसिंहको खोजीमा अमरसिंह नाटक ।




Saturday, April 4, 2020

Article by Deepak Sapkota



आत्मकथा हाबी ( नागरिक न्युजबाट साभार )

  • आइतबार २९ चैत्र, २०७१
  • दीपक सापकोटा 
  • Be the first to comment!

(0 votes)
आत्मकथा हाबी
२०७१ सालमा नेपाली साहित्य बजारमा आत्मकथा खूब बिके। साहित्यका रचनात्मक किताबको चर्चा निकै कम भयो। ठूला मान्छेका 'आत्मश्लाघाुले भरिएका 'आत्मकथाुले साहित्यको बजार कब्जा गर्योक। 'तपाईं कथा सुनाउनुस्, हामी लेखिदिन्छौँु भन्दै 'सेलिब्रिटीुका कथाको किनबेच शृंखला चल्यो। गोस्ट राइटिङको शृंखलामा विनोद चौधरी, हरिवंश आचार्यको चर्चा सेलाउन नपाउँदै रुकमाङ्गद कटवाल देखापरे र वर्षैभरि उनको आत्मकथाको चर्चा भइरह्यो।

वरिष्ठ पत्रकार किशोर नेपालको 'मेरो समयु, पत्रकार विजयकुमारको 'खुसी'ले पनि बजार तताए। दुवै किताबलाई समीक्षकहरूले सह्राए पनि। तर, साहित्यिक कृति यो वर्ष 'बेस्ट सेलरु बन्न सकेनन्।

अघिल्लो सालमा झैँ किशोर–किशोरीका दुई नांगा शरीरबीचको निःशब्द आवेगलाई लक्ष्य गरी लेखिएका 'यौन–साहित्यु यस वर्ष खासै देखिएन। मोडल स्मिता थापाको चुहिँदै गरेको बैँसालु तस्बिरको कभर भएको किताब 'खेलौनाुको अघिल्लो साल निकै बिक्री र हल्ला भएको हो। अघिल्लो वर्षमा नै किशोर–किशोरी लक्षित प्रेम उपन्यास 'समर लभुको व्यापक चर्चा भएकै हो। त्यसका लेखक सुबिन भट्टराईको 'समर लभुको सिक्वेल भनेर यस वर्ष छापिएको किताब 'साया' पनि चर्चाको केन्द्रमै रह्यो।

यसै वर्ष गान्तोकका लेखक प्रज्वल पराजुलीको अंग्रेजीबाट नेपालीमा अनुदित कथासंग्रह 'गोर्खाकी छोरी' नेपाली बजारमा आयो। पत्रपत्रिकाले उनलाई चर्चाको चुलीमा पुर्या्ए पनि उनका कमजोर कथाले पाठकलाई निराश बनाए।

नेपाली साहित्यमा यस वर्ष आएका किताब, केन्द्रमा भएका छलफल, प्रवेश भएका पत्रिकाका 'भ्यालू जजमेन्टु गर्ने हैसियत म राख्दिनँ। तर, साहित्यका केही महत्वपूर्ण गतिविधिका साक्षी चाहिँ हुँ म। 'आत्मकथाुले यो वर्ष नेपाली साहित्यलाई डुबाउनै खोजेको भन्ने पनि होइन। नेपाली समाजमा गम्भीर साहित्य पढिन थालेको धेरै भएको पनि त छैन। अनि, आम पाठकको ध्यान नै सेलिब्रिटीका भित्री, गुप्त रहस्यका कथा खोज्नेतिर हुन्छ। र, त उनीहरूका आत्मकथा गोदामबाट रित्तिरहन्छन। अपवादबाहेक साहित्यका राम्रा किताब चाहिँ छापिएका एक हजारप्रति पनि अँध्यारो गोदाममा बोरामा बन्द भएर बसिरहन्छन। त्यसो त यस वर्ष साहित्यमा दीर्घ अस्तित्व नै कायम गर्नेगरी कुनै पनि किताब आए भन्ने मलाई लाग्दैन।

०००

नेपालमा पुरस्कारको संख्या लगातार बढ्दो छ। तर, अपवादबाहेक धेरै पुरस्कारले आफ्नो गरिमा कायम राखिरहन सकेका छैनन्। एकातर्फ प्रज्ञाले राष्ट्रिय कविता महोत्सवजस्ता कर्मकाण्डीय कार्यक्रममा दिने गरेको सरकारी पुरस्कार छ। अर्कातर्फ मदन पुरस्कार छ, जसमाथि लेखक वा संस्थाहरूको निजी परियोजनालाई दिइने आरोप छ।

यस वर्ष घोषणा भएको ०७० सालको मदन पुरस्कारप्राप्त राधा पौडेलको युद्ध–संस्मरण 'खलंगामा हमला' निकै कमजोर र कमसल लेखन हो। मदन पुरस्कारबाट पास भएर मात्रै नहुने रहेछ, पाठकको कठघरामा पनि पास हुनु जरुरी रहेछ। यस किताबले मदन पुरस्कारको 'ग्ल्यामरु र 'चार्मुलाई थोरै पनि 'क्यासु गर्न सकेन।

मोहन मैनालीको नियात्रा 'मान्ठा डराएको जुगु, खगेन्द्र संग्रौलाको संस्मरण 'बाल्यकालका पदचापहरू', कुमार नगरकोटीको निबन्धसंग्रह 'अक्षरगन्जु, राजन मुकारुङको निबन्धसंग्रह 'फेरिँदो सौन्दर्यु, नारायण ढकालको कथासंग्रह 'इन्द्रजालु, विश्व साइकल यात्री पुष्कर शाहको यात्रा–डायरी 'संसारलाई साढे पाँच फन्को', विप्लव ढकालको कवितासंग्रह 'च्याउको जंगलु, श्रवण मुकारुङको निबन्धसंग्रह 'भावालयु, जनकराज सापकोटाको निबन्धसंग्रह 'जीवन कतिपयु, श्याम साहको कथासंग्रह 'अब्बा', मनोज बोगटीको कवितासंग्रह 'काफरे अमेरिका' यस वर्षका रुचाइएका किताब हुन्।

यसै वर्ष रिप्रिन्ट भएका विमल निभाको कवितासंग्रह 'आगोनेर उभिएको मानिसु, आहुतिको उपन्यास 'स्खलनु, हाङयुग अज्ञातको कवितासंग्रह 'करङको हिरासतु, हेमन यात्रीको कवितासंग्रह 'पहाड मसितै यात्रा गर्छु लाई पनि पाठकले राम्रै सत्कार गरे।

दीपशिखाको 'रात फुलेको यामु, आन्विका गिरीको 'मान्छेको रङु, कल्पना बान्तवाको 'कायाकल्पु, बच्चु विकको 'फकिरु लगायत उपन्यास पनि पाठकका आँखामा जँचे।

कृष्ण अविरलको 'रक्तबीजु, डा। तारालाल श्रेष्ठको 'अल्भि्करहने अतीत बल्झिरहने वर्तमानु, देश सुब्बाको 'भयवादु, निरूपा प्रसुनको 'तिम्रो लोग्ने र मु, पुण्यप्रसाद प्रसार्इंको 'यस आई क्यानु, जीवनकुमार प्रसाईंको 'जीवन जिउने काइदा'जस्ता किताब पनि यस वर्ष बजारमा छापिएर आए।

हामीकहाँ कविता धेरै लेखिन्छ, थोरै पढिन्छ भन्ने टिप्पणीमा कति सत्यता छरु त्यसको निर्क्याैल हुन बाँकी छ। यद्यपि, यस वर्ष पनि कवितासंग्रह भने मनग्गे छापिए। सरुभक्तको 'बांगाटिंगा धर्साहरू', आहुतिको 'गहुँगोरो अफ्रिका', भूपाल राईको 'आगोले जन्मोत्सव मनाउँदैनु, हाङयुग अज्ञातको 'होङकोङु, मुनाराज शेर्माको 'शब्दहरूको याक्सा', रामगोपाल आशुतोषको 'ईश्वर र फूलहरू', अर्जुन खालिङको 'गोयाङको सुगन्धु, जेनन नेपालको 'एस्ट्रेमा कविता', सुमनराज श्रेष्ठको 'सपनाको ह्याङओभरु, सुवास खनालको 'विचारको उल्टो नदी', चन्द्र रानोहँछाको 'थिबिया चराको गीतु, गिरिजा अधिकारीको '२५ प्रतिवादु, दीपा एवाईको 'श्वेत आकांक्षा'लगायत कविताका किताब बजारमा देखिए।

किताबको विज्ञापनको यस वर्ष पनि बाढी नै आयो। किताब बिक्री होस्रनहोस्, पत्रपत्रिकाका पृष्ठमा त्यसका विज्ञापन छापिई नै रहे। प्रकाशकहरूले पाँचतारे होटलमा लेखकको नलेखिएको किताबको 'आकर्षक रोयल्टी अग्रिम दिएर हामी छाप्दै छौँ' भन्ने टाइपको विज्ञापनदेखि किताबका विमोचन कार्यक्रम र पार्टीहरूसम्म आयोजना गरे।

किताबको प्रर्वद्धन व्यावसायिक रूपमा त गर्नुपर्छ। तर, व्यावसायिक हुने तरिका के होलारु प्रकाशकबीच अघोषित शीतयुद्ध चलिरहेको छ भन्ने कुरा एउटा प्रकाशकले छाप्न भनेर ठिक्क पारेको लेखकलाई अर्को प्रकाशकले 'आकर्षक रोयल्टीु देखाएर लगिरहेको वा एउटा प्रकाशकले छापिसकेको किताबलाई एक–दुई वर्षमै अर्को प्रकाशनगृहबाट छापिहाल्ने कार्यबाट देखिन्छ। प्रकाशन संस्थाहरूको यस्तो प्रवृत्ति यस वर्ष पनि सतहमा देखिए। उनीहरूले कन्टेन्ट छनोट, किताब डिजाइन, मार्केटिङ आदिमा स्वस्थ प्रतिस्पर्धा गरेको कम देखियो।

यस वर्ष पनि बोक्रो आकर्षक तर गुदी कमसल भएका थुप्रै किताब पसलहरूका र्याइकमा झुन्डिए। तर, तिनलाई पढ्न पाठकले खासै जाँगर देखाएनन्।

०००

प्रकाशन संस्था फाइन प्रिन्टले हरेक वर्ष आयोजना गर्दै आएको 'लिटरेचर फेस्टिभलु यो वर्ष पनि गर्योश। भारतीय रजनीतिज्ञ तथा लेखक शशि थरुरलगायतको सेसनले निकै चर्चा बटुल्यो। नेपाल प्रज्ञा प्रतिष्ठानमा दसैँको पूर्वसन्ध्यामा आयोजना गरिएको फेस्टिभलमा लेखकहरूले पाठकबाट आएका गम्भीर तथा सतही प्रश्नमाथि छलफल गरे। लगभग उही समयमा याम्बुरी बुक प्वाइन्ट र घोस्ट राइटिङ कम्पनीको सहकार्यमा बृहत् पुस्तक प्रदर्शनी र महोत्सव आयोजना भएको थियो।

झापाको काँकडभिट्टामा महिना दिनअघि सम्पन्न 'कला–साहित्य उत्सवुको चर्चा मिडियामा व्यापक भयो। उत्सवले उठाएका विषय र गरेका विमर्श वास्तवमै बलिया थिए। हरेक साताजसो बुद्धिजीवीहरूले मिडियाहरूमा उत्सवको 'रिभ्यू' लेखिरहे। गम्भीरता र गुणस्तरका हिसाबले उत्सव भव्य भएको सबैको साझा निष्कर्ष थियो।

०००

वर्षभरि हुने पुस्तक विमोचन, एकल कविता वाचन वा साहित्यका कुनै विषयमा हुने परिचर्चा कार्यक्रमबारे यहाँ चर्चा गरिसाध्ये हुँदैन। किनभने, त्यस्ता प्रकृतिका कार्यक्रम हरेक दिनजसो वा सातामा चारपाँचपटक भई नै रहका हुन्छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव असारबाट सारेर माघमा आयोजना गरियो र परम्परागत 'फ्रेमुमै गरिएको महोत्सव यो वर्ष पनि गतिलो हुन सकेन। कार्यक्रममा कविताबारे कार्यपत्र पढ्ने कामबाहेक अर्को नवीनता देखिएन।

नेपाली साहित्यकारबीच हुने व्यापक गुटबन्दीबारे 'ब्रोडसिटु पत्रिकाको मुखपृष्ठमै फोटो र समाचार छापिएको पनि यसै साल हो। काठमाडौँ खाल्डोका खास–खास थलोमा साहित्यिक गुटबन्दीको भौतिक स्वरूप र गतिविधि देख्न पाइन्छ पनि।

लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog