सुवास खनाल
उज्यालो देख्छु म अँध्यारो भन्छ ऊ
राम्रो मान्दिन जुन त्यो प्यारो भन्छ ऊ
सजिलो मान्छु म काँडाकै बाटोमा
गरेर खिसी नै त्यो गाह्रो भन्छ ऊ
पसिनासँग जो जीवन साट्दछन्
मित्र मान्दछु म ती तारो भन्छ ऊ
पैसामा किनबेच गर्छ ऊ सपना
जिन्दगी मेरो यो उधारो भन्छ ऊ
मलाई मनपर्छ मेरै जिन्दगी
तर बेअर्थको हो छारो भन्छ ऊ
रचना मिति : २०६२/८/५