Showing posts with label संस्मरण. Show all posts
Showing posts with label संस्मरण. Show all posts

Sunday, July 9, 2023

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर ।




सुवास खनाल


साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण सञ्चार सेवा समाजले तत्कालीन समयमा कार्यक्रमहरू सञ्चालन गर्दथ्यो । यो २०५६ या ५७ सालतिरको कुरा थियो । उहाँ स्वास्थ्यको कुनै शिविरमा छतिवनमा हुनुहुँदो रहेछ र ग्रामीण सञ्चारको कार्यक्रममा कविता सुनाउनु भएको थियो । उही समयमा मैले पहिलो पटक गणेश सरलाई भेटेँ । उसैबेला उहाँका केही कृतिहरू प्रकाशित भइसकेको र भर्खरै मात्र ‘बङ्गलादेशको सफर’ नामक कृति प्रकाशन भएको जानकारी पाएको थिएँ । 

पछि म अध्ययनको सिलसिलामा हेटौँडा बस्न थालेपछि र साहित्य सङ्गमका कार्यक्रममा निरन्तर उपस्थित हुन थालेपछि उहाँसँगको भेटको सिलसिला बढ्यो । विशेषत ः व्यङ्ग्य सिर्जनामा कलम चलाउनु हुने उहाँ लेखनमा अलिक तीव्र लाग्नुहुन्थ्यो । विषयवस्तुलाई धेरै कलात्मक रुपमा प्रस्तुत नगरी आक्रामक लेखन गर्ने उहाँको शैली थियो । व्यङ्ग्यात्मक कविता , निबन्ध , लघुकथा लगायतमा उहाँको कलम चल्दथ्यो । मकवानपुरमा जनमतका धेरै ग्राहक बनाएर साहित्यिक अध्ययनमा धेरै सर्जकलाई जोड्नुमा उहाँको भूमिका रहेको छ । हेटौँडाबाट निस्किने पत्रिकाका शनिवारीय पृष्ठमा एकै दिन धेरै पत्रिकामा रचना छपाउनु हुन्थ्यो । हामीले एउटामा मात्र प्रेषण गर्दा उपयुक्त हुने सुझाउँदा उहाँको तर्क थियो –धेरैमा छाप्दा धेरै पाठकमाझ आफ्नो रचना पुग्छ र साहित्यको सन्देश जान्छ भन्ने । उहाँ लेखनका अतिरिक्त गायनमा पनि रुची राख्नुहुन्थ्यो । 

उहाँलाई चित्त नबुझेका कतिपय कुरा कार्यक्रममा उहाँ प्रष्टसँग राख्नुहुन्थ्यो । नयाँ पुस्ताका कवि लेखकहरूलाई हौस्याउनु हुन्थ्यो । सङ्गमको अध्यक्ष म आफू रहँदा उहाँ छोराहरूसँग भेटका लागि अमेरिका जानु पर्ने थियो । उहाँले सङ्गमसँगको आबद्धता रहेको चिठी अङ्ग्रेजीमा बनाएर लानु भएको थियो र त्यस निम्ति सहयोग गर्न पाएको थिएँ । बनस्खण्डीमा गोपाल प्रसाद रिमालको प्रतिमा स्थापना ताका त्यो ( उहाँको बसोबास ) भेगमा गर्न पाउँदा निकै हर्षित भएको अनुभव सुनाउनु हुन्थ्यो । उहाँ बाहिर रहेर नेपाल आउँदा पनि त्यहाँका अनुभवहरू सुनाई विश्वमा सुन्दर देश नेपाल रहेको र यहाँ व्यवस्थापन गर्ने नेताहरू गतिलो नहुनाले नेपालले दुख भोगिरहेको तर्क गर्नुहुन्थ्यो । 

नेपालबाहिर हुँदा पनि उहाँ हामीसँग फोन सम्पर्कमा रहीरहनु हुन्थ्यो । विदेश हुँदा पनि हेटौँडाको साहित्यिक गतिविधिबारे उहाँलाई विशेष चासो रहन्थ्यो । समय–समयमा फोन गरेर कुन–कुन संस्थाले कस्ता गतिविधि गरिरहेका छन् भन्ने जानकारी लिनु हुन्थ्यो । उहाँ नेपाल फर्केपछि सङ्गमकै कार्यक्रममा उहाँका अनुभव सुनाउन आग्रह गरेको विषय सम्झनामा ताजै रहेको छ । 

लेखिएका रचनाहरूमध्ये म उहाँका लघुकथाहरूबाट बढी प्रभावित छु । सम्पे्रष्य र तीख्खर लघुकथाका झङ्कार मानसपटलमा अझै झङ्क्रित छन् ।

उहाँको एक लघुकथा –

वास्तविकता 

स्वर्गको राजा इन्द्र निरीक्षणको क्रममा यमलोक पुग्दा त्यहाँ भव्य स्वागत गरियो । राजा इन्द्रलाई त्यहाँको वस्तुस्थितिबारे यमराजले जानकारी गराउँदै सबै देशको आआफ्नो नाम लेखेको कन्टेनर देखाए । 

जुन देशको मान्छे मरेर आउँथे ,त्यो मान्छे नभागोस् भनेर त्यही देशको कन्टेनरमा हाली बिर्को बन्द गरिन्थ्यो ।

राजाले एकएक गरी कन्टेनर हेर्दै जाँदा एउटा कन्टेनरको बिर्को खुला देखेकाले बिर्को नलागाइनुका बारे यमराजलाई सोधे । यमराजले जवाफ दिए –‘सरकार यो त नेपालको कन्टेनर हो । यसको बिर्को लगाउनु पर्दैन । नेपालीहरूमा एकले अर्काको खुट्टा तान्ने परम्परा भएको हुँदा भाग्ने त कुरै छैन कन्टेनरबाट माथि उक्लिन समेत सक्दैनन् । ’

उहाँलाई क्यान्सरको शङ्का भएर इन्डियाको हस्पिटलमा उपचाररत रहनु हुँदा हामीलाई उहाँबारे चिन्ता भइरहन्थ्यो । कार्यक्रमहरूमा उहाँबारे चर्चा हुन्थ्यो । इन्डियाबाट फर्किँदा खानपानलाई सुधारेका कारण अब स्वस्थ रहेको बताउनु हुन्थ्यो । रोगलाई जितेको चर्चा पनि गर्नुहुन्थ्यो । सम्भवत ः उहाँसँगको अन्तिम इन्टरभ्यु ‘बुढ्यौली साहित्य’ कार्यक्रममा मैले गर्ने सन्दर्भ बनेको थियो र सो इन्टरभ्यूमा उहाँले शुद्ध खानपानले क्यान्सरजस्तो रोगसँग लडेर आफू स्वस्थ भई हिँडडुल गर्न सकिरहेको बताउनु भएको थियो । 

रोगपश्चात् पनि हेटौँडाका साहित्यिक कार्यक्रमहरूमा उहाँ आफै स्कुटर ड्राइभ गरेर आउने र फर्किने गर्नुहुन्थ्यो । २०७९ वैशाख –जेठतिरसम्म सामान्य शैलीमा हिँडडुल गरिरहनु भएका उहाँ चुरेहिल हस्पिटल भर्ना हुनुभएको जानकारी म आफूलाई असार ४ गते  भएको थियो । ५ गते भेट्न जाँदा उहाँलाई गारो रहेको जानकारी भयो तर मलाई ‘सुवासजी’ भनेर सहजै चिन्नुभएको थियो । असार ७ गते त उहाँ हामी सबैबाट बिदा हुनुभयो । 

गणेश सर भौतिक रुपमा हामी सबैमाझ नरहे पनि उहाँका कृति र सम्झनाहरू चीर काल पर्यन्त रही रहनेछन् । मानिसले आफ्नो इतिहास आफै निर्माण गरेर जाने गर्दछन् । जसको कुनै इतिहास निर्माण हुँदैन तिनलाई कृतिम बलले पनि उभ्याउन सकिँदैन । जसले आफ्नो इतिहास बनाएर जान्छन् , त्यो कसैले मेट्न चाहेर पनि मेटिँदैन । गणेश सर पनि मकवानपुरको साहित्यमा नमेटिने आफ्नै आकारको इतिहास हो । उहाँप्रति मेरो सदैव सम्मान छ । 


Sunday, June 5, 2022

झरना र यसको आकर्षण

 


झरना र यसको आकर्षण

                                                            –सुवास खनाल

सुरुसुरुमा  झरना साहित्यिक परिवारको कार्यक्रममा  जाँदा  म   कविता  नसुनाई  फर्किन्थँे  । तर एउटा कार्यक्रममा  मलाई  छतिवनमा पढ्ने दाजुहरुले  कविता पढ्न  दिनुभयो । त्यो  झरनाको बृहत साहित्यिक गोष्ठीको सन्दर्भ थियो । म त्यतिखेर  कर्म प्राप्ति  निमाबिमा पढ्थेँ ।  प्रतियोगितात्मक सो कार्यक्रममा  मैले सौजन्यमा प्राप्त गरेको सो कविता पुरस्कृत भएन । जब कक्षा ९ अध्ययन गर्न थालेँ , त्यतिखेर म  महेन्द्र मावि छतिवनको  विद्यार्थी भइसकेको थिएँ । कक्षा ९ को  सामाजिक विषयको  गाइडमा  मैले सो कविता  देखँें । अनि थाहा भयो  यो कविता त साथीहरुले सारेर मलाई सुनाउन दिएका रहेछन् ।

त्यसपछि मैले अलिक लामै समय झरनाको कार्यक्रममा रचना सुनाइनँ । तर कार्यक्रममा भने प्रायशः जाने गर्दथँे । घरमा बुवा ममीले कार्यक्रममा जाने तर रचना नसुनाउने गर्नु ठीक होइन भन्नुभयो । त्यसपछि मैले झरनाको प्रतियोगितात्मक कार्यक्रममा मासिक बालपत्रिका मुनाबाट ‘मेरो देशका नेपाल’ नामक  कविता सारेर सुनाएँ । यो कविता प्रथम हुन पुग्यो । कविता त प्रथम भयो तर ममा छटपटी सुरु भयो । कारण कविता बाल पत्रिकाबाट चोरिएको थियो । कतै निर्णायकले थाहा पाएर बेइज्जती हुने पो हो कि भन्ने डर । अर्कातिर राति सपनमाा पनि पुरस्कार फिर्ता गर्नुपरेको देखेँ । यही सन्दर्भमा म बुवाको डायरी लुकीलुकी हेर्ने गर्दथँे । बुवाको डायरीको पहिलो पानामा ‘तपार्ईँ अर्काको डायरी खोलेर हेर्ने सज्जन मानिस होइन’ भनी लेखिएको हुन्थ्यो । म त्यही असज्जन मानिस थिएँ जो बुवाको डायरी लुकी लुकी हेथ्र्यो । त्यहाँ लेखिएको कविताको एक लाइन ‘ हेप्ने र हेपिने झन्डै उस्तै नै हुन् ’ भन्ने म सधैँ सम्झिरहन्छु । 

उहाँको डायरी खोलेर  हेर्थेँ ।   झरनाको कार्यक्रममा  तेस्रोपटक रचना सुनाउँदा  बुवाको डायरीबाट कविता सारेर सुनाएँ ।  सो कविता पनि पुरस्कृत भयो  यसरी चोर्दै सारेर सुनाएका कविताहरू  पुरस्कृत हुँदै गएपछि  ममा सङ्कट सुरु भयो  अब मैले  आफ्नै कविता  सुनाउन सकिन भने  पक्डाउ खान्छु र दण्डित हुन्छु  भन्ने महसुस हुन लाग्यो । त्यस पछिका कार्यक्रमहरूमा  मैले आफूले नै कविता लेखी  सुनाउन थालेँ । सुरुवाती कविता  २०५७ सालदेखि लेख्न थालेको हो । कविता लेखनको यो क्रम  आज अद्यापि जारी छ । समयले दुई दशक काटी सकेछ । 

कविता लेखनको प्रभावलाई सम्झिँदा  गाउँमा हामीले बाल क्लव बनाएका थियाँैं । विशेष गरी गणेश बञ्जारा दाजुको अग्रसरतामा  बाल अधिकार क्लब छतिवन ८ पावस गठन भएको थियो ।  त्यस क्लबमा हामी मासिक ५–५ रुपैयाँ उठाएर पैसा जम्मा गथ्र्यौँ । त्यसबाट फुटबल किन्ने, मासिक बालपत्रिका मुना ,सुनकेस्रा किन्ने  काम हुन्थ्यो ।  मुना ,सुनकेस्राजस्ता बालपत्रिका हामी पालैपालो अध्ययन गथ्र्याँै । त्यसको प्रभावले पनि लेखनतर्फ आफू उद्यत भएको हुनुपर्छ भन्ने लाग्छ । त्यतिमात्र नभएर  छतिवनमा  ग्रामीण संचार सेवा समाज  थियो यसले बिभिन्न रचनाहरू सुनाउन  प्रेरित गथ्र्यो । ग्रामीण सञ्चार सेवा समाजको सो कार्यक्रममा डरले काँप्दै माइकमा बोलेको झझल्को मष्तिष्कमा सधैँ रहीरहेको छ ।

झरना सम्झिँदा  मेरो  मेरो मानसपटलमा  रमेशमोहन अधिकारी, उद्धव सापकोटा, जनार्दन खनाल  पर्शुराम गौतम लगायतको नाम  सरसर्ती आउने गर्दछ । त्यसपछि  हामीभन्दा अगाडि लेखन आरम्भ गर्नुभएका   अनमोलमणि , अर्पण पराजुली, हरिहर खनाल ,तुलसी गिरी ,वासुदेव खनाल जनकराज सुवेदी ,अमृत फूयाँल, यादव दहाल लगायतको नाम  सम्झनामा आउँछ  । समवयी साथीहरु  दीपक गौतम  विश्वनाथ सञ्जेल, मसान उपासक, उमेश तिमल्सिना, चिरञ्जीवी लामिछाने, भावना सापकोटा  विश्व  राई, सन्तराम राई, गोविन्द चौलागार्इँ ,सरला बोलखे , सिर्जना सापकोटा, देवराज लामिछाने, लीला    शिरिष रामशरण माझीहरू पनि मानसपटलको चक्कामा घुमिरहेका हुन्छन् । 

कक्षा आठ पढ्ने बेला  हाकाहाकी रेडियो कार्यक्रम संचालक  जोशिला देवकोटाबाट  समाचार लेखन सम्बन्धी  तालिम समेत प्राप्त गर्ने अवसर बनेको थियो । त्यसबाटै प्रेरित भई  विद्यालयकालीन समयमा चितवन पोस्ट पत्रिकामा  छतिवनबाट  म आफुले  साहित्यिक कार्यक्रमको रिपोर्टिङ गर्थें । यो कनेक्सन गराउने काम रमेशमोहन सरले गर्नु भएको थियो । 

हेटौँडामा देवप्रसाद श्रेष्ठ ,के एल श्रेष्ठ , दीपक श्रेष्ठ आदिले प्रकाशन गर्नु हुन पत्रिका कुराकानी साप्ताहिकका सम्पादक हालका बज्जिका भाषालाई स्थापित गर्न लाग्नु हुने अभियन्ता तथा लेखक सञ्जय साह हुनुहुन्थ्यो । उहाँले छतिवनका रचनालाई निकै महत्वका साथ छाप्नु हुन्थ्यो । रचना जम्मा गरेर बजार ल्याई दिने काम कि रमेश सरले गर्नुहुन्थ्यो या हामी हुलाकमा गएर खाममा टिकट टाँसी रचना सम्प्रेषण गथ्र्यौँ । पत्रिका पनि विद्यालयमा नै पुग्थ्यो र हामी दुई रुपैयाँ खर्च गरी उक्त पत्रिका किन्थ्यौँ । आफ्नो फोटोसहित रचना छापिएको पत्रिकाले हामीमा खुसीको पारो बढाउँथ्यो । पुराना दिनहरू सम्झिँदा समयले खुब नोस्टाल्जिक बनाउँछ ।

आज हामी जुन यात्रामा छौँ , त्यसमा हिजोको इतिहास जोडिएकै छ । मुहान विनाको नदीको परिकल्पना गर्नु मुर्खता हो । भोलि हामी जुन यात्रामा हुनेछौँ त्यो हिजो वा आजको निरन्तरता नै हुनेछ । छतिवन र झरना एक अर्काका पर्याय हुन् । बकैयाको सांस्कृतिक मूल्यलाई अगाडि बढाउन झरना साहित्यिक परिवारले ठूलो भूमिका खेलेको छ र खेल्ने नै छ । पछिल्लो समय युवा पुस्ताका साहित्यकार दीपक गौतमको नेतृत्वले झरनालाई प्रभावपूर्ण गति दिन सकेको छ । यो गतिको ओजलाई कायम गर्दै अगाडि बढाउनु जरुरी छ । देश सङ्घियतामा गएपछि बनेको गणतान्त्रिक नेपालको बकैया गाउँपालिका स्थानीय सरकारका प्रमुख दामोदर खनाल र उपप्रमुख सरला बोलखेको झरना प्रतिको विश्वास र माया पनि दर्बिलो देखिएको छ । त्यसले झरना संस्थागत हुन केही मार्गहरू तय भएका छन् । आगामी स्थानीय तहको चुनाबबाट निर्वाचित हुने जनप्रतिनिधिहरूले पनि यो पक्षलाई मनन गरी राष्ट्रभरी बकैयाको साँस्कृतिक मूल्यलाई स्थापित गर्न प्रभावपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ ।



Sunday, February 28, 2021

छुटेको एउटा यात्रीको सम्झनामा ।


 छुटेको एउटा यात्रीको सम्झनामा ।

सुवास खनाल

यति सकस त मैले कहिल्यै बेहारिनँ । यति क्रुर सत्यको साक्षी बस्नु पर्ला भन्ने कहिल्यै लागेन । उनको निम्ति यो सजिलो यात्रा बन्यो होला तर हाम्रो निम्ति यो अत्यन्तै पीडादायी बन्यो । एउटा सुन्दर सपना बोकेर यात्रारत ठिटो अकास्मात् कतै अल्पियो । ऊ कहाँ पुग्यो होला ?  उहाँ पनि उत्तिकै महत्वाकाङ्क्षी र सुन्दर सपनाहरूको भरिया बनिरहेको होला वा शून्यमा विलिन भएर अर्को चकमक संसार हेर्दै होला । ऊ कहाँ छ ? त्यो त साक्षात् प्रकृतिवत् यथार्थलाई थाहा होला तर यहाँ हामीले सहयात्राको अभिन्न मित्र गुमाएका छौँ । हाम्रो विचारमा सही थाप्ने वा मन नपरेका कुरामा सहज धारणा राख्ने त्यस्तै आफ्ना विचारहरूका पोका छलफलका निम्ति हामीतिर तेस्र्याउने पात्र थियो ऊ । हक्की थियो , मिलनसार थियो । बाहिर स्थिर थियो तर मन उसको भावात्मक वेगको तरङ्ग बोकी हिँड्न सिपालु रहेछ भन्ने महशूश मलाई हुने गथ्र्यो र त्यो भान अहिले पनि रहेकै छ । 

एउटा सानो दुर्घटनाको निहुँमा उसले अनन्त लोकको यात्रा तय ग¥यो । मृत्यु भएको दुई दिन अघि उसँग कुरा भएथ्यो । मैले गरेको फोनमा ऊ भन्दै थियो –‘दाइ ठीक हुँदै गएको छ । सम्भवत ः पर्सि डिस्चार्ज हुन्छु । सबै सामान्य छ ।’ दुई दिनपछि बिहान चिरन्जीवीको फोन आयो –‘मित्र गोविन्द चौलागाईँको फेसबुक स्टाटसअनुसार मनोज इज नो मोर ।’ यो त हुनै सक्दैन । मेरो मन भनिरहेको छ । हस्पिटलतिर बाइक लिएर हुइकिएँ । भावना पनि जान खोज्दै थिइन् । मैले नै रोकेँ । हेटौँडा हस्पिटल पुग्दै गर्दा मसान भाइसँग भेट भयो । उनी पनि उत्तिकै विस्मातमा उता लागिरहेथे । हस्पिटल पुग्दा भित्रबाट दिवङ्गत शरीर निकाल्ने तयारी भइरहेको थियो । बाहिर निकालियो । मित्र÷भाइको अनुहार हेर्ने समयमा देख्छु सबै उस्तै छ ,खुट्टामा गरिएको अप्रेसनमा भएको प्लास्टरबाहेक शरीरमा कहीँ चोट छैन । मात्र उसको धड्कन बन्द छ । उसको बोली बन्द छ । उसको आन्तरिक र बाह्य गति बन्द छ । अब कन्फर्म भएँ मनोज हामीसँग छैन ।

हस्पिटलबाट घाटतर्फको यात्रा तय गर्दैगर्दा भाइ गोकर्ण गौतमको फोन आयो । उनी भन्दै थिए– ‘दाइ मनोजबारे नराम्रो खबर सुने , के रहेछ कारण ? हामी त एसएलसी सँगै गरेको सिद्धार्थ स्कुलबाट । कस्तो नरमाइलो लागिरहेको छ । जिन्दगी केही रहेनछ दाइ ’ । मैले हस्पिटलको बाथरुममा मृत्यु भएको भनेँ । सम्भवत : लडेर हुनसक्ने तर डक्टरको पोस्टमार्टममा चाहीँ कार्डियो भास्कुलर डिस्टब्र्यान्स भनेर लेखेको जानकारी पाएको बताएँ । ‘जिन्दगी केही रहेनछ दाइ’ यति अनपेक्षित तर्क पेश गर्ने गोकर्ण पनि मनोज बितेको केही समयपछि सांसारिक लोकबाट बिदा भए । यी दुबै भाइहरू सिर्जनशील र क्षमतावान थिए । भित्रदेखि उर्जाका तेजहरू प्रस्तुत गर्थे । दुबै रहेनन् । छतिवन भूमिका युवा सर्जकहरू थिए । एउटा साहित्यिक पृष्ठभूमि निर्माण गरिरहेका र अर्का रङ्ग क्षेत्र र खोजमूलक पत्रकारितामा खरो उत्रिएका यी दुबै गुम्दै गर्दा बकैया ( छतिवन ) ले केही पूँजी अवश्य गुमाएको छ ।

मनोजसँग मेरो परिचय २०५६ सालतिर भएको हुनुपर्छ । छतिवनभित्रका बाल क्लब सञ्जाल निर्माण गर्ने सन्दर्भमा महेन्द्र मावि छतिवनमा हामी केही बाल क्लबका साथिहरू भेला भएका थियौँ । त्यसमा संयोजनकारी भूमिका निर्वाह शिक्षकहरू रमेश मोहन अधिकारी, उद्धव सापकोटा, जनार्दन खनाल, परशुराम गौतम लगायतले गर्नुभएको थियो । म पनि कक्षा–८ मा पढ्दै थिएँ । हाम्रो गाउँ पावसमा पनि एउटा बाल क्लब गठन गरेका थियौँ । यसको संस्थापन समयमा अध्यक्षता दाजु गणेश बञ्जाराले गर्नुभएको थियो । कार्यभार हस्तान्तरण हुँदै त्यो समयमा अध्यक्ष हुन म पुगेको थिएँ । हामी बाल क्लब मार्फत फुटबल गेम सञ्चालन गर्ने , मुना ,सुनकेस्रा, बालकोसेली लगायत पुस्तकहरू किनेर अध्ययन गर्ने , धानको शिला खोजेर त्यसलाई बेचेर पैसा जम्मा गर्ने , म्याचबाट जितेका पैसाहरू जम्मा गर्ने जस्ता कामहरू गथ्र्यौँ । सामूहिक पैसालाई सिर्जनशील काममा प्रयोग गरिन्थ्यो । मनोजसँग सम्बन्ध बनाउने माध्यम यही बाल क्लब बन्न पुगेथ्यो । 

त्यसपछि झरनाका केही कार्यक्रममा गजल कविता सुनाउन आउँदा उनीसँग भेटघाट हुन्थ्यो । मनोज सानैदेखि क्षमतावान व्यक्ति थिए । उनका बुबा शिक्षक हुनुभएका कारण पढाइप्रति उनलाई केन्द्रित गराइनु स्वभाविक थियो । राम्रो शिक्षा दिलाउने उद्धेश्यले नै मनोजका बुवा बलराम ढकाल सरले कक्षा नौ दशको पढाइका निम्ति भने मनोजलाई हेटौँडाको सिद्धार्थ माविमा पठाउनुभयो । तत्क्षण उनीसँगको भेटघाट पातलो बन्यो । पछि जब कलेज अध्ययन समयमा हाम्रो भेट हेटौँडामा हुन थाल्यो ,त्यसपछि सम्बन्ध नवीकरण हुन पुग्यो र विस्तारित हुँदै गयो । गजल मञ्च मकवानपुरको स्थापना समयमा म संस्थापक सचिव थिएँ । यसका गाउँगाउँमा शाखाहरू निर्माण भएका थिए । मनोज हात्तिसुँढे शाखाका संयोजक थिए । गजल मञ्चले मासिक गजल यात्रा सञ्चालन गथ्र्यो ( यो संस्थाको यो निरन्तरता आजपर्यन्त कायम छ ) र त्यसमा उनको सहभागिता हुने गथ्र्यो । एउटा कार्यक्रममा उनी उत्कृष्ट गजलकार भई ‘गजलश्री’ बाट सम्मानित पनि भएका थिए । 

पछि अध्ययन क्रममा उनी काठमान्डु गए । काठमान्डु कोठामा रहँदा पनि उनको कोठामा सन्दर्भवश आवतजावत हुन्थ्यो । उनी एक्लै बस्दा पनि निकै मेहनत गरेर खाना पकाउँथे । तरकारीमा अदुवा –लसुन पिसेर हाली मिसाएर स्वादिलो पकाउँथे । हामी भने एक्लै बस्दा अलिक अल्छि गरी पकाउने अनुभव सँगालेका व्यक्ति थियौँ । उनी भातमा पनि अलिकति घिउ राखेर अलिक फरक ढङ्गले पकाउने आदती थिए ।

उनी विदेश जाने सन्दर्भ बन्यो । उनको लेख रचनाको एउटा डायरी मलाई जिम्मा लगाएका थिए । उक्त डायरीमा विशेषत ः गजलहरूको सङ्ग्रह रहेको छ । केही छोटा कविता पनि छन् । गजलहरू श्रृङ्गारिक र अन्य भावका छन् । गजलमा निराशाका अभिव्यक्तिहरू पनि देखिन्छन् । तर सो डायरीको बाहिरी कभरमा ‘मरेको मान्छे’ लेखेका छन् । उनले किन लेखे होलान् ती शब्द विन्यास ? दुबै पट्टी कभरमा लेखिएका ती शब्द समूहले मलाई अहिले सो डायरी देख्दा पनि भरङ्ग बनाउँछ । मनलाई असह्य गह्रुँगो बनाउँछ । उनी उताबाट फर्केपछि डायरी मसँग रहेको सम्झाएको थिएँ । घरमा पसेर लिने बताएका थिए । हुन त हाम्रो घरमा उनको आवतजावत हुन्थ्यो तर डायरी हस्तान्तरण हुन पाएन । उनले पनि सम्झेनन् , मैले नि पुस्तक ¥याकको कुनै कुनामा लुकेर बसेको उक्त डायरीमा उत्ती ध्यान पु¥याइनँ ।

प्रिय कवि भाइ उमेश जापान जानुअघि हामी फुर्सदका दिनहरूमा बिहान हेटौँडादेखिन् मनकामनासम्मको यात्रा तय गथ्र्यौँ । उमेश ,मनोज र म प्राय ः हुन्थ्याँै र यो तीनजनाको टोलीमा चार बनाउने काम कहिलेकाहीँ चिरञ्जीवीले गर्थे । कुनै समय मकवानपुर गढीमा केही साहित्यिक साथिहरूका साथ भएको ड्राइ पिकनिकका सन्दर्भमा उमेश, मनोज र म तीनै जनाले ललिपप खाँदै एउटा गाला फुलाएर तथा ललिपपको सिन्का मुख बाहिर देखाएर खिचेको फोटो कहिलेकाहीँ फेसबुकको रिमाइन्डरमा आइपुग्छ । मनोजकै उक्साहटमा त्यो फोटो खिचिएको थियो । चकचके मनोजको त्यो शैली र उसको हाँस्ने छुट्टै शैलीले अतीतको गर्तमा कहिलेकाहीँ निकै नराम्रोसँग धकेलिदिन्छ । उसँगको रमाइला साथहरूले चस्काइरहन्छ । 

उमेश जापान लागे , मनोज गाउँमा जापनिज भाषा पढाउन थाले । भेटघाट अलिक पातलो बन्यो । बाइकको ब्लुबुक रिन्यु गर्न हेटौँडादेखि वीरगञ्जसम्मको यात्रा नै पछिल्लो उनीसँगको अलिक लामो सवारी यात्रा बन्न पुग्यो । पहिले मोटो रहेका उनको ज्यान त्यतिबेला निकै घटेको थियो । पछि थाहा भयो सुगर ( मधुमेह ) भएको रहेछ । कम उमेरमै मधुमेह भएको थियो उनलाई ।

खुट्टाको सामान्य फ््रयाक्चर भएर हस्पिटलाइज्ड हुने बेलामा पनि उनका र मेरा केही छलफलहरू भएका थिए । हेटौँडामै अप्रेसन हुन सक्ने र परिस्थिति सामान्य नै रहेको उनको कुरा थियो ।  उनी आफैँले हेटौँडा हस्पिटलका हाडजोर्नी नशा रोग विशेषज्ञ डाक्टर रामचन्द्र सापकोटासँग सल्लाह गरी भर्ना भएका थिए । अस्पतालका अध्यक्षको नम्बर मैले पत्रकार दाजु सुरेश श्रेष्ठमार्फत पत्ता लगाएर उनलाई सम्प्रेषण गरेको थिएँ ।  अप्रेशन माइनर थियो । सफल पनि भएको हो । अघिल्लो दिन साथीहरूसँग अनलाइन लुडो खेलेर सुतेको साथिहरू बताउँछन् । भोलिपल्ट बिहान उठ्दा पनि सामान्य नै थिए । बाथरुम छिर्दा सहज छिरेका मानिस त्यहीँ उनको अन्तिम पल बित्छ भन्ने कसैले अनुमान गरेको थिएन । उनका निम्ति मरण असहज बनेन । तर हामी जो थियौँ उनको विभिन्न क्षणहरूका साक्षी ,त्यति अपत्यारिलो सत्यको पनि साक्षी बस्नु पर्ला भन्ने कहिल्यै सोचेनौँ । हामीसँग यो सत्यलाई स्विाकार्नुको विकल्प अर्को केही थिएन । 

साँचोमा भन्ने हो भने प्रिय मनोज ! जानु त छँदै थियो , तर तिमीले अलिक हतारै ग¥यौ । जाने बाटो त्यही हो तर तिमी चाँडै गयौ । तिमी जहाँ छौ , तिम्रो आत्माले शान्ति पाओस् । हाम्रा स्मरणहरूमा तिमी सधैँ रहीरहेका छौ र रहीरहनेछौ ।


(झरनामा प्रकाशित)


Saturday, November 7, 2020

पुराना पाना पल्टाउँदा ।

 पुराना पाना पल्टाउँदा ।

सुवास खनाल 

(शिक्षापत्र डट कममा प्रकाशित )


माध्यमिक तहको स्कुले जीवन सकिएको अठार वर्ष भएछ । अहिले बाह्र कक्षा उत्तीर्ण भएपछि बल्ल माध्यमिक तह उत्तीर्ण भएको मानिन्छ । तर हामी सो तह पढ्दाताका एस एल सी पछि कलेज भन्ने प्रचलन रहेको थियो । हुन त बाह्र सम्म उच्च मावि नै थियो । अहिले उच्च मावि भन्ने संरचना हराएकोे छ । संभवत ः सबैभन्दा लामो समय साथिहरू सँग सहचार्य गर्ने अध्ययन संरचना भनेको विद्यालयीय उमेर नै होला । कलेज छिरेपछि उत्ति साह्रो समयावधिका अध्ययन संरचना छैनन् । स्नातक तह ३ वर्षे ( हाल चार वर्षे ) । स्नात्तकोत्तर तह दुई वर्षे । चिन्दाचिन्दै छुटिने बेला भइसक्छ । परिपक्वताको उमेरमा प्रवेश गरिसकिएको हुन्छ र यो समयमा करियर निर्माण , जीवन व्यवस्थापन पनि आउने हुनाले विद्यालय उमेर जत्तिको मोहक र साथिहरूसँग नजिकिने समय उत्ति बन्दैन । 

यत्तिका भूमिका बाँध्नुको मूल ध्येय विद्यालयीय जीवनका पानाहरू पुन : पल्टाउनु र जीवनका पुराना रिलहरूतिर दृष्टि दिनु नै हो । यो क्रमबद्ध र व्यवस्थित स्मरणहरू नहुन सक्छ तर यादका झिल्काहरू जो नमेटिने भएर बसेका छन् , तिनको तस्वीर पुन ः खिच्दै बस्न चाहनु हो । हामी आजको दिनहरूमा अघि बढ्छौँ ,त्यसको उर्जा हिजोसँग पनि जोडिएको छ । जापानी प्रशिद्ध लेखक हारुकी मुराकामी भन्नुहुन्छ – ‘ जतिसुकै कष्ट भोग्नु परेको भए पनि, तपाईंले ती सम्झनाहरूलाई कहिल्यै त्याग्न चाहनुहुन्न ।’ यसमा दुविधा छैन– हामीले हिँडेका असहज बाटाहरू नै सहजता तिरको अभ्यास हो । 


तत्कालीन कर्म प्राप्ति निमावि छतिवन –८ मा कक्षा ८ सम्म अध्ययन गरेको तेह्र चौध बर्षे केटो महेन्द्र माध्यमिक विद्यालय छतिवनमा कक्षा ९ मा अध्ययन गर्न आइपुगेको थिएँ । कक्षा ८ को जिल्लास्तरीय परीक्षामा जिल्लाका उत्कृष्ट २० विद्यार्थी छनौट हुँदा आठौँ भई कोल्गेट पाल्मोलिभ छात्रवृत्ति प्राप्त गरेकाले अलिक चिनारीको केन्द्रमा थिएँ म । कक्षा – ९ को पहिलो दिन कसो होला र नयाँ विद्यालयको अनुभव कसो रहला भन्ने उत्सुकता मनका भित्ताहरूमा दगुरीरहेथ्यो । कर्मचुलीका वाशुदेव खनाल, अमित बञ्जारा र रिझनाथ ठाकुरजस्तै प्रभावी शिक्षकहरू हुनुहुन्छ अथवा हुनुहुन्न होला भन्ने त छँदै थियो । पावसबाटै विद्यालय जाने चिरञ्जीवी , सङ्गम बानियाँहरू अब बाटोका साथिहरू बन्दै थिए । गाउँबाट मच्चिएर हिँड्दा बीस वा पच्चीस मिनेटमा पुगिन्थ्यो स्कुल तर वर्षामा खोलाले सातो लिन्थ्यो । अहिले पक्की पुल भएर खोला पार गर्ने त्यहीँका विद्यार्थीलाई यी कुरा रमाइला कथाझैँ लाग्न सक्छन् । त्यही खोलाकै डरले पहिले हामी कर्मचुली पढ्न गएथ्यौँ । बुवाआमाले त्यता हालिदिनु भएको थियो । 


सुरुको दिन पहिलो बेञ्चमा बस्न पाउने लालसाले ८ नै बजे खाना खाएर साथि सङ्गम बानियाँ , जीवन पौडेल भाइ र म स्कुल गएथ्यौँ । त्यतिखेर आइपुग्दा नि स्कुल नजिक घर हुने साथिहरूले एउटा–एउटा कपी राखेर पहिलो बेञ्च त रिजर्भ गरिसकेका रहेछन् । हाम्रो ठाउँ रह्यो दोस्रो बेञ्च । त्यही बेञ्चमा हामीले बस्ने ठाउँ पायौँ । पहिलो वा दोस्रो बेञ्चमा बस्नु पनि खुबै महत्वको विषय बन्थ्यो । उद्धव सर , रमेश सर, जनार्दन काकाहरू त अगाडि देखि नै परिचित शिक्षक हुनुहुन्थ्यो । उद्धव सर र रमेश सर साहित्यमार्फत परिचय हुनुभएका अरु बाँकी शिक्षकहरूबारे कौतूहलता रहेकै थियो । यता विद्यालयमा प्रथम भएर गएको विद्यार्थी भन्ने हिसाबले पनि सबै शिक्षकहरूले सहज ढङ्गले व्यवहार प्रस्तुत गर्नुभएको महशूश हुन्थ्यो । तर एउटा कुरामा त्यही दिन फेल भइयो । नेपालीको घन्टीमा आउनु भयो रमेशमोहन सर । उहाँले ९ कक्षामा नयाँ आउने विद्यार्थीलाई क...ख...,...ज्ञ सम्म लेख्न दिनुभयो । मेरो ‘ख’ बिग्रियो । मैले ‘रव’ लेखेछु । ‘ख’ लेख्दा ‘र’लाई तलबाट घुमाएर लगेर ‘व’को तल्लोपट्टि जोड्नुपर्छ भन्ने मैले कक्षा नौमा रमेश सरमार्फत सिकेँ । विचारक इयोन कोल्फरको – ‘आत्मविश्वास भनेको अज्ञानता हो ’ भन्ने भनाइ सधैँ सम्झिरहन्छु । मलाई ‘ख’ लेख्न आउँछ भन्ने आत्मविश्वास थियो त्यो मेरो अज्ञानता रहेछ ।


मसँगै अध्ययनको प्रतिश्पर्धामा थिए –साथीहरू दिलीप हुमागाईँ , राजन राय , सङ्गम बानियाँ ,टीकाराम राई लगायत । जाँचको अङ्कमा प्रतिश्पर्धी थियौँ तर व्यवहारमा सौहार्द । आज पनि त्यो सौहार्दता कायम छ ।  मिल्ने साथिहरू थिए –दीपक गौतम, इन्द्र घिमिरे, रामशरण माझी , जीवन पौडेल , बद्री पाण्डे , उद्धव अर्याल , विश्वनाथ सञ्जेल , नोख विक, विष्णु विक, केदार न्यौपाने लगायत । आज पनि यी साथिहरू आआफ्नो क्षेत्रमा प्रभावी छन् ।  

आज महेन्द्र माविले रुप फेरेको छ । समन्वय र सहभागितामूलक संरचनाकै कारण नमूना विद्यालय बनेको छ । तुलनात्मक रुपमा भौतिक संरचना दर्विलो छ  । ठूलो एकाइमा काम भइरहेको छ । शिक्षक दरबन्दीको उपर्युक्तता नदेखिएपनि अन्य हिसाबले सशक्तता देखाइरहेको छ । तर पुराना दिनहरूको सम्झनामा जाने हो भने माटो ढुङ्गाले बनेको गाह्रो । भत्किएका बेञ्च र ढल्न लागेका काठका खाँबाहरू । २०७२ अघि नै विद्यालयको संरचना बदलियो र  नत्र त्यही भुकम्पले विद्यालयको संरचना ध्वस्त बनाउने थियो । 

हामी विद्यार्थीहरू मिलेर शुक्रबार –शुक्रबार भुईँ बढार्ने , भित्ता र भुईँ पोत्ने काम गथ्र्यौँ । कहिलेकाहीँचाही पढ्न मन नलागेको कक्षाको लागि गतिलो निहुँ पनि यही बन्थ्यो । घण्टी खालि भएका बेला ठेकीफल र बयर खान जाने समय पनि गज्जबसँग बन्थ्यो । केही साथिहरू थिए राजनैतिक गफ गर्न सिपालु , हामी पनि जानेनजानेको तर्क गथ्र्यौँ ।

कक्षा १० पढ्ने बेला जनयुद्धको प्रभाव छतिवनमा पनि राम्रैसँग प¥यो । तत्कालीन माओवादीले आयोजना गरेका कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागिता जनाउन विद्यालयमा आग्रह हुन थाल्यो । शिक्षकहरू अलमलमा पर्नुभएको हामी प्रष्टैसँग बुझ्थ्यौँ । राज्यको एक अङ्गको रुपमा क्रियाशील शिक्षण संस्थाबाट विद्यार्थी लैजाँदै गर्दा प्रशासनबाट गलत ढङ्गले बुझिने अवस्था रहन्थ्यो । दोहोरो मारमा शिक्षण संस्था र शिक्षकहरू थिए । केही कार्यक्रमहरूमा हामी पनि सहभागी हुन पुग्थ्यौँ । त्यहाँको आन्तरिक सुरक्षाको लागि गरिएको हुनसक्छ तर हामीलाई भने कार्यक्रममा छिराउने तर बाहिर जान नदिने र मान्छेको साङ्लोमा कैद गर्ने शैली मन पर्दैनथ्यो । एउटा कार्यक्रम हात्तिसुँढेमा हुने र विद्यालय सबै बन्द गरेर विद्यार्थी लैजानु पर्ने सूचना विद्रोही पक्षबाट विद्यालयमा आएको रहेछ तर सरहरूले भने इच्छा हुने जान्छन् सबैलाई कर छैन भन्ने ढङ्गले कुरा गरेर कक्षा सञ्चालन गर्न लाग्नु भयो । त्यो बेलाको त्यसै क्षेत्रका जनमिलिसियाको कमाण्डर भनिने एकजना व्यक्ती आएर हाम्रा एकजना गुरुलाई निकै नराम्रोसँग झपारे र ज्यान मार्ने सम्मको धम्की दिए । यसरी हेर्दा तत्कालीन विद्रोही शक्तीमा राज्य परिवर्तनका चाहना बोक्दा बोक्दै पनि  अराजकताहरू पनि रहेको हामी महशूश गर्दथ्यौँ । अहिले  समय बदलिई सकेको छ । पुरानो विद्रोही शक्ति मुलधारे राजनीतिमा समाहित भइसकेको छ । हिजोका वैमनश्यका खाटाहरू क्रमश : पुरिँदै होलान् । 

आज फर्केर छतिवनलाई हेर्दा ती पदचिह्नहरू जुन हामीले छाडेर आयौँ ती त मेटिँदै होलान् । त्यहीँबाट फुत्केका मध्ये कोही विदेशी भूमिमा आफ्ना पहिचान कायम गर्दैछन् , कोही देशमै आफ्ना नाम र प्रभावहरू उजिल्याउने प्रयत्नमा छन् । जहाँ पुगेपनि वा उहीँ रहेपनि ,यी सबै जमिन छुट्टाछुट्टै छैनन् ।  सबैले फेर्ने हावाको तह एउटै हो । हाम्रो जमिन छतिवनसँग जोडिएकै छ , हामीले सास फेर्दा हावाबाट लिने अक्सिजन र छाड्ने कार्वनडाइअक्साइड घुम्दै यावत जगत डुल्छ , जहाँ  छतिवन पनि सँगै छ ।


Wednesday, April 8, 2020

स्मृतिका रिलहरूमा ।

स्मृतिका रिलहरूमा ।




सुवास खनाल

बिहान उठ्छु र दौडिन्छु । घर छिर्दा साँझ घर पसिसकेको हुन्छ । बीचमा पनि छिर्छु घर । तर गाँस टिप्न एकछिन् । यो एकोतारको रफ्तार छ जीवनको आजकाल । रस नभएजस्तो । रबरको तन्काइ र खुम्चाइजस्तो । दिनभरी यता उता तन्किइरह्यो र बेलुका खुम्चिएर उही ठेगानामा आइपुग्यो । खासमा देख्नेले व्यस्त देख्छन् । साथिहरू समय नदिएको सोच्छन् । भेटमा कम बोलेर हिँड्दा ठूलो भएछ सम्झिन्छन् । तर जिन्दगीको यो वेगको रन्को बढी त आफू नै बुझ्छु र आंशिकमा परिवारका सदस्यहरू बुझ्छन् ,यस्तै लाग्छ ।

शनिबार रहन्छ बिदा । बिदाको दिन थुप्रिन्छ साहित्यिक कार्यक्रमहरूको लर्को । अनि टिभी इन्टरभ्यू गर्नु त छँदैछ । अप्रत्याशीत समय व्यवस्थापनका पाटाहरू नि आउँछन् । हामी साना मान्छेहरूका त जीवनमा समय व्यवस्थापन जटील बन्दोरहेछ भने ठूला भनिनेहरूको जीवनको दैनिकीको चाप झन् गाह्रो हुने अवश्यम्भावी रहेछ भन्ने सोच्छु । 

सन्दर्भ छतिवन सम्झिनु हो , झरना सम्झिनु हो । अर्कोतिर बढी लागेँ कि भन्ने अनुभूति हुँदैछ । केही सन्दर्भहरूमा कुरा चल्छ । लेखक सिकाएर वा प्रशिक्षित गरेर मात्र बन्छ वा बन्दैन ? वा लेखनका लागि मोटिभेसनल कारकहरू के के हुन सक्छन् । हामी झरनाको पर्यावरणमा हुर्किन पुग्यौँ । लेखनलाई उत्साह दिने कारक अवश्य नै बन्यो झरना । झरना सम्झिएपछि रमेशमोहन सर , उद्धव सर यसका पर्याय बनेर आउनु नै हुन्छ । तर लेखनप्रतिको अवधारणा बनाउने वा प्रयोजन निर्माण गर्ने काम चाहीँ आफ्नै जीवनले बढी सिकाउँछ भन्ने लाग्छ । अथवा व्यक्तिगत अध्ययनले निर्माण गर्छ ।

सुरुवाती चोरीबाट भयो । मुना बाल पत्रिकाबाट कविता सारेर सुनाएँ झरनाको कार्यक्रममा । प्रतियोगितात्मक कार्यक्रममा कविता प्रथम भयो । दोस्रो कविता बुवाको कविता चोरी गरेँ वा त्यसलाई मोडिफाइ गरेँ । त्यसले नि पुरस्कार चिप्ल्यायो । अनि यस पटक सपना देखेँ चोरेको कविताका लागि पुरस्कार लिएका कारण पुरस्कार फिर्ता लिनुपर्छ भनेर सरहरूले भन्नुभएको । बिहान उठ्दा नराम्रो लाग्यो । सोचेँ यो तरिका ठीक भएन । आफैँले मेहनत गरेर लेख्नुपर्छ कविता । अब कविता लेख्नुपर्छ आफैँ यही लागेर लेखेँ पहिलो कविता ‘हिजोसम्म, भोलिदेखि’ । यो कविता पनि पुरस्किृत भयो । अब भने थप जिम्मेवार बन्नु पर्ने लाग्यो । यो २०५७ सालतिरको कुरा हो । त्यसपछि भने कवितामा चेतन रुपमै चाहीँ अरुको प्रभाव पार्नुहुन्न भन्ने सम्झेर लेख्ने गर्दछु । 

लेखन सामान्य कुरा होइन भन्ने कुराको बोध मलाई लेखनको सुरुवाती तिरै नि अनुभूत हुन पुग्यो । एउटा घटनाको पुनरावृत हुने गर्छ मष्तिष्कमा  हिजोआज पनि । उल्टो रिल घुमाएर पुराना दिनहरू हेर्दै बस्दा आँखामा संशय टाँसिन आउँछ ।

मैले भर्खरै कविता लेख्न सुरु गर्ने बेला थियो । कविता भनेपछि निकै प्रिय लाग्ने ।  हेटौँडाबाट निस्किने ‘कुराकानी’ पत्रिका थियो –जसमा हाम्रा कविता छापिन्थे । थियो यस कारण कि अहिले सो नामको पत्रिका हेटौँडामा प्रकाशन हुँदैन । यो पत्रिका सम्झेपछि रमेशमोहन अधिकारी र सञ्जय साहलाई सम्झिनै पर्छ । यस कारण कि रमेश सर कविता जम्मा पारी पठाइदिने र सञ्जय सर पत्रिकाका सम्पादक । त्यसमा हाम्रा कविताहरू छापिन थालेका थिए । सुरुसुरुमा छापिएका कविताहरू सिरानी मुनी लुकाई पटक पटक निकाल्दै पढेको याद ताजा हुन आउँछ ,आफ्नै फोटोसहितको कविता पढ्दा आफ्नो नाक लम्बिँदै गएझैँ लाग्ने । यसैबीच एउटा कविता छापियो मेरो । त्यसबेला म कक्षा आठमा पढ्दै थिएँ । कविताको नाम थियो – ‘ठेट्नाहरूका प्रचार प्रसार’। त्यतिबेलासम्म राजनैतिक विषयलाई बुझ्ने र हेर्ने दृष्टिकोण अलिक सपाट र छिपछिपे थियो  ।  उमेर र चेतना यसलाई प्रभाव पार्ने कारक थियो नै । त्यो समय देशमा द्वन्द्वको अलिक उग्र परिणामहरू समाजलाई प्राप्त हुँदै थिए । मैले लेखेको सो कविता तत्कालिन विद्रोही शक्ति माओवादीको विपक्षमा रहेछ । त्यो पनि हिजोआज बुझ्दैछु । त्यतिबेला त रेडियो , टिभी वा सामाजिक गफगाफ थिए हाम्रा विचार निर्माण हुनु पछाडिका कारकहरू । रेडियो , टिभी त राज्य नियन्त्रक छँदै थिए । सामाजिक हल्लाहरू नि उस्तै थिए – यो ठाउँमा यति मान्छे मारिए ,ऊ ठाउँमा यति मान्छे मारिए खालका ।

त्यो कविता आजसम्म सुरक्षित छैन तर भाव सम्झिन्छु –मान्छे मार्ने काम राम्रो होइन तर कोहीले ( तत्कालीन माओवादीले ) मान्छे मार्नुलाई नै अन्तिम निष्कर्ष बनाएका छन् र त्यसमा नै गौरवबोध गर्दैछन् । यो एकोहोरो कविता थियो । जसमा राज्य पक्ष कुनै दोषी छैन भन्ने भाव स्पष्ट आउँथ्यो । आज म यो कुरामा सहमत छैन तर त्यसबेलाई मैले बुझेको सत्य त्यही थियो । कविता जब छापियो । कविता आफूले पढ्नु अगाडि नै प्रतिक्रियाहरू सुन्न थालियो । यो २०५८ सालतिरको कुरा हो । ‘यस्तो कविता किन लेखियो ? त्यो भाइलाई सिकाउने मान्छे कस्ता छन् ? ’ खालका । 
मेरो बुवा गोकर्ण खनाल पुरानो कम्युनिष्ट । २०४६ को आन्दोलन ताका तत्कालीन पञ्चायतको विपक्षी मोर्चामा टड्कारो देखिने पात्र हो उहाँ । अनि कम्युनिष्टको बच्चाले त्यस किसिमको कविता त नलेख्नु पर्ने भन्ने टिप्पणी तत्कालीन माओवादीका छतिवन खटिने कमान्डरहरूले कुरा गरेछन् । यो कुरा दामोदर खनाल अङ्कलले पनि बताउनु भयो । उहाँ हाल बकैया गाउँपालिकाको अध्यक्ष पनि हुनुहुन्छ । अझै अङ्कलले थप के भन्नुभयो भने– ‘अब कविता लेखिसकेपछि हामीलाई देखाएर मात्र कार्यक्रममा सुनाउनु वा पत्रिकामा छाप्नु ।’
यसै सन्दर्भमा तत्कालीन माओवादीका नेता रुद्र पाख्रिन पनि हाम्रो घरमा आउनु भएछ । म स्कुल थिएँ । उहाँले भन्नुभएछ –‘बाबुले कविता लेखेछन् तर बाबुलाई अलिक सम्झाउनु पर्ने थियो । बुवा पनि बुझ्ने मान्छे हो अब उहाँले नै भन्नुहुन्छ ।’ ममीसँग यही भनेर जानुभएछ । कविता सचेतताका साथ लेख्नुपर्ने रहेछ भन्ने मैले त्यतिखेर बुझेँ ।

आज पनि कविता लेख्ने नै गरिरहेछु । यो कविता लेख्नु पनि एउटा आदत नै रहेछ । सङ्ख्यात्मक रुपमा धेरै नलेखे पनि कछुवा चालमा लेख्ने गर्छु कविता । लेखनमा यो धिमा गति मा पनि सन्तोष नै अनुभूत गर्दैछु । कविता लेख्ने उपक्रम चलाउने नै छु भन्ने विश्वस्तता पनि छ मनमा । 

subaspoet@gmail.com/ Fagun, 2075



Sunday, April 5, 2020

Memory Published in Edukhabar.com

सम्झनामा स्कुले ती दिन


- सुवास खनाल / पहिलो पल्ट पहिलो कक्षामा नै फेल भएको थिएँ । अर्थात् कक्षा १ मा अक्षर लेख्न नजानेर अनुत्तीर्ण भएको विद्यार्थी हुँ म ।
मकवानपुरको छतिवन स्थित कर्म प्राप्ति निमावि (हालको मावि) मा प्राथमिक विद्यालयको पढाई सुरु गर्नु अघि छतिवनकै महेन्द्र माविमा कक्षा एकमा भर्ना भइसकेको थिएँ । कक्षा एकको नेपालीको लिखित परीक्षा थियो । प्रश्न थियो चौरमा ब्लाकबोर्डमा ‘क’ लेख्नु पर्ने । मलाई ‘क’ लेख्न आएन । त्यस पछि म फेल भएँ ।
महेन्द्र माविमा कक्षा एक भरिको मेरो प्रगति बुवाले घरमा सिलोटमा सिकाउनु भएको क...ख... बिर्सिनु नै थियो । अब म श्री कर्म प्राप्ति प्राविको कक्षा एक को विद्यार्थी भएको थिएँ ।
कक्षा एक देखि तीन कक्षा सम्मका विषयहरु उत्ति साह्रो सम्झनामा आउँदैनन् । त्यस पछिका रमाइला दिनहरु सम्झनाका कुनाहरुमा सुरक्षित छन् । अब म कर्म प्राप्ति प्राविको विद्यार्थी भएको थिएँ  । नयाँ स्कुल भर्ना हुनुको दुई कारण थियो, पहिलो, म महेन्द्र माविमा कक्षा एकमा अनुत्तीर्ण भइसकेको थिएँ । दोस्रो कर्मचुलीको विद्यालय जाँदा खोला तर्नु पर्दैनथ्यो र बर्खामासको सम्भावित जोखिम वहन गर्नु पर्दैनथ्यो ।
कर्मचुलीको पढाइ पनि निकै रमाइलो सित बित्यो । साना कक्षाहरुमा पढ्दा केही झगडा गर्ने बाहेक अन्य अर्थमा जोखिमपूर्ण काम गरेको खास थाहा छैन । कहिलेकाहीँ साथीहरुले केही कारणहरुले पिट्थे । म प्रायश: पिटाइ खानेमा नै पर्थेँ । किनकी पिट्ने खास आँट पुग्दैनथ्यो । तर एकपटक भने दीपेश र दीपक देवकोटा दाजुभाइसँग जुधेको घटना भने याद छ । उनीहरुलाई चाहीँ मैले जुधेर पराजित गरेको थिएँ । एकजनालाई ठेलेर नहरमा हालिदिए पछि अर्को त टाप कसिसकेछन् । तर पछि दिपेश नै मेरो मिल्ने साथी भए । हाल अलिक कम भेटघाट हुन्छ । म प्रायः पिटाइ खाएर घर आएको बेला ममीले यो कुरा थाहा पाइहाल्नुहुन्थ्यो ।
खासमा हामी धूलौटे माटोमा खेल्नेहरुको रुँदा लेग्रा बस्दोरहेछ अनुहारमा । अनि त्यही देखेर घरमा जानकारी भइहाल्ने । अनि उल्टो पिटाइ खाइन्थ्यो । पिटाइ खानुको कारण हुन्थ्यो आपूmले झगडा नगरी पिटाइ खाइँदैन भन्ने तर्क ।
बिहानीको पढाइ चल्ने बेला घरबाट खाजाको रुपमा गहुँको रोटी पकाएर पठाइदिनुहुन्थ्यो । हामी प्राय : रोटी स्कुल लाँदैनथ्यौँ । रोटीलाई झाडीमा लुकाउँथ्यौँ । स्कुल सकिएपछि फर्किएर आई रोटी निकालेर त्यही टोक्दै घर फर्किन्थ्यौँ । कुनैदिन केही साथीहरु आफू खाजा नलगी अरुको चोरेर खाइदिन्थे । अनि हामी पेट छाम्दै घर फर्किन्थ्यौँ ।
कक्षा चार पढ्दा तेस्रो घण्टीमा सूर्यकान्त ठाकुर सरले पढाउनु हुन्थ्यो । उहाँ अलिक नरम स्वभावको । हामी यही कुरोको फाइदा उठाउँथ्यौँ । केही साथीहरु थिए –दीपक माझी, विष्णु माझी लगायत । उनीहरु रुख चढ्न सिपालु थिए । सम्भवत ः तेस्रो पिरियडको कक्षा छोड्ने गथ्र्यौँ । त्यस पछि मौजे बनको बेलको रुखमा ती साथीहरु चढ्थे र बेल झारी खुवाउँथे । सम्भवत : उनीहरुसँगको सम्बन्ध त्यही कारण बलियो थियो । आफ्नो त रुख चढ्ने हुती र सीप थिएन । कक्षा छ मा पढ्दाताका अँधेरीबाट पढ्न आउने तेजबहादुर गुरागाईँका दाजुभाइले घरबाट बदाम ल्याएर बेच्थे । हामी उनीहरुसँग कहिले पैसामा बदाम किन्थ्यौँ त कहिले खाली कापीका पानाहरुसँग साट्थ्यौँ ।
हामी एकप्रकारको खल खेल्थ्यौं, जसको ‘झिँगा दाउ’ राखिएको थियो । त्यस खेलका निम्ति खेल्ने जति सबैले कागजका खाली  पानाहरु निकाल्थ्यौँ । त्यसलाई झिँगा लाग्ने ठाउँमा फिँजाउँथ्यौँ । जसको कागजमा झिँगा बस्थ्यो, त्यसले सबै कागजका पानाहरु जित्थ्यो । कहिलेकाहीँ त सबै कागजका पानाहरु जितेर एउटा कपी नै तयार हुन्थ्यो त कहिले सबै हारेर घरमा नयाँ कपी किन्न लाउनु पर्ने हुन्थ्यो । हारेका दिन चाहीँ कपी हरायो भन्ने गजबको बहाना बनाइन्थ्यो घरमा ।
एक दिन तामाङ साथीहरुले राम्रो शब्दहरु भन्दै सिकाइ दिएका अपशब्द बोल्नाले म र अर्को एउटा साथीले सरको नराम्रो झापड भेट्यौँ । हामीभन्दा ठूलो एकजना तामाङ साथीको तालमा लागेर तामाङ् भाषा बोलुञ्जेल त गज्जबै लाग्दै थियो तर कक्षाका केटीहरुले सरलाई भनिदिएर पिटाई भेटे पछि तिरिमिरी भयौँ ।
कर्मचुलीको मौजे बनमा सिमलको ठूला रुखहरु थिए । ढलेका सिमलका रुखहरुमा प्वाल बनाएर ठूला कीराहरु  बस्दा रहेछन् । हामी त्यहाँ लौरीले  र सिन्काले घोचेर त्यसको भूँ भूँ ..... आवाज निकाल्थ्यौँ र रेडियो बजाएको भन्ने गथ्र्यौँ । दिनको एकपटक त्यहाँ पुगेर उक्त कार्य गर्नु हाम्रो नियमितता जस्तै थियो । ठूलो कक्षामा पुगेपछि यो कार्य बन्द भयो ।
एकदिन सन्तोष बञ्जारा, सगुन बञ्जारा र म  पावसको माझी गाउँभन्दा तल तर बगुवा खहरे नपुग्दै रहेको नुनढिकी झाडीमा लुकेर स्कुल गएनौँ । यसको कारण हामी स्कुल जान अलिक ढिलो हिँडेका थियौँ या ढिलो खेल्दै गएका थियाँ । यो बेला सगुनको आँखामा अन्नो आएको थियो । अब हामी त्यहाँ दिनभरी अभिनय गरेर बस्यौँ । सगुन बिमारी बन्ने ,सन्तोष उसको घरको अभिभावक, अनि म डाक्टर । म अलिक टाढा घरमा हुन्थेँ, सन्तोष बोलाउन आउँथे र म चाहीँ झोलामा औषधी बोकेको जस्तो गर्दै गएर उनको उपचार गरेजस्तो गर्थेँ । बीचमा निकै पानी प्यास लाग्यो । त्यहीँ नजिकै पानीको कुवा थियो तर त्यो कुवा झाडीभन्दा बाहिर थियो । हामी त्यहाँ पानी खान गएका थियौँ । यसबीच खेतमा धान गोड्न  गएका रोपारहरुले देखेछन् र घर गएर भनिदिएछन् । स्कुलबाट एकजना पूर्ण माझी भन्ने दाइ फर्केको देखे पछि ,त्यही समय अड्कल गरेर हामी घर फर्कियौँ । तर हामीले पक्डाउ खाइहाल्यौँ । त्यो दिन रामधुलाइ खाइयो ।
हामी कर्मचुलीको विद्यालय अवधिभर निकै प्राकृतिक थियौँ भन्ने लाग्छ । स्कुल सकिए पछि कहिले डुम्री खान वनवन चहार्ने, कहिले नुनढिकी र काँसीको कलिलो गुभो खान फाँटफाँट चहार्ने, कहिले थाकल, कहिले अँगेरी, अमारो, अमला, धँगेरीको फूल, थाकलको गुभा, मकर काँजी, बयर, काभ्रोको कोपिला, कोइरालोको फूल, खनायो, कबाइ, कुटिली कोसा, अम्बा आदि खोज्दै खाने गथ्यौँ । एकताका धानको कलिलो गुभा निकालेर खाने काम आफूभन्दा ठूला केही दिदि र दाजुहरुले सिकाएका थिए । हामीले यस अवधिमा आफू हिँड्ने आली वरपरका  धेरै नै धानका गुभाहरु निकालेर खायौँ । एकदिन एकजना बच्चे भन्ने दिदिलाई कर्मचुलीका दुरुङ्गच्याङ बूढाले धानको गुभा थुत्दाथुत्दै  समातेका कारण सँुगुरको खोरमा थुनिदिए । यो दृष्य हामी केही साथीहरुले प्रत्यक्ष देख्यौँ । सायद् उनले पोल गरिदिइनन् र हामी बाँच्यौँ । त्यो बेला सुँगुरको खोरभित्र उनी आत्तिएर रोएको दृष्य धानको बोट देख्नासाथ झल्झली सम्झनामा आउँथ्यो । यसपछि यो काम गर्न नहुने रहेछ भन्ने पूर्ण चेतना हाम्रो दिमागमा प्राप्त भएको हुनुपर्छ । अब त हामीलाई धानको बोट छोइए पनि करेन्ट लाग्ने जस्तो भएको थियो ।
एकदिन हाम्रो कक्षा खाली थियो । क्लासमेट जीवन पौडेल भाइ र म अफिस छिरेका थियौँ । प्रधानाध्यापक पदम सरको डेस्कमा दुईवटा अमारो रहेछ । जीवनले एउटा र मैले एउटा समातेर अमारो टोक्न लागेका थियौँ । अफिस माथिल्लो तल्लामा थियो । भ¥याङ  बजेको आवाज सुनियो । अब प¥यो मार । मैले अमारो फ्याँकिदिएँ । मैले फ्याँकेको अमारो त झ्यालबाट बाहिर गएछ तर जीवनले फ्याँक्दा अफिसको भित्ते घडीको सीसामा लागेर सीसा झ¥यामझुरुम फुट्यो । हामी बाहिर निस्कियौँ । हामीमा भयको पारो चढेको थियो । तर संयोगवश त्यहाँ कोही आएको रहेनछ । अब अफिसको घडीमा सीसा थिएन । हामी कहिलेकाहीँ सुइ हातले घुमाइदिएर टिफिन टाइम लम्ब्याइ दिन्थ्यौँ त कहिले छिटो छुट्टी गराइदिन्थ्यौँ । स्कुलको पियन कमल दाइको हातमा घडी हुन्नथ्यो । उनी घण्टी लाएर जाल बुन्न थाल्थे वा माछा मार्न जान्थे र अड्कलेर फर्किई घण्टी लगाउँथे ।
केही शिक्षकहरुले  सुर्ती खानुहुन्थ्यो र सुर्तीको पोका अफिसमा छाडेर क्लास जानुहुन्थ्यो । हाम्रा बद्री पाण्डे लगायत केही साथीहरुले सुर्तीको चुनामा चक घोटेर हालिदिँदा रहेछन् । एकदिन एउटा सर अर्को सरसँग कुरा गर्दै गरेको सुनियो – “आज भोली सुर्तीको चुना खुब खराब आउँछ सर, मेरो त ओठ निकै नराम्रोसँग काटेको छ ।” हामीलाई भने यसको रहस्य पहिल्यै थाहा भइसकेको थियो ।
कक्षा नौमा फेरि महेन्द्र माविको विद्यार्थी भएँ नेपाली शिक्षक रमेशमोहन सरले पहिलो दिनमा नेपाली वर्णमालाका अक्षरहरु लेख्नको लागि निर्देशन गर्नुभयो । नाथे क, ख ...पनि नआउने हो र ? यो त एक कक्षामा नै सिकेको हो । यस्तो सोच्दै लेखेको थिएँ । तर क, ख .... नै बिग्रियो ।  ख लेख्दा रव लेखिएछ । यो त ‘र’ र ‘व’ मिश्रित शब्द ‘रव’ भएछ । यसले मलाई साना भनी छाडेका विषयमा ठूला अर्थहरु गाँसिएर बसेको हुन्छ भन्ने गम्भीर ज्ञान दिलायो ।
गर्मीको समयमा पौडी खेल्ने धुनमा स्कुलबाट भागेका दिनहरु । स्कुल छाडीछाडी जङ्गलमा गाइवस्तु छाडेर तास खेल्ने धुनमा गाईले अर्काको बाली खाएको र मजाले गाली खाइएका दिनहरु सम्झनामा गाढा भएर रहेका छन् । तीजको छेउछाउ जुरेली बजारमा लाग्ने हाट बजारको घुइँचो हेर्न खल्तीमा सुक्को नभए नि स्कुल छाडी भागेका दिनहरु हिजो नै हुन् जस्तो लाग्छ । खोलामा विष हालेकाले माछा टिप्ने धुनले स्कुल छुटेका दिनहरु खासै टाढा पुगेझैँ लाग्दैनन् ।
यादमा आउँदा विद्यालय कालीन सम्झनाहरु अहिले लोककथाहरुझैँ रमाइला लाग्छन् । आज विद्यालय जीवनबाट टाढिएको करिब १४ वर्ष जति पछि ती दिनहरु तिर  फर्केर सम्झिँदा कता कता ओठमा खुसी फुस्किन खोजे जस्तो गर्दछ । मन आह्लादित भएर आउँछ । कुनै कर्तूतहरुले त अहिले पनि ग्लानीबोध गराउँछ । धेरै पक्षहरु सम्झनाका कुनाहरुमा बयेली खेल्छ ।
हाम्रो शिक्षा प्रणालीमा भएको खोटलाई सुधार्नु पर्ने कुरा एक पक्षीय रह्यो । यसमा धेरै त्रुटीहरु छन् । व्यवहारिक र व्यवसायिक शिक्षाको विकास हुन सकेको छैन । मूल्याङ्कन प्रणाली गतिलो छैन । पछिल्लो समय विकास भइरहेको टेक्निकालिटिजका हिसाबले हाम्रो शिक्षा त सुस्त र मन्द गतिको देखिन्छ । समयानुकुल परिवर्तन हुन सकेको छैन । यी सबै विषय तत् तत् अर्थमा सही हुन् तर जीवन प्रक्रियामा जुन विधि र पद्धती अपनाइयो त्यसलाई पनि महत्तम ढङ्गले हेर्नै पर्दछ । आगामी पिँढीमा यसको सुधारको अपेक्षा गर्न सकिन्छ तर विगतको अवमूल्यन गरेर होइन ।
ऊ बेला –कुरो टाँसिएको पाइन्ट, एउटा दुइटा टाँक फुस्किएको सर्ट, चुँडिएर दुईचार पटक बुवाले टुकी बत्तीको मदतले टाँसिदिनुभएको हात्तीछाप चप्पल सहितको म, सम्झनामा आउँछु बेलाबेला ।  प्राकृतिक झैँ लाग्ने ती दिनहरुलाई आजभोली नर्सरी पढ्ने छोराका दिनहरुसँग दाँज्दो रहेछु । बोर्डिङ स्कुलका क्लास वर्क र होमवर्कको भारिले घोटिएर केटो पातलो हुँदै गइरहेको देख्छु । स्कुल ब्याग त्यसमा टिफिन बट्टा, पानीको बोत्तल, हामीले चार कक्षातिर मात्र सिकेको अङ्ग्रेजी भाषामा लेखिएको धेरै पुस्तक । ल्याउने र पु¥याउने पात्र (आमा/बुबा वा हजुरबा/हजुरआमा ) । निञ्जा हथौडी, अगि एन्ड कक्रोच र मोटु पत्लुवाला गफ ।
‘कान्छो समय बदलिई सकेछ’ –भर्खरै गाउँ छाडेर हामीसँगै बजार बस्न थाल्नु भएकी आमाले बेलाबेला भन्ने वाक्याशं सम्झिन्छु ।
(मकवानपुरमा शिक्षण पेशामा संलग्न खनालको ‘विचारको उल्टो नदी’ कविता संग्रह प्रकाशित छ ।)
प्रकाशित मिति २०७२ फागुन १३ गते

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog