Thursday, April 29, 2021

'सपनाका अवयव'बारे लेखक नेत्र एटमले लेख्नुभएको भूमिकामा रहेको धारणा ।

 सपनाका अवयवमा बुनिएको प्रखर आवाज ।

डा.नेत्र एटम


खुला आँखाले दिउँसै सपना देख्ने मान्छे साहसी हुन्छ किनभने उसले जस्तोसुकै जोखिम पनि मोल्न सक्छ । ऊ सपना मात्र देख्दैन, तिनलाई सम्भव तुल्याउन हरप्रयास गर्छ । कवि सुवास खनाल त्यस्तै एकजना साहसी कवि हुन् र उनका कविता पनि सामूहिक चेतनाले मन्थन गरेर सुन्दर सपनाका अवयवमा बुनिएका श्रमका युगीन आवाज हुन् ।

कवि सुवास खनालका कविता वस्तुगत यथार्थमा आधारित छन् । समयले भोगेको दुःखलाई चिनेर तिनलाई चिर्दै नवीन चिन्तनका साथ अघि बढेका छन् । वर्गीय सामाजका विभेद, शोषण, अन्यायका विविध पक्षहरूको लेखाजोखा तथा मौजुदा सत्ताको दलालपन्थले सिर्जना गरेका सार्विक पुँजीवादका कुरुप पर्खालहरूलाई उनका कविताले विषय बनाएका छन् । त्यसले आतङ्कवादलाई हेर्ने उनको दृष्टिकोण सापेक्ष छ । शक्तिशाली राष्ट्र, वर्ग, वर्ण, लिङ्गबाट प्रताडित श्रमिक र दमित वर्गको आँखाबाट कथित आतङ्कवादलाई हेर्दै उनी त्यसमा क्रान्तिको छवि देख्छन् । सङ्कटको अवस्थालाई आफ्नै फाइदाका निम्ति दुरुपयोग गर्ने अवसरवादी र आडम्बरी चरित्रको चिन्तनको पिनासलाई पर्दाफास गर्नु उनका कविताले प्रस्तुत गरेको ठोस सत्य हो । इतिहासप्रति गद्दारी गर्ने जनता, नेता, बुद्धिजीवी, प्रशासक, पत्रकार, कलाकार आदिको बिचौलिया स्वभाव र बोल्नुपर्ने उपयुक्त बेलामा नाफा–घाटाको हिसाबमा मौन भई गरिने जिम्मेववारीविहीन सोचको सङ्केत उनको कवितामा यसरी भएको छ ः 

यो समय बढी बकबक गर्नु ठीक होइन

पटकपटक भन्नुहोस्

देश सङ्कटको घडीमा छ

हामी सबै सङ्कटमा छौँ 

मौन रहनुहोस्

कम बोल्नुहोस्

चुपचाप बिजनेस चलाउनुहोस् (‘चुपचाप बिजनेस’)


सबैका दृष्टिमा असल हुन खोज्ने मान्छे अन्ततः कसैको पनि हुन सक्दैन । अत्यधिक व्यावसायिक हुने नाममा हुर्कंदै गएको विचारधारात्मक तटस्थता हाम्रो समयको ‘स्लो पोइजन’ हो, जसले अवसरवादी चिन्तनलाई मलजल गरिरहेको छ भन्ने सन्दर्भलाई यस कविताले अभिव्यञ्जित गरेको छ । 


कवि सुवास खनालका कविता दमनको प्रतिरोध गर्दै समानता, न्याय र स्वतन्त्रता स्थापनाका निमित्त परिवर्तनको चाहनामा केन्द्रित छन् । कविसँग प्रश्न गर्ने सामथ्र्य छ । उनको चेतनामा जीवन्त तर्कहरू सिर्जना हुन्छन् । उनको चिन्तनमा प्राक्कल्पनाहरुले स्थान पाएका छन् । रारालाई क्षेत्रीय विभेदको प्रतिनिधि बनाएर उनी प्रश्न, तर्क र प्राक्कल्पनाको शृङ्खला यसरी तयार पार्छन् ः

जब छोएँ तिमीलाई

जब महशूश गरेँ तिमीलाई 

ममा केही  प्रश्नहरू स्वभाविक उब्जिए 

तिमीसँग पनि होलान आँसुका हजार कथा 

तिमीसँग पनि होलान् अभावको अर्को रारा 

तिम्रो छातिमा रोपिएको होला—

कर्णाली कहरको खिल 

र पनि

किन चुपचाप छौ सदियौँदेखि ? (‘रारा’)


देशले महसुस गर्न नसकेको राराको यो मौनताको किनार कुन दिन भत्किन्छ र पोखिन्छ छताछुल्ल प्रतिरोध अनि त्यसै क्षण भताभुङ्ग हुन्छ स्थापित सत्ताको कुरुप चाल । 


सपनाका अवयवमा सङ्कलित कविता मुखर छन् । कुनै रुपक र बिम्बबिना यिनले प्रतिरोध गर्नुपर्ने पक्षलाई प्रखर रुपले प्रहार गरेका छन् तर स्थापना गर्नुपर्ने सुन्दर पक्षलाई भने तिनले कोमल सङ्केतिकता दिएका छन् । पुँजीवादको दलाली गरेर मजदुरका ज्यालामाथि बर्बर शासन गर्ने साहुका विरुद्ध चुनौती बोल्दा उनका कविता कसैलाई कर्कश लाग्न सक्छन्, तर उनले लिएका श्रमजीवी वर्गको पक्षधरता निकै आत्मीय छ ः

जब यी सबैको अनुहारमा 

ब्युँझेर अनौठो साहस 

जोडजोड धड्किनेछ मुटु

फिक्का सुनिनेछ तिम्रो उद्योगको इन्जिनले फेक्ने आवाज (‘समय मुर्दावाद !’)


सामूहिक श्रमबाट सुन्दर संसारको सिर्जना हुन्छ भन्ने आशावाद सुवास खनालका कविताको शक्ति हो । यी कवितामा समान विचारमा एकीकृत शक्तिको महत्त्ता र त्यसैमार्फत विशेष रङले पाउने पहिचानको सङ्केत रङहरूको संयोजनबाट भएको छ । यसरी विचारमा प्रतिबिम्बित हुने रातो रङको पृथक् प्रभाव दृश्यबिम्बका रुपमा कविले नभनेरै पनि हाम्रो मस्तिष्कमा दिन सकेका छन् ः  

रङहरू वस्तुहरूसँग जोडिन्छन् र अस्तित्वमा आउँछन्

रङहरू अर्थहरूसँग गाँसिन्छन् र महत्वपूर्ण हुन्छन्

रङहरू विचारहरूमा प्रतिबिम्बित हुन्छन् र स्थापित हुन्छन् (‘रङ’)


सुवासका कविताका प्रारम्भमा घटना, चरित्र र प्रवृत्तिका विश्लेषण र वादहरू आएका हुन्छन् तर अन्त्यमा पुगिसक्दा तिनको संश्लेषण भई एउटा नवीन संवाद तयार भएको हुन्छ । प्रमाणहरू दिएर सिद्धान्तलाई पुष्टि गर्ने गणितीय प्रस्तावना उनका कविताको आधार हो । खास परिस्थितिको प्रतिकूलता र त्यसलाई चिरेर रचना हुने नवीनताको सन्दर्भलाई आकर्षक धूनका रुपमा यसरी सुनिएको छ कवितामा ः 

कारणवश 

पसे होलान् आँखाहरूमा ओस

गाइए होलान् केही विरह गीत

देखिए होलान् केही भयावह सपना

एक रिल मात्र हुन्— यी जीवनगीतका

जब सकिनेछन् यी सारा

सुनिनेछ जीवनको आकर्षक धून (‘दुर्घटनापछि’)


कवि सुवास खनाल बर्टोल्ट बे्रख्तझैँ बोसोरहित, खिरिला र सम्प्रेष्य कविताका सर्जक हुन् । उनी कवितामा ठुला सपनाहरुको पहिरोले नथिचिई ससाना सपनाहरूलाई जोडेर युगनिर्माणको जग तयार गर्दै छन् । उनी सुन्दर सपनाका निम्ति आवश्यक अवयवहरू सँगालिरहेका छन् । साङ्गठनिक सक्रियता , धारिलो चिन्तन र काव्यिक कलाका माध्यमबाट नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनसँग जोडिएर सामाजिक रुपान्तरणको नयाँ मार्गचित्र कोर्दै हिँडेका कविलाई कृति प्रकाशनको यस अवसरमा सफलताको हार्दिक शुभकामना छ ! 


सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog