Saturday, December 3, 2022

लेखनका फरक आयामहरूमा– तुल्सी थापा

 लेखनका फरक आयामहरूमा– तुल्सी थापा /



- सुवास खनाल

    तुल्सी थापा– सामान्य तपाईँ हामी जस्तै मानिस हुनुहुन्छ । उहाँ अलौकिक होइन । तर उहाँसँग आफ्ना विशिष्टताहरू छन् । जोसुकै मानिस आआफ्ना विशिष्टतासहित प्रभावशाली हुने गर्दछन् । उहाँसँग भएको विशिष्टता लेखनको हो । लेखनमा पनि प्रयोगधर्मिता र गहन विषय प्रस्तुती तथा गहिरो विषयको उठान उहाँको सशक्तता हो भन्ने म महशूश गर्दछु । उहाँ मकवानपुरको मात्र नभएर समग्र नेपाली साहित्यमा प्रभावशाली उपस्थिति हो । उहाँ अन्तर्मुखी र शालीन व्यक्तित्व लाग्नुहुन्छ । लेखनमा यस पक्षको परावर्तन देखिन्छ । उहाँ लेखनमा उत्तिसाह्रो हतारो रुचाउनुहुन्न र झिना विषय वस्तुहरुलाई पनि अत्यन्तै गम्भीर ढङ्गले उठाउनुहुन्छ । शुरुमा उहाँलाई लेखनमा चिनेको ‘एक निमेष अनन्तको’ दाना कविता सङ्ग्रहबाट हो । यी कविताहरूमा उहाँले विषयवस्तुलाई अत्यन्तै मिहिन ढङ्गबाट खिप्नु भएको छ । कविताहरू आकारले साना लाग्छन् तर त्यसको वजन गह्रुँगो छ । तीन हारमा लेखिने यी कविताहरूमा पहिलो हारले विषयवस्तुको उठान गर्दछ , दोस्रोले त्यसको विस्तृतिकरण गर्दछ र अन्तिमले टुङ्ग्याउँछ र यो टुङ्ग्याइ सार्थक र प्रभावपूर्ण हुने गर्दछ ।

    गलत प्रश्न

तपाईँ मान्छे नै हुनुहुन्छ हैन र ?

शङ्का गर्‍यौ, ठिकै गर्‍यौ

म मान्छे भएको भ्रम मात्र हुँ ।

थापाकृत माथिको कविता यही संरचनामा रहेको छ । लेखक नवराज शर्माले उहाँका कविताहरूलाई दाना कविता नाम दिनुभयो । दाना भन्नाले पोगटा वा भूस नभएका ,अनावश्यक तत्व नभएका भन्ने अर्थमा उहाँले प्रयोग गर्नुभएको बारे थापा सर माथि भएको अन्तरक्रियामा शर्माले बताउनु भएको थियो । हामी यसलाई बोसोरहित कविता पनि भन्न सक्छौँ । हामीले बिउ भन्छौँ ,दाना भन्छौँ –ती आकारमा साना हुन्छन् । तर त्यसको विस्तृतिकरण भव्य हुन्छ । त्यही बीजभित्र सिङ्गो रुख अटेको हुन्छ । सिङ्गो अस्तित्व समेटिएको हुन्छ । जब बिउलाई अनुकूल वातावारणमा हुर्किन दिइन्छ , त्यसबाट हाँगा , पात ,जरा, काण्ड ,फल र फूल सहितको सिङ्गो रुख बनेर हुर्किने गर्दछ । यसको मतलब बिउभित्र नै रुख हुनका लागि आवश्यक सबै तत्वहरू अटेका हुन्छन् ।

साना र ठूला वा छोटा र लामा भन्ने कुरा आयामले वा आयतनले निर्धारण गर्छन् जस्तो लाग्दैन । आकारले निकै लामा लाग्ने कविताहरू कथनका दृष्टिले अर्थविहीन र छोटा हुन सक्छन् । आयामले छोटा देखिने कविताहरू पनि विषयका दृष्टिले भव्य लामा हुन सक्छन् । त्यसकारण थापा सरका कविताहरू आयामले मात्र मसिना हुन् , कथनले ती भीमकाय छन् । कथनले ती लामा र कतिपय व्याख्यातीत छन् ।

थापा सरको लेखनीमा दोस्रो कृतिका रुपमा ‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटक आयो । यो नाटक पनि आफैँमा प्रयोगपरक छ । जो मूल कलाकार हुन्छ –अमरसिंह , ऊ नाटक मञ्चनको पूरा समय अनुपस्थित हुन्छ । नाटकमा सबै तयारी पूरा हुन्छ तर अमरसिंह आइपुग्दैन । यो पर्खाइलाई नाटकभरी गजबसँग चित्रण गरिएको छ । जब अमरसिंह आइपुग्छ नाटकको अन्त्य हुन्छ । २० औँ शताब्दीमा चर्चित रहेको सामूयल बेकेटले लेखेको ‘वेटिङ फर द गोडोट’ नाटकको झल्को दिने यो नाटकमा मूल चरित्रको पर्खाइको सन्दर्भ प्रस्तुत गरिएको छ । वेकेटको नाटकमा भगवानको पर्खाइको सन्दर्भ छ । जसमा भगवान कहिल्यै आइपुग्दैन तर उसको पर्खाइलाई लिएर निकै प्रभावी संवादहरू बुनिएका छन् ।

‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटकले हामी सबैमा अमरसिंह रहेका छन् तर त्यो सुषुप्त अवस्थामा छ ,त्यसलाई जगाउनु पर्ने आवश्यकता छ भन्ने कुरालाई प्रस्तुत गर्दछ । यो प्रतीकात्मक शैलीको अनुभूत हुन्छ । अमरसिह थापा जो एक ऐतिहासिक पात्र हुन् । नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिमी किल्लाको सर्वोच्च कमाण्डरका रुपमा उनले युद्ध लडेका थिए । उनलाई पात्रका रुपमा उभ्याउनु भनेको देशभक्तिको भावलाई प्रकट गर्नु हो र हामी सबैमा देशभक्ति जिउँदो जाग्दो अवस्थामा रहनुपर्छ भन्ने कुरालाई बोध गराउनु हो ।

थापाकृत लेखनीको प्रकाशित पुस्तकहरुमध्ये ‘फरक आकाश’ तेस्रो कृति हो । सङ्ग्रहमा उहाँका एघार कथाहरू छन् । मूलत ः कथामा सामाजिक विषयवस्तुहरुलाई नवीन शैलीमा प्रस्तुत गरिएको देखिन्छ ।  कथाका कतिपय वाक्यहरू नै कवितात्मक अनुभूत हुन पुग्दछन् । सरल कथाका अपेक्षा राख्नेहरुले उहाँबाट त्यस्तो अपेक्षाअनुरुप स्वाद प्राप्त नगर्न पनि सक्छन् । समीक्षक घनश्याम घिमिरे भन्नुहुन्छ –‘थापाको लेखनी स्याउ खाएजस्तो सोझै स्वाद प्राप्त हुने किसिमको छैन बरु हाडे ओखर फोरेर खाएजस्तो वा नरिवलको जट्टा फुटाएर नरिवल र यसको पानी प्राप्त गरेझैँ छ ।’

उहाँको ‘एक बोझिल बिहान’ कथामा फोहोर सफा गर्ने फोहोरी नभई फोहोर गर्नेहरू फोहोरी हुन् भन्ने सन्देश पाइन्छ । त्यस  कथामा सडकमा फोहोर बढार्ने पात्रहरुलाई प्रयोग गरिएको छ । ती पात्रहरुको दैनन्दीन खोतल्दै देशको फोहर सफा गर्न सामान्य नागरिकहरुको जति योगदान छ त्यत्ति उच्च पदमा आशिनहरुको नभएको प्रतिकात्मक सन्देश प्राप्त हुन्छ । सामान्य लाग्छ तर असामान्य प्रश्न हो–‘ फोहोर के हो ?’ यसले सोचको तहमा प्रश्न निर्माण गर्छ –‘सडकको फोहरमात्र फोहर हो र ? मानिसका दिमागमा भएका कलुषित विचारहरू फोहर होइनन् र ?’

‘अधूरो कथाहरुको अन्त्य ’ मार्फत कथाकारले नेपालमा साहित्य लेखेर वा लेखक मात्र बनेर बाच्नुँ अपवाद सिद्ध छ र लेखक हुनु भनेको सामाजिक पात्रताको हिसाबले उत्ति साह्रो सहज छैन भन्ने परिवेश चित्रण गर्नु भएको छ ।

सङ्ग्रहमा प्रकाशित ‘अस्विकृत स्वरुप’ कथा निकै घनत्व भएको कथा हो । यस कथामार्फत वास्तविकता वा प्रकृति नै सर्वमान्य सत्य हो । अरु भ्रम हुन् वा तात्कालीक सत्य मात्र हुन् भन्ने सन्देश प्राप्त हुन्छ । केही अनौठा संवादहरु जो यस कथामा प्रयोग भएका छन् , दर्शन चेतले युक्त लाग्छन् ।

पाल –१ भित्र

‘आज दिनभरि के ग¥यौ ?’

‘ढुङ्गासँग कुरा गरिरहेँ’

‘ढुङ्गा बोल्यो ?’

‘बोलेको छैन बोल्छ होला ।’


 पाल –३ भित्र

‘कसको मूर्ति बनाउनेछौ’

‘बिन लादेनको ?’

‘जर्ज बुसको पनि बनाउने कि ?’

................

................

‘हो उसको पनि । एकअर्काका परिपूरक । सुझावका लागि धन्यवाद ।’

उहाँको ‘सम्बन्धका विकिरण’ सम्बन्धका विविध आयामलाई चिरफार गर्ने कथा हो । सम्बन्धहरु जीवन यापनका निम्ति सहायक चिज हुन् तर सम्बन्धहरु धेरै जटील हुँदै जान्छन् र त्यही सम्बन्धको अल्झोले मानिसलाई सताउँछ । सम्बन्धका पुलहरु तर्नै नसकिने भइदिन्छन् । कथाहरू कथाहरूको रुपमा मात्र छैनन् तिनले कुनै सन्देश सिर्जना गर्ने अथवा गहिरो छाप छोड्ने काम गरेका छन् ।

माथि उल्लेख गरिएका कथाहरू र अन्य गरी उहाँका ११ कथाहरू फरक आकाश सङ्ग्रहमा समेटिएका छन् । कथा सङ्ग्रहका हिसाबले पनि उहाँको छुट्टै वैशिष्ट्य स्थापित छ ।  । प्रयोगपरकता ,विद्रोहका कुरामा नि भद्र विद्रोहको प्रस्तुती ,दर्शनको प्राचुर्य उहाँको लेखनीका उल्लेख्य पक्ष हुन् । मूल रुपमा थापा सर लेखक नै हृदय भएका वास्तविक लेखक हुनुहुन्छ । लेखक रहेकोे ढोङ गर्ने तर लेखनलाई ख्यालख्याल प्रस्तुत गर्नेको भीडबाट उहाँ टाढा नै रहनुभएको छ ।

पत्रकार प्रताप विष्टले भन्ने गर्नु भएजस्तै थापा सर एकजना अर्गानिक लेखक हुनुहुन्छ । शुद्ध हृदय भएको व्यवहार र लेखनको तादात्म्यता रहेको एक अब्बल लेखकको रुपमा उहाँको स्केच मेरो मष्तिष्कमा नमेटिने रुपमा कुँदिएको छ । आगामी समयमा पनि पहिले प्रकाशन भएकाझैँ प्रभावपूर्ण कृतिहरू उहाँबाट आउन सकून् भन्ने शुभकामना व्यक्त गर्दछु । थापा सरको सुस्वास्थ्य र सुदीर्घ जीवनको लागि हार्दिक कामना गर्दछु ।

subaspoet@gmail.com

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog