अकथा
जिउनु कथा हैन ।
सुवास खनाल
जस्तो कि नलेख्नु पनि कथा होस् ,त्यसपछि कहिल्यै म कथा लेख्ने छैन ।
‘म’ ,यो सबभन्दा सजिलो ओढ्ने रहेछ जुन् ओढेर सबै बाँचेका छन् । वा यो नै त्यस्तो मन्त्र रहेछ जसलाई जप्नुमात्र पनि जीवनप्राप्ति बोधजस्तो हुँदोरहेछ । नत्र यो संसार कम बडो त छैन नि । यहाँ अनगिन्ति मानिसहरू बसोबास गर्छन् । मानौँ मान्छेहरूमा अहम् थिएन भने यिनीहरू कसरी बाँच्ने थिए ,जबकी संसारबासीहरू एक से एक छन् । यो पनि कथा नहोस् ,मैले यही चाहँदै लेखिरहेको छु ।
‘जीवन’, यो सोचमा पनि जिइनुजस्तो सजिलो भइदिए मान्छेहरूको आयु शायद् अहिलेको भन्दो दोब्बर हुने थियो । यो कुनै हिसाबबाट तयार गरिएको परिणाम हैन । यसैले तेब्बर पनि हुनसक्थ्यो ,चौबर,वा पच्बर पनि हुन सक्ने भन्नुलाई नकार्न सकिन्न । यहाँ भन्न खोजिएको कुरा अर्कै हो । मान्छे भोलिदेखि खुब तर्सिन्छ । भोलि म बिरामी परेँभने वा भोलि मेरो बा बित्नुभयो भने ,वा भोलि मेरो श्रीमतीको प्रिग्नेन्सीमा समस्या आयो भने वा ...भयो भने वा...भयो भने । हो यसै खालको विषयमा दिमाग खेलाएर उसले आफ्नो आयु घटाउँछ । तर त्यसै खालको भोलिको दिनपनि उसको बित्छ नै आखिर । त्यस्ता भोलिहरू नभई र नआई पनि छाड्दैन । र ती भोलिहरू नाघेर नै ऊ जिउँदै जान्छ । त्यसैले यो अगाडिका पिरहरू किन थिए ?जसले उसलाई सताउँदै आयो । वास्तवमा जीवन जिइनु जीवनसोचभन्दा सरल अनुभव हुन्छ । यसको मतलव यो पनि होइन कि जीवनसोचविना जीवन जिइनु सम्भव छ । तर यो दुईबीचको तारतम्य मिलाउनु अनौठोसिद्ध छ । फेरी जे चल्दैछ त्यसलाई सही भन्नु नै सही हो कि होइन भन्ने कुरालाई मुख्य सवालका रूपमा लिन सकिन्छ । प्रिय पाठकहरू ! अझैपनि यो पढ्दा कथा भन्ठान्दै हुनुहुन्छ भने तपाईँहरू गलत हुनुहुन्छ ।
देशमा एउटा पार्टी थियो ,हुन त अरू पनि थिए तर यहाँ सर्बैको चर्चा गर्न खोजिएको हैन । तर जसको चर्चा गर्न खोजिएको छ, त्यो स्थापनाकालमा कम्युनिष्ट थियो । यसका नेता कार्यकर्ता थुप्रैले परिवर्तनका निम्ति जेलनेल भोगेका थिए । देशमा यसरी कम्युनिष्ट पार्टीहरूको स्थापना चलिरहँदोरहेछ र तिनीहरू स्थापनाकालमा मात्र कम्युनिष्ट हुँदा रहेछन् । र अर्काथरी डेमोक्रेट्सहरू हुँदा रहेछन् जो कुनै कसरत नचाहँदा रहेछन् र आफ्नो राजनीतिक विस्तृतिलाई फ्याँकिएको दुबो सर्दै जाने कथासँग जोड्दारहेछन् । एउटा पार्टी जसको चर्चा गर्न खोजिँदैछ ,उसको एउटा पुरानो कार्यकर्ता जो यसका ठूला नेताहरूसँगै जेलनेल भोग्यो,उनीहरूले भन्ने गरेको जनताको लडाईँ लड्यो र पार्टी निकै सहज मोडमा हुँदा पार्टी मुख्यालय अगाडि आत्महत्या ग¥यो र फेरी पछि उसको छोराले । यहाँभने शायद् जीवनसोचभन्दा जीवनभोगाई कठीनसिद्ध अनुभव हुन्छ । तर पनि उसको जीवनसोचले नै त्यहाँसम्म घँचेटेको हुनुपर्छ । यो सत्यताले अर्को सत्यता खोतल्ने बाटो बनाउँदै छ । एउटा उद्योगकर्मीले बैङ्कबाट ऋण निकाल्यो र उद्योग खोल्यो । कार्तिक पछाडिको दिनहरूदेखि वैशाख,जेठसम्म लोडसेडिङको समस्या । उसको आयलाई व्ययले लात मार्न थाल्यो । अनि कुनैदिन झुन्डिएर आत्महत्या गरिदियो । यही घटनालाई पछ्याइरह्यो कर्णालीमा भोकमरीकै कारणले एक युवकले गरेको आत्महत्याले । यसलाई कथा मानेर पढ्नेहरूले सत्यता भुल्दै जानेछन् ।
बाँच्नु कहाँ सजिलो छ र ? तर मर्नेहरूले पनि बाँच्नै सिकाएर गए ,जस्तो कि ओइलाएको पातले हरियो पातको र फूलको सुन्दरता बताएर जान्छ ।
सपनाहरूको एबोर्सन,यो हाम्रोजस्तो देशबासीको सामान्य समस्या हो । सपनाहरूको भ्रुणमै जब हत्या हुन्छ तब पनि पो कसरी जिउन सके मान्छेहरू ,यो अचम्मजस्तो पनि छ । सपनाविहीन मान्छेहरू बगे्रल्ती बाँचिरहेछन् । या भनौँ मकैको बोटमा मकै नफलेर जब खोया र खोस्टामात्रै फल्छ तब केका निम्ति गर्ने हो खेती ?
देशमा सङ्कटकाल थियो ,बल्ल बाँचे मान्छेहरू । किलोसेरा टु अपरेशन ,सुराकीहरूको सफाया यी सामान्य तरिका थिए मान्छे हत्याका । मान्छे मारिनु कीराफट्याङ्ग्रा मारिनुजस्तो सस्तो थियो । माछा मार्न गएका माझी दाई फर्किएनन् ,सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमती छोडेर भाले खोज्न हिँडेको बज्यू दाई आतङ्ककारी हो भन्ने नाममा मारिए । आफ्नो सोझो हुलाकी पेशा गरेर खाने कार्की दाई सुराकी मानिए र उनको घाँटी सेरियो । र अहिले पनि देश सङ्क्रमण कालमा छ । यस्तै दुर्घटित समयको नाम बोकेर मान्छेको संवेदनाहरू किनबेच गर्ने ठाउँ खडा गरेका छन् ,एकझुन्ड छोटेराजाहरूले । र त्यहीँबाट सहिदका टाउका गन्नेदेखि देशको नाम फेर्ने सबै खालका निर्णय गर्न तल्लिन देखिन्छन् । यसलाई समयको प्रतिलिपी भनौँ, कथा नभनौँ ।
घडिको सुई घुम्नुमात्रले वा ऋतुहरूको फेरबदलमात्रले परिवर्तनलाई बुझाउन सक्छभने यो देशमा ठुलो परिवर्तन भइसकेकोे छ । नत्रभने यो देशको परिवर्तनसूचक बिग्रिएर अड्किएको घडीको सुईझैँ छ । यसो भनिदियो भने यसलाई पुष्टि गर्न कुनै आधारको जरुरत पर्दैन । जस्तो कि पहिरो गएको ठाउँमा गएर , पहिरो यो नै हो भनेर चिनाउनुको कुनै जरुरत छैन किनकी आँखासामुन्ने पहिरो खडा भएको हुन्छ ।
यो दिउँसोको समय हो । भित्तामा पात्रो झुन्डिएको छ । यो पनि गत सालकै हो । झ्यालबाट छिरेको हावा भित्तेपात्रोका पानाहरूसँग खुब लडाईँ गर्छ । जस्तो कि यो पात्रोका पानाहरूले उसको केही बिगारिदिएको होस् । अर्कोपट्टिको भित्तामा एउटा आकारमा ठुलै घडी झुन्डिएको छ । यसले पनि दिनको दुईपटक एकदम राम्रोसँग समय मिलाउँछ । कोठाको भित्तामा निकै पुरानाजस्ता लाग्ने पोस्टरहरू पनि टाँसिएका छन् । चिनिएसम्म यिनीहरूमा भगवानकै आकृति छन् । हुन त भगवानहरू कस्ता थिए ,यो देख्ने को थिए ? यी प्रश्नहरूका जवाफ पनि हुनैपर्छ भन्ने छैन । अनि एउटा अति नै सामान्यजस्तो ओछ्यान । र आवश्यकीयजस्ता नै लाग्ने केही अन्य सामानहरू । यो कोठाको वर्णन सुन्दा यो कोठामा कोही नबस्नेझैँ लाग्न सक्छ । तर यही कोठामा म बसिरहेको छु र बाँचिरहेको छु । कथाकारले यसरी कथा लेख्योभने अब कसैले पत्याउने छैन । अब कथाकारहरूलाई मान्छेहरूले चिनिसकेका छन् । उनीहरूको जीवनस्तर औसत मान्छेको भन्दा माथि हुने गर्छ । उनीहरूको खानपिन सामान्य हुनेछैन । कम्तिमा एकरातको रसपानको व्यवस्था छैनभने उनीहरू कार्यक्रममा जान मनाही गर्छन् । यदी यत्रो व्यवहार देखाउन सक्दैनभने आजभोलि कथाकार मानिदैन र यस खालको कथाकार, हुनुपर्ने नामावलीबाट बाहिरिन्छ । र राम्रो कथाकार हुन आफूले कहिल्यै नभोगेको खालको दुर्दान्त कथाहरूलाई आफूले नै भोगेको बनाएर कथालेखनभन्दा बढि कथा अभिनय गर्नुपर्छ । यो पनि कथाको कुनै प्लट होइन ।
अर्काथरी विदेश जानेहरू छन् । एक तरिकाले बाध्यता ,अर्को तरिकाले रहर ,त्यसपछि देखावटी र अन्य । यसरी नै मान्छे विदेश छन् । यहाँ काम गर्न भनेपछि आङ् बटार्नेहरू बाहिर गएपछि अर्काको जुठेल्नाको थालभाँडा मस्काउने ,हस्पिटलमा शव घिस्याउने ,कोठा पुछ्ने ,गोठालो लाग्ने ,घाँस काट्ने ,सडक र कुलोकुलेसा मर्मत गर्ने ,यौन प्रशाधक साधन बन्ने ,होटलमा नाच्ने या अनेक तरिकाले बाँच्ने अभियानका प्रवर्तकहरू बन्दारहेछन् र तिनैका यहाँ आएपछि शान र रवाफ बढी । देश छाडेर विदेश घिस्सिने कुराले नै देखाउँछ हामीलाई कत्तिको दासत्व स्विकार्य छ भन्ने । र यो फेरि जानेहरूको भन्दा जान बाध्य बनाउने देश चलाउँछु भन्ने महामहिमहरूको असफलताको पराकाष्ठा हो । यहाँ भैँसी चराउँदाचराउँदै छोडेर आन्दोलनमा हिँडेको मान्छे प्रधानमन्त्री भएर फर्किन्छ । अनि उसले कहिले बुझ्नु देश जबकी आफैँलाई विश्वास भएको हुन्न आफ्नो ओहदाको । जोगी कहिल्यै धनी हुन्न भनेर उखान गाउँदै हिँड्ने बुढाहरू अझै मरेका छैनन् । बरू यिनीहरूले भन्ने कथामा हुन्थ्यो— कुनै सुन्दर सहर । अनि त्यहीँ बस्थे सुनले बनेका मान्छेहरू ...। आदिआदि ।
यो मात्र त्यस्तो देश हो ,जहाँ सबै खालका स्रोत र साधनहरू राम्रोसँग परिचालन भएको छ । यहाँका मानिसहरू कोही विदेसिनु पर्दैन । सबै मानिस स्वरोजगार छन् । राजनीतिक स्थिरता सधैँ छ । देशका योजनाहरू सय बर्ष अगाडिको समयलाई मध्यनजर गर्दै बन्छ । विदेशबाट मानिसहरू रोजगारीका निम्ति यहाँ आउँछन् । सरकारले स्वास्थ्य, शिक्षा,बिजुली ,खानेपानी र यातायातलाई निशुल्क गरिदिएको छ । उर्जासङ्कटलाई ध्यानमा राख्दै सय बर्षको इन्धनयोजना तय भइसकेको छ । अन्तरीक्षमा एउटा आफ्नै देशको निजी प्रयोगशाला बनाउने कुरा भइरहेको छ । सय वर्षका निम्ति कुनै अन्न उव्जनी नभएपनि त्यसबराबर अन्न भन्डारन गरिसकिएको छ । चारओटा ठुला सुनखानीमध्ये देशको पछिल्लो भविष्यलाई मध्यनजर गर्दै एउटालाई मात्र अहिले इजाजत दिइएको छ । यसैवर्ष देशको पैसाको मूल्यपनि विश्वको सबभन्दा महङ्गोमा रुपान्तर भएको छ र पछिल्लो सर्वेक्षणअनुसार विश्वका साठ्ठी प्रतिशतभन्दा बढी विद्धान मान्छेहरू यही देशका ठहरिएका छन् र विश्वका नोबल पुरस्कार विजेतामध्ये पनि अधिकाशं यही देशबाट पर्ने गरेका छन् । ओहो ! यो सपना भन्नेपनि कहिलेकाहीँ निकै नै प्रिय पो देखिने रहेछ । औसत नेपालीको कल्पनामा बन्दै र भत्किँदै गरेको पोर्टे«ट यही हो ।
कुनैदिन लेखिदिएँ –ओ मान्छे , चिन्यौ तिमीले मृत्युलाई ? यो कुन बाटो आउँछ र कतातिर जान्छ ? यसको बास र ठेगाना कुन हो ? र यो मौनजस्तो पनि किन छ ? र यो कठोरजस्तो पनि किन छ ?
सायद् मृत्यु थिएन भने जिउनुको सुन्दरता कहाँ थियो र ? र यो लेखिरहेको मृत्युबोध हुँदै होइन र कथा पनि हैन । यो जिउनुको सुन्दरताको सफेद् बयान हो । र यो पनि सत्य हो जिउनु कुनै कथा हैन ,जुन सुनाउँदै हिँड्न मिल्छ र जसको नाममा इनाम पाइन्छ । जसलाई सजिलैले अरूले पढ्न सक्छन् बरू यो त मौनताजस्तो सुन्दर चित्र पो रहेछ कि ? थाहा छैन ।
जस्तो कि कथा लेख्न पनि इजाजत पत्र चाहियोस् ,र लेखिएको पूर्णतया वैधानिक होस् ,नत्र किन लेखिरहनु अवैधानिक र बेअर्थजस्तो लाग्ने कथाका नयाँ संस्करणहरू । यसैले कथा सुरू भएकै छैन.....।
छतिवन–८पावस,
मकवानपुर