Wednesday, April 8, 2020

उसले खोजेको घाम ( मातृभूमिमा प्रकाशित )

उसले खोजेको घाम

सुवास खनाल
मलाई अनुभव भइरहेको शरिरको यो कम्पन ज्वरोले हो कि वा अभावको कुनै धुमिल आकृति हो । 

जब ऊ सँग मेरो भेट भयो ,मलाई लाग्यो ऊ यही सोचेर बसिरहेको छ । म उसको कोठामा यसै महिनाको हप्तान्त भेट्न गएको थिएँ । एमएस्सीको प्रवेश परीक्षा दिँदाताका उसको र मेरो पहिलो भेट भयो । अहिले यो तह झन्डै समाप्त हुन लागेको छ । कलेज अध्ययनको सिलसिला सकिइसकेको छ तर परीक्षा सुरु भएको छैन । ऊ अलिक बिमारि रहेछ । ऊ भन्दै थियो– “यार यो इक्जाम पनि दिऊँ कि नदिऊँ ।”

मैले उसको कोठामा माकुराका जालाहरू पनि अलिक प्रशस्तै जम्मा भएको पाएँ । हुन त सहरमा सस्तै खालको कोठामा ऊ बस्ने गरेको छ । ऊ विवाहित पनि हो । तर उसकी स्वास्नी उतै घरतिर सासुलाई स्याहार गर्दै बस्ने गरेको मलाई पनि अवगत छ ।“ यो उसलाई संस्कृतिले दिएको गजबको कहालिलाग्दो  चिनो हो भनेर  ऊ आफैँ पनि बताउने गर्छे” – ऊ मलाई यस्तै भन्थ्यो ।

उसले एउटा बोर्डिङमा सस्तै खालको जागिर गथ्र्यो । गफैगफको सिलसिलामा कुनै दिन मैले भनिदिएको हुनसक्छु – “यार कसरि सकिन्छ ,पूरा समय काम गरेर एमएस्सी पढ्न ? यो कुनै जोक त होइन नि ? त्यसमाथि फिजिक्स,यो त पूरै रिसर्च को विषय हो  ।” उसले पनि गफैगफको सिलसिलामा भनेको हुनसक्छ –“ हो जसरी तिमी पूरा काम गरेर अध्ययन असम्भव छ भन्दैछौ नि ? त्यो तिम्रो सीमारेखाको कुरा हो । मेरो सीमारेखा अर्को छ –मैले पूरा काम नगरी पढ्नुचाहिँ असम्भव छ । पैसा पकेटमा उब्जिने कुरा होइन नि यार ।”

यस्तै खालको वार्तालाप मेरो दिमागको भित्ताहरूमा ठोक्किइरहेको कहिँकतै रमरम सम्झना भइरहेथ्यो ।

पछिल्लो पटकको उसको अभिव्यक्तिले भने म अलिक अतालिएको थिएँ । ऊ किन परीक्षा नदिने विचार निर्माणको तहसम्म पुग्न खोज्दैछ ? मैले उसलाई भनी पनि हालेँ – “तिमी त यो तहसम्म विना रुकावट उत्तीर्ण हुँदै आएका छौ । तिम्रो यो निर्णय त कुनै बाल निर्णयझैँ पो अनुभूति भइरहेछ ।” 

“ बाल निर्णय यो  तहको हुनै सक्दैन । मैले मेरो जीवनमा अध्ययनको उत्तरार्धतिरको अन्तिम वर्षको परीक्षा छोड्न खोज्दैछु । यो स्तरको निर्णयलाई कुन अर्थमा बाल निर्णय भन्दैछौ ?” –उसले मतिर तेस्र्याएको प्रश्न मेरो प्रश्नभन्दा झन् जब्बर र कठीन महसुस गराउने अर्थको हुन पुग्यो ।

ऊ मलाई बताउँदै थियो । घरमा उसकी स्वास्नी छे । यो पनि उसले मन पराएर भगाएर ल्याएको हो । विवाह गर्नुपरेका भए त ऊ आजीवन एक्लो हुने थियो । बजारमा सुनको भाउ बताउँदै थियो ऊ । ऊ सधैँका निम्ति बन्धकी बस्दा पनि तिर्न नसकिने भएको छ , बजारमा सुनको तोलाको भाउ । 

“तर ऊ कति असल र गुनी छे भने नि सबै अभाव ऊ हाँसेरै पचाइदिन्छे ,जसले मलाई जलाउने र डाहा गराउने पनि गर्छ ।”– यो अभिव्यक्तिमा ऊ रुँलारुँला झैँ गर्छ । भन्छ –“ कहिलेकाहीँ त मैले उसलाई फसाइदिएँ झैँ लाग्छ । ऊ मसँग नभएकी भए अरू कसैसँग सुखमा हाँस्दै त जिउँथी । ऊ मसँग पनि हाँस्दै जिउँदै छे तर म स्पष्ट देखिरहेको छु उसको हाँसोले कतिवटा पीडाका पहाडहरू छेल्दै बस्छन् । जसले मलाई जलाउला जलाउला झैँ गर्छ ।”

घरमा उसका दाजु भाउजु पनि छन् । उनीहरू छुट्टा बसिसकेका छन् ,अब यो सम्बन्धले औपचारिकतामात्र बाँकी राख्ने कुरा कसैलाई बताइरहनु आवश्यकीय छैन । बाक्लो दाल खाने भन्ने सामाजिक उखान त्यसै बनेको होइन । यो उसले धेरैपटक दोहोर्‍याइ दोहोर्‍याइ भनेको मेरो कानमा ताजा गुन्जिरहेको छ ।

“घरबेटीले पानी पनि राम्रो दिँदैन । सायद् भाइरलकै कमाल हुनुपर्छ , सधैँको हप्तामा चारदिन ज्वरो आइरहनु । पानीको पैसा नतिर्दा इनारको पानी खानुपर्छ ,जुन कहिल्यै सफा नगरिएको र एकदम कम खनेर वर्षामा जम्मा गरिएको हो ।”–ऊ यसो भन्दै गर्छ  तर उसले आफ्नो खानाको प्रकार ,खानाको समय ,खानाको तरिका वा यस्ता कुराहरूलाई दोष दिने भने कुनै चेष्टा गर्दैन । तर मेरो अनुमानले यी कुराहरूलाई पनि कहाँ बाँकी छोड्थे र ?

ऊ बताउँदै थियो । उसको बाउ उसलाई खुब माया गथ्र्यो । मेला जाँदा खाजाका रुपमा दिइएको रोटी पनि बेलुका पटुकीबाट निकालेर उसलाई खान दिन्थ्यो । तर ऊ असाध्यै खोक्थ्यो । अहिले उसले पत्तो पाएको छ–त्यो उसले चौबिसैघन्टा तानिरहने चुरोटको उब्जा रहेछ । तर ऊ मरेर गयो । बेलाबेलामा भन्ने गथ्र्यो –यो देशमा हाम्रो लागि पनि शासन आउँछ । उसलाई सम्झना छ बाबुले भनिरहने त्यो शासन  अहिले आएको गणतन्त्र या यस्तै केही नामको थियो । तर पछि उसलाई रोगले च्याप्यो । डाक्टर धेरै पैसा होइन करिब लाखको हाराहारीमा खर्च गर्न सके बाउ बाँच्छ भन्दै थियो । र यो लाख उनीहरूका निम्ति धेरै रकम थिएन बरु धेरै भन्दा धेरै चाहीँ थियो ।

अब आमा बाँकी छे । ऊ पनि उसलाई प्राणले प्यार गर्छे । छोरी जन्माएकी छे स्वास्नीले । यो कुनै फूल टिपेर पठाइदिएझैँ छे ,भगवानले । तर उसमा छ औधीको आँधी ।

उनीहरूसँग एकथोक मात्र छैन जुन अहिले सबै थोकजस्तो छ ,आर्थिक स्रोत । र यसले नै भत्काएको विकृत अनुहार बोकेर बाँच्नु बाध्यता र यससँगका सबै उल्झनहरू बनिसकेका छन् । 

“यो देशमा विज्ञान पढ्नु मरुभूमिमा खोस्रेर पानी खोज्नुजस्तै हो” – उसले आफ्नै विषयमाथि धावा बोल्दै थियो । यसले ममा पनि गहिरो विह्वलता ल्यायो । “कोर्स स्टाइल यूरोपियन र अमेरिकन ,पढाइ र प्रयोगशाला नेपाली स्टाइल” , निस्फिक्री चुरोटको धुवाँँँँँँँ उडाउँदै ऊ बोल्दै थियो –“ मलाई त यार केही भर छैन ,अब पढाइ सकियो ल मानूँ ,मलाई जागिर खुवाउँछ कसले ? न मेरो काका बाउको कलेज ,न मेरो ससुराको स्कुल । फिजिक्स पढियो ,कामै पाएपनि पढाउने मात्रैको । यो त बौद्धिक अभ्यास र वैज्ञानिक क्षेत्र हो नि ,अनि आविष्कारको पनि । यो देशमा आविष्कार कुन जन्तुको नाम हो कसैलाई थाहा छैन । ” उसले कहिलेदेखि चुरोट खान सिक्यो यो पनि मलाई थाहा भएन । ऊ भन्दै थियो –“सरकारले धुम्रपानमा कडाइ गरेको दिनदेखि यो सुरु गरेँ ।”

उसले कक्षामा एकदिन प्रश्न गरेको सुन्दै थिएँ –“प्रोफेसर यहाँ शिक्षक र विद्यार्थीको हुल मात्र जम्मा पारेर कुन तमासा गर्न खोजिएको हो । यो निर्माण गर्न खोजिएको जनशक्ति केवल शिक्षक हुन मात्र हो भने त धरैजनाको सङ्ख्यामा अध्यापन गर्नु आवश्यक नै हुँदैन नि ?अध्ययनले त निर्माणात्मक जनशक्ति तयार गर्नुपर्ने होइन र , जुन दक्ष होस् र देश विकासको हरेक क्षेत्रमा काम लागोस् ?”मैले यो प्रश्न अलिक ध्यान दिएरै सुनेको थिएँ तर प्रोफेसरले मैले जत्तिको पनि ध्यानले सुनेन सायद् र केही क्षण मौन बसेर सिद्धान्तकै कुराहरू भट्याउन थाल्यो ,जुन विश्वविद्यालयले अध्यापनका निम्ति निर्धारण गरिदिएको थियो । घन्टीको अन्तिम समयतिर प्रोफेसर फुसफसे आवाजमा भन्दै थियो –“कोर्स धेरै बाँकी छ ,विषयान्तर हुनु ठीक छैन ।” 

परीक्षाका केही दिन अघि मात्र थाहा भयो –उसले परीक्षा फर्म भरेको रहेनछ । कारण सोध्न म उसैको कोठासम्म गएँ । उसले कारण बतायो –“म केही दिन निरन्तर बिमारी परेँ । बोर्डिङलाई यो कारणले भरपर्दो काम ग¥यो मलाई हटाउन । अब मेरो पैसाको बाटो सबैतिरबाट बन्द भयो तर फर्म भर्नू थियो आठसय तिरेर । मलाई सबभन्दा सजिलो उपाय फु¥यो –रुसोलाई पछ्याउने ,घर फर्किने र यो सब गञ्जागोलबाट मुक्ति लिने ।”

म भन्दै थिएँ –“तिमीले मलाई एकपटक मात्रै किन नहोस् ,किन बताएनौ यसबारे ?”
ऊ भन्दै थियो –“निगाहामा बाँच्ने मेरो बाउदेखिकै आदत होइन । र मैले यो कहिल्यै सिकिनँ । मेरो बाउले भनेकै जस्तो शासन यो देशमा जुन हाम्रो लागि पनि हो,त्यो पनि त आउनेछ  कुनैदिन र मेरो प्रमाणलाई सबभन्दा बढी त्यही दिन कुनै सत्यको पक्षमा पेश गर्नेछु । यो हाम्रो खुसीको दिन हुनेछ । ”

ऊ अझै निस्फिक्री थियो र सामान जस्ता केही गुन्टाहरू मिलाउँदै थियो ,घर फर्किन ।

म अलिक विचलित थिएँ । र कहीँ भित्र घाउजस्तै केही दुखिरहेको अनुभूति हुँदै थियो । र म हेर्दै थिएँ त्यही घाम ,जुन अस्ताउँदै थियो मेरो क्षितिजपारि ।

ऊ थियो प्रकाश ,जुन धुमिल हुँदै मबाट बिलायो र म, म भइहालेँ उसको साथि । र उसले कुन रहस्यको
घाम खोज्दै हिँड्यो ,म अहिले पनि सोचाइको गर्भमै विलाइरहेको छु । 

र उसको घाम उदाउँछ कि उदाउँदैन परको घुर्मैलो क्षितिजदेखि ।

छतिवन : ८,पावस


subaspoet@gmail.com


समृद्ध समाजको असल यात्रा

समृद्ध समाजको असल यात्रा सुवास खनाल  - ४ हप्ता अगाडि Facebook Twitter Pinterest WhatsApp   Share   Tweet   Share   Share अहिलेको समयलाई सूचन...

Search This Blog