Showing posts with label सहलेखन. Show all posts
Showing posts with label सहलेखन. Show all posts

Friday, July 15, 2016

प्रश्नहरुको कारखाना छिर्दै गर्दा ।

श्रष्टा पत्रिकामा प्रकाशित सरिता तिवारीको कविता सङ्ग्रह प्रश्नहरुको कारखानाबारे केही धारणा :


प्रश्नहरुको कारखाना छिर्दै गर्दा ।

सुवास खनाल

म सरिता तिवारीलाई किन पढ्छु ?


मसँग स्पष्ट कारणहरु छन् ।


  • समकालीन नारीलेखनमा उनी वैचारिक स्पष्टतासहित उपस्थित एक स्रष्टा हुन् ।
  • कवितामा उनका आफ्ना नीजि मान्यताहरु छन् । त्यसबाट अरु कति कन्भिन्स होलान् वा नहोलान् तर उनका नीजि  मान्यताहरुसँग सादृश्यमा रहन पनि म उनलाई कुरेर वा खोजेर पढ्छु । 
  • समाज बहुत डिप्लोम्याटिक छ, उनी स्पष्ट वक्ता हुन् । उनलाई यो सामाजिक डिप्लोम्यासी जो धेरै आडम्बरी छ त्यसप्रति ठूलो विरोध छ । उनको गम्भीर आपत्ति बुझ्न पनि म उनलाई पछ्याउँछु । 

बुद्ध र लाभाहरु –२०५७ र अस्तित्वको घोषणा–२०६७ पश्चात् प्रश्नहरुको कारखाना २०७२ का साथ नेपाली काव्यिक यात्रामा निरन्तर रहेकी सरिता तिवारीका अस्तित्वको घोषणापत्र र प्रश्नहरुको कारखानाको समष्टिगत अध्ययन गर्ने अवसर म आफूलाई प्राप्त भएको छ । अब्जेक्टिभ भइबस्नु मलाई उत्ति रुचिकर छैन । सब्जेक्टिभ हुँदै जाँदोरहेछु । यो लेखन आत्मगत हुन गएमा त्यो स्विकार्य नै छ भन्ने सोच्छु । 

आइन्स्टाइनलाई सपनामा प्रश्न आयो – यदी मानिसले प्रकाशको गतिलाई पछ्याउन सकेमा के होला । यसको परिणति हो , थिअरी अफ रिलेटिभिटी, जसले संसारमा एक किसिमको हङ्गामा दियो ।  बुद्धलाई प्रश्न आयो –दुखको कारण केहो ? माक्र्समा प्रश्न उब्जियो –सोसियो कन्फ्लिक्ट किन छ ? न्युटनले रुखबाट फल झर्दा यसको रहस्यबारे प्रश्न गरे ? समाजको यो विकासको पछाडि प्रश्नहरुको महत्वपूर्ण भूमिका छ । प्रश्नहरु कत्तिको सिर्जनात्मक बन्न सक्छन् भन्ने कुराले सम्बन्धित विषयको विकासस्तर कहाँ पुग्ने भन्ने निर्धारण हुन्छ । प्रश्नहरु सही हुन सकेनन् भने भविष्यले हामीमाथि पनि प्रश्न गर्नेछ । यस कारण प्रश्नहरुको कारखाना खोल्नु उत्ति सहज काम होइन । यो चुनौती बहन गर्ने प्रयत्नमा रहने तिवारीलाई काव्यिक साहस भएको व्यक्ति सम्झिनु पर्छ । 

अस्तित्वको घोषणापत्रको धङधङी
प्रश्नहरुको कारखाना पढ्न सुरु गर्दा ममा अस्तित्वको घोषणापत्रको धङधङी थियो । उल्लिखित कृतिको अध्ययनले ममा छोडेको काव्यिक छाप बोकेरै प्रश्नहरुको कारखाना प्रवेश गरेँ । अध्ययन गर्दै जाँदा कविताको सिक्वेल नैझैँ अनुभूत भयो । तर एङ्गल अफ पर्सेप्सन झन् गाढा बन्दै गएको महशूश गरेँ । हेटौँडाको स्थानीय टेलिभिजन – टिम को कार्यक्रम सिर्जनाका सुसेलीमा प्रश्न गरेँ –तपाईँ प्रश्नहरुकोे कठघरासम्म आइपुग्दा वैचारिक डाइमेन्सनका हिसाबले खुम्चिएझैँ लाग्दैन ?उनले भनिन् –खुम्चिएको भन्दा नि धारणाहरु निर्माण गर्ने चरणमा रहेको र समाजको सोलोडोलो व्याख्या भन्दा माइनुट स्टडीमा लागेको हुँ । 

प्रश्नहरुको कारखानाका केही फरक विशेषता छन् । यसमा थारुहरुको स्थानिक परिवेशको सन्दर्भ आउँछ । आदिवासी सिरिजका कविताहरुमा थारु समूदाय, त्यसप्रतिको कविको सान्निध्यता र त्यहाँ स्थानिक व्यक्तिहरुको पीडा कविताहरुमा प्रस्तुत छ । अङ्गुछिया, ओरी दाओ कविताहरु फरकपनाका हिसाबले र स्थानिक कथा बुझ्न पढ्नुपर्ने कविता हो । स्पिभाकले सबाल्टर्न आफैँ बोल्छन् वा उनका कथा अरुले लेखिदिनु पर्छ भन्ने विषयमा ठूलै व्याख्या गरेकी छिन् । सरिता तिवारीले सवाल्टर्नीय आवाज आदिवासी खन्डमा दिएकी छिन् । उनी उही समाज सादृश्य हुर्किएकी हुनाले यो आवाज ओरिजिनल आवाज हो । 

के तिमीले मलाई आविष्कार गर्‍यौ ? नारीमूखर स्वरको केन्द्रियता यस खन्डका कविताहरुमा छन् । ‘हे देवी कवितामा विद्रोही आवाज दिँदै गर्दा मानवीय शक्तिभन्दा माथि दैवी र अदृश्य शक्तिको पक्षपोषण भएको अनुभूत हुन्छ । नारीस्वरलाई गाढा बनाउनकै निम्ति यो आवश्यक छैन भन्ने ठम्याइ पङ्क्तिकारको रहेको छ ।
समाज असल खराब दुबैको समग्र स्वरुप हो । समाज र राज्यको मूल चरित्र नै दोषी हुँदा त्यसमाथि प्रश्न उठ्नु पर्छ र सर्जकहरुको दायित्व निर्वाहको सबल चित्र त्यहीँ देखा पर्दछ । तर एकाध घटनालाई सामान्यीकरण गर्दा भने प्रभाव सही बन्दैन भन्ने हो । बा कविता एउटा विशिष्टिकृत घटनासम्बद्ध रहँदा त्यसको उपादेयता बढी रहने अनुभूति हुन्छ तर सामान्यीकरण भएमा त्यसले दिने सन्देश सही नजाने हो कि भन्ने डर देखिन्छ । 

वैचारिक खन्डको कविताले उद्वेलित गराउँछ । जागरणको उर्जा भर्छ । सुन्दरताका पक्षपोषक कविहरु कवितामा दुखका ,संवेदनाका र विद्रोहका अररा शब्दहरु नआउनु भन्ठान्छन् । श्रमजीवी वर्गको आवाजलाई प्रगतिशील कविहरु सुन्दर महशूश गर्छन् । सुन्दरता सापेक्षित छ । सापेक्षिक अर्थमा तिवारीका यो सिरिजका कविताहरु सुन्दर लाग्छन् ।

वैचारिक खन्ड, जसले धेरैलाई सङ्ग्रहप्रति पुर्वाग्रही बनायो 

तिवारीको कविताप्रतिको अनुरागको व्याख्या अन्तिम ३४ पेजले सबैलाई चाहीँ खुसी बनाउँदैन । कवि होइन कविता बोल्ने हो भन्नेहरु छन् । कविले होइन कविताले राजनीति गर्ने हो भन्नेहरु छन् । यसको भाइस भर्सा स्वर पनि छ । कवि कर्ता हो ,कविता कर्म । मूलत हेरिने कर्म नै हो । कवितात्मक अभिव्यक्ति के हो भन्ने नै हो तर त्यो कवि सापेक्ष निर्धारित हुन्छ । कविको चेतनासापेक्ष र नियोजनसापेक्ष हुन्छ । त्यसकारण कविको निजात्मक अभिव्यक्तिलाई बायस गर्दै जाने हो भने त कविता पढ्न नै छाड्दा निको हुन्छ ।

उनले यस खन्डमा लेखनको पृष्ठभूमिदेखि साहित्यिक मिसनका डेभिएसनहरु बताएकी छिन् । उनी पनि संरक्षण कविता आन्दोलनकी एक सक्रिय सदस्य हुन् । उनलाई संरक्षण कविता आन्दोलनले लिन नसकेको वैचारिक र सामाजिक गतिप्रति गम्भिर अरुचिपश्चात त्यसप्रति विमोह सिर्जना भएको विषय उल्लेख छ । यो पनि एक किसिमको जोखिम नै हो । जुन बाटो कुनै निश्चित टाइमफ्रेममा सही लागेको थियो त्यही बाटो अर्को टाइमफ्रेममा सही नलाग्न सक्छ तर प्रश्न गर्ने साहस सबैले गर्नं सक्दैनन् ,त्यो तिवारीले गरेकी छिन् ।

वैचारिक लेखन जोखिमको यात्रा 


लेखकको कित्ताकाट हुनुपर्छ भन्नेमा एकजना उदय अधिकारी सर पनि आवाज उचाल्नुहुन्छ । कवि अब्जर्भर मात्रै हो कि सोसल इन्डक्टर पनि हो । इन्डक्टरभन्दा पनि माथि उठेर एक्टिभिस्ट हुने कि नहुने भन्ने विषय उहाँको रहने गर्दछ । वैचारिक लेखनप्रति सबैभन्दा ठूलो प्रहार हुन्छ र त्यो प्रहार खप्ने जब आदत पर्छ त्यसपछि प्रतिरोधी सशक्त कविताको जन्म हुन्छ । वैचारिक कविताले नै हो विपक्षीको वा लक्षित वर्गको अहम्मा प्रहार गर्ने । नत्र कविता पनि लैबरी गाउने कुनै क्रृत्रिम स्वरयन्त्र बन्ने पक्का छ । 

यी अन्तिम कविताहरु होइनन् 

सरिता तिवारी यो समयको सक्रिय कवि हुन् । लेखनीको यो मोडमा समकालीन कविहरुमाझ स्पष्ट चिनिने क्षमता राख्छिन् । यो टाइमफ्रेममा उनका वैचारिक आग्रहसहितका कविता हुन् –यी तर यिनै अन्तिम कविताहरु होइनन् र उनको कविताप्रति कुनै स्टेटिक धारणा तयार गर्नु ठीक हुन्न भन्ने लाग्छ । यो उनीमात्र नभएर , यो समय लेख्दै रहने हर कविप्रतिको दृष्टिकोण हो ।

अन्त्यमा :

प्रभावशाली प्रगतिवादी कवि सरिता तिवारी तेस्रो कविता सङ्ग्रहसम्म आइपुग्दा उनको निजात्मक तथा सामाजिक सम्बन्धका निबन्धात्मक लेखनहरुमा पनि सक्रिय छिन् । उनको त्यससम्बन्धीको कलेक्सन पनि आउनु जरुरी छ । अन्त्यमा शुभकामना ।

Sunday, February 6, 2011

Commentry.

अनमोल संचेतनाको स्वरूप –अनमोल दृष्टान्त


सुवास खनाल
subaspoet@gmail.com
abha_subas2000@yahoo.com
लक्ष्मण भण्डारी एक सचेत रूपमा अध्यात्मिक सोच राख्ने व्यक्ति हुन् । उनले सङ्कलन र सम्पादन गरी नैतिक आचारगत विषयका केही सुरूचिपूर्ण कथाहरूको सङ्ग्रह बजारमा ल्याएका छन् । आजको नेपाली पुस्तक बजार पनि बिस्तारै जटिल र प्रतिस्पर्धात्मक बन्दै गएको छ । त्यो भिडमा यिनी पनि कसिलोसँग उभिने प्रयत्नमा छन् । उनको यो कदम प्रशंशनीय रहेको छ । उनी यी कथाहरूलाई नामकरण गर्छन् –अनमोल दृष्टान्त ।

कथाहरू छोटा र मीठा अनुभूत हुन्छन् । कथाका पछाडि आफ्ना भावनात्मक अनुभूतिहरू यिनले थपेका छन् । यसले सम्पूर्ण कथाको सार बोल्छ । आजको समय निकै दुर्बोध्य छ । यसलाई बुझ्नुको असमर्थताकै प्रतिरूप मात्रै हामी बाँचिरहेछौँ । यो समयलाई डो¥याउने आदर्शहरू कहीँकतै विलुप भैरहेछन् । यही आदर्शको खोजीमा छन् लक्ष्मण भण्डारी । यिनी लेखनमा जति सरल लाग्छन् ,व्यवहारमा उस्तै प्रतीत हुन्छ । मूलत :यिनको यो सङग्रह आफ्नो निजी कथाहरूको सङ्ग्रह हैन । तर पनि यिनले सङ्ग्रहमा कहीँ न कहीँ आपूmलाई र आफ्नो क्षमतालाई चिनाएका छन् । यो नै उनको सफलतम पक्ष हो ।

लक्ष्मण भण्डारीहरू किताब निकाल्छन् । यो पुस्तकाकार स्वरूपमा बजारमा आउँछ । तर यो बजार पुस्तकका आवरणहरूको चर्चा गर्छ । पुस्तकका पेजहरूको गुणस्तरीयताको चर्चा गर्छ । यसभित्रको गुदीको गुणवत्ताको कुरा गर्दैन । यद्यपी आवरण र पेजहरू कुरुप हुनुपर्छ भन्नेतर्फ यो पङ्क्तिकार लक्ष्यित हुन खोजिरहेको पक्कै होइन । लक्ष्मण भण्डारीको सम्पादनमा निस्किएको यो पुस्तकमा गुदीका कुराहरू त छन् नै ,साथै जीवनका मूल्य र मान्यताका प्रश्नहरूलाई पनि यिनले बहुत प्रासङ्गिक बनाएका छन् ।

विज्ञानमा सबै सिद्धान्तहरूको एकिकृत स्वरूप निर्माणको प्रयास थालनी निकै अघिदेखि हुँदै आएको छ । यसमा पछिल्लो समयमा लागि परिरहेकामध्ये महान वैज्ञानिक हकिन्स पनि छन् । यसले संसारमा रहेका शक्तिहरू केही न केही रूपमा एकअर्कासँग अन्तरसम्बन्धित छन् र शक्तिको मुलस्वरूप एक नै छ भन्ने तर्फ सङ्केत गर्छ । यसबाट कहीँ न कहीँ अन्तिम सत्य रूप भगवान मान्ने परिकल्पनासँग मेल खान खोज्दोरहेछ भन्ने यो पङ्क्तिकारलाई लाग्ने गर्छ । तर विज्ञानको अनुपस्थितिको अवस्थामा मानिसहरूलाई निश्चित सीमाहरूमा निर्देशित गर्न धार्मिक चिन्तनहरूले निकै महत्वपूर्ण योगदान खेलेको हुनुपर्छ । र अध्यात्म पनि एउटा निकै रहस्यमयी विज्ञानकै स्वरूप हो । अनमोल दृष्टान्तका कथाहरू पनि अध्यात्मिक र धार्मिक खालकै रहेका छन् ।

यो कथासङ्ग्रहका कथाहरू छोटो समयमा पढेर सकिने ,मुड फ्रेस गराउने खालका छन् । एक बसाइमा कथा सङ्ग्रह पढेर सकिने खालको छ । एक सय एक वटा कथाहरूको यो सङ्ग्रह कफी गफमा बस्दा ,पढाउन लाग्दा ,समाजिक नैतिकता र मूल्यमान्यताका प्रसङ्गहरू कोट्याउँदा कामलाग्ने नीतिगत उदाहरणहरूको अनुशीलन हो । आजका मान्छेहरू ( ब्ल्याक हार्ट विथ ह्वाइट कोट ) लाई नीतिका कुराहरू कति पच्छन्, त्यो आफ्नो ठाउँको कुरा छ तर यिनी यो भीडमा सचेत उभिने प्रयत्नमा छन् । लक्ष्मण भण्डारी अध्यापन क्षेत्रमा संलग्न छन् । सिनर्जी एफएममा धार्मिक कार्यक्रम चलाउँछन् । यसले मात्र उनलाई यो खालका कथाहरूको सम्पादन गर्न पक्कै प्रेरित गरेको छैन । यो उनमा रहेको धर्मबोध र नीतिबोधको प्रष्ट प्रमाण हो ।

यी कथाहरू कथाहरू मात्र पनि छैनन् । यसमा विश्वचर्चित व्यक्तित्वहरूको जीवनसम्बद्ध प्रेरक प्रसङ्गहरू पनि रहेका छन् । इन्दिरा गान्धि ,विवेकानन्द ,सिगमन्ड फ्रायड ,जवहरलाल नेहरू ,बुद्ध , विन्स्टन चर्चिल , जोन एफ केनेडी ,अब्राहम लिङ्कन लगायत धेरै व्यक्तिप्रसङ्ग साथै वीरबल र अकबरमा आधारित ज्ञानबर्धक र प्रेरणादायी रोचक प्रस्तुती पाइन्छ ।

चर्चिल र भीड
विन्स्टन चर्चिल एकपटक ठूलो सभामा विशेष व्याख्यान दिनका लागि तयारी गर्दै थिए । जम्मा भएको मान्छेको ठूलो भीडतिर इसारा गर्दै उनका एक प्रशंसक ले भने “चर्चिलज्यू ! तपार्इँ यति लोकप्रिय हुनुहुन्छ कि तपाईको व्याख्यान सुन्न यहाँ हजारौँ मान्छे भेला भएका छन् ।”चर्चिलले शान्त स्वरमा भने “प्रिय मित्र ! यी मान्छे भाषण सुन्न होइन तमासा हेर्न यहाँ भेला भएका हुन् । यदि भोलि मलाई फाँसीमा चढाउने घोषणा गरियो भने पनि यहाँ यो भन्दा धेरै हजार मान्छेको भीड जम्मा हुनसक्छ ।”
मान्छे भीडका पछिभन्दा आप्mनो विचार र लक्ष्यप्रति केन्द्रित हुनसके जीवनमा सफल हुनसकिन्छ ।

यही स्वरूपका विचारसहितका लेखनीहरू उनले सङ्ग्रहमा सङ्कलन तथा सम्पादन गरेका छन् । यो उनको सङ्ग्रह प्रकाशनका दृष्टिले प्रथम रहेपनि सफल सम्पादन तथा प्रकाशन रहेको छ । यस किताबको अध्ययन गर्नुले केही न केही मात्रामा सही जीवन सञ्चालनका निम्ति कच्चा पदार्थ प्राप्त गर्नुजस्तै ठहर्छ । केही मात्रामा भाषागत त्रुटी ,केही कथाहरू हल्काफुल्का अनुभव हुनु वा चुट्किलाजस्तो अनुभव हुनु र कतिपय प्रसङ्गहरू पूर्णतया निर्जीव कल्पना मात्र हुनु र प्रचुर आदर्शमा केन्द्रित रहनु यो किताबको कमजोरी हो भन्ने लाग्छ । संसारमा एब्सोल्युट भन्ने कुनै सत्य नै छैन र निरपेक्ष जीवन सम्भव पनि छैन ।

लक्ष्मण भण्डारी , सङ्कलक र सम्पादक मात्र होइनन्, एउटा लेखक पनि हुन् । उनी कविता र निबन्ध कर्ममा पनि लाग्ने गर्दछन् । यसभन्दा पछि पनि उनको सम्पादकीय र लेखकीय गुणलाई हामीले मन पराइरहन पाउनेछौँ ,यही आशा गरौँ ।

२०६७–१०–२२
भरतपुर ।

Saturday, May 1, 2010

Narayan Wagleko Mayur Times mathiko tippani.

मयुर टाइम्स :  भयहरूको एउटा कोल्याज

सुवास खनाल

मान्छेहरूसँग अनगिन्ति आशाभावहरू हुन्छन् नै । यो अपरिमेयजस्तै हो । स्वतन्त्रताका गुलाबहरूजस्तो सुन्दर र प्रिय कुन त्यस्ता वस्तु छन् , यता कतै ? सिङ्गो आकाश अँगालेर उड्ने  चराका बथानहरू र बगैँचामा निर्बाध डुल्दै गरेका पुतलीहरू जस्तो कथाहरू बोकेर आउने समय पाउँदा हुन् त मान्छेहरू कुनै स्वर्गीय परिकल्पनाहरू भुलेर नृत्यमग्न रहने थिए होलान् , सुगन्धित हावामा डुलेर आफ्नो घार फर्किँदै गरेको मौरीको कुनै उत्साहजस्तो । जूनको शीतल प्रकाश पिउँदै मख्ख परेको पृथ्वी ,त्यसको आश्वादनले कुनै अमृत पिएको अनुभव गर्दाे होला । तर यही पृथ्वीमा काकाकुलजस्ता मान्छेहरू छन् ,समयको चोटले आहत छट्पटाइरहेका । बाध्यताका कठघराहरूमा उभ्याइएका । बाँच्नु कुनै एउटा बाध्यताजस्तो बन्नुले छट्पटी नै जिन्दगी सोचिरहेका । टोलाइरहेका जस्ता देखिने । अनुहारहरूको  प्राकृतिक रङ हराएर फिक्काफिक्का र मलिनजस्ता ।

“मयुर सुन्दर पक्षी हो । रौदापानी रौदापानीमा खुब मच्चेर नाच्छे । नाच्दानाच्दै आफ्ना कुरूप खुट्टा देखेर रुन्छे । मयुरका प्वाँख र खुट्टा दुबै यथार्थ हुन् ,जसरी हाम्रो जीवनमा सुख र दुख ।” –मयुर टाइम्समा बाबाले छोरीलाई लेखेको पत्राशं हो यो । एन्तोन चेखोबले दुखको परिकल्पनामा लेखेर्को ग्रिफ’ कथाको शुरुवात (पहिलो लाइनमै ) मै लेखेका छन् –“टु हुम स्याल आइ टेल माइ ग्रिफ ?” अर्थात् मैले मेरो व्यथा कसलाई भनूँ /पोखूँ ?सुखका कथाहरूमा भुल्न आउनेहरू अधिकाधिक हुनसक्छन् तर दुखमा एक्लै रहिनेछ । चेखोबको त्यो कथा त्यस्तै बताउँछ । कथामा एउटा गरिब पात्रको छोरो मरेको घटनाबारे ऊ बताउन चाहन्छ अनेकानेक मान्छेहरूलाई ,तर कसैले सुन्न चाहदैनन् सो कथा र अन्तमा ऊ आफ्नै घोडालाई सुनाउँछ । बरू घोडाले टाउको हल्लाउँछ र ऊ सोच्छ यो दुनियाँमा पशुमा जत्तिको पनि संवेदना रहेनछ मान्छेहरूसँग । हो, यही संवेदनाहीन मान्छेहरूले सिर्जना गरेको भयग्रस्त समयको सग्लो कथा हो –यो उपन्यास । र संयोग यो उपन्यास पनि “अब त मारिन सक्छु ”भन्ने वाक्यबाट भएको छ ।
र्
पल्पसा क्याफे’ उपन्यास कृतिका लागि मदन पुरस्कार विजेता नारायण वाग्लेर्को मयुर टाइम्स’ दोस्रो उपन्यास कृति बन्न पुगेको छ । आफू पत्रकारिताका क्षेत्रमा सम्बद्ध रहनु र  उपन्यासको कथावस्तु पनि सोही अनुरुप उनिनुले यसमा केही निजात्मक अनुभूतिहरूको निश्चिततालाई प्रबलीकरण गर्दछ । यो एउटा निकै सशक्त पक्ष पनि हो । कुनै पनि व्यक्तिलाई सबैभन्दा बढी ज्ञान आफू संलग्न रहेको क्षेत्रको नै हुने गर्दछ । उसले आफ्नो बारेमा जस्तो खोज रअनुसन्धान चाहेर पनि अर्को क्षेत्रमा गर्न सक्दैन । यसैले पनि पत्रकारिताको पछिल्लो समयको
यथार्थगत पक्षको जानकारीजस्तो पनि हो । अझ भनूँ एउटा बक्पत्र –जहाँ नै छ  पत्रकारिताका सबै खालका कथाहरूको अनुशीलन ।

नेपालको राजनीतिमा विगतको द्वन्दले सिर्जना गरेका विविध सकारात्मक र नकारात्मक पक्षहरूको विशेषत ः यिनले विश्लेषण गरेका छन् र देशमा जर्जर बन्दै गएको प्रशासन तन्त्रको बारे बढी केन्द्रित छन् । नेपालमा प्रणाली ( सिस्टम) को अभाव रहेको र त्यही कारण सबै क्षेत्र सुषुप्तप्राय ः र कमजोर बन्दै गइरहेको प्रति औँल्याएका छन् । परिचालक विनाको पानीजहाज,जुन समुन्द्रमा बहने हावाको  र छालको दिशातिर बग्दछ ,त्यस्तै भएको छ देश । सरकार परिवर्तन हुनु भनेको डोरीको बलमा एकछिन घुर्रा÷लट्टु घुमेर ढल्नुजस्तै हो ,भनूँ न एक सेकेन्डमा साठ्ठी पटक परिवर्तन हुने एसी करेन्टको फ्रिक्वेन्सीजस्तै । यस्तै भएको छ यहाँको यथार्थ ।

सपनाहरू वैशाखी टेक्दै हिँडिरहेछन् । माकुराको जालोजस्तो लागेको छ– आँखाहरूमा । दिमाग शुष्कप्राय ः छ । फूलहरू नफुल्दै झर्छन् बोटबाट ,कोपिलामै । समयहीन समय भोग्नुको यथार्थजस्तो वर्तमान छ । र मान्छे खङ्ग्रङ्ग सुकेको बुढो रूखजस्तो, वा कुनै भत्केको बाटोजस्तो , वा कुनै आदिम मान्छे रामापिथेकसको प्रागैतिहासिक चिनाजस्तो वा एउटा भोल्कानोले हिर्काएको पहाडजस्तो । मान्छे होइनन्जस्तो लाग्ने मान्छेहरूले सिर्जना गरेका भयहरूको एउटा कोल्याज हो –मयुर टाइम्स । संवेदनाहरूको किनबेचमा मस्त समाजको गालामा हिर्काइएको एउटा दरिलो झापड हो –यो उपन्यास । कथाहरूले सिर्जना गरेको अर्को कथा, बादलले बोकी हिँड्ने पानीजस्तो कथाहरूको वास्तविकता हो यो उपन्यास । थथार्थमा उपन्यासकार सफल छन् । पल्पसा क्याफे देखिको यो सफलताको उपक्रमका निम्ति यिनी प्रशंशाका पात्र छन् नै, अर्को कुरा समयको सुल्टो कथा बताउन सक्ने एउटा युधिष्ठिरजस्तो बनेका छन् ,जसका निम्ति साधुवाद ।

भय –यो आफैँमा डरलाग्दो त पक्कै छैन ,तर यसले जुन स्वरुप ग्रहण गर्दोरहेछ ऊ डरलाग्दो सिद्ध छ । यस्तै पीडा अनुभूत स्वर उपन्यासमा कहीँ न कहीँबाट निरन्तर आइरहन्छ –
“जो दिनभरि राजनीतिक रूप धारण गर्थे र राति बन्दुक लिएर डुल्थे । भूमिगत सङ्गठनको नाममा । त्यस्ता सङ्गठनको नाम पनि कति सुनिए भने मानौ शव्दकोशमा अब डरलाग्दो शब्द बाँकी छैनन् । व्यक्तिको उपनाम त झन् कस्ता सुन्न थालिए भने फलानोले फोन गरेको छ भन्दा पनि झस्किनुपर्ने । ” यो यथार्थताको ऐतिह्य हो । आफ्नै छायाँसँग डराउनुजस्तो वर्तमान टेकेर हामी कुन र कस्तो भविष्य छिर्ने हो ? यसको प्राक्कल्पना पनि एउटा अपूरो सपनाजस्तो बन्दोरहेछ ।
र्
पराग’ र्र  लिसरा’ दुई महिला पत्रकारहरू मुख्य पात्र रहेको उपन्यास पढ्दै अघि बढ्दा हामीले कुनै न कुनै दिन समाचारहरूमा सुनिसकेका पात्रहरू हुन् जस्तो लाग्छ । यी दुई पात्र मध्र्ये पराग’ तराई मूलको मान्छे हुन्छे र्र लिसरा’ पहाडी मूलको । कथामा उनीहरू बीचको गम्भिर मिलनले नेपालमा झाङ्गिँदै गएको जातीय तथा क्षेत्रीय विभाजनको मानसिकता माथि चोटिलो प्रहार पनि गरेको छ । कथाहरू बाहिरबाट निकै सहजजस्ता र समान्यप्राय ः देखिन्छ ,कारण यी सबै हामीले भोगिसकेका जस्ता लाग्छन् तर यसको गहिराइमा पुग्ने हो भने जटिलताका अन्तिम पङ्क्तिहरूले निकै जरा गाड्नेछन् ।

परागलाई उसको बाबुले निकै मेहनत गरेर पत्रकारिता पढाएको हुन्छ । पछि ऊ बैङ्कको जागिरे बन्छे र लिसरा कमर्स पढेकी हुन्छे तर ऊ पत्रकार बनेकी हुन्छे । यहाँनिर नेपालको शैक्षिक अवस्था र प्रयोजनको मनोदशाको नक्सा बहुत् राम्रोसँग उतारिदिएका छन् –यिनले । सुरूतिर परागले लिसरालाई सहयोग गर्दछे , दुबै सानो भएको बेलामा तर पछि लिसराको भूमिका निकै महत्वपूर्ण देखिएको छ उसको जीवनमा । अर्नेष्ट हेमिङ्गवेर्को  द वल्र्ड म्यान एन्ड द सी ’ मा पहिला स्यान्टियागो बुढोले बालकलाई माछा समाउन र पक्डिन सिकाउँछ तर पछि बाबुआमाले सो केटोलाई छुट्याइदिन्छन् बुढोबाट । अनि बुढो धेरै दिन भोको पर्छ र पछि सोही केटोले उसको बाबुआमाले थाहा नपाउने गरी सहयोग गर्न थाल्छ स्यान्टियागो बुढोलाई । हो यस्तै दोहोरो सहयोगमा आधारित छ कथावस्तु । तर छोटा र सम्प्रेष्य सम्वादहरूले कथालाई नयाँ उचाइ दिएको छ ।
र्
पापाले मलाई फकाउँदै भन्नुभयो , “तिम्री मा संसारकी सबभन्दा असल आमा हुन् ।”बस चलिरहेको थियो ।उहाँले भन्दै जानुभयो ,“तिम्री मा तिमीलाई खुब मायाँ गर्छिन् ,मभन्दा पनि बढी । मलाई पनि माया गर्छिन्,संसारकी असल गृहिणी हुन् ।उनले घरगृहस्थी सम्हालेरै त मैले नोकरी गर्न पाएको छु ,तिमीले पढ्न पाएकी छ्यौ । बेटा ,तिम्री मा यो संसारकी सबभन्दा मायालु मा हुन् । ” यो आमासँग पराग छुट्टिएर बाबासँग बस्न पहाड जान लागेको बेला उनको पापाले उनलाई भनेका हुन् । यी पङ्क्तिहरूले यो पङ्क्तिकारको पनि मन धेरै खाएको हो अनि आमासँग छुट्टिएर पहाड जाने बेलाको वर्णन पनि निकै मनछुने र कोमलजस्तो प्रतीत हुन्छ । हुनसक्छ त्यहाँ कुनै सन्देशहरू वा चेतनाका विषयहरू छैनन् होला तर कोमल मनका भावावेगहरू पक्कै असिमित छन् ।

“सारीमा बुट्टा कसरी बस्छ ?”
“आँप होइन मिस आम् ”
“पापालाई संसारमा अचम्म लाग्ने के हो ?”
“पहाडको आकाश बादल हो, बादलमाथि के हुन्छ ?”
“पहाडमा मान्छे कसरी हिँड्छन् ?बस कसरी उकालो चढ्छ ?”
“के पहाडबाट दुधको धाराझँै पानी बग्छ ?”
“तपाईँलाई थाहा छ पुतलीको आयु कति हुन्छ ?”

यी बालसुलभ प्रश्न तथा जिज्ञासाहरूको सिलसिला जुन यिनले उनेका छन् त्यो साह्रै मोहक र प्रियसिद्ध छ । यो परागले सानो हुँदाको बेलामा अरूसँग राख्ने प्रश्न तथा जिज्ञासाहरू हुन् । बङ्गालीभारतीय लेखक रवीन्द्रनाथ टैगोरर्को  कावलीवाला’ कथार्को म’ पात्रलाई उनको छोरीले सताउने प्रश्नहरू उस्तै  छन् –

“बाबा ,हाम्रो घरको नोकरले कागलाई कौवा भन्छ ,त्यसलाई केही पनि आउँदैन हगि ?”
“बाबा, तपाईँ र आमाबीचको साइनो के हो ?” आदिआदि ।

बालसुलभताले दिने एउटा छुट्टै तर बोधगम्य आनन्दको अनुभूतिलाई निकै मजासँग पक्डेका छन् यिनले । त्यस्तै मधेसबासीहरूलाई हेपेर्र  धोती’ र्,मधेसी ’ आदि भनिने गरेको कुराको उठान पनि यिनले गरेका छन् र जुन अप्रियजस्तो देखाइदिएका छन् । यस उपन्यासमा तराईमा अध्यापनरत पहाडिया महिला महिमा खनाल  ,मयुरनगरमा पसल थापेर बस्ने एक असहाय वृद्धा ,कृष्णपुरकी पूmलकुमारी महतो आदिको उपकथाहरूले उपन्यासलाई थप गति दिएको छ ।

उपकथा ः महिमा खनालको कथा

महिमा खनाल एक शिक्षिका हुन् । उनले परागलाई पनि पढाएकी हुन्छिन् । पहाडिया मुलकी उनी तराईमा रहेर पढाइरहेकी हुन्छिन् । उनको पति पनि शिक्षक हुन्छन् । पतिको हत्या षडयन्त्रमुलक ढङ्गबाट मधेसी सशस्त्र समूहबाट भएपछि उनी विस्थापित हुनुपर्ने अवस्था आउँछ । आफू निकटकै वा आफ्नो संस्था निकटकै मान्छेले उनको पतिको हत्या गरिदिएपछि जबर्जस्ती उनलाई घरजग्गा बिक्री गर्न लगाएर विस्थापित गराइएको हुन्छ । यो खालका घटनाहरू व्यहोरेका मानिसहरू वास्तविकतामा  निकै छन् । महिमा मिसलाई कथाको मूल पात्र परागले आदर्श पात्र मानेकी छे ।

उपकथा ः मयुरनगरकी असहाय वृद्धाको कथा
र्
आएको थियो,गयो भन्दिनू ’ । यो उनको छोराले भित्तामा कोरेर गएको उसको आगमनसुचक अक्षरहरू थिए । यसैको खानतलासीबाट परागले चिया पसले ती वृद्धाको जीवनकहानी पत्ता लगाउँछे । उनीहरू पहाडको दुखसँग आत्तिएर सुख खोज्दै तराई झरेका हुन्छन् । तर दुखले कहाँ जाँदा पो छोड्छ र ?यहाँ यिनको बूढा बित्छन् । त्यस्तै छोराले रात्री बस चलाउने गरेको हुन्छ र एकदिन सशस्त्र फौजको आक्रमणमा यिनको छोरो पनि बित्छ र उनको दुख बिर्साउने सहज माध्यम भनेको बारम्बार चुरोट पिउनु बनेको छ । जुन दिन छोरो बित्यो त्यो दिन भने यिनले छोरोलाई भेट्न पाइनन् । उसले लेखेर गयोर्– आएको थियो,गयो भन्दिनू ’ ।

उपकथा ः फूलकुमारी महतोको कथा

यिनी तराईबासी व्यापारी हुन् । यिनको बुढा पनि व्यापार गर्छन् । उनको घरनजिकै अर्को व्यापारीको पसल छ । आफ्नो व्यापार राम्रो बनाउन सोही व्यापारीले आफ्नो सालो लगाएर यिनको पतिको हत्या गराउँछ । यिनी पराग र लिसराले चलाउने मयुर टाइम्स पत्रिकामा न्युज नछाप्नको लागि अनुरोध गर्न पुगेपछिको अवस्थाबाट यिनको फेहरिस्त खुलेको छ उपन्यासमा । यिनको पतिको हत्याराको नामसहित प्रशासनलाई जानकारी गराउँदा सोही नामको धेरै व्यक्ति पक्राउ पर्नु तर हत्यारा पक्राउ नपर्नुले प्रशासनको हदसम्मको दयनियताको खुलासा भएको देखाएका छन् । अझ हत्यारा पक्रिसकेपछि र परागलाई अपहरणमुक्त गरेपछि डिएस्पीको सरुवा भएको देखाइएको छ । यसबाट के प्रष्ट पार्न खोजिएको छ भने,राम्रा काम गर्नेहरू टिक्दैनन् र वास्तविकताहरू पनि त्यस्तै नै छन् ।

सहायक मूलकथा ः प्रहरी प्रशासनको र सशस्त्र समूहको कथा

यो त उपन्यासको मूलकथाजस्तो नै छ । प्रहरी प्रशासनले कुनै काममा हात हाल्नु र अध्ययन अनुसन्धान गर्नु भन्दा त्यो कसरी पन्छा लाग्छ  त्यो उपाय अबलम्वन गर्ने गरेको र यसो हुनुमा प्रशासनमाथि सोझै राजनीतिको दबाब रहनुलाई उनले औँल्याएका छन् । हरेक घटनामा पक्रेर ल्याएका व्यक्ति छुटाउन नेतादेखि मन्त्रीसम्मको फोन आउनाले प्रहरी प्रशासनले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न नसकेको विषयको उठान विशेषत ः भएको छ । साथै सशस्त्र समूह पनि राजनीतिक समूहकै आडमा चल्ने खुलासा गरेका छन् ।

मूलकथा ः पराग र लिसराको कथा

कथा यी दुई पात्रमा विशेष अल्झेकाले यिनीहरूकै कथा मूलजस्तो देखिन्छ । पराग अपहरण भएको विषयबाट कथा आरम्भ भएको छ । पत्रकार भएकाले निडर र साहसीपन अपहरणकै बेलासमेत देखाउन खोजिएको छ । त्यो यथार्थमा कति सम्भव छ ,सोचको विषय हो । पराग पहिले त बैङ्कको जागिरे हुन्छे त्यसपछि लिसराको करले र आफ्नो विषय अनुकूलताका कारण र्ऊ मयुर टाइम्स’ पत्रिकामा सम्पादक हुनपुग्छे । यता लिसराको कथा छुट्टै छ । सानामा यी दुबै साथी भएपनि पछि लिसरा र पराग छुट्टिन पुगेका हुन्छन् । उसको परिवारले गर्ने खुद्रा व्यापारको सिलसिलालाई प्रशासनले तोडिदिन पुग्छ –ड्राइफुड बेच्न नदिने नाममा । आपूmले गरिरहेको व्यवसाय छाड्न पुगेपछि उसका बाबु विदेश पलायन हुन्छन् । खाडी मुलुकमा कडा परिश्रम र प्रतिकूल समयको सिकार भएर बाबुको मृत्यु हुन्छ र बाध्यताले आफ्ना अरू आत्मविकासलाई छाडेर ऊ पत्रकारिता अँगाल्न पुग्छे । उसकी आमा भने खेतीपातीतिर लाग्छिन् ।आदिआदि ।

“हाम्रो प्रशासन ठूलाबडाले गँगटो निकाल्नू भन्छन् कि बिरुवामा पानी हाल्नू भन्छन् ,त्यही गर्नुपर्ने अवस्थाबाट अझै फेरिएको छैन ”
“पत्रकारिताको कुनै विशेषण हुँदैन”
“अपहरणकारीहरू पनि गीत सुन्दा रहेछन् । अर्काको स्वतन्त्रता हरण गर्नेहरूलाई पनि गीतको भावनामा डुब्न किन मन लागेको होला ।”
“मेरो अपराध के हो ? ,पेपर चलाउनु ।”
“ओ धोतीकी छोरी”
“ए नानी तिमी नेता बनेर आऊ है । नेता राम्रो प¥यो भने गाउँभरिका बालबच्ची पढ्न पाएर डाक्टर इन्जिनियर बन्छन् ।”
“पर्चामा के छ पढ्नलाई त ल्याउनु प¥यो होइन ?”
“पढ्न नपाउने नियम आयो र ?”
“समूह भएपछि जुलुस बन्न कसले रोक्छ ?”
“राजा घटीको त कुनै नारा थिएन ।”
“निर्माताका सोचाइ सुन्दर हुन्छन् ध्वसंकारीको कुरुप ।”
“हामीले अरूलाई हेरेर आफ्नो दृष्टिकोण बनाउने होइन ।”
“पत्रकारिता आवाजविहीनहरूको आवाज भनिन्थ्यो तर बन्दुक पड्काएपछि समाचार आउँछ भन्ने पर्दै गयो ।”
“पहिले कोही अपहरित भयो भने माओवादीले लग्यो होला भन्न सजिलो थियो । अहिले छैन । कसले लग्यो ,कसले लग्यो हुन्छ ।”
“हरेक आवाजसँग तर्सिँदै निदाउन सम्भव हुन्छ ?”

उपन्यासका यी संवादात्मक अभिव्यक्तिले बोकेका व्यथाहरू निकै गहिरा र मननयोग्य छन् ।

यो उपन्यास पल्पसा क्याफे जत्तिको कलात्मक त देखिँदैन तर सरल र सम्प्रेष्य भने अनुभूत हुन्छ । टि एस इलियटले भनेका छन् – लेखन भनेको उत्साह र अनुभूतिको प्रकाशन हो र यसमा दिमागले उत्प्रेरकको भूमिका निर्वाह गर्दछ । यो उपन्यास अनुभूतिगम्य भने पक्कै छ । यसर्थ सफल मान्न सकिन्छ । वाग्लेको लेखनले सामयिकतालाई  निकै राम्रोसँग क्याच गर्न सकेको छ ।

आगामी दिनमा पनि उनको निरन्तर र उत्कृष्ट लेखनको  कामना । अस्तु ।

Friday, April 30, 2010

poet khanalka sirjana: Rainy days(Prakash Sayami )mathi tippani

वर्षादी दिनहरूमा रुझ्दा भिज्दा

सुवास खनाल

प्रकाश सायमी के होइनन् ? भनेर मैले यो लेख शुरु गरेँ भने मलाई सजिलो होला ।

एक सफल नाटककार,फिल्मकार,कवि,कथाकार,निबन्धकार,गीतकार,समीक्षक आदि । एक शव्द अलराउन्डर । म उनको ईष्र्यालाग्दो स्मरण क्षमतासँग एकदमै प्रभावित छु । उनी एउटा लोभलाग्दो बौद्धिक व्यक्तित्व हुन् । उनको बारेमा बढि नलेखौँ ,प्रकाश प्रकाश हुन् ,यत्ति ।

वर्षादी दिनहरू झन्डै उनको अटोबायोग्राफी हो । उनले यसलाई निबन्धसङ्ग्रह भनेका छन् । भावहरूको स्वच्छन्दता र निर्बन्धताका हिसाबमा यो निबन्धसङ्ग्रह हो र यसको अध्ययनपश्चात उनको आफ्नै बारेमा पनि धेरै विषयवस्तु थाहा हुने भएकाले यो एउटा अटोबायोग्राफी पनि हो ।
उनको यो कृतिमा उनी आफूमा भएको वास्तविक बौद्धिक ओजको खुलासा भएको छ । यसर्थ यो कृति एक महत्तम र उत्कृष्ट सावित छ ।

सोह्र निबन्धहरू छन् यस कृतिमा र सोह्रै आना राम्रा पनि । सायमीको जीवनका समग्र उहापोहहरू छताछुल्ल पोखिएका छन् हरेक निबन्धहरूमा । हरेक निबन्धसँग फरक फरक टेस्ट छ , फूलको पत्रपत्रमा सुगन्ध भएजस्तो, मानौँ । शङ्कर लामिछानेका निबन्धहरूबाट प्रभावित उनले निबन्धमा शङ्कर लामिछानेको अनुपस्थितिलाई मेटाइदिन सफल छन् । शङ्करले एब्स्ट्रयाक्ट चिन्तन प्याजमा जसरी प्याजका पत्रपत्रझैँ मानेर जीवनको पत्रपत्रको  नयाँ उत्खनन् गरेका छन् ,हो यिनको रचनामा पनि जीवनका भित्री तहहरूको स्वरागपूर्ण विश्लेषण पाइन्छ ।

बम्बई,गुरू र बर्षादी दिनहरू

यो उनको स्वकथा जस्तो छ । आफ्नो भाग्य खोज्दै हिँडेको एउटा पात्रको सपाट विश्लेषण हो –यो निबन्ध । “एउटी आमाले सातवटा बच्चा जन्माउन सक्छिन् तर कसैलाई उनको कर्म र भाग्य दिन सक्दिनन् ”। भाग्य र कर्म आफैँले बनाउनु पर्ने र यो उपहारसिद्ध कसैबाट प्राप्त नहुने तर्फ सङ्केत यसमा उदृत छ । बम्बईमा फिल्ममा खेल्ने अभिलाषा बोकेर पुग्नेहरूको एउटा दुखलाग्दो कथाको अनुशीलन हो –यस निबन्ध । रोबर्ट फ्रस्टको यो कविता उनको जीवनको प्रेरणा भएको स्विकारेका छन् –
द उड्स आर लभ्ली ,डार्क एन्ड डिप
बट आइ ह्याभ प्रमिसेस टु किप
एन्ड माइल्स टु गो बिफोर आइ स्लिप,
एन्ड माइल्स टु गो बिफोर आइ स्लिप !

अज्ञात प्रदेशतिर

यो संस्मरणात्मक निबन्ध हो । इन्डियामा पलाएन भएका नेपालीहरूको गह्रुङ्गो व्यथा समेटिएको यो निबन्धले नेपालले गुमाएका कतिपय भूमीहरूसँगको नेपाली नाता र हिसाबकिताबरू सम्झाउँछ र त्यहाँकाहरूले पोखेको नेपालप्रतिको मायालाई इङ्गित गर्ने विषय त्यहाँ लक्ष्मीप्रसाद देवकोटाका र महेन्द्रका विचारहरू राखिनुले जीवित गराएको छ भन्ने पुष्टि गर्छ । यो दैनिकीपरक निबन्धले जटिल संवेगहरूको एउटा बहाव समातेको छ ।

चैत्र तीनको सम्झना

नेपालमा विभिन्न जनआन्दोलनहरू विविध नाममा भएका छन् । ती सबै जनआन्दोलनका  उद्देश्य पूरा भए वा भएनन् । यसमा कसको सबलता रह्यो र कसको दुर्बलता । यी आआफ्नै ठाउँका विषयहरू हुन् । तर ती जनआन्दोलनमा स्रष्टाहरूको योगदान अमूल्य रह्यो भन्नेमा सम्पूर्णत ः सत्यता छ । गोपालप्रसाद रिमालको “आमा त्यो आउँछ ...”,“एक युगमा एक दिन एक चोटी आउँछ...” देखि श्रवण मुकारुङको “मालिक म बौलाएँ... ” र विप्लव ढकालको “यही झन्डाबाट निकाल्छु घन र फुटाउँछु...” सम्म जताततै विद्रोहको झन्डा उचालेर सही समय आगमनको कामना गर्ने पङ्क्तिमा सर्जकहरू अग्रसर भइरहे तर सर्जकहरूको भूमिकाको कदर कहीँबाट हुन नसकेको मनोवेगहरूको उद्वेलनको अभिव्यक्ति हो चैत्र तीनको सम्झना । यिनीहरूले कहिल्यै टायर बालेनन् ,यिनीहरूले कहिल्यै कसैको घर  फुटालेनन् र कहिल्यै नेपाल बन्द गरेनन् र यिनीहरूले कहिल्यै न्याय पाएनन् । हो तर शक्तिको आडमा होइन विचारको आडमा न्याय खोज्छन् सर्जकहरू भन्ने विषयको उठान यो रचनाले नजानिदो ढङ्गबाटै गरेको छ ।
यहाँ उल्लिखित एक वाक्य यस्तो छ –“तपाईँहरू कवि लेखक हो कि कुकुर ?”यो सरकारी प्रहरीहरूले बोलेको वाक्य हो । त्यस्तै अर्को प्रसङ्ग छ –“हिमाली शान्ति राज्यमा कवि–लेखकको क्रन्दन ”। यो बीबीसीसँग नेपाली राज्य पक्षधर कविले दिएको इन्टरभ्यू ।

मेरा नजरमा रमण प्यारा छन्

यो उनको आत्मकथनात्मक निबन्ध हो । दक्षिण भारतीय मूलका एक ख्यातनामा रमण महर्षिलाई उनले यस निबन्धमा गुरु मानेका छन् । धेरै महर्षिहरू (रजनीश ओशो,परमहंस योगानन्द, जे कृष्णमूर्ति, यूजी कृष्णमूर्ति,विवेकानन्द,रामकृष्ण परमहंस,साईबाबा ,दलाई लामा,शिवपुरी बाबा आदि ) को खोज र अध्ययन पछि उनले रमणलाई गुरु मानेको बताएका छन् ।
प्रकाश सायमीको यो निबन्ध मूलत ः उनका रहर इच्छाहरूलाई पाठकसामु प्रस्तुत गर्ने एउटा कलात्मक निबन्ध हो । यसमा प्रकाशका तरङ्गहरू आरोह–अवरोह भएर हिँडेका छन् । उनी लेख्छन् –
ऊ कवि भयो छत्तिस सालको आन्दोलनपछि ।
ऊ अभिनेता भयो अस्कलमा बायोलोजी पढ्न नसकेपछि ।
ऊ फिल्मकार भयो रङ्गकर्म त्यागेपछि ।
.....................................
उनी बोर्डमा नउत्रेका कारण उनका पिताश्री रिसाएको विषयलाई पनि थोरै उठाएर विश्राम दिएका छन् ।

भैरवी थाटको सन्ध्यास्वर

–दाई यो देश सधैँ यस्तै हो त ?
–के हामीले भावीपुस्तालाई हस्तान्तरण गर्न लायक नयाँ नेपाल छ त दाई ?
–सर ! दुख किन घरीघरी हामीलाई नै परिरहन्छ ?
–तपाईँले राम्रो कुरा सोध्नुभो । दुख सधैँ चञ्चल हुन्छ । त्यो स्थाई हुन्न । त्यो कहिले तपाईँसित,कहिले मसित आएर बसिरहन्छ । यसले कहिले एकै ठाउँमा बस्न मन गर्दैन । योसँग त्यो क्षमता छैन ।
यी भलाकुसारीहरूमा दर्शनको व्यापकता प्रशस्त छ । यस निबन्धमा गायनका विषयप्रसङ्गहरू उठेका छन् ।

विविध भारती भर्सेज क्याप्टन राणा

यस लेखनमा उनले प्रशंशा गर्ने र उनको प्रशंशा गर्ने यो समाजले अलि कम चिनेको वा यसको एउटा अनरिकग्नाइज्ड पात्र विशेषको चर्चा छ । जनकबहादुर राणा ,एक भारतीय भूमीबाट नेपाल छिरेका र बन्दुक छाडेपछि कलम समाएका एक पूर्व क्याप्टेन र जीवनको उत्तरार्धमा साहित्य लेखनीमा लागेका व्यक्ति हुन् र उनले प्रकाशलाई सुरेन्द्र पाल र विविध भारती नाम प्रदान गरेकाप्रतिको चर्चा छ –यस निबन्धमा ।

बाँकी समय र सम्झना

हरिभक्त कटुवालसँगको सामिप्यताले लेखाएको यो निबन्धमा उनले हरिभक्तले अटोग्राफ दिन नमानेको प्रसङ्गलाई अवतरण गराएका छन् ,कारण थियो हरिभक्तका विचारमा अटोग्राफ लेख्नु भनेको बिर्सन सहयोग पु¥याउनु हो । यहाँ एउटा प्रसङ्ग उल्लेख छ–रक्सी खान्थे कटुवाल ,मात्थे देवदत्त ठटाल,लड्थे पछारिन्थे कटुवाल,दुख्थ्यो हिमालय लोहनी र सुरेन्द्रनाथ लोहनीलाई ,गीत लेख्थे कटुवाल,गाएर जम्थे नारायणगोपाल । यानेकी यहाँ कटुवाल अलराउन्डर थिए । कटुवालका मर्मस्पर्शी गीत र कविता पछाडिको उनको अप्ठ्यारो जीवनगत परिचय र केही त्रुटीगत स्वभावको आँकलन यस निबन्धमा  उल्लेख गरिएको छ ।

धुस्वाँ ःकहिल्यै नझर्ने पूmल

धुस्वाँ सायमीको जीवनीगत् यथार्थमा घुमेको यो लेखन धुस्वाँलाई चिरपरिचित राख्न सहयोगीसिद्ध छ । उनले लेखेका छन्– धुस्वाँ नेपाली साहित्यका अन्तर्राष्ट्रिय दूत हुन् । धुस्वाँ कविता लेख्थे । उपन्यास लेख्थे । उनका सिर्जनाहरू नेपाली ,नेवारी,हिन्दी लगाएतका भाषामा पढ्न पाइन्छ । उनले बोलेका थिए –संसारका सबै भाषाहरू बराबर छन् ,शायद् यसैले उनलाई धुस्वाँ सायमी बनायो । धुस्वाँलाई प्रकाश सायमीले लेखनको कोशौँ टाढासम्म पनि मान्छे नै खोजिरहने एउटा सर्जकका रुपमा चिनाएका छन् । डा.तारानाथ शर्माका अनुसार धुस्वाँर्का गङ्की’ एउटा पाथफाइन्डर किताब हो  र हाम्रो पनि धुस्वाँ एउटा पाथफाइन्डर नै हुन् कुनै द्विविधा छैन ,प्रकाश यस्तै बताउँछन् ।


ध्रुवचन्द्र गौतम ःएउटा अलिखित कथा

ध्रुवचन्द्रको पियक्कड स्वभाव र पुरस्कारमोहप्रति शालीन व्यङ्ग्य गरेका यिनले यो निबन्धमा उनको अध्ययनशील गुण ,स्मरण क्षमता र आख्यानलेखनको खुबीलाई हार्दिकताका साथ स्विकारेका छन् । यो निबन्धमा केही रुपमा कलाको कमी देखिएपनि प्रभावजनक भने अनुभूत हुन्छ ।

देवकोटा ः स्मृति प्रदेशमा

लक्ष्मीप्रसाद देवकोटा उनको समकालीन समयदेखि हालसम्म एकोहोरो नेपाली साहित्यमा छाइरहने कालजयी सर्जक हुन् । यस निबन्धमा सायमीले देवकोटा र गालीब ,देवकोटा र हरिवंश राय बच्चन ,देवकोटासँग पन्त ,निराला र प्रसाद आदिसँगको दाँजोहरूलाई प्रस्तुत गरेका छन् । देवकोटा र गालीबको तुलना यसरी भएको छ –
–गालीब आपूmले कमाएको तलब लिएर कहिल्यै घर आउँदैनथे भने देवकोटाका हातमा पनि सङ्क्रान्तिको दिनसमेत तलब हातमा हुन्नथ्यो ।
–गालीब पनि राजशाहीका बेला पीडित कवि थिए ,जस्तो देवकोटा पनि त्यस्तै समयका प्रतीक बने ।
– गालीबका बेला तत्कालीन शासक बहादुर शाह जफर पनि कवि थिए ,देवकोटा समयमा तत्कालीन शासक महेन्द्र पनि कवि थिए ।
–गालीबले ढल्दै गरेको मुगल साम्राज्य र उठ्दै गरेको ब्रिटिस शासन दुबै देखे त्यस्तै देवकोटाले पनि ढल्न लागेको राणाशासन  र त्यसपछिको राजशाही शासन दुबै देखे ।

देवकोटा एक चमत्कारिक व्यक्ति थिए व्यवहारमा र साहित्य दुबैमा । या भनौँ साहित्यलाई नै व्यवहार बनाएका थिए । ओशो भन्छन् –“ह्वाट् यु डु द्याट् सुड बी योर स्टेट अफ माइन्ड” । हो देवकोटा त्यस्तै थिए । देवकोटाको सम्झनालाई डम मोरेले आफ्नो प्रिय आमासँग तुलना गरेर  उठाएका प्रसङ्गलाई सायमीले यसरी जोडेका छन् –“सी वाज पेनफुल्ली थिन् ,थिनर  द्यान देभकोटा ह्याड् बिन ,एन्ड हर ग्रे हेयर स्ट्र्यागल्ड फ्रम हर बर्ड फ्रेल स्कुल”। सायमीको यो लेखन पनि सशक्त छ ।

कैयन् कमलेश्वर ःकैयन् पाकिस्तान

यो निबन्ध सायमीले आफ्नो वाक्कलाबाट आफैँ प्रभावित भएर लेखेको निबन्ध हो । आपत् परेपछि कहिल्यै दगुर्न नसक्ने मानिसपनि म्याराथुन धावकजस्तो दौडिन सक्दोरहेछ ,यस्तै साविति दिने यो लेखनमा आफ्नो मनपर्ने लेखकप्रतिको सम्मोहन् ,श्रद्धा र आस्थाको पनि प्रकटिकरण भएको छ र्। कित्ने पाकिस्तान’ कृतिका लेखक कमलेश्वरको विशेषत ःयसमा चर्चा छ ।

गुलजार ः फुर्सतका रात र दिनमा

गालीबको तेस्रो नोकर हुँ भन्ने गुल्जारसँग गासिँदै प्रकाश लेख्छन् –म पनि शायद् शङ्करको कुनै नोकर हुनसक्छु ,जो आजसम्म बाँचिरहेको छ । उनी गुल्जार लेख्छन् ,पढ्छन् ,बोल्छन् । गुल्जार लेख्दै उनी भन्छन् – गुल्जार सम्झिन मलाई कुनै फुर्सद्का रात र दिन चाहिँदैन । उनी गुल्जार यसरी पढ्छन् –

नाम सोचेकै थिएन ,छ कि छैन र्
अमा’ भनेर बोलाए एकजनालेर्
ए जी’ भनेर बोलाए अर्कोलेर्
अबे ओ’ यार भन्दछन्
जो पनि जे जस्तो आउँछ
उसले त्यसरी नै पुकारे
तिमीले एउटा घुम्तीमा अचानक जब
मलाई गुलजार भनेर दियौ आवाज
एउटा सिपीजस्तै खुल्यो मोती
मलाई एउटा माने मिलेजस्तै भयो
आहा !यो नाम राम्रो छ
फेरि मलाई नामले बोलाऊ त ।

बोर्खेसको जीवनमा कविताको असर

बोर्खेस अराजक कवि थिए । उनले लेखे –

यदी म जीवन फेरी बाँच्न पाउँछु भने
अर्को क्रममा म कोशिश गर्नेछु
म अझै धेरै गल्ति गर्नेछु ।

प्रकाश  बोर्खेस मन पराउँछन् । उनको चक्कु मन पराउँछन् । चक्कुजस्तै चक्कु कविता । बोर्खेसहरूसँगै भुलिरहन चाहन्छन् अधिकाधिक ।
“समय यो पदार्थ हो,जसमा म बनेको छु ।समय एउटा छाल हो ,जो मलाई बगाउँदै लैजान्छ तर म छाल हुँ । त्यो चितुवा हो जो मलाई चिरफार गर्दछ तर म चिता हुँ । त्यो आगो हो जो मलाई निल्न खोज्छ तर म पनि आगो हुँ । दुनियाँ दुर्भाग्यवश असली हो–दुर्भाग्यवश म बोर्खेस हुँ ”।यसले सायमीलाई चित्त बुझाइदिएको छ।
“चमत्कार गर्ने सुविधाबाट देवता भलै विचलित भएको होस्,लेखक होइन । लेखक हमेसा अतीतलाई बदल्न सक्दछ ...। काफ्कालेजस्तै । ऊ स्वयम् आफूभन्दा पहिल्यै आउने कुराको रचना गर्न सक्दछ” । सायमी यी पङ्क्तिहरूमा अल्झिरहेका छन् । बत्तिको सम्मोहनले ग्रसित पुतलीजस्तो । ती पुतलीहरू नबाँचेका रेकर्डहरू प्रायश ः हुन्छ तर यिनी झन् उफ्रिउफ्रि जीवनतिर फर्किन्छन् ।

मीराबेलाको सङ्गीतमा एकालाप

अष्ट्रियाका अभिव्यक्तिवादी कवि यार्क त्राक्लको जीवन परिमितिहरूमा घुमेको यो निबन्ध एकालापमा आधारित छ । कवि ,लेखक ,सङ्गीतकार ,गायक ,गीतकार आदि (समग्रमा सर्जक) हरूको जीवन अलि बढी अव्यवहारिक भेटिने विषयवस्तुको बयान छ यसमा ।“ आत्मा   यो धरतीको एउटा अपरिचित जस्तै हो ”,यो यार्क त्राक्लले आफ्नो किताबमा उतारेको एक दार्शनिक एवम् आत्मिक कथन हो । यी र यस्तै विषयप्रसङ्गहरू विशेषत ः उठान यस निबन्धमा गरिएको छ ।

शङ्कर लामिछाने ः व्यक्ति र अतीत

शङ्रकर लामिछाने नेपाली निबन्धलेखनको एउटा नयाँ आयाम र छुट्टै इतिहास हुन् । यिनको नवीनतम शैली र पठनबोधले नेपाली निबन्धलाई नयाँ तर सशक्त मार्गतिर डो¥याएको छ । प्रकाश सायमीको निबन्धलेखन पनि लामिछानेको लेखनसापेक्ष देखापर्दछ । तर उत्तिकै शक्तिका साथ । यिनी शङ्करको जीवन उत्खननमा पनि त्यत्तिकै सक्रिय भएर लागेका छन् । विषय वा प्रसङ्गले अर्को अर्थ नलाएमा यिनी शङ्करले थाहा नपाएका तर शङ्करका धर्मपुत्र सिद्ध छन् । उनी लेख्छन्–
–भूमिकाको आतङ्क मच्चाउने शङ्कर
–प्रयोगलाई परम्परा मान्ने शङ्कर
–सङ्गीत र चित्रकला अँगाल्ने शङ्कर
–कृतिश्वको सदैव दावा गर्ने शङ्कर
–पढ्न र पढाउन रुचाउने शङ्कर
–चोरीको आरोप बिनाढोङ स्वीकार्ने शङ्कर
–आपूmलाई लेखक हैन इन्टरप्रिटेटर मान्ने शङ्कर
शङ्कर ! शङ्कर !! शङ्कर !!! यानेकी रमण महर्षि भन्दा धेरै प्रकाशले शङ्करलाई गुरुझैँ मान्छन्जस्तो लाग्छ मलाई ।

एउटा लेखकको खोजीमा

प्रकाश सायमीमा किताबप्रति कति मोह छ भन्ने कुरालाई प्रष्ट्याउने यो सर्वोच्च लेखनी हो । यस निबन्धमा उनले आपूm साहित्यकार इन्द्रबहादुर राईले कुनै कार्यक्रमका सन्दर्भमा धेरै अगाडि नाम लिएको एउटा किताब र तिनको लेखक पत्ता लगाउनुको ध्येयले गाँजिएको तर सो उपन्याससापेक्षको उपन्यासका लेखक धेरै खोजपछि फेला पारेको तर सो उपन्यास आजपर्यन्त फेला नपरेको नमीठो पीडा पोखेका छन् । यो उपन्यास थियो रोब ग्रियरर्को इरेजर’ जुन उनले आजसम्म खोजिरहे ।सायमी पुस्तकका अध्ययनका निम्ति काकाकुलजस्तो भएर लागिरहन्छन् । खै ! कुन त्यस्तो इन्टरनल पावरले गाइड गर्छ उनलाई ?,थाहा छैन ।

प्रकाश सायमी विशत् प्रतिभा भएको एउटा जल्दोबल्दो व्यक्ति हुन् । उनमा भएको अध्ययन खुबी ,त्यसपछिको स्मरण खुबी ,अझ त्यसपछिको त्यसलाई वाक् क्षमताका साथ अभिव्यक्ति दिनसक्ने खुबीको जति प्रशंशा गरेपनि कम हुन्छ । उनी चर्चामुखी मान्छे हुन् कि ? भन्ने द्विविधाले कहिलेकाहीँ म सताइएको पनि छु । तर म डार्विनर्को स्ट्रगल फर एक्जिस्ट््यान्स’ सम्झिन्छु । ऊ भन्छ र्–डु अर डाइ’ । प्रकाशले आफूलाई देखाउन चाहेनन् वा लुके  भने त प्रकाश, प्रकाश हुने छैनन्,यसकै निम्ति त सङ्घर्ष छ यो संसारमा । डार्विन भन्दै जान्छ –सङ्घर्षमा सफल हुनेहरूको अस्तित्व रहन्छ र विफल हुनेहरू विलुप हँदै जान्छन् । यही सम्झिन्छु म,हुन पनि यही नै त हो सत्य । प्रकाश विलुप भइदिएका थिए भने हामी रेइनिङ् डेज् पढ्दै हुने थिएनौँ,शायद् ।

‘वर्षादी दिनहरू’ उनको दैनन्दिक कृयाकलापहरूलाई सहज चिनाउने एउटा परिचायक किताब पनि हो । उनको नयाँ पुस्तक पढ्नुको रुची ,राम्रो पुस्तक पहिचान गर्ने सामथ्र्य र लाइब्रेरी मोहको एउटा सत्यता बोध गराउने किताब हो यो । उनी भन्छन् —कुनै नयाँ किताब पढेर सिरानीमा राख्न पाएको दिन उनलाई राम्रो निद्रा पर्छ ,यदी उनी कहीँ भेटिएनन् भने लाइब्रेरीमा भेटिनेछन् ,यस्तै ।

दर्शनको विपुलता ,अध्ययनप्रभाव,जीवनप्रतिको अस्तित्वबोध,सामयिकता,कलात्मकता,बिम्ब र प्रतीकको उचित संयोजन ,यो यस पुस्तकका मोहक पक्षहरू हुन् ।

झरना गाउँछ,बादल उठ्छ
स्पष्ट नीलोमा सेतो र क्लिष्ट
मौन मान्छे विचार्दै हिँड्छन्
सन्ध्याकालमा पुरानो बगैँचाको बाटो भएर
पुर्खाका चिहानको चिप्टो खैरोमा परिणत हुन्छ
परेवाका लहरहरू दूरीमा फरक देखिन्छन्
एउटा टँुडाल मृत आँखाहरूले हेर्छ
प््रााचीन रुखबाट पातहरू रातै झर्छन्
र ती खुल्ला झ्यालभित्र फन्फन्ति घुम्छन्
अग्निज्वाला कोठेरीभित्र बल्छ
अनि रङ्ग कठ्याङ्ग्रिएर धमिलो देखिन्छ
एउटा श्वेत अजनवी घरभित्र पस्छ
एउटा कुकुर खिइएको गल्लीमा चाट्छ
नोकर्नी बत्ती देखिने गरी बाल्छिन्
मध्यराततिर कानहरू एकालापका ध्वनीहरू सुन्छन्

यही एकालापहरू सँग निद्र्वन्द रम्ने यिनी सांसारिक पुरस्कारहरू लिन चाहँदैननन् ,शायद् जीवनलाई पहिलो र अन्तिम पुरस्कार सम्झेका छन् ,शायद् सबैभन्दा ठुलो पुरस्कार यो जिन्दगीको अर्थ घटाउन चाहँदैनन्,अर्को पुरस्कार थापेर,तर मलाई थाहा छैन यसबारे ।

यिनको अर्काे महत्वपूर्ण काम भनेको लेखनमा केही नयाँ शव्दहरूको बुनोट  आफ्नै ढङ्गले निर्माण गर्नु हो । केही निश्चित शव्दहरूको सम्मिलन लेखमा आयो भने त्यसले प्रकाश सायमी सम्झाउँछ । ‘भावक’, यो शव्दले प्रकाश सायमीको उपस्थिति बोध गराउँछ ,लेखनीमा किनकी यो शव्द अत्यधिक प्रयोग गर्नेमा यिनी पर्दछन् । सायमी धेरै विधाहरूमा सम्मिलित रहेपनि सबैमा उत्तिकै सशक्तता रहनु जादुमयी लाग्छ । यो जो कोही सामान्य मानिसमा असम्भवप्राय ः कुरा हो ।

सायमीको कलमले सदैव उत्खनन् गरिरहोस् –जीवनका हर पत्रपत्रको । शुभकामना । अस्तु ।                          

Sunday, April 25, 2010

yug pathakko upanyas urgenko ghodamathi tippani.

उर्गेनको घोडा,एउटा विषम समयको अनुवाद

सुवास खनाल

सेतासेता घोडाहरूका हजारौँ आकृतिहरू हिउँ फुस्फुसाएझैँ कोठाभरि रङमङिएका थिए ,सम्पूर्ण कोठा त्रिआयामिक क्यान्भासझैँ लाग्थ्यो , र यो घोडा हो उर्गेनको घोडा । एउटा अमुर्त पोटे«टजस्तो घोडाको बयान छ यहाँ ,कथाको शुरुवाततिर ।

यो कथा होइन वास्तविकता हो । तपाईँ ,म वा जो कोही थोरै वा धेरै  यहाँ अभिव्यक्त पीडाहरू भोग्नेमा पर्छौँ नै । मात्र यत्ति हो कसैले एकथरीबाट पीडा पाए होलान् कसैले अर्काथरीबाट । यो नेपालको एउटा समयको आशिंक झझल्कोजस्तो पनि हो । किताबहरू सँग डराउनुको पीडा । आफ्नै घरका कोठाहरू ,खेत र खलियानहरू सँग डराउनुको पीडा । आफ्नै घरगाउँलेहरू र छिमेकीहरूसँग  आशङ्कित हुनुपर्ने अवस्था ,यो जत्तिको विषमताहरू अझै पनि सम्झनामा कुनै डरलाग्दो भूतको कथाजस्तो भई दिमागहरूमा घुमिरहन्छन् । समयले हिर्काएको एउटा दरिलो झापड आजसम्म उत्तिकै दुखिरहन्छ । कथाहरू छन् ,सहज÷असहज ,सामान्य÷जर्जर,राम्रा÷नराम्रा तर प्रत्येक कथाहरू  सत्य हुन् ।

म्हेन्दो , पल्लवी ,दिग्विजय,विद्रोह आदि उपन्यासमा प्रमुख पात्रहरू जस्तो देखा पर्दछन् । तर उपन्यासकारको मुख्य चलाखी यहीँ छ ,हामी म्हेन्दो र पल्लवीका कथाहरू पढ्न खोजिरहेका हुन्छौँ तर उनीहरूको माध्यमबाट हामी पढिरहेका हुन्छौँ, नेपालको बाह्र वर्षे द्वन्द ,थाहा अभियानका प्रणेता÷अभियन्ता रुपचन्द विष्ट ,द्वन्दको समयमा रहेको प्रहरी र छापामारहरूको मानसिकता आदिआदि । यो उपन्यास कथाहरूको एउटा शृङ्खला बोकेर आउँछ । फेरि त्यो त्यहीँ रोकिन्छ र अर्को क्रम भर्न थाल्छ,गाग्रोमा पानी भरेजस्तै । बटुकोले वा सानो मगले वा सानो अम्खोराले गाग्रोमा पानी खन्याउनु ,खन्याउनु र फेरी खन्याउनजस्तै । तृप्तताकोृ एउटा सग्लो अनुभूति हुन्छ, उपन्यास सकिएपछि । कथा बुनाई कलात्मक छ – कुनै रुमालमा भरिएको प्रकृतिको एउटा सर्वोत्कृष्ट कोल्याजजस्तो ।

उर्गेनको घोडाको लगाम बहुत राम्रोसँग समात्न सफल छन् –युग पाठक । यसमा ‘उर्गेनको घोडा’ नामक एउटा उपन्यास शृङ्खला ‘लाल पाइलो’ पत्रिकामा विभिन्न व्यक्तिहरूले पढिरहेको कथनात्मक अभिव्यक्ति दिँदादिँदै यसको सम्पूर्णत ः कथा बताइसक्छन् उनी । कहिले ‘उर्गेनको घोडा’ सुमेरु सहरको एउटा व्यक्ती मौसम र उसकी पत्नी (सचेतजस्तो,मानौँ) पढ्छन् त कहिले प्रहरी जवान दलसिङ तामाङ र उसकी श्रीमती म्हेन्दो त कहिले जेलभित्रकी महिला छापामार राधिका ,फूलमाया त्यस्तै सेनाका कर्नेल र जर्नेलहरू ,अनि पढ्न बजारमा बसेको सुबोध आदिआदि । सहरमा यो पत्रिका वर्जित गरिएको हुन्छ र यही पढ्नुको कौतुहलता सबैसँग व्याप्त हुन्छ । मौसमले घरमा पुलिस आएको शङ्कामा ‘लाल पाइलो’ पत्रिकाको खोल च्यातेर फ्याँक्दाको हताश अवस्था भोग्नुको पर्याय हामीहरू पनि बाँचिरहेका छौँ र थियौँ,शायद् विविध अर्थमा । यो उपन्यास विशृङ्खलित शृङ्खलाहरूको एउटा परिपूरक सिङ्गो कथा पनि हो । यसमा सवाल्टर्नीय यथार्थता पाइन्छ । एउटा गर्भिणी छापामारको युद्धप्रतिको मोह र उनको शारीरिक अशक्तताले युद्ध छोड्नुपर्ने बाध्यात्मक परिस्थितिलाई निकै महत्वपूर्ण र प्रभावकारी ढङ्गबाट बयान तथा विश्लेषण गरिएको छ –उपन्यासमा । समयको चक्काहरूले पेल्दै र थिच्दै लगेको मान्छेहरूको सजीव कथा जसरी उठेको छ ,त्यो मोहकजस्तो र प्रिय छ ।

विशेषत ः तामाङ् जातिको इतिहासको उत्खनन् गर्न खोजेर यिनले अन्य जातजाति र समुदाय सबैसँग उस्तै कथा र व्यथाहरू लुकेकोप्रति औँल्याएका छन् ।

उर्गेन राजाको नजिकको मान्छे हो । ऊ घोडचढी र शैन्य विधामा पारङ्गत र निकै कुशल छ । युद्धमा राजाको हत्या भइसकेपछि पनि ऊ जीवित रहेर उसले पुनः आफ्नो शैन्यबल शुदृढ गरेर खस शेनामाथि आक्रमण गरी विजय प्राप्त गर्दछ । अनि आफ्ना साथी र सम्प्रदायको सुरक्षामा तल्लिन रहन्छ तर एकदिन उर्गेन र उसका राजाहरू लाई खस सेनाले कुनै विषयमा विशेष छलफलका निम्ति बोलाउँछन् र षडयन्त्रपूर्ण तरिकाले उनीहरूको हत्या हुन्छ । उर्गेनको र उसको सेतो घोडाको टाउको काटिन्छ ।उनीहरूको शरीरको टाउको र गिँडलाई याबेङ् खोलामा बगाइन्छ । एउटा पाशविक र नृशंश हत्या गरिन्छ उर्गेन र उसको घोडाको ।

‘याबेङ खोला’ यो एउटा इतिहासको डरलाग्दो सत्यता बोक्ने खोला हो । तामाङहरूमा यो खोला काटेर जानुहुँदैन र यदी यो खोला काटेर  कुनै तामाङहरू गएभने उनीहरू फर्कदैनन् (मर्छन् या मारिन्छन् ) भन्ने  विश्वास अद्यापी जिउँदै छ । यही याबेङ खोलाको किनारमा तामाङ्गी राजा र उनका मान्छेहरूलाई वार्ताको लागि बोलाएर षडयन्त्रमूलक र बद्नियतपूर्ण ढङ्गबाट मारिएको कथा उल्लेख गरिएको यस उपन्यासमा उपन्यासकारले त्यसबेलादेखि नै तामाङ्हरू हार्ने वर्गमा परेकाले  यिनीहरू माथि दमन र शोषण रहँदै आएको उल्लेख गरेका छन् । तामाङहरूलाई हेपेर ‘भोटे’ र ‘छोटो बुद्धी भएको’ भनी भन्न थालिएको कुराको पनि जानकारी गराएका छन् । त्यस्तै ‘भोटेको बुद्धी पछि आउँछ’ ,‘यिनीहरू हारेर भागेर पहाडका टुप्पाहरूमा बस्न पुगेका हुन्’,‘यिनीहरू जाँड र रक्सीका पोकाहरू हुन्’ ,‘यिनीहरू ढोके,हुक्के,छाते,रिक्साचालक आदिभन्दा माथिका हैसियतका होइनन् ’ भन्नेजस्ता कथनहरू समाजमा पर्याप्त सुनिने विषयप्रसङ्गहरू पनि उनले उठान गरेका छन् ।

यिनको सर्वोच्च सशक्तता भनेको उपन्यासमा राजनीतिक विषयवस्तुको उठान भएता पनि त्यसमा कटुता ,आक्रोश,द्वेश,क्लेश,रुष्टताको अभिव्यक्ती छैन । सौन्दर्यपूर्ण ढङ्गबाट क्रन्तिचेतनाको उजागर गर्न सक्नु उनको ठुलो खुबी मान्नुपर्छ । उपन्यास पढ्नमा कठिन छैन ,बिम्ब र प्रतीकहरूको अत्यधिक प्रयोग हुनुले उपन्यासको सुन्दरता वृद्धि भएको छ ।

यिनले जुन जीवनको पारडक्सेस र कन्ट्राडिक्सनहरू छन् तिनीहरूको गतिलो फ्युजन गर्न खोजेका छन् र सफल छन् । एउटा गर्भिणी आइमाईमान्छे (म्हेन्दो) युद्धमा हिँड्छे वा हिँड्न चाहन्छे भने त्यहाँ विध्वशं र सिर्जना सँगसँगै उपस्थित गराउन खोजेका छन् । हुनसक्छ वास्तविकतामा यो कति सहज छ , आआफ्नो विश्लेषण र अनुभवहरू सँगको तादात्म्यता खोज्नु ठीक हुन्छ । तर सहज, असहज जेभएपनि युद्धको वास्तविकता भने यही हो । अर्को एउटा अद्भूत् कुरा के भइदिन्छ भने म्हेन्दोको जीवनसाथी जो हो (विद्रोह), ऊ पूर्व सरकारी सेना हो र यिनीहरूको सम्मिलन पनि अनौठो सिद्ध छ । यहाँ पनि एउटा पाराडक्स नै छ ,मानौँ ।

म्हेन्दो कुनै एउटा सैनिक ब्यारेक आक्रमणमा सरिक रहेकी हुन्छे ,त्यहाँ सरकारी सेनाले हार्ने परिस्थिति बन्छ । त्यहाँ खटिएको एउटा लप्टन हुन्छ धर्मवीर क्षेत्री । लगभग धर्मवीर र अन्य एकाध सेनामात्र बाँकी रहेको स्थिति बन्छ शैन्य टुकडी । उनीहरू एउटा ट्रेन्चमा हुन्छन् र त्यहाँबाट निकालेर आफ्नो कब्जामा लिने काम म्हेन्दोको रहेको हुन्छ । यही बीचमा म्हेन्दोको आकर्षणमा सम्मोहित हुन पुग्छ धर्मवीर । म्हेन्दोको हातमा बन्दुक हुन्छ । उनीहरू म्हेन्दो र उसका साथीहरूको कब्जामा पर्छन् । यस्तो क्रिटिकल सिचुयसनमा समेत धर्मवीर म्हेन्दोको लामो कपाल, उसका बन्दुक बोकेका सुहाएका हातपाखुराहरू , सँगैको आत्मीय हिँडाइ आदिले गाँजिन पुग्छ म्हेन्दोको आकर्षणमा । पछि यही पात्र धर्मवीर थापा सेनाबाट विद्रोह गरेर आई जनसेना ‘विद्रोह’ बन्छ यानेकी म्हेन्दो र ऊ पे्रमीप्रेमिका हुँदै श्रीमान्श्रीमतीको सम्बन्धमा गाँसिन पुग्छन् । यसरी प्रेमलाई युद्धसँग फ्युजन गर्न सक्नु यिनको निकै ठुलो खुृबी बनेको छ यस उपन्यासमा ।

मृत्यु,मृत्यु अनि मृत्यु ।

यो जनयुद्ध हो कि मृत्युउत्सव ?

मोर्चामा मर्नु छँदै छ ,दुर्घटना उत्तिकै छन् ।कोही साथीहरू बम बनाउँदा बनाउँदै पड्केर मरेका छन्,कोही हिउँले पुरिएर मरेका छन् ,गाउँघर ,सहरबजार अब त मृत्युको खबर भन्दा केही छैन । संवेदना भन्ने चीज नै अब बाँकी रहेन ,मृत्युको खबर पनि अब सामान्य भैसक्यो कसैलाई घोच्नै छोडिसक्यो ।

आफू अघिल्तिरको संसारै कालो रङले पोतिएको क्यान्भासजस्तो लाग्न थाल्यो ,रगतको छिर्का यत्रतत्र रगतको फूल भएर फुलिरहेझैँ ,रगतको शीत भएर टप्किएझैँ ,रगतको पालुवा भएर पलाएझैँ ,रगतको धरहरा भएर उभिएझैँ प्रतीत भयो ।

जनता खचाखच चढेको बसलाई एम्बुसमा पार्नु ? कस्तो उदेकलाग्दो कुरा ।

म अपराधको जिम्मा लिन्न ! म मृत्युउत्सवको जिम्मा लिन सक्दिन ।

देशभर अनेक भिडन्तहरू भैरहेका छन् । ठुल्ठुला लडाइँ, सहरहरू ध्वस्त भएको ,लासहरू यत्रतत्र छरिएका ,ब्यारेकको छेउछाउमा सामूहिक हत्या गरिएको इत्यादीइत्यादी । हिंस्रक बनेका थिए रेडियो फ्रिक्वेन्सीहरू पनि ।
संवेदनहीनताको कत्रो जुलुुस ! यो भयावह इतिहासको च्याप्टरबाटै भाग्छु ।

–एउटा छापामारमा पलाएको एउटा सफेद सोच हो यो ।

साँच्चिकै कुनै समयले हिर्काएको चोट सहँदासहँदै अति विचलित भएपछि मान्छेलाई सबै कुराहरू अप्रिय लाग्न थाल्छ । एउटा घटनाक्रमले बिथोलिएर छापामार बनेको व्यक्तिलाई त्यहाँ अर्को घटनाक्रमहरूले हिर्काउन थालेपछि ऊ पलायनको ठुलो भड्खारोतिर जाँदोरहेछ । त्यही खालको अवस्थाचित्रण पनि उनले यस उपन्यासमा गरेका छन् । युग पाठकको उपन्यास उर्गेनको घोडा एउटा विषम समयको जटिल अनुवाद हो । उनले यसमा एक तरिकाले इतिहाँसको एउटा पाटोलाई गम्भिर विश्लेषण तथा उत्खनन् गरेका छन् । जुन सह्रानीय सिद्ध छ ।

उर्गेन र उसको घोडाको पुनरागमनको प्रतीक्षा यो समयले गरिरहेको छ – उनले यस्तै बुझेका छन् । हरेक क्षण र पात्रहरू उर्गेनको घोडाको नमीठो आकारले पिरोलिइरहेका छन् । याबेङ खोलाहरू अझैपनि उर्गेन र उर्गेनका टाउकाहरू बोकेर बगिरहेको छ । उसको घोडा र घोडाका टाउकाहरू लिएर बगिरहेको छ र उसकै रगतको छालहरू उठिरहेका छन् –याबेङ् खोलाहरूमा । उर्गेनहरू इतिहासमा विजयको अन्तिम सङ्घार टेक्नुअघि काटिने टाउकाहरू हुन् । युग पाठक यस्तै बताउँछन् ,शायद् ।

हरेक अपरिचितजस्ता ,हेपिएका ,थिचोमिचोेमा परेका ,दबाइएका ,सामान्यतया ः माथि उठ्न नसकेकाहरू लाई सम्बोधन गरेर लेख्नु उनको सह्रानीय र प्रशंशायोग्य पक्ष हो तर यिनको लेखक वन डाइमेन्सनालिटीबाट भने बच्न सकेको छैन । जबसम्म समाजको चित्रण थ्री डायमेन्सनल फिगरबाट हुँदैन तबसम्म त्यो कम्प्लिट भने हुँदैन । पूर्णताको फिगरहरूको स्केच यिनीबाट पछिल्ला दिनहरूमा हुनेछ ,यही कामना गरौँ । उनको लेखनीको दमभने यथावत कायम भइरहोस् ।

युग पाठकको निरन्तर सुदृढ लेखनीको कामना । अस्तु ।

लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog