Wednesday, April 8, 2020

काव्यइतर विधामा मकवानपुर ।

       काव्यइतर  विधामा मकवानपुर । 
२९ भाद्र २०७१ मा हेटौँडा यसरी बोल्छ कार्यक्रममा प्रस्तुत 
सुवास खनाल 

मकवानपुरलाई काव्यइतर विधामा परिचय स्थापना गराउने केही नामहरु देशीय साहित्यिक क्षेत्रमा  सुस्पष्ट रेखाङ्कन हुन पुग्दछन् । उपन्यासमा युग पाठक चर्चित नाम हो । उनको ‘उर्गेनको घोडा’ युद्ध साहित्यमा बलशाली उपस्थिति हो । त्यस्तै तारालाल श्रेष्ठको सपनाको समाधिले नेपालले शरणार्थी समस्या भोग्दै गर्दाको यथार्थता बोकेको छ । तारालालकै वैचारिक चिन्तनको पाटो सबाल्टर्नीय चेतमाथि समालोचनात्मक टिप्पणी भएको कृति शक्ति ,श्रष्टा र सबाल्टर्न महत्वपूर्ण साबित छ । पछिल्लो समय प्रकाशित रामकुमार एलनको उपन्यास स्याउली सिम्फोनी द्वन्द्वको चित्रण गर्न पनि मकवानपुरको भावभूमिका सन्दर्भगत चित्रण गर्ने उपन्यास हो । हास्यव्यङ्ग्यमा टाढैबाट मकवानपुरलाई चिन्ने नाम आर. सी. रिजालको हो । तुल्सी थापालाई नवीन वैशिष्ठ्यका साथ कथा लेख्ने र दार्शनिक चेतका साथ नाटक लेख्ने व्यक्तिका रुपमा चिन्न सकिन्छ । उनको ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ लेख्यमा र साथमा मञ्चनमा पनि सबल रहेको अनुभूति गर्ने गरिन्छ । कथामा नवीन चिन्तन र शैलीका साथ उपस्थित कथाकार अनमोलमणी पत्रकार कवि , कथाकार र समीक्षकका रुपमा परिचित छन् ।
आमुख :
मकवानपुर मूलत : काव्यिक परिचयमा नै पहिचान स्थापत्य गरेको जिल्ला हो । मकवानपुरको साहित्यिक इतिहासलाई केलाउँदा विसं १९९३ तिरदेखि पर्चा तथा पम्प्लेटहरू छापिएका र यहाँबाट काठमान्डौ तथा तराईतिर पठाउने गरिएको देखिन्छ । त्यसताका साहित्यिक विकास भएको इतिहास नदेखिए पनि छापाको युग सुरु हुनुले लोक साहित्यिक पृष्ठभूमि निर्माणमा यसले भूमिका खेलेको देखिन्छ । वि.सं. १९९९ मा भीमफेदी निवासी गणेशलाल श्रेष्ठद्वारा प्रकाशित पहिलो कृति प्रमाणिक रुपमा फेला पर्दछ र यो पनि गीति कृति रहेकाले मकवानपुरको साहित्यमा काव्यिक प्रादुर्भाव नै पहिलो देखिन्छ र त्यसपछि वि.सं. २०११ मा प्रकाशित खड्गबहादुर सिंहको ‘विद्रोह’  उपन्यासले भने काव्य इतर विधामा पहिलो पटक मकवानपुरलाई उभ्याएको देखिन्छ । 
विधागत उपस्थिति :
१. उपन्यास
सामयिक चेतका दृष्टिले महत्वपूर्ण कालखन्ड भने मकवानपुरको लेखनीमा वि.सं. २०२५ पछिलाई लिन सकिन्छ । र यसक्रममा काव्यइतर विधाको पहिलो कृतिका रुपमा वि. सं. २०३६ सालमा आर.सी. रिजालको ‘खरानीभित्रको आगो’ उपन्यासकृति रहेको छ । त्यसपश्चात् एकैपटक वि.सं. २०४३ ,२०४५, २०४७  क्रमश ः दुईदुई वर्षको अन्तरालमा सामाजिक विषयवस्तुमा आधारित  एकै सर्जक केशव श्रेष्ठ ‘ज्योती’ का तीन उपन्यासकृतिहरू ‘मालती’, ‘जुनी बित्ला र ?’ र ‘विस्थापित रहरहरू’ प्रकाशित छन् । यस बीचमा २०४४ सालमा ‘यहाँ मिल्छन् कहाँ क्षितिज र धरा ’ उपन्यासमार्फत् ईश्वर ‘अज्ञात’ उदाएका छन् । र २०४७ मा उपन्यासकार विद्यासागरको ‘म फेरि फर्किन्छु’ उपन्यास प्रकाशित भएको देखिन्छ ।
अन्य उपन्यासहरू
रामलाल (२०४९) केदार न्यौपाने
नारी सङ्घर्ष (२०५०) पागल विश्वास
फुटेको भाग्यबाट बगेको रगत ( २०५५ ) रामहरि श्रेष्ठ
बेचिएकी सुन्तली – लघुउपन्यास ( २०५८ ) राजेश थापा गरिब
पर्खालवारि  – लघुउपन्यास ( २०६१ ) राजेश थापा गरिब
केवल सिर्जना अनि प्रेरणा कुमार थापा
मुलुकबाहिर श्याम श्रेष्ठ
घाम अस्ताइसकेछ मानसिंह बेगर
मोड हरि सिंखडा
विजया रामचन्द्र घिमिरे
उर्गेनको घोडा ( २०६७ ) युग पाठक
सपनाको समाधि ( २०६९) तारालाल श्रेष्ठ
स्याउली सिम्फोनी ( २०७० ) रामकुमार एलन

यी सम्पूर्ण उपन्यासहरू मध्ये देशव्यापी चर्चा बटुल्न र वैचारिक महत्वका साथ पढिने उपन्यास भने वि.सं. २०६७ मा प्रकाशित युग पाठकको उर्गेनको घोडा हुन पुग्यो । यसले देशमा बाह्र वर्ष चलेको द्वन्द्वको तस्वीर सुन्दर ढङ्गले गर्न सकेकै कारण यसलाई बढी महत्वका साथ हेरिएको विश्लेषण गर्न सकिन्छ । त्यस्तै २०७० मा प्रकाशित स्याउली सिम्फोनीले पनि राम्रो चर्चा पाइरहेको छ ।
२. कथा ,लघुकथा, सूत्रकथा 

मकवानपुरमा छिटफुट रुपमा कथा लेखिए पनि अलिक प्रभावपूर्ण लेखनीको प्रारम्भ २०को दशकमा मात्र भएको देखिन्छ । मकवानपुरको कथासङ्ग्रह प्रकाशनका दृष्टिले निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

आठटुक्रे बादल ( २०२९ )   भीम विराग
ऊ गाउँ फर्किन चाहन्छ   रामहरि श्रेष्ठ
सिमात बकैया ( २०५७ )   ऋषि केवी
निलीमा र गाढा अँध्यारो (२०५७ )   अनमोलमणी
यात्रा–आरम्भ (२०५९)            यमनदेव उत्प्रेरक
मान्छेको मोल ( २०६२ )   बैकुण्ठ ढकाल
बिघटनको तयारीमा – लघुकथा सङग्रह (२०६५ ) आर. आर. चौलागाईँ
म र काठमान्डौ ( २०६९ )    मनोज ढुङ्गाना
घाटघाटका कथा ( २०७० )   अनल गौतम
रित्तिएको गाउँ ( २०७० )   माधव पोख्रेल

अनमोलमणीका कथाहरुलाई नयाँ शैलीका कथाहरु भन्ने ढङ्गले मन पराइए । कृतिगत रुपमा अगाडि नआए पनि जिम्मेवार पक्षमा अडिएर कथा लेख्नेहरुमा नवराज शर्मा ,तुल्सी थापा, निमेष निखिल , साम्ब ढकाल, सुवास खनाल देखिएका छन् । खेम बानियाँले मकवानपुरमा यात्रारम्भ गरेका सूत्र कथाको ढाँचा लघुकथाझैँ देखिएको र आफ्नोे स्पष्ट स्वरुप नदेखिए पनि त्यसै क्षेत्रमा क्रियाशील देखिने एकमात्र साहित्यकार हुन् एस्. के. निधन ।

३. निबन्ध 

निबन्धलेखनमा मकवानपुरमा स्पष्ट नाम देखिने आर. सी. रिजाल र देवराज खरेल हुन् । आर. सी. का रचनामा हास्य र व्यङ्ग्यलाई सँगसँगै अनुभूत गर्न सकिन्छ भने खरेलका स्मृतिजन्य निबन्धहरु हुने गर्दछन् । निबन्ध लेखनमा युवापुस्तामा कोमल शैलीमा लेख्ने रामशरण पुडासैनी पनि हुन् । प्रकाशित सङ्ग्रह

फुर्सती फेरि पनि कुर्णेश ( २०३९) रामचन्द्र आचार्य ‘फुर्सती’
कुकुरको पुच्छर ( २०५७ ) आर. सी. रिजाल
स्वरसम्राटको सम्झना ( २०५७ )                   भीम विराग 
कण्ठलँगौटी ( २०५९ ) आर. सी. रिजाल
कहीँ नभएको जात्रा हाँडी गाउँमा ( २०५८ ) श्याम भारद्वाज
साम्देन बा र ज्योतिष बाजे ( २०६१ ) श्याम भारद्वाज
स्मृतिका टिपोट ( २०६८ ) देवराज खरेल

संस्मरण लेखनमा रमेशमोहन अधिकारीको नाम सुस्पष्ट देखिन्छ । उनको ‘सम्झनाको सेरोफेरो’ नामक संस्मरण सङ्ग्रह प्रकाशन भएको देखिन्छ ।

४. नाटक

मकवानपुरमा सचेतताका साथ नाटक लेख्ने नाटककारको नाम तुल्सी थापा हो । उनको ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ राष्ट्रिय रुपमै चर्चित नाटक हो । 

प्रकाशित नाटकसङग्रह

बुहारी ( २०३५ ) केदार न्यौपान ,छद्यनाम किरण उप्रेतीे
अमरसिंहको खोजीमा अमरसिंह तुल्सी थापा 
आकाङ्क्षाको चिता    माधव पोख्रेल

५. समीक्षा , समालोचना 
चलिसको दशकपछिमात्र मकवानपुरमा समीक्षा ,समालोचना लेख्यकर्मको सुरुवात भएको देखिन्छ । सुरुवाती चरणमा रामचन्द्र आचार्य ‘फुर्सती’ को यो क्षेत्रमा योगदान देखिन्छ । निमेष निखिल, घनश्याम घिमिरे ,रमेशमोहन अधिकारी, साम्ब ढकाल, श्याम कुमार बानिँया , सुवास खनाल ,बिर्खे अन्जान यस क्षेत्रमा सक्रिय देखिएका छन् । पछिल्लो चरण समीक्षात्मक पाटोलाई नै बढी केन्द्रमा राखेर तारालाल श्रेष्ठले लेखेको ‘शक्ति, श्रष्टा र सबाल्टर्न (२०६८)’ पुस्तकाकार कृतिमा  समग्र साहित्यिक पाटोलाई नै सबाल्टर्नीय चेतले हेर्ने प्रयास भएको छ । यस पुस्तकले पनि समीक्षात्मक क्षेत्रमा राष्ट्रिय रुपमै प्रभावशाली हस्तक्षेप गरेको छ ।


निश्कर्ष :

लेखन र साहित्यिक परिचयमा बढी पर्खालहरू सिर्जना हुनु कति सही वा कति गलत भन्ने प्रश्नहरु उठिरहन सक्छन् । लेखनलाई क्षेत्रीय भनिहिँड्नु उत्ति सान्दर्भिक नहोला । समग्र साहित्यिक लेखनमा मकवानपुर हिजोदेखि नै बोलिरहेको हो ,आज पनि बोल्दै छ र भोलि पनि बोलिरहने छ । यो कुरा महत्वपूर्ण हो । ‘हेटौँडाको साहित्य वा मकवानपुरको साहित्य’ यी सवालहरू अध्ययनका सीमाहरु मात्र हुन् सिर्जनाका सीमा होइनन् । साहित्य काठमान्डौको वा विराटनगरको हुने चीज होइन । जब प्रकाशन हुने गर्दछ त्यो युभिर्सल नै हो तर लेखनमाथिको अध्ययनचाहीँ निश्चित फ्रेमवर्कहरुमा हुन्छन् । त्यही फ्रेमवर्कभित्र बस्ने प्रयास यहाँ भएको छ । तसर्थ मकवानपुरको लेखनका सन्दर्भहरु आएका छन् ।
सङ्ख्यात्मक भन्दा गुणात्मक आधारलाई हेर्न खोज्ने हो भने मकवानपुरको काव्यइतर विधा प्रशंशायोग्य छन् । कथा , उपन्यास , निबन्ध तथा समीक्षा ÷समालोचना लेखनमा मकवानपुरको प्रभावजन्य र हस्तक्षेपकारी उपस्थिति दरिलो बन्दै गइरहेको छ । थप अपेक्षा त स्वभाविकै हो ।  

सन्दर्भ स्रोत

१. निखिल निमेष( २०७०), मकवानपुर जिल्लाको साहित्यिक इतिहास , सौरभ ,साहित्य सङ्गम मकवानपुर
२. पोख्रेल मोदनाथ, मकवानपुरका कथाकार र कथाहरु , शोधपत्र ।
३. श्रेष्ठ तारालाल ( २०६८ ) शक्ति, श्रष्टा र सवाल्टर्न ,काठमान्डौ : डिस्कोर्स पब्लिकेसन ।
४. थापा तुल्सी (२०६१) ,अमरसिंहको खोजीमा अमरसिंह नाटक ।




समृद्ध समाजको असल यात्रा

समृद्ध समाजको असल यात्रा सुवास खनाल  - ४ हप्ता अगाडि Facebook Twitter Pinterest WhatsApp   Share   Tweet   Share   Share अहिलेको समयलाई सूचन...

Search This Blog