Saturday, October 30, 2010

NON STORY

अकथा


जिउनु कथा हैन ।

सुवास खनाल

जस्तो कि नलेख्नु पनि कथा होस् ,त्यसपछि कहिल्यै म कथा लेख्ने छैन ।

‘म’ ,यो सबभन्दा सजिलो ओढ्ने रहेछ जुन् ओढेर सबै बाँचेका छन् । वा यो नै त्यस्तो मन्त्र रहेछ जसलाई जप्नुमात्र पनि जीवनप्राप्ति बोधजस्तो हुँदोरहेछ । नत्र यो संसार कम बडो त छैन नि । यहाँ अनगिन्ति मानिसहरू बसोबास गर्छन् । मानौँ मान्छेहरूमा अहम् थिएन भने यिनीहरू कसरी बाँच्ने थिए ,जबकी संसारबासीहरू एक से एक छन् । यो पनि कथा नहोस् ,मैले यही चाहँदै लेखिरहेको छु ।

‘जीवन’, यो सोचमा पनि जिइनुजस्तो सजिलो भइदिए मान्छेहरूको आयु शायद् अहिलेको भन्दो दोब्बर हुने थियो । यो कुनै हिसाबबाट तयार गरिएको परिणाम हैन । यसैले तेब्बर पनि हुनसक्थ्यो ,चौबर,वा पच्बर पनि हुन सक्ने भन्नुलाई नकार्न सकिन्न । यहाँ भन्न खोजिएको कुरा अर्कै हो । मान्छे भोलिदेखि खुब तर्सिन्छ । भोलि म बिरामी परेँभने वा भोलि मेरो बा बित्नुभयो भने ,वा भोलि मेरो श्रीमतीको प्रिग्नेन्सीमा समस्या आयो भने वा ...भयो भने वा...भयो भने । हो यसै खालको विषयमा दिमाग खेलाएर उसले आफ्नो आयु घटाउँछ । तर त्यसै खालको भोलिको दिनपनि उसको बित्छ नै आखिर । त्यस्ता भोलिहरू नभई र नआई पनि छाड्दैन । र ती भोलिहरू नाघेर नै ऊ जिउँदै जान्छ । त्यसैले यो अगाडिका पिरहरू किन थिए ?जसले उसलाई सताउँदै आयो । वास्तवमा जीवन जिइनु जीवनसोचभन्दा सरल अनुभव हुन्छ । यसको मतलव यो पनि होइन कि जीवनसोचविना जीवन जिइनु सम्भव छ । तर यो दुईबीचको तारतम्य मिलाउनु अनौठोसिद्ध छ । फेरी जे चल्दैछ त्यसलाई सही भन्नु नै सही हो कि होइन भन्ने कुरालाई मुख्य सवालका रूपमा लिन सकिन्छ । प्रिय पाठकहरू ! अझैपनि यो पढ्दा कथा भन्ठान्दै हुनुहुन्छ भने तपाईँहरू गलत हुनुहुन्छ ।
देशमा एउटा पार्टी थियो ,हुन त अरू पनि थिए तर यहाँ सर्बैको चर्चा गर्न खोजिएको हैन । तर जसको चर्चा गर्न खोजिएको छ, त्यो स्थापनाकालमा कम्युनिष्ट थियो । यसका नेता कार्यकर्ता थुप्रैले परिवर्तनका निम्ति जेलनेल भोगेका थिए । देशमा यसरी कम्युनिष्ट पार्टीहरूको स्थापना चलिरहँदोरहेछ र तिनीहरू स्थापनाकालमा मात्र कम्युनिष्ट हुँदा रहेछन् । र अर्काथरी डेमोक्रेट्सहरू हुँदा रहेछन् जो कुनै कसरत नचाहँदा रहेछन् र आफ्नो राजनीतिक विस्तृतिलाई फ्याँकिएको दुबो सर्दै जाने कथासँग जोड्दारहेछन् । एउटा पार्टी जसको चर्चा गर्न खोजिँदैछ ,उसको एउटा पुरानो कार्यकर्ता जो यसका ठूला नेताहरूसँगै जेलनेल भोग्यो,उनीहरूले भन्ने गरेको जनताको लडाईँ लड्यो र पार्टी निकै सहज मोडमा हुँदा पार्टी मुख्यालय अगाडि आत्महत्या ग¥यो र फेरी पछि उसको छोराले । यहाँभने शायद् जीवनसोचभन्दा जीवनभोगाई कठीनसिद्ध अनुभव हुन्छ । तर पनि उसको जीवनसोचले नै त्यहाँसम्म घँचेटेको हुनुपर्छ । यो सत्यताले अर्को सत्यता खोतल्ने बाटो बनाउँदै छ । एउटा उद्योगकर्मीले बैङ्कबाट ऋण निकाल्यो र उद्योग खोल्यो । कार्तिक पछाडिको दिनहरूदेखि वैशाख,जेठसम्म लोडसेडिङको समस्या । उसको आयलाई व्ययले लात मार्न थाल्यो । अनि कुनैदिन झुन्डिएर आत्महत्या गरिदियो । यही घटनालाई पछ्याइरह्यो कर्णालीमा भोकमरीकै कारणले एक युवकले गरेको आत्महत्याले । यसलाई कथा मानेर पढ्नेहरूले सत्यता भुल्दै जानेछन् ।

बाँच्नु कहाँ सजिलो छ र ? तर मर्नेहरूले पनि बाँच्नै सिकाएर गए ,जस्तो कि ओइलाएको पातले हरियो पातको र फूलको सुन्दरता बताएर जान्छ ।

सपनाहरूको एबोर्सन,यो हाम्रोजस्तो देशबासीको सामान्य समस्या हो । सपनाहरूको भ्रुणमै जब हत्या हुन्छ तब पनि पो कसरी जिउन सके मान्छेहरू ,यो अचम्मजस्तो पनि छ । सपनाविहीन मान्छेहरू बगे्रल्ती बाँचिरहेछन् । या भनौँ मकैको बोटमा मकै नफलेर जब खोया र खोस्टामात्रै फल्छ तब केका निम्ति गर्ने हो खेती ?

देशमा सङ्कटकाल थियो ,बल्ल बाँचे मान्छेहरू । किलोसेरा टु अपरेशन ,सुराकीहरूको सफाया यी सामान्य तरिका थिए मान्छे हत्याका । मान्छे मारिनु कीराफट्याङ्ग्रा मारिनुजस्तो सस्तो थियो । माछा मार्न गएका माझी दाई फर्किएनन् ,सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमती छोडेर भाले खोज्न हिँडेको बज्यू दाई आतङ्ककारी हो भन्ने नाममा मारिए । आफ्नो सोझो हुलाकी पेशा गरेर खाने कार्की दाई सुराकी मानिए र उनको घाँटी सेरियो । र अहिले पनि देश सङ्क्रमण कालमा छ । यस्तै दुर्घटित समयको नाम बोकेर मान्छेको संवेदनाहरू किनबेच गर्ने ठाउँ खडा गरेका छन् ,एकझुन्ड छोटेराजाहरूले । र त्यहीँबाट सहिदका टाउका गन्नेदेखि देशको नाम फेर्ने सबै खालका निर्णय गर्न तल्लिन देखिन्छन् । यसलाई समयको प्रतिलिपी भनौँ, कथा नभनौँ ।

घडिको सुई घुम्नुमात्रले वा ऋतुहरूको फेरबदलमात्रले परिवर्तनलाई बुझाउन सक्छभने यो देशमा ठुलो परिवर्तन भइसकेकोे छ । नत्रभने यो देशको परिवर्तनसूचक बिग्रिएर अड्किएको घडीको सुईझैँ छ । यसो भनिदियो भने यसलाई पुष्टि गर्न कुनै आधारको जरुरत पर्दैन । जस्तो कि पहिरो गएको ठाउँमा गएर , पहिरो यो नै हो भनेर चिनाउनुको कुनै जरुरत छैन किनकी आँखासामुन्ने पहिरो खडा भएको हुन्छ ।

यो दिउँसोको समय हो । भित्तामा पात्रो झुन्डिएको छ । यो पनि गत सालकै हो । झ्यालबाट छिरेको हावा भित्तेपात्रोका पानाहरूसँग खुब लडाईँ गर्छ । जस्तो कि यो पात्रोका पानाहरूले उसको केही बिगारिदिएको होस् । अर्कोपट्टिको भित्तामा एउटा आकारमा ठुलै घडी झुन्डिएको छ । यसले पनि दिनको दुईपटक एकदम राम्रोसँग समय मिलाउँछ । कोठाको भित्तामा निकै पुरानाजस्ता लाग्ने पोस्टरहरू पनि टाँसिएका छन् । चिनिएसम्म यिनीहरूमा भगवानकै आकृति छन् । हुन त भगवानहरू कस्ता थिए ,यो देख्ने को थिए ? यी प्रश्नहरूका जवाफ पनि हुनैपर्छ भन्ने छैन । अनि एउटा अति नै सामान्यजस्तो ओछ्यान । र आवश्यकीयजस्ता नै लाग्ने केही अन्य सामानहरू । यो कोठाको वर्णन सुन्दा यो कोठामा कोही नबस्नेझैँ लाग्न सक्छ । तर यही कोठामा म बसिरहेको छु र बाँचिरहेको छु । कथाकारले यसरी कथा लेख्योभने अब कसैले पत्याउने छैन । अब कथाकारहरूलाई मान्छेहरूले चिनिसकेका छन् । उनीहरूको जीवनस्तर औसत मान्छेको भन्दा माथि हुने गर्छ । उनीहरूको खानपिन सामान्य हुनेछैन । कम्तिमा एकरातको रसपानको व्यवस्था छैनभने उनीहरू कार्यक्रममा जान मनाही गर्छन् । यदी यत्रो व्यवहार देखाउन सक्दैनभने आजभोलि कथाकार मानिदैन र यस खालको कथाकार, हुनुपर्ने नामावलीबाट बाहिरिन्छ । र राम्रो कथाकार हुन आफूले कहिल्यै नभोगेको खालको दुर्दान्त कथाहरूलाई आफूले नै भोगेको बनाएर कथालेखनभन्दा बढि कथा अभिनय गर्नुपर्छ । यो पनि कथाको कुनै प्लट होइन ।

अर्काथरी विदेश जानेहरू छन् । एक तरिकाले बाध्यता ,अर्को तरिकाले रहर ,त्यसपछि देखावटी र अन्य । यसरी नै मान्छे विदेश छन् । यहाँ काम गर्न भनेपछि आङ् बटार्नेहरू बाहिर गएपछि अर्काको जुठेल्नाको थालभाँडा मस्काउने ,हस्पिटलमा शव घिस्याउने ,कोठा पुछ्ने ,गोठालो लाग्ने ,घाँस काट्ने ,सडक र कुलोकुलेसा मर्मत गर्ने ,यौन प्रशाधक साधन बन्ने ,होटलमा नाच्ने या अनेक तरिकाले बाँच्ने अभियानका प्रवर्तकहरू बन्दारहेछन् र तिनैका यहाँ आएपछि शान र रवाफ बढी । देश छाडेर विदेश घिस्सिने कुराले नै देखाउँछ हामीलाई कत्तिको दासत्व स्विकार्य छ भन्ने । र यो फेरि जानेहरूको भन्दा जान बाध्य बनाउने देश चलाउँछु भन्ने महामहिमहरूको असफलताको पराकाष्ठा हो । यहाँ भैँसी चराउँदाचराउँदै छोडेर आन्दोलनमा हिँडेको मान्छे प्रधानमन्त्री भएर फर्किन्छ । अनि उसले कहिले बुझ्नु देश जबकी आफैँलाई विश्वास भएको हुन्न आफ्नो ओहदाको । जोगी कहिल्यै धनी हुन्न भनेर उखान गाउँदै हिँड्ने बुढाहरू अझै मरेका छैनन् । बरू यिनीहरूले भन्ने कथामा हुन्थ्यो— कुनै सुन्दर सहर । अनि त्यहीँ बस्थे सुनले बनेका मान्छेहरू ...। आदिआदि ।

यो मात्र त्यस्तो देश हो ,जहाँ सबै खालका स्रोत र साधनहरू राम्रोसँग परिचालन भएको छ । यहाँका मानिसहरू कोही विदेसिनु पर्दैन । सबै मानिस स्वरोजगार छन् । राजनीतिक स्थिरता सधैँ छ । देशका योजनाहरू सय बर्ष अगाडिको समयलाई मध्यनजर गर्दै बन्छ । विदेशबाट मानिसहरू रोजगारीका निम्ति यहाँ आउँछन् । सरकारले स्वास्थ्य, शिक्षा,बिजुली ,खानेपानी र यातायातलाई निशुल्क गरिदिएको छ । उर्जासङ्कटलाई ध्यानमा राख्दै सय बर्षको इन्धनयोजना तय भइसकेको छ । अन्तरीक्षमा एउटा आफ्नै देशको निजी प्रयोगशाला बनाउने कुरा भइरहेको छ । सय वर्षका निम्ति कुनै अन्न उव्जनी नभएपनि त्यसबराबर अन्न भन्डारन गरिसकिएको छ । चारओटा ठुला सुनखानीमध्ये देशको पछिल्लो भविष्यलाई मध्यनजर गर्दै एउटालाई मात्र अहिले इजाजत दिइएको छ । यसैवर्ष देशको पैसाको मूल्यपनि विश्वको सबभन्दा महङ्गोमा रुपान्तर भएको छ र पछिल्लो सर्वेक्षणअनुसार विश्वका साठ्ठी प्रतिशतभन्दा बढी विद्धान मान्छेहरू यही देशका ठहरिएका छन् र विश्वका नोबल पुरस्कार विजेतामध्ये पनि अधिकाशं यही देशबाट पर्ने गरेका छन् । ओहो ! यो सपना भन्नेपनि कहिलेकाहीँ निकै नै प्रिय पो देखिने रहेछ । औसत नेपालीको कल्पनामा बन्दै र भत्किँदै गरेको पोर्टे«ट यही हो ।

कुनैदिन लेखिदिएँ –ओ मान्छे , चिन्यौ तिमीले मृत्युलाई ? यो कुन बाटो आउँछ र कतातिर जान्छ ? यसको बास र ठेगाना कुन हो ? र यो मौनजस्तो पनि किन छ ? र यो कठोरजस्तो पनि किन छ ?

सायद् मृत्यु थिएन भने जिउनुको सुन्दरता कहाँ थियो र ? र यो लेखिरहेको मृत्युबोध हुँदै होइन र कथा पनि हैन । यो जिउनुको सुन्दरताको सफेद् बयान हो । र यो पनि सत्य हो जिउनु कुनै कथा हैन ,जुन सुनाउँदै हिँड्न मिल्छ र जसको नाममा इनाम पाइन्छ । जसलाई सजिलैले अरूले पढ्न सक्छन् बरू यो त मौनताजस्तो सुन्दर चित्र पो रहेछ कि ? थाहा छैन ।

जस्तो कि कथा लेख्न पनि इजाजत पत्र चाहियोस् ,र लेखिएको पूर्णतया वैधानिक होस् ,नत्र किन लेखिरहनु अवैधानिक र बेअर्थजस्तो लाग्ने कथाका नयाँ संस्करणहरू । यसैले कथा सुरू भएकै छैन.....।

छतिवन–८पावस,
मकवानपुर

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog