Thursday, April 29, 2021

समवयी लेखकको सपनासँगै ब्युँझिँदा ।

 समवयी लेखकको सपनासँगै ब्युँझिँदा ।

सुवास खनाल

डिबी बर्तौला युवा जोशका साथ लेखनमा प्रविष्ट एक पात्र हुन् । यिनी लेखनमा मात्र सक्रिय होइनन् । समाजका विविध पक्ष ( शिक्षण, राजनीति, सहकारी लगायत ) सँग जोडिएर निरन्तर अघि बढिरहेका समाज सुधारमा सकारात्मक चिन्तन राख्ने एउटा सक्षम चरित्र हुन् । यिनको रचनाको मूल स्वर पनि देश निर्माणका लागि युवाहरूलाई आह्वान रहेको छ । यो देश बदल्ने तागत कसैमा छ भने –त्यो युवाहरूमा नै छ भन्ने उनको मत हो । 

जीवनमा सपना सजाएर बाँच्नुपर्छ 

हामीले सधैंँ आशा जगाएर बाँच्नुपर्छ 

थकित गलित भएर होइन हामीले

निराशाका पर्दाहरु हटाएर बाँच्नुपर्छ


आजको समय स्वप्नहत्यामा संलग्न छ । विद्यालय जीवनमा ठूलो महत्वकाङ्क्षा बोकेर अध्ययन गरी राम्रो श्रेणीमा उत्तीर्ण हुनेहरू जीवनको श्रम खाडीका विभिन्न मुलुकहरूमा पोख्न विवश छन् । रेमिट्यान्ससँग अर्थतन्त्रको उपलब्धि विश्लेषण गर्ने अर्थवेत्ताहरू छन् । तर डिबीका मुक्तकहरू सपनाका खेती गर्दछन् । सपना देख्नको लागि आग्रह गर्दछन् । एक किसिमका लेखकहरू सोच्ने मात्र होइन भन्ने पनि गर्दछन् –‘लेखकको त लेख्ने काम न हो गर्नु त पर्दैन । चेतना बढाउने मात्र हो ,कहाँ लेखकले साबेल उचाल्ने ?’ यो एलिटिएन सोचको उपज हो र आजको समाजमा बुर्जुवा साहित्य सिर्जनाको मूल स्रोत पनि यही हो । डिबीका मुक्तकहरूमा काव्यशिल्पी कमजोर होलान् तर यिनी वैयक्तिकीमा सबल छन् । उनी सपना देखाउने मात्र होइन त्यो सपनासम्म पुग्ने बाटो निर्देश गर्न सफल छन् ।


एक दिन अनौठो बिहानी आउने छ 

झुपडीमा निन्द्रा दिने सिरानी आउने छ 

आशा, उमङ्गका दियोहरू बाल्न पक्कैपनि

शान्ति, सम्वृद्धि झर्को नमानी आउने छ ।


 नेपाली कविता साहित्यमा गोपालप्रसाद रिमालले ‘ आमाको सपना ’ मार्फत एउटा सपना प्रस्तुत गरे । उक्त सपना आजअद्यापी नेपाली जनजनले आह्वान गरिरहेको समयकोे एउटा स्वरुप हो । उनैद्वारा सिर्जित ‘एक जुगमा एक दिन एक चोटी आउँछ’ क्रान्ति सचेत युवाहरूलाई ब्युँझाइरहने रचना हो । डिबीका रचनाहरूले पनि ब्युँझाइको आग्रह गर्दछन् । 


एउटा लेखक उसको समयको प्रतिनिधि हो । उसले आफ्नो समयलाई कति मजबुतसँग लेख्यो त्यसले नै उसको प्रभावलाई विस्तारित गर्दछ । आफ्नो समयलाई पटाक्षेप गर्ने डिबीको जुन प्रयत्न छ त्यो प्रयत्न सह्राहनीय लाग्दछ । प्रभावपरक लेखनीमा त प्रश्न गर्न सकिन्छ तर मुक्तक लेखनको नेपाली परम्परा हुर्किँदै जानेमा कुनै शङ्का छैन । लघु आयामको लेखनी भएका कारण आजको व्यस्त र भागदौडको समयमा यो बढी प्रभावी लाग्छ । मुक्तकका ज्ञाताहरू भन्दछन् –‘मुक्तक आकार र आयाममा मात्र सानो हुन्छ तर यसले ठूला आयामका अन्य रचनाले बोक्ने भन्दा बढी भाव प्रकट गर्न सक्नु पर्दछ ।’ डिबीका मुक्तकहरूले त्यो अभ्यास गर्ने तरखरमा छन् ।

 यिनको लेखनीमा उमेरले दिएको प्रणयपरकता स्वभाविक महशूश हुन्छ । केही मुक्तकहरू अनुरागयुक्त लाग्दछन् । त्यस्तै लेखनीमा स्वअस्तित्वको खोज  मुखरित भएको छ । सहिदहरूको त्याग तपस्या र बलिदानीको चर्चा , सामाजिक कुरीतिको विरोध, बालापनको नोस्टाल्जिक सम्झनाहरू मुक्तकका विषय बनेर आएका छन् । यिनको मुक्तकले सुभविष्यको कामना गर्दछन् । आजको समय कठीन भए पनि भोलिको भविष्य उज्ज्वल देख्ने इच्छा यिनमा रहेको छ । विदेश पुगेका पाखुरीहरूलाई स्वदेश आगमनको आह्वान गर्छन् । यही देशमा पौरख गरे त्यो कालान्तरसम्म फलदायी रहने तर्क गर्छन् । 


 एउटा समवयी लेखकलाई नजिकबाट हेरिरहँदा उनमा रहेको उर्जाको समग्र स्वर यो मुक्तकसङ्ग्रह हो भन्ने सोच्दछु । उनको उर्जा सही ढङ्गले प्रयोग हुँदा भोलीको दिनको एउटा प्रभावी लेखकको रुपमा उनको उपस्थितिको सम्भावना बलियो रहेको छ । डिबीलाई उनकै मुक्तकका साथमा आगामी उज्ज्वल भविष्यको हार्दिक कामना ।


जलेर सबैले एकदिन खरानी हुनु छ

त्यागेर इच्छा, लोभ ज्ञानी हुनु छ

के छ र लानु ए साथी जानु नै छ

सबैले सम्झने असल बानी हुनु छ ।


subaspoet@gmail.com

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog