Sunday, May 30, 2021

"एक स्केच सुवास खनाल"

"एक स्केच सुवास खनाल" 

-उमेश तिमल्सिना

सुवास खनाल नेपाली कविता लेखनमा क्रियाशील नाम हो । सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो नदी नामको कविताकृति प्रकाशित छ । पहिलो कविता सङ्ग्रहबाट वैचारिक कविता लेखनको छवि बनाएका खनालको दोस्रो कविता कृति भने पाठकको हातमा पुग्ने अवस्थामा छ । उनलाई यो कृतिको लागि हार्दिक शुभकामना ।

२०७६ चैत २१ गते उनी ३३ वर्ष पुग्दै थिए र ३३ कविताको सँगालो सार्वजानिक हुने सन्दर्भ निर्माण भएको थियो । परिस्थिति सहज हुन सकेन । चिनको बुहानबाट सुरु भएको कोभिड– १९ को प्रभाव विश्वव्यापी बन्न पुग्यो । कोरोना कहरको प्रभावस्वरुप देश लकडाउनमा गयो । उनको पुस्तक प्रकाशनको सन्दर्भ पनि पछाडि धकेलियो । खनालको परिचय उप्काउँदा उनी २०४३ चैत २१ गते साविक छतिवन ८ र हालको बकैया ५ , पावसमा आमा सुशीला खनाल र बुवा गोकर्ण खनालको पुत्रको रुपमा जन्म भएको हो । कक्षा १ मा सावाँ अक्षर फुटाउन नसक्ने देखेर विद्यालयमा फेल गराउने सल्लाह दिनुभएका बुवा गोकर्ण खनाल, पछि गएर अध्ययनमा सबल निस्किएपछि छोरामाथि गरिएको निर्णय सही भएको अनुभव बताउनुहुन्छ । कक्षा ४ देखि कक्षा प्रथम हुन सुरु भएका खनाल एम्एस्सी फिजिक्सको अन्तिम परीक्षासम्म पनि प्रथम श्रेणीमै उत्तीर्ण हुन सफल भए । कक्षा – ८ मा सरकारी विद्यालयमध्ये जिल्लाका उत्कृष्ट बीस विद्यार्थीमा पर्न सफल भई कोल्गेट पाल्मोलिभ छात्रवृत्ति प्राप्त गरेका उनले एस एलसीमा सरकारी विद्यालय मध्येको जिल्ला तृतीय हुन सफल भए र मकवानपुर बहुमुखी क्याम्पसमा बिएस्सीसम्म छात्रवृत्ति मै अध्ययन गर्ने अवसर प्राप्त गरे । कवि भावना सापकोटासँग साहित्यिक विवाहमार्फत २०६६ वैशाख ३ गते वैवाहिक जीवन शुरु गरेका खनालको शुभम् र सुबोध दुई छोराहरू छन् । लेखनमा २०५७ सालदेखि प्रवेश गरेका उनी सुरुमा चोरेको र बुवाको डायरीबाट सारेर सुनाएको एकाध कविता आज पनि सम्झिन्छन् । पछि आफ्नै प्रयासमा कविता लेख्न थाले । कविता यात्रामा सुरुमा अन्जानमै प्रवेश गरेको र लेखन महत्ताबारे उति ख्याल नभएको उनी बताउँछन् । छतिवनमा झरनाले बनाएको साहित्यिक वातावरण , रमेशमोहन अधिकारी , उद्धव सापकोटा , जनार्दन खनाल लगायतको उत्प्रेरणा , बुवाको डायरीको अध्ययन , त्यहीँबाट लेखनमा स्थापित अनमोलमणी , लेखन सहयात्रीहरू चिरञ्जीवी लामिछाने, जीवन पौडेल , लीला शिरीष , मसान उपासक, दीपक गौतम, उमेश तिमल्सिना , भावना सापकोटा विश्वनाथ सञ्जेलहरू नै लेखन प्रविष्टिको स्रोत रहेको उनी सम्झिन्छन् । २०५८ – ०५९ ताका जब उनले एउटा कविता लेखे – ’ठेट्नाहरूको प्रचारप्रसार ’। त्यसपछि उनलाई कविता लेखनको अर्थबोध भयो । हाल उनी उक्त कवितामा प्रयोग भएको एक पक्षीय सोचमा आलोचित पनि हुन चाहन्छन् तर त्यसबेला सो कवितामा मान्छे मार्ने काम देशमा चलिरहेको , त्यसमा विद्रोही भनिने शक्ति जिम्मेवार रहेको र त्यो खेदपूर्ण छ भन्ने विचार आएको थियो । सो कविता पढेर त्यस समयका माओवादीका जिल्ला तहका नेता रुद्र पाख्रिन घरमा आई आमासँग बाबुलाई सम्झाउनुहोला , हामी त्यसै यो व्यवस्थाको विरुद्ध हिँडेका होइनौँ । यो व्यवस्था नै खराब छ भन्ने खालका कुराहरू राखेर जानुभएछ । त्यसपछि उनी कविताको संवाद समाजसँग हुनेबारे सचेत बनेको जानकारी गराउँछन् । खनालका कविता तर्कहरू गर्छन् , नयाँपनका तहहरु उप्काउँछन् । परिस्थितिको जर्जर अवस्था वोध गराई रुपान्तरणको आग्रह गर्छन् । यी कुराहरू हुँदाहुँदै पनि थुप्रै कमीकमजोरी सहित आफू उभिएको उनी बताउँछन् । कमजोरी सकिएको दिन आफू पनि सकिने धारणा उनको रहेको छ । कमजोरी सहित र सिमितता सहित मानिस, मानिस रहने बताउँछन् । कविता केही आत्मगुम्फनको प्रष्टोक्ति , केही रुचि , केही जिम्मेवारी हो उनी यही भन्छन् ।

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog