Thursday, April 29, 2021

आइन्स्टाइन –एक महान वैज्ञानिक

 आइन्स्टाइन –एक महान वैज्ञानिक



सुवास खनाल

सन् १९८१ का भौतिक विज्ञान तर्फका नोबेल पुरस्कार विजेता अल्बर्ट आइन्स्टाइन चर्चित र महान् वैज्ञानिक हुन् । उनको जन्म जर्मनीको उटेमवर्ग स्थित उल्ममा १४ मार्च १८७९ मा भयो । उनको तीन वर्षको हुँदासम्म बोली फुटेको थिएन । उनी पछि पनि भन्थे –‘मैले कहिलेकाहीँ मात्र शब्दहरूमा सोच्ने गर्छु नत्र मलाई विचारहरू चित्र वा नक्साझैँ आउँछन् र तिनलाई व्यक्त गर्नमात्र म शब्दहरू खोज्न थाल्दछु । ’ उनले तेह्र वर्षको उमेरसम्म सधैँ घरमा भायोलिन सिक्ने र यहुदी धर्मसम्बन्धी प्रवचन सुन्ने गर्दथे । सन् १८९५ मा जुरिचको प्राविधिक विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियर पढ्न दिएको प्रवेश परीक्षामा उनी असफल भए । त्यस्तै आराउको विद्यालयमा पनि उनी असफल हुन पुगे । त्यसबेला उनले आफ्नो भविष्यको योजना बारे निबन्ध नै लेखे –यदी मेरो भाग्य छ भने म स्वीस सङ्घीय विद्यालयको परीक्षा पास गर्नेछु । त्यहाँ म चार वर्षसम्म गणित र भौतिकशास्त्र अध्ययन गर्नेछु र ती विषयको सैद्धान्तिक पक्षको शिक्षक हुनेछु भनी कल्पना गर्छु । ममा प्रयोगात्मक क्षमता र कल्पनाशीलताको कमीको कारणले नै मैले यस्तो सोचेको हुँ ।

अध्ययन क्रममा उनलाई शिक्षकहरूले –‘अल्बर्ट तिमी कहिल्यै सफल हुन सक्दैनौ’ भनी गाली गर्दथे । अध्ययनको क्रममा उनले मार्सेल ग्रोसमानजस्तो मेहनती साथि भेटे , जो लगनशील भएकाले सधैँ कक्षामा बस्ने, पाठ गर्ने ,अध्ययनमा ध्यान दिने गर्दथे भने आइन्स्टाइनले ग्रोसमानको कापी सार्ने , जाँचको दुई तीन महिना अघिसम्म नि घुम्ने गर्थे । अध्ययनपछि ग्रोसमानका पिताले ग्रोसमानलाई एउटा माध्यामिक विद्यालयमा अस्थायी शिक्षक पदमा मिलाई दिएभने ग्रोमानको सहायताले आइन्स्टाइनले एक अनुसन्धानशालामा तृतीय श्रेणीको अस्थायी प्राविधिक जागिर पाए । यसले नै उनको भाग्योदय भयो भन्न सकिन्छ । उनले अफिसको काम तीन चार घन्टामा नै भ्याएर बाँकी काम भौतिक विज्ञानको अध्ययनमा बिताउन लागे । उनले त्योजागिर सात वर्षसम्म गरे र पछि ज्युरिच विश्वद्यिालयबाट विद्यावारिधि गरे । त्यसबीचमा उनले तीनवटा महत्वपूर्ण शोधपत्रहरू तयार गरे जसले उनलाई अमर बनायो । पहिलो ब्राउनियन गतिसम्बन्धी थियो ,दोस्रो प्रकाशको क्वान्टम प्रवृत्तिबारे थियो भने तेस्रो सापेक्षतावादको सिद्यान्त थियो । उनलाई नोबेल पुरस्कार फोटोविद्युतीय असरसम्बन्धीको कामलाई लिएर दिइएको थियो भने मूल रुपमा उनी सापेक्षतावादको सिद्धान्तका कारण चर्चामा रहे । यो सिद्धान्तले उनलाई मानव इतिहासकै एउटा विशिष्ट चिन्तकका रुपमा अगाडि ल्यायो 

आइन्स्टाइनले स्पेस टाइमको अवधारणा जबसम्म ल्याएका थिएनन् तबसम्म टाइम लाई सापेक्षिक मान्ने अवस्था थिएन । उनले  प्रकाशको गति नै सबैभन्दा धेरै गति हो भन्ने कुरा सापेक्षतावादसम्बन्धी सिद्धान्तमा उल्लेख गरे । यसो भनिदिँदा विज्ञानको क्षेत्रमा प्रयोगमा आइरहेका पचास प्रतिशतभन्दा बढी सिद्धान्तहरू रक्षात्मक अवस्थामा पुगे । उनको सापेक्षतावादसम्बन्धी सिद्धान्तले तहल्का नै मच्चायो । त्यो सिद्धान्त आउने बेला एउटा कहावत प्रसिद्ध भयो –‘सापेक्षतावादको सिद्धान्त बुझ्ने विश्वमा एक दर्जन पनि मान्छे छैनन् ’ भन्ने । यो सिद्धान्तलाई कैयन मानिसले बौद्धिक आतङ्क ( इन्टेलेक्चुयल टेरोरिज्म) को सङ्ज्ञा दिए । नील्स बोर जत्तिको बुद्धिमान वैज्ञानिकले समेत उनलाई इन्कारे । तर जति समय बित्दै गयो त्यत्ति सापेक्षतावादको सिद्धान्त बढी प्रभावकारी देखिँदै आयो । उनको सापेक्षतावादको सिद्धान्त बढी चर्चित हुँदै गर्दा उनलाई भौतिक विज्ञानको नोबल पुरस्कार भने फोटो विद्युतीय असरको अध्ययनका लागि प्रदान गरिएकाले उनी त्यत्ति सन्तुष्ट थिएनन् । उनी सन् १९२२ मा स्विडेनबाट धेरै टाढा जापानमा भएकाले नोबल प्राइज अवार्ड गर्ने सेरेमनीमा भाग लिन पाएनन् ।

आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्तमा पिण्ड –शक्ति रुपान्तरणको विषय ल्याए । त्यस्तै स्पेस–टाइम भेरिएसनको कुरा ल्याए । समयको सापेक्षताको विषयमा उनीसँग सम्बद्ध विभिन्न घटनाहरूले रोमाञ्चकता थप्छ । 

उनी लवाइखवाइमा उत्ति साह्रो ख्याल राख्दैनथे । उनी कपाल नकोर्ने र जुत्तामा पालिस पनि धेरै गर्दैनथे । अनि एक पटक उनको धूलो टाँसिएको जुत्ता हेर्दै पत्रकारले सोधेछन् –‘तपाईँ फोहोर जुत्ता किन लगाउनु हुन्छ ?’ उनले भनेछन् –‘तपाईँ अरुको सँग दाँजेर यो जुत्तालाई हेर्दै हुनुहुन्छ र यो जुत्तालाई फोहोर भन्दै हुनुहुन्छ अरुसँग नदाँज्नुहोस् , यो संसारको सबैभन्दा राम्रो जुत्ता हो ।’ उनले यहाँ सापेक्षताको कुरा अघि सारे । उनले सापेक्षतावादलाई प्रष्ट्याउने क्रममा अर्को ठट्यौली पारा अपनाएका छन् । उनले भनेका छन् –‘ तपाईँ एउटी राम्री युवतीसँग तीन घन्टा गफ गर्नुहोस् र एउटा तातेको तावामा तीन मिनेट औँलाले छोइरहनुहोस् तपाईँलाई तातेको तावालाई छोएको समय लामो लाग्छ, यही हो सापेक्षतावाद । ’

एकपटक हास्य कलाकार चार्ली च्याप्लिन र आइन्स्टाइनलाई एकै पटक कार्यक्रममा बोलाइएछ । सुरुमा आइन्स्टाइन आइपुगेका थिएनन् सबै चार्ली च्याप्लिनलाई घेरेर बसिरहेका थिए र पछि आइन्स्टाइन आइ पुगेपछि सबैले च्याप्लिनलाई छाडी आइन्स्टाइनलाई घेर्न पुगेछन् । अनि आइन्स्टाइनले भनेछन् –‘यही हो सापेक्षतावाद ।’ एक पटक यस्तो अवस्था आयो कि आइन्स्टाइनले जे बोलेपनि न्युजको हेडलाइन बन्ने । उनले नै यो अवस्था रोक्नुपर्छ भन्ने आग्रह गर्नुपरेको थियो ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि आइन्स्टाइन विश्वकै राजनीतिक क्षेत्रमा महत्वपूर्ण व्यक्ति हुन पुगे । उनले अमेरिकाली राष्ट्रपतिलाई लेखेको एक पत्रले गर्दा परमाणविक बम बन्यो र विश्वयुद्धमा अमेरिका र यसका मित्रशक्तिको विजय भयो । सन् १९५२ मा इजरायलको प्रथम राष्ट्रपतिको निधन भएपछि त्यहाँको सरकारले निर्णय गरी आइन्स्टाइनलाई इजरायलको दोस्रो राष्ट्रपति हुन औपचारिक निम्तो गरे तर आइन्स्टाइनले त्यो स्विकारेनन् । बरु त्यहाँको जेरुसेलममा हिब्रु विश्वविद्यालय निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

आइन्स्टाइन बढी सोच्ने व्यक्ति थिए । उनले प्रयोगात्मक पाटोभन्दा सैद्धान्तिक पाटोमा बढी योगदान दिएका थिए । उनी भन्थे–‘मेरो मष्तिष्क नै मेरो प्रयोगशाला हो ।’ यसैगरी समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने अभिव्यक्तिहरु उनले दिएका छन् । एकपटक उनलाई सोधियो –‘तेस्रो विश्वयुद्धमा कस्ता हतियारहरू प्रयोग हुन्छन् ? ’उनले भने –‘तेस्रोमा त थाहा छैन चौथोमा भने ढुङ्गाकै हतियार प्रयोग हुन्छ ।’ यसै गरि उनलाई ७५ वर्षको उमेरमा एकजना पत्रकारले सोधेछन्–‘तपाईँ आजकाल के गर्दै हुनुहुन्छ ?’ उनले भनेछन् –‘म भौतिक विज्ञान अध्ययन गर्दैछु ।’ यसले अध्ययनको सीमा नहुने प्रष्ट पार्छ ।

मृत्युको एक हप्ता अगाडि उनले आफ्नै हस्ताक्षरमा बर्टेन रसेललाई अन्तर्राष्ट्रिय शान्तिका लागि नाभिकीय हतियारहरू नष्ट गर्नुपर्ने कुरामा आफ्नो राय रहेको पत्र लेखेका थिए । यही पत्र नै उनको अन्त्मि पत्र बन्न पुग्यो । उनको सम्मानमा एउटा तत्वको नाम आइन्स्टानियम  राखिएको छ ।त्यस्तै उनको मष्तिष्क प्रिन्स्टनको अस्पतालमा सुरक्षित राखिएको छ र यसमाथि अध्ययन पनि भइरहेको छ ।


 ( विभिन्न स्रोतहरूबाट सङ्कलित )


सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog