स्मृतिका रिलहरूमा ।
सुवास खनाल
सुवास खनाल
बिहान उठ्छु र दौडिन्छु । घर छिर्दा साँझ घर पसिसकेको हुन्छ । बीचमा पनि छिर्छु घर । तर गाँस टिप्न एकछिन् । यो एकोतारको रफ्तार छ जीवनको आजकाल । रस नभएजस्तो । रबरको तन्काइ र खुम्चाइजस्तो । दिनभरी यता उता तन्किइरह्यो र बेलुका खुम्चिएर उही ठेगानामा आइपुग्यो । खासमा देख्नेले व्यस्त देख्छन् । साथिहरू समय नदिएको सोच्छन् । भेटमा कम बोलेर हिँड्दा ठूलो भएछ सम्झिन्छन् । तर जिन्दगीको यो वेगको रन्को बढी त आफू नै बुझ्छु र आंशिकमा परिवारका सदस्यहरू बुझ्छन् ,यस्तै लाग्छ ।
शनिबार रहन्छ बिदा । बिदाको दिन थुप्रिन्छ साहित्यिक कार्यक्रमहरूको लर्को । अनि टिभी इन्टरभ्यू गर्नु त छँदैछ । अप्रत्याशीत समय व्यवस्थापनका पाटाहरू नि आउँछन् । हामी साना मान्छेहरूका त जीवनमा समय व्यवस्थापन जटील बन्दोरहेछ भने ठूला भनिनेहरूको जीवनको दैनिकीको चाप झन् गाह्रो हुने अवश्यम्भावी रहेछ भन्ने सोच्छु ।
सन्दर्भ छतिवन सम्झिनु हो , झरना सम्झिनु हो । अर्कोतिर बढी लागेँ कि भन्ने अनुभूति हुँदैछ । केही सन्दर्भहरूमा कुरा चल्छ । लेखक सिकाएर वा प्रशिक्षित गरेर मात्र बन्छ वा बन्दैन ? वा लेखनका लागि मोटिभेसनल कारकहरू के के हुन सक्छन् । हामी झरनाको पर्यावरणमा हुर्किन पुग्यौँ । लेखनलाई उत्साह दिने कारक अवश्य नै बन्यो झरना । झरना सम्झिएपछि रमेशमोहन सर , उद्धव सर यसका पर्याय बनेर आउनु नै हुन्छ । तर लेखनप्रतिको अवधारणा बनाउने वा प्रयोजन निर्माण गर्ने काम चाहीँ आफ्नै जीवनले बढी सिकाउँछ भन्ने लाग्छ । अथवा व्यक्तिगत अध्ययनले निर्माण गर्छ ।
सुरुवाती चोरीबाट भयो । मुना बाल पत्रिकाबाट कविता सारेर सुनाएँ झरनाको कार्यक्रममा । प्रतियोगितात्मक कार्यक्रममा कविता प्रथम भयो । दोस्रो कविता बुवाको कविता चोरी गरेँ वा त्यसलाई मोडिफाइ गरेँ । त्यसले नि पुरस्कार चिप्ल्यायो । अनि यस पटक सपना देखेँ चोरेको कविताका लागि पुरस्कार लिएका कारण पुरस्कार फिर्ता लिनुपर्छ भनेर सरहरूले भन्नुभएको । बिहान उठ्दा नराम्रो लाग्यो । सोचेँ यो तरिका ठीक भएन । आफैँले मेहनत गरेर लेख्नुपर्छ कविता । अब कविता लेख्नुपर्छ आफैँ यही लागेर लेखेँ पहिलो कविता ‘हिजोसम्म, भोलिदेखि’ । यो कविता पनि पुरस्किृत भयो । अब भने थप जिम्मेवार बन्नु पर्ने लाग्यो । यो २०५७ सालतिरको कुरा हो । त्यसपछि भने कवितामा चेतन रुपमै चाहीँ अरुको प्रभाव पार्नुहुन्न भन्ने सम्झेर लेख्ने गर्दछु ।
लेखन सामान्य कुरा होइन भन्ने कुराको बोध मलाई लेखनको सुरुवाती तिरै नि अनुभूत हुन पुग्यो । एउटा घटनाको पुनरावृत हुने गर्छ मष्तिष्कमा हिजोआज पनि । उल्टो रिल घुमाएर पुराना दिनहरू हेर्दै बस्दा आँखामा संशय टाँसिन आउँछ ।
मैले भर्खरै कविता लेख्न सुरु गर्ने बेला थियो । कविता भनेपछि निकै प्रिय लाग्ने । हेटौँडाबाट निस्किने ‘कुराकानी’ पत्रिका थियो –जसमा हाम्रा कविता छापिन्थे । थियो यस कारण कि अहिले सो नामको पत्रिका हेटौँडामा प्रकाशन हुँदैन । यो पत्रिका सम्झेपछि रमेशमोहन अधिकारी र सञ्जय साहलाई सम्झिनै पर्छ । यस कारण कि रमेश सर कविता जम्मा पारी पठाइदिने र सञ्जय सर पत्रिकाका सम्पादक । त्यसमा हाम्रा कविताहरू छापिन थालेका थिए । सुरुसुरुमा छापिएका कविताहरू सिरानी मुनी लुकाई पटक पटक निकाल्दै पढेको याद ताजा हुन आउँछ ,आफ्नै फोटोसहितको कविता पढ्दा आफ्नो नाक लम्बिँदै गएझैँ लाग्ने । यसैबीच एउटा कविता छापियो मेरो । त्यसबेला म कक्षा आठमा पढ्दै थिएँ । कविताको नाम थियो – ‘ठेट्नाहरूका प्रचार प्रसार’। त्यतिबेलासम्म राजनैतिक विषयलाई बुझ्ने र हेर्ने दृष्टिकोण अलिक सपाट र छिपछिपे थियो । उमेर र चेतना यसलाई प्रभाव पार्ने कारक थियो नै । त्यो समय देशमा द्वन्द्वको अलिक उग्र परिणामहरू समाजलाई प्राप्त हुँदै थिए । मैले लेखेको सो कविता तत्कालिन विद्रोही शक्ति माओवादीको विपक्षमा रहेछ । त्यो पनि हिजोआज बुझ्दैछु । त्यतिबेला त रेडियो , टिभी वा सामाजिक गफगाफ थिए हाम्रा विचार निर्माण हुनु पछाडिका कारकहरू । रेडियो , टिभी त राज्य नियन्त्रक छँदै थिए । सामाजिक हल्लाहरू नि उस्तै थिए – यो ठाउँमा यति मान्छे मारिए ,ऊ ठाउँमा यति मान्छे मारिए खालका ।
त्यो कविता आजसम्म सुरक्षित छैन तर भाव सम्झिन्छु –मान्छे मार्ने काम राम्रो होइन तर कोहीले ( तत्कालीन माओवादीले ) मान्छे मार्नुलाई नै अन्तिम निष्कर्ष बनाएका छन् र त्यसमा नै गौरवबोध गर्दैछन् । यो एकोहोरो कविता थियो । जसमा राज्य पक्ष कुनै दोषी छैन भन्ने भाव स्पष्ट आउँथ्यो । आज म यो कुरामा सहमत छैन तर त्यसबेलाई मैले बुझेको सत्य त्यही थियो । कविता जब छापियो । कविता आफूले पढ्नु अगाडि नै प्रतिक्रियाहरू सुन्न थालियो । यो २०५८ सालतिरको कुरा हो । ‘यस्तो कविता किन लेखियो ? त्यो भाइलाई सिकाउने मान्छे कस्ता छन् ? ’ खालका ।
मेरो बुवा गोकर्ण खनाल पुरानो कम्युनिष्ट । २०४६ को आन्दोलन ताका तत्कालीन पञ्चायतको विपक्षी मोर्चामा टड्कारो देखिने पात्र हो उहाँ । अनि कम्युनिष्टको बच्चाले त्यस किसिमको कविता त नलेख्नु पर्ने भन्ने टिप्पणी तत्कालीन माओवादीका छतिवन खटिने कमान्डरहरूले कुरा गरेछन् । यो कुरा दामोदर खनाल अङ्कलले पनि बताउनु भयो । उहाँ हाल बकैया गाउँपालिकाको अध्यक्ष पनि हुनुहुन्छ । अझै अङ्कलले थप के भन्नुभयो भने– ‘अब कविता लेखिसकेपछि हामीलाई देखाएर मात्र कार्यक्रममा सुनाउनु वा पत्रिकामा छाप्नु ।’
यसै सन्दर्भमा तत्कालीन माओवादीका नेता रुद्र पाख्रिन पनि हाम्रो घरमा आउनु भएछ । म स्कुल थिएँ । उहाँले भन्नुभएछ –‘बाबुले कविता लेखेछन् तर बाबुलाई अलिक सम्झाउनु पर्ने थियो । बुवा पनि बुझ्ने मान्छे हो अब उहाँले नै भन्नुहुन्छ ।’ ममीसँग यही भनेर जानुभएछ । कविता सचेतताका साथ लेख्नुपर्ने रहेछ भन्ने मैले त्यतिखेर बुझेँ ।
आज पनि कविता लेख्ने नै गरिरहेछु । यो कविता लेख्नु पनि एउटा आदत नै रहेछ । सङ्ख्यात्मक रुपमा धेरै नलेखे पनि कछुवा चालमा लेख्ने गर्छु कविता । लेखनमा यो धिमा गति मा पनि सन्तोष नै अनुभूत गर्दैछु । कविता लेख्ने उपक्रम चलाउने नै छु भन्ने विश्वस्तता पनि छ मनमा ।
subaspoet@gmail.com/ Fagun, 2075