Friday, November 12, 2010

MY POEM

शून्य समय ,मान्छेहरू र बस्ती

सुवास खनाल

भयले चड्कन हानेको अनुहार बोकेर
जब ओरालो झर्न लागे मान्छेहरू
सपनातिरको बस्तीहरूबाट
र हिँडिरहे चुपचाप
अँध्यारो फैलिरहेको
निर्जन जङ्गलको मुख ताकेर
त्यसपछि
किनकिन मेरो बोली नै रोक्किएजस्तो भैरहेछ
किनकिन मेरो सास तलको तल हुन खोजेजस्तो लाग्दैछ

सोचका किरणहरू
जब फैलिएथे मष्तिष्कको झञ्झावात् चिर्दै
त्यसबेला म भन्थेँ
“सूर्य माथि नआइपुग्दासम्म
मान्छेहरू उक्लिनेछन् डाँडामाथि
र टिप्नेछन् झुप्पाझुप्पा घामका आभाहरू
र पोको पारेर
बर्कोमा,ओढ्नेमा ,रूमालमा,पटुकीमा
वा कमिज फुकालेर त्यसमै
र बोक्दै आउनेछन् बस्तीतिर ”

तर उनीहरू त
साहस हराएर फर्किएजस्तो देखिँदैछन्–निर्बल
मन लुटिएर आएजस्तो देँmखँदैछन् –शून्य
आवाज नभएजस्तो लाग्दैछन् –मूक

यो समय शून्य समयजस्तो पनि हो
यो समय परिभाषाहीन समयजस्तो पनि हो
वा कतै हराएका अर्थहरू
नभेटिइसकेको यथार्थजस्तो पनि हो

यसैले
ए बाँकी मान्छेहरू बस्तीका
हामीले फर्काऊँ ओरालो झरिरहेका मान्छेहरूलाई सपनादेखि
साहस भरौँ उनीहरूमा घडा भरिएजस्तो
मन बाडौँ सबैसँग जस्तो कि यो सबैसँग राख्नैपर्छे
बोलौँ सबै एउटै आवाजले
हामीले उज्यालो टिपेर ल्याउनु छ यो बस्तीसम्म
हामीले चेतना बाकेर डुल्नु छ युगयुगसम्म ।



छतिवन–८,पावस
मकवानपुर

subaspoet@gmail.com

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog