Saturday, November 7, 2020

पुराना पाना पल्टाउँदा ।

 पुराना पाना पल्टाउँदा ।

सुवास खनाल 

(शिक्षापत्र डट कममा प्रकाशित )


माध्यमिक तहको स्कुले जीवन सकिएको अठार वर्ष भएछ । अहिले बाह्र कक्षा उत्तीर्ण भएपछि बल्ल माध्यमिक तह उत्तीर्ण भएको मानिन्छ । तर हामी सो तह पढ्दाताका एस एल सी पछि कलेज भन्ने प्रचलन रहेको थियो । हुन त बाह्र सम्म उच्च मावि नै थियो । अहिले उच्च मावि भन्ने संरचना हराएकोे छ । संभवत ः सबैभन्दा लामो समय साथिहरू सँग सहचार्य गर्ने अध्ययन संरचना भनेको विद्यालयीय उमेर नै होला । कलेज छिरेपछि उत्ति साह्रो समयावधिका अध्ययन संरचना छैनन् । स्नातक तह ३ वर्षे ( हाल चार वर्षे ) । स्नात्तकोत्तर तह दुई वर्षे । चिन्दाचिन्दै छुटिने बेला भइसक्छ । परिपक्वताको उमेरमा प्रवेश गरिसकिएको हुन्छ र यो समयमा करियर निर्माण , जीवन व्यवस्थापन पनि आउने हुनाले विद्यालय उमेर जत्तिको मोहक र साथिहरूसँग नजिकिने समय उत्ति बन्दैन । 

यत्तिका भूमिका बाँध्नुको मूल ध्येय विद्यालयीय जीवनका पानाहरू पुन : पल्टाउनु र जीवनका पुराना रिलहरूतिर दृष्टि दिनु नै हो । यो क्रमबद्ध र व्यवस्थित स्मरणहरू नहुन सक्छ तर यादका झिल्काहरू जो नमेटिने भएर बसेका छन् , तिनको तस्वीर पुन ः खिच्दै बस्न चाहनु हो । हामी आजको दिनहरूमा अघि बढ्छौँ ,त्यसको उर्जा हिजोसँग पनि जोडिएको छ । जापानी प्रशिद्ध लेखक हारुकी मुराकामी भन्नुहुन्छ – ‘ जतिसुकै कष्ट भोग्नु परेको भए पनि, तपाईंले ती सम्झनाहरूलाई कहिल्यै त्याग्न चाहनुहुन्न ।’ यसमा दुविधा छैन– हामीले हिँडेका असहज बाटाहरू नै सहजता तिरको अभ्यास हो । 


तत्कालीन कर्म प्राप्ति निमावि छतिवन –८ मा कक्षा ८ सम्म अध्ययन गरेको तेह्र चौध बर्षे केटो महेन्द्र माध्यमिक विद्यालय छतिवनमा कक्षा ९ मा अध्ययन गर्न आइपुगेको थिएँ । कक्षा ८ को जिल्लास्तरीय परीक्षामा जिल्लाका उत्कृष्ट २० विद्यार्थी छनौट हुँदा आठौँ भई कोल्गेट पाल्मोलिभ छात्रवृत्ति प्राप्त गरेकाले अलिक चिनारीको केन्द्रमा थिएँ म । कक्षा – ९ को पहिलो दिन कसो होला र नयाँ विद्यालयको अनुभव कसो रहला भन्ने उत्सुकता मनका भित्ताहरूमा दगुरीरहेथ्यो । कर्मचुलीका वाशुदेव खनाल, अमित बञ्जारा र रिझनाथ ठाकुरजस्तै प्रभावी शिक्षकहरू हुनुहुन्छ अथवा हुनुहुन्न होला भन्ने त छँदै थियो । पावसबाटै विद्यालय जाने चिरञ्जीवी , सङ्गम बानियाँहरू अब बाटोका साथिहरू बन्दै थिए । गाउँबाट मच्चिएर हिँड्दा बीस वा पच्चीस मिनेटमा पुगिन्थ्यो स्कुल तर वर्षामा खोलाले सातो लिन्थ्यो । अहिले पक्की पुल भएर खोला पार गर्ने त्यहीँका विद्यार्थीलाई यी कुरा रमाइला कथाझैँ लाग्न सक्छन् । त्यही खोलाकै डरले पहिले हामी कर्मचुली पढ्न गएथ्यौँ । बुवाआमाले त्यता हालिदिनु भएको थियो । 


सुरुको दिन पहिलो बेञ्चमा बस्न पाउने लालसाले ८ नै बजे खाना खाएर साथि सङ्गम बानियाँ , जीवन पौडेल भाइ र म स्कुल गएथ्यौँ । त्यतिखेर आइपुग्दा नि स्कुल नजिक घर हुने साथिहरूले एउटा–एउटा कपी राखेर पहिलो बेञ्च त रिजर्भ गरिसकेका रहेछन् । हाम्रो ठाउँ रह्यो दोस्रो बेञ्च । त्यही बेञ्चमा हामीले बस्ने ठाउँ पायौँ । पहिलो वा दोस्रो बेञ्चमा बस्नु पनि खुबै महत्वको विषय बन्थ्यो । उद्धव सर , रमेश सर, जनार्दन काकाहरू त अगाडि देखि नै परिचित शिक्षक हुनुहुन्थ्यो । उद्धव सर र रमेश सर साहित्यमार्फत परिचय हुनुभएका अरु बाँकी शिक्षकहरूबारे कौतूहलता रहेकै थियो । यता विद्यालयमा प्रथम भएर गएको विद्यार्थी भन्ने हिसाबले पनि सबै शिक्षकहरूले सहज ढङ्गले व्यवहार प्रस्तुत गर्नुभएको महशूश हुन्थ्यो । तर एउटा कुरामा त्यही दिन फेल भइयो । नेपालीको घन्टीमा आउनु भयो रमेशमोहन सर । उहाँले ९ कक्षामा नयाँ आउने विद्यार्थीलाई क...ख...,...ज्ञ सम्म लेख्न दिनुभयो । मेरो ‘ख’ बिग्रियो । मैले ‘रव’ लेखेछु । ‘ख’ लेख्दा ‘र’लाई तलबाट घुमाएर लगेर ‘व’को तल्लोपट्टि जोड्नुपर्छ भन्ने मैले कक्षा नौमा रमेश सरमार्फत सिकेँ । विचारक इयोन कोल्फरको – ‘आत्मविश्वास भनेको अज्ञानता हो ’ भन्ने भनाइ सधैँ सम्झिरहन्छु । मलाई ‘ख’ लेख्न आउँछ भन्ने आत्मविश्वास थियो त्यो मेरो अज्ञानता रहेछ ।


मसँगै अध्ययनको प्रतिश्पर्धामा थिए –साथीहरू दिलीप हुमागाईँ , राजन राय , सङ्गम बानियाँ ,टीकाराम राई लगायत । जाँचको अङ्कमा प्रतिश्पर्धी थियौँ तर व्यवहारमा सौहार्द । आज पनि त्यो सौहार्दता कायम छ ।  मिल्ने साथिहरू थिए –दीपक गौतम, इन्द्र घिमिरे, रामशरण माझी , जीवन पौडेल , बद्री पाण्डे , उद्धव अर्याल , विश्वनाथ सञ्जेल , नोख विक, विष्णु विक, केदार न्यौपाने लगायत । आज पनि यी साथिहरू आआफ्नो क्षेत्रमा प्रभावी छन् ।  

आज महेन्द्र माविले रुप फेरेको छ । समन्वय र सहभागितामूलक संरचनाकै कारण नमूना विद्यालय बनेको छ । तुलनात्मक रुपमा भौतिक संरचना दर्विलो छ  । ठूलो एकाइमा काम भइरहेको छ । शिक्षक दरबन्दीको उपर्युक्तता नदेखिएपनि अन्य हिसाबले सशक्तता देखाइरहेको छ । तर पुराना दिनहरूको सम्झनामा जाने हो भने माटो ढुङ्गाले बनेको गाह्रो । भत्किएका बेञ्च र ढल्न लागेका काठका खाँबाहरू । २०७२ अघि नै विद्यालयको संरचना बदलियो र  नत्र त्यही भुकम्पले विद्यालयको संरचना ध्वस्त बनाउने थियो । 

हामी विद्यार्थीहरू मिलेर शुक्रबार –शुक्रबार भुईँ बढार्ने , भित्ता र भुईँ पोत्ने काम गथ्र्यौँ । कहिलेकाहीँचाही पढ्न मन नलागेको कक्षाको लागि गतिलो निहुँ पनि यही बन्थ्यो । घण्टी खालि भएका बेला ठेकीफल र बयर खान जाने समय पनि गज्जबसँग बन्थ्यो । केही साथिहरू थिए राजनैतिक गफ गर्न सिपालु , हामी पनि जानेनजानेको तर्क गथ्र्यौँ ।

कक्षा १० पढ्ने बेला जनयुद्धको प्रभाव छतिवनमा पनि राम्रैसँग प¥यो । तत्कालीन माओवादीले आयोजना गरेका कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागिता जनाउन विद्यालयमा आग्रह हुन थाल्यो । शिक्षकहरू अलमलमा पर्नुभएको हामी प्रष्टैसँग बुझ्थ्यौँ । राज्यको एक अङ्गको रुपमा क्रियाशील शिक्षण संस्थाबाट विद्यार्थी लैजाँदै गर्दा प्रशासनबाट गलत ढङ्गले बुझिने अवस्था रहन्थ्यो । दोहोरो मारमा शिक्षण संस्था र शिक्षकहरू थिए । केही कार्यक्रमहरूमा हामी पनि सहभागी हुन पुग्थ्यौँ । त्यहाँको आन्तरिक सुरक्षाको लागि गरिएको हुनसक्छ तर हामीलाई भने कार्यक्रममा छिराउने तर बाहिर जान नदिने र मान्छेको साङ्लोमा कैद गर्ने शैली मन पर्दैनथ्यो । एउटा कार्यक्रम हात्तिसुँढेमा हुने र विद्यालय सबै बन्द गरेर विद्यार्थी लैजानु पर्ने सूचना विद्रोही पक्षबाट विद्यालयमा आएको रहेछ तर सरहरूले भने इच्छा हुने जान्छन् सबैलाई कर छैन भन्ने ढङ्गले कुरा गरेर कक्षा सञ्चालन गर्न लाग्नु भयो । त्यो बेलाको त्यसै क्षेत्रका जनमिलिसियाको कमाण्डर भनिने एकजना व्यक्ती आएर हाम्रा एकजना गुरुलाई निकै नराम्रोसँग झपारे र ज्यान मार्ने सम्मको धम्की दिए । यसरी हेर्दा तत्कालीन विद्रोही शक्तीमा राज्य परिवर्तनका चाहना बोक्दा बोक्दै पनि  अराजकताहरू पनि रहेको हामी महशूश गर्दथ्यौँ । अहिले  समय बदलिई सकेको छ । पुरानो विद्रोही शक्ति मुलधारे राजनीतिमा समाहित भइसकेको छ । हिजोका वैमनश्यका खाटाहरू क्रमश : पुरिँदै होलान् । 

आज फर्केर छतिवनलाई हेर्दा ती पदचिह्नहरू जुन हामीले छाडेर आयौँ ती त मेटिँदै होलान् । त्यहीँबाट फुत्केका मध्ये कोही विदेशी भूमिमा आफ्ना पहिचान कायम गर्दैछन् , कोही देशमै आफ्ना नाम र प्रभावहरू उजिल्याउने प्रयत्नमा छन् । जहाँ पुगेपनि वा उहीँ रहेपनि ,यी सबै जमिन छुट्टाछुट्टै छैनन् ।  सबैले फेर्ने हावाको तह एउटै हो । हाम्रो जमिन छतिवनसँग जोडिएकै छ , हामीले सास फेर्दा हावाबाट लिने अक्सिजन र छाड्ने कार्वनडाइअक्साइड घुम्दै यावत जगत डुल्छ , जहाँ  छतिवन पनि सँगै छ ।


समृद्ध समाजको असल यात्रा

समृद्ध समाजको असल यात्रा सुवास खनाल  - ४ हप्ता अगाडि Facebook Twitter Pinterest WhatsApp   Share   Tweet   Share   Share अहिलेको समयलाई सूचन...

Search This Blog