Friday, October 22, 2010

MY POEM

सुचना

म हराएको
पछिल्लो खबर
यो चोकको सुचना पाटीमा टाँसिएको छ

यो चोकको अलि अघिल्तिर
साइबर क्याफेको ठीक पछाडि
त्यो चियापसलको नजिकै
म उभिएर गफ गर्दै थिएँ
हराउनुअघि

सुचनामा एउटा फोटोपनि टाँसिएको छ
मलाई चिन्नेहरूले फोटोपनि चिन्नेछन्
हराउनुअघि
म हराएकै थिइन
र मलाई थाहै थिएन हराउनुको अनुभव

म ठान्थेँ बुद्ध हरायो आपैmबाट र चिन्दै आयो सारा जगतले

आइन्स्टाइन पढाइरहेछ पसिना पुछ्दै यहीँ कतै
आदिम पर्खालले घेरिएको
कुनै जीर्ण सरकारी  विद्यालयमा
र उसको उही पुरानो चस्मा मिलाउँदै
भनिरहेछ ः पदार्थ हराएपछि  शक्ति बन्छ
हो ,मलाई पनि चाहिएको छ त्यही शक्ति
र बाँड्न सकियोस् यसको एकएक क्याप्सुल
खान नपाएका अथाह मान्छेहरूलाई

जब हुक्का तान्दा निस्किने
आवाजजस्तो बेअर्थ लाग्न थाल्छ देशको संविधान
वा कतै एक्लै कराइरहेको कागको आवाजजस्तो
भजन गाउन थाल्छन् मन्दिरका पुजारीहरू
अनि त फुटाइदिँदोरहेछ हावाको प्रत्येक झोक्काले
झ्यालका सिसाहरू

यो चोकमा
आजभोलि म भेटिने छैन
कुनै पनि अवस्थामा
पसलमा तरकारी किन्दै
बजारमा आएको नयाँ उपन्यासको मूल्य सोध्दै
र भर्खरै रिलिज भएको फिल्मका सिडिहरू किन्दै
वा पत्रिकाका पुनरावृत खबरहरूसहित ताता पृष्ठहरू पल्टाउँदै

र यो अचम्म पनि भएको छैन म हराउनुु
र यो सामान्य छ ,जस्तो कि छायाँ हराउँछ उज्यालो निभेपछि
र यो खालको अभ्यस्तता यहाँको नियमितताजस्तो छ

पर क्षितिजबाट
उड्दै आउने एउटा अजङ्गको पहाड
जव थामिनेछ यहीँ कतै
यिनै मान्छेका टाउकाहरूमाथि
उफ् यो गह्रौँ र भयावह हुनेछ
अनि कसरी थाम्नेछन् यिनीहरूले ?

म निकै चिन्तित छु  ।














No comments:

Post a Comment

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog