Sunday, May 30, 2021

दीपक गौतमबारे परिचयात्मक लेख ।

 दीपक गौतमबारे परिचयात्मक लेख ।

सुवास खनाल


साहित्यकार दीपक गौतम मकवानपुरमा रहेर करिब दुई दशकदेखि साहित्य सिर्जनामा क्रियाशील छन् । लेखनी , प्रशिक्षण र साहित्यिक उत्प्रेरणामा निरन्तर सक्रिय उनी हाल झरना साहित्यिक परिवारका अध्यक्ष हुन् । बकैया –४ मकवानपुरमा माता दुर्गा गौतम र पिता बलराम गौतमका सुपुत्रका रुपमा २०४३ साल असार चौध गते जन्मिएका दीपक लेखनीमा २०५६ मा सुनकेस्रा मासिकमा छापिएको कविताबाट प्रवेश गरेका हुन् । मूख्य विषय नेपालीमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका गौतम मूल पेशाका रुपमा जिएस निकेतन , हेटौँडा क्याम्पस र हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्यापन गर्दछन् ।

गौतम लेखन अतिरिक्त साहित्यिक प्रशिक्षक र विद्यार्थीहरूका निम्ति साहित्यिक  उत्प्रेरकका रुपमा पनि परिचित छन् । उनले झरनामा नेतृत्व लिएपछि सो साहित्यिक संस्थाले पाएको गति र झरनाले सुरु गरेको ‘ सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान ’ प्रशंसनीय बनेको छ । यसको उदाहरण पछिल्लो समय झरनाले प्राप्त गरेको नगद एक लाख राशीसहितको ‘हेमराज पहारी स्मृति साहित्य पुरस्कार’लाई लिन सकिन्छ । ‘उडान’ अन्तरदेशीय संयुक्त गजल सङ्ग्रहका गजलकारहरूमध्ये एक गौतमको २०७७ मा प्रकाशित एकल लेखनमा रहेको मुक्तक सङ्ग्रह हो– ‘विसङ्गत वर्तमान’ । यस अतिरिक्त गजल सङ्ग्रह र खण्डकाव्यको एउटा÷ एउटा कृतिका निम्ति पाण्डुलिपी तयार रहेको उनी बताउँछन् ।

साहित्यिक सक्रियताका हिसाबले गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष , प्रलेस मकवानपुरका पूर्व उपाध्यक्ष , नवसर्जक साहित्यिक चौतारी नेपालका संरक्षक रहीसकेका यिनी हेटौँडा एफएममा साहित्यिक कार्यक्रम प्रस्तोताका रुपमा २०६४ देखि दुई वर्ष क्रियाशील रहे । साहित्यलाई कलात्मक वैचारिक विधा र समाज परिवर्तनको संवाहक मान्ने यिनी हाइकु, मुक्तक , गजल , कविता, लघुकथा, कथा, नाटक, निबन्ध , समालोचना लगायतका क्षेत्रमा कलम चलाउँछन् । मकवानपुरबाट प्रकाशित नवपल्लव, शुभप्रभात, गजल यात्रा , झरना लगायत पत्रिकाको सम्पादन गरेका यिनी २०६२ सालमा मातृभूमि साहित्य समाजले आयोजना गरेको जिल्ला स्तरीय लघुकथा प्रतियोगितामा दितीय , यसै गरी २०६६ सालमा सहीद स्मारक मूल समारोह समितिले आयोजना गरेको कविता, गजल –कविता प्रतियोगितामा  उत्कृष्ट हुनुका साथै मकवानपुरबाट प्रदान गरिने विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित छन् । 

विद्यालयकालीन शिक्षकहरू रमेश मोहन अधिकारी , उद्धव सापकोटा, जनार्दन खनाल, छतिवनको परिवेश, झरना साहित्यिक परिवार र आफ्नो जीवन भोगाइलाई लेखनको पे्ररणा स्रोत सम्झिने गौतमको लेखनीमा सामयिक परिवेश चिन्तन , देशमा विद्यमान राजनैतिक अधोगमनप्रति चिन्ता , उज्यालो र अग्रगमनउन्मुख समाजको आकांक्षा मूल विषय बनेर आउँछ । लेखनमा विहङ्गम दृष्टिचेतनाका आग्रही गौतमको आगामी लेखन पनि सशक्त र प्रभावपूर्ण भइरहोस् भन्ने हार्दिक शुभकामना ।


सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog