जोखिममा मौलिक नाच ।
२०७६ जेठ ७ र८ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र युथ क्लब अफ निजगढको आयोजनामा
भएको नृत्य गोष्ठीमा पेश गरिएको कार्यपत्र ।
सुवास खनाल, केन्द्रीय पार्षद्, प्रलेस नेपाल
भएको नृत्य गोष्ठीमा पेश गरिएको कार्यपत्र ।
सुवास खनाल, केन्द्रीय पार्षद्, प्रलेस नेपाल
लोकनाच कुनै शास्त्र अनुसार निर्माण भएको होइन । समाजमा आफ्नो मनोरञ्जनका निम्ति लोकनाच नाच्ने परिपाटी बस्यो । समूदायमा एउटा व्यक्तिले नाचेर अरूलाई मनोरञ्जन गरायो । नाच्ने व्यक्ति समाजमा चर्चित बन्यो र सबैको प्रिय पनि । त्यही देखेर अन्य व्यक्तिले पनि त्यस्तै ढङ्गले नाच्न थाले । त्यो नाच एउटा वस्तीबाट अर्को वस्तीमा विस्तार हुन पुग्यो । यसरी कुनै लिखित शास्त्र र विधिविधान विना नै जीवित रहेको नाच लोकनाच हो । यस्ता लोकनाच संसारका हरेक देशका आआफ्ना मौलिक किसिमका हुन्छन् । यस्तै हरेक जातिको पनि आफ्नो पहिचानयुक्त लोकनाच हुन्छन् । ती नाच लोप हुने अवस्थामा र जोखिममा छन् । ती लोकनाच केकस्ता छन् ? तिनको वर्तमान अवस्था केकस्तो छ ? तिनको संरक्षण गर्न के कस्ता उपाय अबलम्वन भएका छन् र गर्न सकिन्छ भनेर यहाँ नेपाली लोकनाचका बारेमा संक्षेपमा चर्चा गरिँदैछ ।
२. लोक नृत्यको परिभाषा
मानवसभ्यताको उत्पत्तिकालदेखि मानिसहरूले आफ्ना मनका भावहरूलाई विभिन्न तरिकाले व्यक्त गर्न थालेको पाइन्छ । यी भावहरू ध्वनी वा भाषाका माध्यमबाट व्यक्त हुँदा कविता, गीत, कथा, उपन्यास, लोककथा, संवाद आदि साहित्यिक विधाकोे विकास भयो भने यिनै भावलाई शरीरका विभिन्न अङ्गहरूको उपयुक्त चालप्रक्रियाबाट व्यक्त हुँदा अभिनय तथा नृत्यको उत्पत्ति भयो । परिभाषित रुपमा भन्दा शारीरिक हाउभाउको विशिष्ट प्रस्तुती जसले लोकलाई प्रशन्न गराउँछ ,त्यो नृत्य हो । शब्द निर्माणका दृष्टिले ‘नृत्’ धातुमा ‘क्त’ (क्यप्) प्रत्यय लागेर नृत्य शब्दको निर्माण हुन्छ । यसलाई लोक शब्दमा नाच र अङ्ग्रेजीमा डान्स ( म्बलअभ ) भनिन्छ । लोकनृत्यसँग सन्दर्भित हुँदा लोकलाई मनोरञ्जन प्रदान गर्ने र लोकवासीले स्वतस्फूर्त प्रस्तुत गर्ने साङ्गीतिक अभिनयलाई लोकनृत्य भनिन्छ । विभिन्न परिभाषाको कसीमा लोकनृत्यलाई अध्ययन गर्दा केही विशिष्ट अर्थहरू निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
“लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटी अनुसारको नाच नै लोक नृत्य हो ”– नेपाली बृहत् शब्दकोश्
“भावनामा गतिको नाम नै नृत्य हो ” –इन्साइक्लोपेडिया ब्रितानिका ।
“ शारीरिक चाल ,हाउभाउ , मौखिक मुृद्रा , र सङ्गीत सहितको कलात्मक अभिव्यक्ति नाच वा नृत्य हो ।” –चुडामणि बन्धु
अत ः विभिन्न अवस्थाका मानवीय भावलाई अर्थपूर्ण शारीरिक लयमा कलात्मक प्रस्तुती ,सङ्गीत र वाद्यवादनको मनोरम सङ्गम नै नृत्य हो । नृत्यको मूल आधारभूमि लोकनृत्य हो ।
३. नेपालमा प्रचलित प्रमुख लोक नृत्यहरू
लोक नृत्य जाति ,भूगोल , क्षेत्र तथा अवस्थिति आदिका आधारमा विविधतायुक्त छन् । खोजको परिघेरामा बहुसङ्ख्यामा लोक नृत्यहरू फेला पर्दछन् । यो अध्ययनलाई नेपालमा मूल रुपमा प्रचलित प्रमुख लोकनृत्यहरूबारे केन्द्रित गरिएको छ ।
३.१.कौडा नाच
यो नेपालमा मगर समुदायमा प्रचलित लोक नृत्य हो । मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ । यो नाच पश्चिमान्चल विकास क्षेत्रका पाल्पा, नवलपरासी, तनहुँ, स्याङ्जा, लम्जुङ र गोर्खा जिल्लाहरूमा विशेष प्रचलनमा भएको पाइन्छ । कौडा नाचमा पहिले श्री कृष्णचरित्र र रामायणका गीतहरू गाइन्थ्यो भने हाल ती श्रीकृष्ण र रामायणका कथा सम्बन्धी धार्मिक गीतहरू प्रायश ः लोपोन्मुख हुँदै गएको पाइन्छ । तापनी कौडा नाचको बन्धन लिदा आकाश पातलदेखीका सम्पूर्ण देवी देवताहरूको नाममा बन्धन गीत गाइन्छ ।
३.२.खुकुरी नाच
खुकुरी नाच हातमा खुकुरी लिएर नाच्ने गरिन्छ । प्रायजसो नेपाली सेना तथा नेपाल प्रहरीका जवानहरुले गोर्खालीको गौरब रुपमा यो नाच नाच्ने गर्छन ।
३.३.च्याब्रुङ नाच
लिम्बू समुदायमा प्रचलित नृत्य हो, च्याब्रुङ । कुनै चाडपर्व, विवाह, भोजभतेर, घरपैंचो (नयाँ घरमा सरेका बेला) जस्ता रमाइला अवसरमा लिम्बूहरू च्याब्रुङ बजाएर नाच्छन् । यो नाच वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । च्याब्रुङ बजाउँदा प्रायःजसो दाहिने ताल हातले एकपटक र देब्रे ताल लठ्ठीले दुई पटक हिर्काइन्छ । यसरी बजाइएको च्याब्रुङको धुन प्राकृतिक र कर्णप्रिय हुन्छ । यो नृत्यमा कुखुराको भाले, परेवा, मुजुर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिएको हुन्छ । च्याब्रुङ नाच विवाह, भोजभतेरमा तन्नेरीहरू नाच्छन् भने देवीदेवताको पूजाआजामा परिवारका सदस्यहरू एकै समूहमा नाच्छन् । यो नाचमा गाइने मुन्धुममा पृथ्वीको वर्णन गरिएको हुन्छ ।
३.४.चिलिङ नाच
पूर्वाञ्चल क्षेत्रमा बसोबास गर्ने चिलिङ राई जातिका मानिसले देवीदेवताका पूजाभन्दा अगाडि र पितृपूजाको अवसरमा चिलिङ नृत्यको आयोजना गर्दछन् । यो समूहमा देखाइने नृत्य हो । यस नृत्यमा नर्तक समूहको बीचमा हरियो झुप्पा भएको वनस्पति हुनु जरुरी हुन्छ । दौरा सुरुवाल ,आस्कोट, टोपी वा फेटा लगाएका पुरुष र सारी चोलो, पछ्यौरा र पटुका लगाएका कानमा सुन र घाँटीमा कम्पनी माला लगाएको महिला गोल घेरामा रहेर हातमा हरियो स्याउला लिएर च्याब्रुङ र झ्याली बाजाको तालमा दुई हातलाई क्रमैसँग घुमाउँदै एकएक कदम अगाडि सर्दै यो नृत्य प्रस्तुत गर्दछन् ।
३.५.छलीया नृत्य
छलीया नृत्य नेपालको सुदूर पश्चिममा विवाह, ब्रतबन्ध, जात्रा तथा पर्व विशेषमा नाचिने नृत्य हो । यो नृत्य लडाकू वीरहरूको विरतालाई प्रदर्शन गर्दै प्रस्तुत गरिन्छ । यस नृत्यमा नर्तकीहरूले आफुमा भएको ढाल र तरवार चलाउने सिप तथा दक्षताको प्रदर्शन गर्ने गर्दछन् ।
३.६.टप्पा नाच
टप्पा नाच मगर समुदायको निकै लोकप्रिय नाच हो । यो नाच राप्ती अंचल तिर विशेष गरी नाच्ने गरिन्छ ।
३.७. धान नाच
विशेषगरी पुर्वी नेपालको धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र अन्य ठाँउमा बसोबास गर्ने लिम्बु जातिले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच (चासोक तङ्नाम) भनिन्छ । जस्मा न्वागी पुजा गरी च्याब्रुङ बजाउदै गोलाकार घेरामा धान नाच नाचेर भव्य पुर्वक मनाइन्छ । जनश्रुतीका आधारमा प्राचीन समयमा लिम्बुका आदिपूर्खाले खेतीबाली लगाउन जान्दैनथे । चराले उनीहरूलाई अन्नको बीउ प्रदान ग¥यो र अन्नबाली लगाइदिन पनि सिकायो तर पहिले बाली चराले खाँदा धपाउन नपाइने शर्त तयार भयो । बाली तयार भएपछि चराहरू आएर खान थाले । पूर्वशर्तका कारण चरालाई धपाउन मिलेन । त्यसैले उनीहरू सबै मिलेर अन्नबाली भएको ठाउँमा नाचगान गरी बस्न थाले । यसका कारण चराहरूबाट धानबाली सुरक्षित पनि भयो र पहिलेको शर्त पनि पुरा भयो । त्यही समयदेखि धान पाक्ने बेलामा धान नाच गर्ने प्रचलन बस्यो भन्ने विश्वास गरिन्छ । धान नाच लिम्बु जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बु भाषामा ‘यालक्मा’ भनिन्छ । यो खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा पनि लिम्बु जातिका युवा र युवतिले परस्परमा आधारित गीतको माध्यमबाट सवाल–जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दुख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन । लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछन् ।
३.८.मयुर नृत्य
मगर जातिमा प्रचलनमा रहेको विभिन्न नाचमध्ये मयुर नाच पनि एक हो । पर्व ,महोत्सव आदिमा पुरुषहरू यो नाच नाच्दछन् । यो एकल वा युगल हुने भए पनि मूल रुपमा एकल हुने गर्दछ । मयुरका भालेपोथीले वसन्त ऋतुको आगमनसँगै आपसमा प्रेम साटासाट गर्ने भावभङ्गिमा प्रदर्शन गर्न चोयाबाट मयुरको आकृति बनाएर मयुरको प्वाँख लगाइएको हुन्छ । त्यसमा पुरुष पसी नृत्य गर्दछन् । यसमा गीत प्रस्तुत नगरी बाँसुरी र मादलको तालमा नृत्य प्रस्तुत हुन्छ ।
३.९.मारुनी नाच
मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, गुरुङ, तामाङ, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ । परम्परागत रुपमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने नाच हो । धान काटेर थन्काइ सके पछि मारुनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारुनी नाच तीजको दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारुनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । मारुनी नाचको परम्परागत नियमहरूमा प्रायः एकरुपता पाइए पनि नाचमा प्रयोग हुने गीतहरूको लय र भाषामा स्थान र समुदाय अनुसार फरक फरक रहेको छ । गीतमा एक रुपता पाइए पनि गीतमा प्रयोग हुने लय र शब्दहरूमा कतै पनि एक रुपता पाईंदैन ।
३.१० साकेला नाच
योे नाच किराँत ,सुनुवार, राई र याक्खा जातिको अति नै प्रचलित नाच हो । उभौली अर्थात् अन्न लगाउने र उँधौली अर्थात् अन्न भित्राउने पर्वको रूपमा रहेको किराँतीहरूका यी महत्वपूर्ण चाड बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआऊन् भनि साकेला र सखेवा शिली गर्दै नाच्दै प्रकृतिलाई पुजा गरिन्छ । किराँतहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
३.११.सोरठी नाच
सोरठी नाच नेपालको एक परम्परागत नृत्य हो । यो नाच खास गरेर गण्डकी र कर्णालीमा बसोवास गर्ने गुरूङ र मगर समुदायमा निकै प्रख्यात रहेको परम्परागत नृत्य हो । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ । पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह्र स्त्रीहरूसगँ सम्बन्धीत भएकाले सोह्रवटी भन्दा भन्दै सोरठि भएको भन्ने भनाइ छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गरिन्छ । समाजमा सानो, ठुलो, जातजाति, धनि, गरिब नभनी सबै मिलेर गाइने तथा नाचिने सोरठी नाचले समाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुने बाध्यताले पनि यो लोकप्रिय नाच हराउँदै हराउँदै जान थालेको छ ।
३.१२ हुड्केली नाच
हुड्केली नाच अथवा हुड्के नाच नेपालको पश्चिमी भेगमा प्रचलित नाच हो । यो सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको लोकप्रिय नाच मध्ये पर्छ । हुड्केली नाच हुड्काको तालसँग नाचिन्छ । पश्चिम नेपालको चर्चीत देउडा भाकामा गाइने हुड्केली गितमा पौराणीक कथा, राजा महाराजाहरू गाथाको वर्णन र पुराना लडाइँका कथाहरू समावेश गरिन्छ । जसलाई स्थानिय भाषामा कर्खा अथवा भारत भनिन्छ । विवाह ब्रतबन्ध पास्नी तथा अन्य सुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ । हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । यो नाच नाच्नेले टाउकोमा सेतो फेटा पगडी बाँधेको हुन्छ भने सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छड्के पारेर कम्मरमा बधेको हुन्छ । प्राय वीरगाथा गाइने यस नाचमा ताण्डव नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन । यो नाचलाई भारतको उत्तराखण्डमा लोकप्रिय नाचको रुममा लिइन्छ । उत्तराखण्डमा हुड्के नाचलाई छलिया नाच भनिन्छ । हुड्केली पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा प्रचलित नाच्ने र गाउने लोकनृत्य एवं गीत हो ।
३.१३.सेलो नाच
‘से’ र ‘लो’ अक्षरबाट ‘सेलो’ शब्द बन्छ । सिक्नुपर्ने र रमाइलो गर्नुपर्ने कुरा भन्नु पर्ने अर्थमा सेलो शब्दको प्रयोग तामाङ भाषामा गरिन्छ । सेलो मूल रुपमा विवाह र पूजाआजामा नाचिन्छ । युवायुवतीबीच प्रेमप्रणय र व्यङ्ग्यभाव भरिएको गीत सेलोमा हुन्छ ।
माथि उल्लिखित बाहेक पनि विभिन्न नाचहरू प्रचलनमा छन् । आर्यतारा नाच, कुमारी नाच, कृष्णचरित्र नाच, केलाङ नाच (झापामा), ख्याली नाच, गोपीचन नाच, गौना नाच, घाटु नाच, चण्डी नाच, चरित्र नाच, चर्या नाच, , चुड्का नाच, चेपाङ नाच, चैत नाच, डन्डी नाच, डम्केन पार सेव नाच (मुस्ताङ), छलिया नाच, छोकरा नाच, जटजटिन नाच, जितिया नाच, झरा नाच (थारु जातिको),झ्याउरे नाच, झाँक्री नाच, झाँगर नाच, झिझिया नाच, झुमरा नाच, झुमैरा नाच, ,डमकज नाच(बिर्जा समुदायको), डम्फु नाच, तर्बारे नाच, तायमचा नाच, तेन्दोङ लोरम्फात नाच(लेप्चा समुदायको), थाली नाच, दसाइ सिरिङ नाच (सतार समुदायको), देउडा नाच, देवी नाच, धमारी नाच, धान नाच, धिमे नाच, धिमाल नाच, नवदुर्गा नाच, न्याउले खेल नाच, पञ्चबुद्ध नाच, पैया नाच, फागु नाच, बज्रयोगिनी नाच, बालन नाच, बाहा नाच (सतार समुदायको), बेठी नाच, भानदान नाच (सन्थाल जातिको), भैरव नाच, भैरवकाली नाच, मञ्जुश्री नाच, महाकाली नाच, मुन्धुम नाच, रत्यौली नाच, लमजुङे नाच, लाकछाम नाच, लाखे नाच, शिवताण्डव नाच, सँगिनी नाच, सखिया नाच, साकेन्वा नाच, साकेला नाच, सामाचकेवा नाच, सिँगारु नाच, सेग्रो नाच, सेर्गा नाच, सेब्रु नाच, सोराइ नाच(सतार समुदायको), स्यादरपिदार नाच, हनुमान नाच, हुदुधुरा नाच (राजवंशी र सतार समुदायको), हुरा नाच, हुरका नाच (मुसहर जातिको), होप्चा नाच, होली नाच आदि ।
४.लोकनाचको वर्तमान अवस्था
लोक नाचले मौलिकता गुमाउने भयका बीच नेपालमा नेपाली लोकनाचको संरक्षण र विकासका निम्ति लागेका संस्था र व्यक्तिहरू स्मरणीय रहेका छन् । विश्वविद्यालयका कतिपय क्याम्पसहरूमा सङ्गीतको पढाइ गराउँदा नेपाली लोकनाचका बारेमा पनि ज्ञान दिने काम गरिएको छ । यस्तै सांस्कृतिक संस्थानले नेपालमा लोपोन्मुख लोकनाचको विकासमा योगदान पु¥याइराखेको छ । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानको निर्माण भएपछि नेपाली लोकनाचले जीवित हुने अवसर प्राप्त गरेको छ । ठाउँठाउँमा खोलिएका नृत्य पाठशाला तथा सङ्गीत पाठशालाले नेपाली लोकनाचको विकासमा ठुलो योगदान दिएका छन् । अझ केही जागरुक लोकनृत्यप्रेमीहरूको निस्वार्थ रुचिका कारण अहिले नेपाली लोकनाचले विकसित हुने अवसर प्राप्त गरेको छ । कतिपय विद्यालयहरूमा नृत्य शिक्षक राखेर बालबालिकालाई नेपाली लोकनृत्य सिकाउने काम गरिएको छ । ठूला मिडिया हाउसद्वारा सञ्चालन भएको टिभी नृत्य प्रतियोगिताले पनि यसको विकासमा सहयोग पु¥याएको छ । यसरी नेपाली लोकनाचको विकासमा नेपालका संस्थाहरू र व्यक्तिहरू सक्रीय भइराखेका छन् । यस्तो अवस्थामा नेपालमा केही लोकनाचहरू निकै फस्टाएका छन् । कौडा, टप्पा, लाखे, हुड्केली , देउडा , सोरठी आदि लोकनाच निकै नै चर्चित छन् ।
५. लोक नृत्य संरक्षणमा चुनौती र सम्भावना
मौलिकता हाम्रो सम्पत्ति हो । हाम्रो मौलिकतालाई जोगाएर मात्र हामीले हाम्रो परिचय बचाउन सम्भव छ । हाम्रा मौलिक लोकनृत्यहरूलाई संरक्षण गर्न सकेमा यसबाट संस्कृतिको पुस्ता हस्तान्तरणमा सहयोग पुग्छ । बढी प्रचलनमा रहेका केही लोकनाच बाहेक कतिपय लोकनाच त आफ्नो परम्परागत मौलिकता छाडेर विकृत बनेका छन् । नाचमा विकृति आयो भनेर कारवाही कहीँकतैबाट नहुने हुँदा केही लोकनाच विकृत बनेर देखापरेका छन् । प्रोत्साहनका अभावका कारण यस्तै कतिपय लोकनाच लोपोन्मुख अवस्थामा छन् । केन्द्रीय सरकारमा मात्र संरक्षण केन्द्रित भएकै कारण कतिपय लोकनाच लोप भइसकेका पनि छन् । लोकनाच हाम्रो संस्कृतिको उपज हो , लोक जीवनको प्रतिबिम्ब हो । नयाँ पुस्ताले आफ्ना मौलिक नाचहरूमा रुचि नदेखाउँदा नाचको मैलिकताको क्षय हुन सक्ने शङ्का रहन्छ । विभिन्न नाचहरूबारे समूदायमा सोधखोज गर्दा पहिले भएको तर अहिले नभएको बताउँछन् । यसकारण अभिलेखिकरण हुन नसक्नुले पनि लोकनृत्य संरक्षणमा समस्या पारेको छ । आधुनिकीकरणले पनि पुराना लोकनाचको स्वरुप बदलिदिएको छ ।
समय परिवर्तनशील छ , यो कुरा स्वभाविक छ तर हामीले हामीसँग भएका स्वअस्तित्व र स्वपहिचान रहँदा मात्र हाम्रो हैसियत कायम रहन्छ । यसकारण लोकनाचलाई हामीले जोगाउनु आवश्यक छ ।
६.नेपाली लोक नृत्य संरक्षणका लागि आवश्यक प्रयास
भोलिको लागि जोगाउनु पर्ने सांस्कृतिक सम्पदाका लागि आधारभूमि आज तयार हुनुपर्छ । पुरानो पुस्ता र नयाँ पुस्ताको संयुक्त पहलमा लोप हुँदै गरेका सांस्कृतिक सम्पदाको संरक्षण हुनु जरुरी छ । नेपालमा लोक नृत्य संरक्षणका लागि तल उल्लिखित केही प्रयत्नहरू जरुरी देखिन्छ ।
नयाँ पुस्तामा लोक नाचका महत्व र जगेर्ना गर्नु पर्ने कारणहरूबारे सचेतना जगाउने ।
लोपोन्मुख मौलिक लोक नृत्यका पहिचान गरी तिनको संरक्षण तथा संवद्र्धनमा जोड दिने ।
राज्यले बहुलवादी सांस्कृतिक नीति अबलम्बन गर्ने ।
केन्द्रीय सरकारका साथै प्रदेश सरकार र स्थानीय सरकार सजग भई नेपाली लोकनाचको संरक्षणमा लाग्ने ।
संबन्धित समूदाय , विज्ञ र संबन्धित सरकारी निकायबीच आवश्यक समन्वयको विकासमा जोड दिने ।
राज्यले लोक नाचहरूलाई राष्ट्रिय सम्पत्तिको रुपमा वहन गरी जोगाउने दायित्व बहन गर्ने ।
लोपोन्मुख नाचहरूको अभिलेखिकरण गरी पाठ्यपुस्तकमा समावेश गर्ने ।
राज्यद्वारा मौलिक लोक नाचका विषयलाई अध्ययन अनुसन्धानको क्षेत्र तय गर्ने ।
सांस्कृतिक आदान प्रदान कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम राख्ने ,आदि ।
७. निष्कर्ष
नेपाली लोकनाचले नेपालको गरिमा र पहिचानलाई जोगाइराखेका छन् । नेपालमा नेपालीत्व झल्काउन पनि लोकनाचको प्रदर्शन गरिन्छ । यस्तै विदेशमा बसेका नेपालीहरूले पनि आफ्नो देशको लोकनाच हेर्दा र अनुभव गर्दा छुट्टै किसिमको आनन्दको अनुभव गर्दछन् । विदेशीहरूले पनि नेपाल भ्रमण गर्दा यहाँका नाच देखेर रमाइलो अनुभव गर्दछन् । यसबाट नेपाली लोकसंस्कृतिको एउटा महत्वपूर्ण पाटो जीवित रहेको छ अनि अर्र्काितर पर्यटनको विकासमा पनि नेपाली लोकनाचले विशेष योगदान पुर्याइराखेका छन् । अहिलेसम्म राष्ट्रिय सरकारले केही ध्यान पुर्याएका कारण केही लोकनाचहरू जीवित रहेका थिए भने अहिले प्रदेश सरकार र स्थानीय सरकारका हातमा यी पक्षहरू जोगाउने अवसर आएको छ । आफ्नो प्रदेशको लोकनाच जोगाउने दायित्व तत्तत् स्थानका प्रदेश सरकारको हो । आफ्नो प्रदेश र स्थानको लोकनाचलाई जोगाएर आफ्नो पहिचान बनाउनु प्रदेश र स्थानीय सरकारको दायित्व हो । यो दायित्व बोध गरेर सम्बन्धित विज्ञ व्यक्तिहरूलाई सम्बन्धित प्रदेश र स्थानका लोकनाचको खोज गराई तिनको संरक्षण गराउने सके मात्र यस राष्ट्रका ती विविध लोकनाच जीवित र विकसित हुन पाउनेछन् । यसतर्फ सम्बन्धित निकायको निस्वार्थ ध्यान जानु आवश्यक छ । यस्तै अबका दिनमा अनुसन्धानमा तथा विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पढाइमा लोकनाचको पाठ्यक्रम अनिवार्य बनाई लोकनाचबारे पठनपाठन गराउन सके लोकनाचको विकासमा ठुलो टेवा पुग्ने देखिन्छ र जोखिममा रहेको लोक नाचको संरक्षण हुन्छ ।
सन्दर्भसूची
१. उपाध्याय सुवेदी, राजाराम नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ५ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
२. निरौला कुलराज नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. १ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
३. न्यौपाने, कुसुमाकर ,नेपाली लोकनाचको वर्तमान अवस्था (२०७५),भब्मबचकजब।अयm
४. पराजुली ,मोतीलाल र अन्य ,नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ४ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
५. पराजुली मोतीलाल ,नेपालमा प्रचलित नृत्य र नृत्य नाटिकाहरू ( २०६३ ), साझा प्रकाशन
६. पुन डम्बरबहादुर, नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ६ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
७. पोखरेल, बालकृष्ण र अन्य ( सम्पा. ) (२०५८ ) नेपाली बृहद् शब्दकोश ःकाठमाडौँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
८. बन्धु, चुडामडी ( २०५८ ) ,नेपाली लोकसाहित्य ,काठमाडौँ ,एकता बुक्स
९. भट्ट ,पुष्करराज नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ७ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
१०. योन्जन– तामाङ, अमृत नेपालका प्रदर्शनकारी कला ,प्रादेशिक अनुसन्धान प्रदेश नं. ३ (२०७४), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान