Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Wednesday, April 8, 2020

उसले खोजेको घाम ( मातृभूमिमा प्रकाशित )

उसले खोजेको घाम

सुवास खनाल
मलाई अनुभव भइरहेको शरिरको यो कम्पन ज्वरोले हो कि वा अभावको कुनै धुमिल आकृति हो । 

जब ऊ सँग मेरो भेट भयो ,मलाई लाग्यो ऊ यही सोचेर बसिरहेको छ । म उसको कोठामा यसै महिनाको हप्तान्त भेट्न गएको थिएँ । एमएस्सीको प्रवेश परीक्षा दिँदाताका उसको र मेरो पहिलो भेट भयो । अहिले यो तह झन्डै समाप्त हुन लागेको छ । कलेज अध्ययनको सिलसिला सकिइसकेको छ तर परीक्षा सुरु भएको छैन । ऊ अलिक बिमारि रहेछ । ऊ भन्दै थियो– “यार यो इक्जाम पनि दिऊँ कि नदिऊँ ।”

मैले उसको कोठामा माकुराका जालाहरू पनि अलिक प्रशस्तै जम्मा भएको पाएँ । हुन त सहरमा सस्तै खालको कोठामा ऊ बस्ने गरेको छ । ऊ विवाहित पनि हो । तर उसकी स्वास्नी उतै घरतिर सासुलाई स्याहार गर्दै बस्ने गरेको मलाई पनि अवगत छ ।“ यो उसलाई संस्कृतिले दिएको गजबको कहालिलाग्दो  चिनो हो भनेर  ऊ आफैँ पनि बताउने गर्छे” – ऊ मलाई यस्तै भन्थ्यो ।

उसले एउटा बोर्डिङमा सस्तै खालको जागिर गथ्र्यो । गफैगफको सिलसिलामा कुनै दिन मैले भनिदिएको हुनसक्छु – “यार कसरि सकिन्छ ,पूरा समय काम गरेर एमएस्सी पढ्न ? यो कुनै जोक त होइन नि ? त्यसमाथि फिजिक्स,यो त पूरै रिसर्च को विषय हो  ।” उसले पनि गफैगफको सिलसिलामा भनेको हुनसक्छ –“ हो जसरी तिमी पूरा काम गरेर अध्ययन असम्भव छ भन्दैछौ नि ? त्यो तिम्रो सीमारेखाको कुरा हो । मेरो सीमारेखा अर्को छ –मैले पूरा काम नगरी पढ्नुचाहिँ असम्भव छ । पैसा पकेटमा उब्जिने कुरा होइन नि यार ।”

यस्तै खालको वार्तालाप मेरो दिमागको भित्ताहरूमा ठोक्किइरहेको कहिँकतै रमरम सम्झना भइरहेथ्यो ।

पछिल्लो पटकको उसको अभिव्यक्तिले भने म अलिक अतालिएको थिएँ । ऊ किन परीक्षा नदिने विचार निर्माणको तहसम्म पुग्न खोज्दैछ ? मैले उसलाई भनी पनि हालेँ – “तिमी त यो तहसम्म विना रुकावट उत्तीर्ण हुँदै आएका छौ । तिम्रो यो निर्णय त कुनै बाल निर्णयझैँ पो अनुभूति भइरहेछ ।” 

“ बाल निर्णय यो  तहको हुनै सक्दैन । मैले मेरो जीवनमा अध्ययनको उत्तरार्धतिरको अन्तिम वर्षको परीक्षा छोड्न खोज्दैछु । यो स्तरको निर्णयलाई कुन अर्थमा बाल निर्णय भन्दैछौ ?” –उसले मतिर तेस्र्याएको प्रश्न मेरो प्रश्नभन्दा झन् जब्बर र कठीन महसुस गराउने अर्थको हुन पुग्यो ।

ऊ मलाई बताउँदै थियो । घरमा उसकी स्वास्नी छे । यो पनि उसले मन पराएर भगाएर ल्याएको हो । विवाह गर्नुपरेका भए त ऊ आजीवन एक्लो हुने थियो । बजारमा सुनको भाउ बताउँदै थियो ऊ । ऊ सधैँका निम्ति बन्धकी बस्दा पनि तिर्न नसकिने भएको छ , बजारमा सुनको तोलाको भाउ । 

“तर ऊ कति असल र गुनी छे भने नि सबै अभाव ऊ हाँसेरै पचाइदिन्छे ,जसले मलाई जलाउने र डाहा गराउने पनि गर्छ ।”– यो अभिव्यक्तिमा ऊ रुँलारुँला झैँ गर्छ । भन्छ –“ कहिलेकाहीँ त मैले उसलाई फसाइदिएँ झैँ लाग्छ । ऊ मसँग नभएकी भए अरू कसैसँग सुखमा हाँस्दै त जिउँथी । ऊ मसँग पनि हाँस्दै जिउँदै छे तर म स्पष्ट देखिरहेको छु उसको हाँसोले कतिवटा पीडाका पहाडहरू छेल्दै बस्छन् । जसले मलाई जलाउला जलाउला झैँ गर्छ ।”

घरमा उसका दाजु भाउजु पनि छन् । उनीहरू छुट्टा बसिसकेका छन् ,अब यो सम्बन्धले औपचारिकतामात्र बाँकी राख्ने कुरा कसैलाई बताइरहनु आवश्यकीय छैन । बाक्लो दाल खाने भन्ने सामाजिक उखान त्यसै बनेको होइन । यो उसले धेरैपटक दोहोर्‍याइ दोहोर्‍याइ भनेको मेरो कानमा ताजा गुन्जिरहेको छ ।

“घरबेटीले पानी पनि राम्रो दिँदैन । सायद् भाइरलकै कमाल हुनुपर्छ , सधैँको हप्तामा चारदिन ज्वरो आइरहनु । पानीको पैसा नतिर्दा इनारको पानी खानुपर्छ ,जुन कहिल्यै सफा नगरिएको र एकदम कम खनेर वर्षामा जम्मा गरिएको हो ।”–ऊ यसो भन्दै गर्छ  तर उसले आफ्नो खानाको प्रकार ,खानाको समय ,खानाको तरिका वा यस्ता कुराहरूलाई दोष दिने भने कुनै चेष्टा गर्दैन । तर मेरो अनुमानले यी कुराहरूलाई पनि कहाँ बाँकी छोड्थे र ?

ऊ बताउँदै थियो । उसको बाउ उसलाई खुब माया गथ्र्यो । मेला जाँदा खाजाका रुपमा दिइएको रोटी पनि बेलुका पटुकीबाट निकालेर उसलाई खान दिन्थ्यो । तर ऊ असाध्यै खोक्थ्यो । अहिले उसले पत्तो पाएको छ–त्यो उसले चौबिसैघन्टा तानिरहने चुरोटको उब्जा रहेछ । तर ऊ मरेर गयो । बेलाबेलामा भन्ने गथ्र्यो –यो देशमा हाम्रो लागि पनि शासन आउँछ । उसलाई सम्झना छ बाबुले भनिरहने त्यो शासन  अहिले आएको गणतन्त्र या यस्तै केही नामको थियो । तर पछि उसलाई रोगले च्याप्यो । डाक्टर धेरै पैसा होइन करिब लाखको हाराहारीमा खर्च गर्न सके बाउ बाँच्छ भन्दै थियो । र यो लाख उनीहरूका निम्ति धेरै रकम थिएन बरु धेरै भन्दा धेरै चाहीँ थियो ।

अब आमा बाँकी छे । ऊ पनि उसलाई प्राणले प्यार गर्छे । छोरी जन्माएकी छे स्वास्नीले । यो कुनै फूल टिपेर पठाइदिएझैँ छे ,भगवानले । तर उसमा छ औधीको आँधी ।

उनीहरूसँग एकथोक मात्र छैन जुन अहिले सबै थोकजस्तो छ ,आर्थिक स्रोत । र यसले नै भत्काएको विकृत अनुहार बोकेर बाँच्नु बाध्यता र यससँगका सबै उल्झनहरू बनिसकेका छन् । 

“यो देशमा विज्ञान पढ्नु मरुभूमिमा खोस्रेर पानी खोज्नुजस्तै हो” – उसले आफ्नै विषयमाथि धावा बोल्दै थियो । यसले ममा पनि गहिरो विह्वलता ल्यायो । “कोर्स स्टाइल यूरोपियन र अमेरिकन ,पढाइ र प्रयोगशाला नेपाली स्टाइल” , निस्फिक्री चुरोटको धुवाँँँँँँँ उडाउँदै ऊ बोल्दै थियो –“ मलाई त यार केही भर छैन ,अब पढाइ सकियो ल मानूँ ,मलाई जागिर खुवाउँछ कसले ? न मेरो काका बाउको कलेज ,न मेरो ससुराको स्कुल । फिजिक्स पढियो ,कामै पाएपनि पढाउने मात्रैको । यो त बौद्धिक अभ्यास र वैज्ञानिक क्षेत्र हो नि ,अनि आविष्कारको पनि । यो देशमा आविष्कार कुन जन्तुको नाम हो कसैलाई थाहा छैन । ” उसले कहिलेदेखि चुरोट खान सिक्यो यो पनि मलाई थाहा भएन । ऊ भन्दै थियो –“सरकारले धुम्रपानमा कडाइ गरेको दिनदेखि यो सुरु गरेँ ।”

उसले कक्षामा एकदिन प्रश्न गरेको सुन्दै थिएँ –“प्रोफेसर यहाँ शिक्षक र विद्यार्थीको हुल मात्र जम्मा पारेर कुन तमासा गर्न खोजिएको हो । यो निर्माण गर्न खोजिएको जनशक्ति केवल शिक्षक हुन मात्र हो भने त धरैजनाको सङ्ख्यामा अध्यापन गर्नु आवश्यक नै हुँदैन नि ?अध्ययनले त निर्माणात्मक जनशक्ति तयार गर्नुपर्ने होइन र , जुन दक्ष होस् र देश विकासको हरेक क्षेत्रमा काम लागोस् ?”मैले यो प्रश्न अलिक ध्यान दिएरै सुनेको थिएँ तर प्रोफेसरले मैले जत्तिको पनि ध्यानले सुनेन सायद् र केही क्षण मौन बसेर सिद्धान्तकै कुराहरू भट्याउन थाल्यो ,जुन विश्वविद्यालयले अध्यापनका निम्ति निर्धारण गरिदिएको थियो । घन्टीको अन्तिम समयतिर प्रोफेसर फुसफसे आवाजमा भन्दै थियो –“कोर्स धेरै बाँकी छ ,विषयान्तर हुनु ठीक छैन ।” 

परीक्षाका केही दिन अघि मात्र थाहा भयो –उसले परीक्षा फर्म भरेको रहेनछ । कारण सोध्न म उसैको कोठासम्म गएँ । उसले कारण बतायो –“म केही दिन निरन्तर बिमारी परेँ । बोर्डिङलाई यो कारणले भरपर्दो काम ग¥यो मलाई हटाउन । अब मेरो पैसाको बाटो सबैतिरबाट बन्द भयो तर फर्म भर्नू थियो आठसय तिरेर । मलाई सबभन्दा सजिलो उपाय फु¥यो –रुसोलाई पछ्याउने ,घर फर्किने र यो सब गञ्जागोलबाट मुक्ति लिने ।”

म भन्दै थिएँ –“तिमीले मलाई एकपटक मात्रै किन नहोस् ,किन बताएनौ यसबारे ?”
ऊ भन्दै थियो –“निगाहामा बाँच्ने मेरो बाउदेखिकै आदत होइन । र मैले यो कहिल्यै सिकिनँ । मेरो बाउले भनेकै जस्तो शासन यो देशमा जुन हाम्रो लागि पनि हो,त्यो पनि त आउनेछ  कुनैदिन र मेरो प्रमाणलाई सबभन्दा बढी त्यही दिन कुनै सत्यको पक्षमा पेश गर्नेछु । यो हाम्रो खुसीको दिन हुनेछ । ”

ऊ अझै निस्फिक्री थियो र सामान जस्ता केही गुन्टाहरू मिलाउँदै थियो ,घर फर्किन ।

म अलिक विचलित थिएँ । र कहीँ भित्र घाउजस्तै केही दुखिरहेको अनुभूति हुँदै थियो । र म हेर्दै थिएँ त्यही घाम ,जुन अस्ताउँदै थियो मेरो क्षितिजपारि ।

ऊ थियो प्रकाश ,जुन धुमिल हुँदै मबाट बिलायो र म, म भइहालेँ उसको साथि । र उसले कुन रहस्यको
घाम खोज्दै हिँड्यो ,म अहिले पनि सोचाइको गर्भमै विलाइरहेको छु । 

र उसको घाम उदाउँछ कि उदाउँदैन परको घुर्मैलो क्षितिजदेखि ।

छतिवन : ८,पावस


subaspoet@gmail.com


Sunday, August 18, 2013

A story

कथा

                      ..... अर्थात् स्वत्व
सुवास खनाल

यो साँझ फेरि उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । र यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद मलाई खास थाहा छैन र त्यत्रो मतलब पनि छैन । यो साँझ अलिक फरक घटना भयो ।

पश्चिमी क्षितिजबाट सूर्य फुत्किएर भागेको केही समय भइसकेको छ । रमरम अँध्यारो छ । वास्तविक अँध्यारो के हो ?,यो पनि मलाई थाहा छैन । मैले केही पुराना तर क्लासिक कविहरूको कवितामा अँध्यारोलाई नकारात्मक प्रतीक बनाइएको विषय भने पढेको छु । अँध्यारो कसरी आफैँमा नकारात्मक छ ? यो प्रश्नले बारम्बार मलाई हिर्काइरहेको पनि हो । तर उत्तर खोज्नुमा खास महत्व भने मैले दिइनँ ।

यो समय मलाई अत्यन्त मनपर्छ । प्रायजसो म पुस्तक अध्ययनको समय यही छान्ने गर्छु । घाम अस्ताइसकेको तर अँध्यारोको प्रारूप भने पूरै खडा नभइसकेको र यस क्षण पुस्तकका पानाहरूमा अक्षरका गहिराइहरू नाप्नु मेरो निम्ति सर्वप्रिय विषय बन्छ । मैले जीवनका केही रहस्यहरू सायद् यही समयको छेउछाउ पत्ता लगाएँ भन्ने मेरो अनुमान हो , र जीवन रहस्यमयी छैन भने यो कुरा झुठ पनि हो । अध्ययन र सोच मेरा निम्ति एकपछि अर्को हुनु आवश्यक छ । अध्ययनमा प्राप्त विचारहरू माथिको चिन्तन सर्वशक्तिशाली स्तरको चेतना प्राप्तिका निम्ति सहायक बन्छ भन्ने मेरो अनुमान हो । तर म आजभने अध्ययनको क्रममा रहेको थिइनँ । म कतै गइरहेको छु । र यो गइरहनु कुनै एउटा दिशा ताकेर हिँडिरहनु थियो । र यी दिशाहरूसँग भने मेरा उद्धेश्य ,सोच , परिकल्पना वा गन्तव्यहरू गाँसिएर आउँथे ।

गइरहनुकै बीचतिर एक प्रश्नले मेरा कानहरूको प्वाल हुँदै मष्तिष्क छिचोलेको अनुभव भएको कुरा सत्य हो । यो आवाज केही फरक नै थियो । बाङ्गोटिङ्गो हिँड्ने सर्पको अनिश्चित गतिजस्तो अथवा कुनै तेस्रो ग्रहको हामीले थाहा नपाएको मान्छेको आवाज हो कि ? ( झैँ) ।

“तपाईँको खबर के छ ?”
“ मैले तपाईँलाई चिनिन ।”
“ तपाईँले कसलाई  चिन्नुहुन्छ र ? वा मैले भन्न खोजेको कसले कसलाई चिन्न सक्ने क्षमता राख्छ र ? तपाईँले तपाईँ आफूलाई नै सायद चिन्नुभएको छैन ।”
“यो पनि हुनसक्छ कि म आफूलाई चिन्छु ।”
“ असम्भव ।”
“यो असम्भव पनि त असम्भव हुन सक्छ नि ? ”
“ असम्भव ,असम्भव छ भने त्यो पनि असम्भव हुनसक्छ ।”
“ हुनसक्छ मात्रै त हो नि , हो त भन्न सक्नु भएन नि ।”
“ यो हो पनि हुनसक्छ मात्रै हो ।”

म यो वार्तालापलाई लम्ब्याउन चाहन्थेँ । यो रहस्यमयी पनि अनुभव भइरहेथ्यो । तर यसको क्रम यहीँ टुङ्गियो । यतिखेर सम्म मैले वार्ता गरिरहेको व्यक्तिको स्वरूपसँग खास महत्व राख्दै थिइनँ । अब भने ममा त्यो उत्सुकता बढ्दै रह्यो । मैले पछाडि फर्केर हेरेँ । यहाँ कुनै शारिरीक बनावटको स्वरूप थिएन । अब भने मैले तीन छक्क खाएँ । केहीछिन प्रकृतिले वरदानस्वरूप दिएको हावा निस्तो निल्दै आँखा मिच्दै रहेँ । मेरो आँखामा समस्या पक्कै थिएन । अब मसँग सम्भाव्यताका केही अड्कलहरू बाँकी थिए ।

१.यो सब भ्रम थियो ।
२.कुनै अशान्त मृत आत्माको आवाज थियो ।
३.वा बाँकी अरू कुनै अज्ञात सम्भाव्य अवस्था थियो ।

मलाई जिन्दगी सोचेभन्दा अर्को कुनै अज्ञात सम्भाव्य अवस्था जस्तो मात्र लाग्ने गर्दछ । तर यो जीवन सोचको कुरा  छाडौँ , म अर्को समस्याबाट पीडित भएको पो अनुभव हुँदै थियो ।

मलाई यो साँझले  विस्मयका केही प्रश्नहरू छोडेर गयो । अब म त्यस्तै अर्को साँझ पर्खन थालेँ । म यो रहस्यको पटाक्षेपकै निम्ति बढी अग्रसर रहेँ । अर्को दिन उही समय उही दिशामा र उही तरिकाले मेरो यात्राको थालनी भयो ।

तरिका उही थियो । यो आवाज अब मेरो लागि परिचित छ । हावाको मसिनो झोक्का आयो र फेरि शान्त भयो । यही हावाकै बेगजस्तो मेरो कानका नशाहरूले आवाजको ज्ञान प्राप्त  ग¥यो ।

“तपाईँमा भोक जाग्यो कि के हो ?”
“हैन म त अघाएकै छु ।”
“फेरि तपाईँले कुरा बुझ्नुभएन ।”
“नबुझ्नुको मतलब तपाईँले कुरा बुझाउन नसक्नु भएको पनि हुनसक्छ । ”
“ हो हो, यो हुनसक्छ पनि हुनसक्छ ।”
“ तपाईले भन्नुभएको भोक अर्कै प्रकारको होला भन्ने मैले अनुभव गरेँ ,अर्थात् भोजनसम्बन्धी भोक हैन ।”
“ हो तपाईँ एकदमै सही अनुमान गर्दै हुनुहुन्छ ।  तपाईँले मलाई चिन्न वा भेट्न तपाईँमा भोक जाग्यो कि भन्ने मेरो जिज्ञासा हो ।”
“यस्तो भएको हो कि भन्ने ममा पनि अनुभूति भइरहेको छ ।”

यसरी केही साँझ बित्दै गए । यस्तो वार्तालाप पनि हुँदै गयो ।

“ मेरै कारणबाट तपाईँ बेचैन बन्नु ठीक होइन ।”
“ यो त स्वभाविक छ नि हैन र ? कुनै मुठ्ठी बन्द गरेर अर्को मानिसलाई देखाइयो भने उसमा त्यसभित्र के छ भन्ने जिज्ञासा जाग्न पाउँदैन र ?”
“जिज्ञासा जाग्न पाउनु शतप्रतिशत जाहेज हो । तर त्यसभित्रको कुरा कुनै पनि तरिकाले हेर्न पाउनुपर्छ वा हेर्नैपर्छ भन्ने चिन्ता पाल्नु वा हठ राख्नु गलत हुनपुग्छ ।”
“यसलाई यसरी नै बुझौँ न यो जिज्ञासामात्र हो ।”

आजको वार्तालाप पनि यहीँ टुङ्गिदियो । मैले जिज्ञासामात्र भनेपनि त्यो बेचैनीजस्तो वा चिन्ताजस्तो बनिसकेको थियो । म पुरानै प्रमाण भन्दा अघि बढ्न सकिन । वा यो वार्तालाप पुरानै शैलीमा भयो । जब मैले पहिलेजस्तै पछाडि फर्केर हेरेँ त्यहाँ त्यस्तो कुनै मैले हुनुपर्ने ठानेको आकृति थिएन । अब ममा यी बितेका साँझहरू जस्तो आउने साँझहरू भने फरक अनुभूति दिलाउने हुने छैनन् किनकी अब मेरो यो दैनन्दिन भइसक्यो । भनूँ न एक खालको अभ्यस्तता । अब म मान्छेका समूहहरूबाट अलिक टाढा हुँदै थिएँ । साथीहरू मलाई ,यो त साइको भयो भन्दै हुन्थे । अनि सोच्थेँ –एक खालको साइको त सबै हुन् ,तिनीहरू पनि । तर मौनता मेरो अन्तिम उत्तर बन्न थाल्यो ।

अर्को साँझ ।
“यो आवाज नै होइन कि भन्ने तपार्इँ अर्को भ्रममा पर्न सक्नुहुन्छ ।”
“हैन मैले आवाज त ठम्याइरहेको छु । तर यो आवाजको साकार स्वरूप फेला पार्न सकिरहेको छैन ।”
“आवाजको ज्यमितिय आकार र ठोस स्वरूप हुन्छ भन्ने म विश्वास गर्दिन । यद्यपी यो सर्वसत्य आवाज हो ।”
“सत्य हुन त प्रमाण हुनुपर्ला नि ।”
“ अब सबभन्दा धेरै समस्या यहीँनिर भइदियो । सत्यको कुनै प्रमाण हुँदैन । सत्य त सर्वथा सत्य मात्र हो ।”

आजको वार्तालाप पनि यहीँ टुङ्गियो ।

घरमा अब म एक्लै हुन्थेँ र रहन चाहन्थेँ । गाँजा तानेर एकोहारिएका पशुपतिका कुनै जोगीबाबाहरू जस्तो मेरो अवस्थिति रहन थाल्यो । यो क्रमले परिवारका सदस्यहरू दिक्क भइरहेथे । हुन त मपनि दिक्क थिएँ । तर ममा एकखालको उत्सुकताले गाँजेको थियो ,म उही आवाजको नजिक हुन चाहन्थेँ र जिज्ञासाका केही पोकाहरू फुकाउन चाहन्थेँ ।

फेरि अर्को साँझ ।
“ मलाई लाग्यो तपाईँ कुनै फकीर झैैैँ हुनुहुँदो रहेछ । नत्र तपाईँको मप्रतिको आकर्षण यति धेरै रहन्न थियो होला ।”
“ खै यो तपाईँको अनुमान हो । त्यसले तपाईँकै विश्वासलाई प्रकट गर्दछ । यसमा मैले भन्नु केही छैन ।”
“ यो पनि हुनसक्छ कि तपाईँमा आफूसङ्गत केही अनुमान त पक्कै छ ।”
“यो त पक्कै छ ,तर मैले यो अनुभव गर्दैछु कि मैले आफूसम्मत जे अनुमान गर्दैछु ,त्यत्तिमात्र म होइन कि ?”
“तपाईँ बल्ल लाइनमा आउँदै हुनुहुन्छ ।”
“ तर म यो लाइन भन्ने कुरा बुझ्दिन ।”
“ नबुझ्न पाउनु तपाईँको अधिकारको कुरा हो ।”

वार्ता लामो हुने गर्दैन । अलिक अनौठो र जटील किसिमको मात्र हुने गर्दछ । मलाई यो कुरा अरूलाई सुनाउन पनि मन छैन । साथीहरूलाई सुनाएमा हावा गफ भन्दै उडाउनेछन् । परिवारलाई सुनाएमा परिवारको मप्रतिको चिन्ता झन् बढ्नेछ । परिस्थिति खास जटील पनि होइन । त्यो आवाजले मलाई खोज्दै आएको पनि छैन । उल्टो म बरू त्यस आवाजलाई पछ्याउँदै हिँडिरहेछु । यदी म आफू नै उक्त आवाजदेखि टाढिने हो भने सबै समस्याको. समाधान त्यहीँ छ । हुन त यो  फेरि समस्या पनि होइन । म त्यस आवाजकै पछि लागेर हिँडेपनि त्यसलाई सामान्य सोचिदिने हो भने यहाँ कतै केही अप्ठेरो नै छैन । मलाई यो रहस्यको पछि लाग्न नै मन छ ।

उसैगरी ।
“ कतै तपाईँलाई , म को हुँ जानकारी पाउन मन छ होला ।”
“यो त तपाईँले मेरो मनकै कुरा भनिदिनुभयो । यही कुरा त मेरो मनमा बालहठ जस्तो बनेकाले म यो आवाजलाई पछ्याइरहेको छु ।”
“ तर मैले यो बताउन जरूरी नै ठान्दिन ,यो तपाईँले आफैँ निकै सहजसँग पत्ता लगाउनु हुनेछ ।”
“ सबभन्दा अप्ठेरो कुरा म कति सम्मलाई सहज भन्ने नै पत्ता लगाउन सक्दिन । मैले असहज जहाँदेखि सोचिदिए पनि त भयो नि हैन र ?”
“ अब यहीँ त भूल छ,यदी कुनै कुरा निकै कठिनताका साथ प्राप्त भयो भने पनि त्यसबेला प्राप्त नहुनु भन्दा सहज त हो नि, होइन र ? यसको मतलब मानिसले गर्नसक्ने अन्तिम प्रयास सम्मको अवस्था सहज हो भन्ने मलाई लाग्दछ । यसर्थ तपाईँ प्रयासमा नै रहिरहनुहुनेछ भन्ने मेरो अनुमान हो ।”
“तपाईँको अनुमानलाई मेरो सलाम छ ,तर ममा बेचैनी भने बढिरहेछ । तपाईँ कुन रहस्य हो मलाई छुट्याउन गाह्रो भइरहेछ ।”
“ म रहस्यमात्र भने पटक्कै होइन । तर तपाईँले मलाई रहस्यमयी मात्र फेला पार्नुभएको हुनसक्छ ।”

म यो साँझ अलिक धेरै आशावादी रहेँ । मैले यो प्रश्नको उत्तर पाउन भने सम्भव रहेछ भन्ने कुरा बुझेँ । यो बुझाइले मलाई अर्कै खालको राहत दियो । मैले परिवारमा त्यसदिन पछिल्ला साँझहरू मध्ये निकै धेरै कुराकानी गरेँ । यसले परिवारका सदस्यहरूको खुसीमा अनौठो वेभ पठाइदियो । मेरो बालखा छोरो पनि फर्कीफर्की आएर मेरो काखमा बस्दै रह्यो । अरू दिन ऊ पनि टाढाबाट कोही अपरिचितलाई हेरेझैँ मलाई हेथ्र्यो र गुर्रर्र कुदेर उसकै आमाको काखमा गएर बस्थ्यो । यो साँझ म निकै खुसी भएको पक्कै हो ।

“ म तपाईँभित्रै छु ।”
“ मेरो म आफूसँगै वार्ता !? मैले दङ्ग खाएँ । के मेरो आत्माले पखेटा हाल्यो ?,कि यो हावामा उड्दै छ र मसँग नै वार्ता गर्दै छ ।”
“ तपाईँको कल्पनाशीलता अलिक ठोस किसिमको रहेन ,यो तरल छ र जतासुकै जसोगरि पनि बग्न खोज्छ ।”
“ ठोस हुनुको आवश्यकता किन छ भन्ने नै मैले बुझ्न सकिन ।”
“ यो आवश्यकता भर्खरै खड्किएको भने पक्कै हो । तर यसमा तपाईँको कुरा नै मुख्य रहन्छ । कसैले यस्तो भइदिनुपर्छ भन्नु उसको आशासम्मको विषय मात्र हो ।”
“ तपाईँ सही हुनुहुन्छ । यसमा मैले टिप्पणी गर्नुपर्ने खास अवस्था महसुुस गरिनँ ।”
“ यो पनि हुनसक्छ ।”

फेरि अर्को साँझ र अर्को साँझ गरी केही साँझहरू बितेको कुरा गलत होइन । एक साँझ भने वार्तालापहरू मध्ये लामो वार्तालाप भएको हो ।

“मलाई एउटा चिन्ता भइरहेछ कि तपाईँ किन यति धेरै मप्रति सम्मोहित हुनुहुन्छ ?”
“ यो सम्मोहन भन्ने शब्द यहाँ गलत प्रयोग भयोझैँ मलाई लाग्छ ।”
“ तपाईँको दृष्टिमा गलत भएको मान्न सकिन्छ । तर सत्य त सत्य हो । हरेक गलतहरू पनि त आफैँमा  सत्य हुन् ।”
“ अब यहाँ केही समस्या छ कि भन्ने मेरो कुरा हो । उसोभए त हरेक सत्यहरू पनि आफैँमा गलत हुन् भन्न सकिएला नि ?”
“मैले भनिसकेँ सत्य सावित गर्न प्रमाण चाहिँदैन । तर गलत सावित गर्न प्रमाण चाहिन्छ । कुरा यत्ति मात्र फरक छ ।”
“अब यहीँनेर समस्या छ । प्रमाण के हो ? यो म बुझ्न सक्दिन ।”
“प्रमाण प्रमाणमात्र हो त्यो भन्दा पर वा वर केही पनि होइन । प्रमाण आफूले फेला पारेका मात्र सत्य हुन् झैँ लाग्छ । जस्तो कि तपाईँले मलाई फेला पार्नुभयो । यो तपाईँका निम्ति प्रमाण हो । अरूका निम्ति यसले प्रमाणको काम गर्न आवश्यक छ भन्ने मलाई लाग्दैन । तर फेरि यो पेश गर्न सकिने प्रमाण त होइन । यसैले म सत्य हुँ । यदी यो पेश गर्न सकिने प्रमाण भएका भए म सत्य नहुन पनि सक्थेँ । ”
“ भन्नुको मतलब हरेक सत्यको पेश गर्न वा देखाउन मिल्ने प्रमाण हुन्न भन्न खोजिएको होइन त ? ”
“कुरा त्यसरी बुझ्दा पनि खास फरक रहन्न । यत्ति हो कि –सत्य सत्य हो ।”
“ ( मतलब ) तपाईँ सत्यको अर्को नाम ?”
“ यो पनि होइन ,सत्य त विशाल छ । मेरो स्वरूपले त्यसको आकारअघि कुनै ठूलो प्रभाव राख्न सक्दैन । जे होस् तपाईँको मप्रतिको जिज्ञासाका निम्ति धन्यवाद ।”

अर्को साँझ ऊसँग  मेरो भेट भयो । ऊ को मतलब उही आवाजलाई बुझिदिँदा मात्र ठीक हुनेछ । यस साँझ पनि पूर्ववत ः वार्तालाप हुँदै गयो ।

“ तपाईँ समयको अर्को नाम ?”
( यसपटकको संवाद भने मैले सुरु गरेँ ।)
“ तपाईँको यो अनुमान हो भने  ,यसलाई स्वागत छ । तर म समयजत्तिको साहसी र बलवान छैन । अर्थात् म सबैलाई आफ्नो कठघरामा समयलेझैँ उसैगरि उभ्याउन सक्दिनँ । तर फेरि यो समयको कहीँ न कहीँ र कतै न कतै एक हिस्सा  मेरो भागमा पर्न आउँछ भन्नेचाहीँ मेरो विश्वास छ ।”
“ अब म तपाईँलाई चिन्न असमर्थ छु । मैले निकै कठिनतम प्रयासहरू भने गरेकै हुँ ।”
“मैले यो विश्वास गर्दै थिएँ कि तपाईँ हार्नुहुने छैन । सबैप्राय ः मानिस जिउनुको नाममा अनेक सम्झौताहरू गर्छन् र ती सम्झौताहरू मार्फत नै पराजित हुँदै जान्छन् । जे होस् यो मानवीय स्वभावको कुरा छोडिदिऊँ अब म तपाईँलाई जानकारी दिन्छु , म तपाईँले मान्ने गरेको जीवनको अस्तित्व हुँ । अर्थात् तपाईँको स्वत्व । अब तपाईँलाई आफूदेखि कुनै अचम्म लाग्नसक्छ । तर सामान्यकृत छ कि अस्तित्व मान्छेको अहम्को सबभन्दा पहिलो प्रश्न हो । यसको आविष्कार चराचर जगतको उत्पत्ति पछि लगत्तै भएको हुनुपर्छ । तपाईँको अस्तित्व सायद् तपार्इँको पहिचानको सीमाभन्दा बाहिर केही क्षण घुम्दै थियो । अब यो तपाईँ भित्र प्रवेश गर्ने अर्थमा छ । तपाईँ अब केही क्षण दुबै हात जोडेर अलिकति झुकावमा मौन बस्नु आवश्यक छ । यसभन्दा अघि अलिकति अङ्गार घोटेर निधारमा टीकाझैँ लगाउनु होला ।”

मैले यो समयलाई उसैगरि गुजारेँ ,जस्तो आवश्यक थियो÷आवश्यक मानिएको थियो वा भनूँ जस्तो निर्देशन प्राप्त भएको थियो ।

म झसङ्ग भएँ । मबाट हरेक कुरा विलुप हुँदा पनि मलाई पछ्याइरहने सायद् यही रहेछ मेरो अस्तित्व अर्थात् स्वत्व ।

अबका दिनहरूमा फेरि तपार्इँहरूले मलाई अरू मानिसजस्तै सामान्य अवस्थामा फेला पार्न सक्नुहुन्छ । चिया पसलमा चिया पिउँदै वा तरकारी पसलमा तरकारी किन्दै अथवा ..............वा त्यस्तै, जस्तो सबैको दिनचर्या छ ।

 subaspoet@gmail.com

लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog