मट्याइलो सुगन्धमा सम्मोहित हुँदा ।
सुवास खनाल
नवराज शर्मा मकवानपुरको लेखन जगतमा सुपरिचित नाम हो । उनी जीवन , साहित्य र राजनीति आफ्नो जीवनमा समवयी हुर्काउने मध्ये पर्दछन् । मकवानपुरमा कथालेखनमा रहेका सर्जकहरुको नाम लिनै प¥यो भने मुस्किलले औँला भाँचिदै जान्छन् तर उनको नाम भने पहिलो वा दोस्रो नम्बरमा भाँचिने औँलाहरु अन्तर्गत पर्दछ । उनको लेखनीको मूल मार्ग कथा नै रह्यो । आजका लेखनहरु टेक्निक्समा विश्वास गर्छन् । विषयहरु हराउँदै गएका छन् । कतिपय लेखकहरु लेखनशैली नै प्रमुख हो भन्ने विश्वासमा छन् र त्यही धङधङीले जीवन र यससङ्गत विषयहरु छाड्दै हिँडेका छन् । तर नवराज शर्मा जीवन व्यर्थको चीज होइन यसको सुन्तदरतम पक्षको नजिक पुग्ने यत्नमा समग्र मानव जाति अग्रसर हुनुपर्ने बोध गराउँछन् ।
लेखिनु भन्ने मात्रलाई बढी महत्व दिनु उचित हुन्न । के लेखियो ? त्यो नै मूल कुरा हो । लेखन निरपेक्ष चीज होइन । यो कति समाज सापेक्ष रह्यो भन्ने कुराले यसको वैशिष्ठ्य स्थापित गर्दछ ।
शर्मा विशेष गरी जीवनको हरपक्षमा सङ्घर्ष गर्दागर्दै पछि पारिएका वर्गको हितमा आवाज दिने, क्रान्तिचेतना पैदा गर्ने कामलाई लेखनीको साध्य स्थापित गर्ने प्रयत्नमा सधैँ रहन्छन् । नवराज शर्माको लामो समयदेखि फुटकर रुपमा प्रकाशित कथाहरुको पहिलो सङ्ग्रह हो– मट्याइलो सुगन्ध । यस सङ्ग्रहमा आठ ओटा स्वतन्त्र कथाहरु ,तीनओटा लघुकथा ,त्यस्तै सातओटा कथाकारको कथा अन्तर्गतका कथाहरु छन् । सम्पूर्ण कथामा उनी सङ्घर्षका पदचापहरु सुनाउँछन् र हृदय झङ्कृत गराउँदछन् । उनी आफ्ना कथामा माटोको सुगन्ध प्रति उच्च प्रेम र श्रद्धाभाव राख्दछन् । स्वप्नजीवी र सङ्घर्षशील युवाहरुको कथा कोर्दछन् । समाजको आँखाले ओझेलमा पारेका व्यक्तिहरुको कथालाई मूल स्वरले सुसेल्दछन् । समाजलाई वर्षौँदेखि चुसी खान पल्केका उपियाँ र उडुसरुपी पात्रहरुको तीव्रतर विरोध गर्दछन् । सामाजिक आडम्बरका अग्ला भित्ताहरुमा लात बजार्दछन् । अन्तिम खन्डमा आफ्नै जीवनका यावत सङ्घर्ष ,जीवनका ट्राजेडीहरु र सफलताहरुलाई यथासम्मत राख्ने प्रयत्न गरेका छन् ।
समाजमा अन्तरद्वन्द्व कसरी पैदा हुन्छ ? मूल रुपमा राज्यका कमजोरीहरु कुन समयमा कसरी देखा पर्दै आएका छन् , जसलाई राज्यले कम महत्व दिन्छ तीनका आफ्ना कथाहरु कस्ता छन् र तीनको सामाजिक भूमिकाहरुबारे उनले सङ्ग्रहमा विमर्श सिर्जना गरेका छन् । सङ्ग्रहलाई कथाकुथुङ्ग्री सङ्ग्रह भनिनुले टुक्रे कथाहरु पनि यसको भाग बनेर आएको कुरालाई प्रष्ट्याउँछ ।
शर्माको लेखनी सधैँ सामाजिक न्यायको वकालत गर्दछ । सामाजिक विभेदको विपक्षमा रहन्छन् । उनी आफू जुन शैलीको जीवन यापन गर्छन् कथा पनि त्यही शैलीको लेख्दछन् । द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने उनी राजनैतिक रुपमा पनि अनेक ट्रान्स्फर्मेसनका साथ यही बाटोमा हिँडिरहे । उनी कुनै पूँजीपति र सामन्ती वर्गको वकालत गर्ने , सुरासुन्दरीका प्रशंसक कथाकार होइनन् । ब्राह्मण समूदायकै कथा भन्दा पनि उनी निम्छरा बाहुनहरुलाई अघि सार्दछन् । समाजमा चल्ने शोषणको कुरा राख्दा बहुतै बिम्बात्मक शैलीले उपियाँ र उडुसको सम्बन्ध जोड्दछन् । एउटी वादी महिला शारिरिक व्यापार गरी बस्नुको विवशतालाई पेटको आगो शमन गर्न पैतालामा आगो टेक्नुपरेको न्यायोचित तर्क गर्दछन् र उनीहरुलाई पेटको आगो शमन गर्ने वैकल्पिक बाटो तय गर्न राज्यपक्षसँगको माग पनि पेश गर्दछन् । राज्यका विभिन्न संरचनामा रहेका व्यक्तिहरु ब्वाँसो चरित्रका साथ देखा पर्ने वा सोही चरित्र विकासका निम्ति उद्यत रहने तर्क उनको रहेको छ ।
नेपालमा लेखकहरु सामाजिक हैसियत आर्जन गर्न असमर्थ छन् । लेखन अझै व्यवसायिक बन्न सकेको छैन्। । समाज सहज र छोटो बाटो मात्र तय गर्ने इच्छा गर्दैछ । ज्ञान आर्जन पनि सिर्जनात्मक छैन । ट्याब्लेट शैलीमा ज्ञान हस्तान्तरण कार्य चल्दैछ । मानिस युनिभर्सिटीमा कम र गाइड तथा गेसपेपरमा बढी विश्वास गर्दै गइरहेछ । त्यस्तो परिवेशमा बाँच्दै गर्दा लेखक बन्नु पनि एकोहोरो पक्ष बनिरहेछ भन्ने अनुभूति हुन्छ । उनले एक कथामा लेखक बन्दा हुने त्यस्तै सामाजिक वहिष्करणको पक्षलाई उद्घाटन गरेका छन् ।
लेखकहरु सपनाप्रेमीहरु पनि हुन् । सपनाप्रेमी हुनु भनेको अरुले देख्दा अरु भन्दा असहज र फरक बाटो हिँड्न रुचाउने झैँ देखिँदा रहेछन् । स्वप्नजीवीहरु बढी भावुक र दायराबाहिर बाँच्न रुचाउने शैलीका हुँदा रहेछन्् । सपनाको प्रेममा लठ्ठिएका बखत मानिसलाई वैयक्तिक जीवनहरु कम महत्वपूर्ण अनुभूत हुन सक्छन् । सामाजिक जिम्मेवारीबोध र चेतनाको फैलावटमा ध्यान पुग्दछ । समाजका लागि काम लाग्ने सपनाको खेतीमा उनीहरु भुल्दछन् र त्यस्तै पात्रहरुको सिर्जनामा जोड दिन्छन् । यस कथा सङ्ग्रहका अधिकांश कथामा सामाजिक सपना बोक्नेहरु प्रति सम्मान भाव भेटिन्छ । परिवर्तनको तीव्रतर आकाङ्क्षा हर कथामा रहेका छन् ।
शर्मा साहित्य लेखनका अतिरिक्त पत्रकारितासँग पनि निरन्तर संलग्नतामा छन् । पञ्चायतका विपक्ष साहित्यिक मुभमेन्ट जन्माउन मकवानपुरमा साहित्य सङ्गम मकवानपुर जन्मियो । त्यसका कर्ताहरु मध्ये उनी पनि एक हुन् । साहित्यलाई समाजसँग गाँस्न समाजमा रही आएका विकृति विसङ्गतिहरु माथि प्रहार गर्न साहित्यिक,राजनैतिक र पत्रकारी बाटोमा उनले आफूलाई होमे त्यसअनुसार आजपर्यन्त लागिरहेका छन् । बीचमा पुत्रशोक बेहोरे । सङ्ग्रहमा त्यसबारे पनि उनले आँसुका कथाहरु लेखेका छन् । जीवनमा दुखहरु छन् तर ती दुखका प्रहारहरु विरुद्ध निरन्तर सङ्घर्ष गरी बस्नु मानवीय कर्तव्य बोध हो । तर लेखक त्यतिमा मात्र सन्तुष्ट हुन्न । उसले अरुलाई पनि सामाजिक अग्रगमनका निम्ति मार्गनिर्देश गरिरहन्छ । शर्माले आजपर्यन्त त्यही सच्चा लेखकको भूमिका निर्वाह गरिरहेका छन् ।
उनको लेखनीको प्रकाश आगतमा पनि उस्तै रहीरहोस् । उनको लेखन लगायत जीवनको समग्र पक्षका निम्ति शुभकामना ।